विकासन्युज

श्रीलंकामा खराब मौसमका कारण ८२ हजार भन्दा बढी प्रभावित

काठमाडौं । श्रीलंकामा खराब मौसमका कारण ८२ हजारभन्दा बढी मानिसहरु प्रभावित हुनुका साथै एक जनाको मृत्यु भएको एक अधिकारीले बुधबार बताएका छन् । विपद् व्यवस्थापन केन्द्रका सहायक निर्देशक (डिएमसी) जनक हन्डुनपथिराजाले १५ वटा जिल्लाका २४ हजार १५९ परिवारका ८२ हजार ७९६ जना प्रभावित भएको बताएका छन् । उनले मौसमी प्रभावले छ जना घाइते भएको तथा सयौँ घरहरू क्षतिग्रस्त भएको उल्लेख गरेका छन् । मौसम विज्ञान विभागले प्रतिकुल मौसमी प्रभाव दक्षिणपश्चिम बङ्गालको खाडीसहित पूर्वी श्रीलङ्काको ट्रिन्कोमालीबाट १९० किलोमिटर दक्षिणपूर्वमा कायम रहेको बुधबार बताएको छ । विभागका अनुसार मौसमी प्रभाव श्रीलंकाको पूर्वी तटको नजिक सर्ने र बुधबार थप तीव्र भइ चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको छ ।

उद्योगको लाइन नकाट्ने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरूको विद्युत लाइन नकाट्ने भएको छ । बुधबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । मंगलबार विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएपछि आज समितिको बैठक बसेको थियाे। सञ्चालक समितिको बैठकले नियमन आयोगको निर्देशन पालना गर्दै तत्काल लाइन नकाट्ने भएकाे हाे । प्राधिकरणले उद्योगीहरूले बक्यौता रकम नतिरेको भन्दै लाइन काट्ने योजनामा रहे पनि नियमन आयोगले नकाट्न निर्देशन दिएपछि प्राधिकरण पछि हट्न बाध्य भएकाे हाे । यसअघि प्राधिकरणले १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरूको लाइन काट्ने जनाएको थियो । उक्त समयावधि आज सकिँदै छ । साथै, वैकल्पिक उपायबाट उद्योगीहरूको बक्यौता रकम उठाइने समेत बताइएको छ । यद्यपि उक्त उपाय भने सार्वजनिक गरिएकाे छैन । सरकारले डेडिकेटेड र ट्रंकलाइन विवादको विषयमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेकाे छ ।

नेशनल साइबर ओलम्पियाडको चौथो संस्करण पुस १५ गतेदेखि सुरु

काठमाडौं । नेशनल साइबर ओलम्पियाड– २०८१ () को चौथो संस्करणको आयोजना हुने भएको छ । ओलम्पियाड आगामी पौष १५ गतेदेखि काठमाडौंमा हुन लागेको हो । यस कार्यक्रममा काठमाडौं उपत्यकाका ५० भन्दा बढी स्कूलका टिमले प्रतिस्पर्धा गर्नेछन् । आयोजकका अनुसार कार्यक्रममा अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता हुनेछ, जसमा सहभागी हुने स्कूलले पौषको ५ गते सम्म दर्ता गर्नुपर्ने छ । आयोजकले अनुसार यो प्रतियोगिताको चारवटा संस्करण यसअघि २०७१, २०७२, २०७३ र २०७९ मा सफल रूपमा आयोजना भइसकेको जनाएको छ । प्रतियोगितामा तीन चरणमा नकआउट पद्धतिबाट सञ्चालन हुने जनाइएकाे छ । यसपटकको नेशनल साइबर ओलम्पियाडमा विभिन्न सूचना प्रविधिसँग सम्बन्धित कार्यशालाहरू प्रत्येक हप्ता सञ्चालन हुनेछन् । उक्त कार्यशालामा सहभागी भई प्रविधि क्षेत्रको सीप सिक्न पाइने बताइएकाे छ । प्रतियोगितामा उत्कृट हुने टिमले नगद पुरस्कार, ट्रफी, मेडल तथा अन्य धेरै उपहारले सम्मान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता‍ माघको ७ गते सम्पन्न हुनेछ । सूचना प्रविधि क्षेत्रलाई केन्द्रित गरी आयोजना गरिने यस प्रतियोगितात्मक कार्यक्रममार्फत सहभागी विद्यार्थीहरूले प्रतिस्पर्धामार्फत सूचना प्रविधिको ज्ञान हासिल गर्ने यसका संस्थापक अध्यक्ष लक्ष्मण पोख्रेलले बताए ।

धरहराबाट उपत्यका नियाल्ने रहर…

काठमाडौं । काठमाडौंमा पढ्दै गरेकी छोरी भेट्न जुम्लाबाट आएका दर्शन सुनारको मनमा नयाँ बनेको धरहरा हेर्ने चाहना जाग्यो । उमेरले ७० वर्ष नाघिसकेका उनलाई कसैले धराहरा हेर्दा शिरको टोपी नै खस्ने अग्लो छ भन्ने सुनाएपछि नजिकबाट हेर्ने अभिलाषा लाग्नु स्वाभाविकै थियो । छोरीलाई साथमा लिएर उनी सुन्धारा पुग्दा नभन्दै जीवनमा कहिल्यै नदेखेको अग्लो घर देख्दा उनी आश्चर्यचकित बने । पहिलोपटक काठमाडौं आएका उनलाई धरहराको माथि चढेर वरपर हेर्दा सपना देखेजस्तै लाग्यो । उनी भन्छन्, ‘आहो, काठमाडौं सहर त जम्मै देखिने रहेछ । यहाँका घर त कति गुजुमुज्ज हो, तिलको गेडा राख्ने ठाउँ पनि रहेनछ । नजिकैको टुँडिखेल देखाउँदै अलिकति यहाँनेर घर बनाउन बाँकी रहेछ ।’ गाउँ फर्केपछि अरूलाई धरहराको बखान गर्ने उनले बताए । धरहरा चढ्न बुबासँगै आएकी उनकी छोरी दीपकली सुनारको पनि धरहरा चढ्ने धोको पूरा भएको छ । विसं २०७२ को भूकम्पले धरहरा भत्काएसँगै दीपकलीलाई धरहरा चढ्ने इच्छा पनि त्यही भूकम्पले भत्काएको थियो । उनी भन्छन्, ‘भूकम्पले धराहरा भत्काइहाल्यो भन्ने सुनेपछि अब त धराहरा चढ्ने इच्छा पनि पूरा भएन भन्ने लागेको थियो । यस्तो राम्रो नयाँ धरहरा बनिसकेछ । धन्न इच्छा चाहिँ पूरा भयो ।’ उनले पनि धरहराको बारेमा सुनेका र पढेका रहेछ । धराहरा टेलिभिजनका समाचारबाट भिडियो देखेका रहेछ । कतै किताबमा मात्रै चित्र देखेका रहेछन् । प्रत्यक्ष रुपमा धरहरा अवलोकन गरेर चढ्नै पाउँदा आज उनी धेरै हर्षित देखिए । उनी बुबाको घरहरा चढ्ने रहर पूरा भएकामा झनै खुसी हुन् । भर्खरै पुनर्निर्माण गरिएको धरहराको आकर्षणले हजारौँ मानिसलाई तानिरहेको छ । काठमाडौंको मध्यभागमा ठडिएको यो ऐतिहासिक धरोहर नजिकैको भीडले अझै धरहराको महत्वलाई झल्काउँछ । आधुनिकताको सङ्गम धरहरा अहिले पर्यटनको प्रमुख गन्तव्य बनेको पनि छ । धरहरा केवल एउटा भौतिक संरचना होइन, यो धेरै नेपालीको सपना हो । सोलुखुम्बुबाट पहिलोपटक धरहरा चढ्न आएकी सीतामाया तामाङलाई पनि भूकम्पपछि डठिएको धरहराले मनमोहक तुल्याएको छ । ‘म पनि पहिलोपटक नै सोलुबाट धरहरा चढ्न काठमाडौं आएको हुँ । भूकम्पले अब धरहरा चढ्न पाइँदैन कि भन्ने लागेको थियो, यस्तो राम्रो बनेछ,’ उनी भन्छन् । दोलखा जिल्ला घर भई हाल भक्तपुर लोकन्थलीमा बस्दै आएकी पार्वती केसी पनि धरहरा चढ्नकै लागि बिहान खाना खाएपछि सुन्धारा आएकी थिइन् । ‘झन्डै तीन घण्टा लाइन बसेर बल्लबल्ल धरहरा चढ्नलाई टिकट पाएको छु । पैसै तिरेर पनि कति गाह्रो हो टिकट पाउन ?’, उनी भन्छन्, ‘धरहरा भूकम्पले भत्काउनुअघि चाहिँ चढेको थिएँ । नयाँ बनेको धरहरा पनि कहिले चढ्न पाइएला भन्ने खुल्दुली थियो, आज पूरा भयो ।’ गोरखा घर भई स्वयम्भू बस्ने तीर्थबहादुर थापा पैसा तिरेरै भए पनि चढ्न पाउँदा खुसी छन् । धरहरा चढ्नका लागि टिकट लिनेहरुको लाइनमा भेटिएका उनी लामो लाइन देखेर चाहिँ आज पालो पो नपाउने हो कि भन्ने चिन्तामा थिए । आज पालो नपाइए अर्को दिन चाँडै आएर लाइन बसेरै धरहरा चडिछाड्ने उनले बताए । धरहराबाट उपत्यका नियाल्ने चाहनाले आउनेहरु उनीहरु मात्रै होइन, नयाँ बनेको धरहरा हेर्न उत्सुक हुनेहरुको सङ्ख्या बाक्लै थियो । कतिले अझै पनि धरहरा चढ्न निःशुल्क भइदिए हुन्थ्यो भन्ने चाहेको पाइयो । धरहराको व्यवस्थापनका लागि पनि सधैँभर सबैलाई निःशुल्क धरहरा खुलाउन सम्भव नदेखिए पनि ज्येष्ठ नागरिक, अशक्त तथा निम्नवर्गका व्यक्तिहरुलाई भने निःशुल्क वा सहुलियत उपलब्ध गराउनुपर्ने सुझाव पनि भीडबाटै आएको थियो । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले धरहराको व्यवस्थापनका लागि पनि निःशुल्क खुला गर्न सम्भव नहुने भएपछि आइतबारदेखि धरहराको शुल्क लिन सुरु गरिएको बताए । ‘धरहराको व्यवस्थापन गर्नका लागि पनि केही शुल्क त लिनैपर्छ, विश्वका अन्य देशहरुमा पनि यस्ता ठाउँहरुको शुल्क लिने गरिन्छ,’ उनले भने, ‘शुल्क लिए पनि धरहरा चढ्न आउनेको सङ्ख्या घटेको छैन ।’ विभागअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना प्रमुख प्रकाश अर्यालले गत सोमबार मात्रै करिब एक हजारको हाराहारीमा सर्वसाधारण धरहरा चढ्न आएको बताए । ‘शुल्क लिन थालेपछि टिकट काट्नुप¥यो, पहिलाको जस्तो सरासर पठाउन पाइएको त छैन तर सर्वसाधारणको सङ्ख्यामा कमी आएको छैन,’ उनले भने, ‘हामीले नै व्यवस्थापन गर्न सक्यौँ भने अझै बढाउन सकिन्छ ।’ तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले १८८८ सालमा महारानी त्रिपुरा सुन्दरीदेवीका लागि धरहरा निर्माण गर्नुभएको इतिहासमा उल्लेख छ । १९९० सालको भूकम्पले ११ तले धरहरा भत्काएको थियो । १९९० सालपछि पुनर्निर्माण गर्दा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले पहिलेको ११ तले धरहराको उचाइ घटाएर नौ तलाको बनाउन लगाएको इतिहास छ । २०७२ सालको भूकम्पले धराहरा पूर्ण रुपमा भत्काएको थिय भने अहिले झन्डै नौ वर्षपछि सञ्चालनमा आएको छ । धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशतसम्म छुट सहरी विकास मन्त्रालयले विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई धरहरा चढ्न ५० प्रतिशत छुट दिइएको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो । आइतबारदेखि नै धरहरा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गरिएको छ । धरहरा चढ्नका लागि प्रतिव्यक्ति दुई सय रूपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुने सहरी विकास मन्त्रालयले जनाएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मङ्सिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिँदै शुल्क पनि नै स्वीकृत गरेको छ । मन्त्रालयले गरेको प्रस्तावअनुसार प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ । यसैगरी, सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेक अन्य राष्ट्रका नागरिकलाई प्रतिव्यक्ति रु एक हजार शुल्क तोकिएको छ । त्यस्तै, धरहरामा पार्किङ गर्दा मन्त्रालयले चारपाङ्ग्रेका लागि प्रतिघण्टा २० र दुईपाङ्ग्रेलाई १० तोकेको छ । धरहरा परिसरमा प्रवेशका लागि भने ५० तोकिएको छ । त्यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार तोकिएको छ । त्यस्तै, धरहरा परिसरमा व्यावसायिक भिडियो छाङ्याङ्कन गर्न प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार तोकिएको छ । रासस

२ अर्ब रुपैयाँकाे नागरिक बचतपत्र बिक्री गर्दै सरकार, कति पाइन्छ ब्याज ?

काठमाडाैं । सरकारले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र विक्री गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मसिंर १३ गतेदेखि पुस १४ गतेसम्म ५ वर्ष अवधिको बचतपत्र बिक्री गर्न लागेको हो । बिक्री सम्पन्न भएपछि पुस १६ गते बचतपत्र निष्कासन हुनेछ । यो बचतपत्र नेपाली नागरिक (गैर-आवसीय नेपाली नागरिकसमेत) ले खरिद गर्न सक्नेछन् । यस बचतपत्र वार्षिक ७.५ प्रतिशत ब्याज प्राप्त हुनेछ । अर्थात कुनै पनि बैंकमा रकम मुद्दती निक्षेपको भन्दा धेरै ब्याज यस बचतपत्रमा पाइने देखिन्छ । हाल बैंकको औसत निक्षेप व्याजदर ६ प्रतिशत मात्र रहेको छ । ब्याज ६/६ महिनामा भुक्तानी हुनेछ । यो बजतपत्र कम्तीमा १० हजार रुपैयाँको आवेदन दिनु पर्नेछ । बढीमा कुल निष्कासित रकमको सीमा नबढाई १० हजार रुपैयाँले निशेष भाग जाने अंकमा आवेदन दिनु पर्नेछ । यो बचतपत्र धितो राखी कर्जा लिन पनि सकिने छ । यसका साथै कार्यालयले प्रयोगमा ल्याएको डीओएमएस र इन्भेस्टर पोर्टलबाट दोस्रो बजारमा बेच्न पनि सकिने छ । अर्थात आफूले चाहेको बेला बचतपत्र बिक्री गरेर साँवाव्याज रकम प्राप्त गर्न सकिने छ । यो बचतपत्र खरिद गर्नका लागि कार्यालयको वेबसाइटमा गएर इन्भेष्टमेन्ट पोर्टलबाट आवेदन दिन सकिने छ । आवेदन दिँदा प्रत्येक कागजात ५ एमबीभन्दा कमको हुनु पर्नेछ । बैंक तथा वित्तीय संस्थाले आवेदकको खाता रुजु गरी आवेदन गरिएको रकम बराबर निष्कासन मितिसम्म रोक्का राख्नु पर्नेछ र निष्कासन मितिमा नेपाल सरकारलाई रकम बुझाउनु पर्ने भएकाले खण्डित अवधिको ब्याज रकम भुक्तानी कार्यालयले जनाएको छ । सरकारले आन्तरिक ऋण उठाउने एक माध्यमको रूपमा बचतपत्र उपकरणको प्रयोग गर्ने गर्दछ ।

८.५ प्रतिशत ब्याज दिने वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै सरकार, चाहेको बेला बेच्न सकिने

काठमाडाैं । सरकारले ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने भएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंसिर १३ गतेदेखि पुस १४ गतेसम्म ५ वर्ष अवधिको वैदेशिकर रोजगार बचतपत्र बिक्री गर्न लागेको हो । बिक्री सम्पन्न भएपछि पुस १६ गते बचतपत्र निष्कासन हुनेछ । विदेशमा रोजगारीमा रहेका नेपाली नागरिक र विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले खरिद गर्न पाउने सरकारी ऋणपत्र नै वैदेशिक रोजगार बचतपत्र हो । यो बचतपत्र वैदेशिक रोजगारीमा रहेका वा स्वदेश फर्किएको ६ महिना नपुगेका नेपाली नागरीक र गैरआवसीय नेपाली तथा उसको परिवार सदस्य (बुबा, आमा, श्रीमती, श्रीमान, छोरा र छोरी) ले मात्र खरिद गर्न पाउने कार्यलयले जनाएको छ । यस बचतपत्र वार्षिक ८.५ प्रतिशत ब्याज प्राप्त हुनेछ । अर्थात कुनै पनि बैंकमा रकम मुद्दती निक्षेपको भन्दा धेरै ब्याज यस बचतपत्रमा पाइने देखिन्छ । हाल बैंकको औषत निक्षेप व्याजदर ६ प्रतिशत मात्र रहेको छ । ब्याज ६/६ महिनामा भुक्तानी हुनेछ । साँवा २०८६ पाैष १६ गते एकमुष्ठ रूपमा पाइने छ ।  यो बचतपत्र कम्तीमा १० हजार रुपैयाँको आवेदन दिनु पर्नेछ । बढीमा कुल निष्कासित रकमको सीमा नबढाई १० हजार रुपैयाँले निःशेष भाग जाने अंकमा आवेदन दिनु पर्नेछ । यो बचतपत्र धितो राखी कर्जा लिन पनि सकिने छ । यसका साथै कार्यालयले प्रयोगमा ल्याएको डीओएमएस र इन्भेस्टर पोर्टलबाट दोस्रो बजारमा बेच्न पनि सकिने छ । अर्थात आफूले चाहेको बेला बचतपत्र बिक्री गरेर साँवाब्याज रकम प्राप्त गर्न सकिने छ । यो बचतपत्र खरिद गर्नका लागि कार्यालयको वेबसाइटमा गएर इन्भेष्टमेन्ट पोर्टलबाट आवेदन दिन सकिने छ । आवेदनका साथ कार्यरत मुलुकको प्रवेशाज्ञा (प्रवेशाज्ञा आवश्यक पर्ने मुलुकको लागि), खरिद गर्न चाहेको रकम बराबरको विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण र आवेदन बराबरको रकम आफ्नो बैंक खाताबाट खर्च गर्न स्वीकृति दिएको अख्तियारी पत्र अनिवार्य रूपमा अपलोड गर्नु गर्नुपर्ने छ। प्रत्येक कागजात ५ एमबीभन्दा कमको हुनु पर्नेछ । बैंक तथा वित्तीय संस्थाले आवेदकको खाता रुजु गरी आवेदन गरिएको रकम बराबर निष्कासन मितिसम्म रोक्का राख्नु पर्नेछ र निष्कासन मितिमा नेपाल सरकारलाई रकम बुझाउनु पर्ने भएकाले खण्डित अवधिको ब्याज रकम भुक्तानी कार्यलयले जनाएको छ । सरकारले आन्तरिक ऋण उठाउने एक माध्यमको रूपमा बचतपत्र उपकरणको प्रयोग गर्ने गर्दछ ।

एमसीसीले फेरि आह्वान गर्‍यो २९७ किमी प्रसारणलाइनको ठेक्का

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले दुई सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः बोलपत्र आह्वान गरेको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गरिने उक्त प्रसारण लाइनका लागि गतवर्ष आह्वान भएका सबै बोलपत्र रद्द गरिएको थियो । एमसीए–नेपालले २०८० असोज २६ गते एक सूचना जारी गर्दै विद्युत् प्रसारणलाइन निर्माणसँग सम्बन्धित सबै ठेक्का रद्द भएको जनाएको थियो । यसमा चरण (लट–१) को लप्सीफेदी–रातामाटे–न्यु हेटौडा, दोस्रो चरण (लट–२) को रातामाटे–न्यू दमौली, र तेस्रो चरण (लट–३) को न्यु दमौली– न्यु बुटवलसम्मको प्रसारणलाइन निर्माणका लागि आह्वान गरिएको ठेक्का रद्द भएको उल्लेख थियो । न्यु बुटवल–नेपालरभारत सीमा क्षेत्रको प्रसारणलाइनका लागि भने यसअघि नै ठेक्का प्रक्रिया शुरु भइसकेको छ । लप्सीफेदी – रातमाटे –नयाँ हेटौँडा, रातामाटे – नयाँ दमौली र नयाँ दमौली – नयाँ बुटवल गरी तीन वटा खण्डमा विभाजन गरिएको उक्त प्रसारण लाइनको निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा २०८१ साल माघ १७ गते तोकिएको छ । एमसिए–नेपालले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अघिल्लो बोलपत्र आह्वान प्रक्रियाको विस्तृत समीक्षापछि पुनःआह्वान गरिएको यस बोलपत्रमा परिमार्जित डिजाइन, टावर निर्माण स्थलमा सहज पहुँच र बोलपत्रदाताहरूको सुझावका आधारमा संशोधित व्यावसायिक प्रावधानहरू समेटिएको छ । यी समायोजनले थप कार्यान्वयनयोग्य र लागत–प्रभावकारी प्रस्तावहरू प्राप्त हुने सुनिश्चित गर्दै अघिल्लो बोलपत्र आह्वानमा पहिचान गरिएका मुख्य लागत निर्धारकहरूलाई सम्बोधन गरेका छन् ।’ एमसिए–नेपालले बुटवल– गोरखपुर प्रसारण लाइन अन्तर्गत नेपालमा पर्ने १८ किमि प्रसारण लाइन निर्माणका लागि एक सय २३ दशमलव ६० लाख अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग २०८१ साल भदौ १४ गते गरिसकेको छ । उक्त प्रसारण लाइन २१ महिनाको अवधिमा निर्माण गरिनेछ । एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले निर्माणाधीन प्रसारण लाइनमध्ये १८ किमी खण्डको निर्माणका लागि सम्झौता सम्पन्न भइसकेको वर्तमान अवस्थामा परिमार्जित प्रावधानका कारण बाँकी दुई सय ९७ किमी प्रसारण लाइन निर्माणका लागि बोलपत्र प्रक्रिया सहज रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे । यो प्रक्रियामा बोलपत्रदाताको अभिरुचि उल्लेख्य रूपमा बढ्ने र प्रतिस्पद्र्धात्मक बोलपत्रहरू आकर्षित हुने कुरामा एमसिए–नेपाल विश्वस्त रहेको उनले बताए ।

१६ बैंकका कर्मचारीको तलब बढ्यो, २ बैंकको अर्ब नाघ्यो

काठमाडौं । बैंकका कर्मचारीहरूको तलब तीन महिनामा झण्डै १ अर्ब बढेको छ । गत वर्षको तु्लनामा चालु आर्थिक वर्ष २०८१/८२ को असोजमा बैंकका कर्मचारीहरूको तलब ७.३१ प्रतिशत अर्थात् ९८ करोड ६१ लाख रुपैयाँ बढेको देखिन्छ । २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको असोजसम्ममा कर्मचारीहरूलाई १४ अर्ब ४७ करोड ७२ लाख रुपैयाँ तलब भुक्तानी गरेका छन् । जबकि गत वर्षको सोही अवधिमा १३ अर्ब ३४ करोड ८५ लाख रुपैयाँमात्रै कर्मचारीलाई तलबका रूपमा भुक्तानी गरेका थिए । यस अवधिमा अधिकांश बैंकले कर्मचारीको तलब खर्च बढाएको देखिन्छ । यसपटक १६ वटा बैंकको कर्मचारी खर्च बढेको छ भने ४ वटा बैंकको कर्मचारी खर्च भने घटेको देखिन्छ । तीन महिनामा नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी खर्च भने १ अर्बभन्दा बढी रहेको देखिन्छ । समीक्षा अवधिमा एनआईसी एशिया बैंकको कर्मचारी खर्च ३६.९६ प्रतिशत अर्थात् २४ करोड ३९ लाख रुपैयाँ बढेको छ । गत वर्ष ६६ करोड रुपैयाँमात्रै कर्मचारीलाई तलब दिएको यस बैंकले यस वर्ष भने ९० करोड ३ लाख रुपैयाँ भुक्तानी गरेको छ । यस्तै, लक्ष्मी सनराइज बैंकको २६.६९ प्रतिशत बढेर ९४ करोड ९८ लाख रुपैयाँ, प्राइम बैंकको २१.७८ प्रतिशत बढेर ४५ करोड ६७ करोड रुपैयाँ, हिमालयन बैंकको २१.१५ प्रतिशत बढेर ७५ करोड रुपैयाँ, कुमारी बैंकको १८.९१ प्रतिशत बढेर ९६ करोड ६७ लाख रुपैयाँ कर्मचारीलाई भुक्तानी गरेका छन् । सिद्धार्थ बैंकको १४.९४ प्रतिशत बढेर ६८ करोड ५ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १४.३३ प्रतिशत बढेर १ अर्ब १० करोड रुपैयाँ, प्रभु बैंकको १४.२१ प्रतिशत बढेर ९३ करोड २४ लाख रुपैयाँ, सानिमा बैंकको १४ प्रतिशत बढेर ४० करोड २७ लाख रुपैयाँ कर्मचारी खर्च गरेका छन् । एभरेष्ट बैंकको १२.९६ प्रतिशत बढेर ४९ करोड ५० लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६.४४ प्रतिशत बढेर २८ करोड ३६ लाख रुपैयाँ, एनएमबी बैंकको ६.४० प्रतिशत बढेर ५६ करोड २८ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.२४ प्रतिशत बढेर ७६ करोड ३९ लाख रुपैयाँ तलब भुक्तानी गरेको तथ्याङ्क छ । यस्तै, सिटिजन्स बैंकको २.७९ प्रतिशत बढेर ४० करोड ८८ लाख रुपैयाँ, नेपाल बैंकको २.४१ प्रतिशत बढेर ९१ करोड १९ लाख रुपैयाँ, कृषि विकास बैंकको १.९२ प्रतिशत बढेर ८९ करोड २२ लाख रुपैयाँ कर्मचारीलाई तलब वितरण गरेका छन् । तर, समीक्षा अवधिमा विभिन्न ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक र नबिल बैंकले कर्मचारी खर्च घटाएको देखिन्छ । किनभने यस अवधिमा यी बैंकको कर्मचारीलाई भुक्तानी गरेको तलब रकम घटेको छ । ग्लोबल आइएमई बैंकको २३.९२ प्रतिशत घटेर ९३ करोड ३६ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ८.३१ प्रतिशत घटेर ६० करोड १४ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको ७.०३ प्रतिशत घटेर ३६ करोड ३ लाख रुपैयाँ र नबिल बैंकको ३.७३ प्रतिशत घटेर १ अर्ब ११ करोड रुपैयाँ तलब भुक्तानी गरेका छन् ।