काल बन्दै वैदेशिक रोजगारी, १४ हजार बढीको मृत्यु, साढे ३ हजार अङ्गभङ्ग भएर फर्किए
फाइल फोटो काठमाडौं । पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार २१३ जनाको मृत्यु भएको हो । नेपालमा साताव्यापी रूपमा मनाइँदै गरिएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त विवरण सार्वजनिक गरेको हो । बुधबार परेको उक्त दिवसका अवसरमा मन्त्रालयले यही डिसेम्बर १६ देखि २२ तारिखसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त दिवस मनाउन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा दिवस मूल समारोह समिति नै गठन गरेर साताव्यापी कार्यक्रम आयोजना गरेको हो । समितिले सार्वजनिक गरेको विवरणानुसार बोर्ड स्थापनापछिको उक्त अवधिमा गम्भीर बिरामी तथा अङ्गभङ्ग भएर फर्किएका मात्रै ३ हजार ४४० जना श्रमिक छन् । उनीहरूलाई वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता प्रदान गरिएको सचिव निरौलाले जानकारी दिए । नेपालबाट विभिन्न १११ मुलुकमा नागरिक आप्रवासीका रूपमा गएका उनले बताए । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको आप्रवासन प्रतिवेदन, २०२४ अनुसार विश्वभरि अनुमानित २८.१ करोड मानिस आप्रवासीका रूपमा रहेका छन् । जसमध्ये आप्रवासी श्रमिकको सङ्ख्या १६.९ करोड रहेको छ । आप्रवासीमाथि हुनसक्ने विभेदलाई ध्यानमा राखी संयुक्त राष्ट्रसङ्घले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तिनका परिवारको सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरी सन् २००३ जुलाई १ देखि लागू भएको छ । त्यसैले अन्तर्राष्ट्रिय आप्रवासी दिवस हरेक वर्ष डिसेम्बर १८ मा मनाइन्छ । संयुक्त राष्ट्रसङ्घले आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउन र विश्वभरका आप्रवासीहरूको योगदानलाई मान्यता दिनका लागि विश्वव्यापी रूपमा यो दिवस मनाउन आह्वान गरेको छ । त्यसैले नेपालमा पनि यो दिवस सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज, आप्रवासी श्रमिक तथा उनीहरूका परिवार, सञ्चÞार जगत्लगायत विभिन्न पक्षहरूको संयुक्त पहलमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै आइएको छ । नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारीले महत्त्वपूर्ण योगदान गरेको छ । अर्थतन्त्रको मेरूदण्डका रूपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम रूपमा परिचालन गर्ने सरकारको नीति रहेको श्रम मन्त्रालयले जनाएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगारसम्बद्ध कानुनमा परिमार्जन, सीपसहितको रोजगारीको सुनिश्चितता, निःशुल्क अभिमुखीकरण तालिम, श्रम सम्झौता पुनरावलोकनका साथै थप गन्तव्य मुलुकसँग श्रम सम्झौता तथा समझदारी, वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई निःशुल्क बैंक खाता खोल्न र सोही खातामार्फत स्वदेशमा विप्रेषण ल्याउन प्रोत्साहन गर्ने, रिटनी उद्यमशीलता कार्यक्रम कार्यान्वयन गरिने आदि समावेश छ । आव २०८०/८१ मा गत आर्थिक वर्षको तुलनामा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँको रकम नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । आव २०८०/८१ मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति (पुनः थम स्वीकृतिसमेत) लिई वैदेशिक रोजगारीमा गएका ८० हजार १७२ महिलासहित कुल ७ लाख ४१ हजार २९७ जना श्रमिकले पठाएको विप्रेषणले आप्रवासी श्रमिकहरूको घरपरिवार सञ्चालन, मानवीय सम्पत्ति सूचकाङ्कमा सुधार र गरिबीमा रहेका परिवारहरूको आर्थिक जोखिम कम गर्न तथा नेपालको अर्थतन्त्रमा ठूलो सहयोग पुगेको समितिले जनाएको छ । विश्व बैंकको अक्टोबर, २०२४ को प्रतिवेदनअनुसार नेपालमा कुल गार्हस्थ उत्पादनमा विप्रेषणको हिस्सा एक चौथाइभन्दा बढी यसको रहेको छ । त्यसैले सुरक्षित एवं मर्यादित वैदेशिक रोजगारीका लागि सरोकारवालाहरूमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि आप्रवासी दिवस सप्ताहव्यापी रूपमा मनाउने निर्णय भएअनुसार विविध कार्यक्रम भइरहेको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने राहदानी, सीप तालिम तथा अभिमुखीकरणलगायत कागजात तयार पार्न स्थानीय तह तथा जिल्लास्तरका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नगरपालिका तथा गाउँपालिकालगायत निकायको महत्त्वपूर्ण भूमिका छ । यसर्थ सबैको सरोकारको विषय भएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसले स्थानीयस्तरमा समेत विशेष महत्व राख्ने सचिव निरौला बताउँछन् । श्रम मन्त्रालयका उपसचिव वसन्त बोहरा आप्रवासी नीति नै परिमार्जन गरेर वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन लागिएको बताउँछन् । अहिले उक्त नीति सुझावको चरणमा रहेको उनले बताए । मन्त्रालयका अर्का उपसचिव महेश पराजुली ९८.९ प्रतिशतले रेमिट्यान्स औपचारिक च्यानलबाट पठाएको अध्ययनमा पाइएको र समस्यामा परेका मानिसहरूको सङ्ख्या न्यून रहेको बताउँछन् । उनले कमाएको रकम घरपरिवार व्यवस्थापनमा बढी खर्च भएको देखिएकाले त्यसलाई आयआर्जनमा लगाउनका लागि प्रोत्साहन र सचेतना जरूरी रहेको र यस्ता कार्यक्रमले सहयोग गर्ने बताए ।
३२ दिनपछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि स्थायी रूपमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीको स्तरवृद्धि र नियमावलीअनुसारको तलबभत्ता नपाएको विषयलाई लिएर सुरू भएको आन्दोलन स्थगन भएको छ । आन्दोलनरत शिक्षक तथा कर्मचारीका अनुसार उपकुलपतिबाट माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता प्राप्त भएपछि बिहीबारदेखि आन्दोलनका सबै कार्यक्रम स्थगन गरिएको हो । प्रतिष्ठानका शिक्षक र कर्मचारीले आफूहरूको स्तरवृद्धि र तलबभत्ताको विषयमा न्यायका लागि २०८१ साल भदौ २६ गते उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट कर्मचारीको पक्षमा फैसला भएको थियोे । उक्त फैसला कार्यान्वयन नभएको भन्दै २०८१ साल कात्तिक २६ गतेदेखि विभिन्न दबाबमूलक कार्यक्रम कर्मचारीले सुरू गरेका थिए । आन्दोलनका क्रममा रजिष्ट्रारबाट गठित वार्ता समितिसँग पटकपटक छलफल भएपछि २०८१ साल पुस ४ गते उपकुलपतिबाट छुट पदसमेत सम्बोधन गरिने लिखित प्रतिबद्धता प्राप्त भएको साथै, गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना र त्यस सूचनामा छुट भएका पदका सम्बन्धमा थप स्पष्टता आउने वचन दिइएको आन्दोलित कर्मचारीले विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् । सो प्रतिबद्धताका आधारमा आन्दोलनरत शिक्षक तथा कर्मचारीले आजबाट आन्दोलनका सबै कार्यक्रम स्थगन गरी नियमित कार्यालय कामकाजमा फर्किने जानकारी गराएका छन् ।
आज यी ठाउँमा काटिदैँछ बिजुली
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले राजधानी काठमाडौंका विभिन्न स्थानमा आज बिहान १०ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचनामार्फत बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि बिजुली कटौती हुने भएको छ । प्राधिकरणले सो फिडरअन्तर्गत उक्त स्थानलगायत सम्पूर्ण क्षेत्रका ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ । तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएमा तोकिएको अवधिभन्दा पहिल्यै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ ।
एआईकेन्द्रित प्रोजेक्टमा व्यस्त आईएसएमटीमा अध्ययनरत विद्यार्थी, समाजको हितमा काम गर्ने लक्ष्य
काठमाडौं । जनकपुरका जमाल राइन अहिले काठमाडौंको तीनकुनेमा रहेको आईएसएमटी कलेजमा अध्ययन गरिरहेका छन् । आईटी अन्तिम सेमिस्टरमा अध्ययनरत उनले बिहीबार एउटा प्रोजेक्टको ‘डेमो’ सो गरे । साथीहरूसँग मिलेर बनाएको ‘फायर डिटेक्सन अर्लाराम सिस्टम’ नामक प्रोजेक्ट थियो । जसको उद्देश्य कुनै ठाउँ अथवा भवनमा आगलागी हुनेबित्तिकै प्रहरी, एम्बुलेन्स, दमकल, अग्निनियन्त्रकलाई एकै पटक ३० सेकेन्डमा जानकारी गराउनु हो । कुनै भवनमा आगलागी हुँदा कसरी छिटोभन्दा छिटो आगो निभाउने, आफूलाई जोगाउने, कसरी छिटो जानकारी पाउने भन्नेबारे जानकारी दिन यो प्रोजेक्ट बनाएका हुन् । जमालले बनाएको प्रोजेक्टमा कुनै ठाउँ आगलागी हुँदा क्यामेराले फोटो खिच्छ । जहाँ क्यामरामा अग्नि नियन्त्रक, दमकल, प्रहरी, एम्बुलेन्स सबैको नम्बर, इमेल सबै सेट गरिएको हुन्छ । आगो लाग्नेबित्तिकै त्यो क्यामेराले फोटो खिचेर सबै निकायलाई एकै पटक सिग्नल दिन्छ । जसकारण सबै निकायले समयमै जानकारी पाउने र धेरै क्षति हुन पाउँदैन । यो प्रोजेक्टमा त्यो क्यामरा कहाँ राख्ने, नम्बर कसरी सेट गर्ने, उसले एकै पटक फोटो कसरी खिच्ने धेरै टेक्निकल पाटा छन् । आफूले बनाएको प्रोजेक्टबारे जानकारी दिँदै उनले नेपालमा अहिलेसम्म यस्तो खालको टेक्निकल सिस्टम नभएको बताए । उनी पढाइसँगै अब यही प्रोजेक्टमा थप अध्ययन गरेर काम गर्न सक्ने बताउँछन् । ‘अहिले हामीले बनाएको भनेको डेमो हो, हामीले यसैमा काम गर्न पनि सक्छौं, यसका लागि शिक्षक, साथीभाइहरूको सल्लाह लिँदैछौं,’ उनी भन्छन्, ‘हामी यो विषयमा थप नयाँ कुरा खोजिरहेका छौं ।’ उनी यो प्रोजेक्ट लागू गर्न सक्ने हो भने नेपालमा हुने आगलागीबाट हुने धेरै क्षतिलाई रोक्न सक्ने बताउँछन् । यो विषयमा जमाललाई चौथो सेमेस्टरमै पढाइ हुँदा एकजना शिक्षकले आइडिया दिएका थिए । त्यही आइडियाले प्रोजेक्ट तयार पारेको उनी बताउँछन् । जमालको प्रविधितर्फ यति रुचि छ कि उनी जनकपुरबाट आइटी कलेज खोज्दै काठमाडौं पुगे । प्लस टुमा कम्प्युटर साइन्स लिएर जनकपुरमै अध्ययन गरेका उनी आईटी पढ्न काठमाडौं आएको बताउँछन् । जमाललाई कम्प्युटर विषय पढ्न र त्यसमै काम गर्न रमाइलो लाग्छ । कम्प्युटरको माध्यमबाट नयाँ आइडिया लिएर आईटी क्षेत्रमै केही गर्ने चाहना उनको थियो । आफ्नो लागि उत्तम कलेजका रूपमा आईएसएमटी छनोट गरेका अब आइटीमै मास्टर्स गर्न विदेश जाने योजनामा छन् । ‘म काम गर्न नेपालमै आउँछु, विदेशमा पढ्नमात्र जान्छु,’ उनी भन्छन्, ‘अब पढाइ सकिँदैछ, एक-दुई वर्ष यतै इन्टर्नसिप गर्छु, त्यसपछि थप ज्ञान लिन बाहिर जान्छु ।’ अहिले मार्केटमा एआईको राज नै चलेको छ । शिक्षा, स्वास्थ्य, प्रविधि हरेक क्षेत्रमा एआईले काम गरिरहेको छ । विदेश गएर एआईकै विषयमा पनि अध्ययन गर्ने उनको योजना छ । जनकपुरका विकास साहको योजना पनि जमालकै जस्तो छ । यो प्रोजेक्टको आइडियामा उनको पनि हात छ । उनी पनि प्लस टु जनकपुरमै पढेर आईएसएमटीमा अध्ययन गरिरहेका छन् । सँगै पढेको काम पनि सँगै मिलेर गर्ने योजना रहेको बताउँछन् । गोदावरीकी दिव्या थापा अहिले आईएसएमटी आईटी पहिलो सेमेस्टर अध्ययन गरिरहेकी छिन् । उनलाई एपहरू कसरी मनाइन्छ, यसलाई कसरी निर्माण गरियो जस्ता कुरामा उनलाई जान्न मन लाग्छ । उनी यो विषयमा शिक्षकसँगै सिनियर साथीहरूसँग पनि चासो राख्छिन् । उनलाई पनि अहिलेको सबैभन्दा आवश्यक र नभइ नहुने क्षेत्र आईटी लाग्छ । दिव्या यही विषयमा अध्ययन गर्न एक वर्ष ड्रप गरेको बताइन् । ‘प्लसटु पढें, योभन्दा माथि कुन विषय रोज्दा राम्रो हुन्छ भन्ने बुझ्न एक वर्ष लाग्यो,’ उनी भन्छिन्, ‘बुझ्दै जाँदा आईटी नै महत्त्वपूर्ण लाग्यो, मेरो सीप, ज्ञानअनुसार मैले यो विषय रोजेकी हुँ ।’ उनले पनि साथीहरूसँग मिलेर एउटा अनलाइन प्रोजेक्ट बनाएकी छन् । अहिलेको समय र युवाहरूको रुचिअनुसार ‘डेट विथ कोडर’ जहाँ युवायुवतीहरूले एकअर्कालाई डेट गर्न सक्छन् । यसका लागि उनीहरू दुवैजनाको गोपनीयता कायम राखी एकअर्कासँग भेट गराई डेट गर्न यसले भूमिका खेल्छ । यसको लागि छुट्टै वेबसाइट निर्माण गरी प्रोजेक्ट बनाएको उनले सुनाइन् । उनले बनाएको यो प्रोजेक्टको डेमो सो गरेकी छिन् । उनी साथीहरूको सल्लाहअनुसार यसलाई बजारमा ल्याउन पनि सकिने बताउँछन् । दिव्यालाई नेपालमै पढेर प्रोजेक्ट निर्माण गरी काम गर्ने रुचि छ । उनी यसका लागि नेपालकै कम्पनीका इन्टर्नसिप गरेर आफै केही गर्ने योजनामा छिन् । ‘एकैचोटि आफै केही गर्छु भन्न सकिँदैन,’ उनी भन्छिन्, ‘नेपालमा धेरै कम्पनी छन्, पहिले त्यहाँ काम गरेर अनुभव लिन्छु, त्यसपछि आफै केही गर्नुपर्छ ।’ बाराको सिमराका विशाल भट्टराई आईएसएमटी आईटी दोस्रो सेमिस्टरमै अध्ययनरत छन् । उनलाई फाइनान्स पढेर मार्केटमा काम गर्न रुचि थियो । तर उनले बुझ्दै गएपछि फाइनान्सभन्दा आईटी पढ्न मन लाग्यो । ‘अहिलेको जमाना आईटी रिलेटेड छ, हिजोको दिनमा एआई केही थिएन,’ उनी भन्छन्, ‘अहिले मार्केटमा एआई आएको छ, यो आउनुको कारण भनेकै टेक्नोलाेजीको विकास हो, मलाई पनि रुचि लाग्यो र यतातिर लागें ।’ उनले साथीहरूसँग मिलेर लाइन फलोविङ रोबोट बनाएका छन् । उनका अनुसार आइटीमा सबैभन्दा चाहिने भनेको सीप हो । सीप भयो भने कामको लागि कार्यालयमै धाउन नपर्ने उनको अनुभव छ । ‘सीप भयो भने विभिन्न व्यक्ति कम्पनीसँग मिलेर काम गर्न सकिन्छ,’ उनी थप्छन्, ‘घरमै बसेर पनि काम गर्न सकिन्छ, काम गर्न भन्दै कार्यालयमा धाइराख्न पर्दैन ।’ बिहीबारदेखि सुरु भएको एक्सपोमा विद्यार्थीले बनाएको प्रोजेक्टको अन्य कलेजका विद्यार्थी र विभिन्न राजनीतिहरूले अवलोकन गरेका छन् । सबैजसो प्रोजेक्ट निकै आवश्यक रहेको उनीहरूले बताएका छन् । आइटीका विद्यार्थीलाई नेपामै अवसर विद्यार्थीले बनाएका प्रोजेक्टका अवलोकन विद्यार्थीमात्र नभई राजनीति क्षेत्रमा लागेकाहरूले समेत गरेका छन् । कांग्रेस नेता सशांक कोइरालाले विद्यार्थीको बौद्धिकता र क्रियाशील देखेर खुसी लागेको बताए । उनले कम्प्युटरको माध्यमबाट बनाएका प्रोजेक्टहरू देख्दा भविष्य उज्जवल रहेछ भन्ने अनुभूति भएको बताए । ‘उहाँहरूको क्षमता देख्दा मलाई खुसी लाग्यो,’ उनले भने, ‘नेपालको भविष्य अब उहाँहरूजस्तै युवाले सुरक्षित राख्छन् भन्ने अनुभव भयो ।’ नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थीले बनाएको इनोभेसनको प्रशंसा गर्दै नेपालको विद्यार्थी आन्दोलन नयाँ ढंगले परिमार्जन गरी मार्केटसँग जोड्ने नीति बनाउनुपर्ने बताए । उनले जसरी अहिले पर्यटन, कृषिलाई मुख्य आधार मानिएको छ, त्यसैगरी अब आइटी इन्ड्रस्टिजलाई पनि मान्नु पर्ने बताए । उनले भने, ‘जति चाँडो नेपालका युवाले, सरकारले यो क्षेत्रलाई क्याच गर्न सक्छ, यो विषयमा नीति नियम बनाउन सक्छ, त्यति चाँडो नेपालको सम्वृद्धि हुने सम्भावना हुन्छ ।’ एकीकृत समाजवादीका युवा नेतृ रामकुमारी झाँक्रीले आइटीमा नेपालले पनि फड्को मारिरहेको बताइन् । उनले आइटी पढाउने केही कलेजले जसरी काम गरिरहेका छन्, उनीहरू नै समाजको लागि रोल मोडल भएको बताइन् । विद्यार्थी नेपालमै पढ्ने, यही रोजगार उत्पादन गर्ने अवस्था बिस्तारै देखिएको बताउँदै झाँक्रीले आइटी बिजनेस भित्रको रोजगारी सिर्जना आफै हिँड्न थालेको बताइन् । ‘संसार कता जाँदैछ, कुन क्षेत्रले फड्को मार्दैछ भन्ने सोच्ने मान्छेले आइटी र त्यसमा पनि एआई कन्टेन बनाउन लागेका छन्,’ उनी भन्छिन्, ‘फस्ट, सेकेण्ड सेमिस्टरको भाइबहिनीले यति राम्रो प्रोजेक्ट सिर्जना गरेका छन्, सबै प्रोजेक्टको आ-आफ्नै ठाउँमा महत्त्व छ।’ बर्सेनि गर्छ कलेजले एक्सपो तीनकुनेमा रहेको आईएसएमटी कलेजले हरेक वर्ष यस्ता एक्सपो गर्दै आएको छ । अहिलेको एक्सपो आइटी विषयमा अध्ययनरत विद्यार्थीका लागि केन्द्रित रहेको कलेजले जनाएको छ । विद्यार्थीले कक्षाकोठामा पढेको ज्ञानलाई व्यहारमा लागू गर्न कलेजले हरेक वर्ष यस्तै एक्स्पो बर्सेनि गर्दै आएको छ । आइएसएमटीका बिजनेस डेभलपमेन्ट हेड वासुदेव वस्तीले विद्यार्थीले बनाएका एआईदेखि लिएर हार्डवेर, सफ्टवेरका प्रोजेक्टहरू डेमोसेसन गर्न एक्सपो गरिएको बताए । नेपालमा आईटी पढिरहेका विद्यार्थीले नेपालमा भविष्य कस्तो छ, आइटीको मार्केट कस्तो छ भन्नेबारे जानकारी लिऊन् भन्ने उद्देश्य पनि यसको रहेको उनले बताए । उद्योगका लागि शिक्षा आइएसएमटीका प्रधानाध्यापक धुव्रबाबु जोशी उद्योगका लागि शिक्षा भन्ने फेलोसिफमै कलेज गाइडेड भएको बताए । अब आउने शिक्षा कस्तो हुनुपर्छ भन्ने जान्नका लागि विद्यार्थीले आफूले पढेको ज्ञान र सीपलाई आईटी उद्योगमा कसरी काम गर्ने, यो क्षेत्रमा भएका विषय र समस्या अनि अवसरलाई आफ्नो प्रोजेक्टमार्फत देखाएको उनको भनाइ छ । विद्यार्थीले बनाएका सबै प्रोजेक्ट प्रयोग गर्न लायक रहेको बताउँदै उनले धेरै विद्यार्थीले राम्रो प्रोजेक्ट ल्याएको बताए । ‘ विश्वबजारको मार्केट अहिले प्रविधि क्षेत्रमा गएको छ, तर हामी कहाँ अझै जान सकेको छैन,’ उनी भन्छन्, ‘अब यो क्षत्रलाई छिटोभन्दा छिटो बुझेर जानसक्यो भने अबको नेपाल नेपाली विद्यार्थीहरूले बनाउने छन् ।’ हाम्रो विद्यार्थीको रुचिअनुसार पाठ्यक्रमले उनीहरूको रुचिलाई अप्लाई गर्ने भएको हुँदा कलेजले वर्षमा दुई पटक यस्तो कार्यक्रम गरिरहेको बताए । ‘अस्ति गगनजीले आईटीसम्बन्धी बोल्नुभएको थियो, यो सही हो त्यसको अप्लिकेसन कीर्तिपुरको डाँडामात्र होइन, नेपालको कुनैपनि ठाउँबाट गर्न सकिन्छ,’ उनी भन्छन्, ‘यसका लागि के गर्नुपर्छ भन्ने ठूलो प्रश्न छ ।’ नेपालमा अझै आइटी उद्योग फस्टाउन नसकेको बताउँदै प्रधानाध्यापक जोशी यसको अध्ययन गरेर यो किसिमको नीति बनाइ बाहिरका ठूला कम्पनीलाई नेपालमा ल्याइ नेपालमा रहेका विद्यार्थीलाई नेपालमै काम दिने व्यवस्था गर्नुपर्ने बताउँछन् । यस्तो व्यवस्था गर्न सके नेपालमै उत्पादन भएका आइटी विद्यार्थीले लाखौं कमाउन सक्ने उनको भनाइ छ ।
सूर्यज्योतिले कर्मचारीका लागि गर्यो साढे ७२ करोड खर्च, १३७ प्रतिशतले बढ्यो बोनस
काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीले पाउने बोनस १३७ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ मा अघिल्लो आवको तुलनामा १३७ प्रतिशत बढी बोनस वितरण गरेको हो । कम्पनीले सार्वजनिक गरेको आव २०८०/०८१ को वित्तीय विवरणअनुसार कम्पनीले कर्मचारीहरूका लागि ११ करोड ७० लाख २८ हजार रुपैयाँ बोनस बाँडेको छ । अघिल्लो आवमा कम्पनीले ४ करोड ९३ लाख ५३ हजार रुपैयाँ बोनस बाँडेको थियो । गत आवमा कम्पनीको तलबवापतको खर्च पनि १२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको तलबवापतको खर्च १९ करोड ८९ लाख ५२ हजार रुपैयाँ थियो । गत आवको कम्पनीले तलबवापत २२ करोड २८ लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ । गत वर्ष कम्पनीले कर्मचारी बेनिफिटका लागि कुल ७२ करोड ४९ लाख ६९ हजार रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवमा यस्तो खर्च ६२ करोड ६२ लाख ४१ हजार रुपैयाँ थियो । कुन शीर्षकमा कति खर्च ? भत्तावापत १८ करोड २८ लाख, पर्व भत्तावापत २ करोड ९३ लाख ९५ हजार, उपदानवापत ३८ लाख ११ हजार, बिदावापत २ करोड ९१ लाख ५२ हजार, सञ्चय कोष र सामाजिक सुरक्षा कोषका लागि २ करोड ६३ लाख ८९ हजार, उपदान खर्चवापत ९७ लाख ३९ हजार, बिदाको नगद भुक्तानीवापत १ करोड २ लाख ९८ हजार, टर्मिनेशनवापत २ करोड ३७ लाख, तालिम खर्चवापत ७२ लाख ७१ हजार, पोशाक खर्चवापत २७ लाख ९९ हजार, कर्मचारीको बीमावापत १ करोड ३९ लाख ९१ हजार र कर्मचारी कल्याणका लागि १६ लाख ६ हजार रुपैयाँ कम्पनीले खर्च गरेको छ । यसैगरी, कर्मचारी अनुदानवापत ८७ लाख ५८ हजार, अन्य सुविधावापत १८ लाख ८३ हजार, आउटसोर्स गरिएको कर्मचारी खर्च १ करोड ९७ लाख १९ हजार, प्रिपेड कर्मचारी लाभहरूको परिशोधनवापत १ करोड ५६ लाख ६८ हजार रुपैयाँ कम्पनीले खर्च गरेको छ ।
सिद्धार्थ बैंकको ‘प्लाटिनम क्रेडिट कार्ड’ सञ्चालनमा, यस्ता छन् सुविधा
सिद्धार्थ बैंकका सीईओ सुन्दरप्रसाद कँडेल । काठमाडौं । सिद्धार्थ बैंकले भिसा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । कार्डलाई बिहीबार त्रिवि क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) को खेल समाप्तिपछि सोही मञ्चबाट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दरप्रसाद कँडेलले सार्वजनिक गरे । प्लाटिनम क्रेडिट कार्य भिसाद्वारा जारी गरिने विशिष्ट श्रेणीको कार्ड हो । कार्डका सुविधाहरू : प्लाटिनम क्रेडिट कार्ड लिने ग्राहकहरूले वर्षमा दुई पटकसम्म एयरपोर्ट लङ्गमा निःशुल्क प्रवेश पाउने ग्राहकहरूले कार्डको प्रयोग गरी ४५० भन्दा बढी यूएनओ मर्चेन्टमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने यो कार्ड प्राओरिटी बैंकिङ कार्डको रूपमा प्रयोग गर्न सकिने र उक्त कार्ड प्रयोग गर्ने ग्राहकले बैंकिङ सेवामा प्राथमिकता पाउने प्लाटिनम क्रेडिट कार्ड नेपाल, भुटान र भारतमा प्रयोग गर्न सकिने उक्त कार्डका लागि सुरुवाती ३ महिनाभित्र आवेदन दिने ग्राहकहरूलाई निःशुल्क अन्तर्राष्ट्रिय ट्राभल कार्ड समावेश गरिएको बैंकले जनाएको छ । प्लाटिनम क्रेडिट कार्डले ग्राहकहरूलाई विशेष प्राथमिकता दिने, उच्चस्तरीय सुविधा प्रदान गर्नुका साथै प्रयोगकर्ताको जीवनलाई सहज र व्यवस्थित बनाउने विश्वास बैंकले लिएको छ ।
भारतले विद्युत नदिए १० घण्टा लोडसेडिङ हुन्छ : अध्यक्ष कार्की
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले भारतबाट विद्युत आयात नगरे अहिले पनि १० घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको दावी गरेका छन् । बिहीबार काठमाडौंमा इप्पानले २५औँ वर्षमा वार्षिकोत्सवको अवसरमा इप्पान रजत जयन्ती मनाउने सन्दर्भमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । उनले नेपाल जलविद्युतको धनी देश, विद्युत उत्पादनको प्रचुर सम्भावना भए पनि अहिलेदेखि लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको दावी गरे । उनले भारतले विद्युत दिन छोड्ने हो भने नेपालले १० घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको बारम्बार भन्दै आएको बताए । उनले १२ महिना मुलुकलाई लोडसेडिङ मुक्त गर्न नेपालमा भएको स्रोतलाई लगानीमार्फत विद्युत उत्पादनमा जोड दिनुपर्ने आवश्यकता रहेको बताए । उनले विद्युत निर्यातको लागि भारत र बंगलादेशसँग सम्झौता भए पनि विद्युत उत्पादनको लागि कुनै पनि काम अघि बढ्न नसकेको उल्लेख गरे। उनले विद्युत उत्पादनको लागि रोकिएको पीपीए तत्काल खुला गर्न माग गरे । उनले स्वदेशमा भएको पुँजी लगानी गर्नुपर्ने भए पनि सार्वजनिक लेखा समितिले आईपीओमा गएका कम्पनीले ३३ प्रतिशत शेयर बेच्न पाइदैन भनेर लगाम लगाउनु जायज नभएको बताए । ‘नेपाल जलविद्युतको धनी देश, विद्युत उत्पादनको प्रचुर सम्भावना भएको देश तर हामीले अहिलेदेखि लोडसेडिङ भोग्ने हो कि भन्न थालेका छौँ । भारतले विद्युत नदिने हो भने नेपालले १० घण्टा लोडसेडिङ भोग्नुपर्छ‚’ उनले भने, ‘१२ महिना मुलुकलाई लोडसेडिङमुक्त गर्न के गर्नुपर्छ भनेर खोज्नुपर्ने दिन आएको छ । विद्युत निर्यातको लागि भारत र बंलादेशसँग सम्झौता भएको छ तर अगाडि बढ्न सकेको छैन। विद्युत उत्पादनको लागि पीपीए रोकेर बसेको छ ।’ उनले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावट विद्युत उत्पादनको लागि ६७ खर्ब र ट्रान्समिसन लाइनमा १० खर्ब लगानी आवश्यक रहेको बताए । उनले सरकार विद्युत उत्पादनमा लगानी आवश्यक छ भन्ने तर सरकारी निकायहरुले लगानी गर्नबाट रोकिरहेकाले त्यसो नगर्न माग पनि गरे।
युवाहरूलाई वैज्ञानिक प्रयोग र अनुसन्धानमा संलग्न गराउनुपर्छ : मन्त्री भट्टराई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपालमा अनुसन्धानको इकोसिस्टमलाई सुदृढ पार्नुपर्ने महत्वपूर्ण चुनौति रहेको बताएकी छन् । बिहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री भट्टराईले अत्याधुनिक प्रयोगशालाहरूमा लगानीलाई प्राथमिकता दिनुपर्ने बताएकी हुन् । उनले अनुसन्धान परियोजनाहरूका लागि पर्याप्त रकम उपलब्ध गराउनुपर्ने बताइन् । नेपाली वैज्ञानिकहरूको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउनुपर्ने आजको आवश्यकता भएको उल्लेख गरिन् । उनले दिगो विकासको आधार, दिगो विकासको अपार सम्भावना बोकेका स्वदेशी प्रविधिको आधुनिकीकरण पनि उत्तिकै महत्वपूर्ण रहेको बताइन् । नवप्रवद्र्धनको संस्कृतिलाई बढवा दिन युवाहरुलाई वैज्ञानिक प्रयोग र अनुसन्धानमा संलग्न गराउनुपर्ने बताइन् । विज्ञान शिक्षा विद्यालयस्तरबाटै शुरु गरिरहेको भन्दै हातमा सिकाई, आलोचनात्मक सोच, उद्यमशिलता र नवप्रवर्तन आज हामीले केन्द्रित हुनुपर्ने विषय बनेको जानकारी दिइन् । ‘दिगो विकासको आधार, दिगो विकासको अपार सम्भावना बोकेका स्वदेशी प्रविधिको आधुनिकीकरण पनि उत्तिकै महत्वपूर्ण छ । हामीसँग रहेको इन्जिनियर्स नलेजलाई हामीले विज्ञानसँग कसरी जोड्ने भन्ने आवश्यकता छ’, उनले भनिन् । मन्त्री भट्टराईले देशको भविष्य आजका युवाहरूको आविष्कारमा निर्भर रहेको बताइन् ।