विकासन्युज

कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले भने- रोकिएको आईपीओ समयमै आउँछ

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लामो समयदेखि रोकिएको आईपीओ समयमा नै आउन थाल्ने दावी गरेका छन् । बुधबार बोर्डमा कार्यभार सम्हाल्दै उनले यस्तो दावी गरेका हुन् । अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्स्चेन्जका विषयमा सरकारको सहयोग लिएर अघि बढ्ने पनि बताए । साथै उनले आफ्नो कार्यकालमा सेबोन आफ्नै भवनमा सर्ने पनि दाबी गरे । नवनियुक्त अध्यक्ष श्रेष्ठले मंगलबार शपथ लिएका थिए । उनलाई अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शपथ ग्रहण गराएका हुन् । श्रेष्ठलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हाे । स्याङ्जाको भीरकोट नगरपालिकामा जन्मेका श्रेष्ठ हाल बुटवल बस्छन् । साथै उनको बसाईं काठमाडौंसमेत छ । काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका श्रेष्ठ स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् । काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका श्रेष्ठ स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् । २०८० पुस २० गतेदेखि धितोपत्र बोर्ड अध्यक्षविहीन रहँदै आएको थियाे ।

तोलामा ९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा पछिल्लो केही दिनयता निरन्तर घटेको सुनको मूल्य बुधबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९ सयले सुनको मूल्य बढेको हो । मंगलबारको तुलनामा बुधबार प्रतितोला ९ सयले बढेर सुनको मूल्य १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको तथ्यांकमा उल्लेख छ । मंगलबार प्रतितोला २ हजार ६ सय र सोमबार प्रतितोला १५ हजार ९ सय रुपैयाँले सुनको मूल्य घटेको थियो । यस्तै, बुधबार सुनसँगै चाँदीको पनि मूल्य बढेको छ । मंगलबार प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा १० रुपैयाँले बढेर १ लाख ८ सय ३० रुपैयाँ कायम भएको हो ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३ किलोमिटर कालोपत्र प्रायः पूरा भएको छ । हालसम्म १० किलोमिटर ‘पिच’ भएको छ । अछेते बजारदेखि बिहुँ–बयलडाँडा खण्डमा ग्राभेलको काम जारी छ । ‘दश किलोमिटरमा सिङ्गल कोट कालोपत्र भयो बाँकी आगामी पुस मसान्तसम्ममा पूरा गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ’, निर्माण व्यवसायी राजु गौतमले भने । लोकमार्गअन्तर्गत बागलुङ खण्डमा एक सय ४२ किलोमिटर पर्छ । सदरमुकाम बागलुङ बजार बाहेक अन्य स्थानमा चार वर्ष अघिनै कालोपत्र भएको हो । यसैगरी, बिहुँदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर खण्डको काम नयाँ निर्माण व्यवसायीलाई दिइएको छ । हालसम्म उक्त खण्डमा ७७ प्रतिशत वित्तीय र ८० प्रतिशत भौतिक प्रगति भएको पर्वतस्थित मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना मिश्रले बताइन् ।

जेमी डिमोनको भविष्यवाणी : हप्तामा साढे तीन दिनमात्र काम, १०० वर्षको जीवन

काठमाडौं । जेपी मोर्गन चेसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेमी डिमोन कृतिम बौद्धिकता (एआई) लाई लिएर धेरै सकारात्मक छन् । उनी एआईले मानिसको जागिर खोस्ने भविष्यवाणी गलत भएको बताउँछन् । एआईले व्यापारमात्र सुधार नगरी कर्मचारीहरूको कार्यजीवन सन्तुलनमा पनि सुधार गरिरहेको डिमोनको धारणा छ । यसले गर्दा मानिसले हप्ताको कम दिनमात्र काम गरे पुग्नेछ । द फर्च्यूनको रिपोर्टअनुसार डिमोन परम्परागत कामका तरिकाको समर्थक हुन् । जस्तै- कडा परिश्रम र कार्यालयमा काम गर्ने प्रवृत्ति । तर, एआईका कारण आगामी पुस्ताले हप्तामा साढे तीन दिनमात्र काम गर्न सक्ने उनको विश्वास छ । डिमनको यो भविष्यवाणी यस्तो समयमा आएको हो, जब हालै इन्फोसिसका संस्थापक एनआर नारायण मूर्तिको कामको घण्टाको बारेमा बयान आएको थियो । उनले युवाहरूलाई हप्ताको ७० घण्टा काम गर्न आग्रह गरेका थिए । भविष्यमा मानिसहरू १०० वर्षसम्म बाँच्ने जेमी डिमोन विश्वास गर्छन् कि एआईको मद्दतले कर्मचारीहरूले हप्तामा साढे तीन दिनमात्र काम गर्नेछन् । वर्तमानमा कर्मचारीहरूले जुन काम गर्न ६० प्रतिशतदेखि ७० प्रतिशत समय लिन्छन्, ती काम एआईद्वारा स्वचालित ढंगले सम्पन्न हुनेछन् । उनले भविष्यमा मानिसहरू सय वर्षसम्म बाँच्न सक्ने भविष्यवाणी पनि गरेका छन् । ब्लूमबर्ग टिभीसँगको अन्तर्वार्तामा डिमोनले भनेका छन्, ‘तपाईंका बच्चाहरू १०० वर्षसम्म बाँच्नेछन् र प्रविधिका कारण उनीहरूलाई क्यान्सर हुने छैन । सायद उनीहरूले हप्तामा साढे तीन दिनमात्र काम गर्नेछन् ।’ एआईको डर अस्वीकार जेपी मोर्गन अमेरिकाको सबैभन्दा ठूलो बैंक हो । यसले पहिले नै एआईलाई आफ्नो धेरै कार्यमा समावेश गरिसकेको छ । यी कार्यहरूमा गल्ती भेटाउन , व्यापार, अनुसन्धान र हेजिङ समावेश छन् । डिमोनले ब्लूमबर्ग टिभीसँगको अन्तर्वार्ताको क्रममा एआई समयसँगै परिवर्तन हुने पनि बताए । धेरै क्षेत्रमा यसले मानिसलाई प्रतिस्थापन गर्ने डर छ । गोल्डम्यान साक्सले प्रविधिका कारण करिब ३० करोड रोजगारी गुम्ने भविष्यवाणी गरेको छ । लगभग एक चौथाई अमेरिकी कामदारहरू डराउँछन् कि एआईले भविष्यमा उनीहरूको जागिर खोस्नेछ । यद्यपि डिमोनले प्रविधिको विकाससँगै समाज परिवर्तन हुँदै गएको र एआईले जीवनस्तरमा सुधार ल्याउन ठूलो अवसर प्रदान गर्ने बताए । जेपी मोर्गन चेस अमेरिकाको मल्टीनेसनल फाइनान्स कम्पनी हो, जसकाे हेडक्वार्टर न्यूयाेर्कमा रहेकाे छ । जेमी डिमोन सन् २००५ देखि यस कम्पनीकाे सीईओकाे रूपमा कार्यरत छन् । (एजेन्सीहरूको सहयाेगमा )

आइसीएफसी फाइनान्सका ग्राहकलाई वन्डरल्यान्ड नेपालमा १० प्रतिशत बोनस दिने

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडका ग्राहकलाई वन्डरल्यान्ड नेपाल बुङ्मतीले उपलब्ध गराउने सेवा मूल्यमा १० प्रतिशत बोनस दिने भएको छ । बैंकको डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई किक फन वल्र्डबाट सञ्चालित वन्डरल्यान्ड नेपाल बुङतीको सेवा मूल्यमा १० प्रतिशत रकम बोनस स्वरूप प्रदान गर्ने गरी दुवै पक्षबीच समझदारी भएको छ । समझदारीअनुसार बैंकका ग्राहकले वन्डरल्यान्ड नेपालमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाका लागि बैंकका ग्राहकलाई १० प्रतिशत बोनस थप गरी वन्डरल्यान्डले कार्ड उपलब्ध गराउनेछ ।

युवा विदेशिनाले ग्रामीण क्षेत्र सुनसान, खेतीयोग्य जमिन वनमाराले ढाकियो 

ढोरपाटन । बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन् । सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु सुनसान बन्दै गएका हुन् । स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले उपभोग गर्ने नागरिक घट्दै गएका छन् । शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्लगायत विकासका पूर्वाधारले दूरदराज जोडिदै गएपछि धेरैले बजार रोज्न थालेको काठेखोला गाउँपालिका–५ बिहुँका डिलाराम पुनले बताए । एक दशक अगाडिसम्म गाउँमा छरछिमेकी हुँदा अर्मपर्म गरेर खेतीपाती गरेको सुनाउँदै अहिले कोही बिरामी भए तत्काल अस्पताल पु¥याउने मान्छे नपाइने अवस्था आउको उनको भनाइ छ । बसाइँसराइ बढेपछि गाउँका खेतीयोग्य जमिन वनमाराले ढाकिएको उनले सुनाए । पुनले भने, ‘यो गाउँ कस्तो थियो, अहिले कस्तो बन्यो, सक्नेहरु सबै सहर छिरे, गाउँमा गरिब वर्ग मात्रै छन्, युवाहरु विदेश छन्, हामी बुढाबुढी भइयो, गाउँमै जन्मियौँ, हुर्कियौँ र यही दुःख गरियो, अब गाउँमै मर्ने, यो उमेरमा आफ्नो ठाउँ छोडेर कहाँ जाने ? हामीलाई त अब गाउँ रित्तिने चिन्ता लाग्न थाल्यो ।’ गलकोट नगरपालिका–५ की मायादेवी श्रीसले नयाँ पुस्ताले सहर बजार रोज्दा गाउँ झाडीले ढाकिने स्थिति आउने बताउँछन् । दस वर्ष अगाडिसम्म गाउँका बस्तीमा मान्छेको चाप बढी रहेको भन्दै अहिले अप्ठ्यारो पर्दा सहयोग गर्ने नपाइने उनको भनाइ छ । ‘पहिले गाउँमा मोटरबाटो थिएन, बजारबाट नुन, तेल, चामल बोकेर ल्याउनुपथ्र्यो, खानेपानी ल्याउनका लागि घण्टौँ लाइनमा बस्ने अवस्था थियो, तर अहिले घरै अगाडि मोटर गाडी गुड्छन्, आँगनमै पानीको धारो बनेको छ’, उनले भने, ‘गाउँमा आएको विकास उपभोग गर्ने मान्छे छैनन्, राज्यले बसाइँसराइ रोक्न नसके गाउँको अस्तित्वनै मेटिने डर भयो ।’ गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बसाइँसराइ रोक्नका लागि गाउँमै युवालाई रोजगारसँग जोड्न लघु उद्यमका कार्यक्रम सञ्चालन गरेको भन्दै पशुपालन गर्ने किसानलाई अनुदानको व्यवस्था गरेको बताए । गाउँबाट धेरैजसो शिक्षा र स्वास्थ्यका लागि बसाइँसराइ गर्ने गरेको हुँदा नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाइ रहेको र स्वास्थ्य क्षेत्र सुधार गरी रहेको प्रवक्ता भण्डारी बताउँछन् । रासस

अक्टोबरमा मलेसियाको मुद्रास्फीति १.९ प्रतिशतले वृद्धि

काठमाडौं । मलेसियाको मुद्रास्फीति अक्टोबरमा वर्षको तुलनामा १.९ प्रतिशतले बढेको आधिकारिक तथ्यांकले देखाएको छ । खाद्यान्न तथा पेय पदार्थ र व्यक्तिगत हेरचाह, सामाजिक सुरक्षा र विविध वस्तु तथा सेवाहरूमा भएको उच्च वृद्धिका कारण यो वृद्धि भएको हो । अक्टोबरको समग्र मासिक मुद्रास्फीति सेप्टेम्बरको तुलनामा बढेर ०.२ प्रतिशत पुगेको छ । कोर मुद्रास्फीति अक्टोबरमा १.८ प्रतिशतले बढेको छ ।

रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

पर्वत । स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड रुपैयाँ आम्दानी गरेका छन् । मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले गाउँमै रेन्बो ट्राउट माछापालनबाट यति धेरै आम्दानी गर्न सफल भएको हो । एक्काइस वर्ष लामो प्रहरी सेवा र २०७४ सालको स्थानीय तहको निर्वाचनमा मोदी–२ देउपुरको वडाध्यक्ष बनेर कार्यकाल सकेका तिमिल्सिनाले अन्य चार जना स्थानीयवासीको लगानीमा रेन्बो ट्राउन फार्म सञ्चालन गरेका हुन् । मोदी–५ बाजुङको टिमुरेस्थित पातीखोलाको मुहानमा झण्डै ३० रोपनी क्षेत्रमा सञ्चालित फार्मबाट वार्षिक तीन करोड रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए । फार्ममा उत्पादन क्षमता रहेको ३० टन माछा बिक्रीबाट तीन करोड रुपैयाँ आम्दानी भएको उनी बताउँछन् । लामो समय ट्राफिक प्रहरीमा रहेर प्रहरी सहायक निरीक्षकबाट अवकाश लिएका तिमिल्सिना जागिर छाडेको तीन महिनामै जनप्रतिनिधि बने । जनप्रतिनिधि निर्वाचित भएसँगै व्यवसायमा जोडिएका तिमिल्सिनाको समय हाल माछापालनमा बित्ने गरेको छ । चारैतिर वन र दुईतिर खोलाको बीचमा रहेको मोदी रेम्बो ट्राउट प्रालि चिसो पानीमा हुर्कने रेन्बो ट्राउट माछापालनका लागि उपयुक्त हावापानी भएको ठाउँ हो । पोखरा–बागलुङ राजमार्गअन्तर्गत पातिचौर बजारबाट पाँच किलोमिटरको दूरीमा पुग्न सकिने उनको फार्म जोकोहीका लागि मन लोभ्याउने केन्द्र बन्न पुगेको छ । उनका फार्म यतिबेला विभिन्न क्लब, सङ्घसंस्था, विद्यालय तथा कलेजका विद्यार्थी एवं किसानका लागि अवलोकनस्थल पनि बनेको छ । पछिल्लो समय बाह्य पर्यटक तथा मत्स्यप्रेमी अवलोकन, माछा मार्न, विभिन्न परिकार बनाएर खानका लागि फार्ममै आउने गरेका छन् । उत्पादित ट्राउट माछा पोखरा–काठमाडौंका माछा पारखीसम्म पुर्याउन भ्याइनभ्याई छ । वार्षिक तीस टन माछा उत्पादन हुने फार्ममा हाल पाँच जनाले रोजगारी पाएका छन् । विसं २०७१ देखि सुरु भएको उक्त फार्म केही वर्षअघि आएको बाढीले पूर्ण रुपमा क्षति भएपछि नजिकै थप जग्गा व्यवस्थापन गरी विकास तिमिल्सिना, यामप्रसाद शर्मा, प्रेम पौडेल, राजेश शाही र राजु खड्काले सामूहिक लगानीमा पुनः सञ्चालन गर्नुभएको थियो । फार्मबाट भएको आम्दानीमध्ये सबै खर्च कटाएर करोड १५ लाख रुपैयाँ बचत हुने गरेको छ । अस्थायी र स्थायी गरी ३७ वटा पोखरी रहेका सो फार्ममा सुरुमा तत्कालीन कृषि विकास कार्यालय पर्वतले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । पछिल्लो समयमा कृषि ज्ञान केन्द्रले केही प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छभने मत्स्य विकास केन्द्रले पनि फार्मको स्तरोन्नति तथा पोखरी निर्माणका लागि आर्थिक सहयोग गरेको छ । रेम्बो ट्राउट प्रतिकेजी एक हजार रुपैयाँमा बिक्री हुन्छ । स्थानीय लोकल मोदीखोलाको माछाको स्वादमा पाइने उनको फार्मको माछा धेरैको रोजाइमा छ । कुश्मा–बागलुङको बजारका अतिरिक्त पोखरा, काठमाडौंकामा माछाको माग रहेको तिमिल्सिनाले बताए । गत वर्षदेखि उनले भुरा आफैँ उत्पादन गर्न थालेका छन् । रासस