भारतको प्रयागमा महाकुम्भमेला : पानीमुनि २५ हजार सिसी क्यामेरा जडान, १० करोड बढीले गरे स्नान
प्रयागराज । गङ्गा, यमुना र सरस्वती नदीको सङ्गमस्थल प्रयागराजमा हाल विश्वप्रसिद्ध महाकुम्भमेला चलिरहेको छ । भारतको प्रयागराजमा हरेक १२ वर्षमा आयोजना हुने उक्त कुम्भमेलाको पहिलो दिनमै एक करोडभन्दा बढी व्यक्तिले स्नान गरेको भारतको उत्तर प्रदेश पर्यटन विभागले जनाएको छ । यही माघ १ गतेदेखि सुरु भई ४५ दिनसम्म सञ्चालन हुने उक्त कुम्भमेलामा हिन्दू धर्मावलम्बीहरूले भारतको सबैभन्दा पवित्र नदी मानिने गङ्गा, यमुना र पौराणिक सरस्वती नदीको सङ्गममा स्नान गर्ने गर्छन् । मेलामा ४५ करोड तीर्थालु भक्तजन आउने विभागले अनुमान गरेको छ । हिन्दू धर्माबलम्बीहरुको पवित्र भूमि प्रयागराजमा महाकुम्भ स्नान गर्न भारत, नेपालसहित विभिन्न मुलुकबाट लाखौँको सङ्ख्यामा तीर्थयात्री आउने गरेका छन् । उत्तर प्रदेश पर्यटन विभागका महानिर्देशक ईशा प्रियाले एक सय ४४ वर्षपछि परेको महाकुम्भमेलाको विशेष महत्व रहेको भन्दै प्रयागराज महाकुम्भको अद्भुत आनन्द लिन सबैमा आह्वान गरे । उनले सीमापार धार्मिक पर्यटन प्रवद्र्धनका लागि महाकुम्भमेला उपयोगी बन्ने विश्वास व्यक्त गरे । मेलाको रौनक मेलामा स्नान गर्न आउने तीर्थालु भक्तजनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । मेलालाई दृष्टिगत गर्दै भारत सरकारले २५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । मेलाको आकर्षणका रुपमा इलाहवाद सडकका चोकचोकमा सूचनामूलक ब्यानर, पोष्टर र झिलीमिली बत्तीले झकिझकाउ पारिएको छ । तीन नदीको सङ्गमस्थलमा दायाँ र बायाँ किनारमा तीर्थालु भक्तजनका लागि बासस्थानका निम्ति स्तर अनुसारको सुविधासम्पन्न अस्थायी ‘टेन्ट हाउस’हरु निर्माण गरिएका छन् । रातको समयमा टेन्ट हाउस क्षेत्रमा झिलीमिली बत्तीले मेलाको रौनकलाई थप बढावा दिएको छ । मेलामा बास व्यवस्थापनका लागि अस्थायी शिविर, स्वास्थ्य शिविर रहेका छन् । एक लाखभन्दा बढी टेन्ट स्थापना गरिएको छ । मेलामा नागाबाबा, अघोरी बाबाको भिन्न आकर्षण देखिन्छ । मेलाको सुरक्षालाई मध्यनजर गर्दै नदीको पानीमुनि २५ हजारभन्दा बढी सिसी क्यामेरा जडान गरिएका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मेलामा पुग्ने तीर्थालुको सहजताका लागि प्रयागराज विमानस्थलबाट सात हजारभन्दा बढी बसको व्यवस्था गरिएको छ । पाँच सय ५० सटल बस, १३ हजारभन्दा बढी रिक्सा, १३ हजार ट्रेन, तीन हजार विशेष ट्रेनको व्यवस्था मिलाइएको छ । यसैगरी, मेला क्षेत्रमा ४३ अस्थायी अस्पताल स्थापना गरिएका छन् । सरकारी र निजी गरी ६ हजार शय्याको व्यवस्था छ । एयर एम्बुलेन्ससहित सडक एम्बुलेन्सको व्यवस्था गरिएको छ । हेलिकोप्टरबाट मेलाको अवलोकन गर्ने प्रबन्ध समेत गरिएको छ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मु तथा प्रधानमन्त्री नरेन्द्र मोदीसमेत महाकुम्भमेला अवलोकन गर्न पुग्ने बताइएको छ । दश करोड बढीले स्नान गरे महाकुम्भमेलामा हालसम्म १० करोडभन्दा बढी व्यक्तिले पवित्र स्नान गरेको भारतीय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । दैनिक एक करोड हाराहारी भक्तजन महाकुम्भ पुगिरहेका छन् । मेलाको आज १०औँ दिनमा पनि तीर्थालुको उत्तीकै घुइँचो रहेको छ । पवित्र नदीहरूको सङ्गममा स्नान गर्दा पापमोचन हुने र आत्मा शुद्ध हुने जनविश्वास छ । मेलामा सहभागी धर्मावलम्बीहरूको ताँती अन्तरिक्षबाट देख्न सकिने बताइएको छ । दैनिक एकदेखि डेढ करोड भक्तजनले गङ्गा स्नान गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । ज्योतिषीहरूले निश्चित ग्रह र नक्षत्रहरूका आधारमा नुहाउने मिति र शुभ समय तय गरेका छन् । त्यसका आधारमा स्नानका लागि सोमबारबाहेक अन्य पाँच दिन शुभ रहेको बताइएको छ । कुम्भमेला हिन्दू धर्मावलम्बीको एक महान् स्नान पर्व हो । यो मेला पृथ्वीमा जम्मा १२ स्थानमा लगाउन सकिने कुरा शास्त्रहरूले उल्लेख गरेका भए पनि हालसम्म जम्मा पाँचवटा स्थान मात्र पत्ता लागिसकेका छन् । ती पाँच स्थानमध्ये भारतका चार ठाउँमा प्रत्येक तीन–तीन वर्षको अन्तरालमा लाग्दछ भने एक कुम्भस्थल नेपालमा पर्दछ । कुम्भमेला हुने स्थलहरुमा इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासिक (महाराष्ट्र), हरिद्वार (उत्तराखण्ड) र चतराधाम (बराहक्षेत्र, सुनसरी नेपाल) रहेका छन् । के हो महाकुम्भमेला यो मेला एक स्थानमा प्रत्येक १२ वर्षमा लाग्ने गर्दछ । हिन्दू धर्मका सबै ग्रन्थमा कुम्भमेलाको वर्णन गरिएको पाइन्छ । धर्म ग्रन्थका अनुसार जो व्यक्ति कुम्भमा स्नान गर्दछ त्यो सम्पूर्ण पापबाट मुक्त भएर पुण्यको भागी बन्नेछ भन्ने मान्यता रहेको छ । भारतका चार कुम्भमेलाका सन्दर्भमा सूर्य, चन्द्र एकै राशिमा परेको, बृहस्पति वृष राशि तथा मौन अमावश्या र श्रीपञ्चमीको बीचमा कुम्भ सङ्क्रान्ति परेका अवस्थामा महाकुम्भ योग पर्छ र यसैलाई महाकुम्भ भनिन्छ । कुम्भमेला भारतको तीन ठाउँमा लाग्ने गरेको थियो । तर २०५९ वैशाख १ गतेदेखि नेपालको सुनसरी जिल्लास्थित चतराधाममा समेत लाग्न थालेको छ । ‘डिजिटल’ महाकुम्भ भारतको संस्कृति मन्त्रालयका अनुसार महाकुम्भमेलामा विज्ञान प्रविधिको पनि भरपुर उपयोग गरिएको छ । प्रयागराज महाकुम्भमा अध्यात्म र नवप्रवर्तनको असाधारण मिश्रणका रुपमा ‘सेट’ गरिएको छ । आधुनिक प्रविधिलाई अँगालेर उच्च–टेक सुरक्षा उपायहरुदेखि डिजिटल भूमि ‘आवंटन’हरु र ‘इमर्सिभ भर्चुअल’ वास्तविकता अनुभवहरु, महाकुभ्भ २०२५ ले भक्तहरुलाई पूर्वाधार, सुरक्षा र डिजिटल सेवाहरुमा व्यापक तरिकाका साथ महाकुम्भ परम्परा र प्रविधिबीचको मेलमिलापको नमूना बनेको छ । भक्तजनको सुरक्षाका लागि विशेष साइबर सुरक्षा व्यवस्था सुरु गरिएको छ । साइबर सुरक्षा उत्तर प्रदेश सरकारले प्रिन्ट, डिजिटल र सोसल मिडियासहित प्रत्येक प्लेटफर्म प्रयोग गर्ने निर्णय गरेको छ । एआई, फेसबुक, एक्स र इन्स्टाग्राम जस्ता प्लेटफर्महरू शोषण गर्ने गिरोहहरूको अनुसन्धान गरिरहेका छन् । व्यापक जनचेतना अभियानका लागि मोबाइल साइबर टोली पनि तैनाथ गरिएको छ । उत्तरप्रदेश पर्यटन विभागका अतिरिक्त रणनीतिक अधिकृत आकाश दीपले प्रयागराज महाकुम्भले ऐतिहासिक रेकर्ड बनाएको बताउँदै धार्मिक पर्यटन अभिवृद्धिमा टेवा पुग्ने धारणा रारे । वनारसी टुरिजम गिल्टका अध्यक्ष सन्तोषकुमार सिंहले १२ वर्षपछि लाग्ने कुम्भमेलामा हिन्दू नेपाली पर्यटकलाई सहभागी हुन आह्वान गरे । आगरा ट्राभल एजेन्ट एसोसिएसनका महासचिव कौशलेन्द्र सिंहले महाकुम्भ मेलाले क्षेत्रीय धार्मिक पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने बताए । महाकुम्भमेलामा पहिलो दिन मकर सङ्क्रान्तिका दिन महामण्डलेश्वरले शाही स्नान गर्ने चलन छ । त्यसो त श्रीपञ्चमी, शिवरात्रि र पूर्णिमा पनि शाही स्नान गर्ने प्रचलन छ । उक्त दिन शाही स्नानका कारण केही समय सर्वसाधरण भक्तजनका लागि केही असुविधा हुने समेत आयोजकको भनाइ छ । अन्य दिन भने भक्तजनहरुले सहज रुपमा महाकुम्भ स्नान गर्नेगरी विभिन्न घाटहरु निर्माण गरिएको छभने घाटसम्म पुग्नका लागि मोटरबोट तथा डुङ्गाहरु पर्याप्त मात्रामा उपलब्ध छ। महाकुम्भको इतिहास पुरानो छ । केही ग्रन्थहरुका अनुसार सत्ययुगमा पहिलो महाकुम्भमेला आयोजना भएको मानिन्छ । जसको सुरुआत शङ्कराचार्यले गरेका थिए । जानकारहरुका अनुसार कुम्भको परम्परा हजारौँ वर्ष पुरानो हो । नेपालबाट पनि उल्लेख्य सङ्ख्यामा तीर्थालुहरु महाकुम्भ मेला गइरहेका छन् । साथीभाइ, परिवार र समूह बनाएर नेपालीहरु प्रयागराजमा स्नानका लागि गएका हुन् । समुद्र मन्थनको समयमा देवता र दानवहरू अमृत पाउनका लागि लडिरहेका थिए, सोही क्रममा भगवान् इन्द्रका छोरा जयन्त अमृत भाँडा लिएर भागिदिए, त्यसपछि ती दानवहरू पनि कलश लिन जयन्तको पछि लागे । यस समयमा राक्षस र देवताहरूबीच भयानक युद्ध भयो । जब जयन्त अमृत कलश लिएर भागे, अमृत कलशका केही थोपा भने चार ठाउँमा खसे, जहाँ अहिले महाकुम्भ आयोजना गरिएको छ । त्यसबेलादेखि, प्रयागराज, उज्जैन, नासिक, हरिद्वारमा १२–१२ बर्षको अन्तरालमा कुम्भमेला आयोजना गरिएको पाइन्छ । रासस
३०० बढी उद्योग खारेज, नयाँ उद्योग दर्तामा पनि उच्च गिरावट
फाइल फोटो बाँके । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म ६ महिनाको अवधिमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा तीन सयभन्दा बढी उद्योग तथा फर्म खारेज भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत रमेशबहादुर बुढाथोकीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा उद्योगतर्फ एक सय आठ र वाणिज्यतर्फ दुई सय ३८ उद्योग तथा फर्म खारेज भएका छन् । ‘चालु आर्थिक वर्षको छ महिनामा उत्पादनमूलक, कृषि तथा वन्यजन्तु, पर्यटनमूलक, सेवामूलकलगायत उद्योगतर्फ एक सय आठ र वाणिज्यतर्फ प्राइभेट र साझेदारी फर्म दुई सय ३८ गरी जम्मा तीन सय ४६ उद्योग तथा फर्महरु खारेज भएका छन्’, प्रमुख बुढाथोकीले भने, ‘लगतकट्टा (खारेजी) का साथसाथै नयाँ उद्योग तथा फर्महरु दर्ता पनि हुँदै आएका छन् । तर पछिल्ला केही वर्षदेखि लगातार खारेजी गर्नेको सङ्ख्यामा वृद्धि हुँदै आएको छ ।’ प्रमुख उद्योग अधिकृत बुढाथोकीका अनुसार छ महिनाको समय अवधिमा विभिन्न प्रकृतिका तीन सय ६८ नयाँ उद्योग र वाणिज्यतर्फ चार सय १० नयाँ फर्म दर्ता भएका छन् । ‘कार्यालयको तथ्याङ्कमा विगत चार-पाँच वर्षदेखि लगातार नयाँ उद्योग तथा फर्म दर्ता गर्नेको सङ्ख्या घटिरहेको छ भने खारेज गर्नेको सङ्ख्या बढेको छ’, उनले भने, ‘आर्थिक मन्दी, बैङ्कको चर्को ब्याज, खुला सिमानालगायत कारण भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसकेर उद्योग तथा फर्म बन्द गर्नुपरेको उद्योगी व्यापारीहरुले गुनासो गर्नुहुन्छ ।’युवाहरुले उद्योग सञ्चालन गर्नका लागि ऋणधन गरेर उद्योग स्थापना गरे पनि विविध कारणले गर्दा उद्योग टिकाइराख्न र निरन्तर सञ्चालन गर्न नसकेका कारण खारेज गर्नु परेको उनले भने। प्रमुख बुढाथोकीले भने, ‘युवाहरुले केही गर्छु भनेर उद्योग स्थापना गरे पनि उद्योग टिकाइराख्न र निरन्तर सञ्चालन गर्न नसक्दा खारेज गरेर वैदेशिक रोजगारीका लागि विदेश जाने गर्नुहुन्छ । कार्यालयका प्रशासन अधिकृत सुशील ढकालका अनुसार चालु आवको छ महिनाको समयमा उद्योगतर्फ ६ सय २७ र वाणिज्यतर्फ एक हजार दुई सय ५६ फर्म नवीकरण भएका छन् । त्यसैगरी, पुँजी वृद्धि, ठाउँसारी, नाम परिवर्तन, नामसारी, ठेगाना परिवर्तनलगायत उद्योगतर्फ तीन सय ४० र वाणिज्यतर्फ चार सय ७७ संशोधन गरिएको छ । त्यसैगरी, वाणिज्यतर्फ नयाँ फर्म दर्ता हुनेभन्दा खारेज गर्नेकै सङ्ख्या बढिरहेको छ । उद्योग अधिकृत बुढाथोकीका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा प्राइभेट फर्म ६ सय ३४ र साझेदारी फर्म १४ गरी कुल ६ सय४८ नयाँ फर्म दर्ता भएका थिए । आर्थिक वर्ष ०८०/८१ मा प्राइभेट फर्म चार सय ५० र साझेदारी फर्म १२ गरी चार सय ६२ फर्म खारेजी भएका थिए भने आर्थिक वर्ष ०७९/८० मा तीन सय १२ प्राइभेट फर्म खारेजीमा परेका थिए । केही वर्षयता अघिल्लो आवमा भन्दा नयाँ आवमा क्रमशः दर्ता हुने क्रम घट्दै गएको हो भने खारेजी गर्ने क्रम बढ्दै गएको हो । कार्यालयको तथ्याङ्कले विगत चार वर्षदेखि लगातार नयाँ उद्योग तथा फर्म दर्ता गर्ने क्रम घटिरहेको र खारेजी गर्नेको सङ्ख्या बढ्दै गइरहेको देखाएको हो । नयाँ दर्ता-स्थापना भएका उद्योगहरुमा एक सय सात महिला र दुई सय ८६ जना पुरुष गरी जम्मा तीन सय ९३ जना उद्यमी छन् भने ६ सय २० जना महिला र आठ सय ८१ पुरुष गरी कुल एक हजार पाँच सय एकजनाले रोजगारी पाए छन् । नयाँ उद्योग दर्ता, नवीकरण, संशोधन लगायतबाट यस चालु आवको पुससम्ममा उद्योगतर्फ रु ४० लाख ४४ हजार र वाणिज्यतर्फ ७६ लाख ६१ हजार पाँच सय ८५ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । कार्यालयको गत आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार विगत चार वर्षदेखि लगातार कार्यालयमा उद्योग दर्ता गर्नेको सङ्ख्या घट्दै गइरहेको र खारेजी गर्नेको सङ्ख्या बढ्दै गइरहेको हो । गत आवमा विभिन्न प्रकृतिका सात सय ६० नयाँ उद्योग दर्ता भएका थिए भने दुई सय ३० उद्योग खारेज भएका थिए । आर्थिक वर्ष २०७९/८० मा आठ सय ७६ उद्योग दर्ता भएका थिए भने एक सय ६० उद्योग खारेजी भएका थिए । त्यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा एक हजार सात सय १२ उद्योग दर्ता भएका थिए सो वर्षमा एक सय ३८ उद्योग खारेज भएका थिए । आर्थिक वर्ष २०७७/७८ मा दुई हजार तीन सय ४१ उद्योग दर्ता भएकामा ९६ उद्योग खारेज भएका थिए । कार्यालयका अनुसार नयाँ दर्ता गरिएका उद्योगमा ८१ करोड ६५ लाख ७५ हजार रुपैयाँ र वाणिज्यतर्फ ५७ करोड ९५ लाख ३१ हजार रुपैयाँ बराबरको पुँजी लगानी छ । रासस
सूर्यविनायक-धुलिखेल सडक तीव्रगतिमा निर्माणको माग, दैनिक ५ घण्टा सडक बन्द गर्ने
भक्तपुर ।अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल सडक निर्माण आयोजनाले निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्ने तयारी गरेको छ । विसं २०७९ पुस २४ गतेदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगातीबाट साँगासम्म र काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा एकैसाथ आयोजनाले सडक विस्तारको कार्य सुरु गरेको थियो । भक्तपुर–धुलिखेल सडकको साँगामा निर्माण कार्य तीव्रगतिमा गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका नगरप्रमुखहरुले आयोजनासँग माग गरेका छन् । आयोजनाले भक्तपुर काभ्रेपलाञ्चोकका नगरप्रमुखहरुसँग सडक निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्न प्रस्ताव राखेपछि नगरप्रमुखहरुले यो प्रस्तावलाई भने अस्वीकार गरेका छन् । राजमार्गको सडक दिउँसो अवरुद्ध गर्दा सर्वसाधारणलाई समस्या पर्ने भएकाले विकल्प खोज्नुपर्ने नगरप्रमुखहरुको भनाइ छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अरनिको राजमार्गको विस्तारका क्रममा दिउँसो यातायात अवरुद्ध गर्नु उचित नहुने बताए । निर्माण कार्य रात्रिकालीन समयमा गर्नु उपयुक्त हुने भन्दै उनले सडक निर्माणका क्रममा वैकल्पिक सडकबारे स्थलगत अध्ययन गर्नुपर्ने र राजमार्ग वरपरका टहरा विना क्षतिपूर्ति भत्काउने कार्य गर्नुअघि छलफल गर्नुपर्ने बताए । आयोजनासँग भएको छलफलमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आयोजनाको काम सुस्त गतिमा भइरहेकामा असन्तुष्टि व्यक्त गर्दै सूर्यविनायक–धुलिखेल राष्ट्रिय गौरवको योजना भएकाले समयमै सम्पन्न गर्नुपर्ने बताए । जनतालाई समस्या नपर्नेगरी स्थलगत अवालोकन गरेर मात्र आंशिक रुपमा बाटो बन्द गर्नुपर्ने उनको भनाइ थियो । धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुले सडक निर्माणको काम गर्ने निर्माण व्यवसायीले जनतालाई समस्या नपर्नेगरी गर्नुपर्ने बताए । उनले सडक मर्मत र वैकल्पिक बाटोको समेत आवश्यक व्यवस्था पनि निर्माण व्यवसायी वा सडक विभागले नै गर्नुपर्नेमा जोड दिए । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले रात्रिकालीन समयमा सडक निर्माणको काम गर्ने गरी तयारी गर्नुपर्नेमा जोड दिए । सूर्यविनायक धुलिखेल सडक ७.५ किमीको विस्तारका लागि कुल रु तीन अर्ब ८८ करोडमा ठेक्का सम्झौता भएर काम सुरु गरिएको हो । रासस
एआई प्रवर्द्धनमा ५ सय अर्ब डलर लगानी गर्ने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधारमा ओपनएआई, सफ्टबैंक र ओरेकलबाट ५ सय अर्ब अमेरिकी डलरको लगानीको घोषणा गरेका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा ट्रम्पले तीन कम्पनीहरू स्टारगेट नामक नयाँ एआई पूर्वाधार कम्पनीमा साझेदारी गर्न तयार रहेको बताएका हुन् ।जसले देशभरका डाटा सेन्टरहरूसहित एआईको अर्को पुस्तालाई शक्ति दिन भौतिक र भर्चुअल पूर्वाधार निर्माण गर्नेछ । कम्पनीहरूले सय अर्ब डलरको लगानीबाट सुरु गर्नेछन् । जसमा आगामी चार वर्षमा परियोजनामा पाँच सय अर्ब डलरसम्म लगानी गर्ने योजना छ ।
उद्यम गर्न चाहनेलाई हलेसी तुवाचुङ नगरपालिकाले निर्ब्याजी ऋण दिने
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयले बिना ब्याजका ऋण पाउने भएका छन् । कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालनलगायतका लघुउद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले रु पाँच लाखसम्मको बिनाब्याजका ऋण दिने व्यवस्था मिलाएको हो । नगरपालिकाका स्थानीय उद्यमीलाई बिनाब्याजमा ऋण उपलब्ध गराउन नगरपालिकाले बुधबार प्रभु बैंक हलेसी शाखासँग सम्झौता गरेको छ । नगरपालिकाको सिफारिसको आधारमा बैंकले मूल्याङ्न गरेर उद्यमी बन्न चाहने स्थानीय नागरिकलाई बिनाब्याजका ऋण दिने सम्झौतामा उल्लेख छ । नगरपालिकाभित्र खोलिएका लघु उद्योगको प्रवद्र्धन गर्दै उद्यम गर्न चाहने स्थानीय नागरिकलाई आफ्नै ठाउँमा कृषि, पशुपालन, होमस्टेलगायत व्यवसाय सञ्चालन गरेर स्वरोजगार बन्ने वातावरण बनाइदिनका लागि नगरपालिकाले ब्याज अनुदान कार्यक्रम ल्याएको नगरप्रमुख विमला राईले बताइन् । ‘उद्यम गर्न चाहने नागरिकका लागि लगानी अभाव नहोस् भनेर ब्याज अनुदान कार्यक्रम ल्याइएका छ । यसका लागि बैंकसँग सम्झौतासमेत गरिसकिएको छ’, उनले भनिन्, ‘उद्यमीले बैंकबाट लिएको रु पाँच लाखसम्मको ऋणको ब्याज तीन वर्षसम्म नगरपालिकाले तिरिदिन्छ । यसले लगानी अभावमा उद्यमी बन्न नपाएका नागरिकलाई सहज हुने अपेक्षा गरेछौँ ।’ उद्यम गर्न चाहने स्थानीय नागरिकले बिनाब्याजको ऋण लिनका लागि सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्ने नगरपालिकाले बनाएका कार्यविधिमा उल्लेख छ । वडा–वडामा सङ्कलन भएको निवेदनलाई समेटेर नगरपालिकाले बैंकलाई सिफारिस गरेपछि उद्यम गर्न चाहने नागरिकले ऋण पाउने हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । लगानी अभावमा उद्यम गर्न नसकिरहेका स्थानीय नागरिक नगरपालिकाकै सिफारिसको आधारमा बिनाब्याज ऋण पाउने भएपछि उत्साहित भएका छन् । नगरपालिकाले गरेको सिफारिसअनुसार निवेदकको धितो मूल्याङ्कन गरेर बैंकले ऋण प्रदान गर्ने प्रभु बैंक हलेसी शाखाका प्रमुख तीर्थराज विष्टले बताए।यसैबीच, एघार वडा रहेको उक्त नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहनबापतको रकम वितरण सुरु गरेको छ । रासस
लसुन प्रतिकिलो ३०० रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३५, गोलभेँडा सानो भारतीय रु ३० आलु रातो प्रतिकेजी रु ४४, आलु रातो (भारतीय) प्रतिकेजी रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६८, गाजर (लोकल) प्रतिकेजी रु ५०, गाजर (तराई) प्रतिकेजी रु ४०, बन्दा (लोकल) प्रतिकेजी रु २५, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ४०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ । यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु ७०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ६०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ७०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १५, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १४०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ३५, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ५०, रायो साग प्रतिकेजी रु २०, पालुङ्गो साग प्रतिकेजी ५०, चमसुरको साग रु ५०, तोरीको साग प्रतिकेजी रु ३०, मेथीको साग प्रतिकेजी रु ५०, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ६०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु ८०, च्याउ (डल्ले) प्रतिकेजी रु ३२० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ८०, सजिवन रु २५०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १३५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १३०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ६०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ८०, लसुन हरियो प्रतिकेजी रु १००, हरियो धनिया प्रतिकेजी रु ३०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन, जता हेर्यो उतै हराभरा
महोत्तरी । गरे के हुँदैन भन्ने आहान अहिले महोत्तरीको गौशाला-८ कुष्माढीको सनीखोला किनार अवस्थित नदीउकास जग्गा हेरे चरितार्थ हुन्छ । तीन वर्षअघिसम्म गेग्य्रान बलौटे खोलाको ढड्यान जग्गा किसानको मेहनतले अहिले ‘सुन फल्ने’ जमिन बनेको हो । दुबो पनि नमौलाउने गेग्य्रान अहिले जता हेर्यो उतै हराभरा छ । सनीखोलाले बहाव छोडेर उकासेको बगरमा कुष्माढीका भूमिहीन किसानले नङ्ग्रा खियाएका तीन वर्ष भएको छ । नदीले बहाव छाडेको नदीउकास बगरको एक सय एक बिघा जग्गामा अहिले थरिथरिका फलफूलका बोट हलहली बढ्दैछन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले फलफूल रोपणमा किसानलाई सघाएको छ । यहाँ आँप, लिची र कागतीसहितका ११ हजार बोट हुर्कदैछन् । बगैँचाभित्र तरकारी बाली लहलह छ । यो बगरमा कुष्माढीका दुई सय एक भूमिहीन किसानको मेहनत हाँसेको छ ।गौशाला नगरपालिकाले भूमिहीन किसानको परिवार सङ्ख्याका आधारमा चार कट्ठादेखि १० कट्ठासम्म जग्गा छुट्याइदिएपछि २०७८ को अन्त्यतिर खनजोत थालिएको हो । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), सेभ द चिल्ड्रेन अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समुन्नति कार्यक्रम, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल र गौशाला नगरपालिकाको साथले किसानको हौसला बढेको छ । हराभरा बगरमा कतै गहुँ लहलह बढ्दैछ । कतै आलु धमाधम खनिँदै छ । किसानले जैविकखेती गर्ने हुँदा यहाँ उत्पादित फसल उपभोक्ताको पहिलो रोजाइमा पर्छन् । अहिले यहाँका किसानलाई उपभोक्ता ग्राहकलाई आलु तौलेर दिन भ्याइनभ्याइ छ । ‘आलु लिने धेरैजसो खेतमै आइपुग्छन्’, आलुखेतीका किसान चन्द्रकला महरा भन्छिन्, ‘बगरखेती थालिकन गुजाराकै चिन्ता लिनुपरेको छैन’, बगरखेतीमा कुष्माढीका मुसहर, चमारसहितका गरिब दलित समुदाय र कोइरी, यादव र मगरसहितका जनजाति संलग्न छन् । यहाँका किसानलाई गौशाला नगरपालिकाले नदीउकास क्षेत्रभित्रका चार किलोमिटर क्षेत्रभित्र विद्युतीकरण, दुई वटा डिपबोरिङ र सिँचाइका लागि छ वटा पोखरी निर्माण गरी दिएको छ । यसैगरी समुन्नति कार्यक्रमले मलका लागि गड््यौलाखेती गर्न सिकाएको छ । यसैगरी सामुदायिक विकास तथा पैरवी मञ्चले खेतीमा प्राविधिक र बीउबिजनको सहयोग गरेपछि आफूहरुलाई खेतीमा जाँगर बढेको किसान कामेश्वर महतो बताउँछन् । ‘हामीसँग आफ्नो जग्गा थिएन, नगरपालिका र अरु संस्थाको सहयोगले खेती गर्ने जग्गा र अन्य सहयोग पायौँ, अब कसैकहाँ मजदुरी गर्न जान परेको छैन’, महतो भने, ‘हामी मजदुरलाई बगरखेतीले किसान बनायो ।’ बगरखेती गर्न थालेपछि कहिल्यै धन सञ्चय नगर्ने जाति समुदायको परिचय बनेका मुसहर पनि उम्दा किसानमा दरिएका छन् । मधेसमा मुसहरका लागि ‘न राख्ने अन्न, न साँच्ने धन’ भन्ने आहानै छ । कृषि कार्यमा पोख्त मानिने मुसहरको किसानका खेतमा मजदुरी गरेर गुजारा चलाउने स्थापित परिचय छ । पछिल्लो कालमा सनीखोलाको नदीउकास जग्गा पाएपछि आफ्नै खेती थालेका मुसहर अन्न र नगद सञ्चय गर्न सक्षम भएका छन् । ‘नदीउकास बगर पाएको पहिलो वर्ष त ढुङ्गा, गेग्य्रान खोस्रेर छेउ लाउँदै बित्यो, दोस्रो वर्षदेखि फसल लिन पाएका छौँ’, कुष्माढीका मुसहर समुदायकी ३५ वर्षीया कविता सदा भन्छिन्, ‘अब जहान परिवारको प्रतिपाल यही बगर खोस्रेर पुग्छ ।’ पहिलेको बलौटे ढड्यान जग्गा नियमितको खनजोत, सिँचाइ र जैविक मलले अब उर्बर जग्गा बनेको छ । उत्तरतिर वनक्षेत्रसँगै जोडिएको यो जग्गामा वनक्षेत्र, खोल्साखोल्सी र खोलाले बगाएर ल्याएको पाँगो माटोले रोपिएका फलका रुख दुई वर्षमै हुर्केका र बालीनाली पनि हलक्क बढ्ने गरेको गौशाला–८ का वडाध्यक्ष भोजबहादुर दर्लामी बताउँछन् । केही पहिलेसम्मका गरिब बगरखेतीले राम्रा किसान बनेका र उनीहरुको मेहनतले नदीउकास क्षेत्र हराभरा देखिँदा जग्गा बाँडिएको कुराले निकै सन्तोष दिने गरेको गौशालाका नगरप्रमुख डा दीपेन्द्र महतोको भनाइ छ । बगरखेतीका किसानलाई नगरपालिकाले गरेको सहयोग खेर नगएको हुँदा यस कामले आफूलाई निकै हौस्याएको डा महतो बताउँछन् । ‘किसानका साथमा नगरपालिका छ, मेहनत किसानले गर्छन्, साथ हाम्रो रहन्छ’, डा महतोले भने । यसैगरी सामुदायिक विकास तथा पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले पनि आफ्नो संस्थाबाट बगरखेतीका किसानलाई साथ सहयोग जारी रहने प्रतिबद्धता जनाएका छन् । ‘हाम्रो मेहनत सफल भएको छ, सबैको साथ रहीरहे हामी बगरमा सुन फलाउँछौँ’, कुष्माढीकी किसान बिना पासवान भन्छिन् । सनीखोलाको बगरखेती अवलोकन गर्न टाढाटाढाबाट किसान समूह त्यहाँ पुग्ने गरेका छन् । रासस
कवाड व्यवसायीमाथिको धरपकड बन्द गर्न जसपाको माग
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कवाड व्यवसायीमाथि भइरहेको गतिविधिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । जसपाले बुधबार विज्ञप्ति जारी गर्दै कवाड व्यवसायीलाई काठमाडौं महानगरपालिकाले भौतिक संरचनाको तोडफोड र व्यवसायीलाई धरपकड गर्नु निन्दनीय कार्य रहेको भन्दै यस्ता कार्य बन्द गरी व्यवसायिक सुरक्षाको वातावरण बनाउन माग गरेको छ । ‘महानगरले कवाड व्यवसायीलाई गालीगलौज र अभद्र व्यवहार गरी कवाड व्यवसायलाई रोक्न खोज्नु अत्यन्त गलत र नियन्दनीय कार्य भएकोले यस्ता कार्यलाई यथाशीघ्र बन्द गरी कवाड व्यवसायीहरुको सुरक्षाका साथै स्वतन्त्र रुपले आ–आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने भौतिक अधिकारको प्रत्याभूति गराउन जसपा सरकारसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ । देशभर सञ्चालिन उद्योगलाई आवश्यक कच्चापदार्थ उपलब्ध गराउनाका साथै वातावरणीय सरसफाइमा समेत महत्वपूर्ण योगदान गरिरहेको अवस्थामा हाल कवाड व्यवसायमा निम्न आयस्तर भएका व्यक्तिहरु आबद्ध रहेको र खासगरी अधिकांश मधेशी समुदायको उपस्थिति रहेको यस क्षेत्रका व्यवसायी वर्षौंदेखि कानुनसम्मत तवरले काठमाडौं उपत्यकामा व्यवसाय तथा सेवा गर्दै आएको र लाखौँलाखलाई रोजगार प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।