विकासन्युज

सरकारले नीतिगत सुधार गर्छ, ढुक्कले जलविद्युतमा लगानी गर्नुस् : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ढुक्कले जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो आग्रह गरेका हुन् । उनले सरकारले जलविद्युत उत्पादनमा देखिएका समस्या समाधान गर्ने बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे । मुलुकको अवरोध गरेका सबै कुरालाई फुकाउँदै अगाडि बढेको बताए । सरकार निजी क्षेत्रसँग मिलेर नै अगाडि बढ्ने बताउँदै डर नमानी, खुट्टा नकमाई जलविद्युतमा लगानी गर्न आग्रह गरे । जलविद्युत उत्पादनमा समस्याहरु रहेको सरकारलाई जानकारी रहेको भन्दै समस्याको समाधान सरकारले गर्ने बताए । समृद्धि, सुशासन, रोजगारी सिर्जना गर्ने सरकार र निजी क्षेत्रको लक्ष्य एउटै रहेको बताए । सरकारले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले सरकारले पीपीए नरोक्ने बताए । उनले सरकारले लिएको लक्ष्य पूरा गर्नुको लागि पीपीए नरोकिने उल्लेख गरे । जलविद्युत उत्पादन क्षेत्रमा देखिएका समस्या समाधानको लागि नीतिमा सुधार गर्न तयार रहेको बताए । मुलुकलाई हेरेर समृद्धिका निम्ति ऐन संशोधन गरे अध्यादेश ल्याएको भन्दै राम्रो काम गर्नको लागि विवाद र रुवाबासी गर्न आवश्यक नभएको बताए । सरकार राम्रो कामको लागि आँखा चिम्लेर अगाडि बढ्ने उल्लेख गरे । ‘जलविद्युत उत्पादनमा समस्याहरु छन्,  तर समस्याको समाधान सरकारले नै गर्ने हो, सरकार र निजी क्षेत्र मिलेर नै समस्या समाधान गर्ने हो,’ उनले भने । उनले जलविद्युत क्षेत्रमा लगानी गर्न डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पारे । आन्तरिक खपतलाई पहिलो प्राथमिकता दिने र बाँकी रहेकोमात्रै बिजुली बेच्नुपर्ने धारणा राखे । उनले सरकारले राम्रा कामका लागि विभिन्न ऐन कानून बनाएको बताए ।

लगानीकर्ताले कसरी लिने कानुनी लाभ ?

धितोपत्र बजार जोखिम र सम्भावनाको पिङ हो । यहाँ हरेकले कमाउन र रमाउन सक्छन् तर अरूको देखासिकीमा नबुझी र नजानी प्रवेश गरेका प्रत्येक लगानीकर्ताले गुमाउने निश्चित छ । धितोपत्र बजार यस्तो ठाउँ हो, जहाँ १० प्रतिशतले कमाउने र ९० प्रतिशतले गुमाउने गर्छन् । यसैले कैयौँले यसलाई अपव्याख्या गरेर जुवाको सङ्ज्ञा दिएका छन् तर यो क्षेत्र त्यसो नभई जोखिमले भरिएको भरपुर खजाना हो । जानेर झिक्न सक्ने हो भने बहुमूल्य सम्पत्ति प्राप्त हुनेछ तर लहडमा दौडिन थाल्यौँ भने भएकै धन पनि गुम्ने पक्का छ । यस्तो बजारलाई व्यवस्थित र मर्यादित ढङ्गबाट सञ्चालन गर्न र बजारमा हुने अराजक गतिविधिलाई नियमन र नियन्त्रण गर्न राज्य वा नियामक निकायहरुले नीतिनियम बनाउने गर्दछन् । हरेक लगानीकर्तालाई कानुनको सीमाभित्र अवसरको पहिचान गरेर परिणामहरु प्राप्त गर्न सक्ने स्थान उपलब्ध गराइएको हुन्छ । तर ती सीमाभित्रका सम्भावनाहरु लगानीकर्ताले तब देख्न र बुझ्न सक्ने हुन्छन् जब त्यसको अध्ययन, अभ्यास र छलफलमा सहभागी हुने समय र आँटका लागि स्वयंले आफूलाई प्रोत्साहित गर्न थाल्छ । यसरी उत्साहित लगानीकर्तामध्ये गहिरो र गम्भीर ढङ्गबाट आफूलाई प्रस्तुत गर्नेहरुले त्यही नियमभित्र पनि अरूले भन्दा बढी फाइदाका छिद्र पहिल्याएका थुप्रै उदाहरण छन् । यस आलेखमा प्रचलित केही कानुनी व्यवस्थभित्र नबुझी लगानी गर्दा र बुझेर गर्दा एउटा लगानीकर्ताले कसरी तुलनात्मक रुपमा बढी लाभ लिन सक्छ भन्ने देखाउन खोजिएको छ । धितोपत्र कारोबार कमिसनसम्बन्धी व्यवस्था : लगानीकर्ताले धितोपत्रका उपकरण शेयर, डिबेञ्चर, बन्ड र म्युचुअल फन्ड आदिको कारोबार गर्दा धितोपत्र दलाल, नेपाल स्टक एक्सचेन्ज (नेप्से), धितोपत्र बोर्ड (सेबोन) र निक्षेप सदस्यहरुलाई विभिन्न किसिमको दस्तुर तिर्नुपर्ने हुन्छ । जुन कारोबार रकमका आधारमा निर्धारण हुने गर्छ । क) शेयर कारोबार : धितोपत्र बजारमा शेयर कारोबार रकम सीमाको आधारमा कमिसन तिर्नुपर्ने हुन्छ । ५० हजारसम्मलाई ०.३६ प्रतिशत, ५० हजारभन्दा माथि पाँच लाखसम्मलाई ०.३३ प्रतिशत, पाँच लाखभन्दा माथि २० लाखसम्मलाई ०.३१ प्रतिशत, २० लाखभन्दा माथि एक करोडसम्मलाई ०.२७ प्रतिशत र एक करोडभन्दा माथिको हकमा ०.२४ प्रतिशत रहेको छ । ख) बोन्ड र डिबेञ्चर कारोबार : धितोपत्र बजारमा कारोबार हुने नेपाल सरकार, राष्ट्र बैङ्क र कर्पोरेट संस्थाले जारी गरेका बन्ड र डिबेञ्चरको हकमा पाँच लाखसम्म ०.१० प्रतिशत वा १० जुन बढी हुन्छ सो बराबरको दस्तुर लाग्ने गर्छ । पाँच लाख एकदेखि ५० लाखसम्म ०.०५ प्रतिशत र ५० लाखभन्दा माथि ०.०२ प्रतिशत दस्तुर लाग्ने गरेको छ । ग) म्युचुअल फन्ड तथा अन्य धितोपत्र कारोबार : धितोपत्र बजारमा कारोबार हुने खुल्ला तथा बन्द मुखी म्युचुअल फन्ड र अन्य धितोपत्र उपकरण जुन माथि उल्लेख गरिएका छैनन्, त्यसको हकमा पाँच लाखसम्म ०.१५ प्रतिशत वा १० जुन बढी हुन्छ सो बराबरको दस्तुर लाग्ने गर्छ । पाँच लाख एकदेखि ५० लाखसम्म ०.१२ प्रतिशत र ५० लाखभन्दा माथि ०.१० प्रतिशत दस्तुर लाग्ने गरेको छ । धितोपत्र कारोबारमा लगानीकर्ताबाट लिइएको माथि उल्लेखित शत्प्रतिशत दस्तुरमध्ये ७९.४० प्रतिशत धितोपत्र दलाललाई, २० प्रतिशत नेप्सेलाई, ०.०६ प्रतिशत सेबोनलाई भाग लगाइन्छ । माथि उल्लेख गरिएबाहेक सेबोनलाई धितोपत्र हस्तान्तरणबापत थप शुल्क कारोबार रकमको ०.०१ प्रतिशत तिर्नुपर्ने हुन्छ । यस्तै, प्रतिस्टक प्रतिदिन हुने हस्तान्तरणका आधारमा डिपोजिटरी पाटिसिपेन्ट (डिपी) ट्रान्जेक्सन चार्ज २५ समेत लगानीकर्ताले आफूले धितोपत्र कारोबार गर्दा कमिसन तिर्नुपर्ने हुन्छ । लाभ : यस नियम नबुझेकाले भन्दा बुझेका लगानीकर्ताले विभिन्न अवस्थामा धितोपत्र कारोबार गर्दा लाग्ने कमिसन बचाउन सक्ने परिस्थिति हुन सक्छ । उदाहरणका रुपमा २० लाखको शेयर खरिद गर्दा ०.३१ प्रतिशत अर्थात् छ हजार दुई सय कमिसन तिर्नुपर्ने हुन्छ । तर २० लाख एकको शेयर खरिद गर्ने हो भने ०.२७ प्रतिशत अर्थात् पाँच हजार चार सय कमिसन तिर्नुपर्ने हुन्छ । यसरी एउटा कारोबारमा कमिसनबापत १२ प्रतिशत अर्थात् आठ सय बचाउन सकिन्छ । यस्तै, आफूले खरिद गरेको वा बिक्री गरेको धितोपत्रको कमिसनपछिको वास्तविक तिर्नुपर्ने वा पाउनुपर्ने रकम थाहा पाउन सकिन्छ । पुँजीगत लाभकरसम्बन्धी व्यवस्था : पुँजीगत लाभकरको दृष्टिले लगानीकर्तालाई संस्थागत र व्यक्तिगत गरी दुई किसिमले हेरेको देखिन्छ । व्यक्तिगत लगानीकर्ताको हकमा सम्बन्धित व्यक्तिले खरिद गरेर एक वर्षभन्दा लामो समय अवधि राखेर बिक्री गरेमा पुँजीगत लाभको पाँच प्रतिशत र एक वर्षभन्दा कम अवधि राखेर बिक्री गरेमा सात दशमलव पाँच प्रतिशतको दरमा पुँजीगत लाभकर लाग्ने व्यवस्था गरिएको छ । यस्तै, संस्थागत लगानीकर्ताहरुको हकमा जुनसुकै अवधिमा धितोपत्र बिक्री गरे तापनि पुँजीगत लाभ भएमा १० प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था रहेको छ । यस व्यवस्था जान्ने र कारोबारका क्रममा अभ्यासमा ल्याउने हो भने वास्तविक रुपमा पुँजीगत लाभकर बापत काटिएको रकम ठीक छ छैन थाहा पाउन सकिन्छ । यस्तै, व्यक्तिगत लगानीकर्ताले कारोबारका क्रममा समयलाई ख्याल नगर्दा पुँजीगत लाभमा बढी कर तिर्नु परेको हुन सक्छ, त्यसबाट लाभ लिन सकिन्छ । उदाहरणका रुपमा मानौँ कुनै शेयर खरिद गरेको तीन सय ६० दिनमा बिक्री गर्दा एक लाख पुँजीगत लाभ भए छभने सात दशमलव पाँच प्रतिशत पुँजीगत लाभकर अर्थात् सात हजार पाँच सय भुक्तानी गर्नुपर्छ तर त्यही शेयर तीन सय ६६ दिनमा बिक्री गरियो र एक लाख नै पुँजीगत लाभ भएछ भने पाँच प्रतिशत पुँजीगत लाभकर अर्थात् पाँच हजार भुक्तानी गर्दा पुग्छ । यसले के प्रस्ट गर्छ भने समयलाई ध्यान दिएर कारोबार गर्ने हो भने केही दिनको अन्तरालमा लगानीकर्ताले दुई दशमलव पाँच प्रतिशत अर्थात् एक लाख पुँजीगत लाभमा दुई हजार पाँच सय बचत गर्न सक्ने अवस्था बन्छ । शेयर धितो कर्जासम्बन्धी व्यवस्था : आफूसँग भएको शेयर बैङ्क तथा वित्तीय संस्थाहरुमा बन्धकी राखेर कर्जा लिने व्यवस्था नै शेयर धितो कर्जा हो । यसरी कर्जा लिनका लागि आफूसँग योग्य कम्पनीको शेयर छभने आफ्नो आवश्यकताअनुसार सम्बन्धित निकायमा आवेदन दिन सकिन्छ र उक्त वित्तीय संस्थाले आवेदक र धितोलाई योग्य ठानेमा कर्जा दिन सक्छ । यस्तो कर्जाको हकमा ५० लाखभन्दा कम भएमा पछिला एक सय ८० कार्यदिनको अन्तिम बजार मूल्यको औसत मूल्य वा त्यस दिनको अन्तिम बजार मूल्यमध्ये जुन कम छ त्यसको एक सय अङ्क भारका आधारमा कर्जा दिन सकिने व्यवस्था गरिएको छभने ५० लाखभन्दा बढीको हकमा ७० अङ्क भारका आधारमा कर्जा दिन सकिने व्यवस्था गरिएको छ । यसको अर्थ कर्जा लिन चाहने व्यक्तिले आफ्नो शेयर सुरक्षण गर्दाको बखत मूल्याङ्कन गरिएको चलनचल्तीको दरभाउको निश्चित प्रतिशत कर्जा पाउने गर्दछ । यसको अवधि एक वर्षको हुने गर्दछ । त्यसपछि नविकरण गर्न सकिन्छ । यसैले मूल्याङ्कित शेयर धितो राखेर ५० लाखसम्मको हकमा एक सय प्रतिशत र ५० लाखभन्दा माथिको हकमा ७० प्रतिशतसम्म कर्जा प्रवाह हुने व्यवस्था नै शेयर धितो कर्जा हो । यस्तो कर्जा भुक्तानी गरेर धितो फुकुवा नभई शेयर बिक्री गर्ने गरेमा ‘क्लोजआउट’ बापत जरिवानासमेत तिर्नुपर्ने हुन्छ । लामो समयका लागि लगानी गर्ने व्यक्तिहरुको हकमा शेयर कर्जा उपयुक्त हुने देखिन्छ । शेयर धितो कर्जाका सम्बन्धमा जानकारी हुँदा कति कर्जा लिनका लागि कति शेयर सम्पत्ति आवश्यक छ थाहा पाउन सकिन्छ । यसको तुलनात्मक लाभहरु लिन सकिन्छ । उदाहरणका रुपमा रु ५० लाखको कर्जा लिने हो भने ५० लाख बराबरको शेयर सम्पत्ति मूल्याङ्कन भए पुग्छ । तर ५० लाख एकको कर्जा लिने हो भने रु ७१ लाख ४२ हजार आठ सय ५९ बराबरको शेयर सम्पति मूल्याङ्कन आवश्यक हुन्छ । यसको अर्थ के हो भने रु ५० लाखसम्मको कर्जाका लागि जति कर्जा लिने हो सो बराबरको शेयर सम्पत्तिको मूल्याङ्कन भए पुग्छ तर त्यसभन्दा माथि एक मात्रै थपिने हो भने पनि शेयर सम्पत्ति मूल्याङ्कनको ७० प्रतिशत मात्रै कर्जा पाउने अवस्था हुन्छ । यसैले यस्तो अवस्थामा त्यति नै धितो राखेर आफूलाई बढी कर्जा चाहिएको छभने आफ्नो नाममा ५० लाख र अन्य परिवारका सदस्यका नामबाट बाँकी शेयर किनेर उक्त शेयरलाई धितो राखेर रु २१ लाख ४२ हजार आठ सय ५९ थप कर्जा लिन सकिन्छ । मार्जिन कर्जासम्बन्धी व्यवस्था : नेपाल धितोपत्र बोर्ड र नेप्सेले जारी गरेका ‘मार्जिन’ कारोबार सुविधासम्बन्धी निर्देशन, २०७४ र ‘मार्जिन’ कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ मा भएको कानुनी व्यवस्थाभित्र रहेर ‘मार्जिन’ कर्जा कारोबार गर्न योग्य दलाल व्यवसायीमार्फत योग्य कम्पनीका धितोपत्र उपकरणका हकमा ‘मार्जिन’ कारोबार सुविधा दिनुपर्ने व्यवस्था गरेको छ । ‘मार्जिन’ कर्जा लिएर धितोपत्र खरिद गर्दा पछिल्ला एक सय ८० कार्यदिनको अन्तिम बजार मूल्यको औसत मूल्य वा त्यस दिनको अन्तिम बजार मूल्यमध्ये जुन कम छ त्यसको निश्चित प्रतिशतले हुन आउने रकम लगानीकर्तासँग आदेश पूर्व नै सुरु ‘मार्जिन’ दिन लगाएर बाँकी स्वयं ‘मार्जिन’ कर्जा दिनयोग्य दलाल व्यवसायी आफँैले खरिदकर्ताका तर्फबाट बिक्रेतालाई भुक्तानी गरिदिने गरी गरिने कर्जा सुविधा नै ‘मार्जिन’ कर्जा हो । यसरी किनिएको धितोपत्रको बजार मूल्य घट्दै गएमा दलाल व्यवसायीले अपुग रकम बराबरको ‘मार्जिन’ कल सम्बन्धित खरिदकर्तालाई जाने गर्दछ । यस्तो ‘मार्जिन’ समयमा तिर्न नसक्ने वा नटेर्ने लगानीकर्ताको हकमा दलाल व्यवसायीले उक्त धितोपत्र बिक्री गर्न सक्छ । ‘मार्जिन’ कर्जामा तोकिएकोे भुक्तानी गरेर शत्प्रतिशतको धितोपत्र खरिद गर्न सकिन्छ भने शेयर धितो कर्जामा शत्प्रतिशत शेयर बन्धकी राखेर तोकिएको प्रतिशत कर्जा मात्रै पाउन सकिन्छ । उदाहरणका रुपमा ‘मार्जिन’ कर्जालाई प्रयोग गरेर तपाईसँग ३० छ भने एक सयको धितोपत्र खरिद गर्न सक्नुहुन्छ । यसको अर्थ के हो भने खरिद पूर्व ३० प्रतिशत ‘मार्जिन’ भुक्तानी गरेर त्यसको एक सय प्रतिशतको धितोपत्र सम्पत्ति खरिद गर्ने सुविधा ‘मार्जिन’ कर्जाले दिने गर्छ । यसले लगानीकर्तासँग थोरै रकम हुँदा समेत धेरै शेयर किन्न सक्ने र जोखिम लिन सक्ने अवसर सिर्जना गर्छ । धितोपत्र बिक्री गर्न शेयर धितो कर्जामा जस्तो फुकुवा गरिरहनु पर्दैन । कारोबारी वा छोटो अवधिका लागि लगानी गर्नेहरुको हकमा यो कर्जा सुविधा धेरै उपयुक्त देखिन्छ । बजारमा धितोपत्रको कारोबार वृद्धि गर्न मद्दत गर्नसक्ने देखिन्छ । यसरी हेर्ने हो भने लगानीमा सफलता हात पार्न हरेक लगानीकर्ताले भइरहेका कानुनी व्यवस्थाहरुको सूक्ष्म अध्ययन गर्ने बानी बसाल्नु आवश्यक छ । यस्तो स्वभावले कानुनभित्र रहेका अवसर पहिल्याएर अन्य लगानीकर्ताले भन्दा थप फाइदा उठाउन सक्ने वातावरण सिर्जना हुन्छ । माथि भनिए जस्तै लगानीको लागत घटाएर, जरिवाना जोगाएर, तिर्नुपर्ने कमिसन कानुनतः कम तिरेर र विभिन्न कर्जाको तुलनात्मक लाभ उठाएर एउटा लगानीकर्ताले चिल, बाज जस्तै आफ्नो सम्पत्तिको उडान भर्न सक्ने कानुनी घेराभित्र प्रचुर आधार हुनेगर्छ । यसैले समृद्ध बन्न चाहने हरेक लगानीकर्ताले राज्य र नियामकले बनाएको कानुन पढेर, बुझेर अनुशासनसहित अभ्यासमा ल्याएर जसरी सुन्तला निचोरेर रस निकालिन्छ त्यसरी नै कानुनी व्यवस्थालाई निचोरेर लगानीमा प्रतिफलको जुस निकाल्न सक्नु नै सफल बन्ने मूल मार्ग हो । रासस (लेखक धितोपत्र बजारका जानकार हुन्)

प्रधानमन्त्रीको आग्रह- विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौं, आफैआफै उठाएर ठूला आयोजना बनाऔं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई ऊर्जामा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ औं वार्षिकोत्सव ‘इप्पान रजतजयन्ती, २०८१’ को अवसरमा उनले ठूला ठूला आयोजनाहरूमा लगानी गर्न आग्रह गरे । ‘तपाईंहरू लगानी गर्नुस् । अरूलाई ल्याउँदै खोला दिँदै गरिरहनुपर्दैन,’ उनले भने, ‘अप्पर अरुण अरूले पैसा नदिने भएर समस्या भएको हो । आफैआफै उठाऔं न । ठूलो कुरा मानिसहरूको सहभागिता हो । ठूला ठूला आयोजना विदेशी सहायताले चलेका छैनन्।’ प्रधानमन्त्री ओलीले ऊर्जा उत्पादक निजी क्षेत्रलाई देशका लागि केही गरेको भन्दै आभार व्यक्त गरे । ‘देशलाई विकासको बाटोमा लैजाने कुरामा खर्च गर्नु भएको छ । यो राष्ट्रिय भावनालाई सम्मान छ । कति मान्छेले हुन्डि गरेर पैसा बाहिर पुर्‍याउन खोजेका हुन्छन् । तपाईंहरूले यहि लगानी गरेर देशको विकास गर्न खोज्नु भयो । गर्‍यो भने हुन्छ भन्ने सफलताका कथाहरू भनिरहनु भएको छ,’ उनले भने, ‘९५ प्रतिशत माथि विद्युतीकरण भइसकेको छ । ग्रीन हाइड्रोजनमा अध्ययन भइरहेको छ । हामी काम गर्न सक्छौ ।’ उनका अनुसार ऊर्जा बिक्रीको जुन चिन्ता छ, त्यो चिन्ता गर्न पर्ने विषय होइन् । ‘ऊर्जाले खपतका ठाउँहरु आफै बनाउँछ । धौवादीबाट फलाम खानी उत्खनन हुँदैछ । त्यहाँबाट उत्खनन गरेर फलाम बनाउने हो । ऊर्जा नभए कुटोले उत्खनन गर्न सकिँदैन,’ उनले भने, ‘मल उद्योग खोल्नुछ । अरू उद्योगहरू ब्युँताउनुपर्नेछ । विभिन्न मोडल अपनाएर चलाउनुपर्नेछ । त्यसका लागि ऊर्जा चाहिन्छ ।’ प्रधानमन्त्री ओलीले जनकपुर चुरोट कारखाना कसले खायो ? भन्दै प्रश्न गरे । ‘ ५०० कर्मचारीले ले काम हुने ठाउँमा २७०० कर्मचारी भयो । ६ महिनामा सरकार परिवर्तन हुने भयो । सबै मन्त्रीले आफ्ना मान्छे जागिरमा लगाउने भए । ओभर स्टाफिङका कारणक उद्योग नै समाप्त भयो । कारण अरु पनि छन्,’ उनले भने, ‘प्राकृतिक रूपले सम्पन्न छौं । विकास चाहिन्छ वातावरण चाहिन्छ । इकोसिस्टम कायम राख्नु छ। सँगसँगै विकास पनि गर्नुछ । ‘ उनले मान्छे पस्न नपाउने वन के काम ? भन्दै प्रश्नसमेत गरे । ‘नीतिहरू काम गर्नका लागि हुन रोक्नका लागि होइन । ऊर्जामा रहेका समाधान गर्न सरकार तत्पर छ ,’ उनले भने, ‘नागरिकको लगानी डुबे डुबोस भन्ने हुँदैन ।’

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौं । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । फसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ । न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भने, ‘अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेको छ । खानदोषी ठहरिएका छन् ।’ खानकी पत्नी बीबीलाई सात वर्षको जेल सजाय सुनाइएको छ । भ्रष्टाचार विरोधी अदालतले खानलाई राखिएको राजधानी इस्लामावाद नजिकैको जेलमा भएको सुनुवाईपछि फैसला सुनाएको हो । उनीहरूले मिलेर स्थापना गरेको अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख छ । खान सन् २०२३ को अगष्टदेखि जेलमा छन् र उनीमाथि करिब २०० वटा मुद्दा लगाइएका छन् । ती मुद्दा उनीलाई सत्तामा फर्कनबाट रोक्नका लागि राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दावी खानले गरेका छन् । उनकी पत्नी बुशरा बीबी हालसालै जेलबाट रिहा भएको थियो भने उनलाई फैसलापछि शुक्रबार अदालतबाटै पक्राउ गरिएको छ । शुक्रबार बिहान अदालतको सुनुवाइमा भाग लिन उनी खानलाई राखिएको जेलमा उपस्थित भएका थिए ।

आमाको दूधलाई प्रतिस्थापन गर्ने आहार नबेच्न निर्देशन

काठमाडौं । जनस्वास्थ्य कार्यालय काठमाडौंले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु  बिक्री-वितरण नगर्न निर्देशन दिएको छ । कार्यालयले बजारमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री-वितरण भइरहेको पाइएकाले सो कार्य बन्द गर्न आग्रह गरेको हो । कार्यालयकी जनस्वास्थ्य अधिकृत अनिता खनालले बजारमा आमाको दूध प्रतिस्थापन गर्न विभिन्न आहार र खाद्यपदार्थ बिक्री वितरण गरिएको पाइकाले सो कार्य रोक्न निर्देशन दिएको जानकारी दिइन् । आमाको दूधमा शिशुका लागि आवश्यक सबै प्रकारका पोषण तत्व पाइने तथा पोसिलो र रोग प्रतिरोधको क्षमता बढाउने महत्वपूर्ण आहार भएकाले त्यसको विकल्पमा कुनै पनि खाद्य, आहार तथा बजारमा पाइने दूध हुन नसक्ने अधिकृत खनालले बताइन् । ‘विभिन्न औषधि पसल तथा अन्य पसलमा विभिन्न ‘ब्रान्ड’का आमाको दूध प्रतिस्थापन गर्ने वस्तु प्रदर्शन गर्ने र सामाजिक सञ्जालको माध्यमबाट उक्त वस्तुलाई प्रवद्र्धन गर्ने गरेको पाइएको छ’, उनले भनिन् । कार्यालयले आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको (बिक्री–वितरण नियन्त्रण) ऐन २०४९ तथा नियमावली २०५१ को पालना गर्न तथा आमा र शिशुको स्वास्थ्य अधिकार प्रवद्र्धन गर्न सबैलाई आग्रह गरेको छ ।

२ अर्बको सम्पत्ति जफत गर्दै गृहमन्त्रालय, भ्रष्टाचारीको सम्पत्ति सरकारका नाममा ल्याउने

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ । त्यस क्रममा सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाइएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले जानकारी दिए । ‘पाँच जना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट एक भारतीले नेपालमा खरिद गरेको घरजग्गा जफतका लागि प्रस्ताव पठाइएको छ’, उनले भने, ‘हामीले अदालतबाट सोसम्बन्धी भएका फैसलाको लगत सङ्कलनका लागि शाखा अधिकृतको नेतृत्वमा पाँच वटा समूह बनाएर खटाएका छौँ ।’ महानिर्देशक पन्थीले सम्पत्ति जफतसम्बन्धी विभिन्न अदालतबाट तीन हजार पाँच सय फैसला भएको जानकारी दिए । उनले दुई अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफतको तयारी भइरहेको बताए । पहिलो चरणमा पाँच पूर्वप्रशासकले भ्रष्टाचारबाट आर्जन गरेको काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेको सम्पत्ति जफतको प्रक्रिया अघि बढाइएको जानकारी दिए । अदालतबाट फैसला भई जफत गर्नुपर्ने घरजग्गा लामो समयदेखि कसुरदारले नै प्रयोग गर्दै आएको अवस्थामा मन्त्रालयले जफत गर्ने कार्यलाई सक्रियताका साथ अघि बढाएको गृहमन्त्रालयले जनाएको छ । कसुरजन्य सम्पत्ति जफतसम्बन्धी ऐनअनुसार सर्वोच्चबाट फैसला भएका घरजग्गा जफत गरी सरकारका नाममा ल्याउने कार्य तीव्र गतिमा बघि बढाइने महानिर्देशक पन्थीको भनाइ छ । विभागका अनुसार पूर्वप्रशासक, कर्मचारी तथा परिवारका सदस्यहरू, आमोनन्द मिश्र, सरस्वती ढुङ्गाना, मुरारीबहादुर कार्की, केशरजङ्ग खड्का र रामात्रा चतुर्वेदीको काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका घरजग्गा जफत गर्ने प्रक्रिया मन्त्रिपरिषद्मा पुगेको हो । यस्तै, आपराधिक गतिविधिबाट एक भारतीले नेपालमा खरिद गरेको घरजग्गा पनि जफतका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको छ । विगतमा आपराधिक गतिविधिमा संलग्न भारतको असाम राज्यका निरञ्जन होजाइले नेपाली महिलाका नाममा काठमाडौंको जोरपाटीमा राखेको जग्गा र घर जफतका लागि गृह मन्त्रालयले अघि बढाएको हो । डेढ वर्षअघि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले सो घर खाली गराए पनि सरकारको नाममा आउन नसकेको महानिर्देशक पन्थीले बताए । ‘होजाइसँग विवाह गरेकी सरिता गिरीको नाममा सो घरजग्गा छ’, उनले भने, ‘होजाइले नेपालमा निर्मल राईका नाममा नागरिकता लिई आफ्नो पहिचान लुकाएर आतङ्कवाद/आपराधिक गतिविधिको पैसा ल्याएका थिए । सिन्धुपाल्चोककी सरितासँग बिहे गरी उनी र उनको परिवारका नाममा सम्पत्ति लुकाएको अनुसन्धानमा भेटिएपछि मुद्दा दायर भएको थियो ।’ महानिर्देशक पन्थीले कसुरजन्य सम्पत्ति जफतको कामलाई तीव्रता दिइने बताए । जफतको ठहर भएका घरजग्गा लिलामी गर्ने वा सरकारका नाममा ल्याउने दुवै विकल्प कानुनले दिएको छ । भ्रष्टाचारसम्बन्धी मुद्दामा जफत गर्न लागिएका घरजग्गा भने सरकारका नाममा ल्याएर सरकारी प्रयोजनमा प्रयोग गरिने विभागले जनाएको छ । रासस

दैलेखमा ग्यास भण्डारण र प्रशोधनको काम अगाडि बढ्ने

दैलेख । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणको ‘ड्रिलिङ’ कार्य सम्पन्न भएसँगै निस्किएको नमूना लिएर प्राविधिक विज्ञ टोली चीन फर्किएको छ । गत वैशाख २३ गतेदेखि सुरु गरिएको ड्रिलिङ कार्यबाट भेटिएको नमूना लिएर विज्ञ टोली चीन गएको हो । खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ कार्य सकिएसँगै त्यसबाट आएका नमूना ‘स्याम्पल’ लिएर चीनको प्राविधिक टोली फर्किएको बताए । उनले भने, ‘विज्ञहरूले चार हजार एक सय तीन सय मिटर गहिराइसम्म खन्दा दुई/दुई मिटरको फरकमा गहिराइबाट गिट्टी र बालुवाको नमूना सङ्कलन गरिएको थियो । प्राप्त नमूनालाई सङ्कलन गरी सोर्स रक, रिजर्भ वायर रक र सिल रक थप अध्ययनका लागि मालवाहक गाडीमा ढुवानी गरेर टोली चीन फर्किएको छ ।’ पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको ड्रिलिङ कार्य सकिएपछि केसिङ र सिमेन्टको काम सकिएको भूगर्भविद् लुइँटेलले बताए । उनले पेट्रोलियम पदार्थको अन्वेषणका लागि चीनबाट आएको ३५ जनाको प्राविधिक टोलीमध्ये १५ जना मात्र जलजलेमा रहेका र अन्य सबै फर्किएको जानकारी दिए । तीन महिनापछि उत्खननका लागि ग्यास भण्डारण र प्रशोधनको काम अगाडि बढाउन सकिने उनले बताए । भूगर्भविद् लुइँटेलले भने, ‘पहिलो चरणमा चिनियाँ प्राविधिकहरूले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए । त्यसैका आधारमा ड्रिलिङका लागि रिङ हाउस निर्माण गरी काम सुरु भएको थियो । खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुने र त्यसपछि मात्र उत्पादनको आवश्यक काम अगाडि बढ्ने छ ।’ दैलेखको शिरस्थान नाभिस्थान पादुका स्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग नेपाल सरकारले सन् २०१९ फेब्रुअरी २८ मा सम्झौता गरेको थियो । सुरुआतमा तीन वर्षभित्र तीन चरणमा काम सक्नेगरी सम्झौता भए पनि कोरोना महामारीका कारण सम्झौताअनुसार काम हुन सकेको थिएन । चीन सरकारको दुई अर्ब ५० करोड रुपैयाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण गरिएको हो । रासस

सुकेधारामा सुविधासम्पन्न पाँच तारे होटल मर्क्योर (भिडियो स्टोरी)

काठमाडौं । काठमाडौंको चक्रपथ (रिङरोड) परिक्रमा गर्दा जोसुकैले पनि सहजै देख्न सक्छन् सुकेधारमा ठडिएको विशाल महल । सुकेधाराको मुहार नै परिवर्तन गर्ने गरी ठडिएको यो महल नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित) ले एकल लगानीमा सञ्चालनमा ल्याएको पाँच तारे होटल ‘‘मर्क्योर’ हो । करिब ५ वर्ष समय खर्चेर बनेको उक्त होटललाई विश्व प्रसिद्ध चेन ब्राण्ड ‘मर्क्योर बिहीबारदेखि सञ्चालनमा ल्याएको हो । पर्यटन व्यवसायी देशबन्धु बस्नेतको ३ अर्ब रुपैयाँ लगानीमा स्थापना भएको यो होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी मर्क्योर ग्रुपले सम्हालेको हो । ‘मर्क्योर होटलका हरेक कोठामा काठमाडौंको भावना भरिएको र पाहुनाहरूले अत्याधुनिक सुविधा, प्राकृतिक प्रकाश र फराकिलो दृश्यावलीसहित सहरवरपरका डाँडाकाँडा र शानदार हिमालहरुका मनोरम दृश्यहरू देख्नेछन् । परम्परागत नेपाली सजावटसँग आधुनिक डिजाइन मिसिएको भित्री भागहरूले यस ठाउँको समृद्ध सम्पदा झल्काउने आत्मीय वातावरण सिर्जना गरेको छ । होटलको अर्को आकर्षण भनेको विविधतायुक्त पकवानहरूको अनुभव पनि हो । दिनभरि चल्ने भोजन रेस्टुरेन्ट (डीवाईएनई) डाइनले अन्तर्राष्ट्रिय क्लासिकदेखि प्रामाणिक स्थानीय स्वादसम्मको मेनु प्रदान गर्दछ । सोप्रा इटालियनले अथेन्टिक इटालियन खाना प्रदान गर्दछ भने जाइकाले परम्परागत भारतीय खाना र यसका मसलाहरुको बास्ना प्रदान गर्दछ । थप आरामदायी वातावरण खोज्नेहरुका लागि शुक्रबारले भित्री र बाहिरी दुवै सिटहरू भएको रुफटप लाउन्ज सेटिंग प्रदान गर्दछ । पाहुनाहरूले होटलको रुफटप इन्फिनिटी पुलमा काठमाडौं उपत्यकाका दृश्यहरू हेर्दै आराम गर्न सक्नेछन् भने स्टिम र साउना सुविधासहितको अत्याधुनिक फिटनेस सेन्टरमा आफूलाई रिचार्ज गर्न पनि सक्नेछन् । आफ्नो बसाइको समयमा पाहुनाहरूले यी सुविधाहरू लिन सक्छन् । मर्क्याेर होटलले विवाहदेखि कर्पोरेट बैठक र सामाजिक उत्सवहरुसम्मका कार्यक्रम र जमघटहरुको लागि उपयुक्त स्थान पनि प्रदान गर्दछ । समर्पित कार्यक्रम टोलीले एक निर्वाध र यादगार अनुभव प्रदान गर्दै प्रत्येक अवसरलाई पूर्ण बनाउने छन् । ‘मर्क्याेर होटलले प्रत्येक स्थानको सम्पदा प्रवर्द्धन गर्ने लक्ष्यलाई मूर्त रूप दिएको छ, ’ एकोरका प्रिमियम, मिडस्केल र इकोनोमी डिभिजन, एसियाका चिफ अपरेटिङ अफिसर गार्थ सिमन्सले भने, ‘मक्याेरसँग सहकार्य गरी यो सम्मानित ब्रान्डलाई नेपालमा ल्याउन पाउँदा हामी गौरवान्भित र्छौं ।’ द मेट्रोपोलिटन होटल प्रालिका अध्यक्ष देशबन्धु बस्नेत (अजित)ले नेपालको जीवन्त संस्कृति र परम्परालाई अँगाल्दै असाधारण आतिथ्य प्रदान गर्ने हाम्रो साझा दृष्टिकोण अनुसार यो साझेदारी गरिएको बताए । सन् १९७३ मा स्थापना भएदेखि मर्क्याेर पाहुनाहरूका लागि एक इमर्सिभ अनुभव सिर्जना गर्दै प्रत्येक गन्तव्यका सम्पदाहरू प्रवर्द्धन गर्न समर्पित छ । ६० भन्दा बढी देशहरूमा एक हजारभन्दा बढी होटलहरूको विश्वव्यापी पोर्टफोलियो भएको र २२० भन्दा बढी अन्य संरचना विकास गर्दै गरेको मर्क्याेर प्रत्येक गन्तव्यका मौलिकता प्रवर्द्धन गरिरहेको होटलको दाबी छ । मक्याेरमा पाँच किसिमका गरी १०४ वटा कोठा छन्- सुपर स्विट, जुनियर स्विट, एक्जुकेटिभ स्विट, स्ट्यान्डर्ड किङ र स्ट्यान्डर्ड क्वीन । हरेक कोठाका सुविधा फरक छन् । विश्वप्रशिद्ध मर्क्याेर ब्राण्डमा पाँच तारे होटल सञ्चालनमा ल्याएका बस्नेतले इटहरीमा पनि विश्वप्रसिद्ध अमेरिकी चेन होटल ब्राण्ड ‘रमडा’ लाई भित्र्याएका छन् । व्यवसायी बस्नेतको एकल लगानीमा इटहरीमा निर्माणाधीन ग्राण्ड सेन्ट्रल होटल ‘रमडा’ पनि २०२५ बाटै सञ्चालनमा आउने बताएका छन् ।