
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले चीनमा राँगाको मासु निर्यातमा अथाह सम्भावना रहेको बताएका छ्न् ।
नेपालमा उत्पादित राँगाको मासु चीन निर्यात गर्ने सम्बन्धमा हिमालयन फुड इन्टरनेसनल र चाइना जियान फुडबीचको सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री अधिकारीले चाइनामा राँगाको मासु निर्यातको अथाह सम्भावना भएकाले नेपाली युवाले राँगा पालन व्यवसायमा लगानी गर्न अनुरोध पनि गरे । यसले गर्दा विदेश पलायन हुने युवा केही हदसम्म भए पनि रोकिने उनको दाबी छ ।
उनले भने, ‘चाइनामा मासु निर्यातले नेपाली युवा विदेश पलायन केही हदसम्म रोकिन्छ । जसका लागि युवाले राँगा पालन व्यवसायमा लगानी गर्नु पर्छ ।’
मन्त्री अधिकारिले युवालाई कृषि क्षेत्रमा आउन आह्वान गर्दै सरकारको तर्फबाट गर्नुपर्ने काममा आफू प्रतिबद्ध रहेको बताए ।
यसका लागि उनले नेपालको हावापानीमा उत्पादित पशुको मासु पोषिलो हुने दाबीसमेत गरे ।