हिमालयन बैंकले लाभांश वितरण नगर्ने
काठमाडौं । हिमालयन बैंक लिमिटेडले पनि गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिमको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।
चेतनाको कमीले साइबर आक्रमणमा फँस्दै नेपाली, आक्रमणमा परेपनि गर्दैनन् रिपोर्टिङ
काठमाडौं । सूचना र प्रविधिले मानवजीवन निकै सहज बन्दै गइरहेको छ । प्रविधिले विश्व गाउँसरह नै बन्दै गइरहेको छ । आज हामी कोठाको एक कुनामा बसेर विश्वभरका हरेक गतिविधि नियाल्न सक्छौं । यति मात्रै होइन, हामीलाई जुन कुराको आवश्यक हुन्छ, त्यो क्षणभरमै प्राप्त गर्न सकिन्छ । आजको समयमा सामाजिक सञ्जाल प्रयोग नगर्ने को होला ? बालकदेखि वृद्धसम्मका हरेक समूहले सामाजिक सञ्जाल प्रयोग गरिरहेकै हुन्छन् । फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जालले जीवन एकातिर सहज बनाइरहेको छ भने त्यसको सही सदुपयोग गर्न नजान्दा त्यसैले मानिसलाई सिध्याइरहेको पनि छ । नेपालको सन्दर्भमा साइबर आक्रमण बढ्दो क्रममा छ । साइबर ब्यूरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार ८ हजार ६ साइबर आक्रमणका निवेदन दर्ता भएका छन् । जसमध्ये सबैभन्दा बढी फेसबुक म्यासेन्जरबाट साइबर आक्रमण भएका निवेदन छन् । त्यस्तै, पछिल्लो समय इन्स्टाग्राम, टिकटक, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालबाट हुने साइबर आक्रमणको दर बढ्दो क्रममा छ । तथ्यांकअनुसार पछिल्लो समय साइबर आक्रमणमा परेको भन्दै ब्यूरोमा निवेदन दर्ता गराउने विभिन्न बैंक तथा वित्तिय संस्थाहरूको दर पनि बढ्दो क्रममा छ । १२९ बैंक तथा वित्तिय संस्थाले साइबर आक्रमणको निवेदन दर्ता गरेको ब्यूरोले जनाएको छ । यसबाहेक वेबसाइट ह्याकिङ ७, ह्वाट्सएपबाट ९४१, टिकटक ५३५ निवेदन दर्ता भएको छ । ब्यूरोले पछिल्लो तथ्यांकअनुसार साइबर आक्रमणमा ४ हजार २९४ पुरुष र ३ हजार २१८ महिला पीडित भएको जनाएको छ । के भन्छन् सरोकारवाला ? प्रविधिले मानजीवन जति सहज बन्दै गइरहेको छ, त्यति नै जोखिमपूर्ण पनि बन्दै गइरहेको छ । सानातिना कुराहरू वेवास्ता गरिदिने र सर्तकता नअपनाउँदा नेपाल साइबर आक्रमणको उच्च जोखिममा पर्दै गइरहेको साइबर विज्ञहरूले बताउँदै आएका छन् । धेरैजसोको आफ्ना व्यक्तिगत गतिविधिहरू सामाजिक सञ्जालमा साझा गर्न बढी उत्साहित हुन्छन् । अरू माानिसको तुलनामा यस्ता प्रकारका मानिसहरू साइबर आक्रमणको निशानामा बढी पर्ने साइबर सुरक्षामा काम गर्ने कम्पनी लगपोइन्टका प्रमुख सुरक्षा सूचना अधिकारी रोशन पोखरेल बताउँछन् । उनले दैनिक गर्ने साना गल्तीहरूले साइबर ह्याकरको निशानामा पर्ने सुनाउँछन् । उनका अनुसार अनावश्यक र अनधिकृत लिंक खोल्ने, धेरैवटा एपमा एउटै प्रकारको पासवर्ड प्रयोग गर्नेलगायत कारणले साइबर आक्रमणमा परिन्छ । त्यस्तै, जानकारीकै कमी र प्रलोभनले गर्दा पछिल्लो समय धेरैजना विभिन्न स्क्यामहरूमा फस्ने गरेका छन्। साइबर अट्याकर्सले विभिन्न माध्यमबाट आक्रमण गर्न सक्छन् । जस्तै, र्यान्समवेरको प्रयोग गरेर, फरक–फरक पासवर्ड प्रयोग गरेर, विभिन्न वेव एप्लिकेशन, मानवीय त्रुटिको मौका छोपेर यी माध्यमको प्रयोग गरी आक्रमण गर्न सक्छन् । यसको असर स्वयं व्यक्ति र आफूसम्बद्ध संस्थाले भोग्नुपर्ने सूचना अधिकारी पोखरेल बताउँछन् । साइबर आक्रणमा पर्दा एकातिर व्यक्तिगत प्रतिष्ठामा असर पुग्न जान्छ भने अर्कोतिर आर्थिक रुपमा ठूलो क्षति बेहोर्नु पर्ने हुन्छ । बिजसर्भ आइटीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रभात पोखरेलले नेपालको सन्दर्भमा साइबर आक्रमणका रिपोर्टिङ कम हुने हुँदा यस्ता तथ्यांकमा साइबर आक्रमणका घटना अझ कम देखिएको बताए । ‘विकसित मुलुकमा साइबर आक्रमण बढी हुन्छ तर त्यसअनुसारको रिपोर्टिङ पनि हुन्छ । तर हाम्रोमा रिर्पोटिङ कम हुन्छ, कति त लुकाइन्छ,’ उनले भने । त्यस्तै, हाम्रा सामाजिक संस्कृतिले गर्दा अरूले के भन्लान् भनेर धेरैजसो साइबर आक्रमणका विषयहरू पब्लिकमा सार्वजनिक नहुने उनले प्रष्ट्याए । पछिल्लो समय प्रविधि प्रयोगकर्ता बढ्दो संख्यामा छ । विश्व डिजिटलाइजेसन भइसकेको छ । विश्व जति डिजिटलाइजेसन भइरहेको छ, त्योअनुसारका चेत भने नेपालीहरूमा कम हुँदा बढी साइबर आक्रमणको निशानामा पने सीईओ पोखरेल बताउँछन् । उनी भन्छन्, ‘काम सहज र छिटो बनाउन प्रविधिको प्रयोग गर्ने हो, यसले सहज बनाउँछ । सँगसँगै जोखिम पनि निम्त्याउछ । त्यस्ता जोखिमबाट बच्न समयसापेक्ष जे-जे काम गर्नुपर्ने हुन्छ, त्यो गर्नुपर्छ । हाम्रो सन्दर्भमा हामीले प्रविधि पनि ल्याउँछौं, काम पनि गर्छौं तर कस्ता खालका जोखिमको सामना गर्नुपर्छ भनेर त्यसबारे तयार हुँदैनौं ।’ युर्निभर्सिटी अक्सफोर्डका तथ्यांकअनुसार साइबर क्राइमका हब राष्ट्रहरूमा पहिलो नम्बरमा जर्मनी रहेको छ । त्यस्तै, दोस्रोमा रसिया त्यसपछि क्रमश: युक्रेन, चाइना, अमेरिकालगायत देशहरू रहेका छन् । त्यस तथ्यांकमा नेपाल भने परेको छैन । ग्लोबल साइबर सेक्युरेटीको पछिल्लो तथ्यांकअनुसार हामी बंगलादेश र भारतको बीचमा छौं । यसअर्थमा हामी अरू राष्ट्रको तुलनामा सुधार्ने ठाउँ धेरै रहेकोले त्यसतर्फ हाम्रो ध्यान केन्द्रित हुनुपर्ने सीईओ पोख्रेल बताउँछन् । साइबर आक्रमणबाट कसरी बच्ने ? लगपोइन्टका सूचना अधिकारी पोखरेल साइबर आक्रमणबाट बच्ने पहिलो उपाय भनेकै ‘सेल्फ अवेयर’ लाई जोड दिन्छन् । आफू सचेत हुने र आफूसँग सम्बन्धित व्यक्तिहरुलाई पनि सचेत गराउनुपर्छ । त्यस्तै, हामीले प्रयोग गर्ने डाटाहरूलाई सेक्युर्ड गर्नुुपर्छ । पोखरेल भन्छन्, ‘हाम्रा गल्ती यो पनि हो कि, मलाई कसैले टार्गेट गर्दैन, तर हामी प्रत्येक साइबर अट्याकरको टार्गेटमा छौं भनेर बुझ्नुपर्छ । त्यसैले गोपनीयता कायम राख्नुपर्छ, के कुरा सार्वजनिक गर्ने र नगर्ने त्यसमा ध्यान दिनुपर्छ ।’ त्यस्तै, भेरिफाइड र जेनुन एप्लिकेशनबाट मात्रै प्रयोग गर्नुपर्छ । बेलाबेला हामीले प्रयोग गर्ने सप्टवेयरहरू अपडेट गरिराख्नुपर्छ । यसबाहेक पब्लिक वाइफाईबाट पनि साइबर आक्रमण हुने हुँदा सकेसम्म चलाउनुहुँदैन । हाम्रो अर्को गल्ती साइबर सुरक्षाको जिम्वेवारी सम्बन्धित निकायको भनेर हामी पन्छिन खोज्छौं । वास्तवमा साइबर सुरक्षाको सन्दर्भमा हामी सबैजना जिम्मेवार हुनुपर्नेमा पोखरेल जोड दिन्छन् । बलियो पासवर्ड राखेको छु भनेर ढुक्क हुन सकिँदैन । बलियो पासवर्डले मात्रै हामीले प्रयोग गर्ने एप्लिकेशन सुरक्षित नहुने भएकाले बेलाबेला पासवर्ड अपडेट गर्नुपर्छ । बिजसर्भ आइटीका प्रमुख कार्यकारी अधिकृत पोखरेल धेरैलाई साइबर आक्रमण भयो भन्ने कुरा नै थाहा नै नहुने र थाहा भैहालेपनि ढिला गरी थाहा हुने बताउँछन् । विश्वको अनुसन्धानअनुसार ४० देखि ५० प्रतिशतले मात्रै साइबर आक्रमणमा परेको थाहा पाउँछन् त्यो पनि दुई सय दिनपछि । यो भनेको ६ महिनाभन्दा बढी समय हो । नेपालमा अझ कम अनुसन्धान हुने भएकाले त्यो संख्याभन्दा पनि कमले मात्रै साइबर आक्रमणमा परेको कुरा थाहा पाउने पोखरलको भनाइ छ । सिईओ पोखरेल नेपालमा इन्टरनेट प्रयोगकर्ता बढ्दै जानु, ई-कमर्स क्षेत्र फस्टाउनुसँगै ती क्षेत्र अपराधीको निशाना बन्दा जोखिम र चुनौती पनि थपिदै गएको बताउँछन् । अपराध न्युनीरणको लागि साइबार सुरक्षाको विषयमा विद्यालय तहबाटै सचेतना कार्यक्रम सञ्चालन हुनुपर्ने पोखरेलको भनाइ छ । नास आइटीका महासचिव दिपेन चापागाईं नेपालमा पछिल्लो प्रविधि र साइबर जोखिमका विज्ञ नेपालमा खासै नभएको बताउँछन् । चापागाईं साइबर आक्रणबाट हुन सक्ने जोखिमबाट बच्न आफ्नो भूमिका के हो त्यसलाई इमान्दारिताका साथ निभाउनुपर्नेमा जोड दिन्छन् ।
मुक्तिनाथ विकास बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली
काठमाडौं । मुक्तिनाथ विकास बैंकले यस वर्ष सेयरधनीहरूलाई लाभांश नदिने भएको छ । संस्थाको पुष १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । योसँगै सेयरधनीको हात खाली हुने भएको छ । बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफालाई लाभांश वितरण नगरी सञ्चित मुनाफा खातामा राख्ने निर्णय बैंकले गरेको छ। अब सोहीअनुसारको वित्तीय विवरण प्रकाशन गर्नका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गरिने बैंकले जनाएको छ । राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट उक्त वित्तीय विवरण स्वीकृतिका लागि लैजाने बैंकले निर्णय गरेको छ ।
१२ प्रतिशत लाभांश वितरण गर्ने चिलिमे जलविद्युतको घोषणा
काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत वर्षको नाफाबाट १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये १० प्रतिशत बोनस सेयर रहेको छ भने २ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
ग्लोबल आइएमई लघुवित्तले लाभांश नदिने
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वा बोनस सेयर दुवै नदिने भएको छ । कम्पनी सञ्चालक समितिको पुस २ गते बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणका आधारमा सेयरधनीलाई नगद लाभांश र बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो । संस्थाको सोही बैठकले २०८१ असार मसान्तसम्मको बासलात, आर्थिक वर्ष २०८०/८१ को नाफा, नोक्सान, तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण माथि छलफल गरी सो लाई स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।
मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत वर्षको नाफाबाट ७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३२ करोडको कुल ७.८९४७ प्रतिशतले हुन आउने १० करोड ४२ लाख १० हजार ५२६.३२ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश ७.५ प्रतिशतले हुन आउने ९९ करोड रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३९४७ प्रतिशतले हुने आउने ५२ लाख १० हजार ५२६.३२ रुपैयाँबराबरको नगद लाभांश छन् । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
दमौली । जिल्लाको बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन प्रचारप्रसार र प्रवर्द्धन सुरु गरेको छ । बन्दीपुर भ्रमण वर्ष सफल पारी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पालिकाले अभियान सञ्चालन गरेको हो । गाउँपालिकाको नेतृत्वमा काठमाडौंमा विभिन्न संघसंस्था, प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट गरी भ्रमण वर्ष सफल बनाउन छलफल गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । पालिकाका अध्यक्ष थापाको नेतृत्वमा उपाध्यक्ष पञ्चमाया गुरुङ, पर्यटन शाखा प्रमुख सुरज भट्टराई, बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैश गुरुङ, राजु बानियाँलगायत प्रतिनिधिको टोली काठमाडौँ पुगेको उनले उल्लेख गरे । काठमाडौंमा विभिन्न तहका व्यक्ति, संघसंस्थाका प्रतिनिधिलगायत व्यक्तिसँग अन्तरक्रिया गर्नुका साथै भ्रमण वर्षको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न सहयोगका लागि अनुरोध गरिएको अध्यक्ष थापाले बताए । थापाका अनुसार बन्दीपुरलाई देश तथा विदेशमा परिचित गराउन उक्त वर्षभरि यहाँ पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । काठमाडौं, पोखरा, चितवन, लुम्बिनीलगायत देशका मुख्य सहरहरूमा पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने उनले जानकारी दिए । पर्यटनलाई आम्दानीको स्रोत बनाएर स्थानीयको जीवनस्तर उकास्न पनि यो कार्यक्रम प्रभावकारी हुने भन्दै यसमा सबैको सहयोग आवश्यक पर्नेमा अध्यक्ष थापाले जोड दिए। उनले भने, ‘विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रूपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षित बनाउँदै पौराणिकता झल्किने कार्यक्रम सञ्चालन हुनेछन् ।’ गण्डकी प्रदेशको पोखरापछि प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने योजना रहेको थापाको भनाइ छ । उनले भने, ‘यहाँ प्याराग्लाडिङ, जिपलाइनलगायत साहसिक खेलहरूको सम्भाव्यता अध्ययन गरिनेछ ।’ थापाले गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यहरूमा क्रमशः आउटडोर जिमको विस्तार गरिने तथा पर्यटन क्षेत्रहरूमा रहेका प्राकृतिक शिलाहरूलाई थप आकर्षक बनाइने लक्ष्य राखिएको उल्लेख गरे । उनले भने, ‘गाउँपालिकाभित्र रहेका पौराणिक चौतारा ठाँटी एवं बगैँचाहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन हुने किसिमका कार्यक्रम सञ्चालन गरिनेछ । बन्दीपुरको २५ पोखरी ताल पार्कको निर्माण चालु आर्थिक वर्ष सुरुवात गर्नुका साथै वृहत् झप्री फाँट जलाशय र देवी थुम्का जलाशय निर्माणको सम्भाव्यता अध्ययन अगाडी बढाउने छौँ ।’ अध्यक्ष थापाले पालिकाले बन्दीपुर आउने विदेशी पर्यटकको सहजताका लागि यहाँका गन्तव्यस्थलबारे जानकारी दिने उद्देश्यले नौ भाषामा जानकारीमूलक सामग्री तयार गरिसकिएको बताए। गाउँपालिकाले नेपाली, चिनियाँ, अङ्ग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, स्पेनिस, सिन्हला र थाइ भाषामा बन्दीपुरका बारेमा जानकारीमूलक सामग्री तयार गरिएको उनले जानकारी दिए। खड्गदेवी, थानीमाई र महालक्ष्मी मन्दिर, सिद्धगुफा, मणिमुकुन्द सेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रूपमा सूचीकृत गरेको छ । बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्विटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस, अर्जेन्टिनालगायत मुलुकबाट पर्यटक आउने गरेका बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरू यहाँ आउने पर्यटकहरूका लागि आकर्षणको केन्द्रबिन्दु रहेका उनले बताए। सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किमी उकालो यात्रा हिँडेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरालगायत प्राकृतिक सुन्दरता अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमशृङ्खला देखिने भएकाले यहाँ बाह्य पर्यटक आउने गरेका समितिका अध्यक्ष प्रधानले उल्लेख गरे । रासस
लिलाम सम्पत्ति बिक्रीबारे जानकारी दिन एनआईसी एशिया बैंकको अनलाइन पोर्टल
काठमाडौं । एनआईसी एशिया बैंकले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसहितको लिलामबिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टल मार्फत बैंकले लिलामबिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सबै सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ । यसको लागि ग्राहकले लिलामबिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी देखिने पोर्टल (https://auctionassistance.nicasiabank.com) भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर तथा क्षेत्रफलसहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेसन) पहिचानका लागि गुगल म्यापसहितका विविध जानकारीहरू प्राप्त गर्न सक्ने छन् । यसरी ग्राहकले लिलामबिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपछि खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने बैंकले व्यवस्था गरेको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा नियमित रुपमा बैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलामबिक्रीमा रहेको सम्पत्तिहरु र लिलामबिक्री सम्बन्धी अन्य सूचनाहरू प्रकाशित गर्ने हुँदा इच्छुक ग्राहकले अनलाइन पोर्टलको लिंकबाट विस्तृत विवरणहरूको जानकारी लिन सक्ने पनि बैंकले जानकारी दिएको छ ।