विकासन्युज

राष्ट्रिय एकता हाम्रो मूल मन्त्र हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र समतामूलक समाज निर्माण गरी राष्ट्रिय एकता कायम गर्नु आफ्नो मूलमन्त्र भएको बताएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले शुक्रबार आयोजना गरेको ‘राजनीतिमा प्रतिनिधित्व र पहुँच अभवृद्धिका लागि आदिवासी जनजाति महिला’ राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायको जीवनस्तर माथि उकास्न संविधानले सुनिश्चित गरेको मौलिक हकको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले आदिवासी जनजाति र सबै महिलाको अधिकार स्थापनाका लागि विशेष महत्व दिँदै आएको उल्लेख गरे। उनले हरेक जातिको उत्थान, सामाजिक न्याय र समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरे । प्रधानमन्त्री ओलीले पछाडि पारिएका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउँदै आदिवासी जनजातिलाई आफ्ना परम्परा, कला र संस्कृतिको संरक्षण गर्न आग्रह गरे ।

क्यानडामा चरम उत्कर्षमा पुग्यो बेरोजगारी, के देश मन्दीमा फँस्दैछ ?

  काठमाडौं । क्यानाडामा नोभेम्बरमा बेरोजगारी दर ६.८ प्रतिशत पुगेको छ, यो सेप्टेम्बर २०२१ पछिको उच्चतम स्तर हो । पछिल्लो दुई वर्षमा देशमा बेरोजगारी दर १ दशमलव ८ प्रतिशतले बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस अवधिमा युवा बेरोजगारी दर ४.६ प्रतिशत अंकले बढेर १३.९ प्रतिशत पुगेको छ । यसैबीच बैंक अफ क्यानडाले ब्याजदरमा ५० आधार अंकले कटौती गरेको छ । यो वर्ष बैंकले पाँच पटक ब्याजदर घटाएको हो । क्यानडाको अर्थतन्त्र विगत छ त्रैमासिकदेखि प्रतिव्यक्ति आधारमा घट्दै गएको छ । अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले ठट्टाको शैलीमा हालै क्यानडालाई अमेरिकाको ५१ औं प्रान्त बनाउनु पर्ने ठट्टाको स्वरमा भनेका थिए । सत्य यो हो कि क्यानडाको आर्थिक अस्तित्व संयुक्त राज्य अमेरिकासँग गहिरो रूपमा जोडिएको छ । ट्रम्पले क्यानाडाली सामानहरूमा २५ प्रतिशत ट्यारिफ लगाउने कुरा गरेसँगै प्रधानमन्त्री जस्टिन ट्रुडो तत्कालै ट्रम्पलाई भेट्न फ्लोरिडा पुगेका थिए । संयुक्त राज्य क्यानडाको सबैभन्दा ठूलो व्यापार साझेदार र विदेशी लगानीको सबैभन्दा ठूलो स्रोत हो । सन् २०२२ मा दुई देशबीचको व्यापार ९६०.९ बिलियन डलर पुग्ने अनुमान गरिएको छ । क्यानडाको विश्वव्यापी व्यापारको ६३.४ प्रतिशत अमेरिकाले ओगटेको छ । क्यानडमा मन्दी ? क्यानडाले २०२२ मा अमेरिकालाई ५९८ बिलियन डलर निर्यात गरेको थियो, जुन यसको कुल निर्यातको ७५ प्रतिशत थियो । दुई देशबीचको सम्बन्ध व्यापारमा मात्र सीमित छैन । दुवै देशको अर्थतन्त्र धेरै हदसम्म एक अर्कामा निर्भर छ । अमेरिकाको ऊर्जा आयातको ५१ प्रतिशत क्यानाडाबाट आउँछ । क्यानडाका कम्पनीहरूले अमेरिकामा ६२० अर्ब डलर लगानी गरेका छन् भने अमेरिकी कम्पनीहरूले क्यानडामा ५५० अर्ब डलर लगानी गरेका छन् । २० लाखभन्दा बढी क्यानडाली रोजगारीहरू अमेरिकासँगको व्यापारमा निर्भर छन् । बैंक अफ क्यानडाका पूर्वगभर्नर स्टीफन पोलोजले देशको अर्थतन्त्र मन्दीमा रहेको बताएका छन् । तीव्र जनसंख्या वृद्धिका कारण अर्थतन्त्रका कमजोरी लुकेको उनको भनाइ छ । उनले हालैको एक कार्यक्रममा क्यानडामा मन्दी रहेको र यो मन्दी प्राविधिक नभएको बताएका थिए ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष दाहालले लिए सपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले शुक्रबार प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हालेका छन् । अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उनलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । नेपाल सरकारले अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको अध्यक्ष भई कामकाज गर्न अध्यक्ष दाहाललाई हिजो जिम्मेवारी दिएको हो । अध्यक्ष दहाल अर्थ मन्त्रालयका सहसचिव तथा नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका सदस्यसमेत हुन् । कार्यभार सम्हाल्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष दाहालले आफ्नो पहिलो प्राथमिकता चाँडै नै प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि पहल गर्ने र दोस्रो प्राथमिकता प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति रहेको जानकारी दिए । उनले प्राधिकरणमा परिवर्तन आएको देखिने गरी दत्तचित्त भएर काम गर्न र आ–आफ्नो जिम्मेवारी पूरा गर्न कर्मचारीहरूलाई निर्देशन दिँदै आफूले सकेसम्म दीर्घकालीन प्रभाव पर्ने कुनै काम नगर्ने स्पष्ट गरे । अध्यक्ष दाहालले भने, ‘बीमितहरू मर्कामा परेका मुद्दाहरूको फछ्र्यौटलाई प्राथमिकता दिनुपर्छ, बीमितको हकतिको संरक्षण गर्ने र बीमा गर्दा राम्रो हुन्छ भन्ने विश्वास नागरिकमा जगाउने गरी काम गर्नुपर्छ, बीमकहरूको समस्या समाधान र बीमा क्षेत्रको विकास एवम् विस्तारमा ध्यान दिनुपर्छ ।’

दुबई पठाइदिन्छु भन्दै ४ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । आकर्षक तलबमा दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका -६ बस्ने ४६ वर्षीय मन्जित चित्रकार रहेका छन् । उनलाई काठमाडौंबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । आकर्षक तलबमा दुबई पठाइ दिने भन्दै चित्रकारले पीडितसँग ४ लाख रुपैयाँ लिएको र त्यसपछि उनी सम्पर्कविहीन भएको भन्दै पीडितले प्रहरी समक्ष उजुरी दिएका थिए । सोही उजुरीको आधारमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

भिभोको क्रिककार्निवलमा केटीएम आरसी २०० जित्ने मौका

काठमाडौं । स्मार्टफोन ब्रान्ड र नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक स्मार्टफोन साझेदार भिभोले ‘क्रिककार्निवल’ को सुरुवात गरेको छ । नेपालमा आफ्नो सफल सात वर्ष पूरा गरेको खुसीमा भीभोले आफ्नो ७ औं सेल्स कार्निवलको सुरु गरेको हो । यो कार्यक्रम ४ डिसेम्बरदेखि सुरु भइसकेको छ भने ३१ डिसेम्बरसम्म सञ्चालन हुने भीभो नेपालले जनाएको छ । क्रिककार्निवलमा भिभो स्मार्टफोन खरिद गर्दा आकर्षक पुरस्कार र विशेष सुविधा प्राप्त गर्न सकिने जनाइएको छ । क्रिककार्निवलअन्तर्गत भिभोले ग्राहकहरूलाई केटीएम आरसी २०० बम्पर पुरस्कार जित्ने मौका दिएको छ । अन्य पुरस्कारहरूमा भिभो स्मार्टफोन, टीडब्ल्यूएस इयरबड्स, ६ महिना सम्मको विस्तारित वारेन्टी र थप सरप्राइजहरू समावेश छन् । भिभोले नेपालमा आफ्नो ७ वर्ष पुरा भएको उपलक्ष्यमा आफ्नो पुरानो ग्राहकहरूको सम्मानमा ७ भाग्यशाली भिभो भी ७ प्रयोगकर्ताहरूका लागि विशेष एक्सचेन्ज अफर ल्याएको छ । यी ग्राहकहरूले आफ्नो भिभो भी ७, भिभो भी ४० सँग केवल ३१ हजारमा एक्सचेन्ज गर्न पाउनेछन् ।

झापामा ९३७ मेट्रिक टन कोदो उत्पादन

भद्रपुर । जिल्लामा यसवर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार सात सय २६ दशमलव ८८ हेक्टर क्षेत्रफलमा उक्त परिणाममा कोदो उत्पादन भएको हो । यस वर्ष प्रति हेक्टर एक दशमलव २९ मेट्रिक टनका दरले कोदो उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले बताए । उनका अनुसार अधिंकाश स्थानीय तहले कोदो उत्पादनका लागि अनुदान दिएका छन् । भद्रपुर नगरपालिकाले परम्परागत बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत यसवर्ष कोदो खेतीका लागि दुई सय ५१ कठ्ठा क्षेत्रफलमा प्रति कठ्ठा एक हजार रुपैयाँका दरले प्रोत्साहनस्वरुप किसानलाई अनुदान दिएको नगरपालिकाको कृषि शाखाका अधिकृत सुमन विमलीले बताए । कोदो जस्ता बालीले हाम्रो परम्परा, संस्कार र पहिचान संरक्षण हुनाका साथै किसानको आयआर्जनमा सहयोग पुग्ने भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले बताए । रैथाने बाली प्रवर्द्धन कार्यक्रमले कृषिमा विविधता ल्याउने मात्र नभइ स्थानीय समुदायको जीवनस्तर सुधार गर्न योगदान पु¥याउने उनको भनाइ छ । नगरपालिकाले आगामी वर्षमा कोदो खेतीको क्षेत्रफल विस्तार गर्दै प्रविधि हस्तान्तरण र उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको छ ।

हरेक वर्ष १३ अर्ब डलरको तेल किन्ने तयारी गर्दै मुकेश अम्बानी

काठमाडौं । भारतीय कम्पनी रिलायन्स इन्डस्ट्रीजका अध्यक्ष मुकेश अम्बानीले हरेक वर्ष १३ अर्ब डलरको तेल किन्ने तयारी गरेका छन् । यसका लागि उनले रुसको रोजनेफ्टसँग १० वर्षका लागि वार्षिक १२-१३ अर्ब डलरको कच्चा तेल आयात गर्ने सम्झौता गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सम्झौताअनुसार रुसको सार्वजनिक क्षेत्रको पेट्रोलियम कम्पनी रोजनेफ्टले रिलायन्सलाई दैनिक ५ लाख ब्यारेल (वार्षिक २ करोड ५० लाख टन) कच्चा तेल आपूर्ति गर्नेछ । अम्बानीले वार्षिक रूपमा १२ देखि १३ बिलियन डलरको तेल किन्नेछन् । यसबारे सोध्दा रिलायन्सका प्रवक्ताले रसिया ‍‍भारतका लागि कच्चा तेलको सबैभन्दा ठूलो आपूर्तिकर्ता भएको बताए । उनले भने, ‘हामी कच्चा तेल खरिदका लागि रसियालगायत धेरै अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरूसँग संधै संलग्न छौं । बजारको अवस्थाअनुसार अर्थतन्त्रका आधारमा कार्गोको संख्या फरक पर्नेछ ।’ रुसबाट तेल आयात रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेपछि भारत रुसी कच्चा तेलको दोस्रो ठूलो खरिदकर्ता बनेको छ । युद्धअघि कुल आयातित तेलमा रुसको हिस्सा एक प्रतिशतभन्दा कम थियो, जुन अहिले बढेर ४० प्रतिशत पुगेको छ । यो वृद्धिको मुख्य कारण रुस र युरोपेली देशहरूले त्यहाँबाट खरिद नगर्न लगाएको मूल्य सीमा हो । जसका कारण रुसी कच्चा तेल अन्य अन्तर्राष्ट्रिय बजारबाट आपूर्तिको तुलनामा सस्तोमा उपलब्ध छ । विश्वको तेस्रो ठूलो तेल उपभोक्ता र आयातकर्ता भारतले अक्टोबरमा रुसबाट दुई अर्ब युरोको कच्चा तेल किनेको थियो । यो अघिल्लो महिनाको २.४ बिलियन युरो भन्दा कम हो । चीनले अक्टोबरमा रुसको कच्चा तेल निर्यातको ४७ प्रतिशत किनेको थियो । त्यसपछि भारत (३७ प्रतिशत), युरोपियन युनियन (६ प्रतिशत) र टर्किए (६ प्रतिशत) रहेको छ । रिलायन्सको गुजरातको जामनगरमा दुईवटा रिफाइनरीहरू छन् जसले कच्चा तेललाई प्रशोधन गरेर पेट्रोल र डिजेलमा परिणत गर्छन् । रिलायन्सले युरोप र अन्य देशहरूमा इन्धन बिक्री गर्दछ । कम्पनीले यसअघि रोजनेफ्टबाट प्रति महिना कम्तीमा ३० लाख ब्यारेल तेल किन्न एक वर्षको सम्झौता गरेको थियो । जामनगरमा रहेको रिलायन्सको दुई रिफाइनरीमध्ये एउटा मात्र निर्यातका लागि हो । यो ५ लाख ८० हजार ब्यारेल प्रतिदिन क्षमताको युनिटले उत्पादन हुने सबै इन्धन निर्यात गर्छ । अन्य ६ लाख ६० हजार ब्यारेल दैनिक एकाइले स्वदेशी आवश्यकता पूरा गर्ने हो ।

मोटोपना अस्ट्रेलियाको स्वास्थ्य जोखिमको पहिलो कारण

काठमाडौं । अस्ट्रेलियामा पहिलो पटक अस्ट्रेलियामा बढी तौल हुनु रोगको प्रमुख जोखिम कारक बनेको छ । सरकारी तथ्यांककाअनुसार अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयरले बिहीबार आफ्नो वार्षिक अस्ट्रेलियन बर्डन अफ डिजिज स्टडी २०२४ प्रकाशित गरेको छ । मोटोपनासहित अधिक तौल हुनुलाई प्रमुख परिमार्जनयोग्य जोखिम कारकको रूपमा पहिचान गरेको थियो । धुम्रपान प्रयोग पहिले प्रमुख जोखिम कारक थियो । तर यसबाट हुने जोखिम २००३ यता ४१ प्रतिशतले घटेको छ । अध्ययनले २०२४ मा अस्ट्रेलियाको कुल रोग बोझको ८.३ प्रतिशत अधिक तौलको जोखिम कारकलाई श्रेय दिएको छ । ७.६ प्रतिशतको लागि धुम्रपानको प्रयोग र ४.८ प्रतिशतका लागि सबै आहार जोखिमहरू जिम्मेवार छन् । २०२२ मा अस्ट्रेलियाका ६६ प्रतिशत वयस्क र २६ प्रतिशत बालबालिका र किशोरकिशोरीहरू अधिक तौल वा मोटो भएको पत्ता लगाएको थियो ।