विकासन्युज

भरतपुरको पहाड क्षेत्रमा रहेका शिक्षकलाई आवासीय भत्ता

फाइल फोटो चितवन । भरतपुर महानगरपालिकाको पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता दिइएको छ । भरतपुर–२९ को पहाडी क्षेत्रमा रहेका विद्यालयमा अध्यापन गराउने शिक्षकलाई मासिक दुई हजार रुपैयाँका दरले आवासीय भत्ता दिइएको हो । महानगरको शिक्षा महाशाखा प्रमुख सुवास आचार्यका अनुसार गत आर्थिक वर्षमा नौ महिनाको भत्ता दिइएकामा चालु अवमा यस वर्ष १२ महिनाकै भत्ता उपलब्ध गराइनेछ । गत वर्ष ३३ शिक्षकले उक्त सुविधा पाएका थिए । आचार्यका अनुसार भरतपुर–२९ मा ११ विद्यालय रहेकामध्ये राजमार्गसँगै रहेको कविलास मावि बाहेक १० विद्यालयका भाडामा बस्ने शिक्षकलाई यो सुविधा दिइएको हो । वडामा दुई वटा माध्यमिक विद्यालय छन् । तीमध्ये कविलासमा पढाउने शिक्षकले भत्ता नपाउने भएपछि एक माध्यमिक विद्यालय र बाँकी आधारभूत विद्यालयका शिक्षकले सुविधा पाउने भएका हुन् । महानगरप्रमुख रेनु दाहालले ग्रामीण क्षेत्रमा कोठा भाडामा लिएर पढाउँदै आएका शिक्षकलाई प्रोत्साहनस्वरुप भत्ता दिएको बताइन् । यो सुविधाले पहाडी क्षेत्रमा कार्यरत शिक्षकलाई प्रोत्साहन हुनुका साथै शिक्षामा पनि सुधार हुने उनले विश्वास व्यक्त गरिन् । सुविधा सम्पन्न ठाउँ र पहाडी क्षेत्रमा एउटै सुविधा हुँदा धेरैजसो शिक्षक पहाडी क्षेत्रमा जान नचाहने समस्या पनि यसबाट समाधान हुने उनको भनाइ छ ।

रिलायन्स फाइनान्सले दिगो ग्रुपको विद्युतीय गाडी फाइनान्स गर्ने

काठमाडौं । दिगो ग्रुप र रिलायन्स फाइनान्स लिमिटेड नेपालमा विद्युतिय सवारीसाधन (ईभी) खरिदकर्ताहरूलाई वित्तीय सेवा प्रदान गर्न साझेदारी गरेका छन् ।  माघ १० गते आधिकारिक रूपमा सुरु भएको यो विद्युतीय व्यावसायिक सवारीसाधनलाई अझ सुलभ बनाउने दिशामा एक महत्वपूर्ण कदम चालेको कम्पनीले जनाएको छ । सम्झौताअन्तर्गत रिलायन्स फाइनान्सले सवारीसाधनको लागतको ७० प्रतिशतसम्म ऋण प्रदान गर्नेछ । यी ऋणहरू आकर्षक ब्याजदर, लचिलो भुक्तानी सर्तहरू र आवेदन प्रक्रियाभरि व्यक्तिगत परामर्शको साथ आउने जनाइएकाे छ । यस साझेदारीअन्तर्गत ११-सीटर, १४-सीटर, १६-सीटर, र १९-सीटर विद्युतिय सवारी साधनहरूसहित दिगोका सबै व्यावसायिक गाडीहरूको लागि वित्तीय विकल्पहरू उपलब्ध हुनेछन् । दिगो ग्रुप अफ कम्पनीजका प्रमुख कार्यकारी अधिकृत, सौरभ श्रेष्ठ र रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समाजप्रकाश श्रेष्ठले हस्ताक्षर गरेपछि सम्झौताले औपचारिक रूप लिएको छ । यो साझेदारीले दिगो सवारी साधन अपनाउन सरल बनाउन साथै दिगोका ग्राहकहरु तथा व्यवसायीहरूलाई गाडी खरिद गर्न थप सहज बनाउने छ । कम्पनीका अनुसार रिलायन्स फाइनान्सको उपस्थितिसँगै ग्राहकहरूले अब नेपालभरका आफ्ना कुनै पनि शाखामा दिगोको गाडीहरू फाइनान्सको लागि आवेदन दिन सक्छन् ।

दरबन्दीभन्दा ४०० बढी ट्राफिक प्रहरी, जामको समस्या उस्तै

काठमाडौं । काठमाडाैं उपत्यकाकाे ट्राफिक जाम व्यवस्थापन हुन नसक्दा दैनिक हजाराैं सर्वसाधारणले हैरानी खेप्नु परिरहेको छ । अत्यधिक सवारी चाप, साँघुरा सडक र अव्यवस्थित सिस्टमले उपत्यकामा ट्राफिक समस्या झन् जटिल बनेको देखिन्छ । दैनिकजसो हुने ट्राफिक जामले सर्वसाधारण हैरान भएका छन् । विशेषगरी बिहान र बेलुकाकाे अफिस समयमा ट्राफिकको समस्या चरम अवस्थामा पुग्ने गरेको देखिन्छ । ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीले प्रयास गरिरहेको भए पनि समस्या समाधानमा अपेक्षित सफलता प्राप्त गर्न सकेको छैन । स्मार्ट ट्राफिक लाइट प्रणाली र डिजिटल निगरानी प्रणाली केही क्षेत्रहरूमा मात्र सीमित छन् । सवारीसाधनको तुलनामा पार्किङ स्थलको अभाव र अव्यवस्थित सार्वजनिक यातायात प्रणाली समस्या बढाउने मुख्य कारण हुन् । सवारी चालकलाई सचेत बनाउने, जथाभावी पार्किङ गर्नेलाई कारबाही गर्ने र स्मार्ट ट्राफिक लाइट प्रणाली जडान गर्ने प्रयास भए पनि प्रभावकारी परिणाम देखिन नसकेको यातायात व्यवसायीले बताउने गरेका छन् । कहाँ-कहाँ हुन्छ जाम ? विशेष गरी उपत्यकाको माइतीघर, कोटेश्वर, सिंहदबार, रत्नपार्क, थापाथली, त्रिपुरेश्वर कंलकी, चावहिल, जडिबुटी, सातदाेबाटाेलगायतका स्थानमा दिनहुँ जाम हुन्छ । दैनिकरूपमा सडकमा सवारी चाप बढ्न थालेपछि समाधानका लागि सरकारले सार्वजनिक यातायात र वैकल्पिक मार्गको व्यवस्था गर्न यातायात विभाग, सडक विभाग र ट्राफिक प्रहरीलाई जिम्मा दिएको छ । तर, यी सबै सरकारी निकायकाे व्यवस्थापन प्रभावकारी देखिएकाे छैन । उपत्यकाको ट्राफिक जाम विस्तारै कम हुँदै जाने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले दाबी गरे । उनले जाम व्यवस्थापन गर्ने अभ्यास भइरहेको बताए । उनले भने, ‘हामी ट्राफिक लाइटको नयाँ अभ्यासमै छौं । यसमा सवारी चालकहरू विस्तारै अभ्यस्त भइरहेका छन् । रातको समयमा रातो बत्ती बल्दा सवारी रोक्ने अनुशासनको विकास भइसकेको छ ।’ उपरीक्षक घिमिरेले उपत्यकामा ६९ वटा ट्राफिक लाइट रहेको बताउँदै ४३ वटा लाइट सञ्चालनमा रहेको जानकारी दिए । उनले ट्राफिक लाइटले राम्रो रिजल्ट दिइरहेको दाबी गरे । यसैगरी, उनले गाडीमा सिटको क्षमताभन्दा बढी मान्छे राख्न नदिने गरेको बताउँदै यदि सिट क्षमताभन्दा बढी देखिएको पाइएमा कारबाही गर्ने गरेको बताए । उनले भने, ‘हाल गाडीमा सिटको क्षमताभन्दा बढी मान्छे राख्न नदिने मात्रै हैन, गाडीको ढोका खोल्यो भने पनि कारबाही गर्ने गरेका छौं । ट्याक्सीको सन्दर्भमा ३ जनाबाहेक बस्न बढी राख्न दिने गरेका छैनौं । हामी नभएको ठाउँमा कतै हुनसक्छ, तर त्यसमा पनि सचेत नागरिकले हामीलाई सूचना दिने गरेका छन् । त्यसकै आधारमा पनि कारबाही गर्ने गरेका छौं ।’ उपरीक्षक घिमिरेले नियमको उल्लघंन गर्ने सवारी चालकलाई कारबाही गर्न आफूहरू पछाडि नहट्ने बताए । यातायातलाई व्यवस्थित गरी सेवाग्राहीलाई सेवा दिने काम भइरहेकाे उनकाे भनाइ छ । ‘यातायातलाई व्यवस्थित बनाई सेवाग्राहीलाई सेवा सहज दिन तत्पर छौं । नो हर्न अभियानले दुर्घटनालाई नियन्त्रण गर्ने विश्वास छ । यस अभियानमा सबैले सहयोग गरिदिनुहुनेछ भन्ने आशावादी छु,’उनले भने । उपत्यकामा १ हजार ८ सयभन्दा बढी ट्राफिक प्रहरी कर्मचारी खटिएको उपरीक्षक घिमिरेले जानकारि दिए । उनका अनुसार उपत्यकामा एक हजार ४ सय ट्राफिक प्रहरीको मात्रै दरबन्दी रहेको छ । जसमा दरबन्दीभन्दा बढी प्रहरी छन् । सार्वजनिक गाडीमा असुरक्षित यात्रा उपत्यकाका सार्वजनिक बसहरूमा उपत्यकाबासी असुरक्षित यात्रा गर्न बाध्य छन् । गत शुक्रबार बिहान बानेश्वरबाट सुन्धारा आउन लागेका राजु विष्टलाई बसमा कोचिएर यात्रा गर्न मन थिएन । भीड देखेर तीनवटा बस छाडिसकेका उनले चौथो बसले पनि निराश बनायो। उनी त्यसमै कोचिएर आए । माइतीघर पुग्दा लगभग आधा घण्टा नै ट्राफिक जाममा परे । १० बजे अफिस पुग्नुपर्छ । भीडमा हिँड्दिनँ भनेर के गर्नु, खाली सिट भएको बस भेटे पो हो । यो समस्या हालको मात्रै त हैन् उपत्यकामा पहिलेदेखि नै रहेको छ । तर सार्वजनिक सवारी चढ्ने अधिकांश यात्रुको नै हुन्। सम्भव भएसम्म त आजभोलि धेरैले सार्वजनिक सवारी प्रयोग नै गर्न छाडेका छन् । तर, विकल्प नभएका यात्रुलाई भने कोचिएर यात्रा गर्नु बाध्यता छ । उनले भने, ‘बसमा कहिले सिट भेटिँदैन । उभिएर यात्रा गर्नुपर्छ । सकेसम्म भीडमा जादिन् भन्छु । तर, साँझ पर्दै जाँदा झन् बसहरु भरिभरि हुन थालेपछि भीडभित्र घुस्नैपर्ने हुन्छ।’ ‘ट्राफिक लाइटमार्फत सवारी व्यवस्थापन गर्न सकेमा बढीमा ९० सेकेण्डमा पालो आउँछ, अहिले एउटै चोकमा आधा-घण्टा कुर्नुपर्ने अवस्था छ,’ उनले थपे । उपत्यकाको मुख्य/मुख्य चोकहरुमा सामान्य अवस्था पनि २०/२५ मिनेट जाममा बस्नुपर्ने बाध्यता रहेको छ । अझ नाराजुलुस, सडक निर्माण र वर्षा हुँदा घण्टौँसम्म जाममा फस्नुपर्ने बाध्यता उपत्यकामा छ । कसरी हुनसक्छ व्यवस्थापन ? पूर्वाधारविज्ञ राम घिमिरेले सार्वजनिक यातायात व्यवस्थित हुन नसक्दा निजी सवारीसाधनकाे संख्या बढ्दै गइरहेकाले उपत्यकामा जाम हुने गरेका दाबी गर्छन् । उनले भने, ‘जाम हुनुमा एउटै घरमै ४/५ जना जागिरे हुन्छन् । प्रत्येकसँग आ-आफ्नाे निजी सवारीसाधन रहेको भेटिन्छ । एउटै गाडीको प्रयोग भएको देखिँदैन ।’ यसैगरी, उनले सबै सरकारी तथा निजी कार्यालयहरूमा काम गर्ने समय १० बजे भएकाले पनि जाम हुने गरेको बताए । पूर्वाधारविज्ञ घिमिरे भन्छन्, ‘उपत्यकाको काम गर्ने १० बजेको समयलाई ९ बजे नै राखेर अफिसहरू खोल्ने गर्दा पनि हुन्छ । अथवा फरक-फरक समय मिलाएर कार्यालयहरू खोलियो भने केही जाम कम हुन सक्छ । अर्काे कुरा राइड सेयरिङलाई सही तरिकाले प्रयोग गर्न सकिएको छैन । यसको प्रयागे बढी मात्रामा गरिनुपर्छ ।’ त्यस्तै, उनले मिटिङको लागि एक कार्यालयबाट अर्को कार्यालय जान अथवा १०/१५ मिनेटसम्म पुग्न पनि सवारीसाधन प्रयोग गर्ने गरिएको छ । यसलाई पनि हटाइनुपर्ने उनको भनाइ छ । के भन्छ यातायात व्यवस्था विभाग ? नागरिक र सरकारी निकायहरूमा अनुशासनको कमीका कारण उपत्यकामा ट्राफिक जाम हुने गरेको यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेश राईले बताए । उनले भने,  ‘हामी सबैसँग अनुशासनको कमी छ । सडकको अवस्था उस्तै छ । जस्तो हुनुपर्ने हो, त्यस्तो सडक पूर्वाधार नै छैन । अर्काे कुरा सार्वजनिक सवारीसाधनभन्दा व्यक्तिगत सवारीसाधनको विश्वसनीयता बढेको देखिन्छ । ’ उनले ट्राफिक प्रहरी, सडक विभागसँग समन्वय भइरहेको बताए । उनले भने, ‘हाम्रो प्रयास जारी नै छ । हामीसँग घुम्ती अनुगमन टोली छ । त्यो टोलीले अनुगमनसँगै नागरिकहरूलाई सचेत समेत गराइरहेकाे छ ।’ यस्तै, उनले यससम्बन्धी आवश्यक मापदण्ड बनाउने तयारी भइरहेको जानकारी दिए । ठूला सवारीसाधनको प्रयोग गरिनुपर्ने र साना व्यक्तिगत सवारीसाधनलाई हटाउनुपर्नेमा उनले जोड दिए ।

अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्यायौँ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जिडिपी वृद्धि गर्नका निम्ति अध्यादेश ल्याएको बताएका छन् । आइतबार विश्व भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको सरकार सरकारहरुको सूचिमा अर्को एक थान सरकार थप्नका लागि नबनेको बताए । सरकार विशेष परिस्थितिमा बनेको उल्लेख गर्दै सरकारले आफ्नो अभिभारा पूरा गर्ने जानकारी दिए । उनले निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशहरुलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै यस्ता कदमहरु सरकारले आगामी दिनमा पनि अघि बढाउने बताए । सरकारले अर्थतन्त्र चलायमान बनाउन चालेका कदमहरु अन्तिम नभएको र आगामी दिनमा अझ बढी काम गर्दै जाने बताए । निराशा, अविश्वास र शिथिलताबाट नागरिकलाई मुक्त गर्नुपर्ने दायित्व सरकारसँग रहेको जानकारी दिए । ‘हामीले नै अर्थतन्त्र चलायमान र गतिशिल बनाउने हो । हरेक नागरिकलाई सुखी र समृद्ध जीवनको प्रत्याभुति गर्ने हो भन्ने अठोटका साथमा सरकार क्रियाशिल छ,’ उनले भने । उपप्रधानमन्त्री पौडेलले राजश्व संकलनमा सहयोगी भुमिका निर्वाह गर्न निजी क्षेत्रलाई आग्रह गरे । राजश्व चुहावट, अनियमितताका प्रवृत्तिहरुलाई निरुत्साहीत गर्न, वैधानिक प्रणालीभित्र आफ्ना कारोबार सञ्चालन गर्न निजी क्षेत्रका छाता संगठनले आफ्ना सदस्यहरुलाई निर्देशित गर्न आग्रह गरे ।

वीरगञ्ज नाकाबाट ६ महिनामा निर्यात बढ्यो, १४ अर्ब ७१ करोड वृद्धि

वीरगञ्ज  । वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको छ महिनामा २९ अर्ब २७ करोड ८२ लाख चार हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । आव २०८०/८१ को छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निर्यात शतप्रतिशत अर्थात् १४ अर्ब ७१ करोड रुपैयाँ रकमले निर्यात वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको छ महिनाको अवधिमा प्रशोधित भटमास र सूर्यमुखी तेल छिमेकीमुलुक भारत बढेकाले समग्रमा निर्यात बढेको बताए । ‘गत आवको तुलनामा चालु आर्थिक वर्षमा समग्रमा प्रशोधित भटमास र सूर्यमुखीको तेल निर्यात बढेको छ,’ उनले भने ,‘अन्य कपडाजन्य सामग्री पनि बढेकाले निर्यात झण्डै दोब्बर भएको हो ।’ गत आवको छ महिनामा यो नाका हुँदै १४ अर्ब ५६ करोड ७१ लख ८५ हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशमा निर्यात भएको थियो । कार्यालयले चालु आवको छ महिनामा वस्तु तथा सामान निर्यात गरेवापत १७ करोड ६६ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।  गत आवको सोही अवधिमा निर्यात गरेवापत भने १० करोड तीन लाख ८१ हजार राजस्व सङ्कलन गरेको थियो । वीरगञ्ज नाका हुँदै विशेषगरी भटमासको तेल प्रशोधित, सूर्यमुखीको प्रशोधित तेल, सेन्थेटिक यार्न, पशु आहाराको कच्चा पदार्थ, विभिन्न किसिमका कपडा, सिन्थेटिक कपडालगायत छन् । वीरगञ्ज नाका हुँदै चालु आवको छ महिनामा दुई खर्ब ७७ अर्ब १५ करोड ५७ लाख १६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । त्यसैगरी, गत आवको छ महिनाकै अवधिमा भने दुई खर्ब ६० अर्ब ३६ करोड ६१ लख ६६ हजार रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा आयात पनि छ दशमलव ४५ प्रतिशतले बढेको छ । रासस

एकैदिन ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक, ब्याजदर बोलकबोलबाट तय हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा तरलता थुप्रिएसँगै थप ४० अर्ब रुपैयाँ खिच्न लागेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आइतबार ४० अर्ब तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको फागुन ४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

पाथीभरा केवलकार निर्माणको विषयमा प्रहरी र आन्दोलनकारीबीच झडप, ४ घाइते

फुङ्लिङ । पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् । आन्दोलनकारीतर्फ दुई व्यक्ति घाइते भएको बताइएको छ । आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा हानेपछि स्थिति तनाबपूर्ण बनेको थियो । प्रहरीले आन्दोलनकारीबाट तीन खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनका अनुसार आन्दोलनकारीसँग लुकाइएको हतियार रहेको सूचना पाएपछि खोजतलास गर्ने क्रममा विभिन्न सामान बरामद गरिएको हो । हिमालयन कन्सट्रक्सनले १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी केवलकार निर्माण योजना अघि बढाएको हो । गत मङ्गलबारदेखि जमिन सम्याउने काम सुरु भएको हो । अहिले अवस्था सामान्य रहेको प्रशासन कार्यालयले जनाएको छ । रासस

म्याग्दीमा ३३ करोड ४६ लाखको सुन्तला बिक्री

म्याग्दी । म्याग्दीमा यस वर्ष सुन्तलाको उत्पादन बृद्धि हुँदा किसानले राम्रो आम्दानी गरेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार सुन्तला पकेट क्षेत्रबाट बिक्री भएको सुन्तलाको विवरणअनुसार जिल्लामा रु ३३ करोड ४६ लाखको सुन्तला बिक्री भसकेको छ । उनका अनुसार, कार्यालयले क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अध्ययन गरेको थियो । यस वर्ष जिल्लाका छवटै स्थानीय तहमा चार हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष तीन हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियोभने सुन्तला बिक्रीबाट रु २४ करोड भित्रिएको थियो । जिल्लामा आठ सय २० हेक्टर जमिनमा  सुन्तलाखेती हुँदै आएकामा चार सय २५ हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ । बेनी नगरपालिका–३ र ४ नम्बर वडाबाट मात्र रु छ करोड बढीको सुन्तला बिक्री भएको केन्द्रले जनाएको छ । जिल्लाका अधिकांश ठाउँका सुन्तला बोटबाटै बिक्री भइसकेको छ । अहिले बेनी नगरपालिकाको मरेक, अन्नपूर्ण गाउँपालिकाको दोसल्लेलगायत ठाउँमा धमाधम सुन्तला टिप्ने काम भइरहेको छ । किसानको बगैँचाबाट प्रतिकिलो ६० देखि एक सय २० मूल्यमा व्यापारीले सुन्तला खरिद गरेका छन् । दोसल्ले व्यावसायिक सुन्तलाजात कृषक समूहका अध्यक्ष प्रेम पाइजाले गाउँमा उत्पादन भएको सुन्तला धमाधम बिक्री भइरहेको र उत्पादन बढेकाले किसान उत्साहित बनेको बताए । जिल्लामा उत्पादन भएको सुन्तला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, बुटवल, भैरवा, नारायणगढलगायत बजारमा निकासी हुँदै आएको छ । रासस