विकासन्युज

महालक्ष्मी विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले पुस २९ गते सोमबार गैह्रीधारा, काठमाडौंमा २३ औं वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान १० बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

ऋणी र बैंकमध्ये बैंक नै बाँच्नुपर्छ

म नेपाल राष्ट्र बैंक, सिटिजन्स बैंक र नेपाल बैंकर्स संघमा रहँदा आफैलाई नियालेर आत्मकथा सार्वजनिक गरिसकेको छु । राष्ट्र बैंकमा २६ वर्ष काम गरिसकेपछि म बैंकर बन्न आइपुगे । बैंकर बनेपछि देखेको होइन, लेखेको पाइने रहेछ भन्ने महसुस भयो । राष्ट्र बैंकमा काम गर्दा २६ वर्षको दौरानमा बैंकर हुन्छु भनेर मैले परिकल्पना पनि गरेको थिइनँ । समयक्रम परिवर्तन भयो, म बैंकर बन्न आइपुगें । त्यसबखत निजी क्षेत्रमा राष्ट्र बैंकमा काम गर्नेले के बैंक चलाउँछ भन्ने भाष्य बनाएका थिए । र, राष्ट्र बैंकका क्याडर बैंकिङ जगतमा सफल धेरै कम थिए । जबसम्म न्यूनतम १५ प्रतिशत लाभांश बाँड्दिनँ, तबसम्म म आफूलाई बैंकर ठान्दिनँ भन्ने अठोट लिए । जुनबेला १५ प्रतिशत लाभांश बाँड्न सफल भएँ तब म पनि बैंकर हुँ कि भन्ने महशुस गरें । मैले भोगेअनुसार बैंकर हुन गाह्रो रहेछ । जहिले पनि पर्फमेन्सको दबाब रहन्छ । सुशासन कायम गर्नुपर्ने र सेयरधनीहरूलाई प्रतिफल पनि दिनुपर्ने रहेछ । यी दुई काम गर्न सकिएन भने राष्ट्र बैंक र सेयरधनी दुवैको आँखाको तारो बन्नुपर्ने रहेछ । सिटिजन्स बैंकमा विभिन्न हैसियतमा रहेर करिब १७ वर्ष काम गरें । यस अवधिमा औसतमा ११ प्रतिशत लाभांश बाँड्न सफल भएँ । यसलाई मैले कुनै ठूलो तीर मारेजस्तो लाग्दैन । तर, यस अवस्थामा आइपुग्दा मैले विभिन्न ५ सिद्धान्त अवलम्बन गरें । जस्तै, आफूले आफैलाई ऋण नदिने, अर्कालाई ऋण दिँदा खस्रो भाषामा घुस नखाने, ग्राहक असल हुनुपर्ने अर्थात् उसको कमाइ असल हुनुपर्ने र धितो असल हुनुपर्छ । यी पाँच सिद्धान्तलाई नमान्ने बैंकरहरू विगतमा जेल गए । यी गुरुमन्त्र (सिद्धान्त)हरू सबैले जानेका छन्, मैले मात्रै जानेको छ भन्न खोजेको होइन । जसले जानेका छैनन् उनीहरू जेल गए । आजकल राष्ट्र बैंकले बैंकका अध्यक्ष, सञ्चालक, सीईओहरूको छलफलमा अब लाभांशको धेरै आश नगर्नुस्, बैंकका सीईओलाई लाभांशका लागि धेरै दबाब नदिनुस् भनेको सुन्दा मलाई अचम्म लाग्छ । बैंकहरूले सुशासनलाई उच्च प्राथमिकतामा राखेर राष्ट्र बैंकको निर्देशनको पूर्ण पालना गरी उच्चतम दरको लाभांश बाँड्न सक्षम हुन्छन् भने त्यस्ता बैंकलाई सबैले प्रोत्साहित र माया गर्नुपर्ने हुन्छ । बैंकहरूले धेरै लाभांश बाँड्छन् भनेर राष्ट्र बैंकले धेरै प्रोभिजन गर्न लगाएको सुनिरहेको हुन्छु । बैंकरूको नाफा वृद्धि हुँदा सरकारको राजस्व पनि बढ्छ भन्ने विषय कसैले बुझेका छैनन् । मेरा लागि राष्ट्र बैंक माइती हो । विवाह गरेपछि छोरीलाई माइतीघर धेरै प्यारो लाग्छ । त्यसैले छोरीहरूका लागि माइती भने झैं मेरो लागि राष्ट्र बैंक हो । र, राष्ट्र बैंकबाट प्राप्त हुने मासिक ५३ हजार रुपैयाँ पेन्सन मलाई अत्यन्तै प्यारो छ । आफू बाँचुन्जेल खायो र आफू मरेपछि श्रीमती छ भने उसले पनि आजीवन आधा पेन्सन पाउँछ । यो राष्ट्र बैंकले दिएको एकदमै राम्रो सुविधा हो । अहिले मेरो कमाइ वार्षिक करोडौं भएपनि राष्ट्र बैंकको पेन्सनको मोह बढी हुँदो रहेछ । कसैको लागि करोड भनेको केही पनि हुँदैन, एकदमै थोरै लाग्छ । म राष्ट्र बैंकको विशिष्ट श्रेणीको कर्मचारी कार्यरत हुँदा मासिक १२/१५ हजार रुपैयाँ घरमा लगेर घरबार चलाएको थिएँ । त्यस्तो मान्छे म जस्तालाई करोड रकम धेरै लाग्छ । यिनै विषय अधिकांश बहालवाला बैंकरहरूलाई त्यति सजिलो नहोला कि ? कोही कोही बोल्नलाई बहादुर पनि होलान् । बैंकरले राष्ट्र बैंकका बारेमा सत्य र सही विषयमा बोल्यो, राष्ट्र बैंकको गलत नीतिको विरोध गर्‍यो भने मेरो बैंकलाई रिस साँध्छन् कि, अर्थात् बढी प्रोभिजन गर्न लगाएर नाफा घटाइ दिन्छ कि  भन्ने जस्ता विषय जहिले पनि मनमा त्रसित भएर बसिरहेका हुन्छन् । विगतमा पूर्वगभर्नरहरूले बैंकका अध्यक्षहरूलाई बोलाएर हामीबीच कुनै मुद्दा छन् भने आपसमा सल्लाह गरौं, यस्ता विषयलाई सार्वजनिक नगरौं भनि व्यक्त गरिएको धारणा अहिलेको पुस्ताका बैंकरलाई पनि थाहा छ । बैंकिङ क्षेत्रको भविष्य जतिसुकै चुनौती, अप्ठ्याराहरू भएपनि उज्जवल नै छ । म राष्ट्र बैंकमा कार्यरत हुँदा ३० वर्षअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को तालिमका लागि अमेरिका गएको थिए । अमेरिकन बैंक कस्तो हुँदो रहेछ भनेर काउन्टरमा जान मन थियो । बैंकमा गएर चेक साटेर फर्किएँ । बेलुका कम्बोडिया बिल्डिङमा फोन आयो, बैंकबाट । तपाईं आज बैंकको अफिसमा आउनु भएको रहेछ, बैंकमा कर्मचारीले कसरी स्वागत गर्‍यो ? मुस्कुराएर नमस्कार गर्‍यो कि  गरेनन् ? भनेर यावत विषय सोधपुछ गर्नुभयो ? यी सबै विषय सोध्दा अचम्म लाग्यो । त्यतिबेला मेरो खातामा २ हजार डलर थियो । अनि तपाईंलाई के-के सुविधा चाहिन्छ ? होम लोन चाहिन्छ ? भेहिकल लोन चाहिन्छ ? भनेर आफ्नो प्रडक्टको मार्केटिङ गर्ने चलन रहेछ । ३० वर्ष अगाडि नेपालको बैंकिङ प्रणालीमा यस्तो गर्ने चलन नै थिएन । एटीएम देखेर पनि आश्चर्य लाग्थ्यो । ओहो पैसा त भाँडोबाटै आउँदो रहेछ, भाँडोमा राखेपछि पैसा जम्मा हुँदो रहेछ भन्ने लाग्थ्यो । ३० वर्षपछि नेपालको बैंकिङमा डिजिटाइजेशनले फड्को मारेको छ । अहिले मोबाइल भए ठाउँको ठाउँ बैंकिङ कारोबार गर्न मिल्छ । बैंकको शाखा कार्यालयमा जानु नै पर्दैन । २/४ वर्ष अगाडि अमेरिकामा जाँदा एउटा पसलमा पुगे । त्यस पसलमा इटालीको मुरानोमा बनेको सिसाको ग्लास सजाइएको थियो । राम्रो लागेर मूल्य सोधेको २५ सय डलर भन्नुभयो । मसँग पैसा छैन भनेर जवाफ दिएँ । तर, पसलले तपाईंको क्रेडिट हिस्ट्री राम्रो छ भने ८०/९० प्रतिशत ऋण पाउनुहुन्छ भन्नुभयो । कुन बैंकबाट पाउँछ भनेर सोधेको वेल्स फार्गाे बैंकबाट भनेर जवाफ दिनुभयो । वेल्स फार्गाे भनेको ठूलो वाणिज्य बैंक हो । क्रेडिट हिस्ट्री हेरेर कर्जा दिने व्यवस्था नेपालमा कहिले आउला ? यी विषयमा हामीले विचार गर्नुपर्ने देखिन्छ । ऋणी र बैंकहरू सँगसँगै बाँच्न पाउनुपर्छ । तर, यी दुइटामध्ये एउटा मात्रै बाँच्नुपर्ने अवस्था आयो भने बैंक नै बाँच्नु पर्छ । किनभने बैंकको पैसा भनेको जनताको पैसा हो । बाँदरले सबैभन्दा बढी माया आफ्नो बच्चालाई गर्छ । बाँदर र उसको बच्चालाई समुन्द्रमा फालिदिएछन् । तर, बच्चालाई छाडेर बाँदर आफै बाँच्न खोजेछ । त्यो अवधारणाले ऋणी र बैंकरहरू सँगसँगै बाँच्नुपर्छ । तर, दुईमध्ये एउटा बाँच्नुपर्ने अवस्था आयो भने त्योबेलामा बैंक बाँच्नुपर्ने हुन्छ । यसका लागि सरकारले बैंकको पक्ष लिनुपर्छ, डिफल्टरको होइन । उद्योगीहरूका समस्या आफ्नै किसिमका छन् । निर्माण व्यवसायीहरूले गरिसकेको कामको भुक्तानी सरकारबाट नपाउने अनि राष्ट्र बैंकबाट कर्जा सूचनामा सहजीकरण गरिदिने ? कर्जा नतिर्नेको ऋणीको नाम सार्वजनिक गर्दा फोटो नछाप्नु भनेर व्यवस्था गरिएको छ । बैंक भनेको जनताको पैसाबाट चलेको व्यवसाय र पारदर्शी क्षेत्र हो । त्यसैले सरकारले बैंकिङ क्षेत्रको पक्ष लिनुपर्छ । यसमा सबैको सहमति हुन्छ भन्ने विश्वास लिएको छु । लगानीकर्ताको हित संरक्षण लगानीकर्ताको हित संरक्षणका लागि संस्थापक सेयरधनी र सर्वसाधारण सेयरधनीको बीचमा कुनैपनि भिन्नता हुनुहुँदैन । संस्थापक सेयर सहज रूपमा बिक्री हुने व्यवस्था मिलाइदिनुपर्‍यो । अर्थात् लगानीकर्तालाई बैंकले दिने प्रतिफलप्रति चित्त नबुझेपछि अर्काे क्षेत्रमा लगानी गर्ने स्वतन्त्रता हुनुपर्छ । लाभांश बाँड्न पनि नियन्त्रण गर्ने, अनि लगानीकर्तालाई सेयर बिक्री गरेर बाहिरिन पनि नदिने ? थुनेरै राख्ने व्यवस्था कतिसम्मको न्यायोचित हो ? यो विचारणीय छ । बैंकर र व्यवसायी छुट्याउनुपर्छ । नेपालको सरकारी बैंकबाहेक सबै बैंकमा कन्फिलिक्ट अफ इन्ट्रेस्ट छ । जसले बैंकिङ क्षेत्रमा बस्न चाहँदैनन् उसको सेयर बिक्री गरिदिने व्यवस्था हुनुपर्‍यो । त्योपनि कानुनमा भएको व्यवस्थाबमोजिम हुनुपर्छ । राष्ट्र बैंकले स्वीकृति दियो भने बैंकले आफ्नो सेयर आफै खरिद गर्न सक्छ । उक्त सेयर बैंकले विस्तारै बेच्यो भइहाल्छ । सेयरको मूल्य स्टक एक्सचेञ्जमा सूचीकृत छँदैछ । नीतिगत व्यवस्थामा निरन्तरता हुनुपर्छ । राष्ट्र बैंकको मौद्रिक नीतिमा स्थिरता कायम हुनुपर्छ । निरन्तर एउटै किसिमको हुनुपर्छ । राष्ट्र बैंकको नीति विपरीत कुनै बैंकले बदमासी गरेको छ भने त्यसलाई कारवाही गर्नुपर्छ भन्ने विषयमा कसैको दुईमत छैन । न बैंकर्स संघ विरोधमा आउन सक्छ न बैंकर नै आउँछ । तर, सम्बन्धित बैंकलाई कारवाही गर्नुको साटो नीति नै परिवर्तन गरिदिने गरेको छ । नीति नै परिवर्तन गर्‍यो भने सबै बैंकलाई बैंक सञ्चालन गर्दा प्रतिकूल असर पर्ने गरेको छ । (भण्डारी पूर्व बैंकर हुन् ।)

गरिमा समृद्धि योजनाले मुद्धतीको ब्याजभन्दा दोब्बर प्रतिफल दिन्छ

काठमाडौं । लामो समय बैंकिङ क्षेत्रको अनुभव बटुलेका तुलसीप्रसाद आचार्य २ वर्षदेखि गरिमा क्यापिटलको चिफ बिजनेस अफिसर (सीबीओ)का रूपमा कार्यरत छन् । विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भएर काम गरेका उनी मर्चेन्ट तथा इन्भेस्टमेन्ट बैंकङमा रहेर काम गरिरहेका छन् । उनै सीबीओ आचार्यसँग गरिमा म्युचुअल फण्डको बारेमा गरिएको कुराकानीको सारः तपाईं कसरी कोर बैंकिङ छाडेर मर्चेन्ट बैंकङमा आबद्ध हुनुभयो ? म फाइनान्स र अर्थशास्त्रको विद्यार्थी हो । लामो समयसम्मको बैंकिङ क्षेत्रको अनुभवलाई एउटा उत्कृष्ट गन्तव्यमा पुर्याउन र आम नेपालीहरूमा लगानीका अवसर र त्यसबाट हुने प्रतिफलको बारेमा जनजागरण गर्न समाजलाई आर्थिक रुपमा सफल बनाउन मर्चेन्ट तथा इन्भेस्टमेन्ट बैंकङको ठूलो सहयोग रहने हुँदा म यस क्षेत्रमा आवद्ध भएको हुँ । सबैले बुझ्ने भाषामा म्युचुअल फण्ड भनेको के हो ? छरिएर रहेका ससाना लगानीकर्ताहरूबाट रकम संकलन गरी दक्ष तथा अनुभवी व्यवस्थापकको प्रत्यक्ष निगरानीमा विभिन्न वित्तीय उपकरणहरू तथा मनि मार्केट इन्स्ट्रुमेन्टमा जोखिमलाई न्यूनीकरण गर्दै सन्तुलित लगानी गरी सन्तुलित प्रतिफल दिने एउटा लगानीको उपकरण हो। गरिमा समृद्धि योजना भनेको के हो ? नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरिमा विकास बैंकद्वारा प्रभावित १ अर्ब रुपैयाँ रकम बराबरको पहिलो बन्दमुखी१० वर्षीय सामूहिक लगानी कोष योजना हो । यस योजनाको कोष व्यवस्थापक गरिमा क्यापिटल हो भने यस योजनामा जम्मा न्यूनतम रकम १ हजार रुपैयाँबाट लगानी गरी १ अर्ब रुपैयाँ बराबरको कोषको लगानीको हिस्सेदार बन्न सकिन्छ गरिमा म्युचुअल फण्डअन्तर्गत गरिमा समृद्धि योजनामा किन लगानी गर्ने ? गरिमा मयुचूअल फण्ड अन्तर्गत गरिमा समृद्धि योजना नेपाल धितोपत्र बोर्डद्धारा स्वीकृत सामूहिक लगानी कोष योजना हो । यो योजना दक्ष तथा अनुभवी व्यवस्थापकहरुका साथै विज्ञ कोष सुपरिवेक्षकहरुको प्रत्यक्ष निगरानीमा संचालन हुन्छ । लगानीलाई विविधीकरण गरिने हुनाले यस योजनामा लगानी गर्दा जोखिम कम हुन्छ । यो योजनामा शेयर कारोबार गर्दा कर छुटको व्यवस्था रहेको छ । साथै यो योजना पारदर्शी रुपमा संचालन हुन्छ । यो योजनाको ईकाइ नेपाल स्टक एक्सचेन्जमा सूचिकरण हुने हुँदा सहजै खरिद बिक्री गर्न सकिन्छ । पुँजी बजार सम्बन्धी ज्ञान कम भएका वा आफनो कार्य व्यवस्तताका कारणले समय दिन नसक्नेहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नुहुन्छ । यो योजनाले सुरुमा निश्चित संख्याको इकाइ मात्र जारी गर्दछ, जसले गर्दा कोष व्यवस्थापकले दीर्घकालीन लगानीको रणनीति अपनाउने छैन । कोष दैनिक रूपमा फिर्ता लिइँदैन जसले गर्दा व्यवस्थापकले पोर्टफोलियोलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न र लगानी अवधिमा बजारका अवसरहरूको फाइदा लिन ध्यान केन्द्रित गर्न सक्छन्।   व्यवस्थापकले कम तरलता भएका वा दीर्घकालीन अवसरहरूमा लगानी गर्ने भएकाले उच्च प्रतिफल प्रदान गर्न सक्छ । गरिमा समृद्धि योजनामा कसरी लगानी गर्न सकिन्छ ? नेपाल अधिराज्य भर रहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूका शाखा कार्यालयहरू मार्फत तथा मेरो सेयरमा गई सिधै घरमै बसेर लगानी गर्न सकिन्छ । बजारमा म्युचुअल फण्डको बारेमा खासै राम्रो प्रतिफल छैन भन्छन नि ? बन्दमुखी म्युचुअल फण्ड सिमित समयको लागि हुने गर्दछ । जस्तै ७ बर्ष, १० वर्ष अवधिको । यसमा कुनै १/२ वर्ष म्युचुअल फण्डहरुको पर्फरमेन्स राम्रो नहुन पनि सक्छ । तर लामो समयको लागी औषतमा यसको प्रतिफल हेर्नुहुन्छ भने बजारमा पाइने मुद्धती निक्षेपको दरभन्दा झन्डै दोब्बर यसको प्रतिफल हुन आउँछ । त्यो प्रतिफल आजको दिनमा पनि छ । गरिमा समृद्धि योजनामा खास फाईदाहरु के–के छन् ? आजको दिनसम्म पनि तपाई सेबनको पाइपलाइनमा ८२ वटा कम्पनीको करिब ४९ अर्ब जतिको आईपीओ पाइपलाइनमा छन् । जुन प्रत्येक म्युचुअल फण्डहरुले ५  प्रतिशतका दरले आरक्षण पाउने गर्दछन् । धेरै स्किम हुनेहरुको लागि यो नम्बर बाडिने भयो भने हामी जस्तो एउटा मात्र स्किम हुनेहरुको लागि चाहि धेरै राम्रो हुन्छ । जसको कारण १/२ वर्ष भित्रमा नै राम्रो प्रतिफल दिन सकिने हुँदा गरिमा म्युचुअल फण्ड अन्तर्गतको गरिमा समृद्धि योजना खास छ । र सबै जनाले यसमा सहभागिता जनाउनुहुन्छ भन्ने मेरो अपेक्षा छ ।

लाभांश प्रस्ताव पारित गर्न कृषि विकास बैंकले डाक्यो साधारण सभा

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले पुस २९ गते सोमबार भक्तपुरमा १८ औं वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ७.५३ प्रतिशत नगद लाभांश तथा अविमोच्य असंचित अग्राधिकार सेयरधनीहरूलाई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

हुवावे नेपालद्वारा ‘सीड्स फर द फ्युचर २०२४’ समापन

काठमाडौं । हुवावे नेपालले हुवावे टावर, हट्टिसारमा हुवावे नेपाल प्रदर्शनी केन्द्रको उद्घाटन गर्दै महत्त्वपूर्ण माइलस्टोन तय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रदर्शनी केन्द्रको उद्घाटन गरेका थिए । यो प्रदर्शनी केन्द्रले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा पछिल्ला प्रवृत्तिहरू र अभ्यासहरूलाई प्रदर्शित गर्ने एक महत्त्वपूर्ण केन्द्रको रूपमा काम गर्नेछ। उद्घाटन समारोहपछि हुवावेके प्रमुख सामाजिक पहल ‘सीड्स फर द फ्युचर २०२४’ को समापन समारोह आयोजना गरिएको थियो, जसको उद्देश्य नेपालका युवाहरूलाई आईसीटी शिक्षा र नवप्रवर्तनमार्फत सशक्त बनाउनु हो । कार्यक्रमको उद्घाटन हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत ह्वांगजुनको स्वागत मन्तव्यबाट सुरू भएको थियो। कार्यक्रममा अन्य सरकारी अधिकारीहरू, विभिन्न विश्वविद्यालयका डीन तथा प्राध्यापकहरू र विभिन्न संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो । नेपालको डिजिटल रूपान्तरणमा हुवावे नेपालको योगदानको २५ वर्ष पूरा भएको अवसरले पनि विशेष महत्त्व राखेको छ । बितेको २५ वर्षमा हुवावेले देशको प्राविधिक परिदृश्यलाई आकार दिन, दूरसञ्चार पूर्वाधारको उन्नतिदेखि आईसीटी समाधानहरूमा नवप्रवर्तन गर्नका लागि महत्त्वपूर्ण भूमिका खेलेको छ । प्रदर्शनी केन्द्रको उद्घाटन हुवावे नेपालको डिजिटल भविष्यलाई समर्थन गर्ने र प्राविधिक नेताहरूको नयाँ पुस्ताका लागि प्लाटफर्म उपलब्ध गराउने निरन्तर प्रतिबद्धताको प्रमाण हाे । यसका साथै हुवावेले यस वर्षको ‘सीड्स फर द फ्युचर’ कार्यक्रमको समापन घोषणा गरेको छ, जसमा ‘टेक फोर गूड २०२४’ प्रतियोगितामा सहभागी नेपाली विद्यार्थी टोलीले ‘पिपल्स च्वाइस अवार्ड’ जितेका थिए । यस परियोजनाले ग्रामीण नेपालका गर्भवती महिलाहरूको स्वास्थ्य अनुगमन गर्नका लागि पोर्टेबल अल्ट्रासाउण्ड मेसिनको स्थापना गर्ने प्रस्ताव गरेको हो। यस परियोजनाले आईसीटीमार्फत सामाजिक प्रभाव सिर्जना गर्नका लागि ती विद्यार्थिहरूलाई सम्मानित गरेको हो। कार्यक्रममा सञ्चार र सूचना प्रविधिमन्त्री गुरूङले भने, ‘हुवावेले हाम्रा युवाहरूका लागि एउटा प्लाटफर्म सिर्जना गरेको देख्दा प्रेरणा मिल्छ र तिनीहरूले नेपालका सामाजिक र आर्थिक वृद्धिमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने नवप्रवर्तनात्मक समाधानहरू विकास गर्न प्रोत्साहित गरेको देखिन्छ । म हुवावे र हाम्रा विद्यार्थीहरूलाई नेपालको प्रतिष्ठा वैश्विक मञ्चमा पुर्‍याएकोमा धन्यवाद दिन चाहन्छु । यसका साथै हुवावेले नेपालका आईसीटी र टेलिकम क्षेत्रका एक जिम्मेवार सदस्यको रूपमा आफूलाई प्रमाणित गरेको छ र विभिन्न तरिकामा योगदान दिएको छ। मलाई विश्वास छ कि आजको उद्घाटनले सम्पूर्ण पारिस्थितिकी तन्त्रका सरोकारवालाहरूसँग साझा बुझाइ बनाउन मद्दत गर्नेछ र डिजिटल नेपालको साझा लक्ष्य स्थापना गर्नेछ ।’ यस्तै, हुवावे नेपालका सीईओ ह्वांगजुनले भने, ‘पछिल्लो २५ वर्षदेखि हाम्रो मार्गदर्शनको नारा ‘नेपालमा, नेपालका लागि’ भएको छ । हामीले नेपालका आईसीटी विकासमा महत्त्वपूर्ण प्रभाव पार्न कुनै कसर बाँकी राखेका छैनौं । जस्तो कि हामी सबैलाई थाहा छ, युवाहरू हाम्रो डिजिटल भविष्यका बीउ हुन् र हामीले उनीहरूको आईसीटी सीप र क्षमता विकास गर्न कडा मेहनत गरेका छौं। यसका साथै हामी विश्वास गर्छौं कि डिजिटल नेपालको लक्ष्य केवल सामूहिक प्रयासमार्फत मात्र पूरा गर्न सकिन्छ। त्यसैले हामीले आज प्रदर्शनी केन्द्र सुरू गरेका छौं, ज्ञान साझेदारीका लागि। हामीले २५ वर्षसम्म नेपाललाई पूर्ण रूपमा जडान गरिएको, बौद्धिक नेपाल बनाउनका लागि काम गरेका छौं र यो प्रयास निरन्तर रहनेछ ।’ हुवावे दक्षिण एसियाका बोर्ड निर्देशक लिनहाईले भने, ‘आज हुवावेका लागि दुई महत्त्वपूर्ण माइलस्टोनहरू छन्, हाम्रो नयाँ हुवावे प्रदर्शनी केन्द्रको उद्घाटन र ‘सीड्स फर द फ्युचर नेपाल २०२४’ कार्यक्रमको सफल समापन नेपालमा २५ वर्षको प्रभावशाली उपस्थिति मनाउँदै हामी आगामी डिजिटल नेताहरूलाई सशक्त बनाउन र देशको प्रविधिगत वृद्धिमा योगदान गर्न प्रतिबद्धता दोहोर्‍याउँछौं ।’    

रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै

गण्डकी । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको सोमबारदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ । जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले लामिछाने, छविलाल जोशीसहित अदालतमा उपस्थित गराइएका पाँच जना प्रतिवादीको बयान सुरु जानकारी दिए । ‘गोलामार्फत इजलासको टुङ्गो लागेपछि प्रतिवादीहरुको बयान सुरु हुन्छ, बयान सकिएपछि मात्र थुनछेकको आदेश हुन्छ’, उनले भने । सरकारी वकिलको कार्यालयले पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् । यस्तै लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको उनले बताइन् । लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरिएको हो । ७४ करोड ३४ लाख ७१ हजार रुपैयाँ बढी बिगो दाबी गरी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको हो । प्रतिवादी खनालसँग १४ करोड ३० लाख ९१ हजार नौ सय ११ रुपैयाँ र पछाइसँग २४ करोड ६७ लाख सात हजार २४ रुपैयाँ बिगो दाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिइन् । सहकारी ठगीतर्फ लामिछानेलाई तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ र जोशीविरुद्ध पाँच करोड २६ लाख ६५ हजार रुपैयाँ र दीपेश पुनसँग दुई करोड १४ लाख आठ हजार आठ सय ४३ रुपैयाँ बिगो माग गरिएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जनामएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनीमाथि कास्कीसहित अन्य जिल्लामासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन् ।

नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडिलाई अस्थायी आवास हस्तान्तरण

काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई अस्थायी आवास हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रम बीच नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेका हुन् । बैंकले निर्माण गरिदिएको अस्थायी आवास हस्तान्तरण कार्यक्रममा नबिल बैंकका अध्यक्ष पौडेलले बैंक समाजमा सकारात्मक प्रभाव पार्न सधैं प्रतिबद्ध रहेको बताए । प्राकृतिक प्रकोपबाट प्रभावितलाई सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यो परियोजना अघि बढाएको उनले बताए । नबिलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्थायी आवास निर्माण गरेको हो । बैंकले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका- १ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका- १ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो । बैंकले अस्थायी आवास बनाउन आवश्यक जस्तापाता, बाँस, सिमेन्ट, रंगरोगन, किल्लाकाँटीजस्ता निर्माण सामग्री उपलब्ध गराएको थियो । कार्यक्रममा नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर वादीले भूकम्प प्रभावितलाई सुरक्षित ओत लाग्ने ठाउँ उपलब्ध गराएकोमा नबिल बैंकलाई धन्यवाद दिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, बैंकका सञ्चालक निर्वाण चौधरी लगायत उपस्थिति थिए । १७ कात्तिक २०८० मा जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुर्‍याएको थियो । नबिल बैंकले प्रभावित क्षेत्रको जनताको सहयोगका लागि एक करोड रुपैयाँको बराबरको सहयोगको घोषणा गरेको थियो । सोही अनुरूप तत्काल राहत सामाग्री वितरण गर्नुका साथै अस्थायी आवास निर्माण गरिदिने घोषणा बै‌ंकले गरेको थियो ।

नेपाल बैंकर्स एसोसिएसन लुम्बिनी प्रदेश समिति गठन, संयोजकमा नेपाल बैंकका कँडेल

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसन लुम्बिनी प्रदेश समिति गठन भएको छ । लुम्बिनी प्रदेशमा रहेका वाणिज्य बैंकहरुमा आबद्ध प्रदेश प्रमुखहरुको भेलाले नेपाल बैंक लिमिटेडका प्रदेश प्रमुख अर्जुन कँडेलको संयोजकत्वमा समिति गठन गरेको हो । नवगठित समितिमा एक संयोजक, दुई सह–संयोजक र १७ जना सदस्य रहने गरी समिति बनाइएको छ । समितिको सह–संयोजकमा प्राइम कमर्सियल बैंक लिमिटेडका प्रदेश प्रमुख कुश सुदन सिंह र नबिल बैंकका प्रदेश प्रमुख अमित केसी चयन भएका छन् । वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व तथा सेवामूलक कार्यहरु गर्ने उद्देश्यले गठन भएको बैंकर्स एसोसिएसन लुम्बिनी प्रदेश समितिले वित्तीय क्षेत्रमा काम गर्ने सेवारत कर्मचारीहरूको क्षमता विकासका कार्यक्रम गर्ने सह–संयोजक कुश सुदन सिंहले बताए । उनका अनुसार समितिमा प्रदेशका २० वटा वाणिज्य बैंकहरुका प्रदेश प्रमुखहरू सदस्य छन् । समितिले वित्तीय अनुशासन, वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्व लगायतका विषयलाई विशेष जोड दिने प्रदेश संयोजक अर्जुन कँडेलले बताए । उनले वित्तीय क्षेत्रमा काम गर्नेहरूको क्षमता, दक्षता विकाससँगै अवसर र चुनौतीका विषयमा कार्यक्रम गर्ने जानकारी दिए ।