रवि लामिछानेलाई आज अपराह्न काठमाडौं लगिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बिहीबार अपराह्न काठमाडौं लगिने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल स्रोतकाअनुसार सभापति लामिछानेलाई बिहीबार अपराह्न ५ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं लगिनेछ । सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कास्की हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो । सभापति लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । लामिछानेलाई काठमाडौं लगेर बयान लिइनेछ । सभापति लामिछानेमाथि स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको पनि अभियोग छ । जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले पनि लामिछानेलाई आज अपराह्न पोखराबाट काठमाडौं ल्याउन लागिएको बताएको छ ।
८.३ अंकले घट्यो सेयर बजार, सबै उपसमूह राताम्ये
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजार परिसूचक (नेप्से) घटेको छ । आज नेप्से परिसूचक ८.३० अंकले घटी २ हजार ७४८.०५ अंकमा बन्द भएको छ । आज दिनभरिमा ८ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ । आज ५० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ वटा कम्पनीको मूल्य घटेको छ । साथै, विभिन्न ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको देखिन्छ । नेप्सेका अनुसार विशाल बजार, नेपाल लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्राेफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हाे । आज एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयर काराेबार धेरै भएकाे छ । यस कम्पनीको ३१ करोड ८ लाख ६४ हजार रुपैयाँको सेयर कारोबार भएको हो । यस्तै, नेपाल फाइनान्स लिमिटेडकाे २९ करोड ७४ लाख १९ हजार, मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे २७ करोड ९४ लाख २४ हजार, जानकी फाइनान्स कम्पनी लिमिटेडकाे २३ करोड १६ लाख ४४ हजार सेयर कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै उपसमूह राताम्ये छन् ।
लहडको भरमा विदेसिने प्रवृत्तिले नेपाली विद्यार्थी मारमा, काम र कोठा पाउनै मुस्किल
बेलायत । रामेछाप गेलुका उज्वल कार्की उच्च शिक्षाका लागि बेलायत उत्रिँदा मनमा कुनै उमङ्ग थिएन । सुनौलो र सुनिश्चित भविष्यको आशामा बेलायत आइगेका कार्कीको मनमा मडारिएको अनिश्चित र अन्योलपूर्ण भाव अनुहारमा प्रष्ट देखिन्थ्यो । ‘सुरुमा त बेलायत जाने भनेपछि खुसीको सीमा थिएन, भिसा पनि लाग्यो, घरपरिवार र साथीभाइबाट पनि बधाई आएको थियो’ उनले मलिनो अनुहारमा भने, ‘तर यहाँ आइपुगेपछि भने यहाँको अवस्था बुुझ्दा आङ् नै सिरिङ भयो, अब कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थपियो । अब आई नै सकेँ, जे त होला । राम्रै होला भन्ने आशा गरौँ ।’ आफन्तको सहयोगमा उल्भरह्याम्टन डब्लुभिथ्रीस्थित एक घरमा कोठा फेला पारेका कार्कीले बस्नकै लागि त कुनै समस्या भोग्नुपरेन तर अब कसरी कलेजको पढाइ र खर्चको व्यवस्थापनका लागि कामको खोजी गर्ने हो उनको मनमा त्रासको तुवाँलो मडारिएको छ । कार्कीलाई सहयोग गर्ने आफन्त लक्ष्मी दुलालले विद्यार्थीलाई काम पाउन निकै मुस्किल भएको अनुभव सुनाइन् । ‘केही समययता विद्यार्थीका लागि काम पाउन निकै गाहे छ, बल्लबल्ल काम पाए पनि विश्वविद्यालय र कामको समय मिलाउन निकै सकस छ’, उनले भनिन्, ‘झण्डै एक वर्षअघि विद्यार्थी भिसामै बेलायत आएकी लक्ष्मीलाई बेलायत सरकारले बढाएको शुल्क र विद्यार्थीले काम पाउन भोग्नुपर्ने समस्या विकराल भएको अनुभव ताजै छ ।’ कार्की बेलायत पुगेकै दिन उत्रिएका अर्का विद्यार्थी सुयोग गिरीले पनि आफूले यहाँ कोठा नपाएको भन्दै नेपाली विद्यार्थी इन युके समूहमा सहयोगको याचना गरेका छन् । उनले आफू पढ्ने क्याम्पसको नाम नै उल्लेख गरेर आफ्नो नम्बरसमेत राखेर सहयोगका लागि आग्रह गरेका हुन् । अर्का विद्यार्थी दीपक यादवले पनि सोही समूहमा आफू भर्खरै आएको भन्दै बस्ने कोठाका लागि अपिल गरेका छन् । केही अपवाद छाडेर काम र कोठाका लागि नै सङ्घर्ष गर्नुपर्ने अवस्था बेलायत आउने हरेक विद्यार्थीको नियति बनेको छ । पहिलो कुरा कोठा पाउनै सकस, त्यसपछि कमाएरै क्याम्पसको शुल्क तिर्ने र बेलायत आउँदा लागेको खर्च पनि केही महिनामै उठाउने सोच बोकेर यहाँ आइपुगेका विद्यार्थीहरु मानसिक स्वास्थ्यको शिकार पनि बन्ने गरेका छन् । एक महिनाअघि सेप्टेम्बर इन्टेकमा बेलायत आइपुगेका प्रितम् गिरी आफ्नो बर्मिङ्घमस्थित कलेज नजिकै बस्दै आएको कोठा महंगो भएकाले छोडेर उल्भरह्याम्टन सरे । ‘कोठा भाडा महङ्गो छ, त्यसमाथि काम पाइँदैन । घरबाट मगाएर कतिन्जेल टार्ने’, उनले भने । उनी पनि कामको खोजीमा छन् । केही दिन पहिलेदेखि उनले एक रेस्टुरेन्टमा ‘क्यास इन ह्यान्ड’ काम थाले पनि प्रतिघण्टाको पारिश्रमिक एकदमै कम छ । उनले पनि विद्यार्थीले कानुनीरुपमा गर्न पाउने हप्ताको २० घण्टा काम अझै पाउनु भएको छैन । वार्षिकरुपमा बढ्दो चर्को विश्वविद्यालयको शुल्क, शैक्षिक परामर्शदाताले दिलाएका झुठा आश्वासन, परिवारप्रतिको दायित्व, भाषा र भौगोलिक ज्ञानको अभावजस्ता कारण पनि कतिपय विद्यार्थी तनाव र डिप्रेसनसम्मको समस्या सामना गर्न बाध्य छन् । नेपाली समाज वेष्टमिड्ल्याण्डका अध्यक्ष भीम शर्माको अनुभवमा आवश्यक तयारीबिना विद्यार्थी बेलायत आउने भएको कारणले समस्यामा बढ्दै गएको छ । ‘बेलायत आउनुअघि हुनुपर्ने आधारभूत ज्ञानको अभावमा नेपाली विद्यार्थी धेरै समस्यामा पर्ने गरेका छन्’, उनले भने, ‘सकेसम्म समस्या नदेखाउने र हार खाने अवस्थामा पुुगेपछि सामाजिक सञ्जाल र नेपाली समूहमा हारगुहार गर्ने विद्यार्थीको सङ्ख्या बढ्दो छ ।’ सकेसम्म समस्यामा परेका नेपालीका लागि आवश्यक सहयोग गर्ने तर समाजमा आवद्धहरुको पनि आफ्नै सीमितताका कारण ठूलो सहयोग गर्न नसकिने उनको भनाइ छ । नेपाली राजदूतावास बेलायतका प्रवक्ता रोशन खनालले ‘भिसा त लागोस् बाँकी भोगौंला’, भन्ने प्रवृति मुख्य समस्याको रुपमा देखिएको बताए । ‘कुन विषय पढ्ने ?, कुन विश्वविद्यालयमा पढ्ने ?’, उनले प्रश्नको शैलीमा भने, ‘सो ठाउँमा कामको सम्भावना र बस्ने ठाउँको अवस्था के छ ? समस्या पर्दा सहयोग गर्ने कोही छ कि छैन् ? लगायतका विषयमा आधारभूत ज्ञानसमेत नलिइकन बेलायत आउनेहरुले धेरै समस्या भोग्नुपरेको छ ।’ काम गरेर कलेजको शुल्क तिर्छु र यहाँ आउँदा लागेको खर्चसमेत केही महिनामै उठाउँछु भन्ने सोच बोकेर बेलायत पुग्ने अधिकांश विद्यार्थी मानसिक समस्यामा पर्नु मुख्य कारण भएको उनले बताए । यतिबेला बेलायतमा विद्यार्थीले काम नपाउने र पाए पनि २० घण्टा काम गरेर पढेको शुल्क तिर्छु र नेपालमा पनि पठाउँछु भन्ने सोचले आएका विद्यार्थीहरुले समयमै विश्वविद्यालयको शुल्क तिर्न नसकेपछि केही समयका लागि समन्वय गरिदिन आग्रह गर्नेहरुको संख्या बढेको उनको भनाइ छ । उनका अनुसार उल्भरह्याम्टन, बर्मिङघम, लण्डनलगायतका विभिन्न क्षेत्रका विश्वविद्यालयबाट विद्यार्थीहरुले काम नपाएको र शुल्क तिर्न समस्या भएको गुनासो सुनिएको छ । ‘नचलेका र जुनसुकै विषयमा भए पनि भिसा लगाउनकै लागि ग्रामीण कलेजमा पढ्न आउनेहरु समस्यामा पर्ने गरेका छन्’–उनले थपे, ‘बस्ने ठाउँ, पढ्ने ठाउँ र काम पाउने ठाउँको दूरी व्यवस्थापनमै धेरैलाई समस्या भइरहेको छ ।’ कतिपयलाई बेलायत आउन पाए पुग्ने, पढ्ने विषय, विश्वविद्यालयबारे समेत पर्याप्त जानकारी नभएको सुनाउँदै उनले थपे, ‘कतिपयलाई यहाँको यथार्थ भन्दा समेत जाने गएकै छन् राम्रै भएको छ, मलाई चाहीँ के नराम्रो होला भन्ने ठानेर दुख पाएको जस्तो लाग्छ ।’ लण्डनभित्रकै कलेज हो भनेर शैक्षिक परामर्शदाता कम्पनीले दिएको गलत र भ्रमपूर्ण जानकारी विद्यार्थीका लागि घातक हुने गरेको पाइएको छ । प्रक्रियाका क्रममा भिसा मात्रै लागोस् भन्ने चाहना राखेका विद्यार्थीलाई भिसा लागेपछि मात्रै कुन विश्वविद्यालय हो भन्ने थाहा हुन्छ, त्यसपछि पनि त्यसको भौगोलिक अवस्था र सम्भावनाबारे बुुझ्दा समस्या भएको हुनसक्छ । लामो समयदेखि नेपाली विद्यार्थीका समस्यालाई नजिकबाट नियालिरहेको नेपाली विद्यार्थीहरुको छाता संस्था मर्जिङनेप्ससका संस्थापक अध्यक्ष पवन कँडेलले सेप्टेम्बर इन्टेकमा बेलायतमा विश्वभरबाट हजारौं अन्तर्राष्ट्रिय विद्यार्थी उच्चशिक्षाका लागि आउने भएकाले कोठा र काम पाउन कठिन रहेको बताए । ‘सेप्टेम्बर र जनवरी इन्टेकमा विश्वभरबाट गुणस्तरीय शिक्षाका लागि हजारौं विद्यार्थी बेलायत आउँछन्, विश्वका उत्कृष्टमध्यमै पर्ने बेलायतमा रहेका १३० भन्दा बढी मुख्य विश्वविद्यालयमा आउने हजारौँ विद्यार्थी सबै राम्रो उच्च शिक्षाकै उद्देश्यकै कारण नआउने गरेका छन्’, उनले भने, ‘त्यसमा पनि नेपाललगायत कम आय भएका देशका केही विद्यार्थीबाहेक अधिकांशको उद्देश्य पढाइभन्दा पनि कसरी बेलायत प्रवेश गर्ने भन्ने मात्रै सोचेको देखिन्छ ।’ अध्यक्ष कडेँलले बेलायतका विश्वविद्यालयलाई विद्यार्थीको लोभ र शैक्षिक परामर्शदाता कम्पनीले पाउने २० देखि २५ प्रतिशत कमिसनको चेपुवामा विद्यार्थीहरु पर्ने गरेका छन् । त्यसमाथि नेपालबाट आउँदा बेलायत भित्र्याउन पाउने सीमित पाउण्ड र बेलायतको बढ्दो महङ्गीकै कारण विद्यार्थीहरु बढी समस्यामा पर्ने गरेका सुनाए । ‘यहाँ पढ्नकै लागि आउने हो, पढाइलाई किनारामा राखेर पैसा कमाउने लक्ष्य हो भने त्यो सम्भव छैन भनेर बुझ्न आवश्यक छ’ उनले भने, ‘अधिकाश नेपाली विद्यार्थी काम गरेरै खर्च चलाउने, विश्वविद्यालयको शुल्क बुझाउनेदेखि नेपाल पैसा पठाउनेसम्म सपना देखेर बेलायत आउने गरेका छन् । त्यो पूरा हुन निकै कठिन छ ।’ बेलायतमा अध्ययनरत विदेशी विद्यार्थीले साताको २० घण्टा काम गर्न पाउँछन् । वर्षमा केही महिना विश्वविद्यालय बिदा हुँदा सबै समय काम गर्न छुट छ तर, अहिले महिनौंसम्म काम नपाउने, नेपालबाटै मगाएर खर्च चलाउनुपर्ने जस्ता अवस्था सामान्य बनेका छन् । नेपाली, भारतीय र पाकिस्तानी कम्पनी तथा रेष्टुुरेन्टमा काम गर्नेहरुले पनि धेरै समय काम गरेर अत्यन्तै न्यून पारिश्रमिक पाउने गरेका छन् । कानूनीरुपमा उनीहरुले २० घण्टामात्रै काम गर्न पाउने भएकाले विद्यार्थीहरु जति पाए पनि केही नबोली गर्न बाध्य छन् । रोजगारदाताहरुको रोजाइमा पूर्णकालीन काम गर्न सक्ने, जुनसुकै दिन र समयमा उपलब्ध हुने तथा भाषा र कामको अनुभव भएकाहरूलाई प्राथमिकता दिने भएकाले विद्यार्थीहरुले सहजै काम गर्न कठिन हुने गरेको छ । नेपालबाट अध्ययनका लागि कति विद्यार्थी बेलायत आएका छन् भन्ने यकिन तथ्याङक नहुँदा समस्याको वास्तविक पहिचान गर्न सहज नभएको लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता प्रवक्ता रोशन खनालको भनाइ छ । यसै वर्षदेखि ‘पोस्ट ग्राजुएट रिसर्च कोर्स’बाहेक अन्य कोर्समा आउँदा डिपेन्डेन्ट ल्याउन नपाइने नियम बनाएपछि विद्यार्थीहरुका लागि झनै समस्या भएको छ । तर पनि शैक्षिक परामर्शदाताले यथार्थ जानकारी नदिनु र लहडको भरमा विदेसिने प्रवृत्ति बढ्नुले नेपाली विद्यार्थीले अन्य देशमा पुगेर समस्या भोग्नुपर्ने क्रम बढेको छ । रासस
वर्ल्डलिङ्कमा फिनफण्डको करिब डेढ अर्ब लगानी, फाइबर नेटवर्क बिस्तार गर्न प्रयोग गरिने
काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक र देशकै अग्रणी आईसीटी कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फण्डिङ कम्पनी फिनफण्डले १ करोड युरो (१ अर्ब ४२ करोड नेपाली रुपैयाँ) लगानी गरेको छ । फिनल्याण्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भीले ट्याभियोको उपस्थितिमा वर्ल्डलिङ्कका अध्यक्ष दीलिप अग्रवाल र फिनफण्डको तर्फबाट वरिष्ठ लगानी प्रबन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले लगानी सम्बन्धित सम्झौतापत्रमा हस्ताक्षर गरे । फिनफण्डको लगानी विद्यमान फाइबर नेटवर्क बिस्तार गर्न प्रयोग गरिने बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपालमा झन्डै आधा जनसंख्या अझै पनि ब्रोडब्यान्ड इन्टरनेटको पहुँचबाट वञ्चित छन् र सहरी र ग्रामीण क्षेत्रहरूमा उल्लेखनीय असमानता छ, यसको लागि विश्वस्तरीय डाटा सेन्टरले नेपालको कनेक्टिभिटीमा सुधार र आर्थिक वृद्धिलाई टेवा पुर्याउने कम्पनीले जनाएकाे छ । ‘वर्ल्डलिङ्कले नेपालको ग्रामीण क्षेत्र र दुर्गम गाउँहरूमा आफ्ना सेवाहरू विस्तार गरेर नेपालमा डिजिटल विभाजनलाई कम गर्ने दिशामा काम गरिरहेको छ भने डिजिटल पूर्वाधारमा फिनफन्डको लगानीले समुदायहरूलाई छिटो, थप किफायती र भरपर्दो इन्टरनेट उपलब्ध गराउन खोजेको छ,’ फिनफण्डका वरिष्ठ लगानी प्रबन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले भने, ‘फिनिश लगानीकर्ता भएकोले, हामी पक्कै पनि वर्ल्डलिङ्कले आफ्नो इन्टरनेट सेवाहरू बिस्तार गर्न नोकियाको उन्नत प्रविधि प्रयोग गर्छ भन्ने तथ्यलाई पनि महत्त्व दिन्छौं ।’ ‘फिनफण्डको लगानी नेपालको हरेक कुनालाई तीव्र, भरपर्दो र किफायती इन्टरनेट नेटवर्कमा जोड्ने हाम्रो लक्ष्यमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुनेछ,’ वर्ल्डलिङ्कका अध्यक्ष अग्रवालले भने । ‘हाम्रो फाइबर नेटवर्क बिस्तार गरेर तथा विश्व-स्तरीय डाटा सेन्टर स्थापना गरेर, हामीले सहर र ग्रामीण भेग बिचमा देखिएको डिजिटल विभेदलाई हटाउने र देशभर डिजिटल रूपान्तरणलाई गति दिने लक्ष्य राखेका छौं,’ उनले थपे । फिनिश प्रविधि तथा उपकरण निर्माता नोकिया र वर्ल्डलिङ्कको सहकार्यले वर्ल्डलिङ्कका ग्राहकहरूका लागि समग्र इन्टरनेट अनुभवलाई अझ भरपर्दो, तीव्र गतिको र थप विश्वसनीय बनाउने लक्ष्य राखेको छ । वर्ल्डलिङ्कको बारेमा वर्ल्डलिङ्कले ५ हजार भन्दा बढी मानिसहरूलाई रोजगारी प्रदान गर्दै आइरहेकाे छ । कम्पनीसँग नेपालमा ३५ प्रतिशत ब्रोडब्यान्ड बजार साझेदारी छ, ९ लाखभन्दा बढी घरपरिवारमा पहुँच प्रदान गर्दछ । कम्पनीले हाल नेपालको ७७ जिल्ला मध्ये ७३ जिल्लामा सेवा प्रदान गर्दै आएको छ । वर्ल्डलिङ्क ठूलो विदेशी लगानी भित्र्याउन नेपालको इन्टरनेट सेवा प्रदायक मध्येको पहिलो र एकमात्र कम्पनी हो । कम्पनीले यसअघि नै ब्रिटिश इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई) र डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफआईआई) मार्फत विदेशी लगानी भित्र्याएको छ । कम्पनी सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनीको रूपमा सरकारबाट विभिन्न समयमा सम्मानित भइसकेको छ । यसका साथै कम्पनीले एसियन – ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसीओ) मार्फत ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’, कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्डलगायतका अवार्डहरू प्राप्त गरेको छ । फिनफण्डको बारेमा फिनल्याण्ड सरकारको अधिनमा रहेको फिनफण्ड एक विकास क्षेत्रको लगानीकर्ता र प्रभाव पार्ने लगानीकर्ता हो । फिनफण्डले अफ्रिका, एसिया र ल्याटिन अमेरिकामा सञ्चालित व्यवसायहरूलाई जोखिम पुँजी, दीर्घकालीन लगानी ऋण, मेजानाइन वित्तपोषण र विकासशील बजारहरूमा कसरी लगानी गर्ने भन्ने बारे विशेषज्ञता प्रदान गर्दछ । फिनफण्डले ओईसीडी/डीएसीद्वारा परिभाषित विकासोन्मुख देशहरूमा मात्र लगानी गर्छ । यसले नवीकरणीय ऊर्जा, दिगो वन, दिगो कृषि, वित्तीय संस्था र डिजिटल पूर्वाधार र समाधानहरूजस्ता दिगो विकासका लागि महत्त्वपूर्ण क्षेत्रहरूमा विशेष जोड दिँदै आएकाे छ ।
पेरुमा फेला पर्यो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
काठमाडौं । पेरुको मरुभूमिमा फेला परेको एक करोडदेखि एक करोड २० लाख वर्ष पुरानो एक युवा सामुद्रिक गोहीको अवशेषलाई पेरुका वैज्ञानिकहरूले सार्वजनिक गरेका छन् । राजधानी लिमाबाट करिब ३५० किलोमिटर दक्षिणमा रहेको पेरुको ओकुकाजे मरुभूमिमा सन् २०२३ को अन्त्यतिर करिब तीन मिटर (करिब १० फिट) लामो घडियाल गोहीको जीवाश्म फेला परेको थियो । ‘हामीले यो प्रजातिको किशोर घडियाल गोहीको अवशेष फेला पारेका छौं, अहिलेसम्म यसको अधिकतम ठूलो आकार फेला परेको रेकर्ड थिएन। यसको एक करोड २० लाख वर्षभन्दा पहिले नै मृत्यु भएको थियो,’ मेरुदण्डी जीवाश्म विज्ञानका अनुसन्धाता मारियो ग्यामराले एक पत्रकार सम्मेलनमा भने । अवशेषको पुनर्निर्माणको नेतृत्व गरेका ग्यामराका अनुसार यी नमूनाहरूको खप्पर र बङ्गारा आजका गोही र मगरमच्छ (गोही)हरूको भन्दा फरक छ । पेरुको ‘जियोलोजिकल, माइनिङ एन्ड मेटलर्जिकल इन्स्टिच्युट’ र ‘ला युनियन स्कुल’ले संयुक्त रुपमा उक्त खोज गरेका हुन् । पेरुको ओकुकाजे मरुभूमिमा चार खुट्टा भएका बौना ह्वेल, डल्फिन, शार्क र अन्य प्रजातिका मिओसिन कालका ५० लाख बर्षदेखि दुई करोड ३० लाख वर्ष पहिलेका अवशेष पत्ता लागेका छन् ।
होटललाई उद्योगसरह विद्युत् उपलब्ध गराउन ऊर्जामन्त्रीसमक्ष माग
काठमाडौं । देशभरका होटल व्यवसायीको छाता संस्था होटल सङ्घ नेपाल (हान)ले होटल क्षेत्रलाई उद्योगसरह विद्युत् उपलब्ध गराउन माग गरेका छन् । सङ्घका अध्यक्ष विनायक शाह नेतृत्वको टोलीले बिहीबार उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई भेटेर होटल क्षेत्रलाई उत्पादनमूलक उद्योगले पाएको विद्युत् छुट सरहको सुविधा दिन माग गरेको हो । हानले होटलमा विद्युतीय चुल्हो राख्नका लागि आवश्यक नीति बनाउनुपर्ने, होटललाई समेत टाइम अफ डे (टिओडी) मिटर प्रदान गर्ने व्यवस्था लागू गरी प्रोत्साहित नीति लिन मन्त्रीसमक्ष आग्रह गरेको छ । होटल व्यवसायीहरूले औद्योगिक व्यवसाय ऐन, २०५६ को दफा ३ बमोजिम होटल उद्योगमा दर्ता हुनुपर्ने र पर्यटन ऐन २०३५ को दफा १० बमोजिम होटल, लज, रिसोर्ट, पर्यटकस्तरमा दर्ता गराउन चाहेमा सरकारसमक्ष दर्खास्त दिनुपर्ने व्यवस्थाबमोजिम पर्यटन विभागबाट स्तर निर्धारण भएका होटललाई अन्य उत्पादनमूलक उद्योगसरहको सुविधा दिन माग गरेका छन् । भेटमा ऊर्जामन्त्री खड्काले निजी क्षेत्र सुदृढ नभएसम्म राष्ट्रिय अर्थतन्त्र सुदृढ नहुने भन्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति वर्तमान सरकारले लिएको बताएका थिए । मन्त्री खड्काले नेपालमा होटल क्षेत्रले ठूलो रोजगारी प्रदान गरेको भन्दै यसलाई अगाडि बढाउन सरकार लाग्ने स्पष्ट पारे ।
‘लगानीको वातावरण बनाउन कानुन संशोधनका साथै तिनको नियमावली र कार्यविधि तयार हुनुपर्छ’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि अझै केही कानुनहरू संशोधन गर्न जरुरी रहेको बताए । बिहीबार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत वैशाखमा लगानी सम्मेलनको समयमा एकैपटक अध्यादेशमार्फत् कानुन संशोधन भए पनि तिनको नियमावली र कार्यविधि तयार नभएकाले कार्यान्वयन हुन नसकेको गुनासो गरे । अध्यक्ष ढकालले हाल निजी क्षेत्रका अन्त:शुल्क, उत्पादित सामग्री खेर जाने र मूल्यलगायतका समस्याहरू रहेकाले यसको व्यावहारिक निर्णय गरेर समयमै सम्बोधन गर्नुपर्ने धारणा राखे । उनले भने, ‘सरकार र निजी क्षेत्रको सक्रियतामा लागनी सम्मेलन सम्पन्न भयो । कानुनहरू संशोधन भए । तर तिनको नियमावली र कार्यविधि तयार नभएको अवस्था छ। त्यो चिजलाई सम्बोधन आवश्यक छ । चाहे आन्तरिक होस् वा बाह्य लगानी भित्र्याउनका लागि होस् कतिपय कानुन अझै परिवर्तन गर्नुपर्नेछ ।’ वर्तमान सरकाले निजी क्षेत्रलाई प्राथमिकता दिएर व्यवसायीलाई पनि राखेर छलफल गरिरहेको भन्दै उनले निजी क्षेत्रले यसलाई स्वागतका रूपमा लिएको बताए । महासंघको सुझावअनुसार उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्नुपर्छ भन्ने प्रस्ताव गरेकोमा आयोग गठन गरेर निजी क्षेत्रलाई पनि सहभागी गराएर निजी क्षेत्रलाई समेट्न खोजिएकोमा धन्यवाद व्यक्त गरेका छन् । उनले आयोगले दिने सुझावका लागि व्यवसायीहरूलाई प्राथमिकताअनुसार लगानी प्रभावित गरेका कानुनका बारेमा सुझाव दिन पनि आह्वान गरे । ती समस्या समाधान गरेमा छोटो समयमा आर्थिक सुधार गर्न सकिने उनको भनाइ थियो ।
तीनजना विद्यार्थीहरू ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
काठमाडौं । भाषा विज्ञान नेपालको ४५ औं अन्तराष्ट्रिय सम्मेलनमा तीनजना विद्यार्थीहरू ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत भएका छन् । दर्शनाचार्य–विद्यावारिधि (एमफिल–पिएचडी)मा अध्ययनरत युवा भाषा वैज्ञानिकहरू मोहन गुरुङ, सिर्जना घिमिरे र नेह गर्ग ‘युवा भाषा वैज्ञानिक पुरस्कार–२०८१’को आवार्डबाट पुरस्कृत भएका हुन् । गुरुङ र घिमिरे त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्द्रीय विभाग र गर्ग बनारस हिन्दु युनिर्भसिटीका विद्यार्थी हुन् । मंसिर ११ र १२ गते काठमाडौंमा सम्पन्न सम्मेलनमा अनुसन्धान लेखन र प्रस्तुतीकरणको आधारमा उनीहरू नगद १० हजार रुपैयाँ, प्रमाणपत्र र अवार्डबाट पुरस्कृत भएका हुन् । ‘गण्डकी क्षेत्रको ठाडो भाकाः समाज भाषिक अध्ययन’ विषयको अनुसन्धान लेखन एवम् प्रस्तुतीकरणको आधारमा गुरुङले आवार्ड जितेका हुन् । ‘बहुभाषिक कक्षाकोठमामा सिकाईमा कठिनाई’ विषयबाट घिमिरेले र ‘मैथिलीका शाब्दिक, रूपात्मक तथा वर्णनात्मक प्रेरणार्थक संकेतनः तुलनात्मक अध्ययन’ विषयबाट खोज, लेखन र प्रस्तुतीकरणको आधारमा गर्गले आवार्ड पाएका हुन् । हरेक वर्षको अंग्रेजी महिना डिसेम्बर २६ र २७ गते आयोजना गरिने सम्मेलनमा नेपालका दुईजना र नेपाल बाहिरका एकजना भाषा वैज्ञानिकले यो अवार्ड पाउँछन् । यो अवार्ड नेपालको भाषाबारे अध्ययन, अनुसन्धान र लेखनका लागेका भाषा वैज्ञानिकहरूले पाउँछन् । डा. समर सिन्हा (सिक्किम विश्वविद्यालयका प्रोफेसर), डा. दानराज रेग्मी र डा. भीमलाल गौतम (त्रिभुवन विश्वविद्यालय) रहेको मूल्याङ्कन समितिले उनीहरूलाई आवार्डका लागि सिफारिस गरेको थियो । सम्मेलनमा अमेरिका, अष्ट्रेलिया, भारत, जर्मनी, साउदी अरब, पोल्याण्ड, बेलायतलगायत १० देशका भाषा वैज्ञानिकहरूको सहभागिता थियो ।