एनएमबि बैंकको पुँजी २१.३६ अर्ब रुपैयाँ पुर्याउने, अग्राधिकार सेयर पारित गर्न डाक्यो सभा
काठमाडौं । अग्राधिकार सेयर पारित गर्न एनएमबि बैंकले २९औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको बैठकले पुस २५ गते काठमाडौंमा बिहान १० बजे साधारण सभा बोलाएको हो । बैंकको सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम प्रतिकित्ता १ सय रुपैयाँ दरका ३ अर्ब रुपैयाँको एनएमबि ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारीपश्चात् बैंकको अधिकृत पुँजी २० अर्ब रुपैयाँलाई २५ अर्ब रुपैयाँ पुर्याउने, जारी तथा चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँलाई वृद्धि गरेर २१ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ पुरÞ्याउने प्रस्ताव पारित गर्नेछ । बैंकको प्रवन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्नेछ । आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समिति र २. लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गर्नेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेछ । (हालका लेखापरीक्षक एस.ए.आर. एशोसिएट्स, चार्टर्ड एकाउण्टेन्ट्स पुनः नियुक्त हुनका लागि योग्य रहेको बैंकले जनाएको छ ।
लाभांश पारित गर्न माउन्टेन इनर्जीले डाक्यो ११औँ सभा, १.३० अर्बको हकप्रद जारी गर्ने
काठमाडौं । लाभांश तथा हकप्रद सेयर प्रस्ताव पारित गर्न माउन्टेन इनर्जी नेपालले ११औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको बैठकले पुस २८ गते काठमाडौंमा बिहान १० बजे ११औँ वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख ३१ हजार रुपैयाँको १५ प्रतिशतका दरले ३३ करोड ९४ लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ०.७८ प्रतिशतका दरले १ करोड ७८ लाख ६७ हजार रुपैयाँ नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । बोनस वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले उक्त चुक्ता पुँजीको १ः०.५० अनुपातमा १ अर्ब ३० करोड १३ लाख ५७ हजार रुपैयाँको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । यस्तै, सञ्चालक समितिमा एक जना महिला सञ्चालक निर्वाचन र लेखापरीक्षक नियुक्त गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
आज सेयरधनी बने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश पाइने
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज पुस २ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । लाभांश प्रस्ताव पारित गर्न शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६औँ वार्षिक साधारण सभा पुस १९ गते मणिग्राम रुपन्देहीमा बिहान ११ बजे बोलाएको छ । सभाले गत आर्थिक वर्ष २०८०/८१ को चुक्ता पुँजी ४ अर्ब ७३ करोड ३६ लाख ९० हजार रुपैयाँको ३ प्रतिशतका दरले १४ करोड २० लाख १० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशतका दरले २३ करोड ६६ लाख ८४ हजार रुपैयाँ नगद गरी कुल ८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । यस्तै, सञ्चालक समितिमा संस्थापक सेयरधनीका तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने र लेखापरीक्षक नियुक्त गर्नेछ ।
सालझण्डी-ढोरपाटन खण्डः १४ वर्षमा ३० प्रतिशत काम
ढोरपाटन (बागलुङ) । सालझण्डी-ढोरपाटन खण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र सम्पन्न भएको छ । पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि विसं २०६७ देखि सुरु भएको आयोजनाको कामले गति लिन नसकेको हो । रुपन्देहीको सालझण्डीबाट सुरु भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङगरी पाँच जिल्लालाई जोडेको छ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने मुख्यमार्गका रूपमा रहेको यस खण्डको ट्र्याक खुलेदेखि स्तरोन्नति हुन नसकेको हो । सालझण्डीबाट ढोरपाटनसम्म एक सय ९७ किलोमिटर लामो यस खण्डअन्तर्गत हालसम्म १८ किमी मात्रै कालोपत्र भएको आयोजना कार्यालयले जनाएको छ । सोमध्ये रुपन्देहीमा ४.५ किमी र अर्घाखाँचीमा १३.५ किमी मात्रै सडक कालोपत्र भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयकी सूचना अधिकारी इञ्जिनियर कृष्टिना थापाले जानकारी दिए । अहिले पाँचवटै जिल्लाका विभिन्न खण्डमा ग्राभेलिङसहित काम भइरहेका उनले बताए । इञ्जिनियर थापाका अनुसार बागलुङको बुर्तिबाङबाट फल्लेघरसम्मको २२ किमी ग्राभेल हुँदैछ भने रुपन्देही र पाल्पाको खण्डअन्तर्गत कञ्चनखोलाबाट खुर्सानेसम्म १३.५ किमी कालोपत्र भइरहेको छ । उनले पाल्पाको खुर्सानेबाट अर्घाखाँचीको पतौटसम्मको २२ किमी सडक पनि कालोपत्र भइरहेको जानकारी दिए । त्यस्तै अर्घाखाँचीको माटेबाट भण्डारासम्म ७ किमी, गुल्मीको पुर्कोटदहबाट सिर्सेनीसम्मको १९ किमी, सिर्सेनीबाट गुल्मीको अर्खबाङसम्मको ८.२ किमीसडक कालोपत्र भइरहेको थापाले उल्लेख गरे । अर्घाखाँचीमा १८, गुल्मी र बागलुङ ७÷७ गरी ३२ किमी सडक स्तरोन्नतिको काम अझै सुरु हुन नसकेको उनले बताए । पर्याप्त बजेट नआउँदा आयोजनाको प्रगति कम भएको उनको भनाइ छ । ट्र्याक खुलेको लामो समयसम्म सडक स्तरोन्नति नहुँदा ढोरपाटन पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्नुपरेको ढोरपाटन–९ का बमबहादुर सुनारले बताए । साँघुरो सडक, खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारीसाधन बीच बाटोमा बिग्रिने हुँदा अलपत्र पर्ने गरेका उनको भनाइ छ । बर्खाको समय ठप्प हुने भन्दै हिउँदको समयमा पनि यातायातका साधन सहज रुपमा सञ्चालन हुन नसक्ने सुनारले बताए । ‘यो विकट ठाउँमा सडक आएपछि ठूलो राहत भए पनि लामो समयसम्म कालोपत्र नहुँदा यहाँका हजारौँ स्थानीय र पर्यटकले दुःख पाउँदै आएका छन् । टाढाटाढाबाट पर्यटक ढोरपाटन घुम्न आउँछन् तर बाटोको दूरावस्थाले गर्दा अर्को पटक आउने योजना सायद बनाउँदैनन्,’ उनले भने ।
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
काठमाडौं । कालीगण्डकी करिडोरको बलेवा-मालढुङ्गा खण्ड कालोपत्रका लागि गरिएको सम्झौता अवधिसकिएपछि मात्रै कामले गति लिएको छ । राष्ट्रिय गौरवको आयोजनाका कालीगण्डकी करिडोरको बलेवा-मालढुङ्गा खण्डको सम्झौता सकिएसँगै कामले तीव्रता पाउन थालेको हो । अहिले नाली, कल्भर्ट, पर्खाल तथा ग्याबिन लगाउने काम भइरहेको छ । कालोपत्रका लागि विडारी कन्ट्रक्सनसँग गरिएको सम्झौता सकिए पनि काम भने करिब ६० प्रतिशत सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ । म्याद सकिएसँगै १० किमी सडक निर्माणले तीव्रता पाएको हो । निर्माण कम्पनीलाई पटकपटक ताकेदा गरेपछि अहिले मालढुङ्गातर्फको खण्डमा धमाधम पूर्वाधारको काम भइरहेको आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी अरुण खत्रीले बताए । उनका अनुसार दुई वर्षमा सक्नेगरी सम्झौता भए पनि हालसम्म ६० प्रतिशत मात्रै पूर्वाधारको काम सकिएको हो । सूचना अधिकारी खत्रीका अनुसार निर्माण व्यवसायीलाई छ महिनाभित्र कालोपत्र सक्न निर्देशन दिइएको छ । दुई वर्षमा आधामात्रै काम गरेको निर्माण व्यवसायीलाई छ महिनाका लागि म्याद थपेपछि कामले गति लिएको उहाँले उल्लेख गरे । ‘अहिलेको सन्तोषजनक काम भइरहेको छ, सम्झौता सकिँदासम्म कालोपत्र नहुनु समस्याको विषय हो, अहिले थपिएको समयभित्र काम सक्न निर्माण कम्पनीलाई ताकेता गरिरहेका छौँ,’ खत्रीले भने, ‘बागलुङको भकुण्डेस्थित गलुवाको पहिरोका कारण काममा ढिलाइ भएको थियो, अहिले त्यही खण्डमा काम भइरहेको छ ।’ खत्रीका अनुसार बलेवा-हर्मिचौरको ४४ किमी सडक सम्झौताअगावै कालोपत्र भइरहँदा छोटो खण्डको रूपमा रहेको बलेवा-मालढुङ्गा सडकको १० किमी सडक अलपत्र परेको हो । आगामी जेठभित्र कालोपत्र सक्नेगरी मिति थप गरिएको हो । उनका अनुसार १० किमी दूरी रहेको यो खण्डका लागि ५५ करोड रुपैयाँमा निर्माण कम्पनीले ठेक्का लिएको थियोे । थप गरिएको समयसीमाभित्र सक्न कामलाई तीव्रता दिइएको निर्माण कम्पनीका सञ्चालक ध्रुव विडारी जानकारी दिए । सुरुमा निर्माणले तीव्रता पाए पनि समयमा भुक्तानी नपाउँदा समस्या भएको उनको भनाइ छ । ‘थप गरेको समयसीमाभित्रै कामसक्ने हाम्रो प्रयास हुन्छ, अहिले समस्याग्रस्त अलुवा क्षेत्रमा काम भइरहेको छ, गर्मी सुरु हुनासाथ कालोपत्र थाल्ने छौँ,’ विडारीले भने । करिडोर कालोपत्रपछि छिमेकी राष्ट्र चीन र भारतबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक क्रियाकलाप बढ्नेछन् । नेपालको उत्तरी सीमा चीनको कोरला र दक्षिणी सीमा भारतको सुनौली जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइन्छ ।
अमेरिकी डलरले फेरी बनायो नयाँ रेकर्ड, नेपाली रुपैयाँ झन कमजोर
काठमाडौं । मंगलबार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.४९ रुपैयाँ र बिक्रीदर १३६.०९ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि गत मंसिर २८ गते सबैभन्दा धेरै खरिददर १३५.४८ रुपैयाँ र बिक्रीदर १३६.०८ रुपैयाँ थियो । यससँगै नेपाली रुपैयाँ झन कमजोर बनेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४२.१३ रुपैयाँ र बिक्रीदर १४२.७६ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.४० रुपैयाँ र बिक्रीदर १७२.१६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.८६ रुपैयाँ र बिक्रीदर १५२.५३ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.०८ रुपैयाँ र बिक्रीदर ८६.४६ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.१४ रुपैयाँ र बिक्रीदर ९५.५६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.३६ रुपैयाँ र बिक्रीदर १००.८० रुपैयाँ, जापानी येन १० को खरिददर ८.८१ रुपैयाँ र बिक्रीदर ८.८५ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६० रुपैयाँ र बिक्रीदर १८.६९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.०७ रुपैयाँ र बिक्रीदर ३६.२२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.१७ रुपैयाँ र बिक्रीदर ३७.३३ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९८ रुपैयाँ र बिक्रीदर ३.९९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.८९ रुपैयाँ र बिक्रीदर ३७.०५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.४३ रुपैयाँ र बिक्रीदर ३०.५६ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.४४ रुपैयाँ र बिक्रीदर ९.४८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३६ रुपैयाँ र बिक्रीदर १२.४१ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०६ रुपैयाँ र बिक्रीदर १९.१४ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४३ रुपैयाँ र बिक्रीदर १७.५० रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४०.२० रुपैयाँ र बिक्रीदर ४४२.१५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५९.२० रुपैयाँ र बिक्रीदर ३६०.७९ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५१.९२ रुपैयाँ र बिक्रीदर ३५३.४८ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
भ्रष्टाचार गर्नेलाई आजीवन काराबासको व्यवस्था गर्नुपर्ने
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार गर्नेलार्ई आजीवन काराबासको व्यवस्था गर्नुपर्ने धारणा राखेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार जनकपुरधाममा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले भ्रष्टाचार गर्नेलाई पाँच वर्षदेखि १० वर्षसम्मको सजाय गर्नुभन्दा आजीवन काराबासको व्यवस्था गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री सिंहले भ्रष्टाचार नियन्त्रणका लागि अहिलेको कानुन पर्याप्त नरहेको उल्लेख गर्दै राजनीतिक क्षेत्र तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारीले विलासी जीवनशैली जिउने चाहना राख्दा भ्रष्टाचारले प्रश्रय पाइरहेको बताए । कर्मचारीको तलब कम भएकाले पनि जीवन धान्न भ्रष्टाचार गर्ने गरेका हुनसक्ने भएकाले समयसापेक्ष तलब वृद्धि गर्दै जानुपर्नेमा जोड दिए । तलब वृद्धि गर्ने, भ्रष्टाचार गरेको पाइएमा ती व्यक्तिमाथि कडा सजायको व्यवस्था गर्ने, सूचनाको हकलाई नागरिकसम्म पहुँच विस्तार गर्नेलगायत काम गरेमा भ्रष्टाचारमा स्वतः कमी आउने उनले दाबी गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले बेनामी उजुरीको विरोध गर्नेले मुलुकमा सुशासन नचाहेको बताउँदै बेनामी उजुरी नपरेका खण्डमा मुलुकमा थप भ्रष्टाचार बढ्ने दाबी गरे ।
साञ्जेन जलविद्युतको व्यावसायिक उत्पादन सुरु
काठमाडौं । चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ । सम्पूर्ण प्राविधिक परीक्षणलगायत काम सम्पन्न गरेर सोमबार साँझदेखि साञ्जेन जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा प्रवाह गरिएको हो । साञ्जेन जलविद्युत् आयोजनाले गत मङ्सिर ८ गतेदेखि परीक्षण उत्पादन गर्दै आएको थियो । रसुवाको आमाछोदिङ्मो-५ मा निर्माण भएको सो आयोजनाको क्षमता ४२.५ मेगावाट रहेको छ । सबै प्राविधिक परीक्षण सम्पन्न गरी गत मङ्सिर ८ गते पहिलो युनिटबाट बिजुली उत्पादन गरिएको थियो । उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा सोमबारदेखि व्यावसायिक रूपमा उपलब्ध गराइएको आयोजनाका सबइञ्जिनियर रविन कोइरालाले जानकारी दिए । ‘क्यास्केड मोडल’मा निर्माण गरिएका अर्धजलाशय प्रकृतिको दुई आयोजनामध्ये साञ्जेन (माथिल्लो) जलविद्युत् आयोजना विसं २०८० भदौ मसान्तमा सम्पन्न गरी विसं २०८० असोज २१ गतेदेखि राष्ट्रिय प्रणालीमा बिजुली उपलब्ध गराउँदै आएको थियो । कूल ११ केभी क्षमताको आपत्कालीन प्रसारण लाइनमार्फत व्यापारिक रुपमा बिजुली प्रवाह गरिरहेको थियो । सो आयोजनाको विद्युत् प्रवाहका लागि कम्पनी आफैँले ८ किलोमिटर ११ केभी डबल सर्किट प्रसारणलाइन तथा १३२/११ केभी सबस्टेसन निर्माण गरेको थियो । चिलिमे त्रिशूली ६६ केभी प्रसारण लाइनमार्फत क्षमताको सीमितताका कारण करिब ८.५ मेगावाट विद्युत् वैकल्पिक रूपमा बिक्री गर्दै आएको थियो । साञ्जेन तथा साञ्जेन (माथिल्लो) दुवै आयोजना २०७२ सालको भूकम्प, कोभिड-१९, नाकाबन्दी, राष्ट्रिय प्रसारण लाइन उपलब्ध नहुनुलगायत कारणले निर्धारित समयमा सम्पन्न हुन नसकेको आयोजना कार्यालयले जनाएको छ । हालै चिलिमे-त्रिशूली दुई सय २० केभी प्रसारण लाइन सम्पन्न हुनेबित्तिकै ती आयोजनाबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएको कम्पनीले जनाएको छ । नेपालमा निर्माणाधीन अर्धजलाशययुक्त आयोजनामध्ये नमुना आयोजनाका रुपमा साञ्जेन रहेको कम्पनीले जनाएको छ । साञ्जेन माथिल्लो जलविद्युत् आयोजनाको बाँधस्थलमा करिब ४४ हजार घनमिटर क्षमताको पानी जम्मा गरी राष्ट्रिय विद्युत् प्रणालीलाई ७० मिनेट सहज गर्न सकिने ‘पिकिङ पोखरी’ निर्माण गरिएको छ । उक्त पोखरीको पानी सञ्चय गरी साँझको समयमा थप बिजुली उत्पादन गरी राष्ट्रिय विद्युत् प्रणालीमा उल्लेखनीय योगदान गर्न सकिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत अर्पणबहादुर सिंहले जानकारी दिए । उक्त पिकिङ पोखरीका कारण आयोजना मर्मतसम्भार गर्न र ‘इमर्जेन्सी ब्रेकडाउन’मा समेत पावरहाउस सञ्चालन गर्न सकिन्छ । नेपालमा भएका क्यासकेड आयोजनामध्ये विशेष प्रविधि जडान गरी साञ्जेन माथिल्लो आयोजना मर्मतसम्भार गर्दा पनि तल्लो आयोजना निरन्तर विद्युत् उत्पादन गर्न सकिने नेपालकै पहिलो आयोजना हो । नेपालमा नमुना प्रविधिका रुपमा पहिलोपटक जडान गरिएको उक्त प्रविधि आगामी दिनमा अन्य क्यास्केड आयोजनाले जडान गरी क्यासकेडको तल्लो आयोजना माथिल्लो आयोजनामा रहने निर्भरता कम गर्न सकिन्छ । जर्मनीमा निर्माण भएको एक प्रकारको अत्याधुनिक प्रविधिको उपकरणका कारण कम्पनीलाई आयोजना मर्मतसम्भार समयका कारण हुने क्षति रोकी आर्थिक रूपमा ठूलो राहत मिल्नेछ । सोही विशेषताका कारण काठमाडौं विश्वविद्यालयले उक्त आयोजनाको नमुना आफ्नो प्रयोगशालामासमेत सञ्चालन गरेको छ । हाल नेपालमा विकास गरिएका क्यास्केड आयोजनामध्ये यो नमुना आयोजना रहेकाले जलविद्युत् विकास, नवीकरणीय ऊर्जा, हाइड्रोलोजी, दिगो विकासलगायत विषयमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक अध्ययन अनुसन्धानका लागिसमेत उपयोग गर्न सकिने आयोजनाले जनाएको छ । कम्पनीले निर्माणाधीन ४२.५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादनसँगै बिजुली बढी माग हुने हिउँदका महिनामा हुने प्रणालीको असन्तुलन केही हदसम्म समाधान हुने विश्वास लिइएको छ ।