विकासन्युज

काठमाडौं महानगरको राजश्व संकलन ३ अर्ब ५४ करोड, पार्किङ र विज्ञापन कर शून्य

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा लक्ष्यको २७ दशमलव ४८ प्रतिशत राजश्व संकलन गरेको छ । महानगरपालिकाले साउनदेखि मंसिर २० गतेसम्ममा विभिन्न शीर्षकतर्फबाट कुल ३ अर्ब ५४ करोड ६७ लाख राजश्व संकलन गरेको जनाएको छ । महानगरपालिकाले पहिलो चौमासिकमा संकलन गरेको रकम गत आवको तुलनामा कम हो । महानगरले गत आवको सोही अवधिमा ३ अर्ब ७२ करोड ४९ लाख राजश्व संकलन गरेको थियो । महानगरपालिकले चालु आवका लागि कुल १२ अर्ब ९० करोड ६३ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । काठमाडौं महानगरले चालु आवको चार महिनामा सबैभन्दा धेरै प्रगति आन्तरिक आयतर्फ गरेको छ । महानगरले आन्तरिक आयतर्फबाट २ अर्ब २८ करोड ८५ लाख राजश्व उठाएको छ । जुन चालु आवको लक्ष्यको २८ दशमलव ४८ प्रतिशत प्रगति हो। महानगरले चालु आवमा आन्तरिक आयबाट ८ अर्ब ३ करोड ५७ लाख राजश्व उठाउने लक्ष्य लिएको थियो । गत वर्षको सोही अवधिमा महानगरले आन्तारिक आयबाट २ अर्ब १४ करोड १६ लाख राजश्व उठाएको थियो । त्यस्तै, आन्तरिक अनुदानबाट ७१ करोड ५७ लाख राजश्व संकलन भएको छ । यो शीर्षकतर्फ महानगरले यस आवमा २ अर्ब ३६ करोड ७८ लाख राजश्व उठाउने लक्ष्य लिएको छ । महानगरपालिकाले राजश्व बाँडफाँडबाट भने लक्ष्यको २१ दशमलव ६७ प्रतिशत अर्थात् ५४ करोड २४ लाख राजश्व प्राप्त गरेको छ । जुन गत वर्षको सोही अवधिको भन्दा २५ करोड ३४ लाखले फरक हो । गत वर्षको सोही अवधिमा २८ करोड ८९ लाख राजश्व संकलन भएको थियो । कुन शीर्षकमा कति ? महानगरले एक अर्ब ७० करोड लक्ष्य राखिएको सम्पत्ति करमा ५५ करोड ८८ लाख रुपैयाँ अर्थात् ३२ दशमलव ८७ प्रतिशत राजस्व संकलन भएको छ । चालु आवमा ३ अर्ब ७१ करोड ८६ लाख लक्ष्य राखिएको घर बहाल करमा एक अर्ब १० करोड ६४ लाख अर्थात २९ दशमलव ७५ प्रतिशत राजस्व संकलन भएको छ । यस वर्ष १ अर्ब ६२ करोड लक्ष्य राखिएको घरजग्गा रजिष्ट्रेसन दस्तुरमा ३३ करोड ४५ लाख रुपैयाँ अर्थात् २० दशमलव ६५ प्रतिशत राजस्व संकलन भएको छ । यस्तै, महानगरले पर्यटन शुल्क १८ करोड ५ लाख लक्ष्य राखिएकोमा ८ करोड ७ लाख अर्थात् लक्ष्यको ४४ दशमलव ७३ प्रतिशत राजश्व उठाएको छ । यस्तै, अन्य बिक्रीबाट ५२ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएकोमा महानगरले चौमासिक अवधिमा २६ लाख ८० हजार राजस्व संकलन गरेको छ । चालु आवको चौमासिकको तथ्यांकअनुसार नाता प्रमाणित दस्तुरबाट १९ लाख ४५ हजार राजश्व संकलन गरेको छ, जुन लक्ष्यको ३२.४२ प्रतिशत हो । चालु आवमा महानगरले यस शीर्षकतर्फ ६० लाख राजश्व संकलन गर्ने लक्ष्य राखको थियो । त्यसैगरी, महानगरपालिकाले प्रशासनिक दण्ड जरिवाना र जफतबाट लक्ष्यको ४३ दशमलव ५४ प्रतिशत अर्थात् एक करोड ८ लाख राजश्व उठाएको छ । चालु आवमा महानगरले प्रशासनिक दण्ड जरिवाना र जफततर्फबाट २ करोड ५० लाख राजश्व उठाउने लक्ष्य लिएकोमा सो बराबर रकम उठेको महानगरले जनाएको छ । महानगरले यस अवधिमा व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट २६ करोड ७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ, जुन लक्ष्यको २७ दशमलव ४५ प्रतिशत हो । महानगरले चालु आवमा यस शीर्षकतर्फबाट ९५ करोड राजश्व उठाउने लक्ष्य राखेको थियो । यसैगरी, महानगरपालिकाले पार्किङ शुल्कमार्फत २ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्म एक रुपैयाँ पनि राजश्व संकलन भएको छैन । पार्किङ शुल्कबाहेक महानगरले वन रोयल्टी, विज्ञापन करबाट पनि राजश्व संकलन गरेको छैन । काठमाडौं महानगरले पछिल्लो समय जथाभावी पार्किङलाई निषेधित गर्दै आइरहेको छ । साथै महानगरले विगतमा पार्किङको अनुमति दिँदै आएका विभिन्न स्थलमा समेत पार्किङ बन्द गरेको छ । महानगरका राजश्व विभागीय प्रमुख दीपक अधिकारीले महानगरले कालोपत्रे सडकहरूमा पार्किङलाई पूर्णरूपमा निषेधित गर्दै लैजाने नीति लिएका हुँदा पछिल्लो समय पार्किङ शुल्कबाट उठ्ने राजश्व उठाउन बन्द गरेको बताए । त्यस्तै, महानगरले काठमाडौंका चोकचोकमा राखिने होडिङ बोर्डलाई पनि पूर्ण रूपमा हटाउने नीतिअनुरूप विज्ञापन कर नउठेको विभागीय प्रमुख अधिकारीको भनाइ छ । मनोरञ्जन कर भने प्रदेश सरकारसँगको समन्वयमा उठ्ने हुँदा तथ्यांक उपलब्ध भइनसेको उनले बताए । यसैगरी, महानगरले नक्सापास दस्तुरबाट १३ करोड ७१ लाख रुपैयाँ अर्थात् लक्ष्यको १३ दशमलव ०६ प्रतिशत राजश्व उठेको छ । महानगरले चालु आवमा यस शीर्षकमा एक अर्ब ५ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । यसबाहेक महानगरले सिफारिस दस्तुरबाट लक्ष्यको ३१ प्रतिशत अर्थात् तीन करोड ४० लाख राजश्व संकलन गरेको छ । महानगरले सिफारिस दस्तुरतर्फ चालु आवमा ११ करोड राजश्व उठाउने लक्ष्य लिएकोमा सो बराबर राजश्व उठेको हो । त्यस्तै, समानीकरण अनुदानतर्फबाट १९ करोड २५ लाख रुपैयाँ राजश्व उठेको छ । यो चालु आवमा लिएको लक्ष्यको २५ प्रतिशत हो । यस आवमा यस शीर्षकतर्फ महानगरले ७७ करोड राजश्व उठाउने लक्ष्य लिएको थियो । यसबाहेक महानगरले चालु आवमा पर्यटन शुल्कबाट ८ करोड ७ लाख, भूमिकर ६५ लाख, शिक्षा क्षेत्रको आम्दानीबाट ५ लाख १५ हजार राजश्व उठेको महानगरले जनाएको छ ।

१६ उच्च करदातालाई नेपाल उद्योग परिसंघको सम्मान

  काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८१ को अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदाताहरूलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रूपमा सम्मान गरेको थियो । सम्मानितमध्ये २ वटा सरकारी लगानी रहेका कम्पनीहरू छन् भने १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो । राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आर्थिक वर्ष २०७८/७९ मा वस्तु निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने करदाता डाबर नेपाल, एकलौटी फर्महरूमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने श्रुति ट्रेडर्स, सूचना प्रविधिसम्बन्धि सेवा निर्यातको कारोबार गर्ने मध्येबाट सबैभन्दा बढी आयकर तिर्ने कोडावतार, कृषि एवं पशुपंक्षीजन्य उद्योगहरूमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने पतञ्जलि आयुर्वेद, बैंक, वित्तीय संस्था र बीमाको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने नबिल बैंकलाई परिसंघले सम्मान गरेको हो । यस्तै, स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने तारागाउँ रिजेन्सी होटेल, यसैगरी, वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी आयकर तिर्ने भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर, ऊर्जामूलक उद्योगमध्येबाट सबैभन्दा बढी आय कर तिर्ने भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आय कर तिर्ने सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई परिसंघले सम्मान गरेको छ । यसैगरी, विसंं २०७५ साउनदेखि २०८१ असार मसान्तसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर र विवरण र सो अवधिको कर समयमै दाखिला गरि नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने होङ्सी शिवम् सिमेन्ट, वार्षिक कारोबार रकम ५० करोडसम्म कारोबार गर्ने करदाताहरूमध्ये आर्थिक वर्ष २०७९/८० को आयविवरण अनुसार सबै भन्दा बढी आयकर तिर्ने सोल्टी इन्टरप्राइजेज्, विशेष उद्योगमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने वरुण वभरेज नेपाल र व्यक्तिगत आय तर्फ सबैभन्दा बढी आय कर तिर्ने जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहलाई परिसंघले सम्मान गरेको छ । शाह परिसंघका उपाध्यक्षसमेत हुन् । आज परिसंघ सचिवालयमा आयोजित सम्मान कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदातालाई सम्मान गरे । उनले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रतिको महत्त्वपूर्ण योगदान भएको बताए । कार्यक्रममा परिसंघ वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, गभर्निङ काउन्सिल सदस्यद्वय विजयकुमार शाह, शशिकान्त अग्रवाल, पदाधिकारी सदस्य छाया शर्मा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।

‘रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खानु हुँदैन’

काठमाडौं । काठमाडौंसहित देशभर अत्यधिक चिसो बढ्न थालिसकेकाले यो मौसममा रुघाखोकी लाग्दैमा औषधि किनेर नखान विज्ञहरूले सुझाव दिएका छन् । जाडो मौसममा विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी स्याहारको आवश्यकता पर्दछ । विज्ञहरूले जाडो मौसममा बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी, रुघाखोकी, घाँटीको सङ्क्रमण, पेट दुखाइलगायत समस्या बढी देखिने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् । कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा रामहरि चापागाईंले जाडोमा विशेषगरी श्वासप्रश्वाससम्बन्धी रुघाखोकी, निमोनिया, ‘कोल्ड डाइरिया’ (चिसोले हुने झाडापखाला) का समस्या बढी देखिने बताए । ‘चिसोबाट बालबालिकालाई जोगाउन पौष्टिक आहारको जरुरत पर्दछ । जुनसुकै समयमा पनि बालबालिकालाई पौष्टिक आहार आवश्यक पर्ने भए पनि जाडोमा अन्य समयमाभन्दा बढी चाहिन्छ । यसले साधारण रोग पचाउन सहयोग गर्छ’, उनले भने । साथै सरकारले उपलब्ध गराएका सबै खोप लगाउनुपर्ने उनको भनाइ छ । ‘खोप लगाएका बच्चालाई अरुलाई भन्दा कम रोग लाग्छ । दादुराको खोप लगाएका बच्चालाई निमोनिया हुने जोखिम कम हुन्छ’, डा चापागाईंले भने । जाडोमा बालबालिका चिसो मानेर नुहाउन नमान्ने, हात खुट्टा धुन गाह्रो मान्ने भएकाले पनि रोगको सङ्क्रमण बढी देखिने उनको भनाइ छ । रुघाखोकी लाग्दैमा औषधि खानु वा खुवाउनु नहुने भन्दै कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा चापागाईंले निरन्तर रुघाखोकी लागेमा विशेषज्ञ चिकित्सको परामर्श लिनुपर्नेमा जोड दिए । डा चापागाईंले भने, ‘सरसफाइमा ध्यान दिन सके जाडो वा गर्मीमा रोग लाग्ने सम्भावना कम रहन्छ । बच्चाहरू चिसोमा नुहाउन अल्छी मान्छन् । सरसफाइ नहुँदा छालाका रोग पनि देखिन सकिन्छ ।’ उनले जाडो याममा कोठा न्यानो राख्न हिटर तथा कोइला बाल्दा जहिले पनि सफा हावाको आवतजावत हुने वातावरण बनाइराख्न र झ्याल तथा ढोका ड्याम्म नलगाउन आग्रह गरे । त्रिवि शिक्षण अस्पतालकी बाल स्वास्थ्य नर्सिङ विभागकी सहप्राध्यापक अप्सरा पाण्डेले जाडो मौसम सुरु भएसँगै अभिभावकले आफ्ना बालबालिकालाई पर्याप्त मात्रामा झोलिलो खान, न्यानो लुगा लगाइदिन, दैनिक १५ देखि ३० मिनेट घाम ताप्न लगाउनेलायत काम गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘घाम ताप्दा शरीरलाई चाहिने भिटामिन डि प्राप्त हुन्छ र प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोग गर्छ । सङ्क्रमणको उच्च जोखिममा रहेका बालबालिकालाई स्वास्थ्यकर्मीको सल्लाह लिएर भाइरल फ्लूविरुद्धको खोपसमेत दिन सकिन्छ । श्वासप्रश्वासको सङ्क्रमण भएका व्यक्तिको सम्पर्कमा जाँदा मास्क लगाइदिनुपर्छ ।’ बाल स्वास्थ्य नर्स डा सुरक्षा सुवेदीले पनि जाडोमा बालबालिकालाई अझ बढी स्याहारको आवश्यकता पर्ने हुनाले तातो तथा झोलिलो खानेकुरामा जोड दिनुपर्ने बताइन् । उनले भनिन्, ‘बिहान र साँझ अत्यधिक चिसो हुने भएकाले बच्चालाई चिसोमा खेल्न दिनुहुँदैन । रुखाखोकी लाग्दैमा जथाभाबी औषधि किनेर खुवाउनु हुँदैन । घरभित्रै उफ्रिने खालका व्यायाम गराउँदा उपयुक्त हुन्छ ।’ डा सुवेदीले बालबालिकालाई राति सुत्ने समयमा न्यानो बनाउन मोजा र टोपी अनिवार्य लगाइदिन अभिभावनलाई आग्रह गरिन् । ‘जाडोमा छाला सुख्खा भइराख्ने हुनाले ‘मोस्चराइजर’ लगाइदिनुपर्छ । हिटर बालेर मसाज गर्दा पनि धेरै बेरसम्म बाल्नुहुँदैन । छालामा असर गर्न सक्छ ।’ कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा चापागाईंले जाडोमा बालबालिकालाई रुघाखोकी बढी देखिने भएकाले अभिभावक आत्तिनु नहुने बताइन् । उनले भनिन्, ‘जाडो याममा बच्चाहरूलाई गर्मीमा भन्दा बढी रुघाखोकी लाग्छ । रुघाखोकी लगाउने भाइरस जाडो मौसममा बच्चाको घाँटीमा बढी समयसम्म रहिरहन्छ । सर्न सक्ने सम्भावना पनि बढी हुन्छ ।’ पौष्टिक आहार, झोलिलो खानपिन, पर्याप्त मात्रामा आराम गर्दा भाइरल रुघाखोकी पाँच–छ दिनमा हराएर जाने डा चापागाईंले बताइन् । उनले रुघाखोकी लाग्दैमा औषधि जथाभावी पसलबाट औषधि किनेर खुवाउन हतार नगर्न अभिभावकलाई सुझाइन् । ‘रुघाखोकी लागेमा न्यानो राख्ने, झोल खानेकुरामा ध्यान दिने र आराम गराउँदा बच्चा निको हुन्छ । रुघाखोकीसँगै सास फेर्न गाह्रो भएमा, कोखा हानेमा, धेरै ज्वरो आएमा, बच्चाले खाना कम गरेमा स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ’, बालरोग विशेषज्ञ डा चापागाईंले भनिन् ।

वीरगञ्ज भन्सारको विस्तारित सेवा पुसदेखि, बैंक, क्वारेन्टाइनलगायत सबै सेवा थप

वीरगञ्ज । वीरगञ्जका दुवै भन्सार कार्यालयको आगामी पुस १ गतेदेखि दैनिक थप दुई घण्टा भन्सारको सेवा विस्तार गर्ने भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको व्यापार सहजीकरण समितिको बैठकले आगामी पुस १ गतेदेखि वीरगञ्ज भन्सारमा वस्तु तथा सामानको जाँचपाँस र यात्रुको जाँचपासका लागि थप दुई घण्टा सेवा विस्तार गर्ने निर्णय गरेको हो । पर्साका प्रजिअ अर्यालले भन्सार जाँचपासको प्रक्रियालाई सहज बनाउन दुई घण्टा थप सेवा विस्तार गर्न लागिएको जानकारी दिए । ‘भन्सार जाँचपासको प्रक्रिया अहिले बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म मात्रै हुँदै आइरहेको थियो । यसले भन्सार जाँचपास गर्ने व्यवसायी र यात्रु दुवैलाई मर्का परेको गुनासो आएको थियो,’ उनले भने, ‘व्यापार सहजीकरणको बैठकले बिहान ५ बजेदेखि बेलुका ११ बजेसम्म भन्सारको सेवा विस्तारित गर्ने निर्णय गरेको छ ।’ वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले थप दुई घण्टा विस्तारित समयमा बैंक, क्वारेन्टाइनलगायत सबै सेवा थप हुने जानकारी दिए । ‘यसले व्यापारी तथा यात्रु दुवैलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा राखेका छौं,’ उनले भने । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले भन्सारको सेवा थप भएसँगै भन्सार जाँचपास गर्ने व्यापारी तथा व्यवसायीलाई सहज हुने बताए । उनका अनुसार वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी र सिर्सियास्थित सुख्खाबन्दरगाह भन्सार कार्यालय छन् ।

प्रधानमन्त्रीको चीन भ्रमणले नेपालमा लगानी गर्न राम्रो वातावरण बनेको छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपालमा लगानीका लागि राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफल भएको बताएका छन् । प्रधानमन्त्रीको चीन भ्रमणपछि बिआरआईको कार्यन्वयनबारे अध्यक्ष ढकालले यस्तो बताएका हुन् । भ्रमण दलका सदस्य समेत रहेका अध्यक्ष ढकालले भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावित क्षेत्र, विद्यमान कानून, निजी क्षेत्रले लिने पहल लगायतका बारेमा चिनियाँ व्यवसायीहरुलाई जानकारी गराउने राम्रो अवसर मिलेको बताए । परम्परागत कानून परिमार्जन,वैदेशिक लगानी सहजीकरणका बारेमा पनि दुई पक्षबीच राम्रो छलफल भएको जानकारी दिए । क्रेडिट रेटिङ हुनु आफैँमा राम्रो भएको भन्दै त्यसमा पनि सुधारोन्मुख हुनुले नेपालमा लगानीको लागि उपयुक्त अवसरको सन्देश प्रवाह भएको दाबी गरे । अध्यक्ष ढकालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख शहरबाट सिधा उडानका लागि पनि छलफल गरेको बताए । ‘क्रेडिट रेटिङ हुनु आफैँमा राम्रो हो र त्यसमा पनि सुधारोन्मुख हुनुले नेपालमा लगानीको लागि उपयुक्त अवसरको सन्देश प्रवाह भएको छ । पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख शहरबाट सिधा उडानका लागि पनि हामीले आग्रह गरेका छौँ’, उनले भने । अध्यक्ष ढकालले २०२५ लाई चीनले नेपाल भ्रमण वर्ष घोषणा गर्नु पर्यटनका लागि सुखद् रहेको बताए । सडक, हवाई, रेल र सञ्चार सञ्जालको विकासबाट जोडिनुुपर्ने कुरा प्राथामिकताका साथ राखेको जानकारी दिए ।

सवारी पार्टपुर्जामा मनलाग्दी मूल्य, महँगीको मारमा उपभोक्ता

काठमाडाैं । गत साउनमा विशाल भण्डारी (नाम परिवर्तन) बजाजको एनएस १६० पल्सर मोटरसाइकलमा सामाखुसीदेखि ठमेलतिर जाँदै थिए । सोही क्रममा पछाडिबाट एउटा यूनिकन मोटरसाइकलले उनको मोटरसाइकललाई ठक्कर दियो । एनएसको फुटरेष्ट (मोटरसाइकलको पछाडि बस्ने यात्रुले खुट्टा अड्याउने पार्ट्स) भाँच्चियो । भण्डारीले सो फुटरेष्ट परिवर्तन गर्न नजिकैको वर्कसपमा गए । वर्कसप पसलको व्यापारीले त्यसको मूल्य १ हजार ५ सय रुपैयाँ भनेपछि भण्डारीले त्यहाँ फुटरेष्ट चेन्ज गरेनन् । भाँचिएको फुटरेष्ट भएको मोटरसाइकल दौडाउँदै उनी टेकु पुगे । टेकुमा रहेको एउटा पार्ट्स पसलमा गएर उनले फुटरेष्टको मूल्य सोधे । पसलका साहुले भने, ‘यसको मूल्य ८ सय रुपैयाँ पर्छ, ओरिजिनल सामान हो ।’ वर्कसपका साहुले भनेको भन्दा करिब आधा नै सस्तो पाउँदा भण्डारी खुसी भए । र, उनले अझै सस्तो पाइन्छ कि भनेर अर्काे दुइवटा पसलमा सोध्न थाले । पसलअनुसार सामानको मूल्य फरक-फरक सुनेपछि विशाल अचम्ममा परे । कुनै पसलेले ८ सय, कसैले ९ सय र कसैले एक हजार रुपैयाँ मूल्य भनेपछि उनी दोधारमा परे । कुन सक्कली र कुन नक्कली ? कुन किन्ने ? भन्नेमा उनी दोधारमा परे । दोधारका बीच भण्डारीले बुद्धनगरमा रहेको बजाजको आधिकारिक सर्भिस सेन्टरमा नै गएर त्यो पार्ट्स फेर्ने निधो गरे । सर्भिस सेन्टरले त्यसको मूल्य १२ सय भन्यो । सर्भिस सेन्टरको ओरिजिनल हुने भन्दै उनले १२ सयमा फुटरेष्ट फेरे । यसैगरी, दोलखाका केशव अधिकारी (नाम परिवर्तन)को यूनिकन मोटरसाइकललको ईन्धन ट्याङकीको ढकनी परिवर्तन गर्नु पर्ने अवस्था आयो । उनले बानेश्वरको एक वर्कसपमा गएर नयाँ ढकनीको मूल्य सोधे । पसलेले एक हजार रुपैयाँ लाग्ने बताए । अझै सस्तो पाइन्छ कि भनेर उनी टेकु पुगे । टेकुमा एक पसलमा सोधदा त्यसको मूल्य ९ सय रुपैयाँ भनेपछि अन्य पसलमा पनि उनी सोध्दै गए । एक पसलेले ७ सय भनेपछि उनले ७ सयमा नयाँ ढकनी जडान गरे । यसरी एउटै सामानको मूल्य ठाउँअनुसार फरक-फरक मूल्य बताएपछि अधिकारीले निकै झन्झट बेहोर्नुपर्‍यो । कुनै पसलेले ओरिजिनल हो भन्दै महँगो महँगो मूल्य भने पनि ओरिजिनल भएको प्रमाण कसैले दिन भने सकेनन् । भण्डारी र अधिकारीले पार्ट्सको मूल्य एउटै नभएका कारण र बजारमा डुब्लिकेट सामान पनि छ्यापछ्याप्ती भएका कारण धेरै हैरानी बेहोरे । भण्डारी र अधिकारी यस प्रकारको हैरानी बेहोर्ने एक उदाहरणमात्रै हुन् । बजारमा डुब्लिकेट पार्ट्स र स्पष्ट मूल्य नहुँदा यस प्रकारको हैरानी बेहोर्ने उपभोक्ताहरू प्रशस्तै रहेका छन् । यसरी उपभोक्ता ठगीमा परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्त संरक्षण विभागमा उजुरी गर्ने उपभोक्ताको संख्या पनि धेरै छ । यसरी उपभोक्ताहरूको गुनासो आउन थालेपछि वाणिज्य विभागले अटोमोबाइल्स व्यवसायीसँग छलफल नै गर्‍यो । साथै, यस प्रकारको डुब्लिकेसनलाई कसरी समाधान गर्न सकिन्छ भनेर विभागले अटो व्यवसायहरूको छाता संगठन नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालसँग राय पनि माग्यो । गत शुक्रबार मसिंर १४ गते वाणिज्य विभाग, नाडाका पदाधिकारीहरू, पार्ट्स विक्रेता व्यवसायी, लुब्रिकेन्ट विक्रेता व्यवसायीबीच छलफल पनि भयो । विभागका निर्देशक डिकबहादुर कार्कीको अध्यक्षतामा सरोकारवाला निकायबीच छलफल भएको कार्कीले बताए । विभागका सूचना अधिकारीसमेत रहेका कार्कीका अनुसार शुक्रबार डुब्लिकेसनलगायत अन्य विभिन्न विषयमा छलफल भएको थियो । पार्ट्सको डुब्लिकेसनको समाधानका लागि भने नाडाले विभागलाई लिखित सुझाव दिएको कार्कीले जानकारी दिए । नाडाका अनुसार पार्ट्सहरू अत्यधिक सानासमेत हुने भएकाले यसमा मूल्य सूची टाँस्न सम्भव नभएको सुझाव विभागलाई दिइएको छ । यस्तै, एउटा सवारीसाधनमा १८ हजार प्रकारका स्पेयर पार्ट्सहरू लाग्ने भएकाले यसको मूल्य सूची टास्ने काम आंशिक रूपमा मात्र लागु गर्न सकिने नाडाको भनाइ छ । नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले केही पार्ट्सहरू अत्यधिक साना भएकाले मूल्य टाँस्न सम्भव नरहेको बताए । उनले उपभोक्ता नठगिऊन् भनेर यसबारे के गर्न सकिन्छ, आफूहरूले सक्दो प्रयास गर्ने उल्लेख गर्दै सम्भव भएसम्म मूल्य सूची टाँस्ने बताए। मूल्य सूची टाँस्ने प्रक्रिया पनि खर्चिलो, झण्झटिलो भएकाले साना आयातकर्ताले सूची टाँस्न गाह्रो हुने उनको भनाइ छ । यस्तै, नाडाको जवाफअनुसार विभागले मूल्य (एमआरपी) टाँस्न नसकिने पार्ट्सहरूको लिष्ट माग गरेको सूचना अधिकारी कार्कीले जानकारी दिए । नाडाले साना स्पेयर पार्ट्सको लिष्ट दिएपछि विभाग कसरी अघि बढ्छ भन्ने प्रश्नमा उनले भने,  ‘अन्तर्राष्ट्रिय अभ्यास के छ त्यसको अध्ययन गरेर के गर्न सकिन्छ भन्ने विषयमा हामि छलफल गर्छौं ।’

एक महिनामै क्रिप्टोकरन्सीको छलाङ, १७३ प्रतिशतसम्म रिटर्न

काठमाडौं । अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव जितेको एक महिना पूरा भएको छ । धेरै क्रिप्टोकरेन्सीले यो एक महिनामा लगानीकर्ताहरूलाई प्रतिफल दिएका छन् । क्रिप्टोकरेन्सीमध्येको एकले एक महिनामै १७० प्रतिशतभन्दा बढी रिटर्न दिएको छ । योसँगै विश्वकै महँगो क्रिप्टोकरेन्सी बिटकोइनको मूल्य पनि आकाशिएको छ । क्रिप्टोकरेन्सी बढ्नुको सबैभन्दा ठूलो कारण ट्रम्प स्वयं हुन् । उनले चुनावी अभियानका क्रममा क्रिप्टोकरेन्सीलाई समर्थन गरेका थिए । विश्वका धनी व्यक्ति एलन मस्कले पनि क्रिप्टोकरेन्सीको समर्थनमा वकालत गर्दै आएका छन् । अमेरिकामा भएको चुनावमा मस्कले ट्रम्पलाई खुलेर समर्थन गरेका थिए । ट्रम्पले मस्कलाई सरकारी दक्षता विभागको प्रमुख बनाएका छन् । ट्रम्पले अमेरिकाको धितोपत्र तथा विनिमय आयोग सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनको नेतृत्वका लागि पल एट्किन्सलाई मनोनयन गरेको घोषणा गरेका छन् । एट्किन्ससँग टोकन एलायन्सको सह-अध्यक्षको रूपमा क्रिप्टोकरेन्सी नीतिमा अनुभव छ । डगकोइन डगकोइन क्रिप्टोकरेन्सी पछिल्लो एक महिनामा द्रुत रूपमा बढेको छ । यो मुद्रा मस्कको मनपर्ने मुद्रा पनि हो । साथै, यसको मूल्य पनि एकदम कम छ । नोभेम्बर ५ मा यसको मूल्य २१.७७ रुपैयाँ थियो । शुक्रबार दिउँसो २ बजे यसको मूल्य ५९.३७ पुगेको छ । यसले एकै महिनामा लगानीकर्तालाई १७३ प्रतिशत रिटर्न दिएको छ । शिबा इनु शिबा इनु एक महिनामा सबैभन्दा बढी प्रतिफल दिने प्रमुख क्रिप्टोकरेन्सीहरूमध्ये दोस्रो स्थानमा छ । यस मुद्राको सबैभन्दा विशेष कुरा यो हो कि यसको मूल्य एक रुपैयाँभन्दा धेरै कम छ । अक्टोबर २०२१ मा यो मुद्रा एकैपटक एक हजार एक सय प्रतिशतभन्दा बढीले बढेको थियो । नोभेम्बर ५ मा यसको मूल्य ०.००१४ रुपैयाँ अर्थात एक पैसाभन्दा कम थियो । आज दिउँसो २ बजे यसको मूल्य ०.०० २६ रुपैयाँ थियो । यो एक महिनामा यो मुद्राले लगानीकर्तालाई करिब ८६ प्रतिशत प्रतिफल दिएको छ । बिटकोइन यो सबैभन्दा महँगो मात्र होइन, सबैभन्दा चर्चित क्रिप्टोकरेन्सी पनि हो । एउटा क्रिप्टोकरेन्सीको मूल्य लाखौं रुपैयाँ हुन्छ । हालै यसको मूल्य एक लाख डलर नाघेको छ । यसलाई टुक्रामा पनि किन्न सकिन्छ । नोभेम्बर ५ मा, एक बिटक्वाइनको मूल्य लगभग ९१.९५ लाख रुपैयाँ थियो। अहिले त्यो बढेर १३३.२८ लाख पुगेको छ । अर्थात् एक महिनामा लगानीकर्तालाई करिब ४५ प्रतिशत रिटर्न दिएको छ ।

संघीय मामिलाले भन्यो : शिक्षकलाई मासिक तलब दिनु

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकको तलब मासिकरूपमा उपलब्ध गराउन सबै स्थानीय पालिकालाई पत्राचार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय मन्त्रालयलाई ताकेता गरेपछि सबै पालिकालाई शिक्षकको तलब उपलब्ध गराउन पत्राचार गरेको हो । ‘शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा परिपत्र पठाउने भनी अनुरोध भई आएको हुँदा पत्रको छायाँ प्रति यसै साथ संलग्न गरी आवश्यक जानकारी तथा कार्यार्थ पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ,’ संघीय मन्त्रालयको पत्रमा छ । शिक्षकहरूले तलब नपाएको गुनासो गरेपछि शिक्षा मन्त्रालयले स्थानीय सरकारलाई तलब उपलब्ध गराउन भनेको थियो । तर, कतिपय पालिकाले तलब उपलब्ध नगराएपछि शिक्षा मन्त्रालयले संघीय मन्त्रालयमार्फत पत्र पठाएको थियो ।