विकासन्युज

हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउने मन्त्री प्रदीप पौडेलको निर्णय

काठमाडौं । रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी दिने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निर्णय गरेका छन् । निकै महँगो औषधी अवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफै व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए । जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधी अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराउनेछ । ‘विश्व हिमोफिलिया महासंघबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने निर्णय गरेका छौं,’ मन्त्री पौडेलले भने, ‘धेरै पीडित तथा सरोकारवालाबाट महँगो उपचार सरकारमार्फत होस् भन्ने अनुरोध स्वीकार गरेका छौं ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस औषधीका लागि राज्यकोषमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासंघमार्फत प्राप्त गर्ने मन्त्रालयअन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताए । नेपालमा हाल करिब नौ सय जना यो रोगका बिरामीका रूपमा पहिचान भएका छन् । तर विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब ५ हजार बिरामी रहेको अनुमान गरेको छ । २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपांगता देखिएका मध्ये ०.८ मा हिमोफिलिया भएको हुनसक्ने ठानिएको छ । मन्त्रालयले संघीय, सरकारी तथा प्रादेशिक तहमा मागका आधारमा औषधी उपलब्ध गराउने तयारी गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

केई एक्स थ्री प्रो अब ९९ किलोवाटमा उपलब्ध, सुरुआती मूल्य ४३ लाख ९६ हजार

काठमाडौं । केई मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ९९ किलोवाट मोटर पावर क्षमताको केई एक्स थ्री प्रो ईभी नेपालमा भित्र्याएको छ । यसको सुरुआती मूल्य ४३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो अफर केही अवधिको लागि मात्रै लागू हुने बिक्रेताले जनाएको छ । कम्प्याक्ट एसयूभी सेगमेन्टमा यो सबैभन्दा अफोर्डेवल एसयूभी हुने कम्पनीको दावी छ । एक्स थ्री प्रो इलेक्ट्रिक सवारीसाधन मात्रै नभएर अत्याधुनिक प्रविधि, स्लिक डिजाइन र अतुलनिय पर्मफेन्सको संगमसमेत हो । यसमा ५३.६ किलोवाट आवर क्षमतायुक्त सीएटीएल (क्याटल) को लिथियम आइरन फस्फेट ब्याट्री जडान छ । जसले २६० एनएमसम्मको उच्चतम टर्क प्रदान गर्छ । सिंगल चार्जमा ३७० किलोमिटरसम्मको रेन्ज दिने यो एसयूभीको ब्याट्री फुल चार्ज गर्न ५ देखि ७ घण्टाको समय लाग्छ । यसलाई घरमा ७ किलोवाटको एसी चार्जर प्रयोग गरी ८ घण्टामा चार्ज गर्न सकिन्छ । त्यस्तै, डीसी फास्ट चार्जरको सहयोगमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । एक्स ३ प्रो ईभीको लम्बाई ४ हजार ४४३ एमएम, चौडाई १ हजार ८३१ एमएम र उचाई १ हजार ६४६ एमएम छ भने यसको ह्विलवेस २ हजार ६२२ एमएम छ । ५ सिट क्षमताको यो गाडीमा पर्याप्त इन्टेरियर स्पेस छ । केई एक्स ३ प्रोको फ्रन्टमा म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र रियरमा मल्टी लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन छ । यसको ग्राउन्ड क्लिरेन्स १८३ एमएम छ । विभिन्न पाँच कलर अप्सनमा केई एक्स ३ प्रो ईभीमा उपलब्ध छ । केई नेपालले भाटभटेनी नक्साल, धनगढी, नेपालगञ्ज, दाङ, भैरहवा, भरतपुर, हेटौडा, दमक र बिर्तामोडस्थित नौवटा शोरुम सञ्चालन गर्दैआएको छ ।

सिमेन्टको मूल्यमा मन्त्री र उद्योगीबीच मिलेमतोको आरोप, महासंघ भन्छ- सहमतिको हल्ला फैलाइयो

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्ट उत्पादक संघसँग सहमति नभएको बताएको छ । महासंघले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बोलाएको र त्यसमा निर्माण व्यवस्था विकास परिषद् (नेकपा एमाले) को संगठन, लोकतान्त्रिक निर्माण व्यवसायी महासंघ, (नेकपा माओवादी), राप्रपाबाट समर्थित संगठन र निर्माण व्यवसायी महासंघसँग आवद्ध केही पदाधिकारीसमेत गरी ४ वटा निर्माण व्यवसाय त्यहाँ पुगेको जनाएको छ । गत आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमै मन्त्री भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको उपस्थितिमा उनीहरूबीच छलफल भएपनि सहमति भने नभएकाे महासंघका अध्यक्ष रवि सिंहले विकासन्यूजसँग बताए । उनले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले आफूहरूलाई यसबारे कुनै जानकारी नदिएको बताए । उनले भने, ‘आधिकारिक रूपमा हाम्रोतर्फबाट त्यहाँ कोही पनि गएका होइनन् । उनीहरू गए पनि व्यक्तिगत रूपमा गएका हुन सक्छन् । तर महासंघको निर्देशनमा हामी जान्छौं भनेर गएकाे होइन । उनीहरू त्यहाँ पुगेर महासंघका पूर्व पदाधिकारी भनेर बसेछन् । हामीलाई यसबारे कुनै जानकारी नै भएन । बोलाएको पनि छैन ।’ अध्यक्ष सिंहले उनीहरूले यो सहमति गरेको कुरा हिजो बुधबार लेखा समितिको बैठकमा उल्लेख गरेकाले थाहा पाएकाे बताए । उनले मंसिर १८ गते मन्त्रीको रोहबरमा सहमति गराएको र त्यो सहमति मन्त्रीले कार्यान्वयनमा ल्याउन नसकेको आक्रोश व्यक्त गरे । अध्यक्ष सिंहले भने, ‘जति सक्छौं लुट भन्नुबाहेक अरू विकल्प छैन । जबकि मन्त्रीले आफ्नो मातहतमा रहेको छलफललाई एक महिनाभन्दा बढी बितिसक्दा पनि कार्यान्वयन नगरी छलफल नै भनेर बसेका छन् । यसमा सिमेन्ट उद्योगी र सरकार दुबैको मिलोमत छ भन्ने बुझ्नुपर्छ ।’ उनले उद्योगमन्त्रीले सिमेन्ट उद्योगीलाई सहयोग गरिहेको बताउँदै सिमेन्ट उद्योगीलाई नाफा गराइरहेको आरोप लगाए । जनतालाई उनीहरूले अपहेलना गरेको जिकिर उनले गरे । अध्यक्ष सिंहले भने, ‘मंसिर १८ गते जुन सहमति भएको थियो । त्यहींअनुसार चल्नुपथ्यो । ४४० रुपैयाँमा पीपीसी सिमेन्ट र ५४० मा ओपीसी सिमेन्ट उपलब्ध गराउने गरी सहमति भएको थियो । तर यो लागू भएन । अब हामीबाट जुन रकम लिनुभएको छ, सिमेन्ट उद्योगीहरूले त्यो रकम फिर्ता गर्नुपर्छ ।’ उनले उद्योगीहरूले ४४० रुपैयाँमा पीपीसी सिमेन्ट र ५४० रुपैयाँ ओपीसी सिमेन्ट मूल्यबाहेक बाँकी ठगेको मूल्य फिर्ता गर्नुपर्ने माग गरे । अध्यक्ष सिंहले उपप्रधानमन्त्री तथा विभिन्न मन्त्रीहरू, पार्टीका अध्यक्षलगायत अन्य निकायसमक्ष ज्ञापनपत्र बुझाइसकेको जानकारी दिए । आगामी १५ गतेसम्म अल्टिमेटम दिइएको र त्यसअघिसम्म कसैले आफूहरूका माग सम्बोधन नगरे आन्दोलनका कार्यक्रम अघि बढ्ने उनले जानकारी दिए । सिमेन्ट उद्योगीहरूले निर्माण व्यवसायीहरूले आफूहरूविरुद्ध द्वन्द्व बढाउने काम गरिरहेको बताएको छ । नेपाल सिमेन्ट उत्पादक संघका महासचिव केशव उप्रेतीले भने, ‘हामीले कहिले पनि हुँदैन भनेका छैनौं । जुन सहमति भएको छ, त्यहींअनुसार हामीले सिमेन्ट उपलब्ध गराइरहेका छौं । त्यो सबै हावा कुरो हो ।’ उनले उद्योगमन्त्रीले जुन सहमति गरेका थिए त्यहींअनुसार सिमेन्ट उपलब्ध गराइरहेको दाबी गरे । उनले निर्माण व्यवसायीहरूले यसलाई ठूलो इस्सु बनाउँदै लगिरहेको उनको भनाइ । यसैगरी, यता सार्वजनिक लेखा समितिले पनि सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । बुधवार बसेको संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले पछिल्लो समय अस्वाभाविक रूपमा बढेको सिमेन्टको मूल्यमा सरकारले हस्तक्षेप गरी नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको बताइएको छ । समिति सभापति ऋषिकेश पोखरेलले समितिले हाल सिमेन्टको मूल्यमा अस्वाभाविक मूल्यवृद्धि भएको निष्कर्षमा समिति पुगेकाले तत्काल नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिए ।

गोल्यान ग्रुपले सोलारबाट ५ सय मेगावाट बिजुली उत्पादन गर्ने, भारतको प्रोजिल ग्रिन इनर्जीसँग सहकार्य

काठमाडौं । नेपालमा स्थापित व्यावसायिक समूह गोल्यान ग्रुपले सोलारबाट ५ सय मेगावाट बिजुली उत्पादन गर्ने भएको छ । भारतीय सोलार कम्पनी प्रोजेल ग्रीन इनर्जीसँग सहकार्य गर्दै गोल्यानले बिजुली उत्पादन गर्न लागेको जानकारी दिएको हो । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गोल्यान ग्रुपले बिजुली उत्पादनका लागि भारतीय कम्पनीसँग सहमति भइसकेको बताउँदै  नेपालमा सोलार बिजुलीको आवश्यकता र महत्त्वका विषयमा जानकारी गराएको छ । प्रोजिल ग्रिन इनर्जी नेपालले आगामी २४ महिनामा नेपालका विभिन्न स्थानहरूमा ५०० मेगावाटभन्दा बढी सौर्य ऊर्जा परियोजनाहरू स्थापना गर्ने लक्ष्य राखेको छ, जुन  देशलाई स्वच्छ ऊर्जामा अग्रणी बनाउने र नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा रूपान्तरणकारी युगको एक महत्वपूर्ण कदम हुनेछ।  शिखर सम्मेलनमा बोल्दै प्रोजिल ग्रिन इनर्जीका अध्यक्ष  शोवित वैजनाथ रायले नेपालमा स्वच्छ ऊर्जा र दिगोपनाका लागि बिजुली उत्पादन गर्न सहकार्य गर्न पाउँदा खुसी भएको बताए । उनले भने, ‘नेपालको स्वच्छ ऊर्जा र हरियाली भविष्यका लागि यो सहकार्यले मद्दत गर्नेछ ।’ गोल्यान ग्रुपले आगामी १८ महिनासम्म नेपालमा सोलारबाट ५ सय मेगावाट बिजुली  निकाली सक्ने दाबी गरेको छ । कार्यक्रममा बोल्दै विद्युत नियामक आयोगका अध्यक्ष रामप्रसाद धितालले  नेपालको नवीकरणीय ऊर्जामा उत्साह थपिएको बताए । यस्तै, कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले अर्को वर्ष नेपालमा अर्को वर्ष नेपालमा एक हजार बिजुली उत्पादन गर्न सकिने बताए । गोल्यान ग्रुपले भारतकै रिनर्गो डेभलपर्स साझेदारीमा नेपालगञ्जमा २० मेगावाटको सोलार प्लान्ट स्थापना गरिसकेको छ । यसरी उत्पादन गर्दै आएको बिजुली विद्युत प्राधिकरण र विभिन्न व्यावसायीक उपभोक्तालाई बिक्री गर्ने जनाएको छ ।  कार्यक्रममा इप्पानका अध्यक्ष कार्कीले गोल्यान समूहले ५ सय मेगावाट विद्युत उत्पादन गर्ने भन्ने समाचार आउँदा निकै उत्साहित बनेको बताए । ‘हामीले चाहेमा र सरकारले बाटो खुला गरिदिएमा अर्को वर्षमा १ हजार मेगावाट ऊर्जा उत्पादन गर्न सक्छौं भन्ने लाग्यो,’ उनले भने, ‘यस्तो भएमा मुलुकले अर्को वर्षदेखि बिजुली किन्नै नपर्ने वा न्यून मात्रै किन्नुपर्ने अवस्था आउने छ ।’ अहिले ८ सय मेगावाटको टेण्डर भइसकेपनि  मुद्दा मामिलाका कारण यसमा धेरै समस्या सिर्जना भएको भन्दै यस्ता समस्या हटाउन सरकारले हस्तक्षेप गर्नुपर्ने बताए । विद्युत विधेयक बन्दै गरेको तर यसमा सौर्य ऊर्जाको विषय नसमेटिएकाले त्यसलाई समेट्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा सोपानका अध्यक्ष डा. सन्दीप शाहले ऊर्जाको विकासमा सौर्य ऊर्जाको भूमिका उल्लेख्यनीय हुने बताए । उनले नेपालका केही क्षेत्रहरू सोलार ऊर्जा उत्पादनका लागि निकै उपयुक्त रहेको समेत बताए । ट्रान्समिसन लाइनको समेत सहज पहुँच गराएर मुस्ताङ लगायतका ठाउँबाट सौर्य ऊर्जा उत्पादन गर्न सकिने उनको भनाइ छ । सौर्य ऊर्जा उत्पादनका लागि केही समस्याहरू समेत रहेकाले सरकारले नीतिगत रुपमा त्यस्ता समस्याहरूलाई समाधान गर्नुपर्नेमा उनको जोड छ । गोल्याण पावर तर्फबाट प्रोजिल ग्रिन ईनर्जी नेपालका सञ्चालक  प्रवीण अर्यालले नेपालको बढ्दो ऊर्जा माग पूरा गर्ने र आर्थिक वृद्धिलाई सहज बनाउने दिशामा निर्णायक कदम चालेको बताए । विश्वस्तरीय ऊर्जासम्बन्धी सोलुसनहरू उपलब्ध गराउनु  तथा समृद्ध र दिगो भविष्यको सहयाेग पुर्‍याउनु कम्पनीको मुख्य उद्देश्य रहेको बताए ।

आईसीएफसी फाइनान्सको ऋणपत्रमा पहिलो दिनमै २ गुणा बढीको पर्‍यो आवेदन

काठमाडौं । आईसीएफसी फाइनान्सले बुधबारबाट निष्कासन गरेको ऋणपत्रमा मागभन्दा दुई गुणा बढीको आवेदन परेको छ । कम्पनीका अनुसार ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर’ मा मागभन्दा २ः११ गुणाले आवेदन परेको हो । बुधबार उक्त ऋणपत्रमा २५ करोड २९ लाख ४३ हजारले आवेदन दिएका छन् । कम्पनीले ३० करोड रुपैयाँबराबरको सात वर्षे विकास ऋणपत्र ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर- २०८८’ जारी गरेको हो । जसअनुसार कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ३ लाख इकाइ ऋणपत्र जारी गरेको छ । कम्पनीले कुल इकाइमध्ये १ लाख ८० हजार इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। । बाँकी १ लाख २० हजार इकाइको कम्पनीले सार्वजनिक निकाष्सन गरेको हो । सार्वजनिक निष्कासन गरिने कुल इकाइमध्ये ५ प्रतिशतले हुन आउने ६ हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने बाँकी १ लाख १४ हजार इकाइमा सर्वसाधारण खरिद आवेदन दिन सक्नेछन्। उक्त ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतम १ लाख २० हजार इकाइका लागि खरिद आवेदन दिन सक्नेछन् । ऋणपत्रमा धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटल, नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरू र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ ।

इन्डिया मोबिलिटी ग्लोबल एक्स्पो- २०२५ मा ईभीको प्रभुत्व, भिनफास्ट र बीवाईडीमा धेरै आकर्षण

काठमाडौं । दिल्लीमा हालै सम्पन्न भएको इन्डिया मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा विद्युतीय सवारीसाधन (ईभी) को प्रभुत्व देखिएको छ । धेरै कम्पनीहरूले नयाँ मोडेलहरू सार्वजनिक गरेका छन् । भारतको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनीमा लगभग २ सय नयाँ उत्पादनहरू प्रस्तुत गरिएको थियो । १७ देखि २२ जनवरीसम्म चलेको यस कार्यक्रममा १ हजार ५०० भन्दा बढी कम्पनीहरूले भाग लिएका थिए  । यसैगरी, ८ लाखभन्दा बढी मानिसहरूले यस प्रदर्शनीमा सहभागी भएका थिए । प्रदर्शनीको सफलता देखेर सरकारले अब यसलाई हरेक वर्ष आयोजना गर्ने विचार गरिरहेको छ। अहिलेसम्म यो हरेक दुई वर्षमा हुने गर्थ्यो । भियतनामी कम्पनी भिनफास्टले पहिलो पटक भारतमा आफ्नाे कारहरू प्रस्तुत गर्‍यो । यसैबीच, चिनियाँ ईभी कम्पनी बीवाईडीले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी पनि अनावरण गरेको छ । जेएसडब्ल्यू एमजी मोटर इन्डियाले आफ्नो नयाँ शक्तिशाली एसयूभी मगेस्टर प्रस्तुत गरेको छ । वेभ मोबिलिटीले सौर्य ऊर्जाबाट चल्ने मिनी कार लन्च गरेको छ । जेबीएमले विद्युतीय बसहरू ल्याएको छ । यसैगरी, हुन्डाई र टीभीएसले नयाँ यातायात समाधानहरूमा सँगै काम गरिरहेका छन् र उनीहरूले यसको झलक पनि दिए । भिन्फास्टका नयाँ विद्युतीय सवारीसाधन भियतनामी कम्पनी भिनफास्टले दुई नयाँ इलेक्ट्रिक एसयूभी भीएफ सेभेन र भीएफ सिक्स लन्च गरेको छ । कम्पनीले यी गाडीहरू यस वर्षको अन्त्यसम्ममा भारतमा बिक्रीको लागि उपलब्ध हुने बताएको छ । यी भारतमा भिनफास्टका पहिलो गाडीहरू हुनेछन् । कम्पनीले भारतमा बनेका विद्युतीय सवारीसाधनहरू पश्चिम एसिया र अफ्रिकामा बेच्न चाहन्छ । बीवाईडी सीलायन सेभेनको बुकिङ खुल्ला चीनको लोकप्रिय ईभी कम्पनी बीवाईडीले इन्डिया मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा आफ्नो सीलायन सेभेन एसयूभी अनावरण गर्नुका साथै यसको बुकिङ पनि सुरु गरेको छ । कम्पनीले सेलेरोन सिक्स, बीवाईडी सुपर प्लग-इन हाइब्रिड ईभी र याङवाङ यू एट पनि प्रदर्शन गरेको थियो । मारुतिको पहिलो ईभी सार्वजनिक भारतको सबैभन्दा ठूलो कार निर्माता मारुतिले आफ्नो पहिलो इलेक्ट्रिक सवारी ई- भिटारा एसयूभी प्रदर्शन गर्‍यो, जुन यस वर्षको अन्त्यतिर लन्च हुने जनाइएको छ ।  यो कार मारुतिको मूल कम्पनी सुजुकी मोटर र टोयोटाले संयुक्त रूपमा विकास गरेका हुन् । केही कार निर्माताहरूले इलेक्ट्रिक सवारीका साथै प्लग-इन हाइब्रिड कार, फ्लेक्स-फ्युल मोडल, हाइड्रोजन फ्युल सेल सवारी र ग्यासमा आधारित कारहरू पनि प्रदर्शन गर्ने योजना बनाएका छन् । टाटा मोटर्सको पवेलियन टाटा मोटर्सको पवेलियनमा विभिन्न सेग्मेन्टका १८ नयाँ मोडेलहरू प्रस्तुत गरिएको थियो । यसमा नयाँ टाटा सिएरा र ह्यारियर ईभी पनि समावेश छन् । हुन्डाईको क्रेटा ईभी हुन्डाई मोटर इन्डियाले आफ्नो सबैभन्दा लोकप्रिय एसयूभी क्रेटाको इलेक्ट्रिक संस्करण, क्रेटा ईभी अटो एक्स्पो २०२५ मा लन्च गर्‍यो, जसको सुरुवाती मूल्य १७.९९ लाख भारु रहेको छ । कम्पनीले आगामी वर्षहरूमा भारतभरि ६०० वटा द्रुत चार्जिङ स्टेशनहरू स्थापना गर्ने जनाएकाे छ । किया इभी सिक्स फेसलिफ्ट किआ इन्डियाले इन्डिया मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा आफ्नो अल्ट्रा-स्पेशल इलेक्ट्रिक कार ईभी सिक्सको २०२५ फेसलिफ्ट मोडेल प्रस्तुत गर्‍यो, जसले केही कस्मेटिक परिवर्तनहरूसँगै सुधारिएका सुविधाहरू र दायरा प्रदान गर्दछ । इलेक्ट्रिक मर्सिडिज बेन्ज यस वर्षको अटो एक्स्पोमा लक्जरी कार कम्पनीहरूले पनि आफ्ना नयाँ इलेक्ट्रिक मोडेलहरू प्रस्तुत गरे । मर्सिडिज-बेन्जले आफ्नो इलेक्ट्रिक एसयूभी ईक्यूएस मेबच लन्च गरेको छ, जसको मूल्य २.६३ करोड भारु छ । जेबीएमका नयाँ विद्युतीय बस जेबीएमले अटो एक्स्पो २०२५ मा ४ वटा नयाँ विद्युतीय बसहरू प्रस्तुत गर्‍यो । यसमा लक्जरी कोच ग्यालेक्सी, इन्टरसिटी बस एक्सप्रेस, लो फ्लोर इलेक्ट्रिक मेडिकल मोबाइल युनिट ई-मेडिलाइफ र ई-स्काइलाइफ समावेश छन् । हुन्डाई र टिभीएसले नयाँ उत्पादनहरू ल्याउँदै हुन्डाई मोटर कम्पनीले भारतको लागि नयाँ यातायात समाधानहरू सिर्जना गर्न टीभीएस मोटर कम्पनीसँग साझेदारीको घोषणा गरेको छ । यद्यपि, अहिलेसम्म कुनै आधिकारिक सहमति भएको छैन । हुन्डाईले एउटा कन्सेप्ट मोडेल पनि प्रदर्शन गर्‍यो। एका र वेबबाट उत्पादन एका मोबिलिटीले एउटा इलेक्ट्रिक ट्रक र ६ सिट भएको सार्वजनिक यातायात सवारी साधन प्रदर्शन गरेको थियो । सोही समयमा वेभ मोबिलिटीले सौर्य ऊर्जाबाट चल्ने मिनी कार इभा लन्च गर्‍यो । यो तीन सिट भएको कार तीन फरक मोडेलमा उपलब्ध छ । नयाँ इलेक्ट्रिक स्कुटरहरू बेंगलुरुमा आधारित न्यूमेरोस मोटर्सले १.०९ लाख भारुमा आफ्नो ई-स्कुटर डिप्लो म्याक्स लन्च गरेको छ । गोदावरी इलेक्ट्रिक मोटर्सले दुई नयाँ इलेक्ट्रिक स्कुटरहरू बजारमा ल्याएको छ । एसएमएल इसुजुको इलेक्ट्रिक डी-म्याक्स प्रदर्शनमा व्यावसायिक सवारीसाधन निर्माता एसएमएल इसुजुले व्यावसायिक बसहरूको लागि हिरोई.ईभी प्लेटफर्म सुरु गरेको छ । यो अप्रिल-जुनमा सुरु हुने अपेक्षा गरिएको छ । इसुजु मोटर्स इन्डियाले आफ्नो डी-म्याक्स बीईभीको अवधारणा मोडेल पनि प्रदर्शन गर्‍यो । यो पिकअप ट्रकले व्यावसायिक र यात्रु दुवै आवश्यकताहरू पूरा गर्नेछ ।

महानगर यातायातले ४० बस थप्दै, ९० बसले दिनेछन् नयाँ रुटमा सेवा

काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायात प्रालिले ४० वटा नयाँ बस थपेको छ । विगत ९ वर्षदेखि ठूला बसहरूमार्फत् सेवा दिँदै आएको यस यातायात कम्पनीले यात्रुको सेवालाई मध्यनजर गर्दै थप ४० वटा नयाँ बस सञ्चालन गर्ने जानकारी दिएको हो । कम्पनीले टाटा मोटर्सका ४० वटा बस बिहीबारदेखि सञ्चालनमा ल्याउने भएको हो । कम्पनीले ४० वटा बस थपसँगै नयाँ रुट पनि सञ्चालन गर्ने जानकारी दिएको छ । कम्पनीका अध्यक्ष मधुसुदन उपाध्याय अधिकारीले सेवा विस्तारसँगै नयाँ रुटमा पनि सेवा दिने जानकारी दिएका छन् । हाल यस यातायातले ५० वटा बसबाट सेवा दिँदै आएको छ । सर्वसाधारणले सार्वजनिक यातायातमा खेप्नु परेको सास्ती न्यून गर्न अत्याधुनिक सुविधायुक्त ४० वटा बसले सेवा दिन लागेको अधिकारीले जानकारी दिएका हुन् । यात्रुलाई सुरक्षित, आनन्ददायी र मनोरन्जनात्मक यात्रा गराउन महानगर यातायात प्रालिले २०७२ मा चक्रपथमा बस सेवा सुरु गरेको थियो । अब त्यसलाई बिस्तार गर्ने योजना कम्पनीले बनाएको हो । सुरुमा १६ करोड लगानीमा ४० वटा बस सञ्चालन गरेको यस कमपनीले त्यसपछि १० वटा बस थपेको थियो । अब कम्पनीको कुल बस संख्या ९० हुनेछ । ४० सिट क्षमताको महानगर यातायात ठूलाे र सुविधायुक्त छ । बसमा जीपीएस ट्रयाकिङ सिस्टमसहित मोबाइल एप सुविधा पनि दिइएको छ । सो सुविधामार्फत् बस कहाँ छ भनेर मोबाइलमै हेर्न सकिने व्यवस्था पनि गरिएको छ ।  

एसियाली देशका बीमा क्षेत्रका नियामक निकायहरूको वार्षिक बैठक सम्पन्न

काठमाडौं । एसियाली देशहरूका बीमा क्षेत्रका नियामक निकायहरूको संस्थाको १९औं वार्षिक बैठक तथा सम्मेलन, २०२४ र बीमा नियमन सम्बन्धी एसिया प्रशान्त क्षेत्रको सातौं उच्चस्तरीय बैठक, २०२४ काठमाडौंमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण, अन्तर्राष्ट्रिय बीमा पर्यवेक्षक संघ, एफिर र अन्तर्राष्ट्रिय सेटलमेन्ट बैंकको वित्तीय स्थिरता संस्थानको संयुक्त आयोजनामा बैठक तथा सम्मेलन सम्पन्न भएको हो । बीमा नियमन सम्बन्धी एसिया प्रशान्त क्षेत्रको सातौं उच्चस्तरीय बैठक माघ ७ र ८ गते तथा एफिर वार्षिक बैठक तथा सम्मेलन माघ ८ र ९ गते भएको थियो । बैठक तथा सम्मेलनको पहिलो दिन सहभागीहरूलाई स्वागत गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले एसिया–प्रशान्त क्षेत्रका देशहरूका बीमा क्षेत्रका नियामक निकायहरूको बैठक तथा सम्मेलन नेपालमा आयोजना भएकोमा खुशी व्यक्त गरे । अध्यक्ष दहालले जलवायु परिवर्तन र प्राकृतिक विपद्का कारण आइपर्ने जोखिमबाट पर्ने वित्तीय नोक्सानीलाई सम्बोधन गर्नका लागि एसिया–प्रशान्त क्षेत्रमा साझा बीमा पद्धति विकासको आवश्यकता औंल्याए । कार्यक्रमको सभापतित्व एफिरका अध्यक्ष तथा अष्ट्रेलियाली प्रुडेन्सियल नियमन प्राधिकरणका महाप्रवन्धक पिटर कोहिहागेन तथा वित्तीय स्थिरता संस्थान, अन्तर्राष्ट्रिय सेटलमेन्टका लागि बैंकका अध्यक्ष फर्नाण्डो रेस्टोईले गरेका थिए । दोस्रो दिनको कार्यक्रममा जापानको वित्तीय सेवा एजेन्सका अन्तर्राष्ट्रिय मामिला उपमन्त्री शिगेरू अरिजुमीले विश्व बीमा बजारको विकास सम्बन्धी विशेष सम्बोधन गरेका थिए । कार्यक्रममा प्रमुख वक्ताका रूपमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय प्रणाली, वित्तीय साक्षरता, वित्तीय पहुँच, विकासको श्रृङ्खला, वित्तीय क्षेत्रमा अवलम्बन गरिएका नीतिगत सिद्धान्त, चुनौती र अवसर लगायतका विषयमा जानकारी दिनुभएको थियो । बैठक तथा सम्मेलनमा जलवायु परिवर्तन, प्राकृतिक विपद् र प्रविधिमा भएको विकासका कारण उत्पन्न हुने जोखिमहरूलाई सम्बोधन गर्न जोखिममा आधारित पूँजी, मूल्य तथा नियमन पद्धतीको विकास र नियामक निकायहरूको भूमिकाका सम्बन्धमा छलफल भएको थियो । एसिया–प्रशान्त क्षेत्रका नेपाल, युनाइटेड अरब इमिरेट्स, भारत, चीन लगायतका देशहरुमा केही समय अघि प्राकृतिक विपद् तथा जलवायु परिवर्तनका कारण भएका क्षतिलाई सम्बोधन गर्न बीमाको भूमिका तथा बीमा मार्फत भौगोलिक विकटता तथा आर्थिकरूपले पछि परेका बर्गहरूमा बीमाको पहुँच विस्तारका साथै प्यारामेट्रिक बीमा र अन्य जोखिम व्यवस्थापनका लागि विभिन्न मुलुकहरूले अवलम्न गरेका विधिहरूका बारेमा छलफल भएको थियो । यसैगरी, विश्वभर तीब्र गतिमा हुँदै आएको आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र अन्य प्राविधिक विकासका कारण सिर्जित जोखिमहरूलाई सचेतापूर्वक सन्तुलितरूपमा सम्बोधन गर्न नियामकीय निकायहरूको भूमिका, प्राकृतिक विपद्को जोखिमको वित्तीय रक्षावरणमा एसिया–प्रशान्त क्षेत्रमा एकीकृत पद्धतिको विकास, समावेशी बीमा मार्फत जलवायु परिवर्तनका जोखिमलाई अवसरमा बदल्ने सम्भावना लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा जलवायु परिवर्तन तथा प्राकृतिक विपद्का कारण सिर्जना हुने जोखिमहरूलाई आगामी दिनमा कसरी सम्बोधन गर्दै अघि बढ्ने भन्ने सम्बन्धमा एसिया–प्रशासन्त क्षेत्रका देशहरू लगायत एसियाली विकास बैंकले कार्यान्वयन गर्दै आएका नविनत् विधि तथा कार्यक्रमहरूका बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा नेपाल लगायत सहभागी देशका प्रतिनिधिहरूले जलवायु परिवर्तन, प्राकृतिक विपद्, नियामक निकायहरूको भूमिका, प्रोटेक्सन ग्याप घटाउने विधि, महाविपत्तिको समयमा सिर्जना हुने जोखिम रक्षावरण लगायतका विषयमा प्रस्तुती गरेका थिए । बैठक तथा सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रका नेपाल लगायत विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायहरूका प्रमुख तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो ।