एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले आज मंसिर १२ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ ०.८८ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ९ गते बुकक्लोज गरेको थियो । त्यसैले कात्तिक ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै एलआईसी नेपालका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३ किलोमिटर कालोपत्र प्रायः पूरा भएको छ । हालसम्म १० किलोमिटर ‘पिच’ भएको छ । अछेते बजारदेखि बिहुँ-बयलडाँडा खण्डमा ग्राभेलको काम जारी छ । ‘१० किलोमिटरमा सिङ्गल कोट कालोपत्र भयो बाँकी आगामी पुस मसान्तसम्ममा पूरा गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ,’ निर्माण व्यवसायी राजु गौतमले भने । लोकमार्गअन्तर्गत बागलुङ खण्डमा १४२ किलोमिटर पर्छ । सदरमुकाम बागलुङ बजार बाहेक अन्य स्थानमा ४ वर्ष अघिनै कालोपत्र भएको हो । यसैगरी, बिहुँदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर खण्डको काम नयाँ निर्माण व्यवसायीलाई दिइएको छ । हालसम्म उक्त खण्डमा ७७ प्रतिशत वित्तीय र ८० प्रतिशत भौतिक प्रगति भएको पर्वतस्थित मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना मिश्रले बताए ।
काठमाडौं उपत्यकाको तापक्रम ८ डिग्री सेल्सियस, तराई र पहाडमा हुस्सु
काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ । काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज बिहान यहाँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रह्यो भने अहिले केही सुधार भई १० डिग्री सेल्सियस पुगेको छ । विभागले आज सङ्घीय राजधानीको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने प्रक्षेपण गरेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाका साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपात हुनसक्ने जनाउँदै विभागले त्यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
बोनस दर सार्वजनिक गर्ने पहिलो कम्पनी बन्यो सूर्यज्योति लाइफ, कति दिन्छ बोनस ?
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको हो । यससँगै गत वर्षको बोनस दर सार्वजनिक गर्ने बीमा कम्पनीमा सूर्यज्योति लाइफ पहिलो बनेको छ । कम्पनीको बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन नेपाल बीमा प्रधिकरणबाट समेत स्वीकृत भइसकेको छ । बीमा प्रधिकरणबाट जारी रिस्क बेस्ड क्यापिटल निर्देशिकालाई पालना गर्दै कम्पनी आरबीसी भ्यालूसन स्वीकृत गर्ने पहिलो जीवन बीमा कम्पनी बन्न सफल भएको दाबी गरेको छ । कम्पनीले सावधिक जीवन बीमा योजना र सावधिक तथा आजीवन जीवन बीमा योजनामा न्यूनतम ४० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दर तोकेको छ । यस्तै, अग्रिम भुक्तानी जीवन बीमा योजनाा न्यूनतम ४२ रुपैयाँदेखि ६० रुपैयाँ र चौरासी पूजा जीवन बीमा योजनामा न्यूनतम ४५ रुपैयाँदेखि ९० रुपैयाँसम्म बोनस दर तोकेको छ । बीमा क्षेत्रमै पहिलो ऐतिहासिक सफल मर्जर गरी सूर्यज्योति लाइफले उत्कृष्ट सेवा दिँदै आएको कम्पनीको दाबी छ । कम्पनीले जीवन बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगविरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने योजना सञ्चालनमा ल्याएको छ । यस्तै, आइ.एस.ओ ९००१–२०१५ द्वारा बिभूषित प्राप्त गर्ने पनि उक्त कम्पनी पहिलो हो ।
सेयर बजारको क्षेत्र ठूलो छ, नयाँ स्टक पहिलो प्राथमिकता
काठमाडौं । नेपाल धितोपत्र (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नेपालको पुँजी बजारमा नयाँ स्टक एक्सचेञ्ज ल्याउने योजना पहिलो प्राथमिकता राखेको बताएका छन् । मंगलबार अर्थमन्त्रालयमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसदा पौडेलबाट पद तथा गोपनीयताको सपथ लिँदै उनले सरकारको नीति निर्देशनअनुरूप नयाँ स्टक एक्सचेञ्ज ल्याउने बताए । नवनियुक्त अध्यक्ष श्रेष्ठले सेयर बजारलाई दीर्घकालसम्म सञ्चालन गर्ने गरी काम गर्ने योजना रहेको दावी गरे । पुँजी बजारको दिगो विकास र लगानीकर्ताको हक हितका लागि काम गर्ने उनले बताए । ‘लगानीकर्ताको मनोबल बढाउने गरी काम गर्छु, लगानीकर्ताको लगानी सुरक्षालाई प्राथमिकतामा राख्नेछु, सेयर बजार मात्र नभई समग्र अर्थतन्त्र नै चलायमान बनाउनु छ, देशको अर्थतन्त्र र आर्थिक विकासका लागि पुँजी बजारलाई सदुपयोग गर्नुपर्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘सेयर बजारको क्षेत्र ठूलो छ, सेयर बजार पुँजी बजारको सानो हिस्सामात्रै हो । हामीले समग्र पुँजी बजारलाई नै विकास गर्नुपर्छ ।’ साथै धितोपत्र बोर्ड अध्यक्षविहीन हुँदा विगत लामो समयदेखि सेयर निष्कासनका लागि दर्जनौं कम्पनी पाइपलाइनमा छन् । प्रक्रिया पुर्याएर ती कम्पनीलाई सेयर बिक्री गर्न उनले अनुमति दिनुपर्ने देखिन्छ । पुँजी बजारमा हुने गलत क्रियाकलापको निगरानी र नियन्त्रणमा आफ्नो बढी जोड रहने उनको भनाइ छ । ‘लगानीकर्ताको सुरक्षाका लागि काम गर्न आएको हुँ, व्यापारिक घराना वा स्वार्थ समूहबाट होइन, प्राथमिकताका आधारमा काम गर्ने र पुँजी बजारमा रहेका समस्याहरूलाई अवसरका रूपमा बदल्नेछु,’ अध्यक्ष श्रेष्ठले भने । उनले नेपालको पुँजी बजारलाई पूर्ण रूपमा सदुपयोग नभएको बताउँदै भने, ‘पुँजी बजारको दायरा बढाउन सकिने अवस्था रहेको छ, बजारका सिद्धान्त बमोजिम मुलुकको हितमा काम गर्छु ।’ पुँजी बजारका क्षेत्रमा रहेका समस्याहरूलाई संस्थागत रूपमा सम्बोधन गर्न अर्थमन्त्री पाैडेलले नवनियुक्त अध्यक्षलाई निर्देशन दिए । पुँजी बजारको व्यवस्थित विकासका लागि गतिशिल ढंगले काम गर्नुपर्ने उनको भनाइ छ । ‘अध्यक्षले राम्रा काम र नतिजाद्वारा सबै आशंकाहरूलाई चिर्दै पुँजी बजारको विकासमा महत्त्वपूर्ण योगदान दिनुपर्छ, निष्ठापूर्वक र योग्यतापूर्वक काम गर्ने आशा छ,’ अर्थमन्त्री पौडेलले भने । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । जन्मथलो स्याङ्जाको भीरकोट नगरपालिका रहेका श्रेष्ठ हाल बुटवल बस्छन् । काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका श्रेष्ठ स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् । तत्कालीन नेपाल एक्सप्रेस फाइनान्समा सञ्चालक समितिको अध्यक्षसमेत बनेका श्रेष्ठसँग नेपाल विद्युत प्राधिकरणमा सञ्चालक भएर काम गरेको अनुभव छ । सोप एण्ड केमिकल, जलविद्युत् तथा कलेजहरूमा समेत संलग्न रहेका उनको विभिन्न जलविद्युत कम्पनीमा लगानीसमेत रहेको छ ।
शाओमीको ह्यान्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक, मूल्य ४ हजार २९९
काठमाडौं । शाओमीले नेपालमा नयाँ ह्याण्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक गरेको छ । यो हलुका र कम्प्याक्ट डिभाइसले कपडालाई खुम्चिन नदिनुका साथै कपडालाई फ्रेस राख्न मद्दत गर्ने कम्पनीले जनाएकाे छ । शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीका अनुसार स्टीमरको तौल केवल ७७० ग्राम रहेको छ । यसलाई लामो समयसम्म थकान बिना नै प्रयोग गर्न सकिन्छ । यसलाई फोल्ड गर्न सकिने हुनाले घरमा मात्र नभई यात्राको क्रममा पनि उत्तिकै उपयोगी हुने जनाइएकाे छ । यो डिभाइसमा सेरामिक कोटेड डाइ–कास्ट एलुमिनियम प्यानल समावेश रहेको छ जसले गर्दा यो मात्र २६ सेकेन्डमै तात्छ र यसले स्थिर तापक्रम पनि प्रदान गर्दछ । यसको स्मूथ ग्लाइडिब प्रविधिले खुम्चेको कपडालाई नबिगारी मिलाउँछ भने सेकेन्डरी भेपराइजेसन प्रविधिले पानीको दाग पनि हटाउने विश्वास कम्पनीको छ । यो डिभाइस सिल्क, सिन्थेटिक्स, लिनेन, नाइलन, ऊन र कपासजस्ता विभिन्न प्रकारका कपडामा प्रयोग गर्न मिल्छ । यसले खुम्चाई हटाउनका साथै ९९.९९ प्रतिशत ब्याक्टेरिया र माइट्स हटाएर कपडालाई स्वच्छ र ताजा बनाउने कम्पनीको दावी छ । शाओमी ह्यान्डहेल्ड गार्मेन्ट स्टीमरको मूल्य ४ हजार २९९ रहेको छ । यो नेपालभरका आधिकारिक शाओमीका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएकाे छ । थप जानकारी शाओमीको आधिकारिक वेबसाइटमा पाउन सकिन्छ ।
गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न
काठमाडौं । रौतहटको गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । बजाज माइलेज च्याम्पियनमा नेपालभरिका बजाज प्लाटिना चालकहरू सहभागी भएका थिए । माइलेज च्याम्पियनमा लोकेशकुमार चौरसियाले ९९ किमि प्रति लिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरे । त्यस्तै, ९४ किमि प्रति लिटरको प्रदर्शनका साथ मुकेशकुमार शाह दोस्रो स्थान र ९० किमि प्रति लिटरको प्रदर्शन गर्दै रोशन अली यादव तेस्रो स्थानमा रहे । माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै आम ग्राहकलाई माइलेजको अवस्थाबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स मेनेजर विजय सिंहले बताए ।
एनपीएल डिशहोम गो एप र एक्सन स्पोर्टसको युट्युब च्यानलमा हेर्न सकिने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ । डिजिटल माध्यमबाट खेलको प्रत्यक्ष प्रशारण गर्न एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच सम्झौता भएको हो । डिशहोमले एनपीएल २०२४ का सबै खेल प्रत्यक्ष रूपमा डिशहोम गो एप र एक्सन स्पोर्टस एचडी नामक युट्युब च्यानलमा प्रशारण गर्नेछ । एनपीएल २०२४ मा विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा, र सुदूरपश्चिम गरी ८ फ्रेन्चाइज टिमहरूले राउन्ड–रोबिन फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन् । कुल ३२ खेलहरूको रोमाञ्चक यात्रा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न हुनेछ। प्रतियोगिता मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरू टेलिभिजनमा भने स्टार स्पोर्ट्स नेटवर्कले प्रसारण गर्नेछ ।