काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ढुक्कले जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो आग्रह गरेका हुन् ।
उनले सरकारले जलविद्युत उत्पादनमा देखिएका समस्या समाधान गर्ने बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे । मुलुकको अवरोध गरेका सबै कुरालाई फुकाउँदै अगाडि बढेको बताए । सरकार निजी क्षेत्रसँग मिलेर नै अगाडि बढ्ने बताउँदै डर नमानी, खुट्टा नकमाई जलविद्युतमा लगानी गर्न आग्रह गरे । जलविद्युत उत्पादनमा समस्याहरु रहेको सरकारलाई जानकारी रहेको भन्दै समस्याको समाधान सरकारले गर्ने बताए ।
समृद्धि, सुशासन, रोजगारी सिर्जना गर्ने सरकार र निजी क्षेत्रको लक्ष्य एउटै रहेको बताए । सरकारले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले सरकारले पीपीए नरोक्ने बताए ।
उनले सरकारले लिएको लक्ष्य पूरा गर्नुको लागि पीपीए नरोकिने उल्लेख गरे । जलविद्युत उत्पादन क्षेत्रमा देखिएका समस्या समाधानको लागि नीतिमा सुधार गर्न तयार रहेको बताए । मुलुकलाई हेरेर समृद्धिका निम्ति ऐन संशोधन गरे अध्यादेश ल्याएको भन्दै राम्रो काम गर्नको लागि विवाद र रुवाबासी गर्न आवश्यक नभएको बताए । सरकार राम्रो कामको लागि आँखा चिम्लेर अगाडि बढ्ने उल्लेख गरे ।
‘जलविद्युत उत्पादनमा समस्याहरु छन्, तर समस्याको समाधान सरकारले नै गर्ने हो, सरकार र निजी क्षेत्र मिलेर नै समस्या समाधान गर्ने हो,’ उनले भने ।
उनले जलविद्युत क्षेत्रमा लगानी गर्न डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पारे । आन्तरिक खपतलाई पहिलो प्राथमिकता दिने र बाँकी रहेकोमात्रै बिजुली बेच्नुपर्ने धारणा राखे । उनले सरकारले राम्रा कामका लागि विभिन्न ऐन कानून बनाएको बताए ।