एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा, १ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले बोनस सेयर वितरणपश्चात् हकप्रद सेयर जारी गर्नेछ । कम्पनीले १ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको हो । लाभांश पारित गर्न कम्पनीले पुस १२ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायमसेयरधनीहरु मात्रै साधारण सभामा उपस्थित भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी
धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका-११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै सुरु गरेको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहेको छ । सात वर्षसम्म वैदेशिक रोजगारीमा जीवन बिताएर स्वदेश फर्किएपछि आफूहरूले व्यावसायिक च्याउ खेती सुरु गरेको रोशन गुप्ताले बताए । पहिलो वर्ष केही घाटा भए पनि त्यसपछि भने राम्रो आम्दानी भइरहेको उनले बताए। उनका अनुसार हाल सबै खर्च कटाएर वार्षिक रु १२ लाख सजिलै बचत हुने गरेको छ । हाल उनीहरूले पाँच वटा टनेलमा च्याउ खेती गरेको छ । च्याउ बजारमा थोकमा प्रतिकेजी रु एक सय ७० र फर्ममै किन्न आउने व्यापारीलाई रु एक सय ५० मा बिक्री गर्ने गरेको उनले बताए । रोशनले भने, ‘च्याउ बिक्रीका लागि बजारको समस्या छैन । उत्पादन भएको च्याउ धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, कल्याणपुर र स्थानीय बजार चक्रघटी, काला बजार बराहक्षेत्र चतरालगायतमा पुग्ने गरेको छ ।’ तत्कालीन समयमा रु ५० हजार लगानीमा सुरु गरेको च्याउ खेतीमा अहिले लगानी लाखौँमा पुगेको छ भने यहीबाटै परिवारका छ सदस्यलाई रोजगार पनि मिलेको छ । त्यसबाहेक थप करिब १० जनालाई जागिर पनि प्राप्त भएको छ । मासिक तलबमा काम गर्नेले मासिक रु १५ हजार र दैनिक ज्यालादारीमा काम गर्नेले रु पाँच सय काम गरिरहेका छन् । ‘व्यापार भएकाले सधैँ एकनास हुँदैन, कम जग्गामा पनि च्याउ खेती गर्न सकिन्छ,’ उनले भने, ‘च्याउ खेतीका लागि विशेष खालको स्याहारको आवश्यकता भने पर्छ ।’ च्याउ खेतीका लागि पराल र चुन आवश्यक पर्छ । त्यसबाहेक बास र खरले छाएको टहरासँगै प्लास्टिक पनि चाहिन्छ । विषादीको प्रयोग नहुने भएकाले यो स्वास्थ्यका लागि पनि राम्रो मानिने भएको यसको माग पनि बढ्दो रहेको रोशनले बताए । उनका अनुसार हाल दैनिक तीन सय ५० केजीसम्म च्याउ बिक्री भइरहेको छ । साउनदेखि असोजको समय धेरै बिक्री हुने समय भएको उनको अनुभव छ । वर्षमा नौ महिना च्याउको राम्रो उत्पादन हुने उनको भनाइ छ । ‘विदेशमा गएर धेरै दुःख गर्नुभन्दा स्वदेशमै थोरै मेहनत गर्दा पनि राम्रो कमाइ हुने रहेछ । अहिले विदेश जाने कुरा सोच्न पनि सकिन्न’, रोशनले भने । उनले च्याउ खेतीका गत वर्ष सुनसरी कृषि ज्ञान केन्द्रबाट रु एक लाख अनुदान पाएको थियो भने यस वर्ष बराहक्षेत्र नगरपालिकाले रु ९० हजार अनुदान दिएको थियो । रासस
छिमेक लघुवित्त २४औं वर्षमा प्रवेश, गरिब महिलाको सशक्तिकरणमा समर्पित
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २४औं वर्षमा प्रवेश गरेको छ । लघुवित्तले बुधबार २३औं वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा संस्थाले आफ्नो यात्रामा साथ दिने सदस्य, नियामक निकाय, सञ्चालक, सेयरधनी, कर्मचारी र शुभचिन्तकहरूप्रति कृतज्ञता व्यक्त गरेको छ । २००१ मा स्थापना भई नेपाल राष्ट्र बैंकबाट माइक्रोफाइनान्स बैंकिङ लाइसेन्स प्राप्त गरेको छिमेक लघुवित्तले गरिब र सीमान्तकृत महिलाको आर्थिक पहुँच विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । प्रारम्भमा महोत्तरी र चितवन जिल्लामा नेबरहुड सोसाइटी सर्भिस सेन्टरको पहलमा सञ्चालन भएको माइक्रोफाइनान्स कार्यक्रमको संस्थागत रूप हो । छिमेकले गरिब र सीमान्तकृत महिलालाई वित्तीय सेवामा पहुँच पुर्याउनु, बचतको संस्कार प्रबर्द्धन गर्नु, आम्दानी वृद्धि गर्न उत्प्रेरित गर्नु, साना उद्यम विकासमा सहयोग पुर्याउनु, र सदस्यहरूको सामाजिक सुरक्षालाई सुदृढ बनाउने मुख्य उद्देश्य राखेको बताएको छ । छिमेकले ६९ जिल्लामा फैलिएका १९७ शाखाहरूमार्फत ४ लाखभन्दा बढी गरिब र सीमान्तकृत महिला सदस्यहरूसँग प्रत्यक्ष सम्पर्क स्थापना गरेको छ। स्थापना कालमा १ करोड रुपैयाँको चुक्ता पूँजीबाट सुरु भएको छिमेकले आफ्नो कोर फण्डलाई १८० गुणाले बढाउँदै आजको अवस्थामा पुर्याएको छ।
बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो
भद्रपुर । मेचीनगर नगरपालि–६बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ । बाँसझ्याङमा लुकाएको तीन लाख पचास हजार रुपैयाँ बराबरको उक्त परिमाणको लसुन गएराति बरामद गरिएको हो । बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ ।
कछुवा तालमा ८ राष्ट्रिय गौरवका आयोजना, कार्यान्वयनका लागि ‘सनसेट ल’ लागू गर्ने तयारी
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहत ८ वटा राष्ट्रिय गौरवका आयोजना रहे पनि अपेक्षित प्रगति हुन सकेको छैन । खर्बाैं लागत लागत लाग्ने यी आयोजनाको काम तीव्र रूपमा बढ्न सकेका छैनन् । मन्त्रालयअन्तर्गत राष्ट्रिय गौरवका आयोजनामा माथिल्लो तामाकोशी जलविद्युत, बुढीगण्डकी जलविद्युत, पश्चिम सेती जलविद्युत, सिक्टा सिँचाइ, बबई सिँचाइ, रानी जमरा कुलारिया सिँचाइ, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय र सुनकोशी मारिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगति अपेक्षित सन्तोषजनक देखिएको छैन । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा आएको भएपनि गत असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी-पहिरोका कारण हाल आयोजना बन्द भएको छ । पुनःनिर्माणको काम भइरहेको सो आयोजनालाई शीघ्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । भौतिक प्रगतिको दृष्टिमा भने सो आयोजनाबाहेक अन्य आयोजनाको अवस्था भने अपेक्षित राम्रो छैन । सो मन्त्रालयमातहत रहेका सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण सम्पन्न भएपनि अन्य काममा उल्लेखनीय प्रगति हुन सकेको छैन । सो आयोजनाको भौतिक प्रगति ३४.९० प्रतिशत र वित्तीय प्रगति ३१.४९ प्रतिशत बराबर छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही दिन पहिले पेस गरिएको विवरणअनुसार सो आयोजनाको बाँधस्थल तथा विद्युत् गृहको ठेक्का व्यवस्थापनमा जटिलता देखिएको छ । बिपी राजमार्गबाट हेभी मालसामानको ढुवानी, बाँधस्थल तथा विद्युत गृह निर्माण व्यवसायीले स्रोतसाधन तथा जनशक्तिको न्यून परिचालन गरेका कारण प्रगति हुन नसकेको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । कूल १ लाख २२ हजार हेक्टरमा क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने र ३१.०७ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ । सो आयोजना आर्थिक वर्ष २०८५/८६ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आव २०६१/६२ देखि सुरु भएको सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१.७९ प्रतिशत मात्रै भएको छ । आयोजना सुरु भएको २० वर्ष पूरा भए पनि अदालतमा विचाराधीन विषयहरूको फैसला समयमा नहुँदा कार्यान्वयनमा दुविधा उत्पन्न भएको छ । जग्गा अधिग्रहणको प्रक्रिया झन्झटिलो र विवादित हुन पुगेको छ । जग्गा प्राप्तिमा नै लामो समय लाग्दा आयोजनाको कार्यान्वयनमा समस्या पैदा भएको छ । सिञ्चित क्षेत्रमा बस्ती विकास र कृषि भूमिको खण्डीकरण भएको छ । यस्तै, डुडुंवा नहरमा अतिक्रमण भएको छ । कूल ४२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु भएको सो आयोजनाको कूल लागत ५२ अर्ब ८९ करोड रुपैयाँ छ । सो आयोजनालाई अगाडि बढाउने उपायका रूपमा मुद्दाको फैसला, सरलीकृत जग्गा प्राप्ति र कृषि भूमिको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको छ । नदी पथान्तरण आयोजनाको रूपमा रहेको भेरी बबई डाइभर्सन आयोजनामा पनि निर्माण व्यवसायीको व्यवस्थापन तथा स्रोतसाधनको कमी रहेको छ । यस्तै, जनशक्ति परिचालनमा रहेको कमजोरीले आयोजनाको काम प्रभावित भएको छ । कार्य अनुभवको कमीले डिजाइन समीक्षामा समस्या, हरेक वर्षको बाढीको गेग्रान सफा गरी काम गर्नुपर्ने, परामर्श सेवाको अवधि सकिने अवस्थामा रहेको छ । उच्च कार्य समूह बनाइ प्राविधिक काममा सहजीकरण गर्ने र ठेक्का व्यवस्थापनमा कडाइ गर्नुपर्ने अवस्था छ । आव २०७१/७२ मा सुरु भएको सो आयोजना आव २०८४/८५ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कूल लागत ३६ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको उक्त आयोजनाले ४६.८ मेगावाट बिजुली र ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बबई सिँचाइ आयोजनामा पनि खरिद गुरुयोजनाअनुसार बजेट व्यवस्थापन हुन सकेको छैन । आव २०४५/४६ देखि सुरु भएको सो आयोजना आव २०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि विद्यमान समस्याका कारण पूरा हुनेमा आशंका रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बुझाइ छ । कूल ३६ हजार हेक्टर कृषियोग्य भूमिामा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढाइएको आयोजनाको संशोधन लागत १८ अर्ब ९६ करोड रुपैयाँ छ । आव २०६७/६८ मा सुरु भएको रानी जमरा कुलरिया सिँचाइ आयोजना आव २०८०/८१ मै सम्पन्न हुनुपर्ने कार्यतालिका थियो । पहिलो चरणमा १४ हजार ३ सय कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याउने र दोस्रो चरणमा थप २४ हजार हेक्टर कृषियोग्य भूमिलाई सिञ्चित गर्ने लक्ष्य राखिएको सो आयोजनाको भौतिक प्रगति ७४.३६ प्रतिशत र वित्तीय प्रगति ७२.३९ प्रतिशत पुगेको छ । सिञ्चित क्षेत्रको बचावट तथा कर्णाली नदी नियन्त्रणअन्तर्गत निर्माण भएका संरचना भत्काएर कर्णाली नदीले बगाएका कारण तत्काल पुनःनिर्माण गर्नुपर्ने अवस्था छ । आव २०६३/६४ मा सुरु भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति २३.५० प्रतिशत र वित्तीय प्रगति २३.४९ प्रतिशत छ । कूल ३३ हजार ५२० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेर सुरु भएको आयोजनाको कूल लागत ३५ अर्ब २ करोड रुपैयाँ बराबर छ । मुआब्जा वितरणमा ढिलाइ भएको, स्वचालित ढङ्गले महाकाली सन्धिअनुसार पानी प्राप्त हुन नसकेको, दोधारा चाँदनी क्षेत्रमा प्राप्त गर्ने १० क्यूमेक्स पानी प्राप्त हुन भारतीय भूमिमा संरचना निर्माण हालसम्म सुरु नभएका विषयलाई आयोजनाले समस्याका रुपमा चित्रण गरेको छ । मुआब्जा वितरणमा मात्रै ४२ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको बुढीगण्डकी आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनको यकिन हुन सकेको छैन । कूल १ हजार २ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनाको भौतिक प्रगति १० प्रतिशतमात्रै छ । सरकारले राष्ट्रिय गौरवका आयोजनाको अपेक्षित प्रगति नभएपछि केही समाधानका उपायसमेत अगाडि सारेको छ । त्यसमा राष्ट्रिय गौरवका आयोजना छनौटको निश्चित मापदण्ड लागू गर्ने, आयोजना कार्यान्वयनका लागि ‘सनसेट ल’ लागू गर्ने तयारी गरेको छ । आयोजना तयारी चरणको सबै कार्य सम्पन्न गरेर मात्रै कार्यान्वयनमा जाने, जिम्मेवार पदाधिकारीलाई आयोजनाको प्रगतिप्रति उत्तरदायी र जवाफदेही बनाउन गृहकार्य भइरहेको छ । सङ्घीय तथा प्रादेशिक निकाय र स्थानीय तहसँग नतिजामूलक समन्वय गर्ने दरबन्दी बमोजिम कर्मचारी व्यवस्थापन र कुशल विनियोजन आयोजनाको समग्र तथा आयोजना अन्तर्गतका ठेक्काहरूको चुस्तदुरुस्त व्यवस्थापन गर्नुपर्ने सरकारको बुझाइ छ ।
आज सेयरधनी बने सोल्टी होटलको ३६.८४ प्रतिशत लाभांश पाइने
काठमाडौं । सोल्टी होटलको ३६.८४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज मसिर १२ गते अन्तिम दिन रहेको छ । लाभांश तथा साधारणसभा प्रयोजनार्थ होटलले मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंसिर १२ गतेसम्म कारोबार भई कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.८४ प्रतिशत नगद गरी कुल ३६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले ५०औँ वार्षिक साधारण सभा पुस ४ गते बिहान साढे ११ बजे नेपाल प्रज्ञा भवन कमलादी काठमाडौंमा डाकेको छ ।
कुवेती दिनारको मूल्य ४३९.५३ रुपैयाँ, कोरियन वन एक सयको ९.६७ रुपैयाँ, कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.६३ रुपैयाँ र बिक्रीदर १३५.२३ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४१.४८ रुपैयाँ र बिक्रीदर १४२.११ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९.३० रुपैयाँ र बिक्रीदर १७०.०६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.९३ रुपैयाँ र बिक्रीदर १५२.६० रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.३० रुपैयाँ र बिक्रीदर ८७.६९ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.५० रुपैयाँ र बिक्रीदर ९५.९२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर ९९.९५ रुपैयाँ र बिक्रीदर १००.३९ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७५ रुपैयाँ र बिक्रीदर ८.७९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.५७ रुपैयाँ र बिक्रीदर १८.६५ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.८४ रुपैयाँ र बिक्रीदर ३६.०० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९३ रुपैयाँ र बिक्रीदर ३७.०९ रुपैयाँ, थाई भाट एकको खरिददर ३.८८ रुपैयाँ र बिक्रीदर ३.९० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.६५ रुपैयाँ र बिक्रीदर ३६.८२ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.२० रुपैयाँ र बिक्रीदर ३०.३४ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६३ रुपैयाँ र बिक्रीदर ९.६७ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.२७ रुपैयाँ र बिक्रीदर १२.३३ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.९५ रुपैयाँ र बिक्रीदर १९.०५ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३० रुपैयाँ र बिक्रीदर १७.३८ रुपैयाँ तोकेको छ यस्तै, कुवेती दिनार एकको खरिददर ४३७.५८ रुपैयाँ र बिक्रीदर ४३९.५३ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५७.११ रुपैयाँ र बिक्रीदर ३५८.७० रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३४९.७० रुपैयाँ र बिक्रीदर ३५१.२६ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
काठमाडौं । सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनी रोसु श्रेष्ठको नाममा रहेको ४९ हजार ९२८ कित्ता (१८औँ वार्षिक साधारण सभाबाट पारित बोनस सेयर) सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयरको मूल्य प्रतिकित्ता १०२ रुपैयाँ तोकिएको छ । बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।