टीभीएसको बाईक किन्दा उतीम लाल साहले जिते नगद १० लाख
काठमाडौं । टीभीएसको बाईक खरिद गर्दा जनकपुरका उतीम लाल साहले नगद १० लाख ५ हजार रुपैयाँ जितेका छन् । नेपालीहरुको महान चाड दशैँ, तिहार र छठका अवसरमा टीभीएसद्वारा आयोजित ‘टीभीएस संग नयाँ युगको आरम्भ २०२४’ उपहार योजना अन्तर्गत साहले बाइक खरिद गर्नु अघि ५ हजार रुपैयाँ र खरिद पश्चात १० लाख रुपैयाँ जित्न सफल भएका हुन् । साहका साथै, महा एक्सचेन्ज मेला, भृकुटीमण्डपमा टीभीएसको सवारी साधन खरिद गर्दा टेकराज गुरुङले ५ लाख ५ हजार रुपैयाँ जित्न सफल भएका छन् । उनले खरिदअघि ५ हजार र खरिद पश्चात ५ लाख रुपैयाँ जित्न सफल भएका हुन् । महा एक्सचेन्ज मेला, भृकुटीमण्डपमै टीभीएसको सवारी साधन खरिद गरेका प्रकाश अधिकारीले सवारी साधनको खरिदमा ५० प्रतिशत क्याशब्याक र खरिदअघि ५ हजार रुपैयाँ जित्न सफल भए्को जानकारी दिइएको छ । त्यसैगरी, बागेश्वरी अटोमोटिभ्स, धनगढीमा टीभीएसको सवारी साधन खरिद गरेका सञ्जित चौधरीले २५ प्रतिशत क्याशब्याक र खरिदअघि ५ हजार रुपैयाँ जित्न सफल भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै ‘टीभीएस संग नयाँ युगको आरम्भ २०२४’ उपहार योजना अन्तर्गत हाल सम्म २ जनाले नगद १ लाख रुपैयाँ, ४ जनाले नगद ५० हजार रुपैयाँ, १० जनाले नगद २५ हजार रुपैयाँ, १५ जनाले नगद १५ हजार रुपैयाँ र १८ जनाले नगद ५ हजार जित्न रुपैयाँ सफल भइसकेका छन् । नेपालमा दुईपाङ्ग्रे सवारी साधनको क्षेत्रमा अग्रणी ब्रान्ड टीभीएसले उपहार योजना अन्तर्गत टीभीएसको नेपाल भर रहेका अधिकारिक विक्रेता मार्फत टीभीएसका सवारी साधन खरिद गरेका उपभोक्ताहरु मध्य नगद उपहार जित्न सफल भाग्यशाली विजेताहरुको घोषणा गरेको हो । टीभीएस संग नयाँ युगको आरम्भ, उपहार योजना देशभरका टीभीएसका सवारी साधनका लागि आधिकारिक विक्रि केन्द्रहरू मार्फत आयोजना भइरहेको छ । उपहार योजनामा ग्राहकहरूको उत्साहपूर्ण सहभागिताका भइरहेको कम्पनीले बताएको छ । यस योजना अन्तर्गत, ग्राहकहरुले नगद पुरस्कार, क्याशब्याक, र प्री–पर्चेज बोनस जस्ता विविध पुरस्कारहरु जित्ने अवसर प्राप्त गरिरहेका छन् ।
सिकलसेल उपचारका लागि भेरि अस्पतालमा बेग्लै वार्ड स्थापना गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय
काठमाडौं । देशको पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थारु समुदायको प्रमुख स्वास्थ्य समस्याको उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने निर्णय गरेका हुन् । ठूलो संख्यामा थारु समुदायमा समस्स्या देखिए पनि यसको उपचारका लागि पर्याप्त व्यवस्था हुन सकेको छैन । यस्तोमा मन्त्री पौडेलले भेरि अस्पताल नेपालगञ्जमा हेमोग्लोविनोप्याथी वार्ड स्थापनाको निर्णय गर्दै भर्ना हुने बिरामीहरुका लागिसमेत व्यवस्था गराउने निर्णय गरेका हुन् । मन्त्री पौडेलले गत महिना सिकलसेल उपचारसम्बन्धमा अभियन्ता उज्वलविक्रम थापा, थारु अधिकारकर्मीलगायतको टोलीसँग समुदायको समस्याबारे जानकार रहेको भन्दै यसका लागि केही व्यवस्था गर्ने घोषणा गरेका थिए । सोहीअनुरुप थारु समुदायलाई पायक पर्ने र अधिक बसबोबास रहेको क्षेत्रलाई लक्षित गरी भेरि अस्पतालमा वार्ड स्थापनाको निणय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । थारु समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेलबाट समुदायका झण्डै १२ प्रतिशत नागरिक प्रभावित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक आँकडाले देखाएको छ । पश्चिम तराई बाँके, बर्दिया, कैलाली कञ्चनपुर लगायतका भुभागमा बसोवास गर्ने थारु समुदायका नागरिकहरु सिकल सेल रोगबाट बढी प्रभावित पाइएको छ । विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका. बमोजिम सिकलसेल एनिमिया रोग लागेका विरामीहरुलाई शल्यक्रिया, औषधी तथा औषधीजन्य समाग्री, थप निदानात्मक सेवा शैया सेवा शुल्क आदिको लागि १ लाख रुपैया सम्म खर्चको व्यवस्था गरिने मन्त्राललयले जनाएको छ ।
११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
काठमाडौं । ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता भएको छ । मंगलबार बैंक र दराज केयमुबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११ (कार्तिक २६ गते) देखि लागू हुनेछ । सिटिजन्स बैंकमा खाता रहेका ग्राहकहरूले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २ हजार रुपैयाँ सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम २,५०० रूपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उल्लिखित पूर्व भुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले बताएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
सिप्रदी ट्रेडिंगले पशुपति दर्शन यातायातलाई दियो १० वटा बस
काठमाडौं । सिप्रदी ट्रेडिंगले १० वटा बस हस्तान्तरण गरेको छ । कम्पनीले रुपन्देहीमा एक कार्यक्रमको आयोजना गर्दै टाटा एलपीओ १६२२/६२ बीएस६ मगना बसहरू त्रिशक्ति पशुपति दर्शन यातायातलाई हस्तान्तरण गरेको हो । त्रिशक्ति पशुपति दर्शन यातायात प्रालि पश्चिम नेपाल बस व्यवसायी प्रालि र भेरी यातायात जस्ता दुई ठूला समितिको सहकार्यमा सञ्चालनमा आएको हो । कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसी सहितको यो गाडी पहिलो चरणमा लुम्बिनी प्रदेश देखि दिल्ली सम्मको अन्तरदेशीय यात्राको लागि सञ्चालनमा आउने कम्पनीको भनाइ छ । ‘टाटा एलपीओ १६२२/६२ मेग्ना बसमा अत्याधुनिक प्रविधि र बीएस६ मानक प्रयोग भएको छ, जसले यसलाई वातावरणमैत्री बनाउँछ । विशेष फिल्टरले कण उत्सर्जन घटाउँछ, र आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउँछ,’ कम्पनीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । कम्पनीकाअनुसार बीयस६ गाडीमा ओबीडी प्रणालीले इन्जिन र उत्सर्जन समस्याहरू सजिलै पत्ता लगाउँछ । एससीआर प्रणालीले नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्छ । यी गाडीहरू स्वच्छ, उच्च गुणस्तरको इन्धनमा चल्छन्, जसले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउँछ । ‘अत्याधुनिक बीएस६ इन्जिन, लक्जरीयुक्त सिट र लामो दुरीका लागि विशेषरुपमा तयार पारिएका यी मगना गाडीहरुले पर्यटकीय विकासमा विशेष टेवा पुर्याउने विश्वास हामीले लिएका छौँ। साथै अन्तरदेशीय यात्रा यति सुगम हुँदा दुई देशबीच सांस्कृतिक आदानप्रदान र धार्मिक सहिष्णुता अझ बढ्नेछ’, कार्यक्रममा बोल्दै सिप्रदीका कमर्सियल युनिटका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले भने । यस अन्तरदेशीय यातायातको थालनीले सबैमा नयाँ हर्ष र आशा जागेको कार्यक्रममा उपस्थित विभिन्न व्यावसायीको तर्क थियो।
दशैंतिहार अगाडि ९० बढी कम्पनीले घोषणा गरे लाभांश
काठमाडौं । प्रतिफल पाउनैका लागि लगानीकर्ताले विभिन्न कम्पनीमा लगानी गर्छन् । आर्थिक वर्ष सकिएपछि कम्पनीहरूले सकेसम्म छिट्टै मुनाफा वितरण गरोस् भन्ने अपेक्षा अधिकांश लगानीकर्ताले गरेका हुन्छन् । साथै, आर्थिक वर्ष सकिएको केही महिनामै नेपालीहरूको पर्व दशैंतिहार पर्ने भएकाले दशैंतिहार अगावै आफूले लगानी गरेको कम्पनीले लाभांश (प्रतिफल) बाँडोस् भन्ने आशामा लगानीकर्ता हुन्छन् । साथै विशेषगरी पुँजी बजारमा सूचीकृत कम्पनीमा लगानीकर्ताहरूको चासो बढी हुन्छ । त्यसैले कुन कम्पनीले कति लाभांश वितरण गरेको छ भने लगानीकर्ताले सोधखोज गर्ने गर्छन् । यसपटक भने दशैंतिहार अगावै करिब तीन दर्जन सूचीकृत कम्पनीले आफ्ना सेयरधनीहरूलाई लाभांश बाँड्ने घोषणा गरेका छन् । पुँजी बजारमा सूचीकृत नभएका गरी हालसम्म ९० बढी कम्पनीले सेयरधनीलाई प्रतिफल बाँड्ने निर्णय गरेका हुन् । जसमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ३४ वटा कम्पनी, म्युचुअल फण्ड २९ वटा र २७ वटा सूचीकृत नभएका गरी ९० बढी कम्पनी रहेका छन् । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँको ४ प्रतिशतका दरले ५६ करोड ८० लाख ३८ हजार ९६० रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशतका दरले २ करोड ९८ लाख ९६ हजार ७८७ रुपैयाँ नगद गरी कुल ४.२१ प्रतिशत अर्थात् ५९ करोड ७९ लाख ३५ हजार ७४७ रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १९ प्रतिशत नगद गरी कुल २५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नबिल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँको करसहित १० प्रतिशत नगद लाभांश लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँको करसहित ५ प्रतिशतका दरले ९७ करोड १ लाख २५ हजार ७८६ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँको ५.५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । सानिमा बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँको करसहित ५.२६३२ प्रतिशत नगत लाभांश प्रस्ताव पारित गर्नेछ । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँको ७ प्रतिशतका दरले २२ करोड ९६ लाख ८१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशतका दरले १६ करोड ४० लाख ५८ हजार रुपैयाँ नगद गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । ओरियण्टल होटल्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँको ५ प्रतिशतका दरले ५ करोड ६४ लाख ४ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले २९ लाख ६८ हजार रुपैयाँ बराबरको नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोल्टी होटलले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ९२ करोड ८९ लाख ५३ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.८४ प्रतिशत नगद गरी कुल ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । विन्ध्यवासीनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँको ८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । सगरमाथा जलविद्युत कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । अपी पावर कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को खुद नाफाबाट सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१५ प्रतिशत नगद गरी कुल ३.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । रु रु जलविद्युत परियोजनाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद गरी कुल १५.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मन्दाकिनी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सुपर मादी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको ५ प्रतिशतका दरले १० करोड ५० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजननका लागि ५५ लाख २६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साहस उर्जा कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँको ८ प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत अर्थात् १ करोड ४७ लाख ३६ हजार रुपैयाँ नगद गरी कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भगवती हाइड्रोपावरले गत वर्षको नाफाबाट चुक्ता पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको ४ प्रतिशत अर्थात् २ करोड २८ लाख ८२ हजार रुपैयाँ बोनस सेयर र १०.७३ प्रतिशत अर्थात् ६ करोड १४ लाख २१ हजार रुपैयाँ नगद गरी कुल १०.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । माण्डु हाइड्रोपावर कम्पनीले चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख २७ हजार रुपैयाँको १२ प्रतिशत अर्थात् १६ करोड ३६ लाख ३६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सुपरमाई हाइड्रोपावरले चुक्ता पुँजी ५० करोड रुपैयाँको ७ प्रतिशत अर्थात् ३ करोड ५० लाख रुपैयाँ बोनस सेयर र ५.६३ प्रतिशत अर्थात् २ करोड ८१ लाख ५० हजार रुपैयाँ नगद लाभांश (कर सहित) गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । हाथवे इन्भेष्टमेन्ट नेपालले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सीईडीबी हाइड्रोपावर कम्पनीले दुई आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ३७ हजार रुपैयाँको ११ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको छ । नेपाल ल्यूव आयलले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । युनिलिभर नेपालले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई १ हजार ७१४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँको ९ प्रतिशतका दरले ११ करोड १० लाख ४४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशतका दरले ५८ लाख ४४ हजार रुपैयाँ नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेशनल लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १ अर्ब १६ करोड ५५ लाख २१ हजार रुपैयाँको १४.२५ प्रतिशका दरले १६ करोड ६० लाख ८६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले ८७ लाख ४१ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत अर्थात् १७ करोड ४८ लाख २८ हजार रुपैयाँ लाभांश वितरण गर्ने भएको छ । सपोर्ट लघुवित्त गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी १० करोड ७६ लाख १८ हजार रुपैयाँको १३.७७ प्रतिशतका दरले १ करोड ४८ लाख २४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७२ प्रतिशतका दरले ७ लाख ८० हजार रुपैयाँ नगद गरी कुल १४.५० प्रतिशत अर्थात् १ करोड ५६ लाख ४ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ९४ करोड ४३ लाख ५१ हजार रुपैयाँको ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद गरी कुल १० प्रतिशत अर्थात् ९ करोड ४४ लाख ३५ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०८१/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार रुपैयाँको १३.३९ प्रतिशतका दरले १४ करोड ३ लाख ८९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशतका दरले ७३ लाख ८८ हजार रुपैयाँ नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँको १४.७५ प्रतिशतका दरले २० करोड ६६ लाख २५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले १ करोड ८ लाख ७५ हजार नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । आशा लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले ९ करोड १४ लाख २० हजार रुपैयाँ बोनस सेयर र ०.२५ प्रतिशतका दरले ४८ लाख १२ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत अर्थात् ९ करोड ६२ लाख ४२ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गुराँस लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ४४ लाख ४९ हजार ५ सय रुपैयाँ बोनस सेयर र ०.७५ प्रतिशतका दरले ७ लाख ६० हजार ५ सय रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँको १८.३८ प्रतिशतका दरले ७६ करोड ९० लाख ६५ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । म्युचुअल फण्ड २९ वटा मर्चेन्ट बैंकहरूले सञ्चालन गरिरहेका विभिन्न सामूहिक लगानी कोष (म्युचुअल फण्ड)हरूमध्ये २९ वटा म्युचुअल फण्डले गत वर्षको नाफाबाट प्रतिफल वितरण गरेका भएका हुन् । पुँजी बजारमा ३६ वटा म्युचुअल फण्ड सूचीकरण भई कारोबारमा छन् । अझै ७ वटा म्युचुअल फण्डले आफ्ना इकाईधनीहरूलाई प्रतिफल वितरण गर्न बाँकी रहेको छ । लक्ष्मी सनराइज क्यापिटलले विभिन्न ४ वटा म्युचुअल फण्डका इकाईधनीहरूलाई प्रतिफल वितरण गरेको हो । क्यापिटलका अनुसार सनराइज फर्स्ट म्युचुअल फण्डले १२.५ प्रतिशत, सनराइज फोकस्ड इक्विटी फण्डले ४.५ प्रतिशत, लक्ष्मी उन्नति कोषले ७.५ प्रतिशत र लक्ष्मी भ्यालु फण्ड २ ले ४.५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । यस्तै, एनआईसी एशिया क्यापिटलले विभिन्न ५ वटा म्युचुअल फण्डका इकाईधनीलाई गत वर्षको नाफाबाट प्रतिफल वितरण गरेको छ । एनआईसी एशिया सेलेक्ट–३० (इण्डेक्स फण्ड) ले १४ प्रतिशत अर्थात् १७ करोड ५० लाख रुपैयाँ, फ्लेक्सी क्याप फण्डले १०.५० प्रतिशत अर्थात् १० करोड ७१ लाख रुपैयाँ, डाइनामिक डेप्ट फण्डले १० प्रतिशत, ग्रोथ फण्डले ९.५० प्रतिशत अर्थात् ७ करोड ९३ लाख ४४ हजार रुपैयाँ र ब्यालेन्सड् फण्डले ९.२५ प्रतिशत अर्थात् ६ करोड ९८ लाख ३७ हजार ५ सय रुपैयाँ प्रतिफल वितरण गरेको हो । यस्तै, कुमारी क्यापिटलले कुमारी इक्वीटी फण्डका इकाईधनीहरूलाई ९.५० प्रतिशत अर्थात् ९ करोड ५० लाख रुपैयाँ र कुमारी धनवृद्धि योजनाका इकाईधनीहरूलाई ९.५० प्रतिशत अर्थात् ११ करोड ६३ लाख ८१ हजार ८९६ रुपैयाँ नगद लाभांश वितरण गरेको हो । यस्तै, सानिमा क्यापिटलका सानिमा इक्विटी फण्डले १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डले १० प्रतिशत र सानिमा ग्रोथ फन्डले १० प्रतिशत नगद लाभांश वितरण गरेको हो । आरविवि मर्चेन्ट बैंकिङले आरविवि म्युचुअल फण्ड १ ले ३.८१ प्रतिशत अर्थात् ४ करोड ७५ लाख ७२ हजार ३२३ रुपैयाँ र आरविवि म्युचुअल फण्ड २ ले ८.७४ प्रतिशत अर्थात् ७ करोड ३९ लाख ४६ हजार रुपैयाँ नगद लाभांश वितरण गरेको हो । यस्तै, नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका नबिल फ्लेक्सी क्याप फण्डले ५ प्रतिशत अर्थात् ३ करोड १२ लाख १५ हजार रुपैयाँ र नबिल ब्यालेन्स्ड फण्ड २ ले ८ प्रतिशत, प्रभु क्यापिटलको प्रभु सेलेक्ट फण्डले १० प्रतिशत र प्रभु स्मार्ट फण्डले ८.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन् । यस्तै, सिटिजन्स क्यापिटलका सिटिजन्स म्युचुअल फण्ड १ ले ९ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड २ ले ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १० प्रतिशत, एनएमबि क्यापिटलका एनएमबि फिफ्टीले १५ प्रतिशत र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड ३ले १० प्रतिशत प्रतिफल वितरण गर्ने भएका हुन् । सिद्धार्थ क्यापिटलको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले ७ प्रतिशतका दरले ५ करोड ६४ लाख ६ हजार रुपैयाँ, एनआइएमबि एस क्यापिटलको एनआईविएल ग्रोथ फण्डका इकाईधनीहरूलाई ६.३५ प्रतिशत, ग्लोबल आइएमई क्यापिटलको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ले ५ प्रतिशत र हिमालयन क्यापिटलले हिमालयन ८०–२० ले ६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन् । सूचीकृत नभएका कम्पनीको लाभांश पुँजी बजारमा सूचीकृत नभएका विभिन्न कम्पनीले पनि गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण गरेका छन् । एनआईसी एशिया क्यापिटलले चुक्ता पुँजीको ५२.५३ प्रतिशत, सिटिजन्स क्यापिटलले १५.१५ प्रतिशत (३ करोड १० लाख रुपैयाँ), मुक्तिनाथ क्यापिटलले ७.५ प्रतिशत, आरविवि मर्चेन्ट बैंकिङ्गले १८ प्रतिशत, सिद्धार्थ क्यापिटलले २५ प्रतिशत अर्थात् ५ करोड रुपैयाँ लाभांश वितरण गरेका हुन् । यस्तै, एनएमबि क्यापिटलले १७ प्रतिशत, सानिमा क्यापिटलले १२ प्रतिशत, हिमालयन क्यापिटलले ७ प्रतिशत, प्रभु क्यापिटलले ७.३६ प्रतिशत, कुमारी क्यापिटलले १५ प्रतिशत (६ करोड रुपैयाँ), लक्ष्मी सनराईज क्यापिटलले ७.५ प्रतिशत, नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले ५ करोड ११ लाख ५७ हजार ८९४ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएका हुन् । यस्तै, नबिल स्टक डिलरले ८ प्रतिशत नगद लाभांश, सिविआईएल सेक्युरिटिज (ब्रोकर नं ९१) ले चुक्ता पुँजीको ५.२६ प्रतिशत अर्थात् १ करोड ५ लाख २६ हजार ३१५ रुपैयाँ, सुनधारा सेक्युरिटिज (ब्रोकर नं ५२) ले ११ प्रतिशत नगद, क्यापिटल म्याक्स सेक्युरिटिज (ब्रोकर नम्बर ६२)ले ४ प्रतिशत र इम्पेरियल सेक्युरिटिज कम्पनी (ब्रोकर नं ४५) ले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएका हुन् । यस्तै, केयर रेटिङ्गस नेपालले चुक्ता पुँजीको ६० प्रतिशत, इक्रा नेपालले ५७.३९ प्रतिशतका दरले ४ करोड १३ लाख २५ हजार १७२ रुपैयाँ नगद, नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले ५ प्रतिशत, बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालले चुक्ता पुँजी ४ करोड ९५ लाख रुपैयाँको १४.७४ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् । यस्तै, चार्टर्ड क्यापिटल एण्ड इन्भेष्टमेन्टले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १७ करोड २५ लाख रुपैयाँको ५ प्रतिशतका दरले ८६ लाख २५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ४ लाख ५३ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, पूर्वाञ्चल ल्यूव आयलले ०.५२ प्रतिशत अर्थात् ३ करोड १५ लाख ७८ हजार रुपैयाँ, शिवम होल्डिङ्ग्सले चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५० प्रतिशत अर्थात् ११ करोड ६० लाख रुपैयाँ, मारूती सिमेन्ट्सले ४ प्रतिशत, आशुतोष इनर्जीले ५.२६३ प्रतिशत अर्थात् २ करोड ५२ लाख ६३ हजार रुपैयाँ, सानिमा लिमिटेडले ७५.७४ प्रतिशत, मेडिकेयर हस्पिटलले १५ प्रतिशतका दरले ६ करोड ७५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएका हुन् ।
काठमाडौं उपत्यकामा छठको रौनक सुरु, सिंगारिँदै गौरीघाट
काठमाडौं । काठमाडौं उपत्यकामा छठको रौनक सुरु भएको छ । तिहार सकिए लगत्तै काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरी लगायतका स्थनमा छठका लागि तयारी सुरु गरिएको हो । छठ पूजाका लागि काठमाडौंका गौरीघाट लगायतका नदी किनारहरू सिंगारिएका छन् । चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन व्रतालुहरू नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् । दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ । कमलपोखरी छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले छठको तयारी भइरहेको र टेन्ट राख्ने काम लगभग सकिएको बताए । उनले कमलपोखरीमा २६० वटा बस्ने टेन्टहरु बनाएको तर बुकिङ गर्न आउनेहरूको संख्या तीन सय बढी भइसकेको बताए । साढे तीन सयको संख्यामा राख्न सकिने उनले बताए । अर्का स्थानीय जितेन्द्र झाले छठ प्राकृतिक पूजा भएकाले भगवान सूर्यनारायणको पूजाआज गरी मनाइने जानकारी दिए । ‘हामीले २ सय ६० वटा घाट नम्बरिङ गरेका छौँ । तर बुकिङ गर्न आउनेहरु तीन सय बढी भइसकेको छ । साढे तीन सय जति कभर हुन्छ । पाँच दिन यता सरसफाई भइरहेको छ’, उनले भने । छठ पर्वमा श्रद्धालुहरू भगवान श्री सूर्यनारायणको पूजा गर्ने गर्छन् । गाउँगाउँमा रहेका पोखरीहरूमा समेत छठ पर्वलाई लिएर सरसफाईका साथै सजाउने कार्य भईरहेको छ ।
रविलाई थप १० दिन प्रहरी हिरासतमा राख्न अदालतले दियो अनुमति
काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी म्याद थप भएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेमाथि अनुसन्धान गर्न म्याद थप्ने अनुमति दिएको हो । प्रहरीले भने अनुसन्धानका लागि २५ दिनको समय मागेको थियो ।
आयुर्वेद चिकित्सालयमा बढ्दै बिरामीको सङ्ख्या, २३ प्रकारका औषधी निःशुल्क पाइने
देउखुरी । रोल्पा सिउलीबाङका ७१ वर्षीया सरुमा विक तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा भेटिइन् । पेट दुख्ने, खान मन नलाग्ने समस्याले चिकित्सालय आएका उनले धेरै ठाउँमा उपचार गर्दा पनि ठिक नभएपछि यहाँ उपचार गर्न आएको बताइन् । उनका श्रीमान् जीतबहादुर पेट दुख्ने समस्या हुँदा यही चिकित्सालय आएका थिए । ‘यहाँ राम्रो उपचार हुन्छ, भन्ने सुनेर आएको हुँ’, उनले भने, ‘हामी जस्ता गरिबले सहजै उपचार पाउने अस्पताल रहेछ, यहाँ आएर उपचार गरेपछि मात्र थाहा भयो’ । चिकित्सालय परिसरमै भेटिएका घोराही उपमहानगरपालिका –९ कर्मटुवाका ७६ वर्षीय तिलकबहादुर खत्री हातखुट्टा दुख्ने, चिलाउने समस्या लिएर आएको बताए । ‘२५ रुपैँयामा दर्ता गरेर उपचार गर्न पाइने रहेछ । उपचार पनि राम्रो रहेछ, मेरो समस्या कम भयो, त्यसैले डाक्टरले १५ दिनमा बोलाउनुभएको थियो र आएको हुँ,’ उनले भने । २३ प्रकारका औषधी निःशुल्क पाएको र सस्तो भएको उनले बताए । चिकित्सालयमा अन्तरंग, बहिरङग, कायाचिकित्सा, स्त्री/प्रसूति, ज्येष्ठ नागरिक सेवा, सुरक्षित मातृत्व, छ महिनासम्मका आमालाई औषधि, पञ्चकर्मसम्बन्धी सेवा, पूर्वकर्म, सेरापोक योगा, प्रोमोटिम योगा, सर्जरी, मलद्वार, पायल्स, फिस्टुलाको उपचार गरिने चिकित्सालयका सूचना अधिकारी वसन्तबहादुर केसीले जानकारी दिए । अस्पतालमा आउने बिरामीलाई भर्ना गर्नुपर्ने अवस्था आएमा न्यून शुल्कमा भर्ना गरिने उनले बताए ।| विभिन्न प्रकारका ‘थेरापी’ गरेर आयुर्वेदिक औषधिको प्रयोग गरी उपचार गरिने र उपचार पछि बिरामी निको हुनेक्रम बढेको उनको भनाइ छ । प्रादेशिक आयुर्वेद चिकित्सालयका प्रमुख एवं निर्देशक डा सन्तोषकुमार ठाकुरले दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको बताए । चिकित्सालयमा क्षारसूत्र, पञ्चकर्म, अग्निकर्मलगायतका सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको उनले बताए । चिकित्सालयका अनुसार दाङसहित रोल्पा, सल्यान, रुकुम, डोल्पा, प्यूठान, सुर्खेत, नेपालगञ्ज लगायतका ठाउँबाट उपचारका लागि यहाँ बिरामी आउने गरेका छन् । प्रमुख ठाकुरले भने, ‘अन्य ठाउँमा उपचार गर्दा निको नभएका बिरामी यहाँ आएर उपचार गरी निको भएका थुप्रै उदाहरण छन् ।’ उनका अनुसार नेपालकै शय्यायुक्त आयुर्वेद चिकित्सालय अन्तर्गत बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय दोस्रो ठूलो हो । अस्पतालमा शल्यक्रियाका लागि आवश्यक सुविधा छ । यस चिकित्सालय विशेषगरी पायल्स र फिस्टुलाको उपचार केन्द्र बनेको उनले बताए । अझैपनि चिकित्सालयमा भौतिक पूर्वाधारको अभाव छ । ओपिडि र इन्डोर एउटै भवनमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रमुख ठाकुरले बताए । यस चिकित्सालयलाई ५० शय्यामा स्तरोन्नति गर्न सके अझै राम्रो हुने उनको भनाइ छ । विसं २०४८ मा स्थापना भएको मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालयलाई हाल प्रादेशिक आयुर्वेद चिकित्सालयको रुपमा विकास गरिएको हो । चिकित्सालयका अनुसार पाँच वर्षयता बर्सेनी यहाँ उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ मा २४ हजार चार सय २१, आव २०७८/७९ मा ५० हजार ९६ र आव २०७९/८० मा ७१ हजार दुई सय २३ बिरामीले यहाँबाट उपचार सेवा लिएका थिए । गत आव २०८०/८१ मा उक्त सङ्ख्या वृद्धि भइ एक लाख नौ हजार आठ सय ५२ पुगेको छ । रासस