काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ६६ करोड रुपैयाँ बढीको अनुहारमा लगाउने क्रीम (फेस क्रीम) आयात भएको छ । चालु आवको पौष मसान्तसम्म ६६ करोड १९ लाख रुपैयाँ बढीको फेस क्रीम आयात भएको भन्सार विभागले जनाएको छ ।
उक्त क्रीम आयात हुँदा ३३ करोड २९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । सो अवधिमा २ लाख २१ हजार किलो क्रीम आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
विभागका अनुसार नेपालमा विशेषगरी २७ वटा देशहरूबाट क्रीम आयात भएको छ । नेपालमा भारत, अस्ट्रेलिया, चीन, जर्मनी, जापान, थाइल्यान्ड पाकिस्तान र दक्षिण कोरियाजस्ता मुलुकबाट क्रीम आयात भएको छ । जसमध्ये सबैभन्दा धेरै क्रीम भारतबाट आयात भएको छ ।
भारतबाट ४० करोड रुपैयाँको क्रीम आयात हुँदा २० करोड बढीको राजस्व संकलन भएको छ । दोस्रोमा थाइल्यान्डबाट ११ करोड रुपैयाँ बढीको आयात हुँदा ५ करोड रुपैयाँ बढीको राजस्व संकलन भएको छ ।
साथै चीनबाट ६ करोड रुपैयाँ बढीको आयात हुँदा ३ करोड रुपैयाँ बढीको राजस्व संकलन भएको छ । द. कोरियाबाट ३ करोड रुपैयाँ बढीको आयात हुँदा १ करोड रुपैयाँ बढीको राजस्व संकलन भएको विभागले जनाएको छ ।
३ करोडको नेल पोलिश आयात
चालु आवको ६ महिनाको अवधिमा ३ करोड रुपैयाँ बढीको नेल पोलिश आयात भएको छ । चालु आवको पौष मसान्तसम्म ३ करोड ११ लाख रुपैयाँ बढीको आयात भएको विभागले जनाएको छ । उक्त नेल पोलिश आयात हुँदा १ करोड ५६ लाख रुपैयाँ बढीको राजस्व संकलन भएको छ ।
नेपालमा विशेषगरी ७ वटा देशहरूबाट नेल पोलिश आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । भारत, इजराइल, इटली, पोल्यान्ड र टर्की जस्ता देशहरूबाट आयात भएको छ ।
विभागका अनुसार सबैभन्दा धेरै भारतबाट आयात भएको छ । भारतबाट १ करोड रुपैयाँ बढीको आयात हुँदा ८० लाख रुपैयाँ राजस्व संकलन भएको छ ।