कलश स्टक मार्केट कारोबार रकममा पहिलो नम्बरमा, एकैदिनमा गर्यो ४५ करोड बढीको कारोबार
काठमाडौं । कलश स्टक मार्केट (ब्रोकर नं ७४) कारोबार रकममा पहिलो नम्बरमा रहेको छ । बिहीबार नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडको कारोबार तथ्यांकअनुसार धितोपत्र कारोबार गर्ने दलालहरू मध्ये कारोबार रकमको आधारमा प्रथम पटक एक नम्बरमा रहेको छ । बिहीबार ब्रोकरले ४५ करोड ९ लाख रुपैयाँ भन्दा बढी रकमको कारोबार गरेको कम्पनीका अध्यक्ष प्रदिप केसीले बताए । नेपाल धितोपत्र बोर्डद्वारा इजाजत प्राप्त तथा नेपाल स्टक एक्स्चेञ्च लिमिटेडको धितोपत्र दलाल सदस्यता प्राप्त यस ब्रोकरले मिति २०८० भाद्र १० देखि औपचारिक कारोवार शुभारम्भ गरेको थियो । कम्पनीले हाल काठमाडौं मनपा १०, बुद्धनगर स्थित आफ्नो मुख्य कार्यालयबाट सेवा प्रदान गरिरहेको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ र प्रविधिमैत्री रुपमा धितोपत्र ब्रोकरेज तथा निक्षेप सदस्य (डिपी) को सेवा प्रदान गरिरहेको प्रवन्ध सञ्चालक शालिकराम अधिकारीले बताए ।
मुग्लिन पोखरा सडक : पश्चिम खण्डको दोस्रो पटक म्याद थप
दमौली । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) को म्याद दोस्रो पटक थप गरिएको छ । पृथ्वी राजमार्ग लाई विस्तार गर्ने काम जारी भइरहेकामा जामुनेदेखि पोखरासम्मको उक्त खण्डमा दोस्रो पटक म्याद थप गरिएको हो । पश्चिम खण्डको म्याद आगामी विसं २०८२ पुस १६ गतेसम्मका लागि थप भएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) का इन्जिनियर सौजन्य नेपालले जानकारी दिए । पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । विसं २०८१ भदौ १२ गतेसम्म म्याद रहेकामा त्यसअवधिमा उल्लेख्य प्रगति नभएपछि पहिलोपटक एक सय एक दिनका लागि म्याद थप भएको थियो । दोस्रो पटक थपिएको म्यादभित्र निर्माण कम्पनीले काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । हालसम्म यो खण्डमा ३४ दशमलव ९४ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । हालसम्म २३ दशमलव ९१ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये ५ दशमलव ४५ किलोमिटर दुईतर्फी र १८ दशमलव ४६ किलोमिटर एकतर्फी कालोपत्र भएको छ । पश्चिम खण्डअन्तर्गत म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र पोखरा महानगरपालिका पर्दछन् । यो खण्डमा ११ पुल निर्माण गर्ने लक्ष्य रहेकामा पाँच वटा पुल सम्पन्न भएका छन् । सडकको स्तरोन्नति हुने क्षेत्रभित्र रहेका २४ खानेपानी संस्थासँग सम्बन्धित पाइप लाइन तथा संरचना स्थानान्तरण कार्यका लागि सम्झौता भई सम्बन्धित उपभोक्ताबाट स्थानान्तरणको काम भइरहेको जनाइएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
म्याग्दी । वैदेशिक रोजगारीमा चार वर्ष काम गरेर घर फर्कदा म्याग्दीको बेनी नगरपालिका-४ बास्कुनाका ५३ वर्षीय तिलक गुरुङलाई पाँच जना छोराछोरी पढाउने र घरव्यवहार कसरी चलाउने भन्ने चिन्ता थियो । विदेशमा सोचेजस्तो कमाइ नभएपछि घर फर्केका उहाँको अन्य आम्दानीको स्रोत थिएन् । ‘विसं २०५८ मा केन्जन बहुउद्देश्यीय कृषि फार्म खोलेर कुखुरा र गाईभैँसी पाल्नुका साथै खेतबारीमा सुन्तलाका बिरुवा लगाए’, उनले भने, ‘कुखुरा, अण्डा र गाईभैँसीको दूध बेचेर घरव्यवहार चलाउने र छोराछोरीलाई इन्जिनियर, नर्स र कानुन व्यवसाय पढाए ।’ तिलककी जेठी छोरी यास्ना गुरुङ मेडिकल इन्जिनियर, माइली दिव्या नर्स, साइली सोनिया अधिवक्ता हुन् । तीनै बहिनी हाल अस्टे«लियामा छन् । काइली साकिरा आर्किटेक्ट इन्जिनियर, कान्छी निलिमया स्टाफ नर्स र छोरा केन्जनले नेपालमै एरोनिकल इन्जिनियरको स्नातक तहको पढाइलाई अन्तिम चरणमा पु¥याएका छन् । तीन सय ५० बोटमा फलेका सुन्तलालाई यसपालि रु १४ लाखमा बोटबाट नटिप्दै व्यापारीलाई ठेक्कामा बेचेका गुरुङ कृषि पेसाबाट आर्थिक र सामाजिक पहिचान बनाउन सफल भएका छन् । उनले जिल्ला र केन्द्रीयस्तरको कृषि उद्यमी पुरस्कार पनि पाएका छन् । हाल १२ वटा गाईभैँसी पालेका गुरुङले दैनिक ९० लिटर दूध बिक्री गर्नुहुन्छ । तिलक, श्रीमती तिलकुमारी र अन्य दुई जना कामदार कृषि फार्मको काममा व्यस्त हुन्छन् । बास्कुना कृषि सहकारी संस्थाका सञ्चालक समेत रहेका तिलकले बास्कुनालाई ‘एफएम भिलेज’ (फ्रुट र मिल्क गाउँ) बनाउने अभियानको अगुवाइ गरेका थिए । ‘बास्कुनाका १६ घर सबैले सुन्तला लगाएका र गाईभैँसी पालेका छन्, यसपालि रु एक करोड ५० लाख बराबरको सुन्तला बिक्री हुने अनुमान गरेका छौँ’, गुरुङले भने, ‘दैनिक तीन सय लिटरभन्दा बढी दूध बेनीमा बिक्री हुन्छ । दुई दशकअघि गरेको एफएम भिलेज बनाउने परिकल्पना पूरा भएको छ ।’ बास्कुना, सुर्केमेला र थामडाडाका चालीस घरधुरीले आठ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरेका छन् । करिब ५० हजार उत्पादन दिने सुन्तलाका बोट छन् । पूर्व फर्किएको बास्कुना गाउँभरि सुन्तलाखेती छ । लटरम्म फलेका सुन्तलाले गाउँ रंगिएको छ । सुन्तला बगैँचा अवलोकनका लागि कृषक समूह र पाहुना बास्कुना पुग्छन् । खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेर सुन्तलाखेती गरेका कृषकको जीवनस्तरमा परिवर्तन आएको छ । कृषक भीम गुरुङले गत वर्ष रु पाँच लाखको सुन्तला बेचेका कृषकले यसपालि रु दश लाख बराबरको फलाएका बताए । नयाँ बिरुवा थपिएका र फल राम्रो लागेकाले उत्पादन बढेको गुरुङले बताए । सुन्तला बिक्री गरेर एक जना कृषकले रु एक लाखदेखि १४ लाखसम्म आम्दानी गर्छन् । बास्कुनाको सुन्तला अन्य ठाउँको भन्दा रसिलो, गुलियो र स्वादीलो हुने सुन्तला व्यापारी सुदर्शन गौतमले बताए । नारायणघाट, काठमाडौँ र नुवाकोटमा सुन्तला लैजाने गरेको उनले बताए । मूल्यमा एकरुपता कायम गर्न, कृषकको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउनका लागि वडाका जनप्रतिनिधि र कृषक समूहले सुन्तलाको प्रतिकिलो न्यूनतम रु ८५ मूल्य कायम गरिएको बेनी नगरपालिका-४ का वडासदस्य सन्दीप खत्रीले बताए । गत वर्ष रु ८० प्रतिकिलो सुन्तलाको मूल्य कायम भएको थियो । ‘यसअघि मङ्सिरमा रङ र गुलियो नपस्दै सुन्तला बजार पठाउँदा नराम्रो सन्देश गएको थियो । कृषकले व्यापारीले जति भने त्यति मूल्यमा सुन्तला बेच्ने गरेका थिए’, उनले भने, ‘गत वर्षदेखि कृषकले समान र उचित मूल्य पाउने, पाकेको गुणस्तरीय र स्वादिलो सुन्तला बजारमा जाने वातावरण बनाएका छौँ ।’ कृषि ज्ञान केन्द्रले बास्कुनालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बल्क कार्यक्रममा समेटेको छ । सुन्तला बगैँचा व्यवस्थापन गर्ने औजारका साथै झर्याङ, क्रेट, झरेका सुन्तलाको दाना व्यवस्थापन गर्ने प्लास्टिकको थैलोलगायतका सामग्री सहयोग गरिएको केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताए । प्रदेश सरकारमार्फत तीन वर्षअघि बास्कुना, सुर्केमेला र थामडाँडाका लागि बालमखोला सिँचाइ आयोजना निर्माण भएको थियो । सिँचाइ सुविधा भएपछि सुन्तलाखेती गरेका कृषकलाई सहज भएको छ । बेनी-थामडाँडा-बरङ्जा सडक स्तरोन्नति नहुनु, बाँदर आतङ्क र सुन्तलाको दाना झर्ने समस्या मुख्य चुनौतीका रुपमा देखिएको कृषकले बताएका छन् । कृषकसमेत रहेका वडासदस्य खत्रीले बेनी-थामडाँडा सडक स्तरोन्नतिका लागि यसपालि प्रदेश सरकारबाट बजेट विनियोजन भएको, सिँचाइ आयोजनाको क्षमता विस्तार गर्न पहल गरेको र दाना झर्ने समस्या समाधानका लागि कृषि निर्देशनालयसँग समन्वय गरेको बताए । रासस
भारत मोबिलिटीका सन्दर्भमा नाडाका पदाधिकारी तथा सदस्यहरूबीच अन्तरक्रिया
काठमाडौं । भारत मोबिलिटीका सन्दर्भमा नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूबीच काठमाडौंमा अन्तरक्रिया भएको छ । नेपालस्थित भारतीय दूतावासका प्रमुख वाणिज्य सचिव सुमन शेखरको प्रमुख आतिथ्यतामा अन्तरक्रिया भएको हो । सो अन्तरक्रिया कार्यक्रममा इन्जिनियरिङ एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डियाका तर्फबाट पल्लवी साह, सोसाइटी अफ इण्डियन अटोमोबाइल मेनुफेक्चर्स (सीयाम) का तर्फबाट देवासिस मजुमदर तथा नाडाका अध्यक्ष करण चौधरीबीच रोड्स शो अन भारत मोबिलिटी ग्लोबल एक्सपोका सम्बन्धमा विस्तृत अन्तरक्रिया भएको छ । उक्त अन्तरक्रियामा नाडाका अध्यक्ष चौधरीले नेपालको अटोमोबाइल क्षेत्रका विविध पक्षहरूका सम्बन्धमा चर्चा गर्दै नेपालको अटोमोबाइल क्षेत्रको प्रवर्द्धनका लागि भारतको सहयोग अपरिहार्य भएको बताए । यही २०२५ जनवरीको १७ देखि २२ सम्म सोसाइटी अफ इण्डियन अटोमोबाइल मेनुफेक्चस (सीयाम) को पहलमा भारतको नयाँ दिल्लीको भारतमण्डपम, यसोभूमि द्वारिका र ग्रेटर नोयडामा भारत मोबिलिटीअन्तर्गत ‘अटो एक्सपो : दि मोटर शो २०२५’ हुन लागेको पूर्वसन्ध्यामा यी अन्तरक्रिया भएका हुन् । कार्यक्रममा नाडाको तर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्यसमितिका सदस्यद्वय कपिल शिवाकोटी, यमुना श्रेष्ठ, प्रकाश कपुरी, ऋद्धि कार्की, दीपेन्द्रकुमार मिश्रा, मेघराज पौडेल, निलमणी पाठक, अभिक ज्योति, दीपकराज गिरी, नवीनकुमार पारख र नारायणप्रसाद पौडेलको उपस्थिति रहेको थियो ।
म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रम : आठ सय रोपनीमा हिउँदे आलुखेती विस्तार
म्याग्दी । म्याग्दीमा आठ सय रोपनी बढी जमिनमा हिउँदे आलुखेती विस्तार गरिएको छ । नगदे बालीका रुपमा जिल्लामा रहेका एक नगरपालिका र पाँचवटै गाउँपालिकामा व्यावसायिक रुपमा आलुखेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा खायन आलु प्रवद्र्धन कार्यक्रममार्फत किसानलाई अनुदान उपलब्ध गराएपछि जिल्लामा हिउँदे आलुखेती विस्तार भएको हो । खायन आलु प्रवद्र्धन कार्यक्रमअन्तर्गत विभिन्न २१ वटा कृषक समूह तथा सहकारीहरुले आठ सय ५० रोपनीमा व्यावसायिक रुपमा आलुखेती लगाएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिए । उनका अनुसार, यस कार्यक्रममार्फत करिब तीन सय रोपनीमा बर्खे आलुखेती गर्ने तयारी गरिएको छ । गण्डकी प्रदेशको कृषि तथा सहकारी मन्त्रालयले म्याग्दी जिल्लामा आलुको संरक्षण तथा विस्तार र व्यावसायिकताका लागि चालु आर्थिक वर्षमा रु एक करोड २० लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट कार्यालयले कार्यक्रममा समावेश हुनआएका किसान समूह र सहकारीलाई आलुको बीउ, यान्त्रिक उपकरण खरिद, सिँचाइ सुविधा विस्तार र बजारीकरणमा अनुदान दिएको कार्यालयले जनाएको छ । खायन आलु प्रवद्र्धन कार्यक्रमको लागि छनोटमा परेका कृषक समूह र सहकारीमा आबद्ध किसानले आलुको बीउ र सिँचाइतर्फ ७५ प्रतिशत तथा यान्त्रिकीकरण र बजारीकरणतर्फ ५० प्रतिशत अनुदान पाएका छन् । यस वर्ष जिल्लामा एक हजार दुई सय रोपनी जमिनमा आलुखेती विस्तार गर्ने लक्ष्य लिइएको छ । मन्त्रालयबाट प्राप्त बजेटमध्ये रु एक करोड रकम किसानलाई अनुदान वितरणमा खर्च हुने र २० लाख रकम किसानलाई तालिम, अभिमुखीकरण, निरीक्षण, पुस्तक प्रकाशन, प्राविधिक सहयोगको क्षेत्रमा परिचालन हुने कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गङ्गा लामिछानेले जानकारी दिए। जिल्लामा खेती गरिने प्रमुख बालीमध्येमा पर्ने आलुखेतीबाट जिल्लालाई आत्मनिर्भर बनाउँदै स्थानीयको आयआर्जनमा सुधार ल्याउन आलुखेतीले सहयोग पुग्ने किसानको भनाइ छ । जिल्लामा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ जातका आलु उत्पादन हुने गरेको छ ।
अण्डाको मूल्य १५ रुपैयाँ बढ्यो, प्रतीक्रेट ५ सय रुपैयाँ
काठमाडौं । अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको बिक्री मुल्य बढाएको हो । संघको पुस ४ गते बसेको बैठकले बिक्री मूल्य १५ रुपैयाँ बढाएको हो । यससँगै मध्यम किसिमको प्रतीक्रेट ४ सय ८५ रुपैयाँ तोकिएको छ भने ठुलो अण्डा प्रतीक्रेट ५ रुपैयाँ तोकिएको संघका सचिव मदन पोखरेलले जानकारी दिए । यसअघि गत मंसिर २७ गते बसेको बैठकले मध्यम किसिमको प्रतीक्रेट ४ सय ७० रुपैयाँ र ठुलो अण्डा प्रतीक्रेट ४ सय ८५ रुपैयाँ तोकेको थियो । एक सातामा नै अण्डाको मूल्य बढाएको हो । संघका अनुसार चितवनलाई आधारमानी पुस ५ गतेदेखि अण्डाको नयाँ बिक्री मुल्य लागू हुनेछ । उक्त मूल्यमा कारोबार गर्न संघले अनुरोध गरेको छ । चितवनबाट लोड भइ देशभरीको अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटि १४० रुपैयाँ लाग्नेछ ।
विद्युत् प्राधिकरणले माग्यो ठुलो संख्यामा कर्मचारी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदका लागि ठुलो संख्यामा कर्मचारी मागेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै पाँचौँ तहदेखि दसौँ तहसम्मको प्रशासन र प्राविधिकतर्फ विभिन्न पदका लागि कर्मचारी मागेको हो । खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत प्राधिकरणले ९५३ जना स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । प्राधिकरणले दसौँ तह अन्तर्गत प्राविधिकतर्फ एक जना प्रबन्धक माग गरेको छ भने आठौँ तह प्रशासनतर्फ सहायक निर्देशक दुई जना र एक जना सहायक प्रबन्धकका लागि दरखास्त आह्वान गरेको हो । यस्तै, प्रशासकीय अधिकृत, कानुन अधिकृत, लेखा अधिकृत, चार्टर्ड एकाउन्टेन्ट, इलेक्ट्रिकल इन्जिनियर, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त मागेको हो । प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर कम्युनिकेसन इक्विपमेन्ट अपरेटर, सुपरभाइजर लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले पुष २५ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर माग ३ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन अनलाइनमार्फत दिनु पर्नेछ ।
महुली लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला, मूल्य १ सय रुपैयाँ
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले आज पुस ५ गतेदेखि थप सार्वजनिक सेयय (एफपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयर बिक्री खुला गरेको हो । लघुवित्तमा सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको ३० प्रतिशत पुर्याउन एफपीओ जारी गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ रहेको छ । एफपीओ निष्काशनपश्चात् चुक्ता पुँजी ३६ करोड ९९ लाख २३ हजार ५ सय रुपैयाँ पुग्नेछ । लघुवित्तको एफपीओमा पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस १९ गतेसम्म लम्बिनेछ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमाफएत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।