विकासन्युज

चुरेमा बाँस रोप्न दातृ निकाय खोज्दै सरकार, कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग 

काठमाडौं । चुरे क्षेत्रको संरक्षण तथा अर्थतन्त्र सुधारका लागि बाँसका विरुवा रोप्ने योजनासहित प्रस्ताव गरिएका दातृ निकायहरु फर्किएपछि सरकार नयाँ दातृ निकायको खोजीमा छ । चुरेमा बाँस रोप्न आवश्यक वित्त सहयोग उपलब्ध गराउन इच्छुक देखिएका दातृ निकायहरु लामो समयसम्म सहमति पाउन नसकेपछि फर्किएका थिए । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले नै वन तथा वातावरण मन्त्रालयबाट समयमा सहमति नआएपछि दाताहरूले आफ्नो प्रस्ताव फिर्ता गरेको जानकारी गराएको छ । समितिका अनुसार बाँस रोप्नका लागि रु चार अर्ब ८८ करोड ४० लाख (३७ मिलियन अमेरिकी डलर) अनुदान दिन फ्रान्सको  दाता ‘रिफरेस्ट एक्सन’ तयार थियो । तर लामो समयसम्म सहमति पाउन नसकेपछि अनुदान उपलब्ध नगराउने भन्दै सन्देश पठाएको समितिले जनाएको छ । समितिका अध्यक्ष डा किरण पौडेलले पुराना दाता फर्किए पनि नयाँ दातासँग थप पैरवी भइरहेको जानकारी दिए । ‘धेरै मेहनत गरेर हामीले बल्लबल्ल बाँस रोप्न लगानी गर्ने इच्छुक दाता भेटाएका थियौँ । परियोजनाको डिजाइन तयार भए पनि वन मन्त्रालयबाट परियोजना स्वीकृत नभएपछि लगानी नगर्ने भन्दै दाता फर्किएका हुन्’, उनले भने, ‘अब भने मन्त्रालय पनि चुरेमा बाँस रोप्न सकारात्मक छ, मन्त्रालयसँग सहकार्य गरेर हामीले नयाँ दाताको रुपमा एसियाली विकास बैंकसँग छलफल र पैरवी अगाडि बढाएका छौँ ।’ उनका अनुसार एसियाली विकास बैंक (एडिबी) सँग चुरेमा बाँस रोप्न ३० मिलियन अमेरिकी डलर (करिब चार अर्ब सात करोड) रुपैयाँ आर्थिक सहयोगका लागि प्रस्ताव गरिएको छ । ‘एडिबीले उपलब्ध गराउन लागेको उक्त रकममध्ये ५० प्रतिशत अनुदान र ५० प्रतिशत ऋण उपलब्ध गराउन खोजेको छ । कूल रकमको दुई तिहाइ अनुदान र एक तिहाइ मात्रै सहुलियत दरमा ऋण उपलब्ध गराउन हामीले पहल गरिरहेका छौँ’, अध्यक्ष पौडेलले भने, ‘नेपाल कार्बन व्यापारमा जाने तयारी गरिहेको छ । चुरेमा उत्पादन भएका बाँसले कार्बन उत्सर्जन न्यूनीकरण गरेवापत आर्थिक लाभ लिन सक्छ । कार्बन क्रेताको रुपमा विभिन्न निजी क्षेत्र इच्छुक देखिन सक्छन् ।’  पौडेलले मुलुकको पूर्वी क्षेत्रमा एक करोड बाँस र पश्चिम क्षेत्रमा एक करोड बाँस गरी दुई करोड बाँस राप्ने समितिको योजना रहेको बताए । उनका अनुसार उक्त बाँस रोप्ने परियोजनाका लागि आन्तरिक स्रोत पर्याप्त नहुने भएपछि वित्तीय सहयोगका लागि वैदेशिक दाताहरुसँग सहयोगको अपिल गरिएको हो । ‘चुरेको माटो संरक्षण गर्न, बाँसबाट स्थानीय रोजगारी वृद्धि तथा हरित अर्थतन्त्र सुधार गर्न, वातावरणीय संरक्षण तथा कार्बन उत्सर्जन कटौतीमा सहयोग गर्ने लक्ष्यका साथ समितिले बाँस रोप्ने तयारी गरेको हो’, उनले भने, ‘चुरेको माटो जोगाउन सकिएन भने भूक्षय तथा पहिरोका कारण त्यहाँ खानेपानीको स्रोत सुक्ने र चरम अभाव भोग्नुपर्ने समस्या उत्पन्न हुन सक्छ तसर्थ माटो बचाउन बाँसले सहयोग पुग्ने र बाँसले जमिनमुनि पानी रिचार्ज गरिरहन सहयोग पुग्ने छ ।’ बाँस रोपेपछि चुरेका खाली रहेका भूभागको सदुपयोग गर्दै अर्थतन्त्र विकासमा सहयोग पुग्ने उनले जानकारी दिए । पौडेलले दुई करोड बाँस रोप्नका लागि एक सय मिलियन अमेरिकी डलर आवश्यक रहेको जानकारी दिए । उनले भने, ‘बाँस रोपेर पाँच वर्षमा प्रतिफल प्राप्त हुने भएकाले हरित अर्थतन्त्रमा सुधार आउने छ ।’ चुरेमा बाँस रोप्दा हुने फाइदा  समितिको बोर्ड सदस्य डा सुस्मिता ढकालले बाँसले चुरेको वातावरण संरक्षण, आर्थिक आयआर्जन सुधार, रोजगारी वृद्धिमा सहयोग पुग्ने बताए । ‘बाँस छिटोछिटो वृद्धि हुने वनस्पति भएकाले हरियाली बढाउन प्रभावकारी र यसले हावा शुद्ध पार्न तथा जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनमा सहयोग गर्छ’, उनले भने, ‘बाँसले विभिन्न प्रजातिका जनावरलाई वासस्थान प्रदान गर्छ, जसले जैविक विविधता जोगाउन र स्थानीय समुदायलाई रोजगारीका अवसर सिर्जना गर्दछ ।’ बाँसबाट टोकरी, कुचो, फर्निचर, ढोका, खाट, र अन्य दैनिक सामग्री बनाउन सकिन्छ । घर बनाउने, झोलुङ्गे पुल र ग्रीन हाउस निर्माणमा यसको प्रयोग गर्न सकिन्छ । चुरेमा बाँस उत्पादन : अभियान चलाउन आवश्यक बाँसको विषयमा विद्यावारिधि गरेका पूर्व वन सचिव डा अन्नपूर्णनन्द दासले चुरे बचाउन बाँस उत्पादनलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिन्छन् । ‘चुरे क्षेत्रको संरक्षणमा बाँस निकै उपयोगी वनस्पति हो, बाँस छिटो बढ्ने र धेरै पटक कटान गर्न मिल्ने वनस्पति भएकाले यो पुनःनवीकरणीय तथा वातावरणमैत्री वनस्पतिको रुपमा लिने गरिन्छ’, उनले भने, ‘बाँस पानी कम हुँदा पनि बाँच्न र हुर्कन सक्छ । बाँसको तामा स्वादिष्ट तरकारी तथा अचार जस्ता खाद्यपदार्थका रूपमा प्रयोग गरिन्छ । बाँसबाट कागज, कपडा, फाइबर र जैविक प्लास्टिक बनाउन र बाँसले ठूलो मात्रामा कार्बन डाइअक्साइड सोस्ने क्षमता राख्दछ ।’ दासले नेपालमा बाँसबाट बनाइने सामग्रीको माग उच्च रहेको र ग्रामीण क्षेत्रमा घरायसी सामानका लागि व्यापक प्रयोग गरिने बाँसको फर्निचर, हस्तकलाका सामग्री र औद्योगिक उत्पादनका लागि अन्तर्राष्ट्रिय बजारमा ठूलो माग रहेको बताए । उनले सरकार, निजी क्षेत्र र समुदाय मिलेर बाँस खेती प्रवर्द्धन गरेमा दीर्घकालीन लाभ प्राप्त गर्न सकिने धारणा राखे। क्षयीकरण नियन्त्रण  भौगर्भिक रुपमा चुरे संवेदनशील क्षेत्र रहेकाले बाँसले चुरेमा बढ्दो क्षयीकरण नियन्त्रणमा सहयोग पुग्ने बताउछन्, भू–गर्वविद् डा सुवोध ढकाल । ‘बाँसको जराले माटोलाई समातेर राख्ने हुनाले चुरेमा हुनसक्ने क्षयीकरण नियन्त्रणमा सहयोग पुग्ने, पानी जमाएर जलस्रोतलाई दीर्घकालीन रूपमा संरक्षण गर्ने, जमिनमा पानीको रिचार्ज गराएर पानीको स्रोत संरक्षण हुन्छ’, उनले भने, ‘बाँसको बहुआयामिक महत्व छ, तर जथाभावी बाँस रोपिनु उचित हुँदैन । विस्तृत अध्ययन गरेर रोप्न उचित हुन्छ ।’ जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले बाढी पहिरोजस्ता प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि बाँसले सहयोग गर्ने बताए । ‘अरु भन्दा बाँस हलुका खालको वनस्पति हो । चुरेको माटो कमजोर रहेकाले ठूला बिरुवाले पहिरोको खतरा बढाउँछ । चुरेको माटो सुहाउँदो वनस्पति बाँस हो’, उनले भने, ‘साना मझौला उद्योग प्रवर्द्धनमा सहयोग गर्छ । चुरेमा बाँस र निगालो दुवै विरुवा रोपेमा हरियाली प्रवर्द्धन भइ पारिस्थतिकीय प्रणालीको सन्तुलन कायम गर्छ । जलवायु परिवर्तन न्यूनीकरणमा बाँसको भूमिका हुन्छ ।’ उप्रेतीका अनुसार चुरे क्षेत्रमा भूक्षयका कारण नदीहरूमा बालुवा र गिट्टी जम्मा हुने समस्याले नदीको बहाव परिवर्तन गरी बाढीको जोखिम बढाउँछ । बाँस रोप्दा भूक्षय कम हुने, नदीजन्य प्रकोप नियन्त्रण गर्न सहयोग मिल्ने उनको भनाइ छ । कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग  जलवायुविद् मञ्जित ढकाल बाँस उत्पादन बढाउँदा कार्वन उत्सर्जन कटौती गरी पृथ्वीमा बढ्दो तापमान बृद्धि रोक्न सहयोग पुग्ने बताउछन् । ‘बाँस दिगो विकासको आधार हो । यसको उत्पादन, प्रशोधन र उपयोगले पर्यावरणमा नकारात्मक असर गर्दैन, वातावरण र आर्थिक लाभ दिन्छ’, उनले भने, ‘नेपालले लिएको जलवायु नीति कार्यान्वयनमा बाँस खेती प्रवर्द्धनले सहयोग गर्छ ।’ बाँस खेतीलाई दीर्घकालीन रूपमा प्रवर्द्धन गर्न तीनै सरकारबीच समन्वय, निजी क्षेत्र, र समुदायबीच सहकार्य अनिवार्य रहेको विज्ञहरुको सुझाव छ । रासस

सिभिल मलमा एससिटी-युपीआई कार्डधारकका लागि निःशुल्क पार्किङ सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र काठमाडौंको सुन्धारास्थित सिभिल मलबीच एससिटी–युपीआई कार्डधाराकहरूका लागि निःशुल्क पार्किङ सेवा सुरु भएको छ । यस सेवा अन्तर्गत एससिटी युपीआई कार्डधाराकहरूले आफ्नो कार्ड देखाएर सिभिल मल, सुन्धाराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा लिन सक्नेछन् । मंसिर १६ देखि सुरु भएको यो सेवा हाललाई ६ महिनासम्म लागू हुनेछ । एससिटी–युपीआई डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले एससिटीको कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

प्रभु महालक्ष्मी लाइफबाट एकैपटक ५ जना संस्थापक बाहिरिँदै

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका पाँच संस्थापक सेयरधनी बाहिरिने भएका छन् । कम्पनीका पाँच जना संस्थापक सेयरधनीहरूले करिब १ लाख कित्ता संस्थापक सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । कम्पनीका अनुसार शशि रञ्जन कलवारको स्वामित्वमा रहेको ४५ हजार कित्ता, भिम बहादुर गौचनको १० हजार कित्ता, मोहनराज जोशीको २० हजार कित्ता, मोक्ष राज्यलक्ष्मी देवि प्रधानको १८ हजार कित्ता र गणेश कुमार घिमिरेको ५ हजार ४९० कित्ता गरी कुल ९८ हजार ४९० कित्ता सेयर बिक्रीमा राखेका हुन् । कम्पनीको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् । यदि संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र उक्त सेयर खरिद नगरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

विशेषज्ञ अभावमा मुटु परीक्षण उपकरण उपयोगविहीन

बागमती । हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा मुटुरोगीको जाँचका लागि ल्याइएको उपकरण विगत डेढ वर्षदेखि थन्किएको छ । उपकरण प्रयोगविहीन हुँदा बिरामी अन्यत्र जानुपर्ने बाध्यता छ । बिरामीको चापलाई दृष्टिगत गरी मकवानपुर रोटरी क्लबले हेटौँडा उपमहानगरपालिकासँगको साझेदारीमा रु एक करोड मूल्य बराबरको मुटु परीक्षण उपकरण अस्पताललाई उपलब्ध गराएको थियो । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाका अनुसार उपकरण अस्पताललाई हस्तान्तरण भए पनि विशेषज्ञ नहुँदा उपकरण थन्किएका छन् ।  सुपरिटेन्डेन्ट डा सापकोटाले भने, ‘हामीले मुटुरोग विशेषज्ञका लागि विज्ञापन खुलायौँ, त्यसमा एक जनाले मात्र आवेदन भने। तर, उनलाई प्रदेश कार्यविधिले नियुक्त दिन मिलेन ।’ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबीच केही दिनअघि जनशक्ति व्यवस्थापनसम्बन्धी सम्झौता भएकाले शीघ्र समस्या समाधान हुने उनको विश्वास छ ।

नेपाल वेयर हाउजिङ्गले घटायो नोक्सानी, यस्तो छ व्यवसाय वृद्धि गर्ने आगामी योजना

काठमाडौं । नेपाल वेयर हाउजिङ्ग कम्पनीले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासमा २ करोड २४ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत वर्षको असोजमा कम्पनीले २ करोड ९९ लाख रुपैयाँ खुख नोक्सानी बेहोरेको थियो । गत वर्षको तुलनामा कम्पनीले आफ्नो नोक्सानी घटाएको देखिन्छ । असोजसम्म कम्पनीले ९३ लाख १६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९० लाख २४ हजार रुपैयाँ यस्तो आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीले प्रत्यक्ष सञ्चालन खर्च ३४ लाख १५ हजार रुपैयाँ, अन्य खर्च १५ लाख ४ हजार रुपैयाँ र वित्तीय लागत १ करोड ५५ लाख रुपैयाँ गरेको छ । गत वर्षको असोजमा कम्पनीले प्रत्यक्ष सञ्चालन खर्च २ लाख ५७ हजार रुपैयाा, अन्य खर्च १ करोड ३१ लाख रुपैयाँ र वित्तीय लागत ७१ लख ४९ हजार रुपैयाँ थियो । ६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रमोटर एडभान्स ८ करोड ६६ लाख रुपैयाँ र अन्य इक्विटी १६ करोड ३० लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीले निर्माण गरेका सुनसरी इकाईको १५ हजार मेट्रिक टन बराबरको ३ वटै साइलो र पर्सा इकाईको २५ हजार मेट्रिक टन बराबरको ४ वटा साइलोमा भण्डारण कार्यको सुरुवात भएको छ । कपिलवस्तुको १५ हजार मेट्रिक टनका ३ वटा साइलो निर्माण सम्पन्न हुने क्रममा रहेका छन् । आगामी सिजनमा भण्डारण सुरुवात गर्ने तयारी कम्पनीको छ । यी साइलोको निर्माण पश्चात कम्पनीको आय सोही हिसाबले वृद्धि हुने कम्पनीको भनाइ छ । कम्पनीले अनाजको बोल कबोल गर्न नीतिगत कानूनको नेपाल सरकारबाट जारी हुने अपेक्षा गरेको छ । सोको लागि यसमा कम्पनीले उपयुक्त पूर्वाधार निर्माण गरेको छ । कम्पनीले इच्छुक ग्राहकहरुलाई अनाज खरिदमा मध्यस्तता गरि कमिसन आर्जन गर्ने गरी समेत कामको स्सुरुवत गरेको छ । अन्नको धितोको सुरक्षणमा ऋण पर्दान गर्ने कार्यको लागि कम्पनीले विभिन्न बैंकहरूसँग सम्झौता गरेको छ । एभरेस्ट बैंक, लक्ष्मी सनराईज बैंक लगायतका बैंकले वेयरहाउजिङ्ग फाईनानसिङ्गको प्रडक्ट बनाई सकेकोले यस सिजनमा बैंकहरुले लगानी गर्न सुरुवात गर्ने अपेक्षा कम्पनीको छ । यस कम्पनीलाई धितो सुरक्षणको लागि छुट्टै आम्दानी हुने छ ।

कुमारी बैंकको साढे २२ करोडको सेयर बिक्रीमा, १ सय रुपैयाँमा सेयर किन्ने मौका

काठमाडौं । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको साढे २२ करोड रुपैयाँको सेयर बिक्रीमा राखिएको हो । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेका २२ लाख ४३ हजार ७ कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकेको छ । सो आधारमा बैंकले २२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउने छन् । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले कुमारी क्यापिटल र कुमारी बैंकको प्रधान कार्यालय आइपुग्नेगरी आवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम १० लाख कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । बैंकको सेयर खरिदका लागि पुस ३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

राष्ट्रपति पौडेल अस्पताल भर्ना, प्रोस्टेटसम्बन्धी उपचार गरिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि अस्पताल भर्ना भएका हुन् । उनको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएर उपचार भइरहेको छ । उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो ।

५६ लाखको मेसिनबाट सुन्तला ग्रेडिङ, मूल्य २५ देखि ९० रुपैयाँसम्म

काठमाडौं । सुन्तला गे्रडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो । नेपालमा पहिलोपटक २०७५ सालदेखि सुन्तलाको गे्रडिङ मेसिन जडान गरी काम सुरु भएसँगै सहज भएको बागवानी सञ्चालक एवं अगुवा किसान फणिनारायण अर्यालले बताए । पोष्ट हार्भेष्ट निर्देशनालय काठमाडौँ र बागवानी फार्मबीच सम्झौता भएर ८५ प्रतिशत अनुदानमा ५६ लाख रुपैयाँ लागतमा भारतबाट मेसिन ल्याई जडान गरिएको हो । ‘निर्देशनालयको ८५ प्रतिशत अनुदान र फार्मको १५ प्रतिशत लागत साझेदारीमा सुन्तलाका क्षेत्रमा ग्रेडिङ प्रविधि नेपालमा पहिलोपटक भित्रिएको हो,’ उनले भने, ‘मेसिन जडान भएसँगै सुन्तलाको ग्रेडिङ तथा सफा गर्न सहज भएको छ ।’ प्रतिघण्टा पाँच टनसम्म सुन्तला ग्रेडिङ गर्ने क्षमताको मेसिनले फोहरमैला, कालो टीका सफा गर्ने सञ्चालक अर्यालले बताए । सञ्चालक अर्यालले बगैँचामा उत्पादन भएका सुन्तला तथा अन्य किसानबाट खरिद गरेका सुन्तला मेसिनमार्फत ग्रेडिङ गरी बजार पठाउँदै आएका छन् । ‘मेसिनबाट विभिन्न आठवटा आकारमा सुन्तलाको वर्गीकरण गर्दै आएका छौँ,’ उनले भने, ‘मान्छे लगाएर काम गर्दा झण्झटिलो, धेरै कामदार लाग्ने, दाग लाग्ने, थिच्चिनेजस्ता समस्या हुुन्थ्यो, मेसिनको प्रयोगले सहज भएको छ ।’ ८ वटा आकारमा सुन्तला ग्रेडिङ गरेर छुट्याइए पनि बजार मागका आधारमा चारवटा आकारमा पठाउने गरिएको उनले बताए । साना सुन्तलाको प्रतिकेजी न्यूनतम मूल्य २५ रुपैयाँदेखि ठूला सुन्तलाका मूल्य ९० रुपैयाँमा अहिले फार्मबाट बिक्री हुने गरेको छ । फार्मले सुन्तलाको बजारीकरणका लागि भाटभटेनी सुपर मार्केटका सञ्चालकसँग सम्झौता गरेको छ । उक्त कम्पनीसँग गत वर्षदेखि ५० टन सुन्तला उपलब्ध गराउनेगरी सम्झौता भएको उनले बताए ।