विकासन्युज

मुस्ताङको ९ हजार फिट उचाइमा भिजी मोटर्सको फास्ट चार्जिङ स्टेसन

काठमाडौं । भिजी मोटर्सले ८,९९९ फिट उचाइमा कमर्सियल विद्युतीय सवारीसाधनको फास्ट चार्जिङ स्टेसन सुरु गरेको छ । मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका- ४ जोमसोममा रहेको उक्त चार्जिङ स्टेसनको उद्घाटन मुस्ताङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले गरे । उक्त चार्जिङ स्टेसनमा ३२ किलोवाट क्षमताको एउटा डीसी फास्ट चार्जर राखिएको छ । यसले ४५ मिनेटमै विद्युतीय सवारीसाधनको ब्याट्री फुल चार्ज गर्न सक्छ । यसबाट विद्युतीय सवारीसाधन लिएर मुस्ताङ पुग्ने यात्रु तथा मुस्ताङका विद्युतीय सवारी प्रयोगकर्तालाई सुविधा हुने अपेक्षा गरिएको छ । भिजी मोटर्स प्रालि नेपालका लागि एसआरएम र जोलङ ब्रान्डका विद्युतीय सवारीसाधनको आधिकारिक वितरक हो । भिजी मोटर्सले एसआरएम र जोलङ ब्रान्डका विद्युतीय सवारीसाधन आयात गरी बिक्री वितरण गरिरहेको छ । एसआरएम एकपटकको फुल चार्जमा ३०० किलोमिटर कुद्ने भ्यान हो र यो ११ सिटर, २ सिटर र ५ सिटरमा उपलब्ध छ । एसआरएमका भ्यानहरू स्कुल, कलेज, कर्पोरेट हाउस, होटल, ट्राभल कम्पनी, अस्पताल, सरकारी निकाय, कमर्सियल ट्रान्सपोर्टर, नगरपालिका लगायतका लागि निकै उपयोगी छन् । एसआरएम भ्यानमा शक्तिशाली लिथियम ब्याट्री प्रयोग गरिएको छ । कम्पनीले जोलङको ईए फोर,  ईए फाइभ र ईए सिक्स नेपाली बजारमा भित्र्याएको छ । जोलङ ईए फाइभ १७ सिटको मिनी भ्यान हो । ६०.१ किलोवाट आवरको ब्याट्री रहेको यो भ्यानले एकपटकको चार्जमा ३०० किलोमिटर माइलेज दिन्छ । ईए सिक्स २० सिटको भ्यान हो । यसमा ८६.१ किलोवाट आवरको ब्याट्री छ, जुन एकपटकको चार्जमा ४०० किलोमिटर कुद्छ ।  

निर्वाचनको क्रममा जनाएको प्रतिबद्धता नै पहिलो प्राथमिकतामा छ : नवनिर्वाचित अध्यक्ष ढकाल

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबान)को नवनिर्वाचित अध्यक्ष सागर ढकालले निर्वाचनको क्रममा जनाएका प्रतिबद्धतालाई नै पहिलो प्राथामिकतमा रहेर काम गर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको सपथ तथा पदभर ग्रहण कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । ‘निर्वाचनको बेला गर्छु भनेर प्रतिबद्धता गरेका विषयलाई कार्यान्वयन गर्दै लैजाने छौं,’ उनले भने, ‘दुई वर्षको अवधिमा हामीले धेरै काम गर्नुपर्ने जिम्मेवारी थपिएको छ । त्यसमा नियामक निकाय धितोपत्र बोर्डलगायत तपाईंहरूको सबैको साथ र सहयोगको अपेक्षा लिएको छु ।’ निर्वाचनको क्रममा आफूले गर्न सक्ने कामलाई मात्रै गर्छु भनेर प्रतिबद्धता जनाएको र त्यसलाई नै सकारात्मक रूपमा लिएर अघि बढ्ने उनको भनाइ थियो । त्यस्तै, नवनिर्वाचित एसबानका अध्यक्ष ढकालले २३ वर्षपछि ऐन संशोधन भएकाले त्यसमा पुँजीबजारका धेरै विषय समेट्नुपर्ने हुँदा त्यसमा नियामक निकायले सहयोग गर्न अनुरोध गरे । एसोसिएसनको ३०औं साधारणसभाले आगामी दुई वर्षका लागि ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । जसको अध्यक्षमा सागर ढकालले बाजी मारेका थिए । प्रतिद्वन्दी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनमा ढकालले ८८ मतमध्ये ४५ मत ल्याएर जीत हात पारेका हुन् । उनका प्रतिद्वन्द्वी तिमिल्सिनाले ४३ मत प्राप्त गरेका थिए । बिहीबार सर्वसम्मत रूपमा एसोसिएसनको अध्यक्ष चुन्ने प्रयास भए पनि पनि तिमिल्सिना र ढकालबीच सहमति नजुटेपछि शुक्रबार निर्वाचन भएको थियो । कार्यसमिति उपाध्यक्षमा नितेश अग्रवाल, महासचिव भक्तिराम घिमिरे, कोषाध्यक्ष मदन पौडेल र सचिवमा विनय पौडेल निर्वाचित भएका छन् । सदस्यमा विशालकुमार अग्रवाल, प्रियन्सु अग्रवाल, जयन्त श्रीवास्तव र जेलिना कँडेल छन् । यसअघि ब्रोकर कम्पनीका दुई एसोसिएसन स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन नेपाल रहँदै आएकोमा २८ कात्तिकदेखि मर्ज भएर एउटै बनेको थियो ।

एक रात बस्न लाखसम्म तिर्नुपर्ने होटल, यस्तो छ १० होटलको रुमरेट

काठमाडौं । एक दशकअघि नेपालमा ठूला होटल (तारे होटल) हरूको संख्या न्यून थियो । अहिले होटलको संख्या पनि बढेको छ । नेपालमा १० वर्षअघिदेखि सञ्चालनमा रहेका पाँचतारे होटलहरूमा द एभरेष्ट होटल, द सोल्टी होटल, याक एण्ड यति, हायातलगायत हुन् । होटलको संख्या वृद्धि भएसँगै आजको दिनसम्म आइपुग्दा तारे होटलको एक रातको रेट दोब्बरले वृद्धि भएको छ । नेपाल होटल संघका महासचिव साजन शाक्य नेपालमा चेन होटलहरू सञ्चालनमा आउनु र नयाँ होटलको संख्या बढ्न थालेसँगै होटलको रेट ह्वातै बढेको बताउँछन् । शाक्यका अनुसार एक दशकअघि पाँचतारे होटलहरुको रुम रेट सामान्यतया १२० डलरदेखि १५० डलरसम्म उपलब्ध हुन्थ्यो । हाल पाँचतारे होटलहरूले कोठाको मूल्य एक रातकै दुई सय डलरदेखि पाँच सय डलरसम्म तोकिसकेका छन् । जुन नेपाली रुपैयाँ २७ हजारदेखि ६७ हजार रुपैयाँ हो । औसतमा हाल पाँचतारे होटलहरूको रुम रेट नै १५० डलर हो । अझ अहिले धेरैजसो तारे होटलहरूमा लक्जरियस रुम आइसकेका हुनाले त्यसको रेट एक लाखभन्दा माथिसम्म पर्ने संघका महासचिव शाक्यले सुनाए । विश्वभरी महामारीको रूपमा फैलिएको कोभिड- १९ को समयमा भने पाँच तारे होटलहरूको रुम रेट ह्वातै घटेको संघका महासचिव शाक्यले बताए । उनका अनुसार उक्त समयमा पाँच तारे होटलको कोठाको मूल्य दैनिक ५० डलरको हाराहारीमा झरेको थियो । कोभिडका कारण पर्यटक आगमन ठप्प हुनु र धेरैजसो होटलहरू बन्द भएका कारण कोठाको मूल्य पनि घट्न पुगेको उनले सुनाए । महासचिव शाक्यका अनुसार होटलहरूले अहिले वार्षिक ३० लाख पर्यटकलाई ८ देखि १० दिनसम्मको लागि राख्न सक्ने क्षमता भइसकेकेको छ । द सोल्टी काठमाडौंमा रहेको सुविधा सम्पन्न होटल द सोल्टीमा एक रातको एउटा कोठाको मूल्य न्यूनतम १८ हजार ३२६ रुपैयाँदेखि ७१ हजार रुपैयाँसम्म रहेको छ । यसले स्वीट्स रुमको ६३ हजार १२२ रुपैयाँ चार्ज लिँदै आएको छ । चन्द्रगिरी हिल्स अन्तर्राष्ट्रियस्तरको सुविधाले सम्पन्न चन्द्रगिरी हिल्समा एक रातको एउटा रुमको रेट २५ हजार ३९१ रुपैयाँदेखि माथि रहेको छ । उक्त होटलमा डिलक्स रुमको रेट २३ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म रहेको छ । माउन्टेन भ्यू हेर्न मिल्ने डबल बेड भएको रुमको २५ हजारदेखि २६ हजार रुपैयाँसम्म र किङ बेड रुमको २९ हजार रुपैयाँसम्म तोकेको छ । द एभरेष्ट होटल काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित द एभरेष्ट होटलमा एक रातको एउटा रुमको रेट १७ हजार ३७५ रुपैयाँदेखि माथि रहेको छ । उक्त होटलमा डिलक्स डबल रुमको २३ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म तोकेको छ । त्यस्तै, होटलले माउन्टेन भ्यूसहितको डबल बेडको २५ देखि २६ हजारसम्म र किङ रुमको २६ देखि २९ हजारसम्म मूल्य तोकेको छ । हिल्टन काठमाडौं काठमाडौंमा रहेको चेन होटल हिल्टनमा एक रातको कोठाको मूल्य न्यूनतम २३ हजार रुपैयाँदेखि माथि छ । होटलले प्रिमियम टुइन रुमको मूल्य २५ हजारदेखि ४२ हजारसम्म तोकेको छ । त्यस्तै, एक्सक्युटिभ किङ रुमको न्यूनतम ३१ हजार रुपैयाँदेखि ४८ हजारसम्म, एक्सक्युटिभ टुइन रुम ३१ हजार रुपैयाँदेखि ४४ हजार, प्रिमियम किङ रुमको मूल्य ३६ हजार रुपैयाँदेखि ५३ हजार र किङ स्वीटको मूल्य ५० हजारदेखि ६७ हजारसम्म तोकेको छ । हायात प्लेस काठमाडौं धेरैलाई हायात होटलमा बस्न सकिँदैन, त्यहाँको रुम रेट महँगो लाग्न सक्छ । तर हायात प्लेस होटलमा एउटा कोठाको मूल्य न्यूनतम १६ हजार रहेको छ । त्यस्तै, एउटा रुममा दुईटा बेड भएको कोठाको मूल्य पनि १६ हजार रुपैयाँदेखि १८ हजार रुपैयाँसम्म रहेको छ । हायातले दुईवटा बेडसहित बौद्धनाथ स्तुप हेर्न मिल्ने कोठाको मूल्य १८ हजारदेखि २० हजार रुपैयाँसम्म निर्धारण गरेको छ । हायातमा क्लबसहितको रुम पनि रहेको छ । जसको एक रातको मूल्य २२ हजार रुपैयाँदेखि २५ हजारसम्म तोकेको छ । हायातमा २ लाख रुपैयाँसम्मको कोठाको रेट रहेको छ । द मल्ल होटल द मल्ल होटलमा एउटा कोठाको मूल्य न्यूनतम १४ हजार ९८५ रुपैयाँ रहेको छ । त्यहाँ डिलक्स रुमको १७ हजार ७१० रुपैयाँ (सिंगल बेड) र डबल बेडका लागि १९ हजार रुपैयाँ रेट तोकिएको छ । त्यस्तै, जुनियर स्वीट रुमको २० हजार १३५ रुपैयाँदेखि २१ हजार ७९७ रुपैयाँसम्म छ । मल्ल होटलमा डिलक्स रुमको ४० हजार ८७० रुपैयाँदेखि ४३ हजार रुपैयाँ तोकिएको छ । अलप्ट, काठमाडौं ठमेलमा रहेको अलप्ट होटलमा एउटा रुम न्यूनतम १४ हजार ८४९ रुपैयाँमा उपलब्ध हुन्छ । त्यहाँ क्लब, लञ्जसहितको सिंगल बेडको रेट २० हजारदेखि २१ हजारसम्म तोकिएको छ । अन्य कोठाहरूको मूल्य पनि अलप्टले त्यहीअनुसारको रेट तोकेको छ। अकामा होटल, काठमाडौं धुम्बाराहीमा रहेको अकामा होटलमा एउटा कोठाको रेट २४ हजार हजारदेखि माथि छ । अकामामा सुपर किङ र टुइन रुमको २७ हजार रुपैयाँ, डिलक्स रुम २९ हजार ९७१ रुपैयाँ रहेको छ । यसैगरी, स्वीट रुमको ४० हजार ८७० रुपैयाँदेखि ५४ हजार ४९३ रुपैयाँ तोकिएको छ । अकामामा एक रातको ६८ हजार रुपैयाँको कोठासमेत रहेको छ । याक एण्ड यति नेपालमा पाँच तारे होटलमध्ये एक याक एण्ड यतिमा एक रातको एउटा कोठाको मूल्य न्यूनतम २० हजार रुपैयाँ रहेको छ । यहाँ १ लाख ५१ हजार रुपैयाँसम्मको कोठा पाइन्छ । उक्त होटलमा डिलक्स रुम २० हजारदेखि २५ हजारसम्मको रहेको होटलले जनाएको छ । क्लबसहितको कोठाको रेट ३० हजार रुपैयाँदेखि ३४ हजार, स्वीट रुमको ६८ हजारदेखि डेढ लाखसम्मको रेट तोकिएको छ । होटलहरूको पछिल्लो अवस्था र सम्भावना नेपाल पर्यटन विभागका अनुसार पछिल्लो समय होटलहरूको संख्या ११२ पुगिसकेको छ । जसमध्ये २६ वटा पाँचतारे होटल सञ्चालनमा आइसकेका छन् । यसमा पनि तीनवटा पाँचतारे (डिलक्स) रहेका छन् । त्यस्तै, ३९ चारतारे, ४० तीनतारे, ५२ दुईतारे र ४७ वटा एकतारे होटलको संख्या पुगेको छ । नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने क्षेत्रमध्ये होटल क्षेत्र पनि एक हो । नेपालमा धेरै मात्रामा पर्यटक भित्र्याउन सकियो भने र सरकारले त्यहीअनुसार होटल क्षेत्रमा साथ दिएको अवस्थामा होटल व्यवसायमा राम्रो सम्भावना भएको होटल संघका महासचिव शाक्यको भनाइ छ । होटल व्यवसायको चुनौती  शाक्यका अनुसार पछिल्लो समय होटल व्यवसायले खासै राम्रो गर्न नसकेपनि लगानी गरिसकेको हुनाले त्यसलाई जसरी पनि उठाउनुपर्ने ठूलो चुनौती छ । ‘अहिलेको अवस्थामा होटलहरूले त्यति राम्रो गरेका पनि छैनन्, खासै घाटामा पनि छैनन् । व्यवसाय ४० प्रतिशतमात्रै छ । जबकि होटलहरूको खर्च नै ४० प्रतिशत छ,’ महासचिव शाक्यले भने । होटल निर्माणमा ठूलो लगानी लागेको हुँदा व्यवसायीहरूलाई ठूलो चुनौती छ । नेपालमा पर्यटनको वृद्धि बढाउन सकेसँगै होटल व्यवसायी पनि फस्टाउँदै जाने सम्भावना देखिन्छ । होटलहरूले पनि विगतका तुलनामा पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरको सेवासुविधाहरू बढाउँदै लगेका छन् । होटलमा त्यहीअनुसारको नयाँनयाँ इक्युपमेन्टको प्रयोग हुन थालेको छ । पर्यटन बोर्डका प्रवक्ता कालीप्रसाद भुजेल पछिल्लो तथ्यांकमा विदेशी पर्यटकको संख्या उल्लेखनीय रूपमा वृद्धि भएका हुनाले यसले होटल व्यवसायीलाई ठूलो राहत पुग्ने बताउँछन् । साथै पछिल्लो समय आन्तारिक पर्यटकको संख्या पनि बढ्दो भएकाले व्यवसायीहरूले निराशा नै हुनुपर्ने अवस्था नभएको पनि उनले बताए । उनका अनुसार यो वर्ष पनि तीनवटा नयाँ पाँचतारे होटल थपिनु र बाँकी चारवटा पाइपलाइनमा हुनु भनेको होटल व्यवसायमा सम्भावना नै रहेको भन्ने बुझिन्छ ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले लाभांश नदिने

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । योसँगै सेयरधनीको हात खाली हुने भएको छ । बैठकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउन निर्णय पनि गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेस गरिनेछ ।

जीएसई ईभी नेपालमा सार्वजनिक, मूल्य ५४ लाख

  काठमाडौं । नेपालमा जेएमईभी जीएसई इलेक्ट्रिक गाडी सार्वजनिक भएको छ । शौर्य अटोमोबाइल्स प्रालिले जेएमईभी जीएसई सार्वजनिक गरेको हो । शौर्यले प्रिमियम सेडानको रूपमा ख्याति कमाएको जेएमईभी जीएसई ईभी सार्वजनिक गरेको हो । जेएमईभी जीएसईको ब्याट्री क्षमता ४९ किलोवाट रहेको छ । यो गाडी एकपटक चार्ज गरेपछि ४२० किमीसम्म गुड्न सक्छ । यसको ग्राउन्ड क्लियरन्स १७० मिमी रहेको छ । गाडीमा रहेको प्यानोरामिक मूनरुफले यात्रालाई झन् अद्वितीय बनाउने विश्वास कम्पनीको छ । यसमा ३६०° एभीएम भिजुअल सिस्टम रहेको छ । जेएमईभी जीएसई अहिले ५३ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएकाे छ । ग्राहकहरूले शौर्य अटोमोबाइल्सको दरबारमार्गस्थित रहेको शो-रुममा यस गाडीको अनुभव लिन र टेस्ट ड्राइभ बुक गर्न सक्नेछन् । सार्वजनिक समारोहमा बोल्दै शौर्य अटोमोबाइल्सका कार्यकारी निर्देशक निर्देशक अखिल गुप्ताले भने विश्वव्यापी ईभी नेपालमा ल्याउन पाउँदा खुसी लागेको बताए । जिआइसी जियाङतिङ ग्रुप इलेक्ट्रिक भेइकल कम्पनी लिमिटेड (आईएमईभी) द्वारा निर्मित जीएसई ईभी नवपर्यावहनको उच्चतम स्तरको प्रतिबिम्ब हो । सन् २०१५ मा स्थापना भएको जेएमईभी चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयबाट ईभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनीहरूमध्ये एक हो । सन् २०१९ मा रिनल्ट समूहले आईएमईभीमा ५० प्रतिशत हिस्सेदारी प्राप्त गरेपछि यसको विश्वव्यापी प्रतिष्ठा झनै मजबुत भएको शौर्य अटोमोबाइल्सले जनाएको छ ।

बुटवल-बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न, १२ सय मेगावाट विद्युत् भार बोक्न सक्ने

काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढ एवम् विश्वसनीय बनाउन, पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबीचको द्विपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार विस्तारका लागि नयाँ बुटवल-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसनबाट सोही जिल्लाको बर्दघाट नगरपालिका–५ सम्मको साढे २१ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न गरी बिहीबारबाट सञ्चालन (चार्ज)मा ल्याइएको छ । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनदेखि नयाँ बुटवलसम्मको २२० केभी प्रसारण लाइनलाई चार्ज गरिएको हो । नयाँ बुटवल–बर्दघाट प्रसारण लाइन सञ्चालनमा आएसँगै नयाँ बुटवलबाट हेटौंडासम्म २२० केभी प्रसारण लाइन पूर्वाधार संरचना तयार भएको छ । प्रसारण लाइनले करिब १ हजार २ सय मेगावाट विद्युत् भार बोक्न सक्ने छ । कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न म्याग्दीको दानाबाट सुरु भई नयाँ बुटवल सबस्टेसनमा अन्त्य हुने कालीगण्डकी करिडोर र नयाँ बुटवल-नयाँ भरतपुर-हैटौंडासम्मको २२० केभी प्रसारण लाइन लिङ्क बनेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भरतपुरबाट पूर्व–पश्चिम विद्युत प्रवाहका लागि २२० केभीको मेरुदण्ड तयार भएको र यसबाट भोल्टेजमा सुधार भई समग्र प्रणालीको विश्वसनीयता बढ्ने बताए । ‘आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् ढल्केबर हुँदै भारततर्फ निर्यात गर्न र हिउँदयाममा अपुग विद्युत् आयात गरी पश्चिमतर्फ पठाउन सहज हुनेछ, नयाँ बुटवल-गोरखपुर दोस्रो सीमापार प्रसारण लाइन निर्माण सम्पन्न भएपछि विद्युत् आयात/निर्यातको थप ढोका खेल्ने छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘मुख्य रूपमा कालीगण्डकी तथा मर्स्याङ्दी र ती नदीहरूका सहायक खोलानालाबाट उत्पादित विद्युत् प्रवाहका लागि सहज हुनेछ ।’ मर्स्याङ्दी नदी जलाधार क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन हुँदै नयाँ भरतपुर सबस्टेसनमा समाहित हुने छ । नयाँ भरतपुरबाट विद्युत्लाई हेडौंडा र नयाँ बुटवलतर्फ पठाउन सकिने छ । भारतसँगको नयाँ बुटवल-गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणाधीन छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा निर्माण गरिएको नयाँ बुटवल–बर्दघाट प्रसारण लाइनको अनुमानित लागत करिब एक अर्ब रुपैयाँ छ । सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको साढे चार किलोमिटर चार सर्किट (मल्टी सर्किट) लाइन निर्माण गरिएको छ । सोही मल्टिसर्किट टावरमा कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन जोडिएको छ । मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत र द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण तथा वितरण प्रणालीको विस्तार एवम् सदृढीकरण गर्न आयोजना सुरु गरिएको हो । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको स्वीकृतिमा पूरा गर्नुपर्ने लामो प्रक्रिया, कोभिड–१९को महामारी, चुरे क्षेत्रमा पर्ने भएकाले वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्नेलगायत कारण प्रसारण लाइन निर्माण प्रभावित भएको आयोजना प्रमुख विश्वरञ्जन मिश्रले उल्लेख गरे । प्रसारण लाइन निर्माणका लागि पावर चाइन सेप्को १ सँग २०७६ पुसमा ठेक्का सम्झौता भएको थियो । उक्त सम्झौता २०७७ असारमा कार्यान्वयनमा आएको थियो ।

भिजन लुम्बिनीले लाभांश नदिने, सेयरधनीको हात खाली

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । योसँगै सेयरधनीको हात खाली हुने भएको छ । बैठकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउन निर्णय पनि गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेस गरिनेछ ।

नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभा सुरु, नयाँ नेतृत्व चयन गर्ने

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभा शुक्रबार काठमाडौंको हिल्टन होटलमा सुरु भएको छ । महासंघको तेस्रो महासभाको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे। अध्यक्ष भेषराज लोहनीले सभाले नयाँ नेतृत्वसमेत चयन गर्ने बताए । उनले महासभाले विगतदेखि उठाइरहेका घरजग्गा कारोबारलाई व्यवस्थित बनाउने विषयका प्रस्तावहरू रहेका जानकारी दिए । यस्तै, उनले सेयर कारोबारका लागि स्टक मार्केटजस्तै घरजग्गा कारोबारको लागि ल्याण्ड मार्केटको अवधारणा र हाउजिङ ल्याण्डपुलिङ अवधारणाहरू ल्याउनुपर्ने विषयलाई जोड दिएको बताए । अध्यक्ष लोहनीले घरजग्गा कारोबारलाई व्यवस्थित बनाउनको लागि ब्रोकर लाइसेन्सका कुराहरू पनि महासभामा समावेश गरिने उल्लेख गरे । सभामा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल, चेम्बर अफ कर्मसका अध्यक्ष कम्लेसकुमार अग्रवाल, उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालको सहभागीता रहेको छ ।