विकासन्युज

५ हजारले दर्शन गर्ने अनुमान, ३ सय बढी पुगिसके

काठमाडौं । हिमालको काखमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि श्रद्धा, आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने यस तीर्थमा भगवान शिवको दर्शन तथा स्नान गर्न देश-विदेशबाट भक्तजनहरू पुग्न थालेका छन् । जेठ ३ गतेदेखि सुरु भएको मेला जेठ १२ गतेसम्म सञ्चालन हुने छ । चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार हालसम्म ३ सयभन्दा बढी तीर्थयात्री कुण्ड क्षेत्रमा पुगिसकेका छन् भने यस वर्ष करिब ५ हजार भक्तजन आउने अनुमान गरिएको छ । शिवको तपोभूमि: शास्त्रमा वर्णित गोसाइँकुण्ड पुराणहरूमा वर्णन भएअनुसार देवता र दानवबीच भएको समुद्र मन्थनबाट निस्किएको घातक कालकूट विषले सम्पूर्ण सृष्टि विनाश हुने अवस्था सिर्जना भएको थियो । सृष्टिको रक्षा गर्न भगवान शिवले उक्त विष कण्ठमा धारण गरे । जसकारण उहाँ नीलकण्ठ नामले प्रसिद्ध भए ।  विषको ताप सहन नसकेपछि भगवान शिव शीतल स्थानको खोजी गर्दै हिमालय क्षेत्रमा आउनुभएको धार्मिक विश्वास छ । त्रिशूलले हिमालको पहरामा प्रहार गर्दा निस्किएको पवित्र जलबाट बनेको दिव्य कुण्ड नै गोसाइँकुण्ड भएको जनविश्वास रहिआएको छ । यही कारणले यस कुण्डको जललाई पाप नास गर्ने, मन शुद्ध गर्ने तथा मोक्ष प्रदान गर्ने पवित्र जल मान्नेहरू पनि छन् । धार्मिक मान्यताअनुसार गङ्गादशहरामा स्नान गर्दा दश प्रकारका पाप नाश हुन्छन् । जनै पूर्णिमामा स्नान गर्दा जन्मजन्मान्तरका दोष समाप्त हुने विश्वास छ । जीवनमा एकपटक गोसाइँकुण्ड दर्शन गरे मोक्ष प्राप्त हुने मान्यता रहिआएको छ । कठिन यात्रा, दिव्य अनुभूति, समुन्द्र सतहदेखि करिब १४ हजार १०० फिट उचाइमा अवस्थित यो तीर्थ पुग्न श्रद्धा, धैर्य र साहस आवश्यक पर्छ । काठमाडौंबाट बालाजु बसपार्क हुँदै शिवपुरी, छहरे, ढुङ्गे, बेत्रावती, कालिकास्थान पार गरी धुन्चे पुगेपछि पैदल यात्रा सुरु हुन्छ । धुञ्चेबाट शिवमन्दिर, त्रिशूली नदी किनार, चन्दनबारी (सिङ्गगोम्पा), चोलाङपाटी, लौरीविनायक, गणेश गौँडा हुँदै तेर्सो ककरो भिर पार गरेपछि अन्ततः पवित्र गोसाइँकुण्ड दर्शन हुन्छ । यात्रुहरूको अनुभवअनुसार उकालो चढ्दा सास फेर्न गाह्रो भए पनि कुण्डमा स्नान गरेपछि सम्पूर्ण थकान हराएर नयाँ उमङ्ग प्राप्त हुने अनुभूति मिल्छ । धार्मिक सेवा र यात्रु व्यवस्थापन बढ्दो यात्रु चापलाई मध्यनजर गर्दै होटल व्यवसायीहरूले आवश्यक खाद्यान्न ढुवानी गरिसकेका र खान-बस्नको उचित व्यवस्थापन गरिएको होटल व्यवसायी लामाले बताए । जेठ ९ देखि १२ गतेसम्म कुण्ड क्षेत्रमा विशेष पूजाका लागि पुजारीको व्यवस्था गरिने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए । यात्राका क्रममा समस्या परे नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले उद्धार सेवा निरन्तर सञ्चालन गर्ने जिल्ला प्रहरी प्रमुख अशोक थापाले बताए ।  स्वास्थ्य र सुरक्षित यात्रा सुझाव लौरीविनायकभन्दा माथि उचाइका कारण लेक लाग्ने सम्भावना रहने भएकाले स्वास्थ्यकर्मीले निम्न सावधानी अपनाउन आग्रह गरेका छन् । धुन्चेमा एक रात बस्दै शरीरलाई वातावरणसँग मिलाएर जान उपयुक्त हुने स्थानीयले बताएका छन् । अदुवा, कागती, लसुन, बिरेनुन साथमा लैजाने, चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्ने, हतार नगरी बिस्तारै उकालो चढ्ने, पैदल यात्रा गर्न नसक्ने ज्येष्ठ नागरिकका लागि काठमाडौँ विमानस्थलबाट हेलिकोप्टर सेवा पनि उपलब्ध रहेको जनाइएको छ । प्रकृति संरक्षण पनि धर्मकै अङ्ग यात्राका क्रममा वन्यजन्तुलाई नतर्साउन, वनस्पति नकाट्न र फोहर तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्न सबै यात्रुमा अनुरोध गरिएको छ । हिमालयको संरक्षण नै भगवान शिवप्रतिको सच्चा श्रद्धा भएको धार्मिक तथा वातावरणीय सन्देश रहेकाले सोहीअनुसार आग्रह गरिएको लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले बताए । आस्था, प्रकृति र अध्यात्मको सङ्गम धार्मिक विद्वानहरूका अनुसार भगवान शिवले सम्पूर्ण प्राणीजगत्को रक्षा गर्न विषपान गरेको स्मरण स्वरूप भक्तजनले जीवनमा कम्तीमा एकपटक भए पनि गोसाइँकुण्ड दर्शन गर्नुपर्ने मान्यता रहिआएको छ । कठिन हिमाली यात्रा, शुद्ध हिमजल, मन्त्र उच्चारणको गुन्जन र गहिरो श्रद्धाले भरिएको वातावरणले गोसाइँकुण्डलाई केवल ताल मात्र नभई आत्मशुद्धि, आस्था र आध्यात्मिक जागरणको तीर्थ बनाएको छ । गङ्गादशहराको पावन अवसरसँगै गोसाइँकुण्ड हाल भक्तिभाव, विश्वास र धार्मिक उत्साहले भरिएको पुरोहित उपेन्द्र मिश्रले बताए । 

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाबीच द्विपक्षीय भेटवार्ता भएको छ । स्वीटजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठनले आयोजना गरेको ७९औँ विश्व स्वास्थ्य सभामा सहभागी हुने गएको बेला उनीहरूबीच भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार भेटवार्तामा स्वास्थ्य क्षेत्रमा विद्यमान द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको छ । भेटवार्तामा मन्त्रालयका प्रवक्ता यशोदा अर्यालसमेत सहभागी थिइन् । स्वास्थ्यमन्त्री मेहता तीन सदस्यीय टोलीको नेतृत्व गर्दै सभामा भाग लिन ३ जेठान जेनेभा गएकी हुन् । 

यी हुन् कांग्रेस निर्वाचन ब्युरोमा मनोनीत सदस्य (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन ब्युरोमा १७ जना सदस्यहरू मनोनीत गरेका छन् । उपसभापति पुष्षा भुसालको संयोजकत्वमा प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रीत निर्वाचन ब्युरो गठन गरिएको थियो । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै साे जानकारी दिएका हुन् । उक्त ब्यूरोमा सदस्यहरू मनोनीत गरी सभापति थापाले कार्यादेश समेत दिएको दुलालले जानकारी दिए । निर्वाचित ब्युरोमा मनोनीत भएका सदस्यमा जीवन परियार (कास्की), अब्दुल सत्तार (गोरखा), नानु बास्तोला (काठमाडौँ), सन्दीप राना (पाल्पा), वंशलाल तामाङ (सिन्धुपाल्चोक), प्रकाश तिवारी (स्याङ्जा), महेश ढुङ्गेल (काठमाडौँ), दीपक महतो (सर्लाही) र हरि पोखरेल (झापा) रहेका छन् ।  त्यस्तै, सुदर्शन आचार्य (सिन्धुपाल्चोक), रोहित पौडेल (काठमाडौँ), डा. भुमीराज चापागाईं (नवलपुर), सिद्धार्थ थापा (धनकुटा), नवराज त्रिपाठी (बारा), तेज बिनोद पौडेल (स्याङ्जा), जगनाथ लामिछाने (काठमाडौँ) र मिलनराज बर्तौला (काठमाडौँ)लाई पनि सदस्यमा मनोनीत गरिएको छ ।  को-को भए मनोनीत ? १. जीवन परियार               — कास्की २. अब्दुल सत्तार               — गोरखा ३. नानु बास्तोला                — काठमाडौं ४. सन्दीप राना                 — पाल्पा ५. वंशलाल तामाङ            — सिन्धुपाल्चोक ६. प्रकाश तिवारी              — स्याङ्जा ७. महेश ढुंगेल                — काठमाडौं ८. दीपक महतो                 — सर्लाही ९. हरि पोखरेल                  — झापा १०. सुदर्शन आचार्य              — सिन्धुपाल्चोक ११. रोहित पौडेल                 — काठमाडौं १२. डा. भुमीराज चापागाईं          — नवलपुर १३. सिद्धार्थ थापा                — धनकुटा १४. नवराज त्रिपाठी              —  बारा १५. तेज बिनोद पौडेल           — स्याङ्जा/हाल : अमेरिका १६. जगनाथ लामिछाने          — काठमाडौं १७. मिलनराज बर्तौला           — काठमाडौं

८ उपकुलपति पदका लागि २१८ आवेदन, त्रिविमा सबैभन्दा बढी

काठमाडौं । विभिन्न ८ विश्वविद्यालयहरूका ८ उपकुलपति पदका लागि २१८ जना आकांक्षीले आवेदन दिएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयहरूको उपकुलपति पदका लागि प्राप्त अनलाइन आवेदनहरूको विवरण सार्वजनिक गरेको छ ।  मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३ अनुसार आह्वान गरिएको विज्ञापनमा उत्साहजनक आवेदन परेको जनाएको हो । गत वैशाख २५ गते प्रकाशित सूचनाका आधारमा देशका प्रमुख ८ वटा विश्वविद्यालयका लागि कुल २ सय १८ वटा आवेदन दर्ता भएका छन् । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशकै सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति पदका लागि सबैभन्दा बढी ५० वटा आवेदन परेका छन् ।  त्यसैगरी, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयको उपकुलपति बन्न समान ३८/३८ जनाले इच्छा देखाउँदै आवेदन दिएका छन् । मधेश प्रदेशमा रहेको राजर्षि जनक विश्वविद्यालयका लागि २७ वटा आवेदन प्राप्त भएको मन्त्रालयको विवरणमा उल्लेख छ । यसैगरी, मध्यपश्चिम विश्वविद्यालयका लागि २० जना र सुदूरपश्चिम विश्वविद्यालयका लागि १९ जना शिक्षाविद्हरूले उपकुलपति पदका लागि दावेदारी प्रस्तुत गरेका छन् ।  प्राविधिक तथा विशिष्टीकृत विश्वविद्यालयतर्फ कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५ वटा र लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति पदका लागि सबैभन्दा कम ११ वटा आवेदन परेका छन् ।  प्राप्त भएका यी सबै आवेदनहरूको अब स्वीकृत कार्यविधि बमोजिम मूल्याङ्कन, सर्टलिस्टिङ र अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

काठमाडौंको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटार पहेँलो पुलबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने २३ वर्षीय सन्दीप परियार रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनले भने, ‘काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटार पहेँलो पुलस्थित सन्दीप परियारले हातहतियार लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा हाम्रो टोलीले मङ्गलबार पक्राउ गरेको हो ।’  निजले बिग्रिएर चल्न नसक्ने बा४ख ५२४१ नम्बरको आइसर गाडीको सिटको मुनि लुकाइछिपाइ राखेको म्याग्जिनसहितको पेस्तोल एक थान फेला पारी जरूरी पक्राउ पुर्जी दिई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निज परियारविरुद्ध हातहतियारसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको प्रवक्ता कार्कीले बताए ।

शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा बसेको बैठकले गर्यो प्रअ र शिक्षकका लागि नयाँ पाठ्यक्रम पारित

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा शैक्षिक जनशक्ति विकास परिषद्को २९ औं बैठक आज (बुधबार) सम्पन्न भएको छ । बैठकले शैक्षिक क्षेत्रको गुणात्मक सुधार र प्रशासनिक सक्षमता अभिवृद्धिका लागि तीनवटा महत्वपूर्ण नयाँ सेवाकालीन तालिम पाठ्यक्रमहरू स्वीकृत गरेको छ । परिषद्को बैठकले ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०८३’ र ‘राजपत्राङ्कित नेपाल शिक्षा सेवाका द्वितीय श्रेणी, तृतीय श्रेणी तथा प्राविधिक सहायक कर्मचारीहरूको सेवाकालीन तालिम पाठ्यक्रम, २०८३’ स्वीकृत गरेको हो । शिक्षा नियमावली २०५९ को नियम ७२ बमोजिम स्थापित यस परिषद्ले शिक्षक, मन्त्रालय अन्तर्गतका कर्मचारी तथा शिक्षा क्षेत्रमा संलग्न व्यक्तिहरूको कार्यदक्षता विकास, नीति निर्माण र व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ । मन्त्रालयका अनुसार स्वीकृत नयाँ शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रमको कार्यान्वयनबाट प्रशिक्षकहरूको क्षमता विकास भई शिक्षकहरूको पेसागत विकासका लागि सञ्चालन गरिने तालिमहरू थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । त्यसैगरी, प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रमले विद्यालय शिक्षामा कुशल शैक्षिक नेतृत्वको विकास गर्ने र विद्यालयको समग्र प्राज्ञिक तथा प्रशासनिक पक्षको गुणस्तर अभिवृद्धिमा ठोस सहयोग पुर्‍याउने विश्वास लिइएको छ । परिषद् बैठकले शिक्षा सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी, तृतीय श्रेणी र प्राविधिक सहायक कर्मचारीहरूका लागि स्वीकृत गरेको सेवाकालीन पाठ्यक्रमले सङ्घीयताको मर्म अनुरूप तिनै तहका राष्ट्रसेवक कर्मचारीहरूको क्षमता विकास गर्ने लक्ष्य राखेको छ ।  यसबाट जनमुखी सेवा प्रवाह सुदृढ हुनुका साथै विभिन्न शैक्षिक कार्यक्रमहरूको परिणाममुखी कार्यान्वयनमा मद्दत पुग्ने अपेक्षा मन्त्रालयले गरेको छ ।

पठाओ नेपालको प्रबन्ध निर्देशकमा यशु थकाली नियुक्त, को हुन् उनी ?

काठमाडौं । पठाओ नेपालको प्रबन्ध निर्देशक (एमडी) मा यशु थकाली नियुक्त भएका छन् । असीममान सिंह बस्न्यातले पदबाट राजीनामा दिएपछि कम्पनीले थकालीलाई उक्त जिम्मेवारी दिएको हो ।  थकाली पछिल्लो ८ वर्षदेखि पठाओ नेपालसँग आबद्ध छन् ।  सन् २०१८ मा कम्पनी स्थापना हुँदा उनी  टिमका सदस्य थिए । उनी पठाओ ग्रुपका वरिष्ठ उपाध्यक्ष पनि हुन् ।  पठाओ नेपालले थकालीको नेतृत्वमा आगामी पाँच वर्षभित्र नेपालको डिजिटल इकोनोमीलाई १० गुणा बढाउने लक्ष्य लिएको छ । यसका लागि पठाओले पार्सलमार्फत देशभर पूर्वाधार विस्तार गर्दै पार्सल डेलिभरी, फुड डेलिभरी, इ-कमर्स, मोबिलिटी तथा अन्य डिजिटल सेवाहरुलाई एउटै डिजिटल इकोसिस्टममा जोड्ने तयारी गरिरहेको छ जनाएको छ । सुरुमा कम्पनीको फाइनान्स विभागमा काम गरेका थकालीले पछि कम्पनी व्यवस्थापन र सञ्चालनको पनि जिम्मेवारी निर्वाह गरेका थिए । नेपालमा राइड सेवासहित सुरु भएको पठाओ नेपाललाई पछिल्लो समय फुड डेलिभरी, पार्सल डेलिभरी जस्ता अन्य प्रतिस्पर्धात्मक क्षेत्रमा सफल बनाउन थकालीको भूमिका महत्लपूर्ण छ । जसले गर्दा प्रतिस्पर्धात्मक बजारमा पठाओ नेपाल सजिलै उभिन सकेको छ ।  पछिल्लो दुई वर्षमा थकालीको नेतृत्वमा बंगलादेशमा पनि पठाओले राम्रो बजार बनाइरहेको छ । त्यहाँ पठाओ बाइक, कार र आटोरिक्साको सेवा तीन गुणासम्म वृद्धि भएको छ ।  पेशाले चार्टड एकाउण्टेण्ट (सीए) रहेका थकालीसँग भारतको बैंग्लोरस्थित सीए फर्ममा काम गरेको अनुभव छ । उनले सीजी ग्रुपमा एसेट्स म्यानेजरको रुपमा सात वटा देशमा रहेका सीजीका ४२ वटा प्रोपटिज सम्हालिसकेका छन् ।

थप ३ सय ४ जना सहकारी पीडितले फिर्ता पाए पैसा

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका थप ३ सय ४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो ।  समितिका अनुसार बुधबार (आज) कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २ सय १६ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् । यस अघि समितिले कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारी ७ जना गरी ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो ।  समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।  समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् ।  पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ ।  कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ ।