माउन्टेन इनर्जीको नाफा बढेर ३० करोड ५३ लाख पुग्यो, ईपीएस ५३.९६ रुपैयाँ
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १५.८६ प्रतिशतले बढेको छ। पहिलो त्रैमासको अवधिमा कम्पनीले ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २६ करोड ३६ लाख १२ हजार रुपैयाँ थियो । यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४९ करोड ६० लाख १९ रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ९.०५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ४५ करोड ४८ लाख ५१ हजार रुपैयाँ थियो । कम्पनीको मुख्य आयोजनाको रुपमा रहेको ४२ मेगावाटको मिस्ट्री खोला आयोजनाको विद्युत उत्पादन २०८१ जेठ १५ देखि २०८१ साउन २० गतेसम्म बन्द रहेको थियो । बाढीका कारण मुख्य आयोजनाको उत्पादन पहिलो त्रैमासमा २० दिन बन्द हुँदा पनि कम्पनीको खुद नाफा १५.६८ प्रतिशतले बढेको छ । हाल भने ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन भईरहेको कम्पनीले जनाएको छ । यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख रहेको छ । कम्पनीको रिटेन अर्निंङ १ अर्ब ३३ करोड रहेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड ८० लाख थियो । कम्पनीले आर्थिक वर्ष २०७९/८० बाट १५ प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी बढेको हो । यस अवधिमा कम्पनीको वार्षिकीकरण नगरिएको प्रति सेयर आम्दानी १३.३९ रुपैयाँबाट बढेर १३.४९ रुपैयाँ पुगेको छ। वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी भने ५३.९६ रुपैयाँ हुन आउछ। कम्पनीको प्रति सेयर नेटवर्थ १५८ रुपैयाँ ७७ पैसा रहेको छ।
ईशनाथ नगरपालिकाका वडाध्यक्ष साहको निधन
चन्द्रपुर । मिर्गौलापीडित ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा निधन भएको छ । एकसट्ठी वर्षीय उनको बिहीबार राति निधन भएको हो । वडाध्यक्ष साह २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट र २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । त्यसैबीच, रौतहट क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद किरणकुमार साहले वडाध्यक्ष साहको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनामा समवेदना प्रकट गरेका छन् ।
उपनिर्वाचन : हेटौँडा–१२ मा चुनावी सरगर्मी बढ्दो
बागमती । प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको टुङ्गो लगाएका छन् । गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त भएको हो । निर्वाचन आयोगको कार्यतालिका अनुसार मङ्सिर २ गते उम्मेदवारी मनोनयन दर्ता हुनेछ । नेपाली कांग्रेसले अर्जुन तिवारीलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेस हेटौँडा नगर समितिका सभापति उत्सव इटेनीले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राजेश नगरकोटीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले रविन प्रधानलाई उम्मेदवार बनाएको छ । ठूला दलसँगै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवार टुङ्गो लगाएका छन् । पार्टीको वडा, नगर र जिल्ला कार्यसमितिको संयुक्त बैठकले आशा वीरबललाई उम्मेदवार बनाउने निर्णय गरेको रास्वपा हेटौँडा नगर सभापति ध्रुवबहादुर विष्टले बताए । एकीकृत समाजवादीले बलराम बल र राप्रपाले प्रेम लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उपनिर्वाचन नजिकिएसँगै सो वडामा चुनावी सरगर्मी पनि बढेको छ । गत निर्वाचनमा प्रमुख तीन दलबीच नै प्रतिस्पर्धा भएको थियो । यसपटक पनि त्यस्तै हुने आकलन गरिएको छ ।
देशका अधिकांश भागमा आज मौसम सफा रहने
काठमाडौं । हाल देशभर पश्चिमी तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । साथै तराईका केही भागमा बाक्लो हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा तराईका क्षेत्रमा बिहानीपख र राती बाक्लो हुस्सु लाग्नसक्ने भएको जनाउँदै विभागले ती स्थानमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
११ बैंकले ब्याजदर घटाउँदा ८ को स्थिर, राष्ट्रिय वाणिज्य बैंकले बढायो
काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन् । मंसिर १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको ब्याजदरमा ११ वटा बैंकले ब्याजदर घटाएका हुन् । मंसिरमा बैंकहरूको मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत ब्याजदर ५.९७ प्रतिशत र संस्थागततर्फ औसत ४.६४ प्रतिशत रहेको छ । कात्तिकको तुलनामा व्यक्तिगततर्फ औसत ०.२१ प्रतिशत र संस्थागततर्फ ०.२७ प्रतिशत ब्याजदर घटेको देखिन्छ । कात्तिकमा बैंकहरूको ब्याजदर व्यक्तिगततर्फ औसत ६.२२ प्रतिशत थियो भने संस्थागततर्फ ४.९७ प्रतिशत थियो । ११ बैंकले ब्याजदर घटाउँदा ८ बैंकले भने ब्याजदर स्थिर राखेका छन् । तर, मंसिरमा राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दतीमा ०.२ प्रतिशत ब्याजदर बढाएर ६ प्रतिशत पुर्याएको हाे । मंसिर महिनामा सबैभन्दा बढी ब्याजदर एनआईसी एशिया बैंकको रहेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ६.७९ प्रतिशत ब्याजदर तोकेको छ । साथै, सबैभन्दा कम ब्याजदर लक्ष्मी सनराइज बैंकको ५.५ प्रतिशत तोकेको छ ।
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ३० र बिक्रीदर एक सय ७१ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ १४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ६३ पैसा र बिक्रीदर आठ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६ रुपैयाँ चार पैसा, कतार रियाल एकको खरिद दर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ८४ पैसा र बिक्रीदर तीन रुपैयाँ ८६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६ड पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ०७ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५८ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १९ पैसा र बिक्रीदर १२ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिद दर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ३९ पैसा, कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ८६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ५२ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ १२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
हिमालयन रिइन्स्योरेन्सको नाफा २९.१६ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता छन् ?
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा २२ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले २९.१६ प्रतिशत बढी नाफा आर्जन गरेको हो । असोज मसान्तसम्म कम्पनीले ९२ करोड ४४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८३ करोड ३२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १०.९४ प्रतिशत बढेको हो । असोजसम्म कम्पनीले ४९ करोड ७२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड ७२ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी १३.७२ प्रतिशत बढेको हो । यसअवधिमा कम्पनीले १ अर्ब २४ करोड ९७ लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने ८८ करोड ७१ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १ करोड ७७ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने ७६ करोड ७४ लाख रुपैयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ, सेयर प्रिमियमा ३ अर्ब १८ करोड रुपैयाँ, विशेष कोषमा १ अर्ब ३० करोड ७७ लाख रुपैयाँ, महाविपत्ति कोषमा १३ करोड २१ लाख रुपैयाँ, सञ्चित नाफा ८१ करोड ९५ लाख रुपैयाँ र अन्य इक्विटीमा ३ करोड १६ लाख रुपैयाँ रहेको छ । नफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.७१ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५९.१६ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १०३.५६ गुणा छ । यसअवधिमा कम्पनीले १३ अर्ब ६३ करोड ७२ लाख रुपैयाँ दीर्घकालीन लगानी गरेको छ भने ५ अर्ब ४६ करोड ५४ लाख रुपैयाँ छोटो अवधिको लगानी गरेको छ ।
एशियन लाइफको नाफा ४२ प्रतिशत बढ्यो, २ अर्ब बढी बीमा शुल्क आर्जन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा १३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले ४२ प्रतिशत बढी नाफा आर्जन गरेको हो । असोज मसान्तसम्म कम्पनीले २ अर्ब १ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७९ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १२.२३ प्रतिशत बढेको हो । असोजसम्म कम्पनीले ८ करोड २८ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ६२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कम्पनीको दाबी भुक्तानी ८.६५ प्रतिशत बढेको हो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ, महाविपत्ति कोषमा २३ करोड ५ लाख रुपैयाँ, सञ्चित नाफा ४५ करोड ९२ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ५८ लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोष ४३ अर्ब ५९ करोड ५६ लाख रुपैयाँ पुगेको छ । नफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १५.६४ रुपैयाँ छ ।