पूर्वाञ्चल ल्युव आयलको १०.५२ प्रतिशत लाभांश घोषणा
काठमाडौं । पूर्वाञ्चल ल्युव आयलले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिले चुक्ता पुँजीको करसहित १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक २३ गते मोरङमा २६औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिको गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षण नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, नयाँ सञ्चालक समितिको निर्वाचन तथा चयन गर्ने, सञ्चालक समितिको भत्ता, प्रबन्ध निर्देशकहरूको पारिश्रमिक सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।
लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले डाक्यो कात्तिक २६ गते १९औँ वार्षिक साधारण सभा
काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज २९ गते बसेको बैठकले कात्तिक २६ गते बिहान १० बजे प्रज्ञा भवन कमलादी काठमाडौंमा १९ औँ वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँको करसहित ८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । सभाले प्रबन्धपत्र तथा नियमावली व्यवसायीक उद्देश्यहरू थप वा संशोधन गर्ने र नियामकबाट थप केही निर्देशन आएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, सञ्चालक समितिको गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई लघुवित्त र ग्लोबल आइएमई सेक्युरिटिजको आव २०८१/८२ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण र चालु आव २०८२/८३ को लागि लेखापरीक्षण नियक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
भारतबाट बढेर आएपनि चाडपर्वलाई मध्यनजर गरी पेट्रोलको मूल्य घटाइयो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले बुधबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले घटाएको हो । निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य भने यथावत राखिएको छ । नयाँ कायम मूल्यअनुसार आज रातिबाट काठमाडौं उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत, दाङमा १५८ रुपैयाँ र अन्य क्षेत्रमा १५६.५० रुपैयाँ कायम गरिएको छ । ‘इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आए पनि चाडपर्वलाई मध्यनजर गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्य वृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था गर्न खुद्रा बिक्री मूल्यलाई यथावत् कायम गरिएको छ,’ निगमले भनेको छ ।
५० रुपैयाँ दरका ४२ करोड नयाँ नोट छाप्दै राष्ट्र बैंक, डेढ अर्ब लागत लाग्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छाप्ने भएको छ । राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड नयाँ नोट छाप्न लागेको हो । राष्ट्र बैंकका अनुसार उक्त ५० रुपैयाँ दरका नोट छाप्नका लागि चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरिएको छ । बोलकबोल मार्फत उक्त कम्पनी छनोट गरिएको राष्ट्र बैंकले जनाएको छ । उक्त नोट छपाइको डिजाइन तथा छपाइका लागि १ अर्ब ४७ करोड रुपैयाँ भुक्तानी गर्ने सहमति भएको छ ।
सिँचाइका रूग्ण ठेक्का तोड्न सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिँदै
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रूग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु गरिएको छ । बबई सिँचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया-५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाइएको हो । आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७/७८ मा ठेक्का सम्झौता गरेको थियो । ६ वटा ठेक्कामध्ये चारको निर्माण प्रगति शून्य छ । एउटाको ३० र अर्कोको ५५ प्रतिशत प्रगति रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रूग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । आयोजनाले पटक-पटक सूचना प्रकाशन गर्दा समेत सम्झौता बमोजिम काम सुरु नगरी बीचैमा छोडी ठेक्काको म्याद समाप्त हुँदासम्म पनि काम सम्पन्न गर्नेतर्फ कुनै जासो नदिएको जनाएको छ । ठेक्का सम्झौता अन्त्य गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनु नपर्ने कुनै ठोस कारण भएमा १५ दिनभित्र प्रमाणसहित सम्बन्धित आधिकारिक व्यक्तिले आयोजना कार्यालयमा उपस्थित हुन बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । पेस गरिएका प्रमाण नियम सङ्गत भरपर्दो वा चित्त बुझ्दो नभएमा सम्झौता र सार्वजनिक खरिद कानुनमा भएको व्यवस्था बमोजिम कार्यसम्पादन जमानत तथा धरौटी बापत राखिएको रकम जफत र कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढ्नेछ । सिँचाइ विभाग अन्तर्गत राष्ट्रिय गौरवका भेरी बबई तथा सुनकोशी मरिण बहुउद्देश्यीय सहित २५ आयोजनाका ठेक्का रूग्ण छन् । त्यसमध्ये ६ वटाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो ।
आज देशभर मौसम सफा रहने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने छ । त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
नारायणी डेभलपमेन्ट बैंकको २ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको १ लाख ९२ हजार ७७७ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरका लागि विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीहरूले उक्त सेयर खरिदका लागि आवेदन नदिए सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकको केन्द्रीय कार्यालय भरतपुर महानगरपालिका–१० चितवनमा रहेको छ ।
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट
काठमाडौं । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन् । उक्त भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल भएको अमेरिकास्थित राजदूतावासले जनाएको छ । भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका सदस्य त्था विकास बैंकका उच्च कर्मचारीको सहभागिता रहेको थियो ।