४८औँ सार्क वित्त गभर्नर समूहको बैठक सम्पन्न, वित्तीय सहकार्य सुदृढीकरणमा जोड
काठमाडौं । सार्क वित्त गभर्नरहरूको समूहको ४८औँ बैठक हालै श्रीलङ्काको कोलम्बोमा सम्पन्न भएको छ । बैठकमा सदस्य मुलुकहरूका केन्द्रीय बैंकका गभर्नरहरू तथा उच्च अधिकारीहरूको सहभागिता रहेको थियो । बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सहभागिता रहेको थियो । गभर्नर अधिकारीले सार्क क्षेत्रका मुलुकहरूबीचको आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउन नेपाल निरन्तर प्रतिबद्ध रहेको बताए । बैठकमा क्षेत्रीय वित्तीय स्थिरता, मौद्रिक नीति समन्वय, वित्तीय समावेशन, र सरोकारवाला संस्थाबीचको ज्ञान–अदला–बदली लगायतका विषयमा छलफल भएको थियो । सहभागीहरूले सार्क वित्त समूहमार्फत आर्थिक नीति र वित्तीय प्रणालीमा पारदर्शिता र सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए । बैठकको अध्यक्षता श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नरले गरेका थिए भने, नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरूले नेपालमा भैरहेको डिजिटल वित्तीय प्रणालीको प्रगति, मुद्रास्फीति नियन्त्रणका उपाय, र वित्तीय समावेशीकरणका कार्यक्रमहरूबारे प्रस्तुति दिएका थिए । बैठकमा सहभागी गभर्नरहरूले सार्क वित्त समूहको आगामी कार्यसूची, अनुसन्धान, क्षमता विकास र प्राविधिक सहयोगका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।
२ महिनामा १५ हजार बीमितले त्यागे बीमा पोलिसी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (भदौ) सम्ममा १५ हजार ८९८ बीमितले २ अर्ब ५० करोड ७ लाख रुपैयाँ पोलिसी सरेण्डर अर्थात बीमालेख समर्पण गरेका छन् । चालु आवको २ महिनामा भएको पोलिसी सरेण्डर रकम गत आवको सोही अवधिको तुलनामा ९.१८ प्रतिशतले र पोलिसी सरेण्डर संख्या १९.४७ प्रतिशतले घटेको छ । प्राधिकरणले प्रकाशन गरेको बीमा प्रतिबिम्मअनुसार गत आवको यही अवधिमा १९ हजार ७४१ बीमितले २ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर गरेका थिए । दुई महिनाको अवधिमा तोकिएको समयमा पोलिसी नवीकरण र किस्ता नतिर्ने बीमितको संख्यामा वृद्धि भएको छ । प्राधिकरणको तथ्यांकअनुसार चालु आवको २ महिनामा १२ लाख १३ हजार ५६२ बीमालेख व्यतित भएका छन् । उक्त संख्याको बीमालेख व्यतित हुँदा ३६ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ बीमा कम्पनीलाई घाटा भएको छ । गत आवको यही अवधिमा ११ लाख ८० हजार ६१६ बीमालेख व्यतित भएका थिए । व्यतित बीमालेख रकम ३४ अर्ब ६७ करोड ६९ लाख रुपैयाँ थियो ।
जलविद्युत आयोजनाको विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गरौं : मन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए)को प्रतिस्पर्धी दर तय गर्न विद्युत नियमन आयोगलाई आग्रह गरेका छन् । आयोगको गत आर्थिक वर्ष २०८१/८२को वार्षिक प्रतिवेदन बुधबार बुझ्दै मन्त्री घिसिङले जलविद्युत आयोजनाबाट उत्पादित ऊर्जालाई थप सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन प्रतिस्पर्धी आधार दर तय गर्नु पर्ने आवश्यकता औंल्याए । आयोगका अध्यक्ष रामप्रसाद धितालले प्रतिवेदन मन्त्री घिसिङ समक्ष पेश गरेका थिए । आयोगका पदाधिकारीलाई निर्देशन दिंदै मन्त्री घिसिङले भने, ‘सौर्य ऊर्जाको हाल प्रतिस्पर्धी आधार दर रहेको छ जसले पिपिएलाई प्रतिस्पर्धी र पारदर्शी बनाएको छ, त्यसैगरी जलविद्युत आयोजनाको पिपिएको वास्तविक मूल्य तय गर्न, प्रक्रियालाई स्तरीय बनाएर पिपिए प्रतिस्पर्धाबाट गर्न आधार दर तय गर्ने र बोलपत्र सम्बन्धी कागजात तयार गर्नुहोस् ।’ नेपाल विद्युत प्राधिकरणले हाल सौर्य ऊर्जा प्रतिस्पर्धाबाट खरिद गर्दै आएको छ । त्यसका लागि प्रतिस्पर्धाको अधिकतम आधार दर प्रति युनिट ५.९४ (पाँच रुपैयाँ चौरानब्बे पैसा) रहेको छ । जलविद्युत आयोजनाको पिपिए दर वर्षा र हिउँदयामका लागि प्रतियुनिट दर क्रमश : ४.८० र ८.४० रुपैयाँ रहेको छ । नियमनकारी निकायले गर्ने कामलाई प्रभावकारी बनाउन आयोगका पदाधिकारीलाई निर्देशन दिंदै मन्त्री घिसिङले निजी क्षेत्रलाई प्रवर्धन एवम् प्रोत्साहन र प्राधिकरणलाई दीगो बनाउने गरी आफ्ना क्रियाकलापमा केन्द्रीत हुन आग्रह गरे ।
कर्जाको साँवा–ब्याज भुक्तानीको समय सीमा थप गर्न राष्ट्र बैंकलाई महासंघको सुझाव
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको साँवा-ब्याज भुक्तानी समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्र बैंक गएको महासंघको टोलीले राष्ट्र बैंकका कार्यबाहक गभर्नर डा।नीलम ढुङ्गाना तिम्सिनालाई भेटेर सो आग्रह गरेको हो । महासंघले चालु आर्थिक वर्षको प्रथम त्रैमास (असोज–मसान्त) मा कर्जाको साँवा-ब्याजको किस्ता बुझाउने समय नजिकिँदै गर्दा देशका विभिन्न भागहरूमा भएका आन्दोलन, विरोध प्रदर्शन, तोडफोडका घटना लगायत अविरल वर्षा तथा बाढी पहिरोले देशको पूर्वी एवं मध्य भागमा क्षति पुगेकोले क्षतिले ऋणीहरूलाई समयमै किस्ता बुझाउन समस्या भएकोले साँवा-ब्याज भुक्तानीको समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरिएको महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठले जानकारी दिए । उनले यो समयमा भएका यी घटना बाहेक नेपालीहरूको महान चाड दशैंको कारण लामो समय सार्वजनिक बिदा पर्न गएको र ऋणीहरूलाई समयमै किस्ता बुझाउन समस्या भएकोले समय थपको लागि पहल गरिदिन महासंघका सदस्य संघ-संस्थाहरूबाट समेत अनुरोध भइआएकोले राष्ट्र बैंकसमक्ष सो आग्रह गरिएको बताउनु भयो । सो अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र तथा महासंका उपाध्यक्षद्वय सुरकृष्ण वैद्य, हेमराज ढकाल र कोषाध्यक्ष भरतराज आचार्य सहभागी थिए ।
गुल्मीका ५१ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा
तम्घास । सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमप्रति गुल्मीका नागरिकको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गराउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरिएको थियो । जिल्लाका ५१.६५ प्रतिशत नागरिकमा स्वास्थ्य बिमा पहुँचमा पुगेको छ । २०७८ सालको जनगणनाअनुसार जिल्लामा कूल दुई लाख ४६ हजार आठ सय ३६ जनसङ्ख्या रहेकोमा एक लाख २७ हजार तीन सय ५५ जनाले स्वास्थ्य बिमा गराएका छन् । जसमा महिला ६५ हजार छ सय ६६ र पुरुष ६१ हजार छ सय ८९ जना रहेका छन् । सबैभन्दा बढी रेसुङ्गा नगरपालिकाका २४ हजार पाँच सय ४१ जनाले स्वास्थ्य बिमा गराएका छन् । त्यसैगरी चन्द्रकोटका छ हजार चार सय, छत्रकोटका १२ हजार दुई सय ६३, धुर्कोटका १० हजार तीन सय पाँच, गुल्मी दरबारका १० हजार दुई सय १०, इस्माका सात हजार तीन सय ५० नागरिकले स्वास्थ्य बीमा गराएका छन् । त्यसैगरी, कालीगण्डकीका छ हजार सात सय तीन, मदानेका तीन हजार छ सय ७६, मालिकाका आठ हजार एक सय ९९, मुसीकोटका सात हजार आठ सय ४१, रुरुक्षेत्रका १४ हजार ८५ तथा सत्यवतीका १५ हजार सात सय ८२ नागरिकले स्वास्थ्य बीमा गराएको स्वास्थ्य बीमा बोर्ड गुल्मीका प्रमुख सुवास घिमिरेले जानकारी दिए । जिल्लामा हालसम्म शुल्क लाग्ने साधारण समूहतर्फ २१ हजार ३३ परिवारका एक हजार पाँच सय २४ परिवार र ५० प्रतिशत छुटमा आठ सय ८३ महिला स्वास्थ्य स्वयंसेविकाका परिवारका चार हजार छ सय दुई जनाले स्वास्थ्य बीमा गराएका छन्। सरकारले ज्येष्ठ नागरिक, अपाङ्ग एवं विभिन्न रोग लागेकाहरूको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा पनि गराइदिएको छ । जसमा १७ हजार सात सय १२ ज्येष्ठ नागरिक निःशुल्क बीमाको पहुँचमा आएका छन् । ‘क’ वर्गका अपाङ्गतर्फ सात सय ९३ परिवारका तीन हजार नौ सय ९९ जना, एचआइभी एड्स सङ्क्रमित एक सय ६६ परिवारका चार सय ८२ जना, कुष्ठरोगीका तीन परिवारका १२ जना तथा एमडीआर टिबीका छ परिवारका २५ जनाको पनि निःशुल्क स्वास्थ्य बीमा गराइएको स्वास्थ्य बीमा बोर्ड गुल्मीका प्रमुख घिमिरेले बताए। गुल्मीमा २०७६ साल माघ १९ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको थियो । सरकारले तीन हजार पाँच सयमा एक परिवारका पाँच सदस्यसम्मको बीमा गर्दछ । जसमा एक लाख बराबरको औषधि–उपचार निःशुल्क प्राप्त गर्दछन् । त्यसैगरी, परिवार सङ्ख्या पाँचभन्दा बढी भएमा प्रतिव्यक्ति ७ सयका दरले प्रथम बीमा शुल्कमा थपिँदै जाने र सो रकमले २० हजार उपचार खर्च प्राप्त हुने स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।
चौथो ‘एनिभर्सरी’ मनाउँदै टेनएक्स क्लब, नेपाली र अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति
काठमाडौं । क्लब टेन एक्सले चौथो एनिभर्सरी मनाउने भएको छ । असोज ३० गते बिहीबार ठमेलमा रहेको नाइट क्लब टेन एक्सले चौथो एनिभर्सरी मनाउने भएको हो । वार्षिकोत्सवमा विभिन्न सांगीतिक समूह तथा कलाकारले आफ्नो प्रस्तुती दिने भएका छन् । दि जेनसीस ब्याण्ड,स्पाइसी एन्जल्सको प्रस्तुती र अन्तर्राष्ट्रिय डिजे समर्न, डिजे रह्न र डिजे नानीको समेत प्रस्तुती रहने छ । विगतका वार्षिकोत्सव जस्तै गरेर यस वर्ष पनि भव्य र सभ्य बनाउने गरी तयारी गरिरहेको क्लबका सीईओ पौरख मर्दन बस्न्यातले जानकारी दिए । चार वर्षअघि ठमेलको जिस्ट्रिटमा सञ्चालनमा आएको क्लब टेनएक्सले ‘स्टेट अफ द आर्ट क्लबिङ’को प्रस्तुती दिदैँ आएको छ । ‘तीन वर्षको अवधिमा हामीले पार्टीको चाहना राख्नेहरूको इच्छा पूरा गर्दै आएका छौँ,’क्लबका सीईओ बस्न्यात भन्छन् । उनका अनुसार क्लबमा ५० भन्दा बढी कर्मचारी कार्यरत छन् । क्लब टेन एक्समा नेपालका चर्चित डिजे तथा गायक-गायिकाले प्रस्तुति दिएका थिए । गायक अनिल सिंह, कालीप्रसाद बास्कोटा र एकदेव लिम्बू जस्ता थुप्रै नेपालका कलाकारले आफ्नो प्रस्तुती दिइ सकेका छन् ।
दुई महिनामा बीमा कम्पनीहरूबाट साढे ११ अर्ब बीमा दाबी भुक्तानी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो दुई महिना अर्थात भदौसम्ममा सञ्चालनमा रहेका ३७ बीमा कम्पनीहरूले साढे ११ अर्ब रुपैयाँ बराबरको दाबी रकम भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार भदौसम्ममा १४ जीवन बीमक, १४ निर्जीवन बीकम, ३ लघु जीवन बीमक र ४ निर्जीवन लघु बीमक कम्पनीहरूबाट ११ अर्ब ५२ करोड २७ लाख रुपैयाँ दाबी रकम भुक्तानी भएको हो । चालु आवको दुई महिनामा बीमा कम्पनीहरूले भुक्तानी गरेको दाबीबापतको रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २२.४८ प्रतिशतले बढेको छ । कम्पनीहरूले अघिल्लो आवको सोही अवधिमा कल ८ अर्ब २६ करोड ८९ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए । चालु आवको भदौ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले भुक्तानी गरेको दाबीको संख्या ४३ हजार ६३६ वटा रहेको छ । जसअन्तर्गत कम्पनीहरूले ८ अर्ब २६ करोड ८९ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीहरूले ३६ हजार ४१ वटा दाबी संख्याको ६ अर्ब ९३ करोड ८१ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्ममा जीवन बीमकहरूको दाबी भुक्तानी संख्या २०.३२ प्रतिशत र रकम १९.१८ प्रतिशतले बढेको छ । प्राधिकरणका अनुसार चालु आवको दुई महिनामा जीवन बीमकहरूले ५६ हजार ५९७ वटा दाबीको ४ अर्ब ७५ करोड ८३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीहरूले ४५ हजार २९ वटा दाबीको ३ अर्ब १७ करोड ६३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा जीवन बीमकहरूको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम २५.६९ प्रतिशत र ४९.८१ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार दुई महिनामा निर्जीवन बीमकहरूले कुल २२ हजार ३८२ वटा दाबीको ३ अर्ब २५ करोड ३८ लाख रुपैयाँ भुक्तानी गरेका छन् । अघिल्लो आर्थिक वर्षको भदौसम्म निर्जीवन बीमकहरूले २० हजार ९४१ वटा दाबीको २ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो वर्षको भदौसम्मको तुलनामा समीक्षा अवधिसम्म निर्जीवन बीमकहरूको दाबी भुक्तानी संख्या ६.८८ प्रतिशत र भुक्तानी रकम भने ३१.७५ प्रतिशतले बढेको छ । भदौसम्ममा निर्जीवन बीमकहरूले १ लाख ५ हजार ४९९ वटा दाबीको ४० अर्ब ९५ करोड ३० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । अघिल्लो आवको यसै अवधिमा कम्पनीहरूले १ लाख ९६९ वटा दाबीको २३ अर्ब १९ करोड ८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म निर्जीवन बीमकहरूको भुक्तानी हुन बाँकी दाबी संख्या ४.४९ प्रतिशत र दाबी रकम ७६.५९ प्रतिशतले बढेको छ ।
एनआईसी एशिया बैंकका ग्राहकलाई एशियन बुद्ध होटलमा छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरू अब सिद्धार्थनगर, रुपन्देहीस्थित एशियन बुद्ध होटलमा सेवा लिँदा छुट प्राप्त गर्न सक्ने भएका छन् । यस सम्बन्धमा बैंक र होटलबीच सम्झौता सम्पन्न भएको हो । सम्झौता अनुसार, ग्राहकहरूले होटलमा कुनै पनि सेवा लिँदा डिजिटल भुक्तानीमार्फत १५ प्रतिशत छुट पाउनेछन् । ग्राहकहरूले यो छुट सुविधा प्राप्त गर्नका लागि एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । यस सहकार्यले ग्राहकलाई आकर्षक छुट सुविधा प्रदान गर्नुका साथै डिजिटल भुक्तानी संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्य बैंकले लिएको छ । नगदरहित कारोबारको विस्तार र डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन पनि यस कदमले सहयोग गर्ने बैंकको विश्वास छ ।