विकासन्युज

राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको बुधबार प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ । उनको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति पौडेल आज बिहान भर्ना भएका थिए । हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

राष्ट्र बैंकको कारवाहीमा असन्तुष्टि, बैंकर धमाधम अदालतमा

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्णयप्रति असन्तुष्टि जनाउने बैंक तथा वित्तीय संस्था र त्यसमा कार्यरत कर्मचारीको संख्या बढ्दै गएको छ । नीति निर्देशन उल्लंघन गरेको भन्दै कारवाही गरेको नियामक नेपाल राष्ट्र बैंकको निर्णयमा असन्तुष्टि जनाउने व्यक्ति तथा संस्थाको संख्या बढेको तथ्यांकले देखाउँछ । राष्ट्र बैंकको बैंकको निर्देशन उल्लंघन गरेको कारण बैंक तथा वित्तीय संस्था र त्यसमा संलग्न पदाधिकारीहरूलाई गरिएको कारबाहीउपर चित्त नबुझी पुनरावेदन तथा राष्ट्र बैंकलाई विपक्षी बनाएर अदालत जानेको संख्या बढेको हो । राष्ट्र बैंकले पनि त्यस्तो संख्या बढ्दै गएको जानकारी दिएको छ । आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्ममा मात्रै राष्ट्र बैंकविरुद्ध विभिन्न अदालतमा २०६ मुद्दा दायर भएका छन् । राष्ट्र बैंकका अनुसार चालु मुद्दा (जिल्लास्थित कार्यालयसँग सम्बन्धित समेत गरी) २०६ वटा मुद्दामध्ये ९६ वटा फैसला भएका छन् भने ३ वटा दामासाहीसम्बन्धी मुद्दा रहेका छन् । यस्तै, आव २०७९/८० मा कुल २४३ वटा मुद्दा राष्ट्र बैंकविरुद्ध दर्ता भएकोमा ६८ वटा फैसला भएका थिए । आव २०७८/७९ मा कुल १९८ वटा मुद्दा दायर भएका थिए । राष्ट्र बैंकका अनुसार आव २०७७/७८ मा राष्ट्र बैंकविरुद्ध १२९ वटा मुद्दा दर्ता भएका थिए भने २९ वटा मुद्दाको फैसला भएका थिए । आव २०७६/७७ मा ९५ वटा मुद्दा दर्ता भएकोमा ४० वटा मुद्दा फैसला भएका थिए भने आव २०७५/७६ मा ८९ वटा मुद्दा दर्ता भएकोमा ४६ वटा मुद्दाको फैसला भएको थियो । आव २०ं७४/७५ मा राष्ट्र बैंक विरुद्ध ८३ वटा मुद्दा दर्ता भएका थिए भने २३ वटा मुद्दाको फैसला भएका थिए । यस्तै, आव २०७३/७४ मा विभिन्न अदालतमा ६६ मुद्दा दर्ता भएकोमा ३६ वटा मुद्दाको फैसला भइसकेको छ ।

वीरगञ्जमा सार्वजनिक भयो नामी इभी, मधेस प्रदेशमा नयाँ बेन्चमार्क स्थापित गर्न तयार

वीरगञ्ज । नेपालमा डोंगफेंग ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले मधेस प्रदेशको वीरगञ्जमा आफ्नो प्रिमियम र स्मार्ट ईभी नामी सार्वजनिक गरेको छ । मंगलबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लू वृद्धि मोटर्सका प्रबन्धनिर्देशक विवेक सिकरिया, राज्यसभा भारतको पूर्वमुख्यमन्त्री सबिर अली, नारायणी अटोकर्पका अदक्ष्य रवीबजाज र डोङफेङ वीरगन्ज नारायणी अटोकर्पका प्रबन्ध निर्देशक रजतबजाज, वृद्धि ग्रुपका प्रबन्ध निर्देशक ओम सिकारिया लगायतले संयुक्त रूपमा नामीको अनावरण गरेका थिए । आफ्नो सेग्मेन्टको सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट नामी इभीले मधेस प्रदेशको बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न तयार भएको एमएडब्लू वृद्धि मोटर्सले जनाएको छ  । ह्याचब्याकको रूपमा वर्गीकृत भएतापनि यो गाडी प्रतिस्पर्धीहरूको तुलनामा ठूलो आकारको छ । यसमा उत्कृष्ट प्रविधिहरू समावेश छन् । कार्यक्रममा एमएडब्लू वृद्धिमोटर्सका डिलर प्रमुख गोविन्द भुसालले नामी ईभीले देशव्यापी रूपमा ग्राहकहरूबाट प्रशंसा पाइरहेको कुरा बताए । कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विद्युतीय गाडीको भविष्य नेपालमा उज्जवल रहेको बताए । पछिल्लो परिवेशमा वातावरणमैत्री सवारी साधनप्रतिको आकर्षण बढ्दै गएको स्वीकार गर्दै विद्युतीय सवारीसाधनको प्रयोगलाई बढावा दिनुपर्नेमा उनले जोड दिए । कार्यक्रमपछि उनले नै ग्राहकहरूलाई नामी ईभीको साँचो हस्तान्तरण गरेका थिए । नामीः सेग्मेन्टमा-पहिलो सुविधाहरूले भरिपूर्ण नामी ईभीमा वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डुअर, फ्लस डुअर ह्यान्डल, अटो पार्किङ र टेबलटपसहितको यात्रु ड्रएरजस्ता सेग्मेन्ट–फर्स्ट आविष्कारहरू समावेश छन् । यो तीन भेरियन्टहरू: नामी ई १, नामी ई २ र नामी ई ३ मा उपलब्ध छ । यसैगरी, नामी इभी सेतो, नीलो, हरियो र बैजनी एवम् सेतो र नीलो, सेतो र हरियो र सेतो र बैजनीजस्ता डुअल टोन रङहरूको विकल्पहरूको साथमा उपलब्ध छ । नामीले १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, १७ इन्चको टायर, १२ अल्ट्रासोनिक रडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल र स्वतःमधुरो हुने प्रणालीसहितको स्टार–लाइट क्रिस्टल एलईडी हेडल्याम्प्स जस्ता सुविधाहरू समेटेको छ । ग्राहकहरूलाई थप आकर्षित गर्न एमएडब्लू वृद्धिले मधेस प्रदेशको सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको आयोजना गरिरहेको छ । यही मंसिर १९ गते बुधबारदेखि २१ गतेसम्म ग्राहकहरूले विशेष अफरहरूसहित विद्युतीय सवारीसाधनहरूको अवलोकन गर्न सक्नेछन् ।

कर्णाली प्रदेशका अभिकर्तालाई सीईओ क्लब सदस्यबाट नेशनल लाइफले गर्यो सम्मान

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुर्खेत स्थित सिद्धार्थ सन्नी रिसोर्टमा कर्णाली प्रदेशबाट सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ७५ जना भन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागिय प्रमुख तथा कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा अभिकर्ताहरुलाई सीईओ क्लब सदस्यता वितरण गरिनुका साथै प्रदेश बाट आफ्नो कोडमा र संजलमा प्रथम, द्वित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए । समारोहमा प्रमुख कार्यकारी अधिकृतले अन्य प्रदेशको तूलनामा बीमा व्यवसायमा कर्णाली प्रदेश केही पछाडी रहेपनि संभावना भने निक्कै नै रहेको हुँदा यस क्षेत्रमा कार्यरत अभिकर्ताहरुले व्यवसायिक रणनिती बनाई अघि बढ्नुपर्ने सुझाव व्यक्त गरे । उनले क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै जाने कम्पनीको योजना अनुरुप मधेश प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सम्पन्न गरिसकेको र सोही क्रममा कर्णाली प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताउँदै सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिने योजना रहेको जानकारी गराए । उनले अभिकर्ताहरु माझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरणकै अनुशरण गरी सिइओ क्लब सदस्यता वितरण कार्यक्रमको धारणा ल्याइएको र यसबाट स–साना व्यवसाय गर्ने अभिकर्ताहरुलाई समेत समेटी आगामी दिनमा चेयरपर्सन क्लबमा पुराउने उदेश्य रहेको बताए । यस कार्यक्रममा नेपालभर बाट २००० जना भन्दा बढि अभिकर्ताहरु छनौट हुनुले यो योजना अन्यन्तै सफल भएको बताए । समारोहमा सीईओ क्लव सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै प्रदेशमा सम्मान ग्रहण गर्न पाउँदा आफूहरुको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।

टिकटकले आयोजना गर्‍यो डिजिटल सेफ्टी समिट

काठमाडौं । टिकटकले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको साझेदारीमा मंसिर १८ गते डिजिटल सेफ्टी समिट नेपालको आयोजना गरेको छ । कार्यक्रमले अनलाइन सुरक्षा र डिजिटल साक्षरता प्रवर्द्धन गर्न सरकारी अधिकारी, शिक्षाविद्, डिजिटल अधिकार विज्ञ, बालबालिकाको सुरक्षा सम्बन्धि अधिवक्ताहरू र उद्योगी व्यवसायी लगायत विभिन्न सरोकारवालालाई एकै ठाउँमा भेला गराएको हो । शिखर सम्मेलनमा टिकटक क्रियटर सुवास घिमिरे, संचार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुर, डिजिटल सेफ्टी एक्सपर्ट सन्तोष सिग्देलजस्ता प्यानलिस्टहरू सहित ‘नेभिगेटिङ रिस्क, प्रोटेक्टिङ युजर्स: ए कोलाबोरेटिभ अप्रोच टु डिजिटल सेफ्टी (जोखिमको अनुगमन, प्रयोगकर्ताहरूको सुरक्षा: डिजिटल सुरक्षाका लागि एक साझा दृष्टिकोण)’ नामक प्यानल छलफल लगायत अन्य अन्तर्दृष्टिपूर्ण छलफल प्रस्तुत गरिएको थियो। कार्यक्रममा टिकटकका फ्यामिली पेयरिङ जस्ता टुल्स र नेपाली प्रयोगकर्ताको सुरक्षामा यसको प्रतिबद्धतालाई जोड दिँदै मुख्य सुरक्षा पहलहरूलाई पनि सम्बोधन गरिएको थियो। दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फिरदौस मोत्ताकिनले भने, ‘टिकटकमा हामी हाम्रा प्रयोगकर्ताहरू, विशेष गरी बालबालिका र युवाहरूको अनलाइन सुरक्षा र भलाइ सुनिश्चित गर्न प्रतिबद्ध छौं । यो शिखर सम्मेलनले नेपालमा सुरक्षित अनलाइन वातावरण सिर्जना गर्ने दिशामा एक महत्वपूर्ण कदम चाल्नेमा हामी विश्वस्त छौं । हामी हाम्रा पहलहरू मार्फत् डिजिटल साक्षरता र अनलाइन सुरक्षा प्रवर्द्धन गर्न समर्पित छौं र हामी यो लक्ष्य हासिल गर्न नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता दिन तत्पर छौं ।’ शिखर सम्मेलनमा टिप्पणी गर्दै संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले सुरक्षित अनलाइन इकोसिस्टम सिर्जना गर्न मन्त्रालयको अटल प्रतिबद्धतामाथि प्रकाश पारे । उनले भने, ‘यो शिखर सम्मेलन नेपालका युवाहरूका लागि सुरक्षित र समावेशी डिजिटल वातावरण सुरक्षित गर्ने हाम्रो मिशनमा एउटा महत्त्वपूर्ण कदम हो । बालबालिकालाई अनलाइन सुरक्षा प्रदान गर्ने र डिजिटल रूपमा जिम्मेवार समाजको प्रवर्द्धन गर्ने नविनतम उपायहरू लागू गर्ने प्रयासमा सरकार अडिग छ ।’ संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो मुख्य भाषण मार्फत् डिजिटल सुरक्षा अभिवृद्धि गर्न सरकारको प्रतिबद्धतालाई जोड दिए । नेपालमा टिकटकको सार्वजनिक नीति कार्यक्रम विस्तार गर्ने, नेपालमा बलियो, सुरक्षित डिजिटल इकोसिस्टमको बाटो बनाउने विषयमा छलफल गरेर शिखर सम्मेलन समापन गरिएको थियो । नेपाली समुदायका लागि सुरक्षित डिजिटल भविष्य सिर्जना गर्ने नयाँ समर्पणका साथ डिजिटल सेफ्टी समिट नेपाल समापन भएको छ । कार्यक्रमले महत्त्वपूर्ण सरोकारवालाहरूलाई एकजुट गरेर अर्थपूर्ण साझेदारी, चेतना अभिवृद्धि र युवाहरूको अनलाइन कल्याण प्रवर्द्धन गर्ने आधार सिर्जना गरेको छ । टिकटक र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस महत्त्वपूर्ण कुराकानीलाई जारी राख्ने र नेपालभर डिजिटल साक्षरता पहलहरू विस्तार गर्ने प्रतिबध्दता पुन: व्यक्त गरेका छन् ।

गार्डियन माइक्रोकाे आईपीओ बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले बुधबार मंसिर १९ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री जारी गरिएको हो । यस्तै, ३ प्रतिशत अर्थात् ६७ हजार ५ सय कित्ता कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारण लगानीकर्तालाई छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताहरूले कम्पनीको आईपीओमा पुस ३ गतेसम्म आवेदन दिनुपर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरूले आईपीओमा आवेदन दिन सक्नेछन् । केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

नेपाल एसबिआई बैंकको सीईओमा तिवारी नियुक्त, दीपककुमारको बढुवा

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामकुमार तिवारी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले तिवारीलाई प्रबन्ध सञ्चालक तथा सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । भारतीय स्टेट बैंकसँगको सेवा सम्झौता बमोजिम एसबीआईबाट नेपाल एसबिआई बैंकमा खटिई आएका बैंकका प्रबन्ध सञ्चालक तथा सीईओ दीपककुमार देका स्थानमा तिवारीलाई नियुक्त गर्ने निर्णय भएको जनाएको छ । तिवारीले आगामी माघ २ गतेदेखि सीईओको जिम्मेवारी सम्लाल्ने छन् । सीईओ दीपककुमार देलाई भने एसबीआईमा उच्च जिम्मेवारी सम्हाल्ने प्रयोजनका माघ २ गते नेपाल एसबिआई बैंकको कार्यभारबाट मुक्त गर्ने निर्णय भएको छ । रामकुमार तिवारी एसबिआई बैंकका महाप्रबन्धक हुन् । करिब १९ वर्षको बैंकिङ अनुभव भएका तिवारीले इन्दिरा गान्धी नेशनल ओपन युनिभर्सिटिबाट बैंकिङ एण्ड फाइनान्समा एमबीए गरेका छन् ।

नेपाल-चीन अटोमोबाइल व्यापार प्रवर्द्धनका लागि नाडा र सीसीपीआईटी अटोबीच सम्झौता

काठमाडाैं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र चीन काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड, अटोमोबाइल सब-काउन्सिल (सीसीपीआईटी अटो) बीच सम्झौता भएको छ । अटोमोबाइल क्षेत्रको व्यापार र सहकार्यलाई थप मजबुत बनाउन नाडा र सीसीपीआईटी अटोबीच सम्झौता भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते देखि २० गतेसम्मको औपचारिक चीन भ्रमणको क्रममा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गएको व्यापारिक प्रतिनिधि मण्डलमा नाडाको प्रतिनिधित्व गर्दे अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उप्रेतीसमेत चीन भ्रमणमा छन् । सोहि क्रममा सीसीपीआईटी अटोसँग उक्त सम्झौता भएको नाडाले जनाएको छ । यो सम्झौताले नेपाल र चीन बीच आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रवर्द्धन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावनाहरू अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने नाडाले उल्लेख गरेको छ । व्यापार मेलाहरू, व्यावसायिक प्रतिनिधिमण्डलहरूको आदानप्रदान र नीति वकालत जस्ता संयुक्त पहलमार्फत दुवै देशका अटोमोबाइल उद्योगका नयाँ सम्भावनाहरू खुलाउने लक्ष्य राखिएको छ । सम्झौताअनुसार नाडाले नेपालका अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने, व्यापार मेलाहरू आयोजना गर्ने र नेपाली बजारमा रुचि राख्ने चिनियाँ व्यवसायीहरूलाई सहयोग गर्नेछ । यस्तै, सीसीपीआईटी अटोले नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने, प्रविधि आदान प्रदानलाई सहयोग गर्ने र संयुक्त कार्यक्रमहरू सञ्चालनमा साथ दिनेछ । साझेदारीको कार्यान्वयनको निगरानी गर्न संयुक्त कार्य समूह गठन गरिनेछ, जसले नियमित प्रगति समीक्षा गर्ने र आवश्यक सुधारका उपायहरू लिने सम्झौतामा उल्लेख छ । दुवै पक्षले बौद्धिक सम्पत्तिको अधिकारको सम्मान गर्ने र सहकार्यका क्रममा गोपनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।