काठमाडौं । काठमाडाैं उपत्यकाकाे ट्राफिक जाम व्यवस्थापन हुन नसक्दा दैनिक हजाराैं सर्वसाधारणले हैरानी खेप्नु परिरहेको छ ।
अत्यधिक सवारी चाप, साँघुरा सडक र अव्यवस्थित सिस्टमले उपत्यकामा ट्राफिक समस्या झन् जटिल बनेको देखिन्छ । दैनिकजसो हुने ट्राफिक जामले सर्वसाधारण हैरान भएका छन् ।
विशेषगरी बिहान र बेलुकाकाे अफिस समयमा ट्राफिकको समस्या चरम अवस्थामा पुग्ने गरेको देखिन्छ ।
ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीले प्रयास गरिरहेको भए पनि समस्या समाधानमा अपेक्षित सफलता प्राप्त गर्न सकेको छैन ।
स्मार्ट ट्राफिक लाइट प्रणाली र डिजिटल निगरानी प्रणाली केही क्षेत्रहरूमा मात्र सीमित छन् ।
सवारीसाधनको तुलनामा पार्किङ स्थलको अभाव र अव्यवस्थित सार्वजनिक यातायात प्रणाली समस्या बढाउने मुख्य कारण हुन् ।
सवारी चालकलाई सचेत बनाउने, जथाभावी पार्किङ गर्नेलाई कारबाही गर्ने र स्मार्ट ट्राफिक लाइट प्रणाली जडान गर्ने प्रयास भए पनि प्रभावकारी परिणाम देखिन नसकेको यातायात व्यवसायीले बताउने गरेका छन् ।
कहाँ-कहाँ हुन्छ जाम ?
विशेष गरी उपत्यकाको माइतीघर, कोटेश्वर, सिंहदबार, रत्नपार्क, थापाथली, त्रिपुरेश्वर कंलकी, चावहिल, जडिबुटी, सातदाेबाटाेलगायतका स्थानमा दिनहुँ जाम हुन्छ ।
दैनिकरूपमा सडकमा सवारी चाप बढ्न थालेपछि समाधानका लागि सरकारले सार्वजनिक यातायात र वैकल्पिक मार्गको व्यवस्था गर्न यातायात विभाग, सडक विभाग र ट्राफिक प्रहरीलाई जिम्मा दिएको छ ।
तर, यी सबै सरकारी निकायकाे व्यवस्थापन प्रभावकारी देखिएकाे छैन ।
उपत्यकाको ट्राफिक जाम विस्तारै कम हुँदै जाने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले दाबी गरे । उनले जाम व्यवस्थापन गर्ने अभ्यास भइरहेको बताए ।
उनले भने, ‘हामी ट्राफिक लाइटको नयाँ अभ्यासमै छौं । यसमा सवारी चालकहरू विस्तारै अभ्यस्त भइरहेका छन् । रातको समयमा रातो बत्ती बल्दा सवारी रोक्ने अनुशासनको विकास भइसकेको छ ।’
उपरीक्षक घिमिरेले उपत्यकामा ६९ वटा ट्राफिक लाइट रहेको बताउँदै ४३ वटा लाइट सञ्चालनमा रहेको जानकारी दिए । उनले ट्राफिक लाइटले राम्रो रिजल्ट दिइरहेको दाबी गरे ।
यसैगरी, उनले गाडीमा सिटको क्षमताभन्दा बढी मान्छे राख्न नदिने गरेको बताउँदै यदि सिट क्षमताभन्दा बढी देखिएको पाइएमा कारबाही गर्ने गरेको बताए ।
उनले भने, ‘हाल गाडीमा सिटको क्षमताभन्दा बढी मान्छे राख्न नदिने मात्रै हैन, गाडीको ढोका खोल्यो भने पनि कारबाही गर्ने गरेका छौं । ट्याक्सीको सन्दर्भमा ३ जनाबाहेक बस्न बढी राख्न दिने गरेका छैनौं । हामी नभएको ठाउँमा कतै हुनसक्छ, तर त्यसमा पनि सचेत नागरिकले हामीलाई सूचना दिने गरेका छन् । त्यसकै आधारमा पनि कारबाही गर्ने गरेका छौं ।’
उपरीक्षक घिमिरेले नियमको उल्लघंन गर्ने सवारी चालकलाई कारबाही गर्न आफूहरू पछाडि नहट्ने बताए । यातायातलाई व्यवस्थित गरी सेवाग्राहीलाई सेवा दिने काम भइरहेकाे उनकाे भनाइ छ ।
‘यातायातलाई व्यवस्थित बनाई सेवाग्राहीलाई सेवा सहज दिन तत्पर छौं । नो हर्न अभियानले दुर्घटनालाई नियन्त्रण गर्ने विश्वास छ । यस अभियानमा सबैले सहयोग गरिदिनुहुनेछ भन्ने आशावादी छु,’उनले भने ।
उपत्यकामा १ हजार ८ सयभन्दा बढी ट्राफिक प्रहरी कर्मचारी खटिएको उपरीक्षक घिमिरेले जानकारि दिए । उनका अनुसार उपत्यकामा एक हजार ४ सय ट्राफिक प्रहरीको मात्रै दरबन्दी रहेको छ । जसमा दरबन्दीभन्दा बढी प्रहरी छन् ।
सार्वजनिक गाडीमा असुरक्षित यात्रा
उपत्यकाका सार्वजनिक बसहरूमा उपत्यकाबासी असुरक्षित यात्रा गर्न बाध्य छन् । गत शुक्रबार बिहान बानेश्वरबाट सुन्धारा आउन लागेका राजु विष्टलाई बसमा कोचिएर यात्रा गर्न मन थिएन । भीड देखेर तीनवटा बस छाडिसकेका उनले चौथो बसले पनि निराश बनायो। उनी त्यसमै कोचिएर आए ।
माइतीघर पुग्दा लगभग आधा घण्टा नै ट्राफिक जाममा परे । १० बजे अफिस पुग्नुपर्छ । भीडमा हिँड्दिनँ भनेर के गर्नु, खाली सिट भएको बस भेटे पो हो ।
यो समस्या हालको मात्रै त हैन् उपत्यकामा पहिलेदेखि नै रहेको छ । तर सार्वजनिक सवारी चढ्ने अधिकांश यात्रुको नै हुन्। सम्भव भएसम्म त आजभोलि धेरैले सार्वजनिक सवारी प्रयोग नै गर्न छाडेका छन् । तर, विकल्प नभएका यात्रुलाई भने कोचिएर यात्रा गर्नु बाध्यता छ ।
उनले भने, ‘बसमा कहिले सिट भेटिँदैन । उभिएर यात्रा गर्नुपर्छ । सकेसम्म भीडमा जादिन् भन्छु । तर, साँझ पर्दै जाँदा झन् बसहरु भरिभरि हुन थालेपछि भीडभित्र घुस्नैपर्ने हुन्छ।’
‘ट्राफिक लाइटमार्फत सवारी व्यवस्थापन गर्न सकेमा बढीमा ९० सेकेण्डमा पालो आउँछ, अहिले एउटै चोकमा आधा-घण्टा कुर्नुपर्ने अवस्था छ,’ उनले थपे ।
उपत्यकाको मुख्य/मुख्य चोकहरुमा सामान्य अवस्था पनि २०/२५ मिनेट जाममा बस्नुपर्ने बाध्यता रहेको छ । अझ नाराजुलुस, सडक निर्माण र वर्षा हुँदा घण्टौँसम्म जाममा फस्नुपर्ने बाध्यता उपत्यकामा छ ।
कसरी हुनसक्छ व्यवस्थापन ?
पूर्वाधारविज्ञ राम घिमिरेले सार्वजनिक यातायात व्यवस्थित हुन नसक्दा निजी सवारीसाधनकाे संख्या बढ्दै गइरहेकाले उपत्यकामा जाम हुने गरेका दाबी गर्छन् । उनले भने, ‘जाम हुनुमा एउटै घरमै ४/५ जना जागिरे हुन्छन् । प्रत्येकसँग आ-आफ्नाे निजी सवारीसाधन रहेको भेटिन्छ । एउटै गाडीको प्रयोग भएको देखिँदैन ।’
यसैगरी, उनले सबै सरकारी तथा निजी कार्यालयहरूमा काम गर्ने समय १० बजे भएकाले पनि जाम हुने गरेको बताए ।
पूर्वाधारविज्ञ घिमिरे भन्छन्, ‘उपत्यकाको काम गर्ने १० बजेको समयलाई ९ बजे नै राखेर अफिसहरू खोल्ने गर्दा पनि हुन्छ । अथवा फरक-फरक समय मिलाएर कार्यालयहरू खोलियो भने केही जाम कम हुन सक्छ । अर्काे कुरा राइड सेयरिङलाई सही तरिकाले प्रयोग गर्न सकिएको छैन । यसको प्रयागे बढी मात्रामा गरिनुपर्छ ।’
त्यस्तै, उनले मिटिङको लागि एक कार्यालयबाट अर्को कार्यालय जान अथवा १०/१५ मिनेटसम्म पुग्न पनि सवारीसाधन प्रयोग गर्ने गरिएको छ । यसलाई पनि हटाइनुपर्ने उनको भनाइ छ ।
के भन्छ यातायात व्यवस्था विभाग ?
नागरिक र सरकारी निकायहरूमा अनुशासनको कमीका कारण उपत्यकामा ट्राफिक जाम हुने गरेको यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेश राईले बताए ।
उनले भने, ‘हामी सबैसँग अनुशासनको कमी छ । सडकको अवस्था उस्तै छ । जस्तो हुनुपर्ने हो, त्यस्तो सडक पूर्वाधार नै छैन । अर्काे कुरा सार्वजनिक सवारीसाधनभन्दा व्यक्तिगत सवारीसाधनको विश्वसनीयता बढेको देखिन्छ । ’
उनले ट्राफिक प्रहरी, सडक विभागसँग समन्वय भइरहेको बताए । उनले भने, ‘हाम्रो प्रयास जारी नै छ । हामीसँग घुम्ती अनुगमन टोली छ । त्यो टोलीले अनुगमनसँगै नागरिकहरूलाई सचेत समेत गराइरहेकाे छ ।’
यस्तै, उनले यससम्बन्धी आवश्यक मापदण्ड बनाउने तयारी भइरहेको जानकारी दिए । ठूला सवारीसाधनको प्रयोग गरिनुपर्ने र साना व्यक्तिगत सवारीसाधनलाई हटाउनुपर्नेमा उनले जोड दिए ।