जुम्लाको पातारासीमा टेलिकमको मोबाइल सेवा विस्तार
काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ । पातारासी गाउँपालिका वडा नं. २ मा नयाँ साइट निर्माण गरी यही मङ्सिर १६ गते देखि टुजीरफोरजी मोबाइल सेवा सञ्चालन गरिएको हो । जिल्लाको अति विकट पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै उक्त गाउँपालिकाका वडा नं.१, २ र ३ अन्तर्गतका गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँ लगायत स्थानमा बसोबास गर्ने वासिन्दाहरु पहिलो पटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका छन् । दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले उक्त स्थानका ग्राहकहरुको मागलाई लक्षित गरी भ्वाइस तथा डेटा सेवाको विस्तार गरेको छ । यससँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकहरु तथा यस क्षेत्रका पर्यटन लगायत अन्य व्यवसायीहरुले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्ने विश्वास कम्पनीको रहेको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि ६ जनाले दिए आवेदन
काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि ६ जनाले आवेदन दिएका छन् । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनौट समितिले सोमबार ६ जनाको नाम सार्वजनिक गरेको हो । उपकुलपतिका लागि प्रा.डा अर्जुन कुमार श्रेष्ठ, प्रा.डा. कल्याणी मिश्र त्रिपाठी, प्रा.डा पुस्करबहादुर पाल, प्रा.डा वलराम कुमार भट्ट, प्रा.डा शारदा थपलिया र प्राडा होमबहादुर बस्नेतले आवेदन दिएका हुन् । छनोट भएका उम्मेदवारको सोचपत्र तथा कार्य योजनाको प्रस्तुतीकरण र अन्तवार्ता आगामी २४ मंसिरमा हुनेछ । समितिले कात्तिक २१ मा उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो ।
एभरेष्ट कलरले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । नेपालमा नै पहिलो पटक रंग उद्योगको तर्फबाट आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । एक कार्यक्रमका बिच एभरेष्ट कलरका तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुईटेल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । एभरेष्ट कलरले ३ करोड ९० लाख रुपैयाँ सेयर पूँजी बराबरको ५० रुपैयाँ अंकित दरको ७,८०,००० कित्ता साधारण सेयर सर्वसाधारणहरूलाई बिक्री गर्न लागिएकोे हो । उक्त कम्पनीलाई केयर रेटिङ्गस नेपाल लिमिटेडले रेटिङ्ग प्रदान गरेको छ ।
रोल्पा ट्राफिक प्रमुख ललितकुमार बुढाथोकी घुस रकमसहित अख्तियारको नियन्त्रणमा
काठमाडौं । रोल्पाका ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक (सई) ललितकुमार बुढाथोकी घुससहित रंगे हात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सई बुढाथोकीलाई घुससहित रंगेहात पक्राउ गरेको हो । उनलाई २५ हजार घुससहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनले सवारी आवतजावत सहजीकरण गरिदिने भन्दै २५ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ । अख्तियारको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा कचनकवल गाउँपालिकाको काम ठप्प
बनियानी । झापाको कचनकवल गाउँपालिका विगत डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कामकाज प्रभावित भएको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले बताए । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुभाषचन्द्र सुमन गत भदौ २४ गते सरुवा भएर गएपछि भदौ २७ गते प्रमुख प्रशासकीय अधिकृतका रूपमा पुण्यप्रसाद पौडेल हाजिर भएका थिए । उनको समेत गत कात्तिक ९ गते सरुवा भएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको हो । ‘लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको काम प्रभावित भएको छ’, अध्यक्ष राजवंशीले भने, ‘गाउँपालिकाको काम ठप्पजस्तै बनेको छ ।’ गाउँपालिकाले आह्वान गर्नुपर्ने बोलपत्रदेखि अन्य दैनिक प्रशासनिक काम गर्न नसकिएको उनले बताए । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रमुख प्रशासकीय अधिकृतको माग गरेपनि हालसम्म नपठाएको उनले गुनासो गरे । आवश्यक निर्णय गर्ने, प्रमाणीकरण गर्ने, योजना आह्वान, सम्झौतालगायतका लागि प्रमुख प्रशासकीय अधिकृत अनिवार्य भएकाले मारमा परेको अध्यक्ष राजवंशी बताउँछन् ।
१९ अंकले बढ्यो सेयर बजार, १० अर्ब ५४ लाख बढीको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । सोमबार सेयर बजार १९.९७ अंकले बढेर २७५८.०४ बिन्दुमा पुगेको छ । आज १२७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ६ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । यस्तै, ३१४ वटा कम्पनीको २ करोड ३० लाख कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै नेपाल फाइनान्सको कारोबार भएको छ । नेपाल फाइनान्सले ५९ करोड ४७ रुपैयाँ बढीको कारोबार गरेको छ । साथै, न्याग्दी ग्रुप पावरले ४८ करोड ८९ लाख, जानकी फाइनान्स कम्पनीले २७ करोड ५१ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकले २४ करोड २४ लाख र एक्सल डेभलपमेन्ट बैंकले २१ करोड ७१ रुपैयाँ बढीको कारोबार गरेको छ । आज ४ वटा उपसमूह राताम्ये रहेका छन् भने ९ वटा उपसमूह हरिया रहेका छन् । होटल तथा पर्यटन ४.९९, हाइड्रोपावर ०.६२, लगानी ०.६०, लाइफ इन्स्योरेन्स १.९१, उत्पादन तथा प्रशोधन ०.१५, माइक्रोफाइनान्स ०.१५, म्युचल फन्ड ०.४१, ननलाइफ इन्स्योरेन्स ०.२० र व्यापार समूह ९.७० प्रतिशतले बढेको छ । साथै, बढेको सेयर बजारमा ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । तारागाँउ रिजेन्सी होटल, विशाल बजार कम्पनी र खानीखोला हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको हो ।
विकास साझेदारसँगको बैठकमा अर्थमन्त्रीले भने- सार्वजनिक ऋणबाट आत्तिनुपर्ने अवस्था छैन
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार नेपालको आर्थिक विकासमा केन्द्रित भएको बताएका छन् । अर्थ मन्त्रालयमा सोमबार आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पौडेलले दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेपछि मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व कायम हुँदै गएकाले अब सरकारको ध्यान आर्थिक विकासमा केन्द्रित भएको बताएका हुन् । अर्थमन्त्री पौडेलले विकास साझेदारहरूको निरन्तर सहयोग र साझेदारीमा आर्थिक विकासलाई अघि बढाउने जानकारी गराए । क्रेडिट रेटिङको नतिजाले लगानीका लागि नेपाल अनुकूल अवस्थामा रहेको देखाएको उल्लेख गर्दै अर्थमन्त्रीले यसले निजी क्षेत्र र लगानीकर्ताको मनोबल बढाउनुका साथै बाह्य लगानी वृद्धि हुने विश्वास व्यक्त गरे । ‘सरकार गठन भएसँगै मुलुकका प्रमुख आर्थिक सूचकमा सुधार हुँदै गएको छ । मुलुकको बाह्य क्षेत्र सन्तुलन र वित्तीय क्षेत्रको अवस्था अनुकूल अवस्थामा छ । चालु वर्षमा आर्थिक वृद्धिमा निरन्तर सुधार हुने अनुमान गरिएको छ, जुन यहाँहरूले गर्नुभएका कतिपय प्रक्षेपणले पनि उल्लेख गरेको छ,’ विकास साझेदारलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भने । सरकारले पूर्वाधार विकास, मानव संशाधन विकास र निजी क्षेत्रका लागि लगानीको राम्रो वातावरण सिर्जना गर्न जोड दिएको बताउँदै अर्थमन्त्री पौडेलले भने, ‘चालू खाताको सन्तुलन, विद्युत निर्यातमा उत्साहजनक वृद्धि, विप्रेषणमा वृद्धि र पर्यटकहरूको बढ्दो आगमन सङ्ख्यालगायतका कारण मुलुकको अर्थतन्त्र सुदृढीकरणमा योगदान पुग्दै गएको छ । तथापि, हाम्रो निर्यातलाई विविधिकरण गर्दै विस्तार गर्न आवश्यक छ, जसले दीर्घकालमा समेत बाह्य क्षेत्र सुदृढ बनाउन सकियोस् । पछिल्ला वर्षहरूमा पुँजीगत खर्च कम भएका कारण हाम्रो सार्वजनिक लगानीमा अपेक्षित सुधार हुन सकेको छैन् । यसका लागि आयोजनाको गुणस्तर सुधारमा हामीले प्राथमिकताका साथ काम गरिरहेका छौं ।’ सार्वजनिक ऋणको भारबाट तत्काल अत्तालिनु पर्ने अवस्था नरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले लामो समयसम्म दिगो बनाईराख्न ऋण परिचालनलाई पुन: प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता महसुस गरेको बताए । नयाँ विकास सहायता परिचालन नीतिको मस्यौदा र सार्वजनिक क्षेत्रमा नवीन वित्त परिचालन सम्बन्धी नयाँ कानून बनाउने प्रकृया अघि बढेको जानकारी दिँदै अर्थमन्त्री पौडेलले रचनात्मक सुझाव दिन विकास साझेदारहरूलाई अनुरोध गरे । सार्वजनिक वित्त व्यवस्थापन प्रणाली सुधारमा पनि सरकारले जोड दिएको उल्लेख गर्दै अर्थमन्त्रीले सार्वजनिक लगानीमा र हरित अर्थव्यवस्था निर्माणमा लचिलो र एकीकृत दृष्टिकोण निर्माण गर्दै जलवायु न्यूनीकरण र अनुकूलन पहलहरूमा विकास साझेदारहरूसँग सहकार्य गर्न सरकार उत्सुक भएको जानकारी गराए । राजस्व परिचालनलाई दिगो बनाउन नयाँ राजस्व परिचालन रणनीति लागू गर्न प्रतिबद्ध भएको बताउँदै अर्थमन्त्री पौडेलले विकासका सबै प्रयासका लागि वित्तीय श्रोत जुटाउन आन्तरिक प्रयासहरू पर्याप्त नभएको उल्लेख गरे । विकास सहायता नेपालको वित्त व्यवस्थापनको एक महत्त्वपूर्ण आधारशीला भएको उल्लेख गर्दै उनले अझ प्रभावकारी र दिगो परिणाम हासिल हुने गरी साझा प्रयासहरूलाई अगाडि बढाउन विकास साझेदाहरूलाई आग्रह गरे । कार्यक्रममा विकास साझेदारका प्रतिनिधिहरूले नेपालको आर्थिक विकासमा थप सहयोग गर्न आफूहरू तयार रहेको बताउँदै उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेकोमा सरकारलाई धन्यवाद दिएका थिए । उनीहरूले क्रेटिड रेटिङको नतिजाले नेपालमा बाह्य लगानीलाई थप आकर्षण गरेको बताएका थिए ।
कहाँ छ नक्कली नोटको कारखाना ?
काठमाडौं । पसलको नाम ईन्द्र ज्वेलर्स सुनचाँदी । व्यवसायीको नाम सोहिल शाक्य । ठेगाना सिपाडोल, भक्तपुर । दर्ता व्यवसाय सुनचाँदीको कारोबार । धन्दा भने नक्कली नोट उत्पादन । सुन्दा पत्यार नलाग्ने सोहिल शाक्यलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कात्तिक २० गते पक्राउ गर्यो । नेपाल राष्ट्र बैंकबाट जारी गरेको नेपाली एक हजार र पाँच सय दरका नोट जस्तो देखिने चाँदीको नक्कली नोटहरू (खोटा मुद्रा) निर्माण गरी कारोबार समेत भइरहेको भन्ने विशेष सूचना प्रहरीले पायो । लगत्तै प्रहरीको टोली खटिई जाँच र अनुसन्धान कार्य अघि बढायो । सीआईबीबाट खटिएको प्रहरी टोलीले भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका- ८ सिपाडोलस्थित शाक्यले सञ्चालन गरेको ईन्द्र ज्वेलर्स सुनचाँदी पसलमा छापा मार्यो । त्यस क्रममा राष्ट्र बैंकबाट जारी गर्दा उल्लेख हुने विवरण समेत भएको र राष्ट्र बैंकले निकालेको हो भन्ने भान वा विश्वास हुने गरी अनधिकृत रूपमा नेपाली नोट एक हजार र पाँच सय दरका सेतो प्लास्टिकले लेमिनेसन गरेको चाँदीको जस्तो देखिने नक्कली नोटहरू फेला पर्यो । सीआईबीका प्रहरी उपरीक्षक तथा प्रवक्ता होविन्द्र बोगटीका अनुसार खानतलासीको क्रममा एक हजार रुपैयाँ दरका ११३ थान र ५ सय दरका २८ थान नोट नक्कली बरामद गर्यो । यस्तै, गत जेठ २७ गते जिल्ला प्रहरी परिसर काठमाडौंलाई कलंकीको एउटा चिया पसलमा नक्कली नोटको कारोबार भइरहेको सूचना आयो । सूचना पाएपछि प्रहरी टोली पसलमा पुग्यो । बाहिरबाट हेर्दा सामान्य चिया पसलजस्तो देखिए पनि भित्र नक्कली नोटमा कारोबार भइरहेको प्रहरीले भेट्यो । एक हजार दरका ५१४ वटा नक्कली नोटसहित प्रहरीले कलंकी बस्ने ४७ वर्षीया तारादेवी डंगोल र नागर्जुन बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठलाई पक्राउ गर्यो । यस्तै, वि.स २०८० माघ २९ गते ट्राफिक प्रहरीले सवारी साधन चेकजाँच गरिरहेको थियो । यत्तिकैमा बीआर ११ एक्स ३४२९ नम्बरको भारतीय स्कारपियो आयो । शंकास्पद लागेपछि प्रहरीले स्कारपियोमा खानतलासी गर्यो । खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ नेपालमा ल्याउँदै गरेका नक्कली १ हजार दरका १ करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरका नोटहरू बरामद गर्यो । साथै, एक जना भारतीय नागरिकलाई समेत प्रहरीले पक्राउ गर्यो । यस्तै, विसं २०८० भदौमा उपत्यका अपराध अनुसन्धान कार्यालयलाई काठमाडौं महानगरपालिका–१५ स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको सूचना आयो । कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले एक हजार दरका १ सय थान नक्कली नेपाली नोटसहित गोरखा नगरपालिका-४ धारापानीका ३८ वर्षीय गौरव थापालाई प्रक्राउ गर्यो। यस्तै, विसं २०८० साउन २५ गते नागढुंगा चेकपोष्टमा लु १ प ५ नम्बरको पर्यटक बस आयो । बस चेकजाँच गर्दा डिक्कीमा चाउचाउको कार्टुनमा प्याक गरिएको अवस्थामा नक्कली नोट बरामद गर्यो । बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधुपुछ गर्दा बालाजु बसपार्क र भक्तपुरको बुढाथोकी गाउँबाट थप नक्कली नोट बरामद गर्यो । नोट कारोबारमा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकका अर्जुन सुवेदी, सुशील कार्की, मिलन भण्डारी, शिव भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली पक्राउ परे । साथै, सुवेदीको डेराबाट नक्कली नोट छाप्ने कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद भयो । यी केही प्रतिनिधिमूलक घटनामा मात्रै हुन् । नेपाली बजारमा नक्कली नोट भेटिने क्रम बढ्दो छ । विगत पाँच वर्षको तथ्याङ्कअनुसार नेपालमा साढे ६ करोड रुपैयाँ बराबरका नक्कली नोट बरामद गरिएका थिए । नेपाल प्रहरीका अुनसार पाँच वर्षमा नक्कली नोट कारोबारका २३८ वटा मुद्दा परेका छन् भने ४२२ जनालाई समेत पक्राउ गरिएको छ । नक्कली नोट कारोबारको आरोपमा पाँच वर्षको अवधिमा ३४१ नेपाली पुरुष, २९ जना, नेपाली महिला, ५० जना विदेशी नागरिक र २ जना विदेशी महिला पक्राउ परेका हुन् । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/७७ मा नक्कली नोट सम्बन्धि २२ वटा मुद्दा र ३२ जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा २२ जना नेपाली र १० जना विदेशी पक्राउ गरिएको थियो । सो वर्ष विभिन्न दरका ११ लाख ५१ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको थियो । साथै सोही वर्ष २ लाख २ हजार १ सय रुपैयाँ भारतीय दरका नक्कली नोट पनि बरामद गरिएको प्रहरीको तथ्याङ्क छ । आर्थिक वर्ष २०७७/७८ मा २५ वटा मुद्दा रहेकोमा ४४ जना पक्राउ परेका थिए । जसमा ३६ जना पुरुष, १ जना महिना, ६ जना विदेशी पुरुष र १ जना विदेशी महिला थिए । साथै, ३४ लाख १६ हजार रुपैयाँ बराबरका नेपाली नक्कली नोट र भारतीय दरका ५ सय रुपैयाँ नक्कली नोट बरामद गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ७८ वटा मुद्दा परेकोमा १०२ जना पक्राउ गरिएको प्रहरीको तथ्याङ्क छ । जसमध्ये ७८ जना नेपाली पुरुष, ११ जना नेपाली महिला र १३ जना विदेशी पुरुष थिए । साथै, प्रहरीले ३७ लाख ६९ हजार ७२० रुपैयाँ नेपाली नक्कली नोट र २ लाख ७८ हजार ९७० रुपैयाँ भारतीय दरका नक्कली नोट बरामद गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७९/८० मा ६३ वटा मुद्दा र १०६ जना पक्राउ परेका थिए । जसमा८३ जना नेपाली पुरुष, १० जना नेपाली महिना, १२ जना विदेशी पुरुष र १ जना विदेशी महिना नागरिक पक्राउ पपरेका थिए । साथै ५१ लाख ६० हजार ५ रुपैयाँ बराबरका नक्कली नोट बरामद गरेको थियो । भारतीय दरका नक्कली नोट ७ हजा ९४० रुपैयाँ र २६ हजा ८ सय डलर समेत बरामद गरेको प्रहरीको तथ्याङ्क छ । यस्तै, आर्थिक वर्ष २०८०/८१ मा नक्कली नोटका ७१ वटा मुद्दा र १३८ जना पक्राउ परेका थिए । जसमध्ये ११ जना नेपाली पुरुष, ७ जना नेपाली महिना र १ जना विदेशी पुरुष थिए । साथै, गत वर्ष ५ करोड ८ लाख ७३ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद गरेको थियो । भारतीय दरका नक्कली नोट भने ४३ हजार ९२० रुपैयाँ र २७ हजार ७४० डलर बरामद गरेको थियो । नेपाल प्रहरीको तथ्याङ्कअनुसार नेपाली १ हजार ५ सय, १ सय र ५० रुपैयाँ दरका, भारू (भारतीय रूपैयाँ) २ हजार १ हजार ५ सय र १ सय दर र डलर १ सय र ५० दरका नक्कली नोट बढी भेटिएका छन् । तथ्याङ्क हेर्दा नेपालमा प्रत्येक वर्ष नक्कली नोटको कारोबार बढेको देखाउँछ । भारतमा नक्कली नोटको कारोबार बढ्दा ५ सय र १ हजार दरका नोट प्रतिबन्ध नै गरेको थियो । नेपालमा पनि बेलाबखत नोट प्रतिबन्ध गराएर नयाँ नोट छाप्नु पर्ने आवाज उठ्ने गरेको छ । तर, अर्थतन्त्र नै प्रभावित हुने गरी बजारमा नक्कली नोट नरहेको नेपाल प्रहरीका प्रवक्ता एंव प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की बताउँछन् । डिजिटल कारोबार र वित्तीय सचेतनासँगै नक्कली नोटको कारोबार नियन्त्रण हुनुपर्ने हो । बैंक, नेपाल राष्ट्र बैंक र सरकारी निकायले वित्तीय सचेतनाका विभिन्न कार्यक्रम गरिरहेका छन् । तर, पनि नक्कली नोटको कारोबार बढ्दा चिन्ताको विषय बनेको छ । राष्ट्रिय वाणिज्य बैंका उपकार्यकारी अधिकृत (डीईओ) पवन रेग्मी नक्कली नोटको कारोबारलाई निरुत्साहित गर्न डिजिटल कारोबारमा जोड दिनुपर्ने बताउँछन् । बैंकिङ कारोबारमा नक्कली नोट आएपछि तत्कालै पत्ता लाग्ने गरेको तर बैंकको पहुँचभन्दा बाहिर हुने कारोबारमा नक्कली नोट बढी प्रयोग हुने गरेको उनको भनाइ छ । ‘जहाँ अनौपचारिक कारोबार हुन्छ, त्यहाँ बढी नक्कली नोटको प्रयोग भएको देखिन्छ, अनौपचारिक रूपमा हुने कारोबार बैंकलाई जानकारी हुँदैन, त्यसको नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम नै गर्नुपर्छ, मुद्रा कसरी चिन्ने भनेर जनतालाई जानकारी गराउनुपर्छ,’ डीईओ रेग्मीले भने, ‘बैंकमा नक्कली नोटको कारोबार भइ आएपछि पत्ता लगाइहाल्छ । र, तत्काल राष्ट्र बैंकलाई रिपोर्ट गरिन्छ ।’ उनका अनुसार बैंकिङ माध्यममा नक्कली नोट फाट्टफुट्ट आउने गरेका छन् । अनौपचारिक हुने कारोबारमा बैंकको पहुँच नहुने भएकाले कसरी कारोबार हुन्छ भन्ने जानकारी बैंकलाई नहुने उनले बताए । तर, कहिले काहीँ म ठगीए कि वा नक्कली कि सक्कली हो भनेर नोट चेकजाँच गर्न बैंकमा आउने गरेका उदाहरण रहेको उनको भनाइ छ । ‘विदेशी नक्कली नोट पनि कारोबार भइरहेको सुनिन्छ, नक्कली नोट चिन्ने मेसिन बैंकहरूले खरिद गरेका हुन्छन् । तर, सर्वसाधारणलाई थाहा हुँदैन, विदेशी नोट कारोबार अनौपचारिक माध्यमबाट गर्दा नक्कली पर्ने सम्भावना धेरै हुन्छ । त्यसैले बैंकमा गएर नै विदेशी नोट साट्नु उपयुक्त हुन्छ,’ डीईओ रेग्मीले भने । पूर्वबैंकर बिएन घर्ती मान्छेलाई छिटो धनी हुने दिवास्वप्नाले नक्कली नोटको कारोबार बढेको हुन सक्ने बताउँछन् । नक्कली नोट नियन्त्रणका लागि कडा कानुनी कारवाहीको व्यवस्था भएपनि प्रचारप्रसार कम रहेको उनको भनाइ छ । ‘विगतमा राष्ट्र बैंकले जनचतेनामूलक काम गर्थ्यो । तर, पछिल्लो समय राष्ट्र बैंकले कम गर्न थालेको छ, बैंकहरूले कसरी बचत गर्ने, कसरी कर्जा लिने भनेर बैंकका प्रडक्ट र सेवाका विषयमा प्रचारप्रसार गरेको देखिन्छ, नक्कली नोट चिन्ने विषयमा वित्तीय साक्षरता कार्यक्रम भएका छैनन्,’ उनले भने । उनका अनुसार डिजिटल कारोबारका जोखिम रहेपनि नक्कली नोट कारोबार कम गर्न भने डिजिटल कारोबार नै उपयुक्त माध्यम हुन सक्छ । नक्कली नोटको कारखाना बन्न नदिन व्यापक प्रचारप्रसार गरिनुपर्ने उनले बताए । ‘आगोले पोल्छ है भनेपछि बच्चाले आगो छुँदैन, त्यसैले नक्कली नोटको कारोबारसम्बन्धि यस्ता कानुनी व्यवस्था छन् भनेर जानकारी गरायो भने कम हुन्छ, त्यसैले जति जनचेतनाका कार्य हुनुपर्ने त्यति भएको छैन,’ पूर्वबैंकर घर्तीले भने । नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक रामु पौडेल बैंकिङ च्यानलमा आएका नक्कली नोटका विषयमा मात्रै चिन्ता र चासो दिने गरेको बताउँछन् । बैंकिङ प्रणालीभन्दा बाहिर अनौपचारिक रूपमा भइरहेको कारोबारलाई प्रहरी प्रशासनले हेर्ने उनको भनाइ छ । ‘बैंकिङ माध्यमबाट आएका नक्कली नोट चेक गर्ने, परीक्षण गर्ने, कहाँबाट आयो, कसले ल्यायो भनेर हेरिन्छ, इजाजतपत्र प्राप्त संस्थाबाहेकको बजार, व्यक्ति कसैले नक्कली नोट लिएको वा चलाउनु भएको छ, जानेर वा नजानेर भने त्यसको सम्बन्धित निकायले हेर्छ,’ उनले भने । नक्कली नोटको संख्या बढेको छ भने नेपाल राष्ट्र बैंकले जारी गर्ने नोटमा सेक्युरिटी फिचर बढाउने उनको भनाइ छ । उनका अनुसार नक्कली नोटका विषयमा अनुसन्धान गर्ने, कानुनी कारवाही अघि बढाउने कार्य प्रहरीको हो । नक्कली नोट बैंकका लागि पनि घाटा हुने भएकाले बैंकरहरू सजग र सचेत रहेको प्रवक्ता पाैडेलले बताए । ‘ठूला दरका नोटमा सेक्युरिटी फिचर बढी हुन्छ, साना दरका नोटहरू धेरै नक्कली हुँदैनन्, त्यसैले ५ रुपैयाँ दरका नोट छाप्दा र १ हजार रुपैयाँ दरका नोट छाप्दा लागत फरक हुन्छ, एक हजार दरका नोटमा बढी लागत लाग्छ । किनभने सेक्युरिटी फिचरहरू बढी राखिएका हुन्छन्,’ उनले भने, ‘नोटको कारोबार गर्ने विभाग, बढी नोट कारोबार हुने ठाउँ, न्यूरोडमा बढी आउँछ कि दरबारमार्गमा बढी आउँछ, जहाँ बढी नगदको कारोबार हुन्छ, त्यहाँ नक्कली नोटको प्रयोग पनि हुन सक्छ । त्यसको निरीक्षण गर्न राष्ट्र बैंकको संयन्त्र तयार छ ।’ नेपाल प्रहरीका प्रवक्ता कार्कीका अनुसार विगतमा भारतीय नक्कली नोटको कारोबार नेपाली बजारमा हुने गरेको र नेपाली बजार हुँदै भारततिर जान्थ्यो । अपराधीहरू भारतीय मुद्रालाई प्रयोग गर्न थालेपछि भारत सरकारले गम्भीरतापूर्वक लिएपछि डिमोनिटाइजेशन (नोटबन्दी) गर्यो । भारतले नोटबन्दी गरेपछि नेपाली बजारमा भारतीय नक्कली कारोबार घट्यो भने नेपाली नक्कली नोट बढ्न थालेको उनको भनाइ छ। ‘विगतमा भारतीय नोटको चलन भएपनि पछिल्लो समय घटेको देखिन्छ, म काठमाडौं प्रहरी प्रमुख हुँदा पनि ५७ लाख नक्कली नोट बरामद भए, सीमावर्ती क्षेत्रमा नक्कली नोट बरामद भइरहेका छन्,’ नेपाल प्रहरीका प्रवक्ताले भने, ‘ग्रामीण भूभागमा गड्डीमा एकाध नोट घुसाउने र कारोबार गर्न खोजिएको देखिन्छ, ती गिरोहहरू मूलतः नेपालको सीमावर्ती क्षेत्रमा मेसिन राखेर नक्कली नोट उत्पादन गरेको पाइन्छ ।’