विकासन्युज

पाँच प्रतिशत वृद्धिको लक्ष्य हासिल हुनेमा चिनियाँ प्रधानमन्त्री ली किआङ विश्वस्त

काठमाडौं । चिनियाँ प्रधानमन्त्री ली किआङले चीनका यस वर्ष आर्थिक लक्ष्यहरू प्राप्त गर्ने विषयमा आफू ‘पूर्ण रूपमा विश्वस्त’ भएको बताएका छन् । बेइजिङले सन् २०२४ का लागि करिब पाँच प्रतिशत वृद्धिको लक्ष्य राखेको छ । तर महामारीको कारण तेस्रो त्रैमासिकमा सबैभन्दा कम वृद्धि हासिल गरेको छ । सरकारले आर्थिक गतिविधि बढाउने उद्देश्यले दर कटौती खरिद बिक्री प्रतिबन्धलगायतका उपायहरूको घोषणा गरेको छ, तर विश्लेषकहरूले हालसम्म अभावको आलोचना गरिरहेका छन् । पर्यवेक्षकहरूले बेइजिङमा चीनको संसदको शीर्ष निकाय नेशनल पिपुल्स कङ्ग्रेस (एनपीसी) को स्थायी समितिको आसन्न बैठकबाट प्रोत्साहनका लागि विशेष तथ्याङ्क आउन सक्ने आशा गरेका छन् । साङ्घाईमा एक प्रमुख अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनीको उद्घाटन समारोहमा मङ्गलबार बोल्दै लीले यस वर्षको लक्ष्यहरू र भविष्यमा चीनको अर्थतन्त्रको विकासमा पूर्ण रूपमा विश्वस्त रहेको बताएका हुन् । आर्थिक दबाबको सामना गर्नुपर्दा आर्थिक समायोजनहरू बढाउने आवश्यकताबीच वित्तीय तथा मौद्रिक नीतिहरूका लागि अपेक्षाकृत र नीतिगत उपकरणहरू प्रचुर मात्रामा रहेको उनको भनाइ छ । मङ्गलबार प्रकाशित सूचकाङ्कअनुसार अक्टोबरमा चीनको सेवा क्षेत्रमा पनि गति बढेको छ । यस एण्ड पी ग्लोबल र चिनियाँ व्यापार मिडियाद्वारा गणना गरिएको सेवाहरूको लागि खरीद प्रबन्धक सूचकाङ्क सेप्टेम्बरमा ५०.३ बाट ५२ मा पुगेको छ । यो आँकडा जुलाईपछिको सबैभन्दा राम्रो हो । सिन्ह्वाका अनुसार सोमबार सांसदहरूले ऋणहरू प्रतिस्थापन गर्न स्थानीय सरकारको ऋण सीमा बढाउने विधेयकको समीक्षा गरेका छन् । साङ्घाईमा वार्षिक शोकेस ट्रेड शो चाइना इन्टरनेसनल इम्पोर्ट एक्सपो (सीआईआईई) मा बोल्दै लीले विदेशी लगानीका लागि थप उद्धारता अवलम्वन गर्न चीन प्रतिबद्ध रहेको बताएका छन् ।

८ महिनादेखि तलब नपाएका शिक्षकहरू आन्दोलनमा

काठमाडौं । खैबर पख्तुनख्वा प्रान्तको सरकारले यस क्षेत्रका विद्यालयका शिक्षकहरूलाई आठ महिनादेखि तलब दिन नसक्दा विद्यार्थीहरूको भविष्यलाई असर पग्नुका साथै शिक्षकहरू आन्दोलित भएको द डन पत्रिकाले रिपोर्ट गरेको छ । द डनले रिपोर्ट गरेअनुसार, श्रमिकका लागि न्यूनतम ज्याला समेत दिन नसकेकाले विद्यालयहरूले प्राथमिक तथा माध्यमिक शिक्षा फाउन्डेसनअन्तर्गत काम गरिरहेका छन् । विद्यालय शिक्षकको तलबको लागि दुई अर्ब रुपैयाँ आवश्यक रहेको जनाउदै फाउन्डेसनका लागि रकम जारी गर्न सरकार असमर्थ रहेको एण्ड एसइएफका एक वरिष्ठ अधिकारीले बताएका छन् । एकजना शिक्षकले मार्चदेखि तलब नदिएकोमा दुःख व्यक्त गर्दै आफुसँग आयको अन्य कुनै स्रोत नभएकाले आधारभूत आवश्यकता पूरा गर्न आफन्तहरूबाट ऋण लिइरहेका बताएका छन् । शिक्षकहरुले तलब नपाए पछि धेरै विद्यालय बन्द भएका छन् भने अझै पनि सरकारले उनीहरूलाई तुरुन्तै तलबको व्यवस्था गर्न नसकेमा थप विद्यालयहरू बन्द हुने सम्भावना रहेको जनाइएको छ । रासस

तिहारपछि खुलेको सेयर बजारमा ४ अर्ब २० करोडको कारोबार, २ कम्पनीमा सर्किट

काठमाडौं । तिहार बिदापछि खुलेको पहिलो दिन सेयर बजारमा ४ अर्ब बढीको कारोबार भएको छ । मंगलबार ३०२ कम्पनीको ९७ लाख १३ हजार ७३० कित्ता सेयर ४७ हजार ५१५ पटक खरिदबिक्री हुँदा ४ अर्ब २० करोड ५५ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको हाे । आज दुई कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । सुपर माइ हाइड्रोपावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने मिड सोलु हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सुपर माइको सेयर मूल्य १० प्रतिशत अर्थात् १०३.७० रुपैयाँ बढेर १ हजार १४०.७० रुपैयाँ पुगेको छ भने मिड सोलुको सेयर मूल्य १० प्रतिशत अर्थात् १०६.१० रुपैयाँ घटेर ९५५.४० रुपैयाँमा झरेको छ । मंगलबार नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २९ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको हाे । यस्तै, सानिमा जीआईसी इन्स्योरेन्सको १६ करोड ११ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको १५ करोड ८४ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ११ करोड ६१ लाख रुपैयाँ र समृद्धि फाइनान्सको ११ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार फाइनान्स समूह ०.२० प्रतिशत, होटल तथा पर्यटन समूह ०.८२ प्रतिशत, जलविद्युत समूह ०.७७ प्रतिशत, जीवन बीमा समूह ०.३९ प्रतिशत, म्युचुअल फण्ड समूह ०.०३ प्रतिशत, निर्जीवन बीमा समूह १.०६ प्रतिशत र अन्य समूह ०.२४ प्रतिशत बढेको छ भने बैंकिङ समूह ०.८१ प्रतिशत, विकास बैंक समूह ०.४८ प्रतिशत, लगानी समूह ०.०४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.२९ प्रतिशत, लघुवित्त समूह ०.०७ प्रतिशत र व्यापार समूह ०.७४ प्रतिशत घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२१ अंक घटेर २ हजार ६७७.४० अंकमा बन्द भएको छ ।

ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजना छिटो कार्यान्वयन गर्नेबारे छलफल

काठमाडौं । भारत भ्रमणमा रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र त्यहाँका जलशक्तिमन्त्री सीआर पाटिलबीच मंगलबार नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयमा भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चाँडाभन्दा चाँडो कार्यान्वयन गर्ने तथा बाढी नियन्त्रण, मानव संसाधन विकासलगायत पारस्परिक हित र साझा चासोका विविध विषयमा छलफल भएको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ । ऊर्जामन्त्री खड्काले नेपाल र भारतबीच बाढी तथा विपद् व्यवस्थापनसम्बन्धी संयुक्त समितिको बैठक यथाशीघ्र गर्ने पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई अन्तिम रूप दिन अनुरोध गर्नाका साथै टनकपुरदेखि नेपाल–भारत सीमासम्म नहर निर्माण सम्पन्न भएकामा भारत सरकारप्रति कृतज्ञता ज्ञापन गरे । प्रत्युत्तरमा मन्त्री पाटिलले पञ्चेश्वरको डीपीआरलाई शीघ्र बनाउन सकारात्मक जवाफ दिएका थिए । भेटमा नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रतिनिधिको सहभागिता थियो ।

सरकारी जागीरसँगै कालिजपालन, वार्षिक १२ लाख आम्दानी

ढोरपाटन । यहाँको ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेलले ६ वर्षदेखि कालिजपालन गरेका छन् । पेसाले स्वास्थ्यकर्मी कँडेल बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छन् । उनी कार्यालय बाहेकका समय कालिज फार्ममा खटिन्छन् । कँडेलले काभ्रेपलाञ्चोकबाट तीन पोथी र एउटा भाले कालिज लिएर कालिजपालन सुरु गरेका थिए । २४ हजार रुपैयाँमा चार कालिज ल्याएर सुरु गरेको व्यवसायमा कँडेलले हालसम्म २५ लाख रुपैयाँ बढी लगानी गरिसकेका छन् । कालिज व्यवसाय फस्टाउँदै गएपछि हाल चल्लासमेत उत्पादन गरिरहेका छन् । रहरले सुरु गरेको कालिजपालनले व्यावसायिक रुप लिएपछि उनी दङ्ग छन् । कँडेलले छ वर्ष अगाडि ‘सानो स्वर्ग’ नामको फार्म दर्ता गरेर कालिजपालन थालेका हुन् । सुरुमा चल्ला व्यवस्थापनमा समस्या भए पनि हाल ह्याचरीमार्फत चल्ला उत्पादन गरिरहेको उनी बताउँछन् । चल्ला उत्पादन बढ्दै जाँदा बजार पाउन भने मुस्किल पर्न थालेको उनले सुनाए । ‘केही वर्ष अघि एउटा कालिज फार्म हेर्ने अवसर मिल्यो, त्यसपछि काभ्रेबाट चार वटा कालिज ल्याएर पाल्न थालेँ, त्यतिबेला मैले व्यवसाय गरुँला भन्ने सोचेको थिइँन’, उनले भने, ‘पछि ती चल्ला हुर्केर दुई सय अण्डा दिए, त्यस पछि व्यावसायिक गर्नुपर्छ कि भन्ने सोच आयो । रहरैरहरमा थालेको कालिजपालन अहिले व्यवसायमा रुपान्तरण भयो ।’ कोभिड–१९को महामारीका बेला एकै पटक पाँच सय वटा कालिज मरेपछि लाखौँको नोक्सानी व्यहोर्नु पर्यो । फार्म रित्तो भएपछि पुनः चल्ला ल्याउनुपरेको उनले बताए । कँडेलले उत्पादन गरेको कालिज बुर्तिबाङ, बागलुङसहित काठमाडौंसम्म पुग्ने गरेका छन् । भाले कालिजलाई दुई हजार पाँच सय रुपैयाँ र पोथी कालिजलाई एक हजार पाँच सय रुपैयाँमा बिक्री गर्दै आएको उनी बताउँछन् । दसैँमा तीन सय वटा कालिज बिक्री भयो । हाल फार्ममा सात सय कालिज छन् । वार्षिक १२ लाखको कालिज बिक्री हुने उनले जानकारी दिए । एउटा कालिज बिक्रीका लागि तयार हुन करिब सात महिना लाग्छ । उत्पादन अनुसार बजार पाउन सकेमा अझै धेरै आम्दानी लिन सकिने उनको भनाइ छ । रासस

अमेरिकी चुनाव : युक्रेनले पाउने सहायता टुट्ने वा जारी रहने निर्णायक क्षण

काठमाडौं । अमेरिकामा राष्ट्रपति निर्वाचनको माहाेल तात्दा यता किभ भने तनावमा छ । यो निर्वाचनले युक्रेनलाई हालसम्म दिइँदै आएको सहयोग टुटाउने वा जारी राख्नेबारे निर्णायक भूमिका खेल्ने बताइएकाे छ । विभिन्न सर्वेक्षणले रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीकी उपराष्ट्रपति कमला ह्यारिसबीच ‘कडा प्रतिस्पर्धा’ देखाएको छ। राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउस छाडेपछि जारी रुस र युक्रेनको द्वन्द्वमा युक्रेनले सहयोग पाउँछ कि पाउँदैन भन्नेमा किभ तनावमा छ । ह्वाइट हाउस र नाटोले युक्रेनको पक्षमा समर्थन देखाइरहे पनि युक्रेनलाई सहयोग गर्दै आएका देशहरू विशेषगरी अमेरिकाले अब सहयाेग नगर्ने महसुस हुन थालेकाे छ । रिपब्लिकनहरूले युक्रेनलाई थप सैन्य सहायता दिन अझै ठूलो चुनौती खडा गर्नेछन्, जसले युक्रेनलाई रुसविरुद्ध लड्न रोक्न सक्छ । तर, युक्रेनको पक्षमा रहेको कमला ह्यारिसको प्रशासनले पनि अमेरिकी सांसदहरूलाई अझ ठूलो सहयोग प्रदान गर्न सहमत गराउन कठिनाइ सामना गर्न सक्छ । किभका अधिकारीहरू राष्ट्रपतीय निर्वाचनलाई निकै नजिकबाट हेरिरहेको र भविष्यको सहायता कटौती हुने डर रहेको बताउँछन् । ‘यो सम्भावित परिदृश्य हो जुन युक्रेनको लागि अत्यन्त प्रतिकूल हुनेछ,’ वरिष्ठ युक्रेनी अधिकारी युरी साकले सीएनबीसीलाई गत साता भनेका थिए । ‘तर, हामीले अमेरिकी साझेदारहरूलाई उस्तै स्तरको सहयोग जारी राख्न आग्रह गर्न सक्छौं, उनले थपेका थिए । अधिकारी साकले युक्रेनले रुसमाथि विजय प्राप्त नगरेसम्म अमेरिकाले युक्रेनलाई समर्थन जारी राख्ने विश्वास गरेकाे पनि बताए । ‘हामी विश्वास गर्छौं कि जसले आगामी राष्ट्रपतिको निर्वाचन जितेपनि अमेरिकाले तबसम्म युक्रेनलाई समर्थन जारी राख्नेछ जबसम्म हामीले विजय प्राप्त र न्यायपूर्ण शान्ति स्थापना गर्दैनौं,’ उनले भने । युक्रेन आफ्नो सैन्य, मानवीय र आर्थिक सहायता पाउन अन्तर्राष्ट्रिय साझेदारहरूमाथि निर्भर रहँदै आएकाे छ । यसले देशलाई आर्थिक रूपमा सुदृढ राख्न र रुससँगको लडाइँमा सक्षम बनाएकाे छ । २०२२ को फेब्रुअरीमा युक्रेन-रुस युद्ध सुरु भएदेखि यस वर्षको अगस्टसम्म अमेरिकाले लगभग १०८ अर्ब डलर बराबरको सैन्य, मानवीय र आर्थिक सहयोगमा खर्च गरेको विभिन्न तथ्यांकले देखाउँछन् । साथै युरोपियन इन्भेस्टमेन्स बैंक र युरोपियन कमिसनले कूल १६१.११ अर्ब युरो (१७५.४७ अर्ब डलर) जति सहयोग प्रदान गरेको द किल इन्स्चिच्युट अफ वर्ल्ड इकाेनाेमीले जनाएकाे छ । डोनाल्ड ट्रम्पले स्पष्ट रूपमा संकेत गरेका छन् कि उनले किभको लागि सैन्य सहायता रोक्नेछन् । उनले चुनिएकाे २४ घण्टाभित्रै युद्ध रोक्ने दावी गरे पनि कसरी गर्ने भन्ने थप विवरण भने दिएका छैनन् । विश्लेषकहरू ट्रम्पले युद्ध जबरजस्ती रोक्नको लागि वित्तीय सहायता रोक्नसक्ने विकल्पको रूपमा हेर्छन् । रिपब्लिकनका तर्फबाट उपराष्ट्रपति उम्मेदवार जेडी भेन्सले युक्रेनलाई थप सहायता दिने कुरामा विरोध गरेका छन् र अमेरिकाले किभलाई रुससँग शान्ति सम्झौतामा सहमत गराउन प्रेरित गर्नुपर्ने र मस्कोलाई केही भूमि छोड्न तयार हुनुपर्ने तर्क गरेका छन् । कमला ह्यारिसको चुनावी जित किभका लागि राहत हुनेछ किनकि उनले आफ्नो प्रशासनले युक्रेनलाई जित्न जति समय लागे पनि सहयोग गर्ने प्रतिज्ञा गरेकी छन् । यद्यपि न त उनले न त वाशिङ्टनले यसबारेमा स्पष्ट रूपमा उक्त वक्तव्यको सटीक अर्थ दिएका छैनन् ।

यस्ता छन् आत्महत्याका कारण 

जीवनउपर आफैँले रोक लगाउनु वा आफूले आफैँलाई मार्नु नै आत्महत्या हो । आत्महत्या गर्नु भनेको मानव विकास, पुस्ताको निरन्तरता र सामान्य जीवन प्रक्रियाको पनि विपरीत कार्य हो । पश्चिम अष्ट्रेलिया, स्विजरल्यान्ड र अमेरिकाका केही राज्यमा स्वेच्छिक मृत्युको सुविधा भए तापनि हाम्रो देशमा आत्महत्यालाई गैरकानुनी कार्य मानिएको छ । आत्महत्याका लागि प्रयोग भएका नदीमा हेलिने, पुलबाट हाम्फाल्ने, झुन्डिएर मर्ने, विष सेवन गरेर प्राण त्याग गर्ने जस्ता हर्कतहरुले समाजलाई असीमित पीडा दिएको हुन्छ । जब आफन्तजन वा चिनेका व्यक्ति नै आत्महत्या गर्दछन् तब यी घटनाहरु हुन नदिन के गर्न सकिन्छ भन्ने बहस पनि चल्ने गर्दछ । समाजशास्त्रका अगुवा व्यक्तित्व फ्रेन्च विद्वान इमाइल दुर्खिमले आफ्नो खोजमूलक पुस्तक सुसाइडः ए स्टडी इन सोसियोलजी (१८९७) मा आत्महत्याको खास कारण मनोवैज्ञानिकभन्दा पनि सामाजिक हुने र व्यक्ति रहेको समाजसँगको अन्तरक्रियामा निर्भर गर्ने बताएका छन् । उक्त पुस्तकमा उनले अहङ्कारी, परोपकारी, असामाजिक र भाग्यवादी गरेर चार किसिमका आत्महत्याको सम्बन्धमा चर्चा गरिएको छ । उनले १९औँ शताब्दीको अन्त्यतिर गरेको विश्लेषणमा सामाजिक एकता कमजोर रहेको भनेका थिए । अहिलेको नेपाली समाजलाई नियाल्दा पारिवारिक विखण्डन र सामाजिक विचलन दुवै बढेको छ भने आत्महत्याको दर पनि बढेर गएको छ । विश्वभर वार्षिक करिब आठ लाख मानिस आत्महत्या गर्दछन् । संयुक्त राज्य अमेरिकामा वार्षिक ४५ हजार र नेपालमा वार्षिक सात हजार व्यक्तिले जीवनलाई विश्राम दिनका लागि आत्महत्यालाई रोज्ने गरेको पाइएको छ । अभिलेखमा नआएका कतिपय मामिलाले यो आँकडालाई अझ बढाउने देखिन्छ । जीवनको कुनै न कुनै समयविन्दुमा आत्महत्याको सोच आउनेहरु त करोडौँको सङ्ख्यामा होलान् । यसरी हेर्दा आत्महत्या एक साझा सामाजिक समस्याका रुपमा रहेको छ । अमेरिकामा माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच भएको एक अध्ययनको निष्कर्षअनुसार छजना विद्यार्थीमा एकजनाले आत्महत्याको सोच राख्दछ भने ११ जनामा एकजनाले भने साँच्चै नै आत्महत्या गर्ने गरेको देखाइएको छ । आत्महत्याको कारण  आत्महत्याका घटनाहरुको सामाजिक पक्षलाई सर्सर्ति केलाउँदा सानोतिनो असफलतापश्चात् आमाबाबुसँग सामना गर्न नसक्नु, प्रेम सम्बन्ध टुट्नु, उमेर नपुग्दै विवाह गर्नु, प्रेम विवाह गरे पनि बिस्तारै सम्बन्धमा दरार आउनु, अभिभावकबीचको सम्बन्धमा विग्रह आई पारिवारिक वातावरणमा तिक्तता बढ्नु, नवविवाहित जोडीमध्ये कुनै वा दुवै विदेशमा गई भेटघाट लामो समयसम्म नहुनु र सम्बन्ध बिग्रनु, मादकपदार्थ सेवन गरी हिंसाजन्य क्रियाकलाप गर्दा जीवनउपर भरोसा हराउनु, आफ्नै सन्तानबाट हेलामा पर्नुजस्ता कारण देखा पर्दछन् । सामाजिक सञ्जालको स्वच्छन्द प्रयोग पनि सम्बन्धहरु बिगार्ने र अपेक्षा बढाउने कारण भएको छ । तथापि यी कुनै पनि कारण हुँदा मृत्यु नै रोज्नुपर्ने हुँदैन । जुनसुकै अवस्थामा पनि यो अमूल्य जीवन जिउनु नै उत्तम हो । बढ्दो अपेक्षाबीच अधैर्यता बढेको र स्वयम्लाई सन्तुलनमा राख्ने ऊर्जा हराउनेजस्ता कारण भने मुख्य रुपमा जिम्मेवार देखिन्छन् । दुर्लभ छ जीवन हाम्रो जीवन भनेको महासागर जस्तै हो । सागर भनेपछि यसमा फरकफरक अवस्था पटकपटक आइरहन्छन् । तथापि, सागर हुनुको पहिचान कायम हुन्छ । कहिले शक्तिशाली आँधी आउँछ टोर्नेडो चल्दछ, कहिले सामान्य तरङ्गहरु तरङ्गित भइरहेका हुन्छन् भने कहिले सागर पनि शान्त रहन्छ । हुन त जीवनमा देखापर्ने जुनसुकै समस्याको समाधान हुन्छ । जीवनबाटै बाहिर जान खोज्नु कदापि समाधान होइन । यो त भागेजस्तो हो । आत्महत्या एक दुःखद घटना त हुँदै हो तर यो यसबाहेक अपराध पनि हो । मनन गर्नुपर्ने विषय के छभने मानवीय जीवन प्राप्ति नै आफैँमा एउटा दुर्लभ घटना हो । सिद्धार्थ गौतमले सानो उमेरमै बिमारी, बुढो र मृत्यु भएको मानिस देख्दा पीडा भएको र कारण सोधेको प्रसङ्ग छ । उनले मानव जीवनका सम्बन्धमा भनेका छन् कि मानव जीवन भनेको पीडाहरुले भरिएको छ । पीडा र दुःखहरुको कारण हुन्छ र समाधानको उपाय पनि हुन्छ । समाधानतर्फ नलागेर मरेर अर्को जन्म लिन्छु भनेर आत्महत्या गरिहाल्यो भने पनि अर्को जन्म पनि पीडारहित त हुँदैन भन्ने मनन गर्नुपर्दछ । दुःख चिन्ताको सोचाइ नै नआउने त को होला र ? त्यस्तो सोचाइ आउँदा आफूमा देखिएका संवेगहरु लुकाउनु ठीक होइन । ती संवेगलाई आफूले अनुभूत गर्ने र लुकाउनुको सट्टा आफ्नो मिल्ने र विश्वासको साथी वा आफन्त वा परिवारजनलाई सुनाउनु उपयुक्त हो । उक्त व्यक्तिले भन्ला कि मलाई पनि यस्तो भएको थियो आत्तिनु पर्दैन । घुम्न जाउ वा योगध्यान गर वा अध्ययन गर वा यो फिल्म हेर वा खेल हेर्न जाउ वा यस्तै । आत्महत्याको सोचबाट टाढा बस्ने अर्को उपाय भनेको स्वयम्लाई प्रेम गर्नु पनि हो । आफूलाई बलियो बनाउनका लागि अन्तरआत्माले के मागेको छ के कुरामा रुचि छ, जायज माग पूरा गर्ने र राम्रा उपलब्धि भएका बखत आफूलाई पुरस्कृत गर्ने अर्थात् स्वयम्लाई बधाई ज्ञापन गर्ने पनि गर्नु पर्दछ । म भगवान्को असल आत्मा हुँ र मैले मलाई नै प्रेम गर्छु जस्ता भाव जागृत गर्नु पनि असल जीवनका लागि उपयोगी हुन्छ । सद्गुरुले भन्नुभए झैँ हामी हाम्रो शरीरको असली सिर्जनाकार होइनौँ । आफूले सिर्जना नगरेको हुँदा अन्त्य गर्ने अधिकार हामीलाई छैन । हामीले त दीर्घकालसम्म प्राप्त गर्नेगरी जीवनको लक्ष्य निर्धारण गर्न सक्नुपर्दछ । एकपटक विचार गरौँ न आत्महत्या गर्नेले आफूलाई सम्हाल्न नसकेर प्राण त्याग्दछ तर के थाहा ऊ संयमित भएर बाँचेको भए जीवनमा नयाँ मोड पनि आउन सक्थ्यो । समयसँगै राम्रा कुराले पर्खेको हुन सक्छ धैर्यता राख्न सक्नुपर्दछ । जीवन रह्यो मात्रै भने पनि खुसीपूर्वक जिउने र प्रगति गर्दै जाने परिवेश देखापर्न सक्छ । मानव मस्तिष्कमा ‘सेरोटोनिन’ नामक तत्वको कमी भयो भने तनाव बढी हुन्छ भनिन्छ । यस्तो तत्व जागृत गर्नका लागि योगध्यान साधना सहयोगी हुने देखिन्छ । यस्तो खालको ध्यानको उपादेयता थाहा भयो भने व्यक्तिले नियमित रुपमा ध्यान गर्ने सम्भावना हुन्छ । ध्यानका बखत दिमाग सजग र शरीरलाई सहज भयो भने मात्र यसको प्रभाव राम्रो पर्दछ । योगका बेला पनि मन भागिहाल्यो भने त्यसलाई समातेर पुनः योगमा लगाउनुपर्ने हुन्छ । भावनाहरु मनमा आउँदा त्यसलाई हेर्ने तर प्रतिक्रिया नजनाउने गर्नुपर्दछ । फलस्वरुप तनावमा कमी आउने, आपसी सम्बन्धहरुमा सुधार हुने र जीवन जिउन सरल हुन्छ । क्षमा माग्ने र क्षमा दिने कलाको विकासले पनि मानिसको मनको भारी हलुका हुन जान्छ । रिस, घमण्ड, इष्यारुपी संवेगको भारी बोकेर हिँड्दा त्यस्तो व्यक्तिले गर्ने व्यवहार पनि खराब हुन्छ र पछि पछुताउनुपर्ने हुन्छ । मनको स्वस्थता आवश्यक चेतनशील प्राणी भएको हुँदा मानवमा संवेग उत्पन्न हुनु स्वाभाविक नै हो । मानिस मेसिन वा रोबोट हैन । चिन्तनशील प्राणी भएको हुँदा थरीथरिका संवेगहरु आइरहन्छन् तर कुन संवेगलाई कतिबेला प्रयोग गर्ने र कसरी गर्ने भनी छनोट गर्ने भने सम्बन्धित व्यक्तिले नै हो । मनमा उठ्ने विचारले व्यक्तिमा भावनाहरु तरङ्गित हुन्छन् । भावनाको किसिमअनुसार शरीरमा पनि छटपटी वा ऐँठन जस्ता असर देखा पर्दछन् भने व्यवहारमा पनि नकारात्मक असर देखापर्दछ । तर एउटा विषय के पेचिलो छभने एउटै घटनामा परेका दुई फरक व्यक्तिलाई फरक खालका भावना आउन सक्छ । कुनैमा प्रतिशोधको भावना त अर्कोमा सहयोगको भावना । मनोविश्लेषक डा करुणा कुँवरका अनुसार आत्महत्या गर्ने सोचाइ राखेका ९९ प्रतिशत व्यक्तिले आत्महत्या गर्ने अभिव्यक्ति दिन्छन् । व्यक्तिमा केही गर्न सक्छु भन्ने आशा जब कमजोर हुँदै जान्छ, तब उसले जीवन जिउनुको अर्थ देख्दैन । त्यति नै बेला उसले परिवारको सदस्य वा साथीसमक्ष खुलेर कुरा गर्नुपर्दछ र सुन्नेले सो कुरालाई गम्भीरतापूर्वक लिएर किन आत्तिएको म तिम्रो साथमा छु नि सबै ठीक भएर जान्छ भनेर उसलाई एक्लै हुने अवसर नदिएमा समस्या हटेर जान्छ । आत्महत्याको विचार पनि अरू विचार जस्तै अनित्य वा अस्थायी हुन्छ । यदि कुरा अरूलाई भन्दैन तर उसको आनीबानी हेर्दा चिन्तित छ, काममा जान पनि जाँगर गर्दैन, खाना खानसमेत मान्दैन, उसको रुचिका विषयहरुमा समेत रमाउँदैन भने मनोविद्समक्ष लगेर नियमित परामर्श लिने अवस्थाको सिर्जना गर्न सकिन्छ । शरीर मात्र हैन, मन पनि बिमारी हुन सक्छ भन्ने जागरण बढ्दै गएको छ । मानसिक रोग लाग्दा लाञ्छना लगाउने कि उसलाई उपचारको उचित प्रबन्ध गर्ने हामी परिवार, समाज र साथीभाइको बुझाइमा निर्भर गर्दछ । परिवारभित्रकै अभिभावक र अन्य सदस्य पनि संवेदनशील हुन जरुरी छ । परिवारले स्वीकार गरेन भने समुदायले समेत अस्वीकार गर्ने सम्भावना बढेर जान्छ । सुरक्षित यौन व्यवहारका विषयमा समेत खुला छलफल र संवाद हुन जरुरी छ । शारीरिक सुख भावनात्मक सुखभन्दा फरक अर्थ राख्दछ । अब्राहम मास्लोले आधारभूत आवश्यकता शरीरको आवश्यकतासँग सम्बन्धित रहेको र ती आवश्यकता पूरा भएपश्चात् क्रमशः मन र आत्मासँग सम्बन्धित आवश्यकता जागृत हुने बताएका छन् । यद्यपि, आफ्नो शरीर र मनमा उत्पन्न भएको संवेगउपर नियन्त्रण गर्नसक्ने, जिम्मेवारी लिनसक्ने हुनुपर्नेमा अरूमा निर्भर वा अरूलाई दोष थुपार्ने प्रवृत्ति हुँदा समस्या उत्पन्न भएको हुन्छ । असफल हुँदा के कस्तो सुधार आवश्यक छ भन्नेतर्फ त्यही असफल प्रयत्नबाट पाठ सिकेर आशावादी हुँदै अगाडि बढ्न सकिन्छ । मानवीय जीवनका भौतिक, बौद्धिक, भावनात्मक र आध्यात्मिक आयाममध्ये पछिल्ला दुई आयामहरुलाई समेत महत्व दिन सकेमा जीवन सन्तुलित बन्दछ । नियमित साधनाबाट कतिबेला मौन रहने, के कसरी अभिव्यक्ति दिने र सार्वजनिक रुपमा अभिव्यक्ति दिँदा विषयमा ख्याल गर्ने भन्ने समेत सिक्न सकिन्छ । संस्कार र साधना  व्यक्तिमा कहीँ जान वा कसैसँग बोल्न डराउने सानो कुरामा प्रतिक्रिया जनाउने बानी छभने बुझ्नुपर्दछ कि उक्त व्यक्तिसँग ऊर्जा कम छ । शक्ति बढाउनका लागि नयाँ ढङ्गले जिउन र साधना गर्न आवश्यक छ । प्रवचन वा सङ्गीतमार्फत ऊर्जायुक्त भावनाको तरङ्ग प्रवाह गर्दा पनि सत्सङ्गमा रहनेहरुमा ऊर्जा वृद्धि हुन्छ । त्यस्तै, प्रकृतिसँग रमाउने क्रियाकलापमा सरिक हुनु उपयुक्त हुन्छ । करेसाबारीमा काम गर्ने, खेतीपाती, पशुपालन, फलफूल खेती लगायतका विकल्पहरु पनि हामीसँग छन् । फुर्सदको समयमा कौसीखेती गरेरै पनि सहरका बासिन्दाले ताजा चीजबीज जुटाएका मात्र हुन्नन् कि आफूलाई समेत चुस्त राख्ने प्रयास गरेका हुन्छन् । वास्तवमा अल्छी गर्नु भनेको सुख पाउनु कदापि हैन र मेहनत गर्नु दुःख पनि होइन । संस्कृतमा भनिएको छ– आलस्यं हि मनुष्याणां शरीरस्थो महान् रिपुः । नास्त्युधमसमो बन्धुः कृत्वा यं नावसीरति । यसको अर्थ हुन्छ ‘आलस्य नै मनुष्यको महान् शत्रु हो । उद्यम बराबरको अरू मित्र छैन । मेहनत गरेर कसैले दुःख पाउँदैन ।’ त्यस्तै छिटोभन्दा छिटो धन कमाउने सबैलाई खुसी राख्ने र जुनसुकै माध्यमबाट भए पनि धनसम्पत्ति कमाउने इच्छा राख्नु उपयुक्त होइन । लोभ र मोहले राम्रो गर्न खोज्दा अप्ठेरोमा पार्न सक्छ । अर्को एउटा श्लोक छ : लोभात् क्रोधः प्रभवति लोभात् कामः प्रजायते । लोभान् मोहश्च नाशश्च लोभः  पापस्य कारणम् । यसको अर्थ हुन्छ कि ‘लोभबाट क्रोध उत्पन्न हुन्छ लोभबाट पञ्चन्द्रीय सिर्जित विषय वासना जाग्दछ र मोहले नाश हुन थाल्दछ र लोभ नै पापको कारण बन्दछ ।’ त्यसैले पनि नागरिक तहसम्म नै असल जीवन प्रणाली र साधनाको सामूहिक वातावरण सिर्जना गर्नका लागि सबैको सहयोग र सहकार्य आवश्यक पर्ने देखिन्छ । (लेखक बाग्लुङका प्रमुख जिल्ला अधिकारी हुन्)

१० महिनामा ९ लाखभन्दा धेरै पर्यटक भित्रिए, भारतीय र चिनियाँ घट्दा अमेरिकी बढे

काठमाडौं । सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अक्टोबरमा कूल एक लाख २४ हजार तीन सय ९३ विदेशी पर्यटक आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा छ दशमलव चार प्रतिशतले बढी हो । सन् २०२३ को अक्टोबरमा एक लाख १७ हजार तीन सय छ पर्यटक आएका थिए । कोभिड–१९ (कोरोना महामारी) पूर्व अर्थात सन् २०१९ को तुलनामा ९२ दशमलव ९६ प्रतिशतले पर्यटकको सङ्ख्यामा पुनरुत्थान भएको बोर्डले जनाएको छ । सन् २०१९ को अक्टोबरमा एक लाख ३४ हजार ९६ विदेशी पर्यटक आएका थिए । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा विदेशी पर्यटक आगमन सन्तोषजनक छ । ‘समग्रमा पर्यटक आगमन सकारात्मक देखिन्छ । अक्टोबरमा आशातित पर्यटक आउन सकेनन्, किनकी महिनाको सुरुआतमै अविरल वर्षाले विपद्जन्य घटना भयो । अबको दुई महिनामा पर्यटक बढ्ने अनुमान गर्न सकिन्छ,’ उनले भने । भारतीय र चिनियाँ घटे बोर्डको विश्लेषणमा अगष्ट, सेप्टेम्बार र अक्टोबरमा भारतबाट आउने पर्यटक घटेका छन् । पछिल्ला दुई महिनामा चीनबाट आउने पर्यटक पनि घटे । अक्टोबरमा भारतबाट १६ हजार तीन सय १३ पर्यटक आएका छन् । गत सेप्टेम्बरमा भारतबाट २२ हजार नौ सय ८४ पर्यटक आएका थिए । यो करिब १३ प्रतिशत गिरावट हो । अगस्टमा २५ हजार आठ सय ३२ भारतीय पर्यटक आएका थिए । अक्टोबरमा चीनबाट आएका सात हजार सात सय ५० पर्यटकले नेपाल भ्रमण गरेका छन् । सेप्टेम्बरमा आठ हजार ४२ र अगस्टमा चीनबाट छ हजार छ सय १४ चिनियाँ पर्यटक आएका थिए । मनसुनका कारण भारतीय र चिनियाँ पर्यटक घटेको अनुमान गरिएको छ । अमेरिकी पर्यटक बढे अक्टोबरमा अमेरिकाबाट आउने पर्यटकको सङ्ख्या अघिल्लो महिनाको तुलनामा १२ दशमलव ८८ प्रतिशतले बढेर कूल १६ हजार २३ पुगेको छ । सेप्टेम्बरमा १० हजार ८४ अमेरिकी पर्यटक भित्रिएका थिए । बेलायतबाट आठ हजार १९ पर्यटक नेपाल भित्रिएका छन् । यसैगरी, अष्ट्रेलियाबाट छ हजार नौ सय २९, जर्मनीबाट छ हजार १८ र फ्रान्सबाट पाँच हजार चार सय ८५ पर्यटक आएका छन । बङ्गलादेशबाट चार हजार चार सय ७६, श्रीलङ्काबाट तीन हजार एक सय १२ र इटालीबाट दुई हजार छ सय ३५ पर्यटक आएका छन् । मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार एकसय ६७ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोबरमा एक लाख २४ हजार तीन सय ९३ अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६ पर्यटक आए । सेप्टेम्बरमा ९६ हजार तीन सय पाँच, जनवरीमा ७९ हजार एक सय, फेब्रअरीमा ९७ हजार चार सय २६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् ।