विकासन्युज

रेल्वेको ट्र्याकले सावरसुपखेती अन्योलमा

काठमाडौं । मोरङ जिल्लाको पथरी शनिश्चरे–१ का भीमसेनी सुब्बाले पाँच वर्ष पहिले सगरमाथा कृषि फार्म सञ्चालन गरी सावरसुपखेती सुरु गरेका छन् । नेपाललाई भारतसँग जोड्ने पूर्व–पश्चिम रेलमार्ग फार्मअन्तर्गतको जग्गामा परेपछि अहिले उनीमा खेती के होला भन्नेबारे अन्योलता छाएको छ । स्वदेशमा कृषि कर्ममार्फत राज्यलाई सहयोग गर्ने उद्देश्य बोकेर यहाँ आएका पूर्वभारतीय सेना सुब्बा रेल्वेको ट्र्याकले फार्ममा परेपछि खेतीको विकल्पका बारेमा दोधारमा छन् । नेपालमा फरक तथा नौलो खेती सुरु गरेका सुब्बाले सावरसुप ‘एन्टी क्यान्सर’ का रूपमा चिनिने वनस्पति हो । आफूले फार्म सञ्चालन गर्दै आएको एक बिघा जमिनमा रेलमार्ग छिरेपछि निराशा र दोधार छाएको उनले बताए । रेलमार्ग फार्ममा परेपछि सबै बैंकिङ प्रक्रिया बन्द भएको बताउँदै पाँच वर्ष पहिले बैंकबाट ऋण लिएर १० कट्ठा जग्गामा फार्म सञ्चालन गरेको सुब्बाले जानकारी दिए । ‘अहिले फार्मअन्तर्गको जमिन रेलमार्ग परेपछि फार्म रुग्ण भएको छ । अहिले पूर्व काँकडभिट्टाबाट पश्चिम कञ्चनपुरसम्म रेलमार्गको काम भएको छैन, जग्गा फुकुवा पनि भएको छैन,’ उनले भने, ‘यसले गर्दा खेतीको विकल्प वा व्यवस्थापन कसरी गर्ने अन्योलता छाएको छ ।’ सुब्बाले ६ वर्षअघि कुखुरा, माछा, सुँगुर, काजु, फलफूल र अग्र्यानिक सागसब्जी उत्पादन सुरु गरेका थिए । १८ वर्षको कलिलो उमेरमा भारतीय सेनामा भर्ती भएका सुब्बालाई १८ वर्षपछि स्वदेशमा कृषि कर्म गर्ने रहर लागेपछि स्वदेश फकिए । भारतीय सेनामा हुँदा भएको आम्दानी र सीपबाट आफूलाई कृषिमा लाग्न प्रेरणा मिलेको उनले बताए । ‘भरतीय सेनामा हुँदा शान्तिसेना जाँदा देखेको सावर सुपको फल उत्पादन गर्न धेरै सङ्घर्ष गर्नुपर्‍यो । आफन्तको सहयोगमा अमेरिकाबाट बीउ मगाएर सुरु खेती सुरु गरेको थिएँ । अहिले बैंकिङ प्रक्रिया बन्द हुनु, रेलमार्गका कारण जग्गा फुकुवा नहुनुलगायत कारणले ऋणको भार मात्र थपिएको छ,’ सुब्बाले भने । अमेरिकाबाट १ हजार २ सय डलरमा बीउ मगाएको जनाउँदै सुब्बाले सुरुमा ४५ वटा बिरुवा उमारेको बताए । १० कट्ठा जमिनमा सुरु गरेको खेती अहिले एक बिघामा फैलिएको उनले जानकारी दिए । सावरसुपको फल प्रतिकिलो २ हजार २ सय रुपैयाँसम्ममा नेपाली बजारमा बिक्री हुँदै आएको उनले उल्लेख गरे । व्यावसायिक खेती गर्ने उद्देश्यले अमेरिकाबाट दाना बीउ ल्याई लगाएको बिरुवाले उत्पादन दिन सुरु गरेको सुब्बाले जानकारी दिए । फार्ममा रेल्वेको ट्र्याक परेपछि आफ्नो सपना अधुरै रहने हो कि भन्ने चिन्ताले सताउन थालेको उनको भनाइ छ । ‘आफ्नो उर्भर जीवन भारतीय सेनामा बित्यो, सबै सम्पत्ति फार्ममा छ । बैंकले ऋण लिने प्रक्रिया बन्द गरेपछि अहिले समस्यामा छु,’ उनले भने । सुब्बाले गरेको खेती नेपालमा नौलो र फरक किसिमको कृषिजन्य वनस्पति हो । ‘एन्टी क्यान्सर’ बिरुवाका रूपमा चिनिएको उक्त वनस्पतिलाई विदेशमा बढी उपयोग गरिन्छ । नेपालमा यसको महत्वबारे थाहा नभएकाले सुब्बाले यसको महत्व बुझाउन पनि व्यावसायिक खेती सुरु गरेको बताए । भारतीय सेनामा रहँदा अफ्रिका पुगेका उनले त्यहाँ देखेर सावरसुपको बिरुवालाई अहिले आफ्नो बारीमा हुर्काइरहेको बताए । यसको पात र फल खानाले विभिन्न रोग प्रतिरोधात्मक क्षमता बढ्ने गर्दछ । पछिल्लो समय यसको फल क्यान्सरका बिरामीले रोकथामका लागि खाने गरेका बताउँदै सुब्बाले यसका बारेमा जानकारीमूलक प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ छ । बीउबाट ४५ बिरुवा उमारेका सुब्बाले अहिले आधुनिक प्रविधिमार्फत १५० बिरुवा बनाएको जानकारी दिए । पाँच प्रकारका विभिन्न स्वाद पाइने सावरसुपको फलसँगै पात पनि चियामा प्रयोग हुने उनले बताए । बिरुवालाई ‘एयर ल्यायरिङ’ र ‘ग्राफ्टिङ’ प्रविधि अपनाएर बिरुवा उत्पादन गरेको बताउँदै उनले बिरुवा बिक्री भने नगरेको उल्लेख गरे । ‘आफ्नै बारीमा बिरुवा हुर्काएर अझ व्यावसायिक बन्ने प्रयासमा सुब्बा लाग्नुभएको छ,’ पथरी शनिश्चरे–१ का वडाध्यक्ष नैना राईले भने । केही बिरुवा वडालाई निःशुल्क वितरण गर्नुभएको भन्दै भविष्यमा बिरुवा बिक्री गर्ने सोचसहित सुब्बाले योजना बनाइरहनुभएको उनले जानकारी दिए । क्यान्सरबाट बर्सेनि नेपाली पीडित बनिरहेको अवस्थामा यो फलको सेवनबाट क्यान्सर रोग नियन्त्रणमा सहयोग पुग्ने विभिन्न अध्ययनले देखाएको सुब्बाले बताए । पछिल्लो समय सावरसुपका बारेमा थाहा पाएर फार्ममा बिरुवा, पात र फल किन्नहरू आउने उनले जानकारी दिए । नयाँ खेती सुरु गरेकाले स्थानीय तथा सङ्घीय सरकारसँग खेती व्यवस्थापनको विकल्पसहित आर्थिक, प्राविधिक सहयोग गर्न उहाँले अनुरोध गरे । बङ्गुर र कुखुराबाट उत्पादित मलले साग तथा अन्य तरकारी उत्पादन गर्दै आएको सुब्बाको भनाइ छ । ‘नेपाली बजारमा यो नयाँ किसिमको फल भएकाले यसलाई तराईका क्षेत्रमा विस्तार गर्नसके, यसको थप अध्ययन गरी महत्वबारे सबैलाई जानकारी दिनसके यसप्रति अन्य कृषको पनि आकर्षण बढ्ने थियो,’ उनले भने, ‘यसका लागि कृषि ज्ञान केन्द्र, स्थानीय तथा सङ्घीय सरकार, अन्य सरोकार भएका निकायले सहयोग र समन्वय गर्नुपर्छ ।’

म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओस जाँदै हुनुहुन्छ ? अपनाउनुस् यी सावधानी

फाइल फोटो काठमाडौं । सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार ट्राभल एड्भाइजरी जारी गर्दै नेपाली नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको हो । आकर्षक तलब र सुविधा दिने भनी विभिन्न प्रलोभनहरू देखाइ नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा युएईसहित अन्य मुलुकमा रहेका नेपालीलाई थाइल्याण्डको बैंकक, याहुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यान्माको कायिन प्रान्तको म्यावडीमा लगी जबर्जस्ती अवैध कार्यमा लगाइएको पाइएको भन्दै सो सम्बन्धमा विगतमा पनि सचेत गराइएको मन्त्रालयले सूचनामार्फत स्मरण गरिएको छ । पछिल्ला दिनमा मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिमा संलग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यान्मामा लगी जबर्जस्ती अवैध कार्यमा लगाउने गरेको सूचना प्राप्त भएको मन्त्रालयले जनाएको छ । यस्तै, रोजगारदाताले राहदानी खोसिदिने, १२÷१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिनेलगायत समस्या रहेको सूचनाहरू आएका जानकारी गराउँदै उद्धारका लागि नेपाली राजदूतावास याहुन र बैंककमा आवेदन गर्ने नेपालीको सङ्ख्यामा उल्लेखनीय रूपमा वृद्धि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिने जोसुकै व्यक्तिलाई विदेशमा पु¥याई अलपत्र पार्ने, नेपाल सरकारको प्रचलित कानुनबमोजिम निषेध गरिएका कार्यमा संलग्न हुने वा यस किसिमले क्रियाकलाप गर्ने÷गराउने कार्य कानुनबमोजिम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्य नगर्न÷नगराउन र यसतर्फ सचेत रहन सम्बन्धित सबैमा परराष्ट्र मन्त्रालयले अनुरोध छ । रोजगारीका अवसरको प्रलोभन देखाई युवालाई ठगी गरिरहेको र पीडितलाई गैरकानुनी रूपमा बैंकक हुँदै कम्बोडिया, लाओस र म्यान्मा ल्याई बन्दी बनाएर काम गर्न लगाएको पाइएको तथा सामाजिक सञ्जालहरूमार्फत विभिन्न स्थानका एजेन्टद्वारा प्रस्तावित हुने भएकाले त्यस्ता सामाजिक सञ्जालमा प्रचार गरिएका नक्कली रोजगारीको प्रलोभनमा नपर्नसमेत आग्रह गरिएको छ । ‘वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न हुन र रोजगारीको प्रस्ताव स्वीकार गर्नु अघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्म, कम्पनी र रोजगारदाताका बारेमा पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रूपमा ती फर्म, कम्पनी र रोजगारदाताको वेबसाइट जाँच गर्नुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।

अमेरिकी डलरको मूल्य सर्वाधिक उचाईमा, यस्तो छ अन्य देशको मुद्रा भाउ

काठमाडौं । अमेरिकी डलरको मूल्यले फेरी नयाँ उचाई कायम गरेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.९० रुपैयाँ र बिक्रीदर १३६.५० रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि गत पुस ५ गते अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.८२ रुपैयाँ र बिक्रीदर १३६.४२ रुपैयाँ थियो । उक्त मूल्य रेकर्डलाई तोड्दै आज पुनः नयाँ रेकर्ड कायम गरेको हो । आज युरोपियन यूरोको एकको खरिदर १४१.३२ रुपैयाँ र बिक्रीदर १४१.९४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.४४ रुपैयाँ र बिक्रीदर १७१.१९ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.६५ रुपैयाँ र बिक्रीदर १५२.३२ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८४.९५ रुपैयाँ र बिक्रीदर ८५.३३ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९४.३८ रुपैयाँ र बिक्रीदर ९४.८० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.१६ रुपैयाँ र बिक्रीदर १००.६० रुपैयाँ, जापानी येन १० को खरिददर ८.६७ रुपैयाँ र बिक्रीदर ८.७० रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६२ रुपैयाँ र बिक्रीदर १८.७० रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.१८ रुपैयाँ र बिक्रीदर ३६.३४ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.२८ रुपैयाँ र बिक्रीदर ३७.४४ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९७ रुपैयाँ र बिक्रीदर ३.९९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.०० रुपैयाँ र बिक्रीदर ३७.१६ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.२७ रुपैयाँ र बिक्रीदर ३०.४० रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.३५ रुपैयाँ र बिक्रीदर ९.४० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३१ रुपैयाँ र बिक्रीदर १२.३६ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.९५ रुपैयाँ र बिक्रीदर १९.०३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४९ रुपैयाँ र बिक्रीदर १७.५७ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४१.०२ रुपैयाँ र बिक्रीदर ४४२.९७ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६०.१९ रुपैयाँ र बिक्रीदर ३६१.७८ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५२.९७ रुपैयाँ र बिक्रीदर ३५४.५३ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस ९ गते अन्तिम दिन रहेको छ । मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त, मिथिला लघुवित्त, माउन्टेन इनर्जी नेपाल, कुथेली बुखरी स्मल हाइड्रोपावरले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ११ गते बुकक्लोज गर्दैछन् । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले यी ५ कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् । भोलि पुस १० गते क्रिसमस डेको सार्वजनिक बिदा भएका कारण आज अन्तिम दिन रहेको हो । मञ्जुश्री फाइनान्सले चुक्ता पुँजीको ६.३५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न फाइनान्सले पुस २८ गते काठमाडौंमा १७औँ वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ । यस्तै, आरएसडिसी लघुवित्तले चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २९ गते बुटवल रुपन्देहीमा ११औँ वार्षिक साधारण सभा बिहान साढे ९ बजे बोलाएको छ । यस्तै, मिथिला लघुवित्त वित्तीय संस्था १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले पुस २८ गते मिथिला नगरपालिका ६ ढल्केबर, धनुषामा १६औँ वार्षिक साधारण सभा बिहान ११ बजे डाकेको छ । यस्तै, माउन्टेन इनर्जी नेपालले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २८ गते काठमाडौंमा ११औँ वार्षिक साधारण सभा बिहान १० बजे आह्वान गरेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद गरी १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २७ गते काठमाडौंमा १३औँ वार्षिक साधारण सभा साढे १० बजे डाकेको छ ।

हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जम्यो

काठमाडौं । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए । यहाँ दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उनले बताए । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ । सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् ।

नेपाल स्टक एक्सचेन्जको ७५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक बर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेप्सेको पुस ६ गते बसेको सञ्चालक समिती बैठकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई ७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेप्सेले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी १ अर्बको करसहित ७५ प्रतिशतका दरले ७५ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेप्सेले प्रस्ताव गरेको उक्त लाभांश पारित गर्न पुस २९ गते बिहान ११ बजे नेप्से कै कार्यालयमा ४३औँ वार्षिक साधारण सभा बोलाएको छ । नेप्सेको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोक्नेछ । नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको ९.५ प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ११.२३ प्रतिशत, लक्ष्मी सनराइज बैंक र प्रभु बैंकको ५/५ प्रतिशत र अन्यको ०.६० प्रतिशत सेयर लगानी छ ।

सुदूरपश्चिमबाट मौसम बदली सुरु, माइनस ७.२ डिग्रीमा भर्‍यो तापक्रम

काठमाडौं । पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कणाली प्रदेशमा पनि फैलिने भन्दै विस्तारै गण्डकी र लुम्बिनीसम्म आउने जानकारी दिए । माथि सर्दै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने देखिने उनले बताए । आज दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जाने लामिछानेले बताए । उनका अनुसार अहिले वर्षा भने भइसकेको छैन । राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा हल्ला वर्षा हुनसक्ने सम्भावना रहेको उनले जानकारी दिए । महाशाखाले सोमबार साँझ सार्वजनिक गरेको विवरणमा हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हुने देखिएको छ । हाल देशको सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आगामी २४ घण्टामा बागमती प्रदेश र मधेस प्रदेशको थोरै स्थान तथा कोशी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जानकारी गराएको छ । चिसो बढ्न सुरु मौसममा बदली भएसँगै नेपालमा पुनःचिसो बढ्न सुरु भएको छ । गत मङ्सिर अन्तिम साता नेपालमा चिसो अत्यधिक बढेर विस्तारै घटेकामा सोमबारदेखि पुनः चिसो बढ्न थालेको महाशाखाका मौसमविद् लामिछानेले उल्लेख गरे । विभागको अभिलेखमा हाल काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री रहेको छ । यसअघि पुस ४ गते काठमाडौंको तापक्रम ४.८ डिग्री थियो । यस्तै सोमबार जुम्लाको न्युनतम तापक्रम माइनस ७.८ डिग्री झरेकोमा पुस ४ गते त्यहाँ माइनस ७.२ डिग्री थियो । अन्य क्षेत्रमा पनि न्युनतम तापक्रम घट्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महुली लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक सेयय (एफपीओ)मा आवेदन दिने आज पुस ९ गते अन्तिम दिन रहेको छ । लघुवित्तले पुस ५ गतेदेखि ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयर बिक्री खुला गरेको हो । लघुवित्तमा सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको ३० प्रतिशत पुर्याउन एफपीओ जारी गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ रहेको छ । एफपीओ निष्काशनपश्चात् चुक्ता पुँजी ३६ करोड ९९ लाख २३ हजार ५ सय रुपैयाँ पुग्नेछ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमाफएत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।