श्रीनगर एग्रीटेक इन्डस्ट्रिजले १० प्रतिशत आईपीओ जारी गर्ने
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिको अध्यक्षमा सतिसचन्द श्रेष्ठसहित ५ जना सदस्य रहने गरी ६ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । साथै सञ्चालन समिति सदस्यको रूपमा मौशुमी श्रेष्ठ, कमलप्रसाद नेपाल, पोषकराज पौड्याल, रामकृष्ण खतिवडा र स्वतन्त्र सञ्चालक सदस्यको रूपमा अमरबहादुर थिंगलाई निर्विरोध निर्वाचित गरेको छ । साधारण सभाले श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको वार्षिक प्रतिवेदन पारित गरेको छ । त्यसैगरी, कम्पनीको कूल चुक्ता पुँजीको १० प्रतिशत सर्वसाधारणका लागि साधारण सेयर निष्कासन (आईपीओ) गर्ने प्रस्ताव पारित गरेको छ ।
नेपालमा २ लाख मेगावाट जलविद्युत उत्पादनको सम्भावना छ, ढुक्कले लगानी गर्नूहोस् : अध्यक्ष कार्की
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले दक्षिण कोरियाली लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् । दक्षिण कोरियामा आयोजित ‘नेपाल इन्भेष्टर सेमिनार’लाई सम्बोधन गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको र नेपालको कन्ट्री रेटिङसमेत दक्षिण एसियामा भारत बाहेक सबैभन्दा राम्रो रहेकोले नेपालमा ढुक्कसँग लगानी गरी सहज र सुरक्षित प्रतिफल लिन आग्रह गरेका हुन् । नेपालको जलविद्युत क्षेत्रमा कोरियन लगानीमा २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाको निर्माण अघि बढाएकोमा धन्यवाद दिँदै अध्यक्ष कार्कीले नेपालमा ऊर्जा उत्वपादनको ठूलो सम्भावनालाई साकार पार्न कोरियाबाट धेरै ठूलो लगानीको अपेक्षा गरेको बताए । कोरियामा बसेका नेपालीहरुले समेत नेपालको ऊर्जा क्षेत्रमा प्रवर्द्धक तथा साधारण सेयर होल्डर भएर लगानी गरेको स्मरण गर्दै उनले राष्ट्र र व्यक्तिगत फाइदाका लागि समेत कोरियामा बस्ने नेपालीबाट थप लगानीका लागि आग्रह गरेका छन् । हाल नेपालको जलविद्युतको जडित क्षमता २०० आयोजनाबाट ३२ सय मेगावाट पुगेकोमा झण्डै ८० प्रतिशत अर्थात २६ सय मेगावाट निजी क्षेत्रबाट उत्पादन भइरहेको छ । ४ हजार मेगावाट निर्माणाधीन र त्यतिनै क्षमताका आयोजना वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको, १० हजार मेगावाट क्षमताका आयोजना विद्युत खरिद विक्री सम्झौता (पीपीए) को पर्खाइमा रहेको र २८ हजार मेगावाट क्षमताका आयोजना विभिन्न चरणमा रहेको कार्कीले बताए । यी आयोजनाको क्षमताले नेपाल विश्वबजारमा क्लिन इनर्जीको हबको रुपमा स्थापित हुने पनि उनको भनाइ थियो । नेपालले अहिले वर्षायाममा १ हजार मेगावाट भारत र ४० मेगावाट विद्युत बंगलादेशमा निर्यात गरिरहेको छ भने भारतबाट हिउँदमा ७०० मेगावाटसम्म विद्युत आयात गरिरहेको छ । नेपालका ६ हजार साना ठूला नदीनालाबाट २ लाख मेगावाट जलविद्युत उत्पादनको सम्भावना रहेको कार्कीले बताए । ‘विदेशी लगानी विशेषगरी कोरियन लगानीका लागि नेपालमा धेरै ठूलो अवसर छ । नेपालको क्षत्रीय बजारमा भइरहेको विद्युत व्यापारले क्षेत्रीय ऊर्जा सहकार्यलाई दर्शाइरहेको छ । यसले नेपाल एसियामा ठूलो ऊर्जा निर्यातकर्ता मुलुक बन्न सक्ने देखाउँछ,’ उनले भने । सन २०३५ सम्म नेपालले २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएकोमा १५ हजार मेगावाट निर्यात गर्ने र १३ हजार ५०० मेगावाट आन्तरिक खपत गर्ने लक्ष्य लिएको छ । यसका लागि नेपाललाई ५० बिलियन डलर उत्पादनमा र ८ बिलियन डलर प्रसारण र वितरण संरचना निर्माणमा लगानी चाहिने कार्कीले बताए । यो लक्ष्य प्राप्तिका लागि नेपालले लगानीकर्तालाई मात्रै आमन्त्रण गरेको छैन, त्यहाँ आयोजनाका लागि आवश्यक पर्ने कन्सल्ट्यान्ट सेवा, उपकरण उत्पादक, उपकरण आपूर्तिकर्ता, डिजाइनर, बैंकर, बीमक, पुर्नबिमक लगायतका सेवा प्रदायकका लागि पनि ठूलो अवसर रहेको कार्कीले बताए ।
बैंकर्स संघको अध्यक्ष सन्तोष कोइराला बन्ने, उपाध्यक्षमा रेग्मी
काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए)को अध्यक्षमा सन्तोष कोइराला बन्ने सहमति भएको छ । प्रभु बैंकका सीईओ अशोक शेरचन ब्याक हटेपछि माछापुच्छ्रे बैंकका सीईओ समेत रहेका कोइराला बैंकर्स संघको अध्यक्ष बन्ने भएका हुन् । हाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, उपाध्यक्ष सन्तोष कोइरालाको अवधि सकिँदैछ । साथै, कार्यसमिति सदस्य नेपाल एसबिआई बैंकका सीईओ दिपककुमार दे र एभरेष्ट बैंकका सीईओ सुदेश खालिङको पनि अवधि सकिँदैछ भने एक सदस्य पद रिक्त छ । बैंकर्स संघको साधारण सभाले संघको अध्यक्ष, उपाध्यक्ष र ३ जना सदस्यसहित नयाँ कार्यसमिति चयन गर्दैछ । अध्यक्ष पदका लागि सीईओ कोइराला र सीईओ शेरचनले मनोनयन दर्ता गरेका थिए । अन्तिममा सीईओ शेरचन ब्याक हटेपछि कोइराला अध्यक्ष बन्ने निश्चित भएको हो । यस्तै, कोइराला अध्यक्ष बन्ने भएपछि बैंकर्स संघको उपाध्यक्षमा भने ग्लोबल आइएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मीले मनोनयन दर्ता गराएका छन् । उपाध्यक्षमा अर्काे उम्मेदवारी नपरेपछि सीईओ रेग्मी निर्विरोध निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा भने एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ दोहोरिने भएका छन् । साथै बाँकी रिक्त कार्यसमिति सदस्यमा नेपाल बैंकका सीईओ तिलकराज पाण्डेय र कुमारी बैंकका सीईओ रामचन्द्र खनाल आउने भएका हुन् ।
चाइनामा मासु निर्यातले युवाको विदेश पलायन केही हदसम्म रोकिन्छ : कृषिमन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले चीनमा राँगाको मासु निर्यातमा अथाह सम्भावना रहेको बताएका छ्न् । नेपालमा उत्पादित राँगाको मासु चीन निर्यात गर्ने सम्बन्धमा हिमालयन फुड इन्टरनेसनल र चाइना जियान फुडबीचको सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री अधिकारीले चाइनामा राँगाको मासु निर्यातको अथाह सम्भावना भएकाले नेपाली युवाले राँगा पालन व्यवसायमा लगानी गर्न अनुरोध पनि गरे । यसले गर्दा विदेश पलायन हुने युवा केही हदसम्म भए पनि रोकिने उनको दाबी छ । उनले भने, ‘चाइनामा मासु निर्यातले नेपाली युवा विदेश पलायन केही हदसम्म रोकिन्छ । जसका लागि युवाले राँगा पालन व्यवसायमा लगानी गर्नु पर्छ ।’ मन्त्री अधिकारिले युवालाई कृषि क्षेत्रमा आउन आह्वान गर्दै सरकारको तर्फबाट गर्नुपर्ने काममा आफू प्रतिबद्ध रहेको बताए । यसका लागि उनले नेपालको हावापानीमा उत्पादित पशुको मासु पोषिलो हुने दाबीसमेत गरे ।
एनसीएचलएल अफर : पुस १६ सम्म नेपालपे इन्स्टन्टमार्फत् निःशुल्क फण्ड ट्रान्सफर
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न मोबाइल नम्बरको आधारमा हुने नेपालपे इन्स्टन्टको फण्ड ट्रान्सफर निःशुल्क गरेको छ । एनसीएचएल डिजिटल भुक्तानी पूर्वाधार स्थापना तथा प्रवर्द्धनमा लागि परेको १६ वर्ष हुँदै गरेको उपलक्ष्यमा ट्रान्सफर नि: शुल्क गरिएको हो । अब नेपालपे इन्स्टन्टको सुविधा उपलब्ध रहेको बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ ग्राहकहरू तथा कनेक्टआइपीएस प्रयोगकर्ताहरूले पौष १६ गतेसम्मका लागि नेपालपे इन्स्टन्टमार्फत बिना शुल्क ३१ बैंक वित्तीय संस्थाहरूमा फण्ड ट्रान्स्फर गर्न सक्नेछन्। नेपालपे इन्स्टन्टमार्फत एक प्रोक्सीको आधारमा डाइरेक्ट क्रेडिट उपकरण हो, जसमा लाभग्राहीको भर्जुअल प्राइभेट एड्रेस (भीपीए)को आधारमा फण्ड ट्रान्सफर गर्न सकिन्छ, जुन लाभग्राहीको मोबाइल नम्बर रहेको छ । हाल नेपालपे इन्स्टन्टको सुविधा कनेक्ट आइपीएस तथा कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक, गरिमा विकास बैंक तथा साग्रिंला विकास बैंकका मोबाइल बैंकिङ एपहरूमा उपलब्ध रहेको छ ।
नेपालमा ब्रिटिश काउन्सिल आईएलटीएस उपहार २०२४ को विजेता घोषणा
काठमाडौं । ब्रिटिश काउन्सिलको आईएलटीएस उपहार सिजन २.० का विजेताहरू १० डिसेम्बर २०२४ मा एक कार्यक्रममा पुरस्कारहरूद्वारा सम्मानित गरिएको छ । सन् २०२३ मा आयोजित आईएलटीएस उपहारको सफलताको आधारमा, ब्रिटिश काउन्सिलले आईएलटीएस उपहार सिजन २.० यस पटकको दोस्रो संस्करणमा आएलटिस परीक्षा दिनेहरूलाई धेरै ठूला र आर्कषक पुरस्कारहरू प्रदान गरेको छ । सेप्टेम्बर २६ देखि नोभेम्बर ३० बीचको कुनै पनि आएलटिस परीक्षा दिने र अक्टोबर २०२४ पछि कम्प्युटर परीक्षण मितिहरूमा आईएलटीएसको लागि दर्ता गरी भुक्तानी पूरा गर्ने प्रशिक्षार्थीहरू यस वर्षको प्रस्तावको लागि योग्य थिए । ब्रिटिश काउन्सिल फेसबुक च्यानल मार्फत लक्की ड्र प्रक्रिया अन्तर्गत कुल पाँच विजेताहरूको चयन गरिएको थियो । यस वर्ष दुई मासिक पुरस्कार विजेता र तीन बम्पर पुरस्कार विजेताहरू चयन गरिएको थियो। सेप्टेम्बर र अक्टोबरमा दर्ता भएका दुई भाग्यशाली मासिक विजेताहरूले एप्पल म्याकबुक एर प्राप्त गरेका छन् । दुई भाग्यशाली विजेताले टर्किस एयरलाइन्स प्रायोजित युके र अमेरिकाको एकतर्फी टिकट जितेका छन् भने तेस्रो विजेताले ब्रिटिश काउन्सिलद्वारा प्रायोजित अस्ट्रेलियाको एकतर्फी टिकट जितेका छन् । एप्पल म्याकबुक एर विजेताहरू मिनर्भा चुनी ओङ्मु कार्की र केशव थापा युके र अमेरिकाका लागि एकतर्फी टर्किस एयरलाइन्स टिकट विजेताहरू- क्रमशः कनिस्का पौडेल र प्रणय शाक्य, अस्ट्रेलियाको एकतर्फी टिकट विजेता अनमोल खड्का, अभियान अवधिमा सबैभन्दा धेरै दर्ता गर्न योगदान दिने तीन शीर्ष आईएलटीएस साझेदारहरूको उत्कृष्ट प्रयासलाई पनि सम्मान गरिएको छ । प्रत्येक साझेदारलाई उनीहरूको समर्थन र आईएलटीएस प्रवर्द्धन गर्न प्रतिबद्धताको लागि प्रशंसाको प्रतीकको रूपमा आईप्याड प्रदान गरिएको थियो । अर्बिट मेडिकल एन्ट्रेंस (ओएमई), नेपाल शैक्षिक परामर्श संघ (इक्यान), केआइसी लर्निङ सेन्टर, कार्यक्रममा ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले भने, ‘परीक्षा दिन चाहनेहरुका लागि आगामी अवसरहरु मनाउन पाउनु सौभाग्यको कुरा हो । सरल भाषामा भन्नुपर्दा, आईएलटीएस परीक्षा मात्र होइन । यो विश्वव्यापी शिक्षा, विशेष प्रशिक्षण, र आशाजनक क्यारियरको लागी एक प्रवेश द्वारको रुपमा रहेको छ। धेरै वर्षदेखि, ब्रिटिस काउन्सिलले हाम्रा विश्वसनीय साझेदारहरू र एजेन्टहरूद्वारा समर्थित नेपालभर परीक्षाहरू गर्वका साथ प्रदान गर्दै आएको छ । सँगै, हामी युवाहरूलाई थप अध्ययन, व्यावसायिक प्रशिक्षण, वा विदेशमा क्यारियरहरू पछ्याउन सशक्त गर्दैछौं। आएलटिस उपहार अभियानका विजेताहरूलाई बधाइ छ, र तपाईंले गुणस्तरीय शिक्षातर्फको यात्रामा अघि बढिरहनु भएकोमा शुभकामना ।’ प्रतिष्ठा थापा रायमाझी, परीक्षा निर्देशक, ब्रिटिस काउन्सिल नेपालले कार्यक्रममा टिप्पणी गर्दै भनिन् ‘आईएलटीएस उपहार अभियानका सबै विजेताहरूलाई बधाई! हामी आशा गर्दछौं कि यी पुरस्कारहरूले तपाईंलाई थप शिक्षाको तपाईंको सपनाहरू प्राप्त गर्न नजिक ल्याउनेछन् । नेपालमा आईईएलटीएस लाई अझ किफायती र पहुँचयोग्य बनाउन प्रतिबद्ध छौं, त्यसै अनुरुप हामीले चितवन र बुटवलमा कम्प्युटर सुविधाहरू सहित हाम्रा परीक्षा केन्द्रहरू विस्तार गर्दैछौं। आजको डिजिटल संसारमा, हामी परीक्षार्थीहरूलाई कम्प्युटरमा आईएलटीएस को लागि फाइदा लिन अनुरोध गर्छौं। हाम्रा आईएलटीएस साझेदारहरूलाई यहांहरूको निरन्तर सहयोगको लागि धन्यवाद।’
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा गरिएको वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् । पाँचदिने औपचारिक भ्रमणका लागि दक्षिण कोरियामा रहेका मन्त्री भण्डारीले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध विस्तारको ५० वर्ष पुगेको अवसरमा बुसान चेम्बर अफ कमर्सको सहयोग एवं कोरियास्थित नेपाली दूतावास कोरिया र कोरिया नेपाल इन्टरनेसनल एक्सचेन्ज एसोसिएनको आयोजनामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गदै यस्तो बताएका हुन् । ‘वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ । ढुक्कका साथ लगानी गर्न कोरियन लगानीकर्तालाई म आग्रह गर्दछु’, मन्त्री भण्डारीले भने । उनले कोरियाले अपर त्रिशूलीमा गरेको लगानीले यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुगेको भन्दै प्रशंसा गरेका थिए । कोरियाको पुँजी र प्रविधि नेपाल भित्र्याउन चाहेको र आगामी दिनमा नेपाल र कोरियाबीचको आपसी सम्बन्ध थप उचाइमा पुर्याउनुपर्ने भन्दै मन्त्री भण्डारीले नेपालको उद्योग, व्यापार तथा पर्यटन क्षेत्रको विकासमा लगानी गर्न आग्रह गेको उनका प्रमुख स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए । उनका अनुसार मन्त्री भण्डारीले महत्वपूर्ण व्यापार साझेदारका रूपमा रहेको कोरियाको भौतिक विकास, ज्ञान, सीप र प्रविधिलाई नजिकबाट नियाली रहेको र कोरियामा भइरहेको विकासबाट नेपालीहरूलाई थप लाभान्वित गर्न चाहेको समेत मन्त्री भण्डारीले बताएका थिए । नेपालमा युवा जनशक्ति, कच्चापदार्थको उपलब्धता, भौगोलिक विविधताले समेत लगानीको प्रतिफल प्राप्त हुने भएकाले यहाँ लगानी गर्न उनले आग्रह गरे । ‘भारत, चीन, बङ्गलादेशलगायत छिमेकी मुलुकको बजारका कारणले समेत नेपाल लगानीको उपयुक्त सम्भावना छ । नेपालमा लगानी गरी व्यवसाय प्रवर्द्धन र थप रोजगारी सृजना गर्न कोरियन लगानीकर्ताहरुलाई सरकारका तर्फबाट गर्नुपर्ने सबै किसिमको सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, मन्त्री भण्डारीको भनाइ थियो । यसैगरी उनले नेपाली युवालाई रोजगारी प्रदान गरेकामा इपियस कोरिया र कोरिया सरकारलाई धन्यवादसमेत व्यक्त गरेका थिए ।भ्रमणका क्रममा कोरिया सरकारका मन्त्रीसँग आफूले व्यापार तथा लगानी सम्झौता गर्न लागेको मन्त्री भण्डारीले बताएको उनका प्रमुख स्वकीय सचिव भट्टले जानकारी दिए ।
लोडसेडिङ हुन नदिन भारतबाट साढे ६ सय मेगावट विद्युत आयात हुन्छ : उर्जामन्त्री
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले भारतबाट साढे ६ सय मेगावट विद्युत आयात गर्न लागिएको बताएका छन् । मन्त्री खड्काले नेपाल भित्रको आन्तरिक विद्युत आपूर्तिलाई सहज बनाउनको लागि भारतसँग साढे ६ सय मेगावट विद्युत खरिद गर्न लागिएको बताए । मन्त्री खड्काले हिँउदमा विद्युत आपूर्ति सहज बनाउनको लागि भारतसँग साढे ६ सय मेगावट विद्युत आयात गर्ने सहमति भएअनुरुप पुस महिनादेखि नै खरिद गरिने बताए । उनले गत वर्षको बाढीले जलविद्युत आयोजनाहरुमा धेरै क्षति भएर उत्पादनमा देखिएको कमीको कारण लोडसेडिङ हुन नदिनको लागि भारतसँग विद्युत पुस महिनाबाट खरिद गर्न लागिएको बताए । उनले सरकारले क्षति भएका आयोजनाहरुको निर्माणमा तिब्रता दिएको भन्दै विद्युत माग र आपूर्ति सहज बनाउने विषयमा गम्भीर रहेको बताए । मन्त्री खड्काले गत वर्षको भन्दा साढे ३ सय मेगावट जति यस वर्ष उत्पादन थप हुने र हिउँदामा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्ने भएकाले सकेसम्म लोडसेडिङ हुन नदिने योजनाका साथ कार्यतालिका बनाएको बताए । उनले बेलुका साँझको बेला भारतले चार घण्टा दिनसक्ने बताए पनि भारतसँग थप छलफल गर्ने तयारी रहेको बताए । मन्त्री खड्काले भारतका ऊर्जामन्त्री नेपालमा आउने तयारी रहेको भन्दै भारतका ऊर्जामन्त्री नेपाल आएको बेलामा छलफल गरिने बताए । उनले केही घण्टा बेलुकाको समयमा कुनै ठाउँमा लोडसेडिङ हुने अनुमान भएपनि सकेसम्म हुन नदिने योजना रहेको बताए । उनले भारतबाट नेपालले ९ सय मेगावटसम्म आपूर्ति गर्ने गरेको भन्दै यो वर्ष साढे ६ सय मेगावट आपूर्ति गरिने बताए । उनले नेपालभित्रै साढे ३ सय मेगावट थप हुने देखिएकाले कम आपूर्ति गर्न लागिएको बताए ।