काठमाडौंमा घर जित्ने विजेता मङ्सिर १२ गते घोषणा हुने
काठमाडौं । ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत काठमाडौंमा घर जित्ने विजेताको घोषणा मंसिर १२ गते हुँदै । यो घोषणा कान्तिपुर टेलिभिजन, फेसबुक र युट्युबमा प्रत्यक्ष प्रसारण गरिनुका साथै, ईसेवा मनी ट्रान्सफर र इसेवाको आधिकारिक फेसबुक पेजमार्फत पनि प्रत्यक्ष हेर्न सकिने आयोजकले जनाएको छ । ईसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्स र सुरक्षित कारोवारलाई प्रोत्साहन गर्ने हेतुका साथ दुई वर्षअघि सुरु गरेको मेरो डिजिटल देश अभियानले १४ महिना अघि (असोज १, २०८०) पुन: निरन्तरता पाउँदै काठमाडौंमा घर उपहार दिने विशेष योजना सार्वजनिक गरेको थियो । सो योजनाअन्तर्गत विदेशबाट ईसेवा मनी ट्रान्सफरमार्फत इसेवा वालेटमा रेमिट्यान्स पठाउने सेवाग्राहीहरूमध्ये एकजना भाग्यशाली विजेताले काठमाडौंमा घर जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन । यो अवधिभर १० जना भाग्यशाली विजेताले आफूले पठाएको रकम दोब्बर गरिसकेका छन् भने ४ परिवारले विशेष सरप्राइज पुरस्कार पनि प्राप्त गरिसकेका छन् । ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘मेरो डिजिटल देश अभियानद्वारा हामीले देश तथा विदेशमा रहनुभएका नेपालीहरूको अनुहारमा खुसी ल्याउने सानो प्रयास गर्यौं र यसै क्रममा हामी अहिले काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको पर्खाइमा छौं । हाम्रो यो योजनाको मुख्य उद्देश्य भनेको सहज र सुरक्षित तवरले डिजिटल माध्यमबाट तपाईंहरूले पठाउनु भएको माया घरसम्म पुर्याउनु हो ।’
नेशनल लाईफले गर्यो बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान गरेको छ । इन्स्योरेन्सले बागमती प्रदेशबाट आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ६१० जनाभन्दा बढी अभिकर्ताहरू, विभागीय प्रमुख, कम्पनीका बागमती प्रदेशका प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सो सम्मान कार्यक्रममा बागमती प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सीईओ क्लब सदस्यता वितरण गरिनुका साथै प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरेका थिए । समारोहमा सीईओ क्लब र नेशनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेश स्तरीयरूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजनाअनुरूप मधेश प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका अभिकर्ताहरु सम्मनित भईसकेको र सोही क्रममा बागमती प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएको जानकारी गराइएकाे थियाे । सीईओ खत्रीले कम्पनीले अभिकर्तामैत्री योजना ल्याउने क्रममा अभिकर्ताहरूले सबैभन्दा बढी रुचाएका चेयरपर्सन क्लब सदस्यता वितरण कार्यक्रमकै झल्को दिने गरी स–साना व्यवसाय गर्ने अभिकर्ताहरूलाई समेत समेटी चेयरपर्सन क्लबमा पुर्याउने उद्देश्यले सीईओ क्लबको धारणा ल्याएकोमा नेपालभरबाट २००० जनाभन्दा बढी अभिकर्ताहरू यस कार्यक्रममा छनौट हुनुले यो योजना अन्यन्तै सफल भएको बताए ।
एआई सञ्चालन गर्ने डेटा सेन्टरहरूले सिंगो सहरभन्दा बढी विद्युत् प्रयोग गर्नसक्ने, यस्तो छ योजना
काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) र क्लाउड कम्प्युटिङका ऊर्जा आवश्यकताहरू यति ठूलो दरमा बढिरहेका छन् कि निकट भविष्यमा व्यक्तिगत डेटा सेन्टर क्याम्पसहरूले केही सहर र यहाँसम्म कि सम्पूर्ण अमेरिकी राज्यहरूको भन्दा बढी विद्युत खपत गर्नसक्ने विश्लेषकहरूले बताएका छन् । पछिल्लो १० वर्षमा डेटा सेन्टरहरूको विद्युत खपत द्रुत रूपमा बढेको छ । विकासकर्ताहरू एआईको आगमनसँगै डेटा सेन्टरहरूको साइज पनि ठूलो हुँदै गएकाले तिनीहरूलाई चलाउन आवश्यक पर्ने ऊर्जा पाउन र तिनीहरूलाई राख्न उपयुक्त जग्गा खोज्न कठिन हुँदै जाने बताउँछन् । डेटा सेन्टरले एक गिगावाट वा सोभन्दा बढी विद्युत माग गर्न सक्ने पनि उनीहरू बताउँछन् । ल्यान्सियमकी अध्यक्ष अली फेनका अनुसार प्रविधि कम्पनीहरू एआईको विश्वव्यापी प्रभुत्वका लागि ‘दौड’ मा छन् । उनले भनिन्, ‘यो सिधै राष्ट्रिय सुरक्षा र आर्थिक सुरक्षासँग सम्बन्धित छ । तिनीहरूले लगानी गर्न रोक्ने छैनन्, किनभने पूँजी लगानीको लागि योभन्दा नाफाजनक ठाउँ छैन ।’ डेटा सेन्टरहरू जसले लाखौं घरपरिवार बराबरको ऊर्जा खपत गर्छन्, भविष्यमा अझ ठूलो भूमिकामा आउनसक्ने प्रक्ष्येपण छ । डेटा सेन्टरहरू नयाँ बजारमा विस्तार जमिन र ऊर्जा सीमित हुँदै गइरहेकाले डेटा सेन्टरहरू भर्जिनियाको उत्तरी क्षेत्रमा रहेको परम्परागत केन्द्र बाहिरका नयाँ बजारमा विस्तार भइरहेका छन् । भर्जिनियालाई सेवा दिने विद्युत ग्रिडले अब विश्वसनीयताको समस्या सामना गरिरहेको छ । कोइला र केही प्राकृतिक ग्यासबाट चल्ने पावर प्लान्टहरूको अवकाशका कारण ऊर्जा आपूर्ति घट्दै गर्दा माग बढ्ने अपेक्षा गरिएको छ । डाटा सेन्टर प्लानिङ ट्र्याक्टले हालै एरिजोनामा झन्डै २ हजार १०० एकड जमिन खरिद गरेको छ, जसलाई देशकै सबैभन्दा ठूलो डेटा सेन्टर क्याम्पसहरूमध्ये एक बनाउने योजना बनाइएको छ । निजी रूपमा सञ्चालित यस कम्पनीले ४० वटा व्यक्तिगत डेटा सेन्टरहरूलाई आवश्यक पर्ने १.८ गिगावाटसम्मको ऊर्जा सुनिश्चित गर्न काम गरिरहेको छ । १ गिगावाटको ऊर्जा आवश्यक पर्ने डेटा सेन्टर क्याम्पसले झन्डै ७ लाख घरहरूको वार्षिक औसत खपत वा करिब १८ लाख जनसंख्या भएको सहरको बराबरको ऊर्जा खपत गर्दछ । बोस्टन कन्सल्टिङ समूहको डेटाअनुसार प्रमुख प्रविधि कम्पनीहरूले सञ्चालन गर्ने व्यक्तिगत डेटा सेन्टरहरूको औसत आकार हाल ४० मेगावाट जति छ, तर २५० मेगावाट वा सोभन्दा बढीका क्याम्पसहरूको संख्या बढ्दै गएको छ । अमेरिकामा २०३० देखि २०४० को मध्यसम्म ५०० मेगावाट वा सोभन्दा बढी (अर्ध गिगावाट) आकारका डेटा सेन्टर क्याम्पसहरूको संख्या बढ्दै गएको देखिने अनुमान गरिएको छ । २०१७ मा स्थापना भएको ल्यान्सियम अहिले २०२२ को अन्त्यतिर च्याटजीपीटीको आगमनसँगै एआईका लागि ऊर्जा प्रदान गर्न थालेको छ । आज, ल्यान्सियमका पाँच डेटा सेन्टर क्याम्पसहरू विभिन्न चरणमा निर्माण हुँदैछन् । एबिलिनमा रहेको १ हजार एकडको क्याम्पस २०२५ को पहिलो त्रैमासिकमा २५० मेगावाट ऊर्जा क्षमता र २०२६ सम्म १.२ गिगावाटमा वृद्धि हुने अपेक्षासहित खुल्ने बताइएकाे छ । ल्यान्सियमका डेटा सेन्टर ग्राहकहरूको न्यूनतम ऊर्जा आवश्यकता अहिले १ गिगावाट रहेको छ र भविष्यका योजनाहरूले तिनलाई ३ देखि ५ गिगावाटसम्म विस्तार गर्ने अपेक्षा छ । नवीकरणीय ऊर्जामात्र पर्याप्त छैन नवीकरणीय ऊर्जा मात्र भरपर्दो विकल्प नभएकाले प्रविधि कम्पनीहरू नयाँ ऊर्जा स्रोतहरू जस्तै साना आणविक रिएक्टरहरूमा पनि लगानी गर्दैछन् । यद्यपि, छोटो अवधिमा प्राकृतिक ग्यास प्रमुख ऊर्जा स्रोत हुनेछ । माइक्रोसफ्टले ह्यारिसबर्ग, पेनसिल्भेनियाको नजिक थ्री माइल आइल्याण्ड आणविक प्लान्टलाई पुनः सुरु गर्न ऊर्जा खरिद सम्झौतामार्फत समर्थन गर्दैछ । अमेजन र गुगलले साना आणविक रिएक्टरहरूमा लगानी गर्दैछन् । तर नयाँ आणविक रिएक्टर निर्माण निकै महँगो र ढिलाइपूर्ण छ । जर्जियाका दुई नयाँ रिएक्टरहरू हालै समय तालिकाभन्दा वर्षौं पछाडि र अर्बौं डलरको लागतमा सञ्चालनमा आएका छन् । छोटो अवधिमा, प्राकृतिक ग्यासले डेटा सेन्टरहरूको ऊर्जा मागको धेरै भाग पूर्ति गर्ने ल्यान्सियमकी अध्यक्ष अली फेनले बताइन् । बस्टन कन्सल्टिङ ग्रुपका लीका अनुसार ग्यास नै यी सुविधाहरूलाई आवश्यक विश्वसनीयता प्रदान गर्ने मुख्य अल्पकालीन ऊर्जा स्रोत हो । नवीकरणीय ऊर्जा विस्तार, ब्याट्री भण्डारण लागत कम हुँदै जाने र एआईले डेटा सेन्टरहरूलाई थप दक्ष बनाउँदै लैजाने प्रक्रियासँगै ग्यासको माग घट्नेछ । ( एजेन्सीको सहयोगमा)
कोप-२९ सम्मेलन : धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
काठमाडौं । दुई साता लामो वार्तापछि अन्तिम सम्झौतामा विकसित राष्ट्रहरूले सन् २०३५ सम्ममा विकासोन्मुख देशहरूलाई आफ्नो अर्थतन्त्रलाई हरित बनाउन र अझ खराब विपत्तिको सामना गर्न सहयोग गर्न प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यो रकम धनी देशहरूले समयावधि समाप्त हुने प्रतिबद्धताअन्तर्गत उपलब्ध गराएको १०० अर्ब अमेरिकी डलर र शुक्रबारको मस्यौदामा प्रस्तावित २५० अर्ब अमेरिकी डलरभन्दा बढी हो । जलवायु वित्त निर्माणको ‘जग’ तयारः गुटेर्रेस संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले अजरबैजानमा आइतबार बिहान भएको जलवायु वित्त सम्झौता पर्याप्त नभएको भन्दै यसलाई जलवायु वित्तको ‘आधार’का रुपमा हेर्न आग्रह गरेका छन् । गुटेर्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले सामना गरिरहेको ठूलो चुनौतीको सामना गर्न वित्त र न्यूनीकरण दुवैमा मैले अझ महत्वाकाङ्क्षी परिणामको आशा गरेको थिएँ, यो सम्झौतालाई आधारको रूपमा हेर्दै जलवायु वित्तको आधार निर्माण गर्न म सरकारहरूलाई अपिल गर्दछु।’ उनले भने, ‘यो सम्झौतालाई पूर्णरूपमा समयमै सम्मान गर्नुपर्छ ।’ महासचिव गुटेर्रेसले भने, ‘प्रतिबद्धताहरू चाँडै नगदमा परिणत हुनुपर्दछ। यो नयाँ लक्ष्यको शीर्ष–अन्त पूरा गर्न सुनिश्चित गर्न सबै देशहरू एक साथ आउनुपर्छ।’ उनले भने, ‘तापमान वृद्धिको १.५ डिग्रीको सीमालाई जीवित राख्नको लागि कोप २९ मा एक सम्झौता नितान्त आवश्यक थियो र देशहरूले यसको कार्यान्वयन गर्न सहमत भएका छन् ।’ कार्य योजनाहरूलाई जारी राख्नको लागि थप दबाब दिने अभियानकर्मीहरूलाई सन्देशको साथ समापन सम्बोधन गर्दै उनले भने, ‘जीबास्म इन्धनको युगको अन्त्य अपरिहार्य छ त्यसैले राष्ट्रहरूले ‘कोप ३० भन्दा धेरै अगाडि’ अर्थव्यवस्थामा आधारित न्यायपूर्ण नयाँ जलवायु कार्य योजनाहरू प्रदान गर्न आह्वान गर्नुभयो ।’ ‘संयुक्त राष्ट्रसंघ तपाईंहरूको साथमा छ । हाम्रो लडाइँ जारी छ । हामी कहिल्यै हार मान्दैनौं,’ गुटेर्रेसले भने ।
बससेवाको शतप्रतिशत क्यासब्याक अफर सुरु, देशका सबै गन्तव्यको टिकट निशुल्क
काठमाडौं । अनलाइनमार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले टिकट खरिद गर्दा शतप्रतिशत क्यासब्याक अफर सुरु गरेको छ । यात्रुहरुको सहजताका लागि देशका सबै गन्तव्यको टिकट काट्ने यात्रुहरुलाई शतप्रतिशत क्यासब्याक अफर सुरु गरिएको बससेवाले जनाएको छ । मंसिर ९ गते सुरु भएको अफर अन्तर्गत दैनिक १० जना यात्रुहरुलाई बससेवाले टिकट काट्दा लागेको सबै रकम फिर्ता दिनेछ । बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालकाअनुसार देशका कुनै पनि गन्तव्यको टिकट काट्ने यात्रुहरुमध्ये दैनिक १० जनाले टिकट काट्दा लागेको सबै रकम फिर्ता पाउनेछन् । ‘मंसिर १५ गतेसम्म चल्ने अफरमा हामीले दैनिक १० जनालाई निशुल्क बसको टिकट उपलब्ध गराएका हौं । बससेवाको माबाइल एप तथा वेबसाइटबाट टिकट काट्ने सबैलाई अफरमा सहभागी गराइनेछ,’ प्रमुख कार्यकारी अधिकृत खनालले भने । सहज किसिमले बसको टिकट काट्न सकिने प्लेटफर्म बससेवा यात्रुको रोजाइमा परोस् भन्नका लागि पनि यो अफर सञ्चालन गरिएको खनालको भनाई छ । प्रविधिको उच्चतम प्रयोग गर्दै जोखिमरहित र झन्झटरहित तरिकाले घरमा बसी बसी आफ्नो मोबाइलबाट शतप्रतिशत क्यासव्याकको सेवा लिन तथा छुटमा बसको टिकट काट्न सकिने बससेवाले जनाएको छ । बससेवाले देशभरका विभिन्न ४३३ गन्तव्यको टिकट काट्दा शतप्रतिशत क्यासव्याक अफर लागु हुने जनाएको छ । देशका जुनसुकै स्थानबाट काठमाडौंका लागि छुट्ने बसको टिकट पनि काट्न सकिने हुँदा अफरले यात्रुहरू लाभान्वित हुने बससेवाको अपेक्षा छ । संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका मुख्य सहरमा रहेका १० हजारभन्दा बढी स्टेसनरी, पान पसल, ट्राभल एजेन्सीलगायतबाट बससेवा प्रयोग गरी टिकट काट्न सकिनेछ । ती स्थानबाट टिकट काट्दा पनि अफरमा सहभागि हुन सकिने बससेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढीको संख्यामा बससेवाबाट टिकट काट्न सकिने विज्ञप्तिमा उल्लेख छ । नेपालका कुनै पनि सहरको टिकट अनलाइनबाटै काट्न सकिने भएकाले यात्रुलाई टिकट काट्न बससेवा उचित माध्यम हुने र टिकट काट्नकै लागि काउण्टर पुग्नु नपर्ने साथै लाइन बस्नुनपर्ने बससेवाले जनाएको छ । बससेवा नेपालको पहिलो अनलाइन बस टिकेटिङ प्लेटफर्म हो । बससेवामा ५०० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् । सबै समिति तथा कम्पनीका हजारौँ बसका लाखौँ सिटको टिकट घरबाटै बुकिङ गर्न सकिने भएकाले यात्रुलाई सहज हुने विश्वास बससेवाको छ ।
जीवन विकास लघुवित्तको १४.७३ प्रतिशत लाभांश घोषणा, यस्तो छ इतिहास
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले सेयरधनीहरूलाई १४.७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार रुपैयाँको १४ प्रतिशतका दरले १८ करोड ८६ लाख ५२ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७३ प्रतिशतका दरले ९९ लाख २९ हजार रुपैयाँ नगद गरी कुल १४.७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव दामोदर रेग्मीले जानकारी दिए । यसअघि लघुवित्तले आर्थिक वर्ष २०७९/८० मा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद गरी कूल १४.७३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा १४.२८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद गरी कूल १४.९९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कूल ७३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
मितेरी डेभलपमेन्ट बैंकको १० प्रतिशत लाभांश घोषणा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी १ अर्ब ११ करोड १४ लाख २६ हजार रुपैयाँको ९.५० प्रतिशतका दरले १० करोड ५६ लाख ७३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशतका दरले ५५ लाख ६१ हजार रुपैयाँ नगद गरी कुल १० प्रतिशत अर्थात् ११ करोड १२ लाख ३५ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुलसी प्रसाद वस्तीले जानकारी दिए । यसअघि आर्थिक वर्ष २०७९/८० मा बैंकले ९।५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गरेको थियो ।
७ अर्ब ४० करोड लागतको पोखरा-मुग्लिन सडक निर्माण कछुवा गतिमा, सर्वसाधारणलाई सास्ती
गण्डकी । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको एक सय एक दिनको ठेक्का म्याद मङ्सिर २० गते समाप्त हुँदैछ । आयोजनाका इञ्जिनियर सौजन्य नेपालका अनुसार चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले एक वर्ष म्याद थप गर्न माग गरेकाले प्रक्रिया प्रारम्भ भएको छ । कास्की र तनहुँमा पर्ने उक्त खण्डमा २०७८ साल भदौदेखि काम सुरु भएको हो । तीनवर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि दुई पटक म्याद थप हुन लागेको हो । पछिल्लो समय निर्माणको काम दु्रतगतिमा भइरहेकाले आगामी एक वर्षभित्र काम सम्पन्न हुने आधार देखिएको इन्जिनियर नेपालले बताए । ‘तालचोकदेखि गगनगौँडासम्मको क्षेत्रमा मात्र काम सुरु भएको छैन, अन्यत्र सबै ठाउँमा कामले गति लिएको छ, निर्माण कम्पनीले जनशक्ति र उपकरण थपेर तीव्र गतिमा काम जारी राखेको छ’, उनले भने । चार लेनको उक्त सडकमा हालसम्म एकतर्फी २२ किमी सडक, पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छभने पश्चिम खण्डअन्तर्गत तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधा चार लेनको बन्ने इञ्जिनियर नेपालले जानकारी दिए । वियजपुर खोला र सेती नदीमा पुल निर्माणको काम पनि सँगसँगै भइरहेको छ । सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम दु्रत गतगतिमा भइरहेको छ । निर्माण कम्पनीले एक वर्षभित्रमा निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएको छ । कोभिड–१९ महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भए पनि पछिल्लो समय कामले गति लिएको इन्जिनियर नेपालले बताए । पश्चिमतर्फ बढी सहरी क्षेत्र रहेको र सडकको अधिकार क्षेत्रभित्रका संरचना, विद्युत् पोल, खानेपानीका पूर्वाधार समयमा व्यवस्थापन हुन नसक्दा पनि सडक विस्तारमा ढिलाइ हुन पुगेको छ । ३८ दशमलव ८८ किमी दूरीको पश्चिम खण्डमा पर्ने १२ मध्ये नौवटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ । सडक मापदण्डभित्र पर्ने घरटहरा हटाउने र मुआब्जा दिने काम पनि सकिएको जनाइएको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग विस्तार तथा स्तरोन्नति समयमा पूरा नहुँदा जनगुनासो बढेको छ । निर्माणको चरणमा रहेको सडकबाट आवातजावत गर्दा पर्यटकलगायत सर्वसाधारणलाई सास्ती थपिएको छ । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनलले सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । कुल ८१ किमी लामो पोखरा–मुग्लिन विस्तारका निम्ति सडक एसियाली विकास बैंकले ऋण प्रदान गरेको हो । आयोजनाको पूर्वी सडक खण्ड (जामुने–मुग्लिन)मा भने हालसम्म भौतिक प्रगति ६८ प्रतिशत भएको पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उक्त खण्डमा १७ साना–ठूला पक्की पुलमध्ये १४ वटा बनिसकेका र तीनवटा निर्माणाधीन अवस्थामा रहेको उनले बताए । मादीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इञ्जिनियर पाण्डेले बताए । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्र सय खण्डमा अहिले धमाधम कालोपत्र भइरहेको, पूर्वी खण्डअन्तर्गत २९ किमीमा चार लेन र पाँच किमीमा दुई लेन सडक कालोपत्र भइसकेको बताए । एकचालीस दशमलव ४५ किमी लामो पूर्वी खण्डमा छ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको हो । यो खण्डको दमौली र डुम्रे बजारमा छ लेन र अन्य स्थान चार लेनको सडक हुनेछ । रासस