अब धरहराको टिकट ‘आईएमई पे’ बाटै काट्न सकिने
काठमाडौं । ‘आईएमई पे’ बाटै धरहराको टिकट काट्न सकिने भएको छ । केन्द्रीय आयोजना कार्यान्वयन इकाइद्वारा सञ्चालित धरहराको वेबसाइट मार्फत सेवाग्राहीले अनलाइन टिकट खरिद गर्न सक्नेछन् । टिकट खरिद गर्न भ्रमण मिति, समय र टिकट संख्या बुक गरी भुक्तानी गर्ने बेला आईएमई पे छनोट गरी टिकट बुक गर्न सकिने आईएमई पेले जनाएको छ । संविधान दिवसको दिनदेखि नव निर्मित धरहरा चढ्न प्रवेशमा शुल्क लागु गरिएको थियो ।
महिला शिक्षित हुँदा चीनको जनसङ्ख्या घट्यो
काठमाडौं । छ दशकभन्दा बढीको जनसङ्ख्या वृद्धिपछि जनसङ्ख्या घट्दो क्रममा रहेको चीनको जनसङ्ख्या सन् २०२४ मा लगातार तेस्रो वर्ष जनसङ्ख्या घटेको र छ दशकभन्दा बढीको जनसङ्ख्या वृद्धिपछि घट्दो क्रममा रहेको बताएको छ । कुनै समय विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश चीनलाई सन् २०२३ मा भारतले उछिनेको थियो र बेइजिङले अनुदान र प्रजनन पक्षधर प्रचारप्रसारमार्फत घट्दो जन्मदरलाई बढावा दिन चाहेको थियो । सन् २०२३ मा एक अर्ब ४१ करोड जनसङ्ख्या रहेको चीनको जनसङ्ख्या सन् २०२४ को अन्त्यसम्ममा एक अर्ब ४० करोड ८० लाख पुगेको बेइजिङको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ । सन् २०२२ को तुलनामा यो गिरावट कम तीब्र रहेको तथ्याङ्कले देखाएको छ । चीनले सन् १९८० को दशकमा अत्यधिक जनसङ्ख्याको डरका कारण लागू गरेको ‘एक सन्तान नीति’ सन् २०१६ मा अन्त्य गरेको थियो र सन् २०२१ मा एक दम्पतीले तीन सन्तान जन्माउन पाउने बनाएको थियो । तर यसले लामो समयदेखि आर्थिक वृद्धिको चालकको रूपमा आफ्नो विशाल श्रमशक्तिमा निर्भर रहेको देशको जनसाङ्खिकीय गिरावटलाई उल्टाउन असफल भएको छ। धेरैले जन्मदर घट्नुको मुख्य कारण जीवनयापनको बढ्दो लागतका साथै श्रमशक्तिमा जाने र उच्च शिक्षा हासिल गर्ने महिलाको बढ्दो सङ्ख्या रहेको बताएका छन् । ‘इकोनोमिस्ट इन्टेलिजेन्स युनिट’का अनुसार सन् २०३५ सम्ममा चीनको कूल जनसङ्ख्याको करिब एक तिहाइ जनसङ्ख्या ६० वर्षमाथिको मानिसको हुनेछ । शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अहिले ६० वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसङ्ख्या ३१ करोड ३१ लाख पुगेको छ । यो देशको एक चौथाइभन्दा केही प्रतिशत मात्र कम हो र सन् २०२३ मा रेकर्ड गरिएको करिब २९ करोड ७० लाखभन्दा केही प्रतिशत बढी हो । तथ्याङ्कले चीनको जन्मदर विश्वमा सबैभन्दा कम जन्मदर भएका मुलुकको अघिल्लो वर्षको तुलनामा केही बढेर प्रति एक हजार ६.७७ व्यक्ति पुगेको छ । गत सेप्टेम्बरमा अधिकारीहरूले ६० वर्षको उमेरमा तोकिएको वैधानिक अवकाशको उमेर क्रमशः बढाउने बताएका थिए । यो दशकौंदेखि उठाइएको थिएन। यो नियम जनवरी १ देखि लागू भएको हो । चीनको अघिल्लो सेवानिवृत्ति उमेर आर्थिक, पोषण, स्वास्थ्य र रहनसहनमा तीव्र सुधार ल्याउनुभन्दा पहिलेको व्यापक अभाव र गरिबीको समयमा तय गरिएको थियो । हालैका वर्षहरूमा विश्वको दोस्रो ठूलो अर्थव्यवस्थाले सुस्त वृद्धिको सामना गर्नुपरेको छ । रासस
कुनै पनि कम्पनी र व्यक्तिलाई गैरकानुनी तरिकाले डाटा दिन बाध्य पारिएको कुरा झुटो : चीन
काठमाडौं । चीन सरकारले ‘कहिल्यै पनि’ कम्पनी वा व्यक्तिहरूलाई कानुनविपरीत डाटा संकलन गर्न वा आफूलाई डाटा उपलब्ध गराउने आरोप झुट रहेको बताएकाे छ । चीनको विदेश मन्त्रालयका प्रवक्ताले टिकटक, शीइन, श्याओमी लगायत छ चिनियाँ कम्पनीहरूको बारेमा सोधिएको प्रश्नको जवाफमा यस्तो बताएका हुन् । अष्ट्रियाली एडभोकेसी समूह एनओवाईबी दायर गरेको गोपनीयता उजुरीमा यी कम्पनीहरूले युरोपेली संघका प्रयोगकर्ताहरूको डाटा गैरकानुनी रूपमा चीनमा पठाइरहेको भनी दाबी गरिएको छ ।
राष्ट्रपतिले गरे द्रुतमार्गको निरीक्षण, समयमै काम सक्न निर्देशन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं-तराई-मधेस द्रुतमार्गको निरीक्षण गरेका छन् । त्यस क्रममा उनले आयोजनाको प्रगतिबारे जानकारी लिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्नेगरी काम गर्न निर्देशन दिए । उक्त आयोजना नेपाली सेनाले निर्माण गरिरहेको छ । काठमाडौं-ललितपुर-मकवानपुर हुँदै बाराको निजगढसम्म निर्माण हुनेछ । पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
चीन र एआई संघर्षको रिपोर्टपश्चात एप्पलको स्टक घट्यो
काठमाडौं । एप्पलको स्टक बिहीबार ४ प्रतिशतले घटेको छ । सन् २०२४ को अगस्ट ५ पछिको यो सबैभन्दा खराब दिन हो । चीनमा आईफोन बिक्रीमा कमी आएसँगै स्टक घटेको हो । बजार अनुसन्धान फर्म क्यानालिसको बिहीबारको रिपोर्टपछि स्टक घटेको हो । रिपोर्ट अनुसार एप्पलले चीनमा आईफोन बिक्रीमा गिरावटको सामना गरिरहेको छ । सन् २०२४ मा यसको वार्षिक बिक्री १७ प्रतिशतले घटेर कम्पनीलाई तेस्रो स्थानमा झार्यो । चीनमा भीभो र हुवावे पहिलो र दोस्रो स्थानमा छन् । विशेष गरी, डिसेम्बरमा चीनमा आईफोन बिक्रीमा १०-१२ प्रतिशत कमी आएको थियो । यस गिरावटको कारणहरूमा हुवावेजस्ता स्थानीय प्रतिस्पर्धीहरूको वृद्धि र आईफोन सिक्स्टीनमा कृत्रिम बाैद्धिकता (एआई) जस्ता सुविधाहरूको अभाव समावेश छन् । हुवावेले मेट सिक्सिज सिरिजको सफलतासँगै बजारमा आफ्नो उपस्थिति बलियो बनाएको छ । यसको परिणामस्वरूप एप्पलको सेयर मूल्यमा पनि असर पर्यो । एप्पलले चीनमा बिक्री बढाउन विभिन्न छुटहरू प्रदान गरिरहेको छ, जस्तै आईफोन सिक्सटिन मोडलहरूमा ५०० युआनसम्मको छुट। तर, विश्लेषकहरूका अनुसार एआई सुविधाहरूको अभावले आईफोनकाे मागमा वृद्धि गर्न सकेको छैन ।
नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु (तस्बिरहरू)
काठमाडौं । नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौँ संस्करण सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्ट्स र इटीएसआइपीएलको संयुक्त आयोजनामा उक्त प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको हो । १० औँ संस्करणको नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरे । मिडिया स्पेस सोलुसन्सका प्रवन्ध निर्देशक र्सिजल भट्टराईले मेलामा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको अन्तर्राष्ट्रिय प्रदर्शनी भएकाले नेपालभरबाट अवलोकनकर्ता आउने अपेक्षा गरिएको बताए । उनले प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्राण्डहरूका १०० भन्दा बढी स्टल रहेको बताए । फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको उल्लेखनीय सहभागिता भएको जानकारी दिए । प्रदर्शनीमा फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सब डिलर र विक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरू र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी दिने व्यवस्था गरिएको जानकारी दिए । प्रदर्शनीमा जानकारीमुलक सेमिनारहरू, अन्तरक्रियात्मक कार्यशालाहरू र प्रत्यक्ष प्रश्तुतिकरणहरू हुने बताए । प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फर्निचर र होम टेक्सटायल क्षेत्रको विकास तथा आधुनिकीकरण मा टेवा पुर्याउने लक्ष्य लिएको जानकारी दिए ।
माघ २४ देखि राजधानीमा क्यान इन्फोटेक २०२५, प्रायोजक एवं स्टल बुकिङ खुला
फाइल तस्बिर । काठमाडौं । क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करण आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । नेपालकै ठूलो सूचना प्रविधि प्रदर्शनी मानिने क्यान इन्फोटेकमा यस पटक सूचना प्रविधिका नयाँ-नयाँ आविष्कार र प्रविधि समाधानलाई व्यापक रूपमा समेटिनेछ । क्यान इन्फोटेकको ३० औं संस्करणको मिति घोषणासँगै टाइटल स्पोन्सर, इन एसोसिएसन विथ, प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भर स्पोन्सरका साथै अन्य प्रायोजन तथा साझेदारीका निम्ति प्रस्ताव खुल्ला भएको छ । सञ्चार तथा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरूको सहभागिता रहने छ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ-नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने क्यान महासंघका अध्यक्ष सुनैना पाण्डे घिमिरेले बताइन् । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने उनले बताइन्। प्रदर्शनीमा राखिने नवीनतम प्रविधि स्टार्टअप इनोभेशन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिइएको छ । यसैबीच क्यान महासंघले क्यान इन्फोटेक २०२५ का लागि आवश्यक पर्ने स्टल तथा ह्याङ्गर निर्माण र विद्युत आपूर्ति, सुरक्षा गार्ड, स्टेशनरी, छपाइलगायतका प्रस्तावहरू समेत आह्वानसमेत गरेको छ ।
मेरो माइक्रोफाइनान्सको साधारण सभा सम्पन्न
काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष कल्याणविक्रम पाण्डेको सभापतित्वमा सभा सम्पन्न भएको हो । सभाले ७.५ प्रतिशत बोनस सेयर प्रस्ताव पारित गरेको छ । साधारणसभाले संस्थाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्नुको साथै लेखा परीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ । नुवाकोटको बट्टारमा सम्पन्न साधारणसभाबाट सर्वसाधारण समूहका तर्फबाट आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा बद्रीप्रसाद पुडासैनी र ज्ञानुकृष्ण अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।