विकासन्युज

गृहमन्त्री लेखक र एडीबी निर्देशकबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री रमेश लेखक र एसियाली विकास बैंक (एडीबी)का यहाँस्थित देशीय निर्देशक आर्नो कोस्वाबीच ब‍िहीबार भेटवार्ता भएको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले भौतिक पूर्वाधार निर्माणमा एडीबीले पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरे । साथै मन्त्री लेखकले पूर्व-पश्चिम राजमार्गको गड्डाचौकी-कोहलपुर खण्ड स्तरोनन्ति, सुदूरपश्चिमको महत्त्वपूर्ण व्यापारिक नाकाका रूपमा विकास गर्न थालिएको महाकाली करिडोरको सडक निर्माणमा सहयोग, कैलालीको गोदावरीदेखि डडेल्धुरासम्मको सडक स्तरोन्नती, भारतीय सहयोगमा निर्माणको प्रक्रियामा रहेको दोधारा चादँनी सुख्खा बन्दरगाह वरपर अन्य भौतिक संरचना निर्माण गरी नमूना सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्न एडीबीसित आग्रह गरे । त्यसैगरी, मन्त्री लेखक र एडिबी निर्देशक कोस्वाबीच सुदूरपश्चिम पालिकामा एडीबीको सहयोगमा बनिरहेका आधुनिक सहरको निर्माणलाई थप निरन्तरता र सुदूरपश्चिमको धार्मिक पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा सहयोगका विषयमा छलफल भएको छ। एडीबी प्रतिनिधिसितको छलफलमा मन्त्री लेखकले गत वर्ष एडिबीले सुदूरपश्चिमको पर्यटकीय विकासका लागि गरेको ‘सर्वे रिपोर्ट’ कार्यान्वयनमा समेत जोड दिए । एडीबीका निर्देशक कोस्वाले उक्त विषयमा एडीबीको माथिल्लो तहसित छलफल गरी जवाफ दिने बताए ।

चीनमा हरेक वर्ष १ करोड २८ लाख ईभी बिक्री

काठमाडौं । हालैका महिनाहरूमा विश्वभर विद्युतीय कार (ईभी) को बिक्री प्रभावित भएको छ । तर चीन पछिल्लो १० वर्षदेखि विद्युतीय कार बिक्रीको हिसाबले नम्बर १ रहेको देश रहँदै आएको छ । चीनसँग त्यस्तो के छ जसले गर्दा त्यहाँका मानिसहरूले यति धेरै विद्युतीय कारहरू किनिरहेका छन् ? वास्तवमा विद्युतीय कारको बिक्रीमा चार्जिङ स्टेशनहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् र चीन यस सन्दर्भमा अग्रणी छ । चीनमा नयाँ ऊर्जा सवारीसाधन अर्थात् विद्युतीय सवारीसाधनको बिक्रीलाई केही तथ्याङ्कहरूमार्फत हेरौं। चीनमा विद्युतीय कारको वार्षिक उत्पादन १ करोड २८ लाख ८८ हजार युनिट छ र सबैभन्दा रोचक कुरा के छ भने तीमध्ये १ करोड २८ लाख ६६ हजार युनिट प्रत्येक वर्ष बिक्री हुन्छन् । विद्युतीय सवारीसाधनसँग सम्बन्धित प्रदर्शनी र राम्रो चार्जिङ पूर्वाधारका साथै राम्रो प्रणालीका कारण त्यहाँ मानिसहरूले ठूलो संख्यामा विद्युतीय कारहरू किनिरहेका छन् । चीनमा विशेषगरी बीवाईडी कम्पनीका कारहरू निकै लोकप्रिय छन् । सुविधासम्पन्न विद्युतीय कार चीनमा विद्युतीय कारहरूको औसत एकल चार्ज दायरा ५०० किलोमिटर छ । चीनमा १ करोड २८ लाख १८ हजार चार्जिङ पाइल र ४ हजार ४४३ ब्याट्री स्वाप स्टेशनहरू छन् । त्यसैले मानिसहरूले आफ्नो कारको ब्याट्री सकिएमा कहाँ चार्ज गर्ने भनेर चिन्ता लिनु पर्दैन । विभिन्न स्थानहरूमा द्रूत चार्जिङको सुविधाले ईभी गाडी किनाउन उल्लेखनीय वृद्धि गरेको छ । नयाँ प्रविधि र राम्रा नीति चीन पछिल्लो १० वर्षदेखि नयाँ ऊर्जा सवारीसाधनको उत्पादन र बिक्रीमा विश्वको नम्बर एक स्थानमा रहेको छ । यो जानकारी चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयका उपमन्त्री चियाङ युनमिङले दिएका हुन् । २०२४ मा चीनले १ करोड २८ लाखभन्दा बढी विद्युतीय कारहरू उत्पादन र बिक्री गर्‍यो । यसका साथै ब्याट्री बनाउने सामग्री र पावर ब्याट्रीको उत्पादनमा पनि चीनले विश्वमा आफ्नो प्रभुत्व कायम राखेको छ । चिनियाँ सरकार नयाँ प्रविधि र नीतिहरू मार्फत यस क्षेत्रमा आफ्नो विकासलाई निरन्तरता दिन चाहन्छ । चीनको प्रभुत्व चीनमा बनेका विद्युतीय कारहरू ७० भन्दा बढी देशहरूमा निर्यात गरिन्छ । चीनमा बनेका विद्युतीय सवारीसाधन पहिलेभन्दा राम्रो र लामो समयसम्म टिक्ने भएका छन् । विश्वमा प्रयोग हुने ७० प्रतिशत ब्याट्री सामग्री र ६० प्रतिशत पावर ब्याट्रीहरू चीनबाट आउँछन्। चीनमा चार्जिङ सुविधा पनि राम्रो छ । त्यहाँ १.२८ करोडभन्दा बढी चार्जिङ पोइन्ट र ४ हजार ४४३ ब्याट्री स्वाप स्टेशनहरू छन् । यो विश्वको सबैभन्दा ठूलो चार्जिङ नेटवर्क हो। चीनमा पनि द्रुत चार्जिङ प्रविधि उपलब्ध छ, जसको मद्दतले कारको ब्याट्री मात्र १५ मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ । इन्डिया मोबिलिटी ग्लोबल एक्स्पो- २०२५ मा ईभीको प्रभुत्व, भिनफास्ट र बीवाईडीमा धेरै आकर्षण भारतीय कार निर्माताले २०२५ मा ईभी बजार बिस्तार गर्ने, मागको भने कमी बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस बेलायतमा ईभीको वर्चश्व बढ्दै, आगामी दशकसम्म पेट्रोलबाट चल्ने कारको संख्या आधा घट्ने

११ अंकले घट्यो सेयर बजार, ७ अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार‍ घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से ११.१० अंकले घटेर २६५४.३५ बिन्दुमा कायम भएको छ । आज ३१८ स्टकको ८४ हजार ७ पटक कारोबारमा एक करोड ५१ लाख ५ हजार ३३ सेयर खरिद-बिक्री हुँदा ७ अर्ब ८५ करोड बढी रुपैयाँ बराबरको कारोबार भएको छ । आज ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५० वटाको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये विकास बैङ्कमा हरियाली छाउँदा निर्माण कम्पनीहरू सामान्य बढेका छन् भने अन्य उपसमूह राताम्मे छन् । कारोबार रकमको आधारमा सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक ३० करोड ७९ लाख बढी रुपैयाँको कारोबार भएको छ । दोस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चरको २१ करोड ३८ लाख, मार्दी हाइड्रोपावरको १९ करोड ५५ लाख, सिन्धु विकास बैंकको १७ करोड १६ लाख र हिमालयन रिइन्स्योरेन्सकाे १६ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएकाे छ ।

अर्थतन्त्र दबाबमै छ, अहिलेको काममा हामी पनि सन्तुष्ट छैनौं : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाज पौडेलले लामो समयदेखि दबाबमा रहेको अर्थतन्त्रले अझै पनि सकस भोगिरहेको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकोत्सब कार्यक्रमका प्रमुख अतिथिकाे रूपमा बाेल्दै उनले देशको अर्थतन्त्र अझै पनि दबाबमा रहेको बताएका हुन् । ‘अर्थतन्त्र दबाबमै छ, यसलाई चिर्दै अगाडि बढिरहेका छौं, त्यसमा केही सफलता पनि मिलेको छ । हामी पनि त्यसमा हामी सन्तुष्ट छैनौं, कामको रफ्तार अझै बढाउनु पर्नेछ,’ उनले भने । उनका अनुसार अर्थतन्त्र सुधारका लागि बैंकहरुको भूमिका पनि महत्वपूर्ण हुन्छ । तरलतालाई उत्पादन र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा प्रयोग गर्नुपर्ने उनको भनाइ छ । उनले अहिले सरकारले औसत काम गरेर बस्ने स्थिति नरहेको धारणा राखे । ‘हामीले त्यतिकै दिन बिताएर बस्ने अवस्था छैन, छोटो अवधिमा दूरगामी प्रभाव पार्ने काम गरिरहेका छौं, हामी दिन गनेर बसेका छैनौं, त्यसका केही संकेत पनि देखिएको छ,’ उनले भने । अर्थमन्त्री पाैडेलले यो बीचमा सरकारले २९ वटा ऐनलाई शंसोधन गरेर अध्यादेश ल्याएको बताउँदै संसद चलेपछि त्यसलाई अनुमोदन गरेर कार्यान्वयन गर्ने धारणा राखे । ‘हामीसँग समयको चाप छ, मानिसहरुमा निराशा छ, त्यसलाई चिर्नुपर्ने अवस्था छ, देशभित्र रोजगारी सिर्जना गर्न र देशमै भविशय देखाउनका लागि महत्वपूर्ण काम गरिरहेका छौं, सुशासन, विदेशी लगानी र रोजगारी सिर्जनामा प्रगति गर्न चाहिरहेका छौं,’ उनले भने । उनले राष्ट्रिय वाणिज्य बैंकले अन्य बैंकको तुलनामा थप उपलब्धि हासिल सफल भएको बताए ।

यी हुन् अफ्रिकाका सबैभन्दा धनी व्यक्ति जसको व्यवसाय चिनी, नुन र तेलसम्म फैलिएको छ

काठमाडौं । एलोन मस्क विश्व र अमेरिकाको सबैभन्दा धनी व्यक्ति हुन् । युरोपमा फ्रान्सका बर्नार्ड अर्नाल्ट धनको हिस्सामा शासन गर्छन् भने एसियाका राजा मुकेश अम्बानी हुन् । के तपाईंलाई थाहा छ अफ्रिकाको सबैभन्दा धनी मानिस को हो ? उत्तर हो- अलिको डाङ्गोटे । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार नाइजेरियाली अर्बपति अलिको डाङ्गोटेको कुल सम्पत्ति २७.३ अर्ब डलर छ । उनी विश्वका धनी व्यक्तिहरूको सूचीमा ७४ औं स्थानमा छन् । अंग्रेजी फुटबल क्लब आर्सनलका ठूला प्रशंसक डांगोटे उप-सहारा अफ्रिकाको सबैभन्दा ठूलो सिमेन्ट उत्पादक डांगोटे इन्डस्ट्रीजका मालिक हुन् । यसमा अफ्रिकाको सबैभन्दा ठूलो तेल रिफाइनरी पनि छ । डाङ्गोटे इन्डस्ट्रीजको मुख्य कार्यालय लागोसमा छ । सिमेन्ट र रिफाइनरी बाहेक यसको व्यवसाय चिनी, नुन, तेल, मल र प्याकेज गरिएको खानामा पनि फैलिएको छ । उनकाे सबैभन्दा ठूलो सम्पत्ति डाङ्गोटे तेल रिफाइनरी हो, जुन अफ्रिकाको सबैभन्दा ठूलो रिफाइनर हो । यो गत वर्षको सुरुमा सञ्चालनमा आएको थियो । यसको मूल्य लगभग २० अर्ब डलर छ र डाङ्गोटेको यसमा ९२.३ प्रतिशत हिस्सेदारी छ । यसमा एउटा मल कारखाना पनि छ जसले वार्षिक २८ लाख टन युरिया उत्पादन गर्छ । डाङ्गोटे समूहका धेरै कम्पनीहरू नाइजेरियन स्टक एक्सचेन्जमा सूचीबद्ध छन्। व्यवसाय कहाँ-कहाँ फैलिएको छ ? नाइजेरियामा ८६ प्रतिशत सिमेन्ट उत्पादन डाङ्गोटे सिमेन्टबाट हुन्छ । डाङ्गोटेको डाङ्गोटे सुगर, नास्कन एलाइड इन्डस्ट्रिज र युनाइटेड बैंक फर अफ्रिकामा पनि सेयर छ । यसबाहेक उनको लागोसमा छवटा आवासीय र व्यावसायिक सम्पत्तिहरू पनि छन् । सन् १९५७ मा कानोमा जन्मिएका डाङ्गोटेका हजुरबाले कोला र बदामको व्यापार गरेर धेरै सम्पत्ति कमाएका थिए । डाङ्गोटेले आठ वर्षको हुँदा आफ्नो बुबा गुमाए । इजिप्टको अल-अजहर विश्वविद्यालयबाट डिग्री हासिल गरेपछि उनी नाइजेरिया फर्किए र सिमेन्ट व्यवसायमा हात हाले । १९८१ मा उनले डाङ्गोटे समूह स्थापना गरेका थिए। १९८० र १९९० को दशकमा डाङ्गोटे आफ्नो व्यवसायलाई धेरै क्षेत्रहरूमा विस्तार गरे । १९९६ मा उनी उत्पादन अध्ययन गर्न ब्राजिल गए र त्यसपछि कम्पनीको ध्यान व्यापारबाट उत्पादनमा सरे । १९९९ मा उनले चिनी रिफाइनरी, पिठो मिल र पास्ता कारखानाहरू निर्माण गर्न थाले । एक वर्षपछि उनले सरकारबाट बेनु सिमेन्ट कम्पनी अधिग्रहण गरे । त्यसपछि उनले ओबाजाना सिमेन्ट प्लान्ट सुरु गरे, जुन आज उप-सहारा अफ्रिकाको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन हाे ।

ट्रम्प राष्ट्रपति बनेसँगै साउदी राजकुमार खुसी, ६ सय अर्ब डलरको व्यापार गर्न इच्छुक

काठमाडौं । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले आफ्नो देशले आगामी ४ वर्षमा अमेरिकामा ६०० अर्ब डलरको लगानी र व्यापार गर्न इच्छुक रहेको घोषणा गरेका छन् । युवराज अमेरिकाको सत्तामा डोनाल्ड ट्रम्प आएसँगै निकै खुसी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसअघि जो बाइडेन राष्ट्रपति हुँदा राजकुमारसँग उनको सम्बन्ध तिक्ततापूर्ण रह्यो । साउदी पत्रकार जमाल खशोग्गीको हत्याको सम्बन्धमा मानव अधिकारका मुद्दाहरूमा दुई जनाबीच विवाद भएको थियो । साउदी राजकुमारले बुधबार डोनाल्ड ट्रम्पसँग फोनमा कुरा गरेको र राष्ट्रपति बनेकोमा बधाई दिएको साउदी अरबको सरकारी समाचार एजेन्सीले जनाएकाे छ । मोहम्मद बिनले यदि धेरै अवसरहरू उपलब्ध भएमा यो लगानी योभन्दा पनि बढी हुन सक्ने उल्लेख गरे । साउदी राजकुमारले ट्रम्पलाई आफ्नो देश नयाँ प्रशासनको सुधारबाट सिर्जना भएका अवसरहरूको फाइदा उठाउँदै साझेदारी र लगानी गर्न खोजिरहेको बताएका थिए । ट्रम्पको पहिलो कार्यकालदेखि नै साउदी अरेबिया र अमेरिकाबीच धेरै घनिष्ठ सम्बन्ध रहेको छ । ट्रम्प र साउदी राजकुमार पश्चिम एसियामा शान्ति र स्थायित्व ल्याउन चाहन्थे । उनीहरूले आतंकवादसँग मिलेर लड्ने पनि मनसाय राखेका छन् । परिवर्तनको अवधिमा खाडी, ट्रम्प र मोहम्मद बिनको नजर यस विषयमा भने ह्वाइट हाउसले अहिलेसम्म कुनै वक्तव्य दिएको छैन । ट्रम्प र युवराजबीचको यो कुराकानी यस्तो समयमा भएको हो जब पश्चिम एशिया धेरै द्रुत गतिमा परिवर्तन भइरहेको छ । साउदी अरेबियाको प्रतिद्वन्द्वी इरान र इजरायल हमास र हिजबुल्लाहसँगको युद्धका कारण कमजोर भएका छन् । इरानका नजिकका सहयोगी बसर अल-असदले सिरियामा सत्ता छोडेका छन् । यसबाहेक गाजामा युद्धविराम भएको छ जसका कारण हमास र इजरायलबीचको लडाइँ रोकिएको छ । ६०० अर्ब डलरको प्रस्ताव गरेर साउदी राजकुमार ट्रम्पको साउदी अरेबिया भ्रमण सुनिश्चित गर्न चाहन्छन् भन्ने विश्वास गरिन्छ । २०१७ मा अमेरिकाको राष्ट्रपति बनेका ट्रम्पले पहिलो पटक साउदी अरेबियाको भ्रमण गरेका थिए । त्यसबेला पनि साउदी अरेबिया र अमेरिकाबीच एउटा ठूलो सम्झौता भएको थियो जसमा अर्बौं डलरको हतियार समावेश थियो । यसअघि ट्रम्पले साउदी अरेबियाले ४५० अर्ब वा ५०० अर्ब डलरको हतियार किन्यो भने उनी फेरि भ्रमण गर्न पाउँदा खुसी हुने बताएका थिए । अब साउदी राजकुमारले उनलाई अझ बढी ५०० बिलियन प्रस्ताव गरेका छन् ।

कुमारी बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा २५ प्रतिशतसम्म छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पाल्पाबीच सम्झाैता भएकाे छ । बैंकका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौताअनुसार हस्पिटलबाट प्रदान गरिने सेवामा ग्राहकलाई ओपीडी टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत, आईसीयु, शल्यक्रिया तथा एक्स-रे/युएसजीमा १० प्रतिशत र ल्याब टेस्टमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ । विगत २३ वर्षदेखि कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ  

६ महिनामा नेपालीले खाए ५० करोड रुपैयाँको विदेशी सुन्तला

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ५० करोड रुपैयाँ बढीको सुन्तला आयात भएको छ । चालु आवको पौष मसान्तसम्म ५० करोड ६१ लाख ७१ हजार रुपैयाँको सुन्तला आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार ७० लाख ४८ हजार ५३७ किलो सुन्तला आयात भएको छ । उक्त सुन्तला आयात हुँदा ९ करोड ७५ लाख रुपैयाँ बढीको राजस्व संकलन भएको छ । नेपालमा सुन्तला चीन, इजिप्ट, भारत र साउथ अफ्रिकाबाट आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । सबैभन्दा धेरै भारतबाट सुन्तला आयात भएको छ । भारतबाट ४० करोड ७५ लाख रुपैयाँ बढीको सुन्तला आयात भएको छ । साथै, दोस्रोमा इजिप्टबाट ४ करोड ६२ लाख रुपैयाँ बढीको आयात भएको छ । साउथ अफ्रिकाबाट २ करोड ८५ लाख रुपैयाँ र चीनबाट २ करोड ३७ लाख रुपैयाँ बढीको सुन्तला आयात भएको भन्सार विभागको तथ्यांकले जनाएको छ । भारतबाट ६२ लाख ४१ हजार किलो सुन्तला आयात भएको छ । साथै, चीनबाट १ लाख ९५ हजार किलो, इजिप्टबाट ४ लाख २७ हजार किलो र साउथ अफ्रिकाबाट १ लाख ८४ हजार किलो सुन्तला आयात भएको छ । भारतबाट सुन्तला आयात हुँदा ७ करोड ७५ लाख रुपैयाँ बढीको राजस्व संकलन भएको छ । साथै, चीनबाट ४७ लाख ४६ हजार, इजिप्टबाट ९४ लाख ७३ लाख र साउथ अफ्रिकाबाट ५७ लाख १७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।