वीरगञ्ज । वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको छ महिनामा २९ अर्ब २७ करोड ८२ लाख चार हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । आव २०८०/८१ को छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निर्यात शतप्रतिशत अर्थात् १४ अर्ब ७१ करोड रुपैयाँ रकमले निर्यात वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको छ महिनाको अवधिमा प्रशोधित भटमास र सूर्यमुखी तेल छिमेकीमुलुक भारत बढेकाले समग्रमा निर्यात बढेको बताए । ‘गत आवको तुलनामा चालु आर्थिक वर्षमा समग्रमा प्रशोधित भटमास र सूर्यमुखीको तेल निर्यात बढेको छ,’ उनले भने ,‘अन्य कपडाजन्य सामग्री पनि बढेकाले निर्यात झण्डै दोब्बर भएको हो ।’
गत आवको छ महिनामा यो नाका हुँदै १४ अर्ब ५६ करोड ७१ लख ८५ हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशमा निर्यात भएको थियो । कार्यालयले चालु आवको छ महिनामा वस्तु तथा सामान निर्यात गरेवापत १७ करोड ६६ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।