जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
काठमाडौं । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ । सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ । दोस्रो दिन भोलि सोबार फूलबारी लीला, तेस्रो दिन मङ्गलबार धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव, पाँचौ दिन मङ्सिर २० गते मटकोर र मङ्सिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन मङ्सिर २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ । नगरदर्शनका क्रममा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालबालिकालाई जानकी मन्दिरको प्राङ्गणमा घुमाइने जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले बताए । त्रेता युगमा भगवान् श्रीराम र जनकनन्दिनी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाउने प्रचलन छ । महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईधर्मावलम्बी पनि सामेल हुने गरेका छन् । सर्वपक्षीय बैठक सम्पन्न निर्विघ्नपूर्वक महोत्सव सम्पन्न गर्न जानकी मन्दिरमा सर्वदपक्षीय बैठक सम्पन्न भएको छ । विवाहपञ्चमी महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न सम्बद्ध सबैलाई जुट्न मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवले आग्रह गरेका छन् । हरेक वर्षझैँ यो वर्ष पनि विवाहपञ्चममीमा सहभागी हुन भारतको अयोध्याबाट प्रतीकात्मक रूपमा जन्ती आउने कार्यक्रम छ । मुख्यमन्त्री सतीश सिंहका साथै विश्व हिन्दू परिषद्का पदाधिकारीले अयोध्यास्थित श्रीराम मन्दिरका पुजारीलगायत श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका अगुवालाई हालै अयोध्याको भ्रमण गरी विवाहपञ्चमीमा सरिक हुन आमन्त्रण गरेका थिए ।
आज स्थानीय तहको उपनिर्वाचन, ४१ पदका लागि ३७६ उम्मेदवार प्रतिस्पर्धामा
काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा निर्वाचनका लागि गरिनुपर्ने आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् । निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ । प्रवक्ता अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी ३७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । आयोगले मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालना गर्न तथा मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ । मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने÷गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालासँग आयोगले सहयोगको अपेक्षा गरेको छ ।
चक्रवात ‘फेनजल’को आंशिक प्रभाव, गण्डकी र कर्णाली प्रदेशमा हल्का हिमपात
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य तथा बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर मौसम सफा रहेको बताएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले ती स्थानमा पर्यटन तथा पर्वतारोहणमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
प्रशिक्षकको योजना अनुसार जित्यौं : कप्तान साह, अबका खेलमा विराटनगर किङ्ग्स बलियो बन्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेटको उद्घाटन खेलमा सफलता हासिल गरेको जनकपुर बोट्ल्सका कप्तान अनिलकुमार साहले प्रतियोगितामा विजयी सुरूआत गर्न पाउँदा खुसी लागेको बताए । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको एनपिएलको पहिलो खेलमा जनकपुरले विराटनगर किङ्ग्सलाई आठ विकेटले पछि पार्दै जित निकालेको थियो । कप्तान शाहले आफ्नो टोली प्रतियोगिताका लागि तयारी अवस्थामा रहेकाले पनि जित हासिल गर्न सहज भएको बताए । उनले मुख्य प्रशिक्षक पुबुदु दासानायकेको योजनाअनुसार खेलाडीले खेलेकै कारण प्रतियोगितामा सुखद सुरूआत गर्न सफल भएको बताए । त्यसैगरी, विराटनगर किङ्ग्सका ब्याटर मार्टिन गप्टिलले सुरूआतमा ब्याटिङ गर्न केही अफ्ठ्यारो भएको बताउँदै आगामी खेलमा विराटनगरले सुधार गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘पहिलो खेलमा राम्रो गर्न सकिएन आगामी खेलमा बलियो भएर आउनेछौँ ।’ विराटनगरले दिएको १२८ रनको लक्ष्यलाई जनकपुरले १५ दशमलव ३ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । त्यसअघि विराटनगरले १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय २७ रनको योगफल बनाएको थियो । एनपिएलअन्तर्गत आइतबार कुनै पनि खेल हुने छैन । यही मङ्सिर १७ गते भने दुई खेल हुनेछ । बिहान ९ः१५ बजे हुने पहिलो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजको सामना गर्नेछ । त्यस्तै, दिउँसो १ः१५ बजे हुने दोस्रो खेलमा जनकपुर बोट्ल्सले कर्णाली याक्ससँग खेल्नेछ । स्वदेशी तथा विदेशी खेलाडीको वर्चस्व रहेको एनपिएलमा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलले नेपाली दर्शकमा रहेको क्रिकेट मोह फेरि एकपटक उजागर गर्नुका साथै दर्शकको व्यवस्थित सहज प्रवेशका लागि थप मेहेनत गर्नुपर्ने पाठ आयोजकहरूलाई पढाएको छ । दर्शकको प्रवेश व्यवस्थित हुन नसक्दा मैदान बाहिर भीडभाड मात्र होइन नाराबाजी, ढुङ्गामुढा र लाठी चार्ज समेत भयो भने केही दर्शक घाइते भए । घाइते हुनेमा सुशील अकुलिया, अजय तामाङ, शिशिर गौतम, शङ्कर आचार्य, दानबहादुर राउत, केशव मेगी र प्रेम खड्गी रहेका छन् । घाइतेलाई प्रहरीले तत्काल अस्पताल पुर्याएको थियो । क्रिकेटप्रेमी दर्शकहरू आयोजकप्रति रुष्ट भएका छन् । उनीहरूले व्यवस्थापनको पाटो अत्यन्त फितलो देखिएको र अनाहकमा दर्शकलाई दुःख दिएको भन्दै आयोजकप्रति रोष प्रकट गरेका हुन् । मैदानको दक्षिणतर्फ रहेको मुख्य प्रवेशद्वारमा टिकट र पास लिएका दर्शकले समेत प्रवेश गर्न निकै सङ्घर्ष गर्नु पर्यो । दर्शकहरू एक लाइन नहुँदा सुरक्षाकर्मीले प्रवेश दिएनन् र झन्डै झडप हुने अवस्था सृजना भएको थियो । त्यहाँ अत्यधिक भीड भएपछि दक्षिण पूर्वी प्रवेशद्वारमा पुगेका दर्शकले त्यहाँ पनि प्रवेश नपाएपछि टिकटको पैसा फिर्ता माग्दै नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले हल्का लाठी चार्ज गरेको थियो भने दर्शकहरूले ढुङ्गामुढा गरेका थिए । यसबारे सोध्दा नेपाल क्रिकेट एसोसिएसन क्यानका प्रवक्ता छुम्बी लामाले प्रवेशलाई व्यवस्थित गराइएको भए पनि मूल प्रवेशद्वारबाट एकै पटक दर्शकहरू पस्न खोज्दा समस्या सृजना भएको बताए । त्यस्तै, रङ्गशाला परिसर बाहिरबाट खेल हेर्न खोज्ने दर्शकका कारण केही ठाउँमा समस्या भएको उनको भनाइ छ । ‘भीडभाडका कारण कतिपय टिकट लिएका दर्शकले पनि प्रवेश नपाउनु भएको गुनासो आएको छ । हामीले यसबारे अनलाइन भुक्तानी प्रणाली (खल्ती) सँग कुरा गरेका छौँ । त्यस्ता दर्शकको टिकट स्क्यान गरेर प्रवेश भए/नभएको यकिन गर्ने प्रवेश गर्न नपाएको देखि फिर्ता गर्ने वा अर्को दिनको टिकट उपलब्ध गराउने भन्नेबारे निर्णय गर्नेछौँ,’ उनले भने ।
पेट्रोलको मूल्य बढ्यो, ग्यासको यथावत
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी आयल निगमले प्रतिलिटर १ रुपैयाँले पेट्रोलको मूल्य बढाएको हो । यस्तै, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ डलरले बढेको निगमले जनाएको छ । खाना पकाउने ग्यासको भने मूल्य यथावत् रहेको निगमतले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यो सँगै पहिलो वर्गमा पेट्रोलको मूल्य १५७.५० रुपैयाँ, दोस्रो वर्गमा १५९ रुपैयाँ र तेस्रो वर्गमा १६० रुपैयाँ कायम भएको छ । पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन् । दोस्रो वर्गमा सुर्खेत र दाङलाई राखिएको छ भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दीपायल रहेका छन् ।
आईआईएमएस कलेजले गर्यो टेड एक्स आईआईएमएस कार्यक्रम सम्पन्न
काठमाडौं । काठमाडौंको धोबीधारास्थित आईआईएमएस कलेजले टेड एक्स आईआईएमएस कार्यक्रमको आयोजना गरेको छ । टेड एक्स यस्तो कार्यक्रम हो, जहाँ प्रेरणादायी ज्ञान र सन्देश बाँडिन्छ । स्थानीय वा अन्तर्राष्ट्रिय विशेषज्ञ, उद्यमी, अनुसन्धानकर्ता, कलाकारहरूले आफ्नो आफ्नो प्रेरणादायक विचारहरू प्रस्तुत गरिन्छ । टेड एक्स एक विश्वव्यापी पहल हो, जसले स्थानीय समुदायलाई प्रत्यक्ष वक्ता र टेड टक भिडियोहरू प्रस्तुत गर्दै कार्यक्रम आयोजना गर्ने अवसर दिन्छ । यो विचारहरू साझा गर्ने प्लेटफर्म हो जसको मुख्य उद्देश्य फैलाउन योग्य विचारहरू अनुसन्धान र खोजी गर्नु हो । नवीन र अनौठा विषयहरू प्रस्तुत गरेर मान्छेको सोचमा परिर्वतन ल्याउन टेड एक्स कार्यक्रमको आयोजना गरिन्छ, आईआईएमएस कलेजले पनि न्यूनतम मापदण्ड पुरा गरी यो कार्यक्रम सञ्चालन गर्न लाइसेन्स पाएको छ । यस्ता कार्यक्रमले पेशागत र व्यक्तिगत सम्बन्ध विस्तार गर्न सुनौलो अवसर हुने कलेजले जनाएको छ । कार्यक्रममा चलचित्र निर्माता आशुतोष बराही, प्राध्यापक तथा अनुसन्धानकर्ता सुदन झा, शारीरिक तथा मानसिक फिटनेस प्रशिक्षक तेन्जीन गुरुङले आफ्नो विचार राखेका थिए । उनीहरूले कृत्रिम बौद्धिकतामा प्रगति र यसका नैतिक प्रभाव, समग्र शिक्षामार्फत विद्यार्थीहरूको कल्याणको प्रवर्द्धन, नवीकरणीय ऊर्जाको भविष्य, मानसिक स्वास्थ्यको सचेतना र वकालत र सांस्कृतिक सम्पदा र संरक्षणका विषयमा आफ्ना विचार राखेका थिए ।
विराटनगर किङ्सलाई हराउँदै जनकपुरको विजयी सुरुवात
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ । विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्यो । बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले पहिलो खेलमा विराटनरग किंग्सलाई हराउँदै विजयी सुरुवात गरेको हो । मिलान्थाको अविजित अर्धशतक मद्दतमा विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले २ विकेट मात्र गुमाएर १३१ रन बनाउदै पूरा गर्यो । मिलान्थाले ५३ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ७५ रन बनाए । उनलाई साथ दिएका थाकरले ३३ बलमा अविजित २६ रन बनाए । कप्तान अनिल शाह व्यक्तिगत ५ रनमा आउट हुँदा जनकपुरले १५ रनमै २ विकेट गुमाएको थियो । प्रतिश जिसीले कप्तान अनिललाई बोल्ड गरेका थिए । तर, त्यसपछि मिलान्था र हर्ष थाकरले मिलेर इनिङ्स तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे । विराटनगरका क्रिस सोल र प्रतिश जिसीले एकरएक विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो । विराटनगरका लागि मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् । सोमबार दुई खेल हुनेछन् । सोमबार हुने पहिलो खेलमा काठमाडौं गुखार्ज र चितवन राइनोज र दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल बिहान सवा ९ र दोस्रो खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।