विकासन्युज

नेपालपे क्युआर र आइसिटी अवार्डबीच सहकार्य, डिजिटल इकोसिस्टम प्रवद्र्धनमा सहयोग पुग्ने

काठमाडौं । नेपालको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको नवौँ संस्करणमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेपालपे क्युआर आबद्ध भएको छ । यसका लागि एनसीएचएल र आइसिटी अवार्डबीच सहकार्य सम्बन्धि सम्झौता भएको हो । उक्त अवार्ड कार्यक्रम आगामी पुस ५ गते ह्यात रिजेन्सी काठमाडौंमा आयोजना हुँदैछ । कार्यक्रममा विभिन्न १४ विधामा अवार्ड प्रदान गरिने छ । एनसीएचएलले नेपालको डिजिटल भुक्तानीको विकास र प्रवद्र्धनमा विगत १६ वर्ष देखि काम गर्दै आएको छ भने अवार्डले पनि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्ने विभिन्न कम्पनी, स्टार्टअप तथा व्यक्तित्वहरुलाई विशेष सम्मान र प्रोत्साहन गर्दै आएको छ । आइसिटी अवार्डसँगको यस सहकार्यले नेपालको डिजिटल इकोसिस्टम प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ । नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्युआर मापदण्ड कार्यान्वयन गर्न एनसीएचएलले नेपालपे क्युआर सञ्चालन गरी मर्चेन्टहरूलाई अन्तरआबद्धता कायम गर्दै आएको छ । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपालपे क्युआरको अन्तरआबद्ध नेटवर्कमा ८ लाख ७५ भन्दा बढी मर्चेन्टहरु आबद्ध गरिसकेका छन् । ग्राहकहरुले ४० वटा मोबाइल बैंकिङ एप, ११ वटा वालेट एप तथा कनेक्ट आइपीएसबाट नेपालपे क्युआर स्क्यान गरी सहज भुक्तानीको सुविधा प्रयोग गर्न सकिन्छ ।

भूटानी राजा काठमाडौंमा, स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने

काठमाडौं । भूटानी राजा नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा शुक्रबार बिहान काठमाडौं आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौंमा छन् । उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बेलायतमा ईभीको वर्चश्व बढ्दै, आगामी दशकसम्म पेट्रोलबाट चल्ने कारको संख्या आधा घट्ने

काठमाडौं । सन् २०२४ मा बेलायतमा पेट्रोलियम पदार्थको प्रयोग उत्कर्षमा पुग्ने प्रक्षेपण गरिएको छ । रिपोर्टअनुसार विद्युतीय सवारीसाधन (ईभी) ले राम्रो बजार लिइरहेको छ र अझै बढ्दो रूपमा रहेको छ । बुधबार प्रकाशित एक विश्लेषणमा अटो ट्रेडरले आगामी दशकमा पेट्रोलबाट चल्ने कारहरूको संख्या लगभग आधा घट्ने जनाएको छ, किनभने चालकहरू विद्युतीय सवारीसाधनतर्फ आकर्षित हुँदै गइरहेका छन् । सन् २०२४ मा ब्रिटेनका सडकमा १ करोड ८७ लाख पेट्रोलबाट चल्ने कारहरू छन्, तर यो संख्या स्थिर रूपमा घट्दै २०३४ सम्ममा केवल १ करोड ११ लाखमा सीमित हुने अपेक्षा गरिएको छ । यही समयावधिमा इभीहरूको संख्या १ करोड २५ लाखबाट बढेर १ करोड ३७ लाख पुग्नेछ, किनभने यी सवारीसाधनहरू क्रमशः थप किफायती सावित हुँदै गएका छन् । अटो ट्रेडरका अनुसार नयाँ कार बजारमा ईभीहरूको हिस्सा यस वर्षको करिब १८ प्रतिशतबाट बढेर सन् २०२५ सम्ममा २३ प्रतिशत पुग्नेछ । यद्यपि यो दर अझै पनि यूके सरकारको शून्य उत्सर्जन सवारीसाधन म्यान्डेटअन्तर्गतको बिक्री लक्ष्य २८ प्रतिशतभन्दा कम छ। अटो ट्रेडरका इयान प्लमरले यो रिपोर्टमा भनेका छन्, ‘पीक पेट्रोल ब्रिटेनका लागि एक ऐतिहासिक क्षण हो ।’ ‘आगामी दशकमा ब्रिटिश मोटरिङमा ठूलो परिवर्तन हुने अपेक्षा गरेका छौं, किनभने पेट्रोल कारहरूको संख्या लगभग आधाले घट्नेछ र विद्युतीय सवारीसाधनले निकै ठूलो हिस्सा लिनेछ,’ उनले थपे । ‘यो सबै उद्योगले विभिन्न चुनौतीहरूको सामना गरिरहेका अवस्थामा भइरहेको छ । तीमध्ये शून्य उत्सर्जन सवारीसाधन लक्ष्यको कार्यान्वयन, आपूर्तिमा कमी, बदलिँदो वित्त नियम र बजेट पनि प्रमुख छन् । यद्यपि, प्रयोग भएका कारहरूको माग असाधारण रूपमा बलियो छ,’ प्लमरले भने । उद्योगमा अत्यधिक दबाब हालको नियमअनुसार कार कम्पनीहरूले कम्तीमा २२ प्रतिशत शून्य उत्सर्जन सवारीसाधन बनाउनुपर्छ । यो लक्ष्य सन् २०२५ मा २८ प्रतिशतमा वृद्धि हुनेछ, सन् २०३० सम्ममा ८० प्रतिशत र सन् २०३५ सम्ममा १०० प्रतिशत पुर्‍याइनेछ । यद्यपि यसले उद्योगमा अत्यधिक दबाब दिइरहेको छ । मोटर निर्माताहरू र व्यापारीहरूको समाज (एसएमएमटी) ले गत महिनाको अन्त्यमा चेतावनी सरकारी लक्ष्यले उद्योगमा अत्यधिक दबाब पारिरहेको र जसले व्यापार र रोजगारीमा ‘विनाशकारी प्रभाव’ पार्न सक्ने चेतावनी दिएको थियाे । गत हप्ता स्टेलान्टिसले दक्षिणी इंग्ल्याण्डको लुटनमा रहेको आफ्नो भक्सहल भ्यान कारखाना बन्द गर्ने योजना घोषणा गरेको थियो, जसले एक हजारभन्दा बढी रोजगारी जोखिममा परेको छ । तर १४ वटा गैरसरकारी संगठन, थिंक ट्यांक र अभियान समूहले नोभेम्बर मध्यतिर ब्रिटेन सरकारलाई खुला पत्र लेख्दै शून्य उत्सर्जन सवारीसाधन नीति कायम राख्न माग गरेका थिए । ती समूहहरूले यो नीति देशको सबैभन्दा ठूलो कार्बन बचत उपायहरूमध्ये एक भएको र कार उद्योगलाई प्रदान गरिएका लचकता पर्याप्त भएको तर्क गरेका थिए । एक सरकारी प्रवक्ताले नयाँ पेट्रोलियम पदार्थमा आधारित कारहरूको बिक्री सन् २०३० सम्म बन्द गर्ने प्रतिबद्धतामा उद्योगलाई समर्थन कसरी गर्न सकिन्छ भनेर विचार गर्न चाँडै परामर्श अघि बढाइने बताए । ‘हामी उद्योगले सामना गरिरहेको विश्वव्यापी चुनौतीहरूलाई ध्यानमा राखिरहेका छौं,’ प्रवक्ताले भने । घरेलु उत्पादनको परिवर्तनलाई समर्थन गर्नका लागि २.५४ बिलियन अमेरिकी डलरको लगानी र ईभीहरूको प्रयोग प्रवर्द्धन गर्न ३०० मिलियन पाउन्डभन्दा बढीको बजेट घोषणा गरिएको छ । (एजेन्सीहरूको सहयोगमा)

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा पछिल्लो केही दिन यता निरन्तर बढेको सुनको मूल्य शुक्रबार भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको हो । महासंघकाअनुसार शुक्रबार सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको थियो । यस्तै, शुक्रबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ९० रुपैयाँ पुगेको हो । बिहीबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको थियो ।

९ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

बागमती । हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार महिनामा नौ करोड ५२ लाख रुपैयाँको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो दुई करोड ४० लाख रुपैयाँले बढी हो । कार्यालय प्रमुख राजीव खनालका अनुसार आव २०८१/८२ को साउनदेखि कात्तिकसम्ममा नौ करोड ५२ लाख रुपैयाँको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको छ । आव २०८०/८१ को अवधिमा सात करोड १२ मूल्य रुपैयाँ बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको थियो । बजारको मागभन्दा दूध तथा दुग्धजन्य पदार्थको उत्पादन बढी भएकाले आयोजना कार्यालयलाई भण्डारणमा समस्या भएको छ । दूध खरिद गरेअनुसारको बजारमा दुग्धजन्य पदाथए बिक्री नहुँदा किसानलाई चार महिनादेखि दूधको भुक्तानी दिन नसकेको उनले बताए । कार्यालयले मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीका किसानबाट दूध खरिद गर्दै आएको छ ।

सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन

कास्की । पच्चीस मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको हो । आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको प्रवद्र्धक कम्पनीका कार्यकारी अध्यक्ष जगबहादुर पोखरेलले बताए । आयोजनाबाट उत्पादित बिजुली माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित प्राधिकरणको सबस्टेशनमा जोडिएको छ । आयोजनामा पाँच अर्ब रुपैयाँ बढी लगानी भएको छ । सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा त्यसलाई खसालेर विद्युत् उत्पादन गरिएको हो । आयोजना जलप्रवाहमा आधारित छ ।

३ करोड लागतमा सभाहल निर्माण

दमौली । म्याग्दे गाउँपालिका–३ बेल्टारस्थित ठूलो बगैचामा गाउँपालिकाको तीन करोड रुपैयाँ लगानीमा सात सय दर्शक क्षमताको सभाहल निर्माण भएको छ । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार सभाहल निर्माणका लागि स्थानीय सरस्वती घिमिरेले आधा रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन् । सभाहलको निर्माण गत असारमा पूरा भएको हो । आज त्यसको औपचारिक उद्घाटन हुँदैछ । अब गाउँपालिकाले कार्यक्रम गर्न अन्यत्र पेक्षालयको व्यवस्था गर्नुपर्ने छैन । साथै अन्य सङ्घसंस्थालाई पनि कार्यक्रम गर्न सहज हुनेछ ।

म्याग्दीमा ८ स्थानमा स्वास्थ्य चौकीका भवन निर्माण

म्याग्दी । जिल्लाका विभिन्न स्थानमा रु १० करोड ४७ लाख लागतमा आठवटा स्वास्थ्य चौकी भवन निर्माण भएका छन् । बेनी नगरपालिका, धवलागिरि, मङ्गला, अन्नपूर्ण गाउँपालिकामा एक–एक, मालिका र रघुगङ्गा गाउँपालिकामा दुई–दुईवटा स्वास्थ्य चौकी भवन निर्माण भएका हुन् । बेनी नगरपालिका–३ भकिम्लीमा रु ५० लाखमा सभाहलसहित पाँचकोठे एकतले स्वास्थ्य चौकीको पक्की भवन निर्माण भएको वडाध्यक्ष पदमबहादुर पुनले बताए । रघुगङ्गा गाउँपालिका–४ दग्नाममा सहरी विकास मन्त्रालयको रु एक करोड ५९ लाख र वडा नम्बर ७ चिमखोलामा रु एक करोड ६७ लाख २८ हजार एक सय २६ लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको स्वास्थ्य चौकीमा निलगिरिखोला जलविद्युत् आयोजनाको रु २८ लाख ४९ हजार सहयोगमा निर्माण भएको छकोठे भवनमा प्रसूतिगृह सञ्चालन भएको छ । अन्नपूर्ण–३ दाना र वडा नम्बर ७ हिस्तानको औलामा स्वास्थ्य चौकीको नयाँ भवन निर्माणाधीन छन् । मालिका गाउँपालिका–२ रुममा रु दुई करोड ६४ लाख १४ हजार दुई सय ६२ र वडा नम्बर ३ डाडाँगाउँमा रु एक करोड ५९ लाख ८३ हजार सात सय ७२ लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएको गाउँपालिकाले जनाएको छ । यसैगरी, मङ्गला गाउँपालिका–२ रणवाङमा रु एक करोड ३० लाख र धवलागिरि गाउँपालिका–४ मुदीमा रु ८९ लाखको लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएर सेवा सञ्चालनमा ल्याइसकिएको छ । छवटा स्थानीय तहका ४५ वडा रहेको सदरमुकाम बेनीमा रहेको अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणाधीन छ । धवलागिरिको ताकममा पाँच र मङ्गलाको हाडेभिरमा १० शय्या क्षमताको पालिकास्तरीय अस्पताल भवन निर्माणाधीन छ । अन्नपूर्ण गाउँपालिका–१ दोवामा निर्माण भएको पाँच शय्याको अस्पताल भवन जनशक्ति र उपकरण अभावका कारण सञ्चालन भएको छैन । बेनी नगरपालिका–१ रत्नेचौर, रघुगङ्गा–१ बेग, अन्नपूर्ण–१ दोवा, वडा नम्बर ५ शिख, मालिका–१ निस्कोटस्थित स्वास्थ्य चौकीले पुरानै भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।