विकासन्युज

काठमाडौंमा शनिबार यो वर्षकै सबैभन्दा चिसो महसुस

काठमाडौं । काठमाडौंमा शनिबार यस वर्षकै चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । यसअघि हिजो काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री थियो । महाशाखाले आज बिहान ८ः४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्रीमा झरेको छ । तराईमा हुस्सु र कुहिरो हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाइएको छ । तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको विभागले जानकारी दिएको छ । दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । राति देशभर मौसम मुख्यतया सफा रहने आज बिहान जारी बुलेटिनमा जनाइएको छ

वार्षिकोत्सवमा प्रभु महालक्ष्मी लाइफले फेवा तालमा सहयोग गर्यो लाइफ ज्याकेट

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सवको अवसर पारेर फेवा तालमा लाइफ ज्याकेट सहयोग गरेको छ । मंसिर २८ गते शुक्रबारका दिन फेवा ताल परिसरमा एक भब्य कार्यक्रम गरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ८५० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको हो । लाइफ ज्याकेट हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दु कुमार थापा र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले संयुक्त रुपमा फेवा डुंङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीलाई लाइफ ज्याकेट हस्तान्तरण गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दु कुमार थापाले देशकै पर्यटकीय नगरी पोखराको मुटु एवं मुख्य आकर्षण फेवातालमा डुंङ्गामा सवार गर्दा लगाइने लाइफ ज्याकेटलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सहयोग गरेकामा धन्यवाद व्यक्त गरे । ‘हामी सरकारले गर्नु पर्ने काम यस्ता संस्थाबाट सही ठाउँमा सहि निर्णय गरी गर्नु आफैमा सरहानिय कार्य भएको बताए । यस कार्यबाट अन्य संस्था तथा निकायले पनि सिक्न र अनुकरण गर्नु उपयुक्त हुन्छ,’ उनले भने । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले समाजलाई प्रत्यक्ष लाभ हुने क्षेत्रमा कम्पनीले सहभागिता जनाउँदै आएको र यो पनि विगतको निरन्तरता भएको बताए । ‘लाइफ इन्स्योरेन्स भनेकै मानिसको जीवनको आर्थिक जोखिम बहन गर्नु हो, अनि लाइफ ज्याकेटको काम पनि मानिसको जीवनको रक्षा गर्नु नै हो । त्यसैले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स जीवनका यस्ता ढुक ढुक हुने पलहरुलाई ढुक्क बनाउन सधै तत्पर रहनेछ, उनले भने ।’ फेवा डुंङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले भने, ‘फेवातालमा प्रयोग भइरहेका लाइफ ज्याकेटको अवस्था जिर्ण हुँदै गएको सन्दर्भमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हाम्रो एकै बचनलाई स्वीकार गरी यो लेवलको सहयोग गर्नु आफैंमा गर्वको विषय हो । फेवा तालमा डुंङ्गा सवारमा प्रयोग हुने लाइफ ज्याकेटले मानिसको जीवन रक्षामा ठूलो महत्व राख्ने र भविष्यमा हुनसक्ने कुनै पनि दुर्घटनालाई न्यूनिकरण गर्ने जिकिर गरे । यसलाई मध्यनजर गरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गुणस्तरिय लाइफ ज्याकेट प्रदान गरेकोमा हार्दिक कृतज्ञता व्यक्त गरे । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले उपस्थित सबैमा स्वागत मन्तब्य व्यक्त गरे । उनले लाइफ ज्याकेट जस्तो मानिसको जीउज्यानसँग प्रत्यक्ष जोडिने कुरामा कम्पनीले आयोजना गरेको लाइफ ज्याकेट हस्तान्तरण कार्यक्रममा उपस्थित हुन भई कार्यक्रमको शोभा बढाइ दिनु भएकोमा धन्यवाद व्यक्त गरे । कास्की जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलिया, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहाडी, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब महाप्रबन्धक सोन बहादुर मगर, वित्त विभाग प्रमुख लेखनाथ गौतम, ब्राण्डिङ विभाग प्रमुख विनोद घिमिरे, अन्य कर्मचारी, अभिकर्ताको साथै सर्वसाधारणको उपस्थितिमा भएको कार्यक्रमको संचालन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रमुख पुष्कर भट्टराईले गरेका थिए । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले समाजसँग प्रत्यक्ष जोडिएर सामाजिक कार्यमा निरन्तर साथ र सहयोग गर्दै आइरहेको छ ।

फरवार्ड माइक्रो फाइनान्सले १३ प्रतिशत बोनस सेयरसहित लाभांश वितरण गर्ने

सुनसरी । फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस सेयर तथा कर समायोजन प्रयोजनका लागि ०.७० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । शुक्रबार सम्पन्न वित्तीय संस्थाको १२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त निर्णयलाई अनुमोदन गरेको हो । संस्थाको बोनस सेयर वितरणपछि वित्तीय संस्थाको चुक्ता पुँजी १ अर्ब १९ करोड ५९ लाख ५२ हजार ८७९ हुनेछ । साधारण सभाले वित्तीय संस्थाका अध्यक्ष केशवराज पौडेलद्वारा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको हो । सुनसरीको दुहवीमा शुक्रबार सम्पन्न १२ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै संघीय सांसद भगवती चौधरीले वर्तमान विश्व आर्थिक मन्दीको चपेटामा परेको बेलामा पनि नेपालका लघुवित्त संस्थाले ५९ लाख विपन्न सदस्यहरुलाई वित्तीय सेवा पुर्‍याइरहेकोमा प्रशंसा गरेकी थिइन् । ग्रामीण महिला उत्सुकता विकास मञ्चले २०५३ मा २ रुपैयाँ बचत गर्ने सदस्यहरूबाट बचत कार्यक्रम आरम्भ गरेको प्रसङ्ग स्मरण गर्दै पूर्वमन्त्री समेत रहेकी चौधरीले गरिब तथा विपन्न समुदायको बचत तथा वाणिज्य बैंकबाट प्राप्त कर्जा परिचालन गरेर लघुवित्त संस्थाहरुले ऋण प्रवाह गरिरहेकाले कसैले चाहँदैमा ऋण मिनाहा हुन नसक्ने समेत बताइन् । ‘गाउँघरमा छरिएर रहेका गरिब विपन्न नागरिकको बचतलाई एकीकृत गर्दै वाणिज्य बैंकहरुबाट कर्जा लिएर लघुवित्त संस्थाहरुले कर्जा प्रवाह गरेका हुन्छन् । समुदायकै पुँजी भएकाले कसैले ऋण मिनाहा हुन्छ भन्दैमा ऋण मिनाहा हुँदैन,’ सांसद चौधरीले भनिन् । साधारण सभाका विशिष्ट अतिथि गढी गाउँपालिकाका अध्यक्ष तथा फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले लघुवित्त संस्थाले विपन्न ग्राहक सदस्यहरुको जीवनस्तर उकास्ने र युवाहरुलाई रोजगारी दिइरहेको भन्दै वर्तमान समयमा नेपालकै लघुवित्त क्षेत्रमा देखिएको जटिल अवस्थालाई चिर्न सबै पक्षले आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताए । साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/८१ को नाफा/नोक्सान हिसाब तथा नगदप्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू, लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०८०/८१ को कारोबारको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने विषयलाई पारित गरेको छ । सभामा वित्तीय संस्थाले २०८१ असार मसान्तसम्म ४० जिल्लाका ३८२ स्थानीय तह अन्तर्गत १५९ शाखा कार्यालय मार्फत २ लाख ८४ हजार ९६५ विपन्न परिवारका सदस्यहरूलाई वित्तीय सेवा प्रदान गरिरहेको जानकारी दिइएको थियो । साथै यस अवधिमा वित्तीय संस्थाले २० अर्ब ९० करोड ९२ लाख ५५ हजार कर्जा प्रवाह गरेको बताइएको थियो । साधारण सभामा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशीले अहिले लघुवित्तको क्षेत्रमा देखिएको जटिल अवस्था विस्तारै सामान्यतर्फ उन्मुख रहेको बताए ।

शनिबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैङ्कले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । जसअनुसार शनिबारका लागि अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ०४ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ १३ पैसा तोकिएको छ । केन्द्रीय बैङ्कले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ २१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८५ पैसा निर्धारण गरेको छ । यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ ८२ पैसा र बिक्रीदर आठ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३६ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा कायम गरिएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०२ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा, साउथ कोरियन वन एक सयकोे खरिदर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा र कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ८८ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ४७ पैसा कायम गरेको छ । यस्तै, ओमनी रियाल एकको खरिदर तीन सय ५१ रुपैयाँ ६१ पैसा, बिक्रीदर तीन सय ५३ रुपैयाँ १७ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

अख्तियार अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि…

काठमाडौं । भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घूस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ । आममानिसले मात्रै नभई स्वयम् आयोगले समेत नपत्याउने घटना शुक्रबार भएको छ । आयोगले अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवम् हाल नुवाकोटको किस्पाङ गाउँपालिकामा सोही पदमा कार्यरत धुव्रप्रसाद सापकोटासँग जोडिएको एक मुद्दामा अनुसन्धान गरिरहेको थियो । मेल्लेख गाउँपालिकाको मेसिनरी सामान खरिदसम्बन्धी उजुरीको अनुसन्धानका क्रममा स्थलगत मुचुल्का र आरोपीको बयानसमेत भइसकेको छ । अनुसन्धानको क्रममा रहेको विषयसँग सम्बन्धित कागजात बुझाउन आएको भनी अनुसन्धान अधिकृतलाई कागजातसहितको खाम सापकोटाले बुझाउन खोजेका थिए । अनुसन्धान अधिकृतले आफैँले खाम खोल्न आग्रह गरेका थिए । सापकोटाले बोकेको हरियो रङ्गको झोलाभित्र रहेको पहेँलो खाममा ३१ थान कागजात र अर्को खामभित्र रु एक हजार दरको ९६ वटा र पाँच सय दरको आठ थान गरी एक लाख रकम रहेको आयोगले जनाएको छ । अनुसन्धान अधिकृतले यो केको पैसा हो? भनी प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले मुद्दा मिलाइदिन भनी स्वेच्छाले ल्याएको बताएका थिए । सापकोटाले आयोगका अनुसन्धान अधिकृतलाई घूस दिने उद्देश्यले ल्याएको उक्त रकमसहित पक्राउ गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । योगको कञ्चनपुर कार्यालयबाट शुक्रबार सापकोटालाई घूस रकमसहित पक्राउ गरिएको हो ।

चार दशकपछि हवाई उडानसँग जोडिँदै टिकापुर, तारा एयरले ९ हजार भाडामा सेवा दिने

काठमाडौं । कैलालीको टीकापुर विमानस्थल करिब चार दशकपछि नियमित सञ्चालनमा आउने भएको छ । विसं २०४६ सालमा द्वन्द्वका कारण बन्द भएको विमानस्थल यही मङ्सिर ३० गतेदेखि सञ्चालनमा आउन लागेको हो । पर्यटन व्यवसायी र स्थानीय तहको सक्रियातमा विमानस्थल सञ्चालनमा आउन लागेको हो । विमानस्थलमा हवाई उडानका लागि तारा एयरसँग टीकापुर नगरपालिकाले न्यूनतम १५ सिटका लागि सुनिश्चितासहित सहमति गरेको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले जानकारी दिए । विमानस्थलमा यसअघि नेपाल वायुसेवा निगम र तारा एअरले परीक्षण उडान गरिसकेका छन् । विमानस्थलमा यही मङ्सिर ३० गते आइतबार पहिलो उडान हुनेछ भने दोस्रो उडान आगामी पुस ४ गते बिहीबार हुनेछ । त्यसपछि प्रत्येक साता आइतबार र बिहीबार एक÷एक उडान हुने गरी तालिका निर्धारण गरिएको छ । तालिकाअनुसार यति एयरलाइन्सले काठमाडौँ–नेपालगञ्ज र नेपालगञ्जबाट कनेक्टिङ फ्लाइटमार्फत तारा एयरले नेपालगञ्ज–टीकापुर उडान भर्नेछ । टीकापुरमा भएका यात्रुलाई तारा एयरले नेपालगञ्ज ल्याउने र त्यहाँबाट यति एयरलाइन्सले काठमाडौँ ल्याउनेछ । यसका लागि एकमुष्ट काठमाडौँ–टीकापुरको एक तर्फी भाडा नौ हजार निर्धारण गरिएको छ । टिकट बिक्रीका लागि आधिकारिक बिक्रेतामा पथिल होलिडेजलाई नियुक्त गरिएको छ । साथै यात्रुहरुले यति एयरलाइन्सको एप, विभिन्न ट्राभल एजेन्सी, खल्ती, इसेवालगायतका माध्यमबाट टिकट खरिद गर्न पनि सक्नेछन् । टीकापुरस्थित सिद्धार्थ होटल र काठमाडौँको तीनकुनेमा रहेको पथिल होलिडेजबाट पनि टिकट काट्न मिल्ने गरी व्यवस्था गरिएको छ । विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगञ्ज विमानस्थल धाइरहेका टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ । टीकापुरका नगरप्रमुख थारुले स्थानीयको चाहनाबमोजिम विमानस्थल सञ्चालनमा ल्याउनका लागि सिद्धार्थ हस्पिटालिटीले सेवाप्रदायकसँग समन्वय गरी दिएकोमा धन्यवाद दिए । टीकापुर विमानस्थलमा अहिले चारैतिरबाट काँडेतारको छेकबार छ भने धावनमार्गमा ग्राभेल गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमान कम्पनीले उडानको माग गर्ने र प्राधिकरणले भाडादर तोकेर जनशक्ति खटाउने बताए । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले विमानस्थल सञ्चालनमा आएपछि टीकापुरलाई पर्यटकीय सहरका रुपमा विकास गर्न सकिने बताए । ‘टीकापुर विमानस्थलमा भएको सम्पत्ति लामो समयदेखि प्रयोगमा आउन सकेको छैन, विमानस्थल सञ्चालनमा आएपछि त्यहाँको आर्थिक तथा पर्यटकीय गतिविधि बढ्नेछ,’ उनले भने । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले काठमाडौँ–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौँ उडानको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । उनका अनुसार प्रत्येक साता आइतबार र बिहीबार उडान हुनेछ । काठमाडौँबाट बिहान १० बजे यति एयरलाइन्सको विमान नेपालगञ्जका लागि उडान गर्नेछ भने त्यहाँबाट दिउँसो १२ः३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ । सोही दिन दिउँसो १ः२० बजे तारा एयरको विमान नेपालगञ्जका लागि प्रस्तान गर्नेछ भने दिउँसो २ः०५ बजे यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौँ आउनेछ । त्यसैगरी काठमाडौँदेखि अछामको साँफेबगरस्थित विमानस्थलमा उडानका लागि पनि साँफेबगर नगरपालिका र तारा एयरबीच सहमति भइसकेको छ । यद्यपि साँफेबगरस्थित विमानस्थलमा परीक्षण उडानपछि मात्रै नियमित उडान हुनेछ । साँफेबगर नगरपालिकाले पनि तारा एयरसँग न्यूनतम १५ सिटका लागि सुनिश्चित गर्ने सम्झौता गरिसकेको छ । अर्थात् न्यूनतम १५ सिट नभएमा नगरपालिकाले सो बराबरको रकम उपलब्ध गराउनेछ ।

घरजग्गालाई उद्योगको मान्यता दिन माग, विदेशीले अपार्टमेन्ट किन्न पाउने व्यवस्था गर्न जोड

काठमाडौं । घरजग्गा व्यवसायलाई उद्योगसरह मान्यता दिन सरकार तयार रहेको छ । शुक्रबार नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभा बोल्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले घरजग्गा क्षेत्रले भोगिरहेका समस्याहरू सरकारले समाधान गर्ने उल्लेख गरे । घरजग्गा तथा आवास क्षेत्रलाई हामीले कुन मान्यताका साथ अगाडि बढाउने र कसरी यसलाई चलायमान बनाउने भन्ने नीति सरकारसँग हुनुपर्ने उनको भनाइ छ । उनले भने, ‘जग्गालाई वर्गीकरण गरी कृषि उत्पादन, आवास, उद्योग, प्रशासनिक संरचना लगातयका अन्य काम लागि कुन-कुन जग्गा कहाँ-कहाँ उपयुक्त छ, त्यो पत्ता लगाई सम्बन्धित जग्गा सोही प्रयोजनका लागि प्रयोग गरिनुपर्छ। यदि हामीले यो प्रणाली अपनाएनौं भने देशलााई माथि उठाउन सकिँदैन ।’ अर्थमन्त्री पौडेलले घरजग्गा व्यवसायीहरूलाई नाफाका लागि मात्रै अग्रसर नभई देश निर्माणका लागि अघि बढ्न आग्रह गरे । यस्तै, घरजग्गा आवास क्षेत्र उद्योगसरह नै भएको र यसलाई सरकारले साथ दिने उनको प्रतिबद्धता छ । यस्तै, उनले अब जग्गा हदबन्दीसम्बन्धी व्यवस्था हेरफेर हुनुपर्ने यसमा सरकारको साथ सहयोग रहने बताए । योजनाबद्ध र व्यवस्थित जग्गाको विकास गरी यसलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ । उनले घरजग्गा तथा आवास विकास क्षेत्र देशविकासको महाअभियानको महत्त्वपूर्ण कडी भएको दाबी गरे । घरजग्गा तथा आवास विकास महासंघले देशनिर्माणमा ठूलो योगदान गरिरहेको उनको भनाइ छ । उद्योगसरह मान्यता दिन सरकार तयार रहेको र घरजग्गासम्बन्धि समस्यालगायत अन्य प्रस्तावहरू ल्याएर मन्त्रालयमै आउन समेत उनले आग्रह गरे । अनुमतिप्राप्त संस्थाबाट घरजग्गा कारोबार गर्न आवश्यक नीति निर्माणमा सरकार लागिरहेको जानकारी दिए । यस व्यवसायलाई व्यवस्थित बनाउन र जनताको विकाससँग जोडिएका विषयमा कानुनी एवं आवश्यक सुधारका लागि सरकारले पहल गर्ने विश्वास दिलाए । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले घरजग्गा तथा आवास क्षेत्रसम्बन्धि कानुन सरकारले छिटो बनाइदिनुपर्ने उल्लेख गरे । उनले भने,  ‘हामी नाफाका लागि मात्रै काम गरिरहेका छैनौं । देशको निर्माण गर्ने उद्देश्य लिएर जिम्मेवारीका साथ आएका हौं । हामी त्यस्तो सोच्दैनौं । घरजग्गा तथा आवास विकास क्षेत्रसम्बन्धी सरकारले छिटो कानुन बनाइदिनुपर्‍यो । महासंघका अध्यक्ष भेषराज लोहनीले विदेशीलाई नेपालमा अपार्टमेन्ट बिक्री गर्न मिल्ने कानूनी व्यवस्था गर्न, उद्योगको मान्यता दिन र जग्गा हदबन्दीको व्यवस्था हटाउन माग गरेका थिए । विदेशीले नेपालमा अपार्टमेन्ट किन्न पाउने नियम बनाउनुपर्ने उनको भनाइ थियो । नेपालको पर्यटन क्षेत्र तथा रियलस्टेट व्यवसाय फस्टाउनुका साथै व्यवसायलाई उद्योगको मान्यता दिन अर्थमन्त्रीसँग उनको माग थियो। ढुंगागिट्टी, सिमेन्ट, स्टिल, फलाम, रङलगायत सबै व्यवसायलाई चलायमान बनाउने तर घरजग्गा व्यवसायलाई भने उद्योगको मान्यता समेत नदिएको घरजग्गा व्यवसायीहरूको गुनासो थियो । यस्तै, उनीहरूले सेयर कारोबारका लागि स्टक मार्केटजस्तै घरजग्गा कारोबारको लागि ल्याण्ड मार्केटको अवधारणा र हाउजिङ ल्याण्डपुलिङ अवधारणाहरू ल्याउनुपर्ने विषयलाई समेत महासभामा  जोडेका थिए ।

एसएएफटीएले दक्षिण एसीयाली क्षेत्रभित्र व्यापार र लगानी प्रवर्द्धन गर्न सहयोग गर्नुपर्छ : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसियाले आफ्नो व्यापार नीतिहरू पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् । यसले कमजोर क्षेत्रहरूको संरक्षण गर्दै हरित र समावेशी विकासलाई प्रोत्साहन गर्नुपर्ने ढकालले जोड दिए । शुक्रबार सम्पन्न १५औं दक्षिण एसियाली आर्थिक शिखर सम्मेलनको समापन समारोहमा बोल्दै ढकालले दक्षिण एसिया संसारकै तीव्र आर्थिक वृद्धिका क्षेत्रहरूमध्ये एक भए पनि व्यापार र लगानी प्रवाहका हिसाबले सबैभन्दा कम जोडिएको क्षेत्र रहेको बताए । उनले क्षेत्रीय आर्थिक एकीकरणका लागि पछिल्लो दशकमा ठोस प्रगति नभएको जानकारी गराउँदै यस क्षेत्रमा घरेलु उद्योगहरूमा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (एसएएफटीए) अन्तर्गतको न्यून भन्सार महसुलले महत्त्वपूर्ण दबाब सिर्जना गरेको औंल्याए । विशेष गरी नेपाल जस्ता साना अर्थतन्त्रहरूको स्थानीय उद्योगहरूको संरक्षण र प्रवर्द्धन गर्न गाह्रो परेको र छिमेकी देशका स्थापित क्षेत्रहरूसँग प्रतिस्पर्धा गर्नुपरेको ढकालले बताए । ढकालले एसएएफटीएले दक्षिण एसीयाली क्षेत्रभित्र व्यापार र लगानी प्रवर्द्धन गर्न सहयोग गर्नुपर्नेमा जोड दिए । उनले नेपालको जलविद्युत् जस्ता नवीकरणीय ऊर्जा क्षेत्रमा रहेको विशाल सम्भावनालाई उजागर गर्दै साझा ऊर्जा ग्रिडले सबै देशलाई स्वच्छ ऊर्जा स्रोतमा पहुँच प्रदान गर्न र जीवाश्म ईन्धनमा निर्भरता कम गर्न सहयोग गर्नसक्ने बताए । अध्यक्ष ढकालले दक्षिण एशियाली क्षेत्रले जलवायु परिवर्तनको असर भोग्नुपरे पनि अनुकूलन र न्यूनीकरणका लागि स्रोत सीमित रहेको बताए । स्रोत परिचालनमा रहेको ठूलो अन्तरको चर्चा गर्दै अध्यक्ष ढकालले क्षेत्रीय सहकार्य र अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको र यसले न्यायसंगत हरित परिवर्तनलाई प्राप्त गर्न सहयोग पुर्‍याउने बताए ।