विकासन्युज

साना किसान विकासले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । लघुवित्तले पुस २३ गते कृषि विकास बैंक, केन्द्रिय तालिम प्रतिष्ठानमा २३ औँ वार्षिक साधारण सभा बोलाएको हो।  सो सभा बिहान १० बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालक पदमा नियुक्ति लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १७ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

नागरिक लगानी कोष र आईएमईबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गरेका हुन् । आईएमईले प्रति सेयर एक सय रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता बापतको १२ करोड ५० लाख ६६ हजार सात सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।

युक्रेन युद्धको प्रभाव : रुसी तेलको सबैभन्दा ठूलो खरिदार भारत, रिफाइनरीहरू मालामाल

काठमाडौं ।  भारत रुसबाट तेलको सबैभन्दा ठूलो खरिदकर्ता बनेको छ । चेन्नई-भ्लादिभोस्तोक समुद्री मार्गले आयातलाई झन् सहज बनाएको छ । यो मार्गले  यातायात समय र लागत घटाएको हो । यही नयाँ मार्गबाट नै  कोइला, एलएनजीजस्ता उत्पादनको व्यापार पनि हुने गरेको छ । यस मार्ग परम्परागत मार्गभन्दा १६ दिन कम समय लिन्छ, जसका कारण रुसी तेल खरिदमा भारतलाई फाइदा भइरहेको छ । नयाँ समुद्री मार्ग ‘पूर्वी समुद्री करिडोर’ मार्फत भारत र रुसबीचको व्यापार सहज भएको हो । यसले विशेषगरी तेल आयातमा धेरै सहयोग गरेको छ । सन् २०२४ को मध्यमा भारत रुसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता बनेको थियो । नयाँ बाटो चेन्नईदेखि भ्लादिभोस्तोकसम्मको रुटले समय र पैसा दुबै बचत गरिरहेको छ । कच्चा तेल, कोइला र एलएनजीजस्ता उत्पादनका साथै अहिले मल र कन्टेनराइज्ड सामान पनि यही बाटोबाट पठाउने गरेको छ । यस मार्गबाट ​​सामान ढुवानी गर्न लाग्ने समय ४० दिनबाट घटेर २४ दिनमा पुगेको छ । भारतले चीनलाई उछिन्यो २०२४ को मध्यमा चीनलाई उछिन्दै भारत रुसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता बन्न पुगेको हो । परम्परागत रूपमा मुम्बईदेखि सेन्ट पीटर्सबर्ग सम्मको समुद्री मार्ग ८ हजार ६७५ समुद्री माइल लामो थियो । यसले ४० दिन वा बढी समय लिन्थ्यो । चेन्नई देखि भ्लादिभोस्तोक सम्मको नयाँ रुट करिब ५ हजार ६०० समुद्री माइल छ । यसले ढुवानी समय १६ दिन घटाएको छ, अर्थात् अब २४ दिन मात्रै लाग्छ । एउटा ठूलो जहाज लगभग ४५ किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गर्छ । यसले लगभग १२ दिनमा भ्लादिभोस्टोकदेखि चेन्नईको दूरी कभर गर्छ । यो परम्परागत सेन्ट पिटर्सबर्ग-मुम्बई मार्गले लिने समयको एक तिहाइ भन्दा कम हो । भ्लादिभोस्तोक प्रशान्त महासागरमा रहेको रुसको सबैभन्दा ठूलो बन्दरगाह हो । यो चीन र रुस सीमाबाट करिब ५० किलोमिटर टाढा रहेको छ । केके आयात निर्यात हुन्छ ? पानीजहाज मन्त्रालयको तथ्यांकअनुसार सन् २०२४ मा यस मार्गबाट ​​आयात भएका प्रमुख सामानमा कच्चा तेल, परियोजनाका सामान, कोइला र कोक, वनस्पति तेल र मल पर्छन् । रुसमा निर्यात गरिएका प्रमुख सामानहरूमा प्रशोधित खनिजहरू, फलाम र स्टील, चिया, समुद्री उत्पादनहरू र चिया-कफी समावेश थिए । परिमाणका हिसाबले कच्चा तेल, कोइला र कोक, मल, वनस्पति तेल र फलाम तथा स्टिल सबैभन्दा बढी आयात भएका छन् । त्यस्तै, प्रशोधित खनिज, फलाम तथा स्टिल, चिया, ग्रेनाइट र प्राकृतिक ढुङ्गा, प्रशोधित फलफूल र जुस निकासीमा प्रमुख छन् । भारतीय रिफाइनरीहरूको वार्षिक मर्मतसम्भारका कारण वर्षको दोस्रो ६ महिनामा कच्चा तेलको आयातमा केही कमी आएको थियो । समग्र आयातमा कमी आए पनि रुसको युराल कच्चा तेलको आयात अक्टोबरमा चार महिनाकै उच्चमा थियो । युराल भारतको रुसी तेल खरिदको मुख्य आधार हो । यो भारतीय रिफाइनरीहरूद्वारा आयात गरिएको रुसी तेलको तीन चौथाई हो । यद्यपि, केही अन्य रुसी कच्चा तेलको आयातमा तीव्र गिरावट आएको छ । यसअघि इराक र साउदी अरब सबैभन्दा ठूलो आपूर्तिकर्ता युक्रेन युद्धअघि इराक र साउदी अरब भारतलाई कच्चा तेलको शीर्ष दुई आपूर्तिकर्ता थिए । तर, जब पश्चिमी देशले रुसमाथि प्रतिबन्ध लगाए, रुसले आफ्नो तेलमा छुट दिन थाल्यो । यसको फाइदा भारतीय रिफाइनरीहरूले उठाए । तर, समयसँगै छुटमा कमी आएको छ । अझै पनि भारतीय रिफाइनरीहरू रुसी तेल किन्न इच्छुक छन् । कारण ठूलो परिमाणमा आयात भएकाले कम छुटमा पनि धेरै बचत हुने गरेको छ । भारतका लागि रुससँगको सम्बन्ध केवल तेल व्यापारमा मात्र सीमित छैन । यस सम्बन्धले रुसलाई चीनतर्फको झुकाव कम गर्न पनि मद्दत गर्ने विज्ञहरू बताउँछन् । यसैगरी, भारत आणविक पनडुब्बीमा सहयोगका लागि पनि रुसमा निर्भर छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२५ मा भारत भ्रमण गर्ने कार्यक्रम छ । (एजेन्सीहरूको सहयोगमा)

ग्राहक खोजेर ल्याउनूस्, सहकारी सञ्चालकको जगाा बेचेर बचत फिर्ता गर्छौं : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ग्राहक खोजेर ल्याए सहकारी सञ्चालकको जग्गा बिक्री गरेर बचत फिर्ता गर्ने बताएका छन् । सहकारी सुशासन प्रवर्द्धनसम्बन्धी बागमती प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले जग्गा खरिद गर्न ग्राहक ल्याए बिक्री गरेर बचतकर्ताको रकम फिर्ता गर्ने बताएका हुन् । ‘बैंकको मोडल अनुसार सहकारी सञ्चालकले स्रोत देखाएर सम्पत्ति बिक्री गर्छु भन्यो भने पनि हामी सहजीकरण गर्छौं,’ मन्त्री अधिकारी भने, ‘बचतकर्ताले पनि ग्राहक खोजेर ल्याउनु भयो भने हामी सञ्चालकको सम्पति बिक्री गरेर बचत फिर्ता गर्छौं ।’ सबै सहकारी खराब नरहेकाले वितृष्णा फैलाउनु गलत भएको उनको भनाइ छ । सहकारीमा नजोडिएकाहरू नै सहकारी बिग्रियो भनेर भ्रम फैलाउनतर्फ लागेको उनले बताए । साथै आन्दोलन गर्नेको हल्लालाई चिर्न आवश्यक रहेको उनको भनाइ छ । ‘हामी यो यो कामले राम्रो छौं भनेर भन्न आवश्यक छ, सहकारी मर्जर गर्ने पछि डिमर्ज गरिदिनूस् भन्नु राम्रो हो कि नराम्रो ?,’ मन्त्री अधिकारी भने, ‘समस्या समाधानको उपाय निकाल्नुपर्छ, त्यसले नीति बनाउन पनि सजिलो हुन्छ, सहकारीको नेटवर्क परिचालन हुन सकेको छैन ।’ सहकारीका सदस्यमा कार्यक्रम तथा साधारण सभा गएर ५ सय पाउने लोभ रहेको उनले आरोप लगाए । सहकारी ऐन संशोधन विषयमा छलफल भइरहेको र समस्या समाधानका विषय पनि समेटिने उनले बताए । सहकारी कोष, कर्जा सूचना केन्द्र, सहकारी न्यायाधिकरण र नियमनको विषयमाथि छलफल भइरहेको उनको भनाइ छ । साथै दुई/तीन वटा सहकारीहरु समस्याग्रस्तमा थपिने तयारीमा रहेको उनले जानकारी दिए ।

दिगो विकासको लक्ष्यमा उल्लेखनीय प्रगति भएको छ : अर्थमन्त्री पौडेल

काठमाडौं‌ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताएका छन् । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सीमित स्रोतहरू हुँदाहुँदै पनि सामूहिक प्रयासका कारण विश्वव्यापी रुपमा नै दिगो विकास लक्ष्य प्राप्तिका लागि अदिस अबाबा एजेन्डा कार्यान्वयनमा महत्वपूर्ण प्रगति भएको बताएका छन् । अल्पविकसित र विकासोन्मुख देशहरूमा वित्तीय अन्तर विकास गतिको निरन्तरताका लागि महत्वपूर्ण मुद्दा भएको धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले बजेट योजना, स्रोत विनियोजनमा कुशलता, प्रभावकारी परियोजना कार्यान्वयन क्षमता विकास र दिगो खर्च व्यवस्थापन बढ्दो चुनौतीका रुपमा रहेको बताएका छन् । अधिकांश अल्पविकसित र विकासोन्मुख देशहरूले राजस्व परिचालन क्षमतामा सुधार गर्न संघर्ष गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले डिजिटल आर्थिक कारोबारका नयाँ मोडालिटीहरूलाई करको दायरामा ल्याउने गरी कर प्रशासनको क्षमतालाई सुदृढ र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । उनले निश्चित लक्ष्यसहितको स्पष्ट आन्तरिक राजस्व परिचालन रणनीति तर्जुमा गरी प्रभावकारी कार्यान्वयनको आवश्यकता पनि औल्याएका छन् । अर्थमन्त्री पौडेलले हाल विश्व्यापी रुपमा देखा परेका आर्थिक तथा सामाजिक अनिश्चितता, भूराजनीतिक समस्या, सार्वजनिक ऋणको बढ्दो भार र आर्थिक असमानतालाई सामुहिक प्रयासबाट समाधान गर्नुपर्ने बताए ।

रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराएको छ । यसअघि सातौँपटक मंसिर १७ गते थपिएको थप ५ दिनको म्याद गएरातिबाट सकिएकाले प्रहरीले लामिछानेविरुद्ध आज आठौँ पटक म्याद थपको अनुमति लिन जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान थालेको ८४ दिनपछि सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ३७ जना फरार प्रतिवादी छन् । उनीहरुविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ । सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीले ९० दिनसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । यस हिसाबले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पहिलो व्यक्तिबाट हिसाब गर्दा अब रविलाई हिरासतमा राख्न बाँकी म्याद ४ दिन मात्र छ । सोही कारण आज थपिने म्याद अन्तिम हुनेछ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।

‘सहकारीलाई राष्ट्र बैंकको नियमनमा राख्नु हुँदैन, अडिटरले पेशागत धर्म छोडेको दिन सिलिकन भ्यालीको हालत हुन्छ’

काठमाडौं । पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले सहकारी संस्थाहरूलाई राष्ट्र बैंकको नियमनमा राख्नै नहुने बताएका छन् । सहकारी सुशासन प्रवद्र्धन सम्बन्धी बागमती प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । राष्ट्र बैंकको नियमनमा गएको खण्डमा भने स्वनियमन हटाउनुपर्ने उनले बताए । ‘सहकारीलाई राष्ट्र बैंकको नियमनमा राख्नै हुँदैन, राष्ट्र बैंकको मोह छोड्नुहोस्, राजनिती गर्नेले नियमनमा बस्न चाहँदैन,’ उनले भने, ‘सहकारीका अधिकांश सञ्चालक राजनीतिमा छन्, सहकारी राष्ट्र बैंकको नियमनमा गयो भने भोलि अर्कै समस्या आउँछ ।’ पूर्वअर्थमन्त्री खतिवडाले लेखापरीक्षक (अडिटर)हरूले पेशागत धर्म छोडेको दिन सिलिकन भ्यालीको हालत हुने बताए ।अर्थ सामाजिक व्यवस्थाको एउटा अंग भएको उनको भनाइ छ । बैंकिङ प्रणाालीबाट अब सहकारीमा समस्या नरहेको समेत उनले बताए । साथै बैंकिङ क्षेत्रको ब्याजदर उच्च हुँदा सबै क्षेत्रलाई समस्यामा पारेको उनको भनाइ छ । ‘सहकारी कोषहरू पारदर्शी हुनुपर्छ, लेखापरीक्षक सुशासनमा बस्नुपर्छ,’ पूर्वअर्थमन्त्री खतिवडाले भने, ‘अडिटरले पेशागत धर्म छोड्नु हुँदैन, अडिटरले कमजोरी गर्‍यो भने सिलिकन भ्यालीका बैंक डुबेका छन् । त्यो अवस्था हाम्रोमा आउन दिनु हुँदैन ।’ अर्थतन्त्र नबिग्रिएको तर अपेक्षाकृत नरहेको उनको भनाइ छ । ६० खर्ब बचतको ५ प्रतिशत ब्याज हुँदा बचतकर्तालाई धेरे घाटा भएको उनले बताए । जति सहकारी संस्था बिग्रिएपनि अब सुधारको बाटोमा जानुपर्ने उनको धारणा छ । सही वित्तीय व्यवस्थापन गरेका सहकारी संस्थाहरू समस्यामा नरहेको र सबै सहकारी नबिग्रिएको उनले बताए । साथै पछिल्लो समय सहकारीप्रतिको धारणा सकारात्मक हुँदै गएको समेत उनको बुझाइ छ । ‘बचतकर्ताको ५ लाखसम्मको बचत फिर्ता गर्ने विषय बहस बनेको छ, सरकारले चेक काटेर दिने होइन, सरकारले कसैको ऋण तिरिदिँदैन,’ उनले भने, ‘५ लाखसम्म बचत फिर्ता गर्ने भनेको संस्थाको सम्पत्ति बिक्री गरेर हो, ६ लाखले पनि पाउनु पर्‍यो नि, उसको बचत होइन र ?’ ‘टाउको दुख्यो भने घाँटी काटेर फाल्ने होइन, कारोबार र बचतको सीमा हुनु हुँदैन । त्यसको आधारमा वर्गीकरण गर्नुहुँदैन, साना बचतकर्तामा सहकारीको दाबी पहिलो पर्ने होकि, कर्जाभन्दा पनि ऋण सूचना केन्द्र बनाउनुपर्छ,’ उनले थपे । क्रिप्टोकरेन्सीबाट धेरै देशले राम्रो आम्दानी गरेको तर, नेपालमा त्यो अवैध रहेको उनको भनाइ छ । त्यसैले देशको नीति अनुसार काम गर्नुपर्ने पूर्वअर्थमन्त्री खतिवडाले  थपे ।

लक्ष्मी सनराइजको साधारण सभा आह्वान, लाभांश प्रस्ताव पारित गर्दै

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले पुस २४ गते कमलपोखरी, काठमाडौंमा २४ औं वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक नियुक्ति स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।