
काठमाडौं । मरिच स्वास्थ्यका लागि उपयुक्त मानिन्छ । मरिच घरायसी प्रयोजनका साथै आयुर्वेदिक औषधिमा समेत प्रयोग हुँदै आएको छ । चियासँगै खानाका परिकारमा मरिच मिश्रण गर्दा स्वादिष्ट हुन्छ ।
अधिकांशले मरिचलाई मसलाका रूपमा पनि प्रयोग गर्दै आएका छन् । मरिच स्वदेशमै उत्पादन हुने गरेको भएपनि करोडौंको मरिच विदेशबाट आयात गर्नुपरेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा २४ करोड ७६ लाख रुपैयाँ बढीको मरिच आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
विभागका अनुसार उक्त मरिच आयात हुँदा सरकारले ७ करोड ९६ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।
नेपालमा सेतो र कालोगरी दुई प्रकारका मरिच आयात हुने गरेको छ । चालु आर्थिक वर्षको पुससम्ममा २३ करोड रुपैयाँ बढीको कालो मरिच आयात भएको विभागको तथ्याङ्क छ ।
विभागका अनुसार ६ महिनामा २३ करोड १२ लाख रुपैयाँको मरिच आयात भएको छ । उक्त मरिच आयात हुँदा सरकारले ७ करोड २५ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।
विशेषगरी नेपालीले भियतनामबाट आयात भएको मरिच खाने गरेका छन् । यसका साथै भारत, कतारबाट समेत मरिच आयात हुने भन्सार विभागले जनाएको छ ।
सबैभन्दा धेरै कालो मरिच भियतनामबाट आयात भएको छ । भियतनामबाट १६ करोड ९५ लाख रुपैयाँ बढीको मरिच आयात भएको छ । यस्तै, भारतबाट ६ करोड १६ लाख रुपैयाँ र कतारबाट १ हजार रुपैयाँको मरिच आयात भएको छ ।
विभागको तथ्यांक अनुसार भियतनामबाट २ लाख ९ हजार किलो मरिच आयात हुँदा ५ करोड ९२ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ ।
भारतबाट ५९ हजार किलो मरिच आयात हुँदा १ करोड ३२ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ ।
साथै चालु आवकाे ६ महिनामा १ करोड ६४ लाख रुपैयाँ बढीको सेतो मरिच आयात भएको छ । उक्त मरिच भियतनामबाट नै आयात भएको देखिन्छ । १४ हजार किलो मरिच आयात हुँदा ७० लाख ८९ हजार रुपैयाँ बढी राजस्व संकलन भएको विभागले जनाएको छ ।
हेर्नूहोस् मरिचका फाइदा
-मरिचको नियमित सेवनले शरीरको मोटोपना कम गर्न मद्दत गर्नुका साथै कब्जियत, ग्यास्ट्रिकसम्बन्धी समस्याबाट पनि छुटकारा पाउन सहयोग गर्दछ । यसकाे सेवनले पेटको दुखाइ कम गर्नुका साथै यसमा हुने एन्टीब्याक्टेरियल गुणले पेटमा हुने इन्फेक्सनबाट बचाउँछ ।
-क्यान्सरका बिरामीले यसको नियमित सेवन गर्दा क्यान्सरका सेल तथा कोशिका नष्ट गर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
-मरिच पिसेर धूलो बनाइ घिउसँग मिसाएर नियमित सेवन गरे आँखा तेजिलो हुन्छ ।
-पेटमा जुका, चुना, कीरा परेका छ भने थोरै मरिचको धूलो एक गिलास मोहीमा घोलेर पिउँदा लाभ मिल्छ ।
-श्वाससम्बन्धी समस्या भएमा पनि पुदिनाको चियामा मरिच हालेर पिउँदा लाभ मिल्दछ ।
– मरिच चपाउने गरेमा अनुहारका दागधब्बा र रोग निको भएर जान्छ ।
– भुल्ने बानी भएकाहरूले महमा मरिचको धुलो हालेर दिनमा दुईचोटि खाँदा लाभ मिल्दछ ।
यद्यपि धेरै मरिच सेवन गर्नुहुँदैन । यसको धेरै सेवन गर्दा हाड जोर्नीमा समस्या निम्त्याउन सक्छ ।