विकासन्युज

ब्रिक्स राष्ट्रमा शतप्रतिशत ट्यारिफ लगाउने ट्रम्पको धम्की देखावटी, अमेरिकाकै नोक्सानी हुने

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूमा शतप्रतिशत भन्सार लगाउने धम्की दिएका छन् । थिंक ट्याङ्क जीटीआरआईका अनुसार यो चेतावनी पूर्णरूपमा फर्जी छ । अमेरिकाले आफ्नो आर्थिक शक्ति प्रयोग गरेर अन्य देशमाथि प्रतिबन्ध लगाउँदै आइरहेको इतिहास छ । जीटीआरआईका संस्थापक अजय श्रीवास्तवले ब्रिक्स देशहरूले अमेरिकी डलरलाई आफ्नै मुद्राले बदलेमा १०० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको धम्की अव्यावहारिक भएको बताएका छन् । अमेरिकालाई नै नोक्सान जीटीआरआईका अनुसार शतप्रतिशत ट्यारिफले अमेरिकी उपभोक्ताहरूलाई मात्र हानि पुर्‍याउँछ । यसले आयात मूल्य बढ्नुका साथै अन्तर्राष्ट्रिय व्यापार अवरुद्ध हुनेछ । साथै प्रमुख व्यापारिक साझेदारहरूबाट प्रतिशोधको जोखिम पनि हुनेछ । जीटीआरआईले ‘ब्रिक्स मुद्रा अपनाउने देशहरूमा १०० प्रतिशत कर लगाउने ट्रम्पको धम्की अव्यावहारिक छ । यो व्यावहारिकभन्दा पनि धेरै प्रतीकात्मक छ । डलरको विकल्प खोज्दै ब्रिक्स अमेरिकाको गतिविधिले धेरै देशलाई अमेरिकी डलरको विकल्प खोज्न बाध्य बनाएको छ । जीटीआरआईले भनेको छ, ‘संयुक्त राज्य अमेरिकाले स्विफ्ट नेटवर्कजस्ता विश्वव्यापी वित्तीय प्रणालीहरूमा आफ्नो प्रभावको फाइदा उठाएर एकतर्फी प्रतिबन्ध लगाएको इतिहास छ ।’ स्विफ्ट एक नेटवर्क हो जसले अन्तर्राष्ट्रिय मुद्रा लेनदेनको सुविधा दिन्छ । अमेरिकाले यसलाई अन्य देशहरूमा दबाब दिन प्रयोग गर्दछ । श्रीवास्तवले अमेरिकालगायत कुनै पनि देशले एकपक्षीय रूपमा विश्वव्यापी आर्थिक नीतिहरू तय गर्न सक्दैन । यदि अमेरिकाले यसो गर्‍यो भने उसलाई पनि घाटा हुनेछ । ट्रम्पको देखावटी धम्की ब्रिक्स राष्ट्रहरू अमेरिकी डलरको विकल्प खोजिरहेका छन् । ट्रम्पको भनाइ यसैको प्रतिक्रियास्वरूप आएको हो । जीटीआरआई आर्थिक नीतिहरूको अनुसन्धान गर्ने थिंक ट्याङ्क हो । ट्रम्पको धम्की एउटा देखावटी मात्र हो भन्ने उसको विश्वास छ । डलरमा अमेरिकाको प्रभुत्व नै यसको बल हो । भर्खरै सम्पन्न ब्रिक्स सम्मेलनमा सदस्य राष्ट्रहरूबीच व्यापारका लागि नयाँ मुद्रा ल्याउने प्रस्ताव आएको थियो । अमेरिकाले यसलाई आफ्नो डलरको प्रभुत्वको लागि खतरा मानेको छ । विश्वव्यापी व्यापारमा ब्रिक्स प्लस समूहको प्रभुत्व बढ्दै गएको जनाइएकाे छ । ब्रिक्स प्लस देशमा भारत, रुस र चीनको भूमिका प्रमुख छ । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका मिलेर बनेको ब्रिक्समा अब पाँच देश थपिएका छन् । जसमा इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स पर्छन् । के हो ब्रिक्स समूह ? सन् २००१ मा गोल्डमन स्याक्सका एक अर्थविद् जिम ओ’नीलले ब्राजिल, रुस, भारत र चीनलाई बुझाउन संक्षिप्त रूपमा ‘ब्रिक’ शब्द दिएका थिए । उनले यी देशहरू सन् २०५० सम्म विश्वको अग्रणी अर्थतन्त्र बन्ने भविष्यवाणीसमेत गरेका थिए। यी ठूला र मध्यम आय भएका तर द्रूत आर्थिक वृद्धि भइरहेका देशहरू हुन् । सन् २००६ मा ती चारवटा देश मिलेर ब्रिक समूह गठन गर्ने निर्णय गरे । सन् २०१० मा दक्षिण अफ्रिका आबद्ध भएपछि त्यो ‘ब्रिक्स’ बनेकाे हाे । ब्रिक्समा इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) पनि सम्मिलित भएका छन् । आईएमएफ र विश्व ब्याङ्कजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको सुधार गर्ने उपायको खोजी गर्नु र उदीयमान अर्थतन्त्रहरूको ‘आवाज र प्रतिनिधित्व’ सिर्जना गर्नु ब्रिक्सको उद्देश्य हो । सन् २००९ देखि ब्रिक्स राष्ट्रले वार्षिक रूपमा औपचारिक शिखर सम्मेलन गर्दै आएका छन् । जसमा सदस्य राष्ट्रहरूले पालैपालो आयोजना गर्दै आएका छन् । पहिलो पाँच सदस्यीय ब्रिक्स शिखर सम्मेलन सन् २०११ मा भएको थियो । ब्रिक्सको १६औं वार्षिक ब्रिक्स शिखर सम्मेलन रुसकाे तातारस्तानको कजान सहरमा सम्पन्न भइसकेकाे छ । (एजेन्सीहरूको सहयोगमा)

बिआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) बाट नेपालले लाभ लिने बताएका छन् । यहाँस्थित पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बिआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले आगामी सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भइ पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताए । प्रधानमन्त्री ओलीले पेकिङजस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा पनि योगदान दिन सक्ने बताए । प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयका अध्यक्ष प्रा गोङ छिहुङले स्वागत गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका अन्य सदस्यको पनि सहभागिता थियो । प्रधानमन्त्री ओलीले आजै उद्यमी– व्यवसायीहरूको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

चेतनाको अभावले बल्झिँदैछ स्पोर्ट्स इन्जुरी, कारखानाका कामदार र खेलाडी बढी जोखिममा

स्रोत: इन्टरनेट काठमाडौं । आजभोलि सबैभन्दा धेरै सुनिने कुरा हो-फिटनेस । आफ्नो स्वास्थ्यप्रति नागरिक सचेत हुन थालेका छन् । कसरी आफूलाई फिट राख्ने भन्ने कुरामा ध्यान दिन लागेका छन् । तर, कतिपयले फिटनेस रहन अथवा आफ्नो तौल नियन्त्रण गर्न गरिएको प्रयासले शरीरलाई स्वस्थ बनाउनुको साटो अस्वस्थ बनाइरहेका विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार फिटनेसका लागि व्यक्तिले अपनाइरहेका क्रियाकलापले इन्जुरी लिएर उपचार गर्न आउनेको संख्या बढ्न थालेको छ ।  तौल नियन्त्रण गर्न गरेका गलत अभ्यासले अस्पताल पुग्ने अधिकांशमा मांसपेशी, हड्डी, स्नायु, लिगामेन्ट र घुँडामा लागेका चोटहरू लिएर अस्पताल पुग्ने धेरै छन् । उपत्यकामा रहेका ठूलाठूला अस्पतालमा स्पोर्ट्स इन्जुरीको समस्या लिएर आउने बिरामीको संख्या बढेको छ । नेपाल मेडिसिटी अस्पतालमा ओपीडीमा आउने ३० प्रतिशत बढी बिरामी यस्तै समस्या ल्याएर आउने गरेको स्पोर्ट्स इन्जुरी विज्ञ डा. राजीवराज मानन्धरले बताए । उनी नेपालमा स्पोर्ट्स इन्जुरीसम्बन्धी नागरिकको बुझाइ नै फरक रहेको बताउँछन् । अस्पतालमा पुग्ने अधिकांश खुट्टा मर्केको, घुँडा सुन्नेको समस्या ल्याएर पुग्ने र चिकित्सकले सोध्दै जाँदा स्पोर्ट्स इन्जुरीको समस्या देखिने गरेको उनको भनाइ छ । आम मानिसले स्पोर्ट्स इन्जुरी भन्ने बित्तिकै खेलाडीहरूमा देखिने समस्यामात्र बुझ्ने गरेका छन् । तर, व्यक्तिले फिटनेस रहन खेलिएका खेल, दौडाइ अनि उफ्राइलगायतका गतिविधिले स्पोर्ट्स इन्जुरी हुने गरेको डा. राजीवराजले बताए ।  डोटीका सुमन बलायर हरेक साताको एक दिन फुट्सल खेल्न जान्छन् । अघिपछि समय नहुँदा शनिबार साथीहरूसँग मिलेर फुटसलमा फुटबल खेल्न पुग्छन् । उनको यो क्रम दुई महिनासम्म चल्यो । तर, एक दिन उनी फुटबल खेल्दै गर्दा लडे । उनको घुँडामा चोट लाग्यो । उनले फुटबल खेले पनि सुरक्षाका लागि लगाइनुपर्ने केही प्रयोग गरेका थिएनन् । न उनीसँग नी प्याड थियो, न नी ब्रेसेस । फुटबल खेल्दा लगाइने जुता थिए तर त्यो दिन लगाएका थिएनन् । नर्मल लुगा र सुरक्षाका कुनै सामग्री प्रयोग विना खेल खेल्दा उनको घुँडामा चोट लाग्यो । चोट लागेपछि केही दिन घरमै बसेका बलायर समस्या झन बढ्दै गएपछि अस्पताल पुगे । उनको घुँडामा मासु च्यातिनुका साथै हड्डीमा पनि चोट लागेको छ । अहिले उनी न राम्रोसँग कलेज जान सक्छन्, न त खेल्न नै ।  ‘अघिपछि खेल्ने समय हुँदैन, बिदाको दिन खेल खेलौ‌ं भनेर गइन्थ्यो, यस्तो पो भयो,’ बलायर भन्छन्, ‘सावधानी अपनाएर नखेल्दा डेन्जर हुँदो रहेछ, रमाइलोका लागि खेलेको फुटबलले कोठाभित्र थन्क्याइदियो ।’ बलायरजस्ता कुनै पनि खेलको टेक्निक नजानेका सर्वसाधारणहरू अहिले विभिन्न किसिमका खेल खेलिरहेका हुन्छन् । नेपाली धेरैजसो युवाले शारीरिक व्यायामका लागि जिम सुरु गरेपनि अझै केही विभिन्न किसिमका खेलहरू खेल्ने गर्छन् । विभिन्न खेलहरू खेल्ने क्रममा खेल्ने तरिका र अपनाउनुपर्ने सावधानी नअपनाउँदा धेरै व्यक्ति अस्पतालमा पुग्ने गरेका छन् ।  डा. राजीवराज मानन्धर यही रहरले खेलाडीभन्दा ननखेलाडीहरूमा स्पोर्ट्स इन्जुरीको समस्या देखिने गरेको बताउँछन् । उनी आफूले खेल्न खेल होस् या कुनै शारीरिक व्यायाम खेल्ने गर्ने तरिकाबारे जानकारी लिन आवश्यक रहेकोमा जाेड दिन्छन् । प्रोफेस्नल खेलमा खेलाडीहरू तालिम प्राप्त हुने भएकाले यस्ता समस्याबाट कमै ग्रसित भएपनि ननप्राेफेस्नल खेलाडीहरू यो समस्यामा परेको उनको भनाइ छ ।  के हो स्पोर्टस् इन्जुरी ? कुनै पनि खेलकुदका गतिविधि गर्दा शरीरमा लाग्ने चोटपटक वा शारीरिक क्षतिलाई स्पोर्ट्स इन्जुरी भन्ने गरिन्छ । अत्यधिक अभ्यास गर्नु, खेल्ने शैली थाहा नपाउनु, पर्याप्त वार्मअप नगर्नु वा खेल खेल्दा गलत उपकरण प्रयोग गर्नुले यस्तो समस्या आउन सक्छ । जसका कारण मांशेपेशी तन्कने, फ्याक्चर हुने लगायतका विभिन्न समस्या हुन्छ । नेपालमा यो समस्या विस्तारै बाहिर आउन लागेको चिकित्सकहरू बताउँछन् । विशेषज्ञ सेवाको अभाव, सुरक्षाका उपायको अभाव, चेतनाको कमी लगायत विभिन्न कारणले स्पोर्ट्स इन्जुरी बढ्दै जान थालेको हाे । डा. राजीवराज खेलाडीभन्दा ननखेलाडीमा आजभोलि यो समस्या बढी देखिने गरेको छ । स्पोर्ट्स इन्जुरीको विशेषज्ञता हासिल गरी १८ वर्षदेखि यो क्षेत्रमा काम गर्दै आइरहेका डा. राजीवराज दौडँदा, ब्याडमिन्टन खेल्दा वा अन्य खेल खेल्दा पनि स्पोर्टस् इन्जुरी हुने बताउँछन्। ‘हामीकहाँ स्पोर्ट्स इन्जुरीका बारेमा अहिले पनि भ्रम छ,’ उनी भन्छन्, ‘खेल खेल्ने व्यायाम गर्नेमात्र होइन, अन्य कम्पनीमा काम गर्ने कामदारलाई पनि यसको समस्या देखिन सक्छ ।’ नन-खेलाडी जोखिममा  हरेक खेलाडीलाई खेल कसरी खेल्ने भन्ने थाहा हुन्छ । उनीहरू त्यहीअनुसार प्रशिक्षित हुन्छन् । कतिपयले अध्ययन नै गरेका हुन्छन् । नपढेकाहरूलाई पनि त्यहीअनुसारको तालिम दिइएको हुन्छ । तालिम लिएका र अध्ययन गरेका खेलाडीहरूलाई कुनकुन भागलाई कसरी जोगाउने भन्ने थाहा हुन्छ । बास्केटबल खेल्नेहरूलाई उफ्रेर बल बास्केटमा फालेर ल्याण्ड कसरी गर्ने पनि तरिका थाहा हुन्छ । जब उफ्रेर गोडा भुँइमा ल्याण्ड गर्छ, कुन सेफमा ल्याण्ड गर्ने भन्ने उनीहरूलाई ज्ञान हुन्छ । यसमा तरिका मिलेन भने गोडाको लिगामेन्टहरू च्यातिने सम्भावना धेरै हुन्छ । यस्ता टेक्निक हरेक खेलका हुन्छन् । तर नेपालमा समस्या रहरमा खेलेका खेल र तौल नियन्त्रण गर्न गरिएको अभ्यासले हुने गरेको छ । डा. राजीवराज भन्छन्, ‘खेलाडीहरूलाई यो विषयमा जानकारी हुन्छ, तर साधारण मान्छेलाई थाहा हुँदैन, हामीले थाहा नपाएर खेल्ने हरेक खेलले स्पोर्ट्स इन्जुरी हुन्छ, तर कहिलेकांही तरिका जानेकै खेलाडीहरूमा पनि यस्तो समस्या देखिने गरेको छ । ’ गलत अभ्यास आजभोलि हरेक व्यक्तिको जीवन व्यस्त हुन थालेको छ । बिहानदेखि साँझसम्म काममा व्यस्त हुने धेरै जनाको अभ्यास गलत छ ।  जो हप्ताभरि कुर्सीमा बसेर काम गर्ने कतिपय बिदाको एक दिन कडा खालको कसरत गर्छन् । एकै दिन बढी दौड्ने वा व्यायाम गर्ने गर्छन् । थोरै समयमा धेरै व्यायाम वा तौल नियन्त्रमा राख्न खोज्नेहरू स्पोर्ट्स इन्जुरीको सिकार बन्न थालेका छन् । उनी भन्छन्, ‘हप्ताभरि बसेर एक दिन बिदाको समयमा धेरै खेल खेल्नु, दौडनु, उफ्रनु राम्रो होइन, यसले फाइदा भन्दा धेरै नोक्सान गर्छ ।’ बिना ज्ञान, बिना तयारी कुनै खेल खेल्नेहरूमा यो समस्या बढी हुन्छ । यसो हुँदा उनीहरूमा खुट्टामा चोट लाग्ने, एंकलमा चोट लाग्ने हुन्छ । खेलाडीहरूमा सबैभन्दा जोखिम मानिने भनेको फुटबल खेल्दा दुईजना खेलाडी आएर जुध्दा गम्भीर इन्जुरी लाग्छ । यस्तै, रेस्लिङमा स्पोर्ट्स इन्जुरी धेरै हुन्छ । डा.राजीव ब्याडमिन्टन, टेनिस खेल्दा पनि इन्जुरी हुने बताउँदै जोखिम अलि कम हुने बताउँछन् ।  आफ्नो लागि सके एक घण्टा नभए आधा घण्टा  मान्छे जति व्यस्त भएपनि आफ्ना लागि कम्तीमा एक घण्टा छुट्याउन विज्ञहरूको सुझाव छ ।  ‘स्वास्थ्य नै धन हो,’ डा.राजीव भन्छन्, ‘उमेर ढल्कदै जाँदा म पनि अहिले बुझ्दैछु, जति पैसा भएपनि शरीर नै स्वस्थ भएन भने कुनै काम हुँदैन, स्वास्थ्यको ख्यालु गर्नुपर्छ । ’पहिलेभन्दा आजभोलि मान्छे सचेत भइसकेका छन् । धेरैजसोले स्वस्थ हुन खोज्छन् ।’ तर, केही व्यक्ति अझै छन् जसलाई मेरो फुर्सद नै छैन, तर उनीहरूलाई पनि शरीरले व्यायाम चाहियो भनेर जनाउ दिन्छ । डा. राजीव बाँचेर मात्र बाँचेजस्तो हुनुभन्दा राम्रोसँग बाँच्नुपर्छ भन्नेमा जाेड दिन्छन् । उनी आफ्नो दैनिकीमा हरेक दिन एक घण्टा वा आधा घण्टा आफ्नोलाई छुट्याउनुपर्ने बताउँछन् ।  चेतनाको अभाव नेपालमा खेलकुद वा फिट्नेसप्रति आर्कषण बढेपनि कसरी गर्ने वा खेल्ने भन्ने चेतनाको अभाव छ । थाहा नपाएर रहरैले खेलिने यस्ता खेलले शरीरका विभिन्न भागमा क्षति हुने सम्भावना हुन्छ । डा.राजीव आजभोलि कुनै कुरा सिक्दा वा खेल्दा त्यो विषयमा जानकारी लिन सक्ने धेरै माध्यमहरू रहेको बताउँछन् । सामाजिक सञ्जाल, युट्युव, गुगलमा खोएर खाज्दा पनि धेरै कुरा मिल्ने बताउँदै उनी त्यसको तरीका, टेक्निक जानेर  मात्र खेल्न सल्लाह दिन्छन् । तर, कहिलेकांही दुर्घटना अचानक हुन्छ । सावधानी अपनाउँदा पनि हुने यस्ता दुर्घटनाको उपचार सम्भव रहेको बताउँछन् ।  नेपालमा उपचार खेलाडी वा अन्य सर्वसाधारणमा हुनसक्ने इन्जुरीहरू धेरै हुन्छन् । लिगामेन्ट इन्जुरी फुटबल खेल्दा धेरै हुन्छ । खेल क्षेत्रमा हेर्ने हो भने, अहिले फिजियोथेरापी, डाक्टर हरेक खेल समूहभित्र हुन्छ । खेलाडीहरू यो विषयमा सचेत हुन्छन् तर, सचेत हुँदाहुँदै पनि दुर्घटना हुन्छ । यस्तो समस्या ल्याएर खेलाडीहरू पनि उपचारको क्रममा अस्पताल पुग्छन् ।  फ्याक्ट्रीमा काम गर्ने कामदारलाई पनि यस्तो समस्या हुन्छ । यस्तै, पेन्टरहरूलाई पनि यस्तो समस्या हुन्छ । उनीहरूले दिनहुँ घर, भवनमा पेन्ट गर्दा हात तलमाथि गरिरहनुपर्छ । उनीहरूमा पनि घुँडाकाे समस्या हुन्छ ।  यी चोटपटक सामान्यदेखि गम्भीर खालका हुन्छन् । मांशेपेसीसम्बन्धी चोटहरू जस्तै मांशेपेसी तन्किने, चुँडिने हुन्छ । अत्यधिक तान्दा वा बल लगाउँदा मांसपेशी च्यातिन सक्छ भने गम्भीर अवस्थामा मांसपेशीको आंशिक वा पूर्ण चुँडिने सम्भावना पनि हुन्छ । यस्तै, हड्डीसम्बन्धी चोटहरूमा फ्याक्चर, स्ट्रेस फ्याक्चर हुने सम्भावना हुन्छ । स्नायु र लिगामेन्टमा चोट, जोड र घुँडाको चोट छालाको चोटसँग नशा र टाउकोको चोट पनि लाग्न सक्छ । यसलाई वेवास्ता गर्‍यो भन्ने गम्भीर पनि हुन सक्छ । कुनै पनि चोट लाग्नेबित्तिकै सुरुमा सुनिन्छ । त्यहीबेला  राम्रो उपचार भयो भने निको हुन्छ । तर, वास्ता गरिएन सुन्निएकै बेला पनि हिँडडुल गरिरह्यो भने औषधी खाएर एक्ससाइज गर्दा पनि निको हुँदैन । यस्तो अवस्थामा अप्रेसन गरेर टाका लगाउनुपर्ने अवस्था पनि आउन सक्छ ।  

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले घोषणा गर्यो लाभांश

काठमाडौं । श्री इन्भेष्टेमन्ट एण्ड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । मंसिर १८ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । फाइनान्सले हाल कायम चुक्ता पूँजीको १.९६४१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये १.८६५९ प्रतिशत बोनस सेयर रहेको छ भने ०.०९८२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाल पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

उन्नति सहकार्य लघुवित्तले लाभांश नदिने, सेयरधनीको हात खाली

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाको सोही बैठकले २०८१ असार मसान्तसम्मको वासलात, आव २०८०/८१ को नाफा, नोक्सान, तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण माथि छलफल गरी सोलाई स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतम नियुक्त भएका छन् । इन्स्योरेन्स सञ्चालक समितिको मंसिर १८ गते मंगलबार बैठकले गौतमलाई कम्पनीको सीईओमा नियुक्त गरेको हो । उनको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिन बाँकी रहेको छ । प्राधिकरणबाट स्वीकृति पाएपछि उनले कम्पनीको सीईओको पदभार सम्हाल्नेछन् । यसअघि साबिक एभरेष्ट इस्यारेन्समा सीईओको भूमिका निर्वाह गरिसकेका गौतम साविक एभरेष्ट र साविक हिमालयन इन्स्योरेन्स मर्जरपछि नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)  बनेका थिए । उनले गत २०८० फागुनमा हिमालयन एभरेष्टबाट राजीनामा दिएर बाहिरिएका थिए । साविक एभरेष्ट इन्स्योरेन्स समस्यामा थियो । तर, गौतमको व्यवस्थापकीय क्षमताले कम्पनीलाई सुधार गरी थप उचाइमा पुर्‍याएका थिए । नेपाल ग्रिन्डलेज बैंकबाट बैंकिङ करिअर सुरु गरेका गौतमसँग हिमालयन बैंक, एनआईसी एसिया बैंक, एनबि बैंक, सनराइज बैंक र इन्फ्रान्स्ट्रक्चर डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ । बैंकिङ र बीमा गरी तीन दशक बढी अनुभवी गौतमले त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । गत कात्तिक ८ गते श्रवण रावलको निधन भएपछि यूनाइटेड अजोड इन्स्योरेन्समा सीईओ पद रिक्त थियो । रावलको हृदयघातका कारण निधन भएको थियो ।

नेपाल एसबीआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १० अर्ब ५० करोड १ लाख ५२ हजार २८२ रुपैयाँको कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन् । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ ।

बैंकिङ प्रणालीबाट आज फेरि ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ । केन्द्रीय बैंकले आज मंसिर १९ गते फेरि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको पुस ९ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।