प्रधानमन्त्रीको आग्रह- विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौं, आफैआफै उठाएर ठूला आयोजना बनाऔं

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई ऊर्जामा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ औं वार्षिकोत्सव &#8216;इप्पान रजतजयन्ती, २०८१&#8217; को अवसरमा उनले ठूला ठूला आयोजनाहरूमा लगानी गर्न आग्रह गरे । &#8216;तपाईंहरू लगानी गर्नुस् । अरूलाई ल्याउँदै खोला दिँदै गरिरहनुपर्दैन,&#8217; उनले भने, &#8216;अप्पर अरुण अरूले [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई ऊर्जामा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ औं वार्षिकोत्सव ‘इप्पान रजतजयन्ती, २०८१’ को अवसरमा उनले ठूला ठूला आयोजनाहरूमा लगानी गर्न आग्रह गरे ।

‘तपाईंहरू लगानी गर्नुस् । अरूलाई ल्याउँदै खोला दिँदै गरिरहनुपर्दैन,’ उनले भने, ‘अप्पर अरुण अरूले पैसा नदिने भएर समस्या भएको हो । आफैआफै उठाऔं न । ठूलो कुरा मानिसहरूको सहभागिता हो । ठूला ठूला आयोजना विदेशी सहायताले चलेका छैनन्।’

प्रधानमन्त्री ओलीले ऊर्जा उत्पादक निजी क्षेत्रलाई देशका लागि केही गरेको भन्दै आभार व्यक्त गरे ।

‘देशलाई विकासको बाटोमा लैजाने कुरामा खर्च गर्नु भएको छ । यो राष्ट्रिय भावनालाई सम्मान छ । कति मान्छेले हुन्डि गरेर पैसा बाहिर पुर्‍याउन खोजेका हुन्छन् । तपाईंहरूले यहि लगानी गरेर देशको विकास गर्न खोज्नु भयो । गर्‍यो भने हुन्छ भन्ने सफलताका कथाहरू भनिरहनु भएको छ,’ उनले भने, ‘९५ प्रतिशत माथि विद्युतीकरण भइसकेको छ । ग्रीन हाइड्रोजनमा अध्ययन भइरहेको छ । हामी काम गर्न सक्छौ ।’

उनका अनुसार ऊर्जा बिक्रीको जुन चिन्ता छ, त्यो चिन्ता गर्न पर्ने विषय होइन् । ‘ऊर्जाले खपतका ठाउँहरु आफै बनाउँछ । धौवादीबाट फलाम खानी उत्खनन हुँदैछ । त्यहाँबाट उत्खनन गरेर फलाम बनाउने हो । ऊर्जा नभए कुटोले उत्खनन गर्न सकिँदैन,’ उनले भने, ‘मल उद्योग खोल्नुछ । अरू उद्योगहरू ब्युँताउनुपर्नेछ । विभिन्न मोडल अपनाएर चलाउनुपर्नेछ । त्यसका लागि ऊर्जा चाहिन्छ ।’

प्रधानमन्त्री ओलीले जनकपुर चुरोट कारखाना कसले खायो ? भन्दै प्रश्न गरे । ‘ ५०० कर्मचारीले ले काम हुने ठाउँमा २७०० कर्मचारी भयो । ६ महिनामा सरकार परिवर्तन हुने भयो । सबै मन्त्रीले आफ्ना मान्छे जागिरमा लगाउने भए । ओभर स्टाफिङका कारणक उद्योग नै समाप्त भयो । कारण अरु पनि छन्,’ उनले भने, ‘प्राकृतिक रूपले सम्पन्न छौं । विकास चाहिन्छ वातावरण चाहिन्छ । इकोसिस्टम कायम राख्नु छ। सँगसँगै विकास पनि गर्नुछ । ‘

उनले मान्छे पस्न नपाउने वन के काम ? भन्दै प्रश्नसमेत गरे । ‘नीतिहरू काम गर्नका लागि हुन रोक्नका लागि होइन । ऊर्जामा रहेका समाधान गर्न सरकार तत्पर छ ,’ उनले भने, ‘नागरिकको लगानी डुबे डुबोस भन्ने हुँदैन ।’

Share News