विकासन्युज

२८ अंकले बढ्यो सेयर बजार, ४ अर्ब ४३ करोड बढीको कारोबार

काठमाडौं । साताको दास्रो कारोबारको दिन अर्थात सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २८.९१ अंकले बढेर २६१२.२० बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार सेयर बजारमा १९४ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज ३२८ कम्पनीको ८९ लाख ८ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । जानकीको १८ करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको हो । यसैगरी, जोशी हाइड्रोको ११ करोड ७६ लाख, मोलुङ हाइड्रोको ११ करोड ३८ लाख, सर्पोट माइक्रोफाइनान्सको ९ करोड ९२ लाख र रिभर फल्स पावरको ९ कारोड ५१ लाख रुपैयाँ बढीको करोबार भएको छ । यस्तै, ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्पोट माइक्रोफाइनान्स, सुपर मादी हाइड्रो, बाराही हाइड्रो, बलेफी हाइड्रो र नेपाल हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज म्युचल फन्डबाहेक अरू सबै उपसूचकमा हरियाली छाएको नेप्सेले जनाएको छ ।

आन्तरिक ऋणको भारमा क्यानडा, विश्वव्यापी ऋणको २. ३ प्रतिशत

काठमाडौं । क्यानाडाको आन्तरिक ऋण देशको जीडीपीको १०३ प्रतिशत पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्,  जुन विश्वमा सबैभन्दा धेरै हो । आन्तरिक ऋणको अर्थ परिवारका सदस्यहरूमाथि रहेको कुल ऋण हो । यसमा उपभोक्ता ऋण र घरधनी ऋण पनि समावेश छ । यदि विश्वव्यापी ऋणको प्रतिशतको रूपमा हेर्दा क्यानडाको ऋण २.३ प्रतिशत हो । एक सर्वेक्षणअनुसार १३ प्रतिशत क्यानडालीहरूले क्यानडा अमेरिकाको हिस्सा बन्नु पर्ने बताएका थिए । प्रधानमन्त्री जस्टिन ट्रुडोको कार्यकालमा देशको अर्थतन्त्र ओरालो लागेको हो । हालै प्रधानमन्त्रीसँगको मतभेदका कारण देशका अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले राजीनामा दिएकी छन् । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामा २५ प्रतिशत कर लगाउने धम्की दिइसकेका छन् । उनले क्यानडालाई आफ्नो देशको ५१ औं प्रान्त बनाउने ठट्टा गरेका थिए । फ्रिल्याण्डको राजीनामा पछि ट्रुडो आफ्नो सरकार बचाउन संघर्ष गरिरहेका छन् । भर्खरै सरकारले दुई महिना सेल्स ट्याक्स होलिडे दिएको थियो । फ्रिल्याण्डले यसको विरोध गर्दै यसलाई महँगो राजनीतिक खेल भनिन् । उनले ट्रम्पले २५ प्रतिशत कर लगाउने घोषणा गरेको र यस्तो अवस्थामा देशले त्यस्ता बेकार खर्चबाट जोगिन आवश्यक रहेको बताइन् । राजीनामा पत्रमा उनले देशले ठूलो चुनौती सामना गरिरहेको बताएकी छिन् । फ्रिल्याण्डले बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको बेला राजीनामा दिएकी हुन् । उनको बिदाइले पार्टीभित्र ट्रुडोको राजीनामाको मागलाई तीब्र बनाएको छ । यता क्यानाडाको विपक्षी कन्जरभेटिभ पार्टीका नेता पियरे पोइलिभ्रेले क्यानडामा सबै कुरा नियन्त्रण बाहिर गएको र देश यसरी देश चल्न नसक्ने बताउँछन् । यदि ट्रम्पले २५ प्रतिशत ट्यारिफ लागू गरेमा यसले क्यानडाको अर्थतन्त्रमा नराम्रो असर पर्ने विज्ञहरू संकेत गरेका छन् । सन् २०२२ मा क्यानडाले अमेरिकालाई ४२७ बिलियन डलर निर्यात गरेको थियो । क्यानाडाको निर्यातको ७५ प्रतिशत अमेरिकाले ओगटेको छ ।

कर्णेश म्युजिकको पहिलो प्रस्तुति ‘यो दुरी’ बोलको गीत सार्वजनिक

काठमाडौं । कर्णेश म्युजिकको पहिलो प्रस्तुति रहेको ‘यो दुरी’ बोलको गीत कर्णेश म्युजिक युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । गायक कर्णेश राजथलाको स्वर रहेको सार्बजनिक गीतमा शब्द,रचना, संगीत संयोजन हेम जंग थामीको रहेको छ । गीतको म्युजिक भिडियोमा नायिका रक्षा थापा गायक कर्नेश राजथलाको अभिनय रहेको छ । प्रेम कथामा आधारित म्युजिक भिडियोमा ख्यातिप्राप्त कलाकारहरू बिजय देउजा, गंगा बस्नेत, संजु थापाको समेत अभिनय रहेको छ । पाना प्रोडकसन्सको ब्यानरमा तयार पारिएको म्युजिक भिडियोमा अमन केशी, बिशाल चन्दको छायांकन सँगै बिशाल तामाङ्गको सम्पादन रहेको छ । नगरकोट, काठमाण्डौका मनोरम दृश्यहरु समावेश गरिएको गीतमा संजु थापाको मेकअप तथा हेयर र रोशनी स्याङ्गबोको सहायक निर्देशन रहेको छ । म्युजिक भिडियोलाई निर्देशक नारायण प्रधानले निर्देशन गरेका हुन् । उनको यो दोस्रो निर्देशकिय म्युजिक भिडियो हो । निर्देशक नारायण प्रधान इनडिपेन्डेन्ट फिल्ममेकरका साथै एड फिल्ममेकर पनि हुन् ।

चन्द्रागिरिका वडाध्यक्ष सहकारी ठगी आरोपमा पक्राउ

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । उनलाई सहकारी ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको हो । ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप उनीमाथि छ । प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए । चन्द्रागिरि नगरपालिका–१२ घर भएका ५६ वर्षीय महर्जन सो सहकारीको कोषाध्यक्ष हुन् । अदालतबाट पक्राउ पुर्जी आएपछि उनी फरार थिए ।

आइएमई पे ‘डिजिटल सर्भिसेज आइसिटि पुरस्कार २०२४’ बाट सम्मानित

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ आइसिटि अवार्ड २०२४ को डिजिटल सर्भिसेज विधाबाट सम्मानित भएको छ । पुस ५ गते शुक्रबार काठमाडौंमा सम्पन्न भएको आइसिटि अवार्ड कार्यक्रममा ‘आइएमई पे’ डिजिटल सर्भिसेज आइसिटि अवार्ड २०२४ बाट सम्मानित भएको हो । आइसिटि अवार्डले नेपालको टेक्नोलोजी क्षेत्रमा उत्कृष्टता र नवीनता ल्याउन पहल गर्ने कम्पनीहरूलाई सम्मानित गर्दछ। आफ्नो नवीन र प्रयोगकर्ता-मैत्री प्लेटफर्म मार्फत आइएमई पेले डिजिटल भुक्तानी लगायतका विभिन्न बित्तिय सेवाहरु प्रयोग गर्ने तरिकामा उत्साहजनक परिवर्तन ल्याएको छ। यो प्रतिष्ठित अवार्डले नेपालको डिजिटल वित्तीय परिदृश्यमा आईएमई पेको महत्वपूर्ण योगदानलाई सम्मान गरेको छ । ‘डिजिटल सर्भिसेज आइसिटि अवार्ड २०२४ बाट सम्मानित हुन पाउदा हामी निकै गौरवान्वित भएको छौँ । यो पुरस्कार आइएमई पेमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको परिश्रम , समर्पण र हाम्रा साझेदारहरूको विश्वास र सहयोगको परिणाम हो’, आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए। यो अवार्डले नेपालमा डिजिटल वित्तीय सेवा क्षेत्रमा अग्रणीको रूपमा आइएमई पेको स्थानलाई अझ बलियो बनाउँछ। आइएमई पे वित्तीय समावेशीकरण र प्रविधिको प्रयोगले देश भरका व्यक्ति र व्यवसायहरूलाई सशक्त बनाउन प्रतिबद्ध रहेको जनाएको छ ।

सञ्चालनमा आयो ग्लोबल आइएमई बैंकको ‘ग्लोबल हाट बजार’, साना उद्यमीको बजारीकरण गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले उक्त हाट बजारको उद्घाटन गरे । उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन- भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीहरुले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाडौंको कमलादी शाखा कार्यालयमा हरेक शुक्रबार हाट बजार सञ्चालन गर्नेछ । सीईओ रेग्मीले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याइरहेका लघु, साना तथा मझौला उद्यमहरूको बजारमा पहुँच विस्तार गर्नु हाट बजारको प्रमुख उद्देश्य रहेको बताए । हाट बजारले अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै बजारीकरण गर्न सहजीकरण गर्ने र नेपाली उत्पादकलाई हौसला प्रदान गर्ने उनको भनाइ छ । ‘यो हाम्रो सानो तथा सिम्बोलिक अभियान हो । यसैगरी, हाम्रा अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सकिन्छ । हाम्रो अर्थतन्त्रको आधार यिनै लघु, साना तथा मझौला उद्यम नै हुन् । यसका साथै, आफ्ना ऋणीले उत्पादन गरेका वस्तु खपत गर्ने तथा ती उत्पादनलाई प्रवर्द्धन गर्नु बैंकको पनि दायित्व हो,’ उनले भने । सीईओ रेग्मीले हाट बजारमा विषादी रहित कृषि उपज, रैथाने बाली तथा सो अनुरुपका बालीका उत्पादन, स्थानीय स्रोतको उपयोग गरी उत्पादन गरिएका हस्तकला सामग्री, सजावटमा प्रयोग हुने बिरुवा लगायतका सामग्रीहरू प्रदर्शन तथा बिक्रीका लागि राखिने जानकारी दिए । आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दाबढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी आदर्श गाउपालिकाका २१ वर्षीय अशोक साउद र डोटी दीपायल सिलगढी नगरपालिकाका १९ वर्षीय गणेश साउद रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । नेपाल क्रिकेट सङ्घको आयोजनामा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा यही पुस ६ गते भएको जनकपुर बोल्ट्स र सुदुरपश्चिम रोयल्सबीचको खेलपछि केही व्यक्तिहरुबीच झगडा भएको थियो । त्यसक्रममा केही व्यक्तिले अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भाव बिगार्न खोज्ने तथा विभिन्न व्यक्तिलाई अभद्र व्यवहार गरेको सम्बन्धमा बिभिन्न निकाय तथा सञ्चारमाध्यममार्फत र पीडितका जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी जारी रहेको उनले जानकारी दिए ।

निक्षेप तथा कर्जा सुरक्षण कोषको मुख्य शाखा कार्यालय सञ्चालन, प्रभावकारी रूपमा सेवा प्रदान हुने

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको मुख्य शाखा कार्यालय सञ्चालनमा आएको छ । अर्थ मन्त्रालयका सचिव तथा कोषको सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले सोमबार मुख्य शाखा कार्यालयको उद्घाटन गरे । टंगालमा रहेको केन्द्रीय कार्यालयको भवनको भुइँतल्लामा मुख्य शाखा कार्यालय राखिएको छ । केन्द्रीय कार्यालयबाट प्रदान गरिँदै आएका सेवालाई छुट्टै शाखामार्फत छिटो, छरितो र प्रभावकारी रूपमा प्रदान गर्न मुख्य शाखा कार्यालय स्थापना गरिएको हो । कार्यक्रममा कोषका अध्यक्ष घिमिरेले अब कोषबाट छिटो, छरितो र प्रभावकारी रूपमा सेवा प्रदान हुनेमा विश्वास व्यक्त गरे । कार्यक्रममा कोषका सञ्चालक समितिका सदस्यहरू र कोषका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।