विकासन्युज

सिटिजन्स बैंकका ग्राहकलाई एसएम डेन्टल एण्ड स्किन केयरमा २५ प्रतिशत छुट

  काठमाडौं । सिटिजन्स बैंक र काठमाडौंस्थित एसएम डेन्टल एण्ड स्किन केयर प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले एसएम डेन्टल एण्ड स्किन केयरमा २५ प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । सिटिजन्स बैंकले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइहरूबाट १८ लाखभन्दा बढी ग्राहकवर्गलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

मुग्लिन-नौबिसे सडक पुस ७ देखि १३ गतेसम्म दिउँसो बन्द हुने

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडकखण्डको पोखरेभिर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले यही पुस ७ देखि १३ गतेसम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो । नागढुङगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इञ्जिनियर विजय दरइका अनुसार बिहान ११ः०० देखि अपराह्न २ बजेसम्म सवारी रोकेर काम गर्न लागिएको हो । उनका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ । यसैगरी चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारी चालिसे र हलुका सवारी घाटबेँसीमा रोकिने छ । यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिने छभने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने उनले जानकारी दिए । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने मिलाएर छाडिने उनले बताए ।

अहिलेको बजेटले विकास गर्न सक्दैन, अब तल्लो तहबाटै आयोजना छनोट हुनुपर्छ : मन्त्री दाहाल

  काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले आयोजना छनोट र विधि परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन । उनले हालसम्म माथिल्लो तहबाटै योजना छनोट गर्ने गरिएकोमा अब तल योजना छनोट गर्नुपर्नेमा जोड दिए । उनले माथिल्लो तहबाट आयोजना छनोट गरिने विधिको अन्त्य गर्नु पर्ने बताए । मन्त्री दाहालले चालु आर्थिक वर्षको बजेट माथि प्रश्न गर्दै यही बजेटले विकास निर्माणका काम गर्न नसक्ने बताए । उनले पुलमा मात्रै अघिल्लो सरकारले ६९ लाख बजेट छुट्यो तर पुलको सख्या ६५३ रहेको भन्दै यो बजेटले पुल बन्न नसक्ने बताए । मन्त्री दाहालले कर बनाउने आयोजना लगानी गर्न मन्त्रालय प्रयासरत रहेको जिकिर गरे । उनले सरकारले विकास निर्माणमैत्री ऐनहरु बनाइने बताए । उनले सरकारले योजना आयोगले बनाएको योजना बैंकमा भएका आयोजनाहरुलाई वेवास्था गरेको भन्दै अब त्यसमा सुधार गर्न आवश्यक रहेको बताए । सरकारले पूर्वाधार निर्माणका आयोजनाहरुलाई प्राथमिकताका आधारमा छनोट गरी निर्माण कार्य अगाडि बढाउँदा मात्रै निर्माण क्षेत्रमा समस्यामा कमी आउने उनको भनाइ छ । ‘पूर्वाधार निर्माणमा सरकारले योजना आयोजले बनाएको योजना बैंक मार्फत लिएर काम गर्नुपर्नेमा हामीले वेवास्ता गरेका छौं, त्यसलाई सुधार गर्न आवश्यक छ, सरकारले बजेटमा आयोजनाहरु ल्याउँदा प्राथमिकताका आधारमा छनोट हुन जरुरी छ,’ उनले भने, ‘आयोजनाहरु छनोट हुँदा आयोजनाले मुलुकलाई प्रतिफल दिने हुनु पर्छ ।’ उनका अनुसार प्राथमिकताका आधारमा छनोट भएका आयोजनाले उत्पादन र उत्पादकत्वमा योगदान दिने हुनुपर्छ । मन्त्री दाहालले मुलुकमा रहेका रुग्ण आयोजनाहरुलाई लामो समय राख्न नहुने पक्षमा सरकार रहेको बताए । उनले निर्माण व्यवसायीहरुसँगको सहकार्यमा मन्त्रालयले रुग्ण आयोजनाको विषयलाई टुङ्गोमा पु¥याउने बताए । उनले निर्माण व्यवसायीहरुको भुक्तानीलाई पनि सरकारले निरन्तर रुपमा भुक्तानी दिइरहेको धारणा राखे । निर्माण व्यवसायीहरुको ३ अर्ब भुक्तानी बाँकी रहेको भन्दै सरकारले केही दिनभित्रै भुक्तानी दिने उनको भनाइ छ । उनले पूर्वाधार निर्माणका कार्यलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले नारायणगढ–बुटवल सडक निर्माणको काम सुरु भएको पनि जानकारी दिए । उनले ठेकेदार कम्पनीले सडक निर्माणको काम अघि बढाउनेमा विश्वास व्यक्त गर्दै पूर्वाधार विकासविना मुलुकको अर्थतन्त्रको विकास हुन नसक्ने दाबी गरे ।

‘प्राधिकरण घाटामा जाँदा फाइदा लिनेहरूले हल्ला फैलाए, देशमा लोडसेडिङ हुँदैन’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको बताएका छन् । शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा बोल्दै लोडसेडिङ हुँदा रमाउने जमात भएको बताएका हुन् । उक्त जमातले नै लोडसेडिङको हल्ला फैलाएको उनकाे भनाइ छ । उनले अहिले लोडसेडिङ नभएर आयोजनाहरुमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत वितरणमा समस्या भएको बताए । उनले माथिल्लो तामाकोशी र कालिगण्डकी बन्ने वित्तिकै लोडसेडिङ समस्या समाधान हुने दाबी गरे । घिसिङले व्यस्त समयमा केही मात्रै उद्योगको लाइन काटेको जिकिर गर्दै त्यो समयमा नागरिकलाई सहज बनाएको बताए । उनले उद्योगीहरूले त्यही व्यस्त समयमै विद्युत काट्यो भनेर बखेडा झिकेको बताए । ‘तामाकोसी १० दिनमा जोडिएपछि त्यो समस्या पनि हराउँछ । नेपालयको पूर्वाधार क्षेत्रमा ठूल्ठूला विकासका परियोजनाहरूको काम भइरहेको छ, बत्ती र बाटोको विकास भएको छ । जुन हाम्रो ठूलो पूर्वाधारको विकासको आधार हो । नेपालको विद्युत क्षेत्रको ठूलो विकास हुनेवाला छ । यसका लागि ठूलो लगानी आवश्यक छ । हाम्रा ठूला परियोजनहरुका लागि वैदेशिक लगानी चहिन्छ । लोडसेडिङले उद्योगीहरूको प्रोडक्टिभिटीमा कमी आएको कुरा आएको छ, ’ उनले भने । उनले प्राधिकरणको घाटामा फाइदा लिनेहरू धेरै रहेको बताए । उनले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम व्यवसायीहरूले दिनुको विकल्प नभएको उल्लेख गरे । घिसिङले दुई-चार घण्टा बत्ती कम आयो भन्दैमा सिमेन्टको मूल्य बढाउन नपाइने बताए । उनले २४ सै घण्टा लाइन दिँदा पनि ८ घण्टाभन्दा बढी उद्योग चल्ने अवस्था नभएको बताए । उनले पूर्वधार विकासको मुख्य मेरुदण्ड जलविद्युत रहेको पनि उल्लेख गरे ।

सरकारले निर्माण व्यवसायीको भुक्तानी नदिएसम्म निर्माण उद्योग चलायमान हुन सक्दैन : अध्यक्ष सिंह

  काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले समयमा निर्माण व्यवसायीहरूको भुक्तानी दिन नसक्दा निर्माण व्यवसायीहरू समस्यामा रहेको बताएका छन् । शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो साधरण सभामा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन् । उनले सरकारले निर्माण भएका आयोजनाको समेत भुक्तानी समयमा नहुँदा निर्माण उद्योग अगाडि बढ्न नसकेको गुनासो गरे । उनले सरकारले भुक्तानी दिन सकेको भए दशैंपछि पूर्वाधार निर्माण चलायमान हुनु पर्ने भए पनि अहिले निर्माण उद्योग सिथिल अवस्थामा पुगेको उल्लेख गरे । अध्यक्ष सिंहले सरकार निर्माण व्यवसायीहरूको माग प्रति गम्भिर नहुँदा निर्माण क्षेत्र चलायमान बनाउन नसकिएको बताए । उनले भने, ‘ निर्माण क्षेत्रका मुल समस्या भनेको सरकारले अघि सारेका आयोजनाहरु निर्माणमा स्रोत सुनिश्तिता गर्नुपर्छ । सरकारले त्यसको लागि काम गर्नु जरुरी छ । सरकारले निर्माण व्यवसायीहरुले पाउनु पर्ने भुक्तानी पाउन सकिएको छैन ।’ उनले पूर्वाधार निर्माण क्षेत्रमा काम गर्ने सरकारी निकायहरूमा समन्वय गर्न नसक्दा निर्माण उद्योग धरासाही भएको बताए । उनले अहिले निर्माण उद्योग ध्वस्त भएको बताए । उनले निर्माण उद्योगलाई चलायमान बनाउनको लागि सरकारले निर्माण उद्योगलाई दिनु पर्ने भुक्तानी तत्काल दिन आवश्यक रहेको बताए । उनले सरकारले निर्माण उद्योगीहरूलाई तत्काल भुक्तानी गर्न नसके निर्माण उद्योग चलायमान हुन नसक्ने जानकारी दिए । उनले सरकारले स्रोत सुनिश्चिता नभएका आयोजनाहरू सबै खारेज गर्न आवश्यक बताए । सरकारले अघि सार्ने परियोजनाहरू स्रोत सुनिश्चिता भएकालाई मात्रै प्राथमिकता दिएर काम गर्नु आवश्यक रहेको बताए । उनले सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनका कारण म्याद थप भएका ४ हजार बढी आयोजनाहरु प्रभावित भएको जानकारी दिए ।

एक्सेल डेभलपमेन्ट बैंकले सेयरधनीलाई बनायो निराश, लाभांश नदिने

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले यो वर्ष सेयरधनीलाई निराश बनाएको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । पुष ४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउन निर्णय पनि गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेस गरिनेछ ।

सिमेन्टको मूल्य बढाउने कम्पनीलाई कारबाही गर्नुपर्छ : इप्पान अध्यक्ष कार्की

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष गणेश कार्कीले सिमेन्टको मूल्य बढाएको भन्दै आपत्ति जनाएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले पूर्वाधारमा सिमेन्ट महत्त्वपूर्ण भएको बताएका हुन् । अध्यक्ष कार्कीले सिमेन्टको मूल्य बढ्नुमा कालोबजारी भएको र बढाउने कम्पनीलाई कारबाही गर्नुपर्ने बताए। सिमेन्टबिना पूर्वाधार क्षेत्रको सम्भावना नभएको उनको भनाइ छ । उनले भने, ‘सिमेन्टबिना पूर्वाधार क्षेत्रको सम्भावना छैन । सिमेन्टको मूल्य बढाउने कम्पनीलाई कारबाही गर्नुपर्छ । हामी सबैका समस्या सरकारले बुझिदिनुपर्छ । हाम्रो पनि देश विकासमा महत्त्वपूर्ण योगदान छ । अझ पूर्वाधारलाई चलायमान बनाउन हामी सबैले सहकार्य गर्नुपर्छ ।’ नेपालको सन्दर्भमा टनेल आवश्यक रहेको छ र यसलाई सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

लहलहैमा लगानी, सेयर बजारमा ट्रेडर हावी

तस्बिर : ग्रोक काठमाडौं । पुँजीबजारलाई जोखिमको बजारको रूपमा लिइन्छ । यहाँ कमाउने र गुमाउने दुवै हुन्छ । सेयर बजारमा उतारचढाव भइरहन्छ । यस्तो बजारमा नेप्से परिसूचक घट्नु र बढ्नुलाई स्वाभाविक लिइन्छ । तर, कहिलेकाहीं बजारमा अस्वाभाविक घटबढ भइिदिन्छ । एकैदिन ह्वात्तै बढ्नु र अर्कोदिन ठूलो अंकले गिरावट हुनु पुँजीबजारमा सामान्य हो । अझ त्यसभन्दा पनि बढी अस्वाभाविक कमजोर वित्तीय अवस्था भएका कम्पनीमा सकारात्मक सर्किट नै लागेर कारोबार भइरहेको हुन्छ भने राम्रा वित्तीय अवस्था र अब्बल मानिएका कम्पनीहरूको सेयरको मूल्य भने बढ्न सकेको हुँदैन । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले कुनै पनि कम्पनीले जारी गरेको वित्तीय विवरण, मासिक या त्रैमासिक रूपमा सार्वजनिक गरेका प्रतिवेदनहरू अध्ययन गरेर मात्रै लगानीको निर्णय लिनुपर्छ । कुनै पनि कम्पनीको प्रतिसेयर मूल्य, नेटवर्थ, लाभांश वितरणको अवस्था, नाफा/नोक्सान, कम्पनीको सञ्चालन र व्यवस्थापनलगायत हेरेर मात्रै लगानी गर्नुपर्छ भन्ने मान्यता छ । तर, पछिल्लो समय बजार ठीक विपरीत चलेको कारण लगाानीकर्ताले वित्तीय विश्लेषणभन्दा पनि कम्पनीको सेयरमूल्यको आधारमा कारोबार गर्ने प्रवृत्ति बढेर गएको छ । सेयर बजारमा देखिएको यस्तो खालको प्रवृत्तिले पछिल्लो समय लगानीकर्ताको सोच नै परिवर्तन भइसकेको छ । अझ भनौं, नेपाली पुँजीबजारमा लगानीकर्ताभन्दा पनि बढी ट्रेडर हाबी हुँदा यस्तो प्रवृत्ति देखिएको पुँजीबजारका जानकारहरू बताउँछन् । राम्रो नेटवर्थ नभएका तर बजारमा सेयर मूल्य उच्च रूपमा बढेको कम्पनीमध्ये नेपाल फाइनान्स लिमिटेड एक कम्पनी हो । उक्त कम्पनीको मूल्य २६ सय हाराहारमा पुग्यो । अहिलेको अवस्थामा सेयरमूल्य घट्दो क्रममा रहे पनि अझै पनि धेरै कारोबार गर्ने कम्पनीमध्येमा एनएफएस पर्दै आएको छ । केही समयअघि कर्णाली विकास बैंकको सेयरमूल्य त्यसैगरी उच्च रूपले बढेको थियो, जुन बैंकलाई राष्ट्र बैंकले समस्याउन्मुख घोषणा गर्दै थप निक्षेप जम्मा गर्न र कर्जा प्रवाह गर्न रोक लगाइसकेको छ । यस्तै, अर्को कम्पनी हो- नारायणी डेभलपमेन्ट बैंक । उक्त कम्पनीको वित्तीय अवस्था हेर्ने हो भने लामो समयदेखि लगानीकर्तालाई लाभांश वितरण गर्न सकेको छैन, वित्तिय अवस्था पनि त्यति बलियो छैन । तर पनि बजारमा त्यही कम्पनीको सेयर मूल्य माथि पुगेको देखिन्छ । यी कम्पनीहरू यसका केही उदाहरणमात्रै हुन् । बजारमा यस्ता कम्पनीहरू धेरै छन् जुन वित्तीय रूपमा कमजोर भएपनि लगानीकर्ताको आकर्षणमा पर्दै आएका छन् । किन हुन्छ यस्तो ? जुन कम्पनीहरू वित्तीय रूपमा बलिया छन्, वर्षौंदेखि लगानीकर्तालाई लाभांश र बोनस वितरण गर्दै आइरहेका छन् । ती कम्पनीको मूल्य नबढ्नु तर कमजोर वित्तीय अवस्था भएका कम्पनी उचालिनुको मुख्य कारण बजारको ट्रेन्डमा परिवर्तन आएको पुँजीबजार जानकार देव गुरागाईं बताउँछन् । उनका अनुसार पछिल्लो समय बजारमा लगाानीकर्ताभन्दा पनि ट्रेडर हाबी भएको छ । जसले गर्दा वित्तीय विवरण हेरेरभन्दा सेयरमूल्यको आधारमा कारोबार गर्ने प्रवृत्ति बढेर गएको छ । गुरागाईंले भने, ‘बजारमा लगानीकर्ताभन्दा ट्रेडर हाबी भयो भने यस्तो हुन्छ । अहिलेको अवस्थामा लगानीकर्ताले पुँजीगत लाभलाई मात्रै हेरेको छ, दीर्घकालीन लगानीको लागि सोच्ने लगानीकर्ता कम छन् ।’ अहिलेको अवस्थामा यस्ता थुप्रै राम्रा मानिएका कम्पनीहरूले लाभांश वितरण गर्न सकेको छैन । त्यसले गर्दा पनि बजारमा ट्रेडर हाबी हुँदै गएको उनको भनाइ छ । गुरागाईं बजारको ट्रेन्डअनुसार लगानीकर्ताले पनि आफूलाई ढाल्नुपर्ने विचार राख्छन् । ‘पुँजीबजारमा लगानी गर्दा राम्रा फण्डामेन्टल भएका कम्पनी हेरेर लगानी गर्ने सिद्धान्त नै हो, तर अहिले बजारको प्रवृत्तिमा परिवर्तन भएको छ । बजारको प्रवृत्तिअनुसार लगानीकर्ताले आफूलाई बदल्नुपर्छ । आफूलाई बजारअनुसार ढाल्न सकेन भने नाफा कमाउन गाह्रो हुन्छ,’ उनी भन्छन् । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा.गोपालप्रसाद भट्ट वित्तीय अवस्था खराब भएका कम्पनीमा लगानी गर्नु लगानीकर्ताकै कमजोरी औंल्याउँछन् । लगानीकर्ता आफै नै अस्वस्थ कम्पनीमा लगानी गर्छ भने त्यसको जिम्मेवारी स्वयं लगानीकर्ताले भोग्नुपर्ने उनले बताए । कुनै कुरा नबुझिकनै अरुको लहैलहैमा लाग्ने लगानीकर्ता यस्ता कम्पनीमा फस्ने उनको भनाइ छ । ‘बजारमा दुई खालका लगानीकर्ता हुन्छन् । जान्नेबुझ्ने र चलाख लगानीकर्ता जसलाई ‘इन्फर्म’ लगानीकर्ता भनिन्छ । अर्को अरूको लहैलहैमा लागेर सेयर कारोबार गर्ने लगानीकर्ता । त्यस्ता खालका लगानीकर्ताले नै ‘सर्टटम गेन’ गर्ने, बजारलाई म्यानुपुलेट गर्छन् । कमजोर कम्पनीको सेयर मूल्य माथि पुर्‍याउने नै तिनै लगानीकर्ता हुन् ।’ सही कम्पनी छनोट कुनै पनि कम्पनीको वित्तीय अवस्थाले सम्पत्ति, दायित्व, कारोबारको स्थिति, आयको अवस्था, भविष्यको योजनालगायत विषयलाई जनाउँछ । लगानीकर्ताले प्रतिफललाई हेरेर लगानी गर्ने हो । आज किनेको सेयर भोलि बढोस् भन्ने सबै लगानीकर्ताको चाहना हुन्छ । आफ्नो लगानीबाट प्रतिफल पाउन चाहने लगानीकर्ताले सही कम्पनी छनोट गर्न जान्नुपर्छ । राम्रो प्रतिफल त्यही वित्तीय अवस्था बलिया भएका कम्पनीले मात्रै दिने डा. भट्टले बताए । ‘जुन कम्पनीले ग्रोथ गरिरहेको छ, नयाँनयाँ प्रोजेक्ट लिइरहेको छ, नीति, वित्तिय योजना, इन्भेष्टमेन्ट प्लान छ । त्यस्तो कम्पनीमा लगानी गर्दा भोलि डुब्दैन । भविष्यमा लगानीकर्तालाई राम्रो प्रतिफल दिन्छ । त्यस्तो कम्पनी हेरेर लगानी गर्नुपर्छ,’ उनले भने । लगानीकर्तालाई कस्तो कम्पनीमा लगानी गर्ने भन्ने सही निर्णय गर्नलाई विवरणपत्रले सहयोग गर्छ । विवरणपत्रकै आधारमा लगानीकर्ताले लगाानीको निर्णय गर्ने हो । विवरणपत्रमा सबै जानकारीहरू सही दिएको हुन्छ भन्ने मानिन्छ । नेपालको सन्दर्भमा केही कम्पनीले गलत विवरण सार्वजनिक गरेका उदाहरण नभएका भने होइनन् । नेपालमा केही कम्पनीले म्यानुपुलेट गरेर विवरणपत्र सार्वजनिक गरेका पनि छन् । यसको मतलब सबै कम्पनीको विवरणपत्रले लगाानीकर्तालाई झुक्याउँछ भन्ने पनि होइन । विवरणपत्रलाई नियामक निकाय नेपाल धितोपत्र बार्डले स्वीकृत दिनुअघि राम्रोसँग हेर्नुपर्छ । विवरणपत्रमा लगानीकर्ताको उपेक्षा धेरै लगानीकर्ताले विवरणपत्र लामो हुने हुँदा हेर्न रुचाउँदैनन् । तर डा. भट्ट लगानी गर्नेले झर्को मान्नुभन्दा पुरै विवरण पढ्नुपर्नेमा जोड दिन्छन् । सबै हेर्न सकिएन भनेपनि कम्पनी सञ्चालक, व्यवस्थापन, कम्पनीको नाफा नोक्सान, लाभांश वितरणको इतिहास, भविष्यको योजना, इपीएस, पीई रेशियोजस्ता इन्डिकेटर छुट्याउनै नहुने उनले बताए । सबै लगानीकर्ताले विवरणपत्र हेरेर विश्लेषण गर्न सक्छन् भन्ने हुँदैन । पुँजीबजारमा नबुझिकनै लगानी गर्नुभन्दा पोर्टफोलियो म्यानेजमेन्टमा लगानी गर्ने र केही सिकेपछि मात्रै दोस्रो बजारमा आउँदा डुब्ने सम्भावना कम हुने डा. भट्टको तर्क छ । ‘हल्लाको भरमा नबुझिकन लगानी गर्दा दु:ख पाइन्छ । त्यसलै लगानी गर्नुभन्दा अघि कम्तीमा कस्तो कम्पनीमा लगानी गर्दैछु त्यो कम्पनीको भविष्य के छ ? त्यो कम्पनीले विगतमा कति लाभाश बाँडेको थियो, आगामी योजना के छ ? कम्पनीले कस्तो क्षेत्रमा लगानी गरको छ लगायत विषयमा अध्ययन गरेर लगानी गर्दा सुरक्षित हुन्छ,’ उनले भने । नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल कम्पनीले दीर्घकालीन रूपमा दिने प्रतिफल, बोनस सेयर, लाभांश, ग्रोथ, फ्युचर प्लानका कुरा हेरेर लगानी गर्दा भविष्यमा समस्यामा नपर्ने बताउँछन् । राम्रा कम्पनीले बाँड्न सकेनन् लाभांश  पछिल्लो समय राम्रा मानिएका कम्पनीले लाभांश बाँड्न सकेको छैनन् । बाँडेका कम्पनीहरूले पनि विगतका तुलनामा निकै कम लाभांश बाँडिरहेका छन् । अध्यक्ष ढकाल अर्थतन्त्रमा छाएकाे शिथिलताको कारण पछिल्लो समय कम्पनीहरूले लाभांश बाँड्न नसकेको तर्क गर्छन् । साथै बलियो कम्पनीमा लगानी गर्दाको परिणाम जस्तोसुकै संकट आउँदा पनि त्यसले दिने लाभांश निरन्तर आइरहन्छ, जसले लगानीकर्ता लाभान्वित हुने अध्यक्ष ढकालको भनाइ छ । ‘कोभिड-१९ पछि विश्व अर्थतन्त्र शिथिल भएको छ । छिमेकी मुलुक चीन र भारतले अर्थतन्त्रमा वृद्धि गर्न सके पनि नेपालले भने अझै अर्थतन्त्रको चुनौती सामना गरिहेको छ । यसले गर्दा कम्पनीहरूले बाँड्ने लाभांशमा कमी देखिएको छ । तर बलियो कम्पनीले जस्तोसुकै संकटमा लाभांश दिएका छन्, दिनेछन्, ’ उनले भने । ढकालका अनुसार लगानीकर्ताले दीर्घकालीन लगानीका लागि युनिलिभर नेपाल, चार्टर्ड बैंक, एभरेष्ट बैंक, सानिमा हाइड्रो, नेपाल टेलिकमलगायत कम्पनीहरू छनोट गर्न सक्छन् । बलियो कम्पनीमा लगानी गर्दा पारदर्शी हुने र लगानीको राम्रो प्रतिफल पाउने हुँदा त्यस्ता कम्पनी छनोट गरेर लगानी गर्न ढकाल सुझाउँछन् ।