विकासन्युज

कर्मचारीतन्त्र भित्रको चित्र ‘९६ गड्डी’

काठमाडौं । ‘फूल हौँ, सुगन्ध हौँ, या स्वर्गकी परी हौँ ? परीमा पनि सर्वोपरी ! भन कुन देशकी चरी हौँ’ प्रकाश तिवारीद्वारा लिखित उपन्यास ‘९६ गड्डी’ भित्र पात्रहरूको भावनालाई कवितामार्फत प्रस्तुत गरिएको सृजनाको एक हरफ हो यो । उपन्यास ‘९६ गड्डी’ सदाचार, नैतिकता र आदर्शबाट विमुख हुँदै गएको नेपाली राजनीति र कर्मचारीतन्त्रभित्रको चित्रण हो । उपन्यासकार तिवारीले आफ्नो सृजनालाई २०४६ सालको जनआन्दोलन आसपासबाट प्रारम्भ गरेका छन् । उपन्यासका पात्र विज्ञान, राजीव र कुमुदा त्यतिबेलाका जुझारू विद्यार्थी नेता हुन् । उपन्यासमा विज्ञान र कुमुदा वामपन्थी पृष्ठभूमिका अनि राजीव प्रजातान्त्रिक धारका विद्यार्थी नेता हुन् । विसं २०४६ को जनआन्दोलनमा भएको प्रहरी दमनमा परी कुमुदाको मृत्यु हुन्छ । ‘निजामती कर्मचारीभित्रको भ्रष्टाचार र विकृतिलाई उपन्यासमार्फत देखाएर त्यसलाई न्यूनीकरण गरी सुशासन कायम गर्न पुस्तकले प्रेरित गरेको छ”, उपन्यासकार तिवारीले भने, ‘आफूले देखेका, भोगेका अनुभवलाई उपन्यासमार्फत ल्याएको हुँ, नयाँ पुस्तालाई त्यो मार्गमा नलाग्न प्रोत्साहन पनि हो ।’ उपन्यासमा विज्ञान र राजीव स्नातकोत्तर अध्ययन समाप्तिपछि राजनीतिमै लागिरहने या जागिर खाने भन्ने द्विविधामा पर्छन् । द्विविधाकैबीच उनीहरू दुवै निजामती सेवामा प्रवेश गर्छन् । निजामती सेवामा प्रवेशपछि पनि विज्ञान भ्रष्टाचारमुक्त नयाँ नेपाल निर्माणको पूर्वादर्शलाई बिर्सँदैन । विद्यार्थीकालका सपनालाई कार्यरूपमा उतार्ने भरमग्दुर प्रयत्न गर्दछन् । त्यसो गर्दा कार्यालयका अन्य कर्मचारी र ऊबीच द्वन्द्व सुरु हुन्छ । आजभोलि गर्दागर्दै द्वन्द्व उत्कर्षमा पुग्छ । फलतः ऊ चौतर्फी घेराबन्दीमा पर्छ । सबैतिरबाट एक्लो बनाइन्छ । घेराबन्दी र एक्लोपनका कारण विज्ञान विस्तारै खाने खुवाउने बाटो समात्न बाध्य हुन्छ । कालान्तरमा भ्रष्टाचाररूपी दलदलमा नराम्ररी फस्न पुग्छ । अन्ततः ९६ लाख रुपैयाँसहित रङ्गेहात पक्राउ परी जेल जान्छ । उपन्यासले मानिस जन्मदै भ्रष्ट भएर जन्मिदैन । त्यसको निर्धारण व्यक्तिले प्राप्त गर्ने शिक्षादीक्षा, सामाजिक परिवेश, परिवार, इष्टमित्र, सरसङ्गतले गर्छ भन्ने देखाउन खोजेको छ । भ्रष्टाचार गर्ने (खाने-खुवाउने) चतुर कर्मचारी गिरिधरीे भएको र त्यस्ता गिरिधरी जतिसुकै ठूलो भ्रष्टाचार गरे पनि पक्राउ पर्दैन भन्ने देखाउन खोजिएको छ । जनआन्दोलनको क्रममा सहादत प्राप्त गरे पनि कुमुदा विज्ञानको मनमस्तिष्कमा निरन्तर छाइरहन्ने गरेको विज्ञानको सपनामा आएर लोकतान्त्रिक मूल्यमा आधारित मुलुक बनाउन लाग्नु, भ्रष्टाचारमुक्त नेपाल निर्माणको वाचा–कसम नभुल्न भनेर सजग गराइरहेको प्रसङ्ग छ । उपन्यासको अर्को पात्र एसएसपी आलोक स्वाभिमानी र इमान्दार पात्र हो । ऊ कस्तै परिस्थितिमा पनि भ्रष्ट र अपराधीहरूसँग सम्झौता गर्दैन । सत्य, न्याय र सुशासनको पक्षमा चट्टानझैँ खडा हुन्छ । त्यसकारण ऊ वृत्तिविकासमा पछि पर्छ । अधिकांश समय पश्चिम नेपालको विकट पहाडी जिल्लामा सरुवा गरिन्छ । उपन्यासमा राज्य संयन्त्रको सर्वोच्च स्थानमा बस्ने मारफेल नामको पात्र पनि छ । जो विकृति, विसङ्गति र भ्रष्टाचारको पर्याय बन्न पुगेको छ । उपन्यासमा भ्रष्टाचार छानबिन समितिको अध्यक्ष चैतन्य प्रधानले केही लाख रुपैयाँ र सुरासुन्दरीको मोहमा भ्रष्टाचारमा लालमोहर लगाएको दृष्य पनि छ । साथै उपन्यासमा सुशीलाको हत्यारा पत्ता लगाउन सामनाले ठमेल नाइटक्लबमा काम गर्न थालेकोे सन्दर्भ आउँछ । सामनालाई साहसी र लडाकुमात्र होइन चतुर पात्रका रूपमा प्रस्तुत गरिएको छ । साहित्यकार भारती न्यौपानेलाई उक्त उपन्यासलाई सेतो पर्दामा देखिने र कालो पर्दाभित्रका निजामती कर्मचारीको यथार्थ चित्रण गरिएको महसुस भएको छ । ‘निजामती कर्मचारीभित्र सुशासन कायम गर्न विज्ञान विद्रोही पात्र भए पनि परिवार र साथीभाइको दबाबले अन्तिम भ्रष्टाचारमा गर्नुपर्ने बाध्यतामा पुर्याएको चित्रण पुस्तकमा छ,’ उनले पुस्तकबारे समीक्षा गर्दै भने, ‘साहित्यमार्फत महिला सशक्त पात्रलाई पनि झुक्न बाध्य पारिएका र बढुवाका लागि घुस खुवाउनुपर्नेजस्ता विकृतिको यथार्थ चित्रण गरिएको छ ।’ उपन्यासकार तिवारीले निजामती कर्मचारीभित्र देखिएको भ्रष्टाचारका काण्डलाई सृजनामार्फत बाहिर ल्याउने राम्रो हिम्मत भन्ने महसुस साहित्यकार न्यौपानेलाई भएको छ । ‘उपन्यासमा पैसाका लागि बाध्य भएर महिला ‘ठेमलको नाइट क्लब’मा पुग्न बाध्य हुन्छन्, तर त्यही क्लबमा जाने पुरूषहरू पहुँचवाला र उच्च ओहोदामै भएका जान्छन् भन्ने स्पष्ट देखाइएको छ, जुन यथार्थमा आधारित छ,’ उनले भने । साहित्यकार अनिला कोइरालालाई उपन्यासमार्फत पैसाको अगाडि कुनै वादले पनि काम गर्दैन भन्ने यथार्थ र सत्य उजागर गरिएको छ भन्ने लागेको छ । उनले भने, ‘उपन्यासमा सुशीला बाध्यताले आचरणविपरीत काम गर्छिन् र उनी भन्छिन् ‘शरीर बेच्नेभन्दा डरलाग्दा हुन्छन्, भ्रष्ट सोच राख्नेहरू’ देशको राजनीति, निजामती कर्मचारीका केही खराब सोचलाई सुन्दर तरिकाले उजागर गरिएको छ ।’ साहित्यकार सुदा मैनालीलाई निजामती कर्मचारीभित्रको विकृत सोच, भ्रष्टाचारको संस्कृति रोचक तरिकाले प्रस्तुत गरेको र कतिपय उच्च पदमा पुगेका निजामती कर्मचारीले महिलालाई हेर्ने नकरात्मक दृष्टिकोणका बारेमा उपन्यासमा स्पष्ट देखाउन खोजिएको सुनाए । उपन्यासका लेखक तिवारीले सामना गाउँमा दुई चितुवासँग युद्ध लडेकी साहसी र मुलुकमा सुशासन चाहने पात्रले विभिन्न मोहमा परेर आफ्ना पति विज्ञानलाई भ्रष्ट बनाउने काममा लागेको चित्रण गरेका छन् । लेखक तिवारी पूर्वप्रशासक छन् । उनले १३ वर्ष निजामती सेवामा र पछिल्लो बाँकी समय नेपाल कृषि अनुसन्धान परिषद्मा रहेर काम गरे । लमजुङ घर भई हाल तारकेश्वर नागरपालिका काठमाडौँमा बस्छन् । उनका यसअघि परित्यक्त, निलोफर र निहारिका कृति बजारमा आइसकेका छन् । पुस्तकमा निजामती कर्मचारीभित्रको संस्कृति र विकृतिलाई पनि उठान गरिएको छ । ‘कलमका साथी’ नामक संस्थाले शनिबार उक्त उपन्यासमाथि विमर्श गरिएको हुनाले उक्त पुस्तकमाथि चर्चा भएको हो । पैरवी बुक हाउसले प्रकाशन गरेको उक्त उपन्यास २८३ पृष्ठको छ । उक्त प्रकाशनले २०८१ असोज १६ गते सार्वजनिक गरेको हो । पुस्तक समग्र निजामती कर्मचारीभित्र केन्द्रित भएको छ । उपन्यासका धेरै स्थानमा पात्रहरूको भावनलाई कवितामार्फत प्रस्तुत गरिएको छ । एक प्रसङ्गमा भनिएको छ- ‘तिमी कृष्ण हुन्छौँ भने बनुँला नि म आधा ! तिम्री हुने कसम खाएँ, मुटुभित्र राखे सदा !’

आजदेखि मौन अवधि सुरु, के गर्न पाइँदैन ?

काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ । स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधि यही मङ्सिर १३ गते राति १२ बजेदेखि सुरु भएको आयोगले जनाएको छ । निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता प्रतिकूलका कुनै पनि गतिविधि नगर्नसमेत आग्रह गरेको छ । मौन अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा आयोजना गर्न, जुलुस निकाल्न, नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न पाइने छैन । यस्तै, निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि कार्य निषेध गरिएको छ । कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्न तथा नगराउनसमेत आयोगले आग्रह गरेको छ । सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर नगर्न अनुरोध गरिएको आयोगका प्रवक्ता नीता पोखरेल अर्याल जानकारी दिए । निर्वाचन प्रचारप्रसार निषेध गरिएको अवधिमा उपरोक्तबमोजिम कार्य भए गरेको पाइएमा केन्द्रीय आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समिति, स्थानीय प्रशासन, सुरक्षाकर्मी, अनुगमन अधिकृतबाट समेत सुक्ष्म अनुगमन गरी कारबाही गरिने आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन गरिएको पाइएमा तत्काल कानुनबमोजिम कारबाही गरी मुख्य निर्वाचन निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोगमा जानकारी गराउन आयोगले आह्वान गरेको छ ।

रोयल्टी बाँडफाँटमा सन्तुलन कायम हुनुपर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सन्तुलित रोयल्टी बाँडफाँटमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले नै ध्यान दिनुपर्नेमा जोड दिएका छन् । आयोगद्वारा बिहीबार सुर्खेत वीरेन्द्रगनरमा आयोजित ‘रोयल्टी बाँडफाँटको वर्तमान प्रणालीको संरचना, आधार र ढाँचाको पुनरावलोकनसम्बन्धी अध्ययन, अन्तक्र्रिया तथा छलफल कार्यक्रम’ मा मुख्यमन्त्री कँडेलले स्थानीय तथा प्रदेश तहले प्राप्त गर्ने रोयल्टी समानताको आधारमा बाँडफाँट हुनुपर्नेमा जोड दिएका हुन् । ‘रोयल्टी बाँडफाँटका लागि अहिलेका सूचकहरूमा पुनरावलोकन हुनुपर्छ,’ उनले भने । सङ्घीयता कार्यान्वयनसँगै रोयल्टीसम्बन्धी सूचकहरू बनाइए पनि अभ्यासका आधारमा पुनरावलोकन गर्नुपर्ने धारणा राख्दै मुख्यमन्त्री कँडेलले यसको बाँडफाँटमा सन्तुलन नभएको गुनासा आएकाले पर्याप्त अध्ययनका आधारमा आयोगले नै सन्तुतिल बनाउनतर्फ ध्यान दिनुपर्ने बताए । प्रदेश नयाँ संरचना भएकाले यसलाई केन्द्र भागमा राखेर वित्तीय तथा प्रशासनिक रूपमा बलियो बनाउन सकेमात्र सङ्घीयता बलियो हुने उनको भनाइ छ । प्रदेशको रोयल्टी कम भएकाले पनि कमजोर हुँदै गएको तर्क गर्दै मुख्यमन्त्री कँडेलले भने, ‘वितरणको अवस्थालाई हेर्दा सिङ्गो कर्णालीले पाउने रोयल्टी एउटा गाउँपालिका जतिको पनि छैन । जलविद्युत् उत्पादनको अधिकतम क्षमता भएको कर्णाली उत्पादनको अभावमा त्यस्तो रोयल्टीबाट वञ्चित छ । रोयल्टी प्राप्तिका क्षेत्रमा लगानीको वातावरण बनाउन सङ्घीय सरकारलाई आग्रह गर्दछु ।’ रोयल्टी बाँडफाँटको प्रतिशतलाई ४०/३०/३० अनुपातमा बनाउनुपर्नेमा जोड दिँदै उनले प्राकृतिक स्रोत साधनको रोयल्टी प्राप्तिको दायरालाई फराकिलो बनाउनुपर्ने सुझाव दिए । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले प्राप्त सल्लाह सुझाव आयोगले समेट्ने बताए ।

डलरको भाउ बढ्यो, कुन देशको कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.८८ रुपैयाँ र बिक्रीदर १३५.४८ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४२.३७ रुपैयाँ र बिक्रीदर १४३.०१ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.९० रुपैयाँ र बिक्रीदर १७१.६६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.६१ रुपैयाँ र बिक्रीदर १५३.२९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.६८ रुपैयाँ र बिक्रीदर ८८.०७ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.३१ रुपैयाँ र बिक्रीदर ९६.७४ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.३९ रुपैयाँ र बिक्रीदर १००.८३ रुपैयाँ, जापानी येन १० को खरिददर ८.८८ रुपैयाँ र बिक्रीदर ८.९२ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६१ रुपैयाँ र बिक्रीदर १८.६९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.९१ रुपैयाँ र बिक्रीदर ३६.०७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.०० रुपैयाँ र बिक्रीदर ३७.१७ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९२ रुपैयाँ र बिक्रीदर ३.९४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.७२ रुपैयाँ र बिक्रीदर ३६.८८ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.३३ रुपैयाँ र बिक्रीदर ३०.४७ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.६६ रुपैयाँ र बिक्रीदर ९.७१ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३५ रुपैयाँ र बिक्रीदर १२.४१ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०९ रुपैयाँ र बिक्रीदर १९.१७ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३३ रुपैयाँ र बिक्रीदर १७.४१ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४३८.६६ रुपैयाँ र बिक्रीदर ४४०.६१ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५७.७५ रुपैयाँ र बिक्रीदर ३५९.३४ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५०.३३ रुपैयाँ र बिक्रीदर ३५१.८९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला, पशुपति क्षेत्रमा भक्तजनको भीड

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला आज मनाइँदै छ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड सुरू हुन्छ । त्रयोदशीको दिउँसोदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै सद्बीज छर्छन् । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लाग्छ । बालाचतुर्दशीको अघिल्लो रात शुक्रबार दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बस्छन् । शुक्रबार रातभर दीपदान गरी बसेका भक्तजनले शनिबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो । जाडो मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रमा बिहीबार बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति छ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् । शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौँ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम शतबीज भन्नाले हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्ने बताउँछन् । ‘भगवान् शिव मृगरूप लिएर घुम्नु भएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ,’ उनले भने । वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती छ । यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसैबखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसैबेलादेखि उनी मुर्दाको गिदी खान पल्किए । त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसैबखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्पmत उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ । आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएको थियो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो । माता, पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रूपमा दीपदान एवं शतबीज रोपण गर्नु नहुने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजाआजा त परको कुरा नामसमेत लिन नहुने उल्लेख गरिएको छ । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको जनाइएको छ ।

देशभर मौसम सफा रहने, उच्च पहाडी र हिमाली भागमा हिमपात

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आगामी २४ घण्टामा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट पर्यटन तथा पर्वतारोहणमा आंशिक असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्क रहन अनुरोध गरेको छ ।

उखुको समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि

काठमाडौं । सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेको छ ।  मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको हो । जस अनुसार अब किसानहरूले प्रतिक्विन्टल झन्डै ५ सय ८५ रुपैयाँ उखु मिलबाट पाउने छन् । सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदान बापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन् । तर, मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदान बापत दिने रकमपछि निर्धारण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । सरकारले यसअघि प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो ।

दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार, चालु खर्चमा ३०% कटौती

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) सुधारको प्रारम्भिक खाका तयार भएको बताएका छन् । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको आजको बैठकमा मन्त्रालयको बजेट वक्तव्य कार्यान्वयनको अवस्थाबारे जानकारी दिँदै मन्त्री अधिकारीले सरकारी स्वामित्वको डिडिसीको व्यवस्थापकीय सुधारको काम सुरु भएको बताए । ‘मन्त्रालय डिडिसीलाई सुधार गर्न लागि परेको छ, मन्त्रालयअन्तर्गत समिति गठन गरेर यसलाई कुन ढङ्गबाट सञ्चालन गर्न सकिन्छ भनेर प्रारम्भिक खाका तयार गरेका छौँ,’ मन्त्री अधिकारीले भने । संस्थानको चालु खर्चमा ३० प्रतिशत कटौती गर्नेबारे उनले जानकारी दिए । यस्तै, चिस्यान केन्द्रको व्यवस्थापन, बजारीकरण गर्न ५० स्थानमा कर्नर र एकीकृत सफ्टवेयर सञ्चालनमा ल्याउने मन्त्रालयको तयारी छ । मन्त्री अधिकारीले भने, ‘दुग्ध विकास संस्थानका सबै आयोजना प्रमुखसँग संयुक्त रुपमा छलफल गरेका छौँ ।’ मन्त्री अधिकारीले संस्थाको आन्तरिक व्यवस्थापनमा कर्मचारी जवाफदेही र जिम्मेवार बन्नुपर्नेमा जोड दिए । गत असार मसान्तसम्म किसानलाई भुक्तानी गर्नुपर्ने रकम १ अर्ब ५८ करोड रुपैयाँ बाँकी रहेको, कर्मचारीलाई उपदान दिनुपर्ने रकम ८ करोड ३८ लाख रुपैयाँ, कर्मचारीलाई तलब दिनुपर्ने ४ करोड ६३ लाख रुपैयाँ र अन्य भुक्तानी गर्नुपर्ने २३ करोड २४ लाख रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ । किसानको भुक्तानी ५६ करोड रुपैयाँ बाँकी रहेको मन्त्री अधिकारीले समितिलाई जानकारी दिए । उनका अनुसार कर्मचारी उपदानतर्फ ७ करोड २४ लाख रुपैयाँ, कर्मचारीको (तलब कात्तिक महिना) १ करोड ७ लाख रुपैयाँ तथा अन्य भुक्तानी गर्नुपर्ने १३ करोड ११ लाख रुपैयाँ छ । किसानको हातमा १ अर्ब ३० करोड रुपैयाँ भुक्तानी पुगेको उनले बताए । डिडिसीसँग ३७ करोड ९४ लाख रुपैयाँ बराबरको दूध पाउडर ५५२ मेट्रिक टन तथा ४९ करोड ६० लाख रुपैयाँको ६२० मेट्रिक टन बटर मौज्दात रहेको छ । यस्तै उठ्न बाँकी ३१ करोड १ लाख रुपैयाँ रहेको मन्त्री अधिकारीले जानकारी दिए । कृषि ऐन निर्माणदेखि रासायनिक मल खरिदका लागि कानुन संशोधन र समयमै कृषि उपजको न्यूनतम मूल्य समर्थन मूल्य तोक्ने विषयमा उनले समितिलाई जानकारी गराए ।