एक महिनामै नेपालका सडकमा गुड्न थाले ३०० नामी कार
काठमाडौं । एक महिनामै ३०० नामी कार बिक्री भएका छन् । नेपालका लागि नामीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि मोटर्सले ३०० कार बिक्री भएको जानकारी दिएको हो । नाडा अटो शोमा नामीले नाडाभरि ७२० वटाभन्दा बढी बुकिङहरू प्राप्त गरेको थियो। नामीले बिग ह्याच विथ फाइभ-स्टार लक्जरी, अटोमोबाइल उद्योगमै नेपालमा पहिलो पटक एक विशेष फेसन शो थिममा लन्च गरेको थियो । फ्रेमलेस ढोका, मेमोरी सिटदेखि लेभल २ एडीएएस सुरक्षा प्रणाली र १२.८ इन्चको एड्भान्सड इन्फोटेनमेन्ट कन्सोलसम्म भएको नामीले आराम, सुरक्षा र प्रविधिको इनोभेटिव फ्युजन प्रदान गर्ने एमएडब्लू वृद्धि मोटर्सले जनाएको छ । नामी कार विभिन्न रङमा उपलब्ध छन् । एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड प्रसन्न पन्तले ब्रान्डको अहिलेसम्मको यात्राप्रति उत्साह व्यक्त गरे ।
१४ करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै
पर्वत । कुश्मा नगरपालिकाले १४ करोड रुपैयाँको लागतमा पालिका भवन निर्माण सुरु गरेको छ । नगरप्रमुख रामचन्द्र जोशीले बिहीबार भवनको शिलान्यास गरे । आगामी १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । भवनका लागि जिल्ला समन्वय समितिले जग्गा उपलब्ध गराएको हो । भवन लिफ्टसहित साढे छ तलाको हुनेछ । साथै पर्वतका सातवटै स्थानीय तहमा भवन निर्माण प्रारम्भ भएको छ । महाशिला, जलजला र फलेवास नगरपालिकाका निर्माणाधीन भवन अन्तिम चरणमा पुगेका छन् ।
नाफिजमा चुनावी रौनक, दुई प्यानल प्रतिस्पर्धामा
काठमाडौं । आर्थिक पत्रकारहरुको संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को चुनावी माहोलले पत्रकारहरुबीच रौनक बढाएको छ । नाफिजको १५औं साधारणसभा तथा सातौं महासभामार्फत् हुने चुनावमा दुई प्यानल प्रतिस्पर्धामा उत्रिएका छन् । नाफिज निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि वर्तमान कार्यसमिति उपाध्यक्ष तथा हाम्रोअर्थ डटकमकी सम्पादक मेनुका कार्की र आर्थिकन्यूज डटकमका प्रबन्ध सम्पादक इन्द्र बानिया प्यानल बनाएर प्रतिस्पर्धामा देखिएका छन् । कार्की नेतृत्वको प्यानलमा उपाध्यक्षमा निरोज कुमार थापा र विजय दमासे, महासचिवमा निकेश खत्री, सचिवमा राजाराम न्यौपाने, कोषाध्यक्षमा मिलन विश्वकर्मा, सदस्यहरूमा अनिष मिजार, चित्रराज भण्डारी (सीआर), अनुप आचार्य र शुक्र गिरी रहेका छन् । त्यस्तै, बानिया नेतृत्वको प्यानलबाट उपाध्यक्षमा परमेश्वर अधिकारी र पिताम्बरी खतिवडा (प्रमिला), महासचिवमा नबिन ढुङ्गाना, सचिवमा चेत नारायण पाण्डेय, कोषाध्यक्षमा भोला देवकोटा (परिवर्तन) र सदस्यमा आशुतोष अर्याल रहेका छन् । दुवै टिमले जित्ने दाबीका साथ सदस्यहरुलाई भोटको अपील गरिरहेका छन् ।
महासंघको विधान सर्वसम्मत संसोधन, प्रत्यक्ष निर्वाचित अध्यक्ष, कार्यकाल दुइ बर्ष मात्र
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मंगलबार सम्पन्न विशेष साधारण सभाले सर्वसम्मत रुपमा विधान संसोधन गरेको छ । महासंघको विधान २०४९ मा गरिएको सातौ संसोधनले संस्थागत बिकासतर्फ महत्वपूर्ण निर्णय गरेको छ । महासंघको अध्यक्ष प्रत्यक्ष रुपमा निर्वाचित हुने व्यवस्था गरिएको छ । कार्यकाल दुइ बर्षको हुनेछ । २०७३ यता वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । नयाँ संसोधन अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अध्यक्ष भएर कार्यकाल सकिएपछि हुने बार्षिक साधारण सभाले प्रत्यक्ष निर्वाचनबाट अध्यक्षको चयन गर्नेछ । महासंघ कार्यकारिणी समितिमा तीन जना उपाध्यक्ष रहँदै आएकोमा पाँच पुर्याइएको छ । यसैगरि एक जना वरिष्ठ उपाध्यक्ष रहनेछ । वरिष्ठ उपाध्यक्षको चयन पनि कार्यकारिणी समितिले गर्नेछ । जिल्ला नगरतर्फ एक थप गरि दुइ जना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । यसैगरि महिला उपाध्यक्ष रहने पनि व्यवस्था गरिएको छ । महिला उपाध्यक्षलाई कार्यकारिणी समितिले चयन गर्नेछ । तर यसका लागि कार्यकारिणी समितिमा कम्तीमा १२ जना महिला सदस्य रहेको हुनुपर्ने व्यवस्था गरिएको छ । महिला उपाध्यक्षको सभापतित्वमा महिला उद्यमी परिषद पनि महासंघमा गठन हुने व्यवस्था गरिएको छ । महासंघको नेतृत्व तहमा महिला सहभागिता बढाउन जिल्ला नगर, वस्तुगत र एसोसिएट तर्पm महिला सदस्य निर्वाचित हुने गरि आरक्षणको व्यवस्था गरिएको छ । महासंघ अन्तर्गतको नेपाल युवा उद्यमी फोरमका अध्यक्ष महासंघ केन्द्रिय कार्यकारिणी समितिमा पदेन सदस्यका रुपमा रहने व्यवस्था पनि नयाँ विधानमा गरिएको छ ।
अण्डाको समर्थन बिक्री मुल्य तोकियो, ठुलो अण्डाको प्रतीक्रेट ४८५ रुपैयाँ
काठमाडौं । अण्डाको समर्थन बिक्री मुल्य तोकिएको छ । नेपाल लेयर्स कुखुरा पालक सघले अण्डाको समर्थन बिक्री मुल्य तोकेको हो । संघको मंसिर २७ गते बसेको बैठकमा समर्थन बिक्री मूल्य तोक्ने सहमति भएको हो । मध्यम किसिमको प्रतीक्रेट ४ सय ७० रुपैयाँ तोकिएको छ भने ठुलो अण्डा प्रतीक्रेट ४ सय ८५ रुपैयाँ तोकिएको संघका सचिव मदन पोखरेलले जानकारी दिए । संघका अनुसार चितवनलाई आधारमानी मंसिर २८ गतेदेखि अण्डाको समर्थन बिक्री मुल्य लागू हुनेछ । उक्त मूल्यमा कारोबार गर्न संघले अनुरोध गरेको छ । चितवनबाट लोड भइ देशभरीको अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटि १४० रुपैयाँ लाग्नेछ ।
नेपाल एसबिआई बैंक पनि मर्जरका लागि जोडी खोज्दै, सीएसआर खर्चले सीमा नाघ्यो
काठमाडौं । नेपाल एसबिआई बैंक सञ्चालकहरूको सुविधा वृद्धि गर्ने भएको छ । बैंक सञ्चालक समितिको बैठकले पुस २१ गते त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ११ बजे ३१औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले संचालकहरूलाई दिइने बैठक भत्ता तथा स्थानीय संचालकहरूलाई प्रदान गरिने पत्रपत्रिका तथा समाचार सामग्री वापतको मासिक खर्च वृद्धि गर्नेछ । यस्तै, कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज हुने तथा प्राप्ति गर्न आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, सभाले बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजीको ३.८० प्रतिशतका दरले ३९ करोड ९० लाख ५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ६.८५ प्रतिशतका दरले ७१ करोड ९२ लाख ६० हजार रुपैयाँ नगद गरी कुल १०.६५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । साथै, गत वर्ष बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ८८ करोड ८७ लाख १५३.१८ रुपैयाँ खर्च गरेको छ । जुन कम्पनी ऐन, २०६३ ले निर्धारण गरेको सीमा नाघेकालेसो खर्च अनुमोदन गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
अमेरिकी डलरको मूल्यले बनायो नयाँ रेकर्ड, नेपाली रुपैयाँ झन् कमजोर बन्यो
काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.४८ रुपैयाँ र बिक्रीदर १३६.०८ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि गत मंसिर २६ गते सबैभन्दा धेरै खरिददर १३५.४७ रुपैयाँ र बिक्रीदर १३६.०७ रुपैयाँ थियो । डलरले बनाएके मूल्यलाई समेत तोड्दै नेपाली रुपैयाँ झनै कमजोर बनेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४२.२९ रुपैयाँ र बिक्रीदर १४२.९२ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.६७ रुपैयाँ र बिक्रीदर १७३.४३ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.८९ रुपैयाँ र बिक्रीदर १५३.५६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.८० रुपैयाँ र बिक्रीदर ८७.१९ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.७७ रुपैयाँ र बिक्रीदर ९६.२० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.८० रुपैयाँ र बिक्रीदर १०१.२५ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९० रुपैयाँ र बिक्रीदर ८.९४ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६४ रुपैयाँ र बिक्रीदर १८.७२ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.०६ रुपैयाँ र बिक्रीदर ३६.२२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.१६ रुपैयाँ र बिक्रीदर ३७.३३ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०० रुपैयाँ र बिक्रीदर ४.०२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.८९ रुपैयाँ र बिक्रीदर ३७.०५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५३ रुपैयाँ र बिक्रीदर ३०.६७ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.४७ रुपैयाँ र बिक्रीदर ९.५४ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३६ रुपैयाँ र बिक्रीदर १२.४२ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०८ रुपैयाँ र बिक्रीदर १९.१६ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४२ रुपैयाँ र बिक्रीदर १७.५० रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४०.५३ रुपैयाँ र बिक्रीदर ४४२.४८ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५९.१७ रुपैयाँ र बिक्रीदर ३६०.७६ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५१.९० रुपैयाँ र बिक्रीदर ३५३.४५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
आज देशभरको मौसम सफा रहने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ भने राति मौसम सफा रहने छ । शनिबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।