विकासन्युज

आईएमईसँगको सहकार्यमा अशोक लेल्यान्डले नेपाली बजारमा ल्यायो लेपावर जेनसेट

काठमाडौं । कमर्सियल सवारी साधन र पावर सोलुसनको क्षेत्रमा परिचित कम्पनी अशोक लेल्यान्डले आईएमई ग्रुपसँगको सहकार्यमा नेक्स्ट–जेन लेपावर जेनसेट सार्वजनिक गरेको छ । लेपावर जेनसेटको आधिकारिक वितरकको रूपमा आईएमई इलेक्ट्रिक प्रालिले देशमा बढ्दै गएको ऊर्जा मागलाई पुरा गर्ने उद्देश्यका साथ अत्याधुनिक पावर सोलुसन उपलब्ध गराउने क्रममा लेपावर जेनसेट बजारमा ल्याएको हो । सो अवसरमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले अशोक लेल्यान्डको सन्तुष्ट ग्राहकको नाताले म हिनो इन्जिन र यसको सुपेरियर बिल्ड क्वालिटीप्रति विश्वस्त रहेकाले पावर सोलुसन बजारमा समेत लेपावर जेनसेट गेम चेन्जर बन्ने विश्वास लिएको बताए । अशोक लेल्यान्डका सार्क हेड तथा कार्यक्रमका प्रमुख अतिथि अमिताभ वास्तवले अशोक लेल्यान्ड इन्डियाले लेपावर जेनसेटका साथ नेपालको बजारमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै गइरहेको बताए । आईएमई ग्रुपसँगको सहकार्यले विश्वसनीयता र उत्कृष्टताका माध्यमबाट सहरी र औद्योगिक क्षेत्रमा आवश्यक ऊर्जा उपलब्ध गराउनका लागि यी जेनसेट उत्पादन तथा बिक्रि वितरण गरिएको श्रीवास्तवको भनाइ छ। सो अवसरमा आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले सबै क्षेत्रमा गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउनमा आईएमई ग्रुप प्रतिबद्ध रहेको बताए । ग्राहक सन्तुष्टि र विश्वसनीयता बढाउन बिक्री पछिको सेवालाई प्राथमिकता दिएको र लेपावर जेनसेटका ग्राहकलाई समेत खुसी र विश्वसनीयता कायम राख्न अतुलनीय सेवा र जेन्युइन स्पेयर पार्ट्स उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे । कार्यक्रममा आईएमई इलेक्ट्रिकका कार्यकारी निर्देशक निशान ढकाल, आईएमई मोटर्सका निर्देशक सन्दिप अग्रवाल र अशोक लेल्यान्डका कन्ट्री म्यानेजर बिप्लव पाउल लगायतका व्यक्तिहरूको समेत उपस्थिति थियो । कार्यक्रममा लेपावर जेनसेटका नयाँ ग्राहकलाई साँचो हस्तान्तरण समेत गरिएको थियो। हिनो इन्जिनद्वारा सञ्चालित लेपावर जेनसेट उच्चतम प्रदर्शन र इन्धन किफायतीपना उपलब्ध गराउने गरी डिजाइन गरिएको छ। यसले नेपालको सहरी, औद्योगिक र व्यावसायिक क्षेत्रको पावर सोलुसनमा महत्त्वपूर्ण योगदान दिने गरिएको छ ।

निर्जीवन बीमाको व्यापार २१ अर्ब, फेरि पहिलो नम्बरमा उक्लियो शिखर

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा निर्जीवन बीमा कम्पनीहरूले करिब २१ अर्ब बढीको व्यापार गरेका छन् । चालु आवको पौष मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बढीको व्यापार गरेका हुन् । जसमध्ये सबैभन्दा धेरै व्यापार शिखर इन्स्योरेन्सले गरेको छ । शिखरले पछिल्लो ६ महिनामा २ अर्ब ५९ करोड रुपैयाँको व्यापार गरेको हो । गत महिनाहरूमा शिखर दोस्रो र तेस्रो नम्बरमा झरेको थियो । सलिको पहिलो नम्बरमा उक्लिएको थियो । कम्पनीले केही ठूला प्रोजेक्टहरू पाएकाले व्यापारमा पहिलो हुन सफल भएको कम्पनीकी सूचना अधिकारी सबिता मास्केले बताइन् । तर, यो अवधिमा को पहिलो र को दोस्रो भनेर भन्न नसकिने  उनको भनाइ छ । उनले भनिन्, ‘पछिल्लो महिनामा केही ठूला प्रोजेक्ट आएका छन् । त्यस कारणले पनि पहिलो बन्न सफल भएको होला । तर, ६ महिनामा नै कुन कम्पनी पहिलो र कुन कम्पनी दोस्रो भनेर भन्न मिल्दैन । यसका लागि वार्षिक व्यापार नै हेर्नुपर्दछ ।’ यस्तै, सूचना अधिकारी मास्केले व्यापारमा कहिले एउटा कम्पनी अगाडि त कहिले पछाडि हुनु सामान्य प्रक्रिया भएको पनि उल्लेख गरिन् । पछिल्लो ६ महिनामा सलिकोले २ अर्ब ५५ करोड ३६ लाख रुपैयाँको व्यापार गरेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब १३ करोड रुपैयाँको व्यापार गरेको छ । यस्तै, आईजीआई प्रुडेन्सियलले १ अर्ब ७३ करोड, हिमालयन एभरेष्टले १ अर्ब ७१ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ६६ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब ४० करोड, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब ३४ करोड, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३४ करोड, सानिमा जीआईसीले १ अर्ब १९ करोड, नेपाल ईन्स्योरेन्सले १ अर्ब ९ करोड, प्रभु इन्स्योरेन्सले ९० करोड, राष्ट्रिय बीमा कम्पनीले ७१ करोड र नेशनल इन्स्योरेन्सले ६२ करोड रुपैयाँ बढीको व्यापार गरेका छन् । व्यपार वृद्धिका आधारमा नेपाल ईन्स्योरेन्स अग्रस्थानमा रहेको छ । नेपाल इन्स्योरेन्सले ४५.७१ प्रतिशतले व्यपार वृद्धि गरेको छ । यसैगरी, ओरिएण्टल इन्स्योरेन्सले ४३.८९ प्रतिशतले व्यपार वृद्धि गर्दा एनएलजी इन्स्योरेन्सले १२.२८ प्रतिशतले व्यापार वृद्धि गरेको छ।

सञ्चालनमा आयो अमेरिकी चेन होटल ब्रान्ड ‘बेस्ट वेस्टर्न प्लस’, डेढ अर्ब लगानी

काठमाडौं । काठमाडौंको गौशाला पिंगलास्थानमा चारतारे होटल ‘बेस्ट वेस्टर्न प्लस काठमाडौं’ बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले संयुक्त रूपमा होटलको उद्घाटन गरे । बेस्ट वेस्टर्न प्लस अमेरिकी चेन होटल ब्रान्ड हो, जुन नेपालमा पहिलो पटक भित्रिएको छ । होटलको निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ लगानी गरिएको हो । होटलका अध्यक्ष रामेश्वर अर्यालका अनुसार यो परियोजनाले पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्‍याउने लक्ष्य राखेको छ । होटलमा सुइट र डिलक्स गरी ८७ कोठा छन् । स्विमिङ पुल, रुफटप बार, रेस्टुरेन्ट, फिटनेस सेन्टर, स्पा, र एकै पटक ८ सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने ब्याङ्क्वेट हलसहित होटललाई प्रिमियम सुविधासहित तयार पारिएको छ । होटलले १५० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । अर्यालका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ मन्दिरबाट नजिक रहेकोले होटलले छिट्टै बजारमा आफ्नो स्थान बनाउने विश्वास गरिएको छ । होटलले युरोप, अमेरिका, अस्ट्रेलिया जस्ता देशका पर्यटकसँगै बढी खर्च गर्ने भारतीय पर्यटकलाई मुख्य लक्ष्य बनाएको छ । विशेषगरी पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भारतीय पर्यटकलाई आकर्षित गर्न विशेष रणनीति बनाइएको छ । होटलको व्यवस्थापन अमेरिकाको बेस्ट वेस्टर्न होटल्स एन्ड रिसोट्र्स (बीडब्लू) ले सम्हालेको छ । बीडब्लूले हाल विश्वभर ४ हजार ७०० भन्दा बढी होटल सञ्चालन गर्दै आएको छ ।

सिद्धबाबा सुरुङमार्गको भोलि ब्रेकथ्रू, एक वर्षभित्र गाडी चल्ने

  काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत निर्माण भइरहेको सिद्धबाबा सुरुङमार्गको ब्रेकथ्रु शुक्रबार हुँदैछ । सुरुङमार्ग ब्रेकथ्रु प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको आयोजनाले जनाएको छ । प्रधानमन्त्रीबाट अन्तिम ब्रेकथ्रू गर्ने कार्यक्रमको सबै तयारी भएको आयोजनाका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए । कार्यक्रममा प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल मन्त्रालयका सचिवलगायत अन्य सरकारी अधिकारी उपस्थित हुने जनाइएको छ । अधिकारीका अनुसार हालसम्म सुरुङमार्गको भौतिक ४० प्रतिशत भएको छ भने वित्तीय प्रगति ३९.९ प्रतिशत सम्पन्न भइसकेको छ । हाल टनेलको ढलान र लाइटिङको काम भइरहेको छ । उनले भने, ‘भौतिक कार्यहरूमा १ हजार १ सय २६ मिटरको मेन टनेल खन्ने काम सकिएको छ । पेन्टिङ तल लेभल मिलाउने, टनेलको दुबैतिरबाट छिचोलिने काम भोलिदेखि जोडिनेछ । बाँकी प्राविधिक भवन, कङ्क्रिटको लाइन, बिजुलीको काम, सेफ्टी, भेन्टीलेन्सनलगायत यी सबै कामहरू भइरहेको छन् ।’ प्रमुख अधिकारीले मेन टनेल बाइपाससहित गरेर जम्मा टनेल १ हजार ५ सय ३० रहेको जानकारी दिए । उक्त सुरुङमार्गको सम्झौता सन् २०२२ मा भएको थियो । यो सुरुङमार्ग २०२७ मार्चसम्ममा बनाइ सक्ने लक्ष्य लिइएको छ । उनका अनुसार कुनै रोकावट नभए र हालकै गतिमा काम भयो भने अबको एक वर्षभित्र टनेल सञ्चालमा आउने र गाडी गुड्ने दाबी गरे । उनले त्यसपछि ४८० मिटर रकसेटसहित टनेलको बाहिरपट्टि काम थालिने उनको भनाइ छ । उनले भने, ‘चिडियाखोलादेखि दोभानसम्म जम्मा २ हजार ३ सय ९५ मिटर सडक रकसेट निर्माण हुनेछ । हामी काम गर्ने टोली त्यही बसेर सातै दिन २४ घण्टा रकसेटसहित मर्मत गर्नेछौं । त्यहाँ दुईवटा बिल्डिङ र कन्ट्रोल सिस्टमहरू हुनेछन् । काम गर्ने टोली छिर्ने ठाउँमा २ वटा पोर्टलहरू बनाइनेछ । जसमा साउथ र नर्थ रहनेछन् । अतिरिक्त आकस्मिक सेवाका लागि साउथ र नर्थ पोर्टलमा दुईवटा हेलिप्याड हुनेछन् ।’ उक्त सुरुङमार्ग १ हजार १ सय २६ किलोमिटर सिद्धबाबा मन्दिरदेखि दोभानसम्म रहेको जनाइएको छ । हाल सुरुङमार्गको काम निरन्तर रूपमा चलिरहेको उनले बताए । प्रमुख अधिकारीले भने, ‘हाल अस्थाई सपोर्ट दिएर सुरुङमार्गको काम भैरहेको छ । लाइनिङको काम बाँकी नै छ ।’ कति छ बजेट, कति भयो खर्च ? दोभानदेखि चिडियाखोलासम्म ४ किमि सडक अत्यधिक पहिरोग्रस्त मानिन्छ र  यसलाई ‘मृत्युमार्ग’ का रूपमा समेत परिचय दिन थालेपछि सरकारले सुरुङमार्गको अध्ययन गरेर बजेट व्यवस्था गरेको थियो । सिद्धबाबा सुरुङका लागि २०७७ साल मंसिर १ मा मन्त्रिपरिषद् बैठकले बजेट सहमति प्रदान गरेको थियो । २०७८ साल जेठ ९ मा सडक विभागले ग्लोबल टेन्डरमार्फत ठेक्का आह्वान गरेको थियो । सोहीअनुसार कम बजेट प्रस्ताव गर्ने चिनियाँ कम्पनी सीएससीईसीले सुरुङ निर्माणको जिम्मेवारी पाएको छ । यसमा जम्मा बजेट ७ अर्ब ३४ करोड रहेको आयोजनाले जनाएको छ । हालसम्म ३९ प्रतिशत अर्थात २ करोड ८६ लाख खर्च भइसकेको छ । आयोजनामा हाल बजेटको अभाव नभएको अधिकारीको भनाइ छ । नारायणगढ-बुटवल सडक खण्डको कामको ठेक्का पाएकै कम्पनीले सुरुङमार्गको काम गरिरहेको छ । कति छन् कामदार ? प्रमुख अधिकारीका अनुसार सिद्धबाबा सुरुङमार्गमा १ सय ५० बढी कामदारहरूले काम गरिरहेका छन् । दुवैतिरको भाग छिचोलिएपछि नाली निर्माण, भेन्टिलेसन, लाइट जडान, सडक कालोपत्रे र अन्तिम लाइनिङको काम भइरहेको छ । विस्फोटक पदार्थ प्रयोग गरेर काम गर्न थालिएपछि निर्माणले गति लिएको बताइएको छ । नागरिकहरू पश्चिम क्षेत्रमा निर्माण भइरहेको यो एकमात्रै सुरुङमार्ग भएकाले उत्साहित छन् । उक्त सुरुङमार्गबाट लुम्बिनीसहित गण्डकी प्रदेशका नागरिकहरू प्रत्यक्ष लाभान्वित हुनेछन् । वर्षाको समयमा मृत्युमार्गको रूपले चिनिने सिद्धबाबा सडक सुरुङमार्ग निर्माणले केही राहत मिल्ने यात्रुले आशा राखेका छन् । सुरुङमार्गको कुल लम्बाइ १.१२६ किलोमिटर यो सुरुङमार्गको पोर्टल बुटवल-तानसेन सडकखण्डमा रहेको सिद्धबाबाको मन्दिरस्थित चिडियाखोलानजिकै हुने सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी प्रदीप भण्डारीले बताए । उनले दुई लेनको हुने यस सुरुङमार्गको कुल लम्बाइ १.१२६ किलोमिटर रहने जानकारी दिए । सुरुङमार्गको निर्माण ‘एसियन हाइवे स्ट्यान्डर्ड’ को हुने उनको भनाइ छ । सुरुङमार्ग ५ वर्षसम्म सञ्चालन र मर्मतसम्भार गर्ने जिम्मेवारी ठेक्का पाउने कम्पनीकै हुनेछ । सूचना अधिकारी भण्डारीले सुरुङमार्ग प्रयोग गरी सवारीसाधन गुडाउनेले शुल्क तिर्नुपर्ने वा नपर्ने विषयमा अहिले मोडालिटी तयार नभएको बताए । ‘सुरुङमार्ग निर्माणकै क्रममा रहेको छ । यसको प्रयोग गर्ने सवारीसाधनले शुल्क तिर्नुपर्ने वा नपर्ने विषयमा अहिले मोडालिटी तयार भएको छैन । सुरुङमार्गमा ६० किलोमिटर प्रतिघण्टाको दरले सवारीसाधन गुडाउन पाइने व्यवस्था रहेको छ,’उनले भने । सिद्धबाबाको अति जोखिम झन्डै पाँच किलोमिटर क्षेत्रमध्ये उपल्लो सिद्धबाबादेखि रामापिथेकस पार्कसम्म सो सुरुङमार्ग निर्माण भइरहेको हो ।

विदेशबाट पठाएको रकम ‘आईएमई पे’ बाट प्राप्त गर्दा ५०० रुपैयाँ बोनस

काठमाडौं । विदेशबाट ‘आईएमई पे’ मार्फत नेपाल पठाएको रकम प्राप्त गर्दा ५०० रुपैयाँ बोनस प्राप्त गर्न सकिने भएको छ । विश्वको जुनकुनै देशबाट आईएमई पे मार्फत नेपाल पठाएको पैसा प्राप्त गर्दा ५०० रुपैयाँ बोनस प्राप्त गर्न सकिने आईएमई पे ले जनाएको छ । आईएमई पेमा रकम प्राप्त गर्दा १० हजार रुपैयाँसम्ममा  ७५ रुपैयाँ बोनस प्राप्त हुनेछ । त्यस्तै, कारोबारको रकम अनुसार ५० हजार, एक लाख र दुई लाखसम्म क्रमशः  १००, २०० र ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ । कारोबारमा संलग्न एकजनाले महिनाको दुई पटकसम्म बोनस प्राप्त गर्न सक्नेछन् । यो योजना मार्फत आईएमई पेमा रकम प्राप्त गर्दा बोनस मात्रै नभएर रकम सुरक्षित तवरले घरसम्मै पुग्ने विश्वासको समेत वृद्धि हुने कम्पनीले जनाएको छ । विदेशबाट पठाएको रकम आईएमई पे मार्फत प्राप्त गर्दा बोनस प्राप्त गर्न सकिने योजना निकै उपलब्धिमूलक बन्न सक्ने आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जानकारी दिए ।

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह बिहीबार एक समारोहका बीच सम्पन्न भएको छ । कार्यक्रममा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र केही समयदेखि दबाबमा रहेको तर अहिले सुधार हुँदै गएको बताए । अहिलेको बढ्दो तरलतालाई बैंकले उत्पादन र रोजगारी सृजनामा अगाउन आग्रह गर्दै औसत कार्य भन्दा असाधारण कार्य गर्नको लागि अनुरोध गरे । उनले राष्ट्रिय वाणिज्य बैंक परिवारलाई अरू बैंकलाई उछिन्ने गरी कार्य गर्नका लागि शुभकामना दिए । प्रमुख अतिथि एवं माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसद पौडेलले बैंकको ६० औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार २०८१ विमोचन गरेका थिए । बैंकको ६० औं वार्षिककोसवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकका हालै सञ्चालनमा आएका २७ वटा शाखा कार्यालयहरुको बटम थिचेर डिजिटल माध्यमबाट औपचारिक रुपमा उद्घाटन गरे । अर्थमन्त्री पौडेलले कार्यक्रममा कोहलपुर र महेन्द्रनगरमा नवनिर्मित भवनहरुको स्वीच थिचेर डिजिलट माध्यमबाट उद्घाटन गरे । कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रमका साथै उत्कृष्ट शाखा कार्यालय, सर्वोत्कृष्ट÷उत्कृष्ट बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न आरोह आवरोह पार गर्दै आएको यो बैंकको अहिलेको अवस्था गर्व गर्न लायक भएको बताए । यो बैंकको पुँजीको विकासको लागि आउने प्रस्तावप्रति राष्ट्र बैंक उदार रहेको बताए । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपाल सरकारले प्राथमिकताप्राप्त क्षेत्र धनी घोषणा गरेका क्षेत्रहरु जस्तै कृषि, उर्जा, पर्यटन तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न बैंक निरन्तर लागि परेको बताए । उनले यस बैंकले सुन खरीद बिक्री गर्ने कार्य समेत सुरु गरेको बताउँदै बैंकिङ सेवा सुविधाहरूमा गुणस्तरीयता अभिवृद्धि गर्दै अझ बढी विश्वसनीय, सुरक्षित, प्रविधियुक्त तथा ग्राहकमैत्री बनाउन प्राथमिकताका साथ कार्य गरिरहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनालले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउनु हुँदै हामीले भर्खरै आर्थिक वर्ष २०८०/०८१ को वार्षिक लेखापरीक्षण सम्पन्न गरी २०८१ पौष २९ गते १९ औं वार्षिक साधारण सभा सम्पन्न गरिसकेको जानकारी गराए । २०८१ पौष मसान्तमा बैंकको कुल निक्षेप ४ खर्ब ५० अर्ब रुपैयाँ, कुल कर्जा सापट २ खर्ब ८४ अर्ब रुपैयाँ, चुक्तापुँजी १५ अर्ब ६३ करोड, कुल सम्पत्ति ५ खर्ब २६ अर्ब तथा नेटवर्थ ५२ अर्ब पुगेको छ । उनले २०८१ पौष मसान्तमा बैंकको कोषको लागत ३.८१ प्रतिशत तथा आधारदर ५.४४ प्रतिशत रहेको बताए । यसैबीच बैंकको ६०औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसरबाट वित्तीय साक्षरताका लागि प्रभातफेरि कार्यक्रमको आजै बिहान आयोजना गरिएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गाना तथा प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकको ६०औं वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै सर्वसाधारण प्रति बैंकिङ्ग संचेतना गर्ने उद्धेश्यले समाज प्रतिको उत्तरदायीत्व बहन गर्दै बैंकले वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको बताए । बैंकको केन्दीय कार्यालयबाट शुरु भएको उक्त कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी बैंकको लोगो अंकित विभिन्न प्लेकार्ड बोकेर बाजागाजा व्यानर सहित भद्रकाली, शहिदगेट, न्युरोडगेट, रत्नपार्क, राष्ट्रिय सभागृह मोड र पुनः भद्रकाली हुदैं केन्द्रीय कार्यालयमा पुगेर समापन भएकोे थियो । आज भन्दा ६० वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु¥याउने उद्धेश्यका साथ स्थापना भएको यो बैंकसँग कारोवार गर्ने कुल ग्राहकको संख्या करिब ४६ लाख भन्दा बढी पुगेको छ भने भौगोलिक उपस्थितिको हिसाबले ७ वटै प्रदेशका ७७ वटै जिल्ला र सबै जिल्ला सदरमूकाममा समेत गरी जम्मा २९४ शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् । डिजिटल बैंकिङ्ग क्षेत्रमा समेत बैंकले उल्लेखनीय फड्को मारेको छ । कार्यक्रममा बैंकका शेयरधनीहरु, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु, बैंक सञ्चालक समितिका सदस्यहरु, पूर्व अध्यक्षहरु, पूर्व प्रमुख कार्यकारी अधिकृतहरु, विभिन्न संस्थानहरुका प्रमुखहरु, बैंकका नायव प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, उपप्रमुखहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको भव्य उपस्थिति रहेको थियो ।

थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

काठमाडौं । महानगर यातायात प्रालीले चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा ल्याएको छ । चालीस वटा सार्वजनिक बस सेवाले विशेष गरी पर्यटकीयस्थल चन्द्रागिरि र धुलिखेलका बीचमा आवतजावत गर्न सजिलो हुने अपेक्षा गरिएको छ । आजदेखि शुभारम्भ गरिएको सो बस सेवा हालका लागि चन्द्रागिरि– गोदाम –चेक पोष्ट –गुर्जुधारा  – सतुगंल– कलङ्की –बल्खु– कोटेश्वर –भक्तपुर – बनेपा – धुलिखेलसम्म सञ्चालनमा आउने छन् । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले ‘प्राथमिक अस्पताल थानकोट–धुलिखेल यातायात सेवा’को शुभारम्भ गर्दै चन्द्रागिरि र धुलिखेलका बीचमा आवतजावत गर्न बस सेवाले  सजिलो हुने अपेक्षा व्यक्त गरे । उनले नगरभित्रको सार्वजनिक यातायातलाई सुधार गर्न नगरपालिकाले उच्च प्राथमिकता दिएको जानकारी दिए ।

महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता संस्करण- २ को पुरस्कार वितरण सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना गरेको ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता- संस्करण २’ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा आयोजित एक कार्यत्रमका बीच प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई पुरस्कार वितरण गरियो । उक्त प्रतियोगितामा सुवास श्रेष्ठ प्रथम, शौरभ बज्राचार्य दोस्रो र पारसराज बर्जाचार्य तेस्रो हुन सफल भए । विजेताले प्रमाणपत्रका साथमा क्रमश: २० हजार, १५ हजार र १० हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरे । पब्लिक च्वाईसमा सबैभन्दा बढी भोट प्राप्त गरी घनश्याम श्रेष्ठले पब्लिक च्वाइस अवार्ड जित्न सफल भए । उनले प्रमाणपत्रको साथै ५ हजार रुपैयाँ प्राप्त ‍गरेका छन्। यसका साथै पुरस्कार वितरण कार्यक्रममा बैंकको तर्फबाट उत्कृष्ट १५ फोटोग्राफरहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा सहभागी हुनका लागि स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने फोटोहरू खिचेर पठाउनुपर्ने नियमअनुसार विभिन्न फोटोग्राफरमार्फत विभिन्न फोटोहरू प्राप्त भएका थिए । प्रतियोगितामा समावेश सम्पूर्ण फोटोहरू उत्कृष्ट तथा स्थानीय तहमा सञ्चालित व्यवसायहरु मार्फत सकारात्मक सन्देश प्रदान गर्ने खालका थिए । प्रतियोगिताको मूल्याङ्कनको लागि छानिएको ३ सदस्यीय निर्णायक समिति मार्फत १५ वटा उत्कृष्ट तस्बिरहरू छानिएको थियो । यस्ता कार्यहरुबाट स्थानीय व्यवसाय, उद्यमशिलता, स्थानीय कलाको प्रबद्र्धन तथा प्रचारप्रसार गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।