लाइन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीनले नुवाकोटमा हेल्थ क्याम्प गर्ने
काठमाडौं । लाइन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीनले नुवाकोटमा हेल्थ क्याम्प गर्ने भएको छ । लाइन्स क्लबको आयोजनामा आगामी फागुन ३ गते नुवाकोटको बेलकोटगडी नगरपालिका वडा नं. ३ मा हेल्थ क्याम्प आयोजना हुने भएको हो । यस क्याम्पमा १५० जना महिलाहरूको पाठेघरको मुखको क्यान्सर जाँच गरिने बताइएको छ। क्लबकी अध्यक्ष कल्पना बस्नेतले भनिन्, ‘महिलाहरूको स्वास्थ्यको सुधार गर्न हामी चाहन्छौ । पाठेघरको मुखको क्यान्सर परिक्षण जस्तो महत्त्वपूर्ण स्वास्थ्य सेवा प्रदान गर्नाले महिलाहरूको स्वास्थ्यमा सुधार ल्याउन सक्छ र भविष्यमा विभिन्न गम्भीर रोगहरूको बेलैमा रोकथाम गर्न मद्दत पुग्नेछ ।’ यस क्याम्पको लागि स्थानीय वडाको वडा अक्ष्यक्ष कौशिला पुडासैनीले समेत सहयोग गर्ने वचनवद्वता व्यक्त गरेकी छिन् । क्लबकी प्रथम उपाध्यक्ष तथा इ–ग्लोबल एजुकेशन कन्सल्टेन्सीकी सीइओ गीतान्जली शिवाकोटीले आफ्नो कन्सल्टेन्सीबाट २५ हजार रुपैयाँको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्, ‘हामी सबै मिलेर समुदायको स्वास्थ्य र भलाइको लागि काम गर्दैछौं ।’ कार्यक्रमको सञ्चालन क्लबकी सचिव सुष्मा आचार्यले गरेकी थिइन् । यस कार्यक्रममा क्लबका अन्य सदस्यहरूको पनि सहभागिता रहेको थियो, जसले क्याम्पको उद्देश्य र समुदायको स्वास्थ्य सेवामा योगदान पुर्याउने महत्त्वलाई जोड दिएको थियो । यस क्याम्पले बेलकोटगडी नगर पालिकाका महिलाहरूलाई बेलैमा उपचार गरि स्वस्थ जीवनयापन गर्न सक्ने कुरामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा राख्दै क्लबले सकेसम्म सबैलाई यो स्वास्थ क्याम्पमा सहभागी हुनको लागि अनुरोध समेत गरेको छ ।
सुन्तला बेचेर २० लाख आम्दानी
म्याग्दी । बेनी नगरपालिका- ३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीबाट यस वर्ष रु २० लाख आम्दानी गरेका छन् । भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती सुरु गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका थप पाँच सय बोटले केही वर्षपछि उत्पादन दिनेछन् । ‘गत वर्ष रु १३ लाखको सुन्तला बिक्री भएको थियो,’ उनले भने, ‘यसपालि उत्पादन बढेकाले रु २० लाखको सुन्तला बिक्री भएको हो ।’पोखराका व्यापारीलाई बगैचाबाट प्रतिकिलो रु ७५ का दरले सुन्तला बिक्री गरेको खत्रीले बताए । खत्री जिल्लामा सुन्तलाखेतीबाट धेरै आम्दानी गर्नेमध्ये एक हुनुहुन्छ । खत्रीसहित मरेकका किसानले यस वर्ष सुन्तला बिक्री गरेर रु एक करोड ५० लाख आम्दानी गरेका छन् । मरेकका रहेको २१ मध्ये २० घरपरिवारले सुन्तलाखेती गरेका छन् । प्रतिघर न्युनतम रु एक लाखसम्मको सुन्तला बेचेका छन् । ‘गत वर्ष रु ८० लाखको सुन्तला बिक्री भएको मरेकमा यसपालि उत्पादन दोब्बरले बढेको थियो,’उनले भने,’फल लाग्ने बिरुवा थपिएका, क्षेत्रफल विस्तार, दाना झर्ने समस्या कम भएको, बगैँचा व्यवस्थापन र अनुकूल मौसमका कारण सुन्तला उत्पादन बढेको हो ।’ माघको पहिलो साता सुन्तला टिपेर निख्रिएपछि किसान बगैँचा व्यवस्थापनमा जुटेका छन् । उत्तरपूर्व फर्किएको भिरालो पाखामा रहेको मरेकका बासिन्दा दुई दशकअघिसम्म परम्परागत खाद्यबाली खेती गर्दथे । वर्षभरि दुःख गरेर उब्जाएको खाद्यबालीले छ महिना पनि पुग्दैनथ्यो । रोजगारी नहुनेहरू काम र आम्दानीका लागि विदेश र सहरबजार जाने चलन थियो । अहिले मरेकको पाखा सुन्तला बगैँचाले भरिएको छ । वर्षमा १८ मुरी धान फलाउने इन्द्रबहादुर थापाले १४ रोपनीमा गरेको सुन्तल खेतीबाट वार्षिक रु १० लाखसम्म आम्दानी हुने बताए । तीन वर्ष कतारमा काम गरेर फर्किएका मरेकका ४९ वर्षीय कृष्णबहादुर घर्तीले यसपालि सुन्तला बेचेर रु छ लाख आम्दानी गरे । ‘सुन्तलाखेती गरेपछि घरव्यवहार चलाउन विदेश जानुपरेको छैन,’ उनले भने,’जीवनस्तरमा परिवर्तन ल्याएको छ ।’ अन्य ठाउँको तुलनामा रसिलो र स्वादिलो भएकाले मरेकका सुन्तला बजारमा सहजै बिक्री हुने व्यापारी राजन तामाङले बताए । पोखरा, काठमाडौं, हेटौँडाको बजारमा यहाँको सुन्तला खपत हुने गरेको उनले बताए । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र बेनी नगरपालिकाको कृषि शाखाले मरेकमा सुन्तलाखेतीको विस्तारमा सहयोग गर्दै आएका छन् । अनुदानमा नयाँ बिरुवा वितरण, बगैँचा व्यवस्थापन, साना सिँचाइ कार्यक्रममार्फत किसानलाई सहयोग गरिँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताए । बेनी नगरपालिका- ३ का वडाध्यक्ष पदम पुनले साविक भकिम्ली गाविसको मरेक, राखु, हल्लेगौडा र पानीस्वाँरालाई सुन्तलाको पकेट क्षेत्रका रूपमा विकास गरिएको बताए । सुन्तला बजारीकरणका लागि सडक स्तरोन्नति गरेर यातायातलाई सहज बनाउने, सिँचाइ र प्रविधि सहयोगका लागि संघीय तथा प्रदेश सरकारका निकायमा समन्वय तथा पहल गरेको बताए । रासस
क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आज माघ १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ । जसमध्ये पहिलो चरणमा १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँको २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरिएको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले माघ २९ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरुले आईपीओमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा विस्तार
काठमाडौं । एनएमबि बैंकले रुकुम स्थित आठविसकोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । माघ १४ गते आठबिसकोट नगरपालिकाका मेयर रवि केसी र एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रुपमा बैंकको २०२औं शाखाको उद्घाटन गरेका हुन् । सर्वसाधारणलाई सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यका साथ सो स्थानमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ । आठविसकोट शाखा मार्फत स्थानीय, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ । आठविसकोट शाखा सहित, एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८६ एटिएमहरु र १० एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
उपत्यकामा पहिलोपटक चन्द्रागिरिले सुरु गर्याे नागरिकताको अनलाइन सिफारिस सेवा
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरुवात गरेको छ । काठमाडौं उपत्यकाभित्र पहिलोपटक नगरपालिकाले वडा नं १२ बलम्बुबाट सो सेवाको थालनी गरेको हो । यसका लागि गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वय र सहकार्यमा नगरपालिकाले कार्यपालिका सदस्य एवं १५ वटै वडाका सचिवलाई आवश्यक तालिम प्रदान गरेको थियो । नगरप्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले चन्द्रागिरि–१२ बलम्बु निवासी अनुज महर्जन र टिसा श्रेष्ठलाई अनलाइन सिफारिस प्रदान गरेर सो सेवाको सोमबार थालनी गरे । गृह मन्त्रालयका अनुसार पुस मसान्तसम्म २८ जिल्लाका दुई हजार वडाले अनलाइन सिफारिस सुरुवात गरिसकेका छन् । मन्त्रालयले नागरिकता प्राप्ति प्रक्रियालाई थप सहज बनाउने ध्येयले विसं २०८० देखि नवलपरासीको गैँडाकोटबाट सो सेवा सुरु गरेको थियो भने यो कार्य सबै पालिकाबाट कार्यान्वयनमा आउने जनाएको छ । चन्द्रागिरि नगरपालिकाले सबै वडामा यही हप्तादेखि नागरिकताको अनलाइन सिफारिस सेवा प्रदान गर्ने जनाएको छ । नगरपालिकाबाट प्रदान गरिने सेवालाई अनलाइनमार्फत प्रदान गर्ने नीतिअनुरुप हाल नक्सापास, राजस्व र पञ्जीकरण सेवा अनलाइनमार्फत भइरहेको छ । नगरप्रमुख गिरीले नगरपालिकाले आफ्ना सेवालाई प्रविधिमैत्री बनाउँदै जाने नीति लिएको र विद्युतीय हस्ताक्षर (डिजिटल सिक्नेचर) छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत अर्यालले नागरिकताको अनलाइन सिफारिस हुँदा नाम, थर, ठेगानालगायत अन्य आवश्यक कुरा अशुद्ध हुने समस्या सकेसम्म अन्त्य हुने र सेवाग्राहीले बिनाझन्झट सेवा पाउने बताए । सहायक प्रमुख जिल्ला अधिकारी काठमाडौंका मुक्तिराम रिजालले काठमाडौं उपत्यकाभित्र पहिलोपटक चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सेवा सुरु गरेको र यो सेवा काठमाडौंका सबै पालिकामा कार्यान्वयमा ल्याइने जानकारी दिए । गृह मन्त्रालयका कम्प्युटर इञ्जिनियर दिवस कार्कीका अनुसार नागरिकताको अनलाइन सिफारिस सेवाले नागरिकता प्राप्तिमा थप सहजता हुने छ । हाल वंशज, वैवाहिक, अङ्गीकृत र गैरआवासीय नागरिकताका लागि अनलाइन सिफारिस लिन सकिने छ । चन्द्रागिरि–१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले नागरिकताको अनलाइन सिफारिस सेवाले सेवाग्राहीलाई नागरिकता प्राप्तिका लागि थप सहज बनाएको बताए ।
अधिकांश देशको मुद्राको भाउ बढ्यो, स्वीस फ्रयाङ्क १५४.३४ रुपैयाँ
काठमाडौं । मंगलबार अमेरिकी डलरसहित अधिकांश देशको मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३७.८६ रुपैयाँ र बिक्रीदर १३८.४६ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४४.९३ रुपैयाँ र बिक्रीदर १४५.५६ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.४३ रुपैयाँ र बिक्रीदर १७३.१८ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.६७ रुपैयाँ र बिक्रीदर १५४.३४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.८२ रुपैयाँ र बिक्रीदर ८७.२० रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.०३ रुपैयाँ र बिक्रीदर ९६.४५ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.६४ रुपैयाँ र बिक्रीदर १०३.०९ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९६ रुपैयाँ र बिक्रीदर ९.०० रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०१ रुपैयाँ र बिक्रीदर १९.०९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.७५ रुपैयाँ र बिक्रीदर ३६.९१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.८१ रुपैयाँ र बिक्रीदर ३७.९८ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१० रुपैयाँ र बिक्रीदर ४.१२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.५३ रुपैयाँ र बिक्रीदर ३७.७० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.४९ रुपैयाँ र बिक्रीदर ३१.६२ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.६३ रुपैयाँ र बिक्रीदर ९.६७ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.५९ रुपैयाँ र बिक्रीदर १२.६५ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.४२ रुपैयाँ र बिक्रीदर १९.५१ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.७० रुपैयाँ र बिक्रीदर १७.७८ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४७.६७ रुपैयाँ र बिक्रीदर ४४९.६२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६५.६८ रुपैयाँ र बिक्रीदर ३६७.२७ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५८.०९ रुपैयाँ र बिक्रीदर ३५९.६५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
हिमालयन लाइफको पुँजी ९.१४ अर्ब, १४ प्रतिशत लाभांश पारित गर्न डाक्यो साधारण सभा
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न हिमालयन लाइफ इन्स्योरेन्सले १७ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको माघ १४ गते बसेको बैठकले फागुन ११ गते काठमाडौंमा बिहान साढे १० बजे साधारण सभा डाकेको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार रुपैयाँको १४ प्रतिशतका दरले १ अर्ब १२ करोड २८ लाख ५३ हजार रुपैयाँ बोनस सेयर पारित गर्नेछ । बोनस सेयरमा लाग्ने कर सेयरधनीहरूले नै भुक्तानी गर्नुपर्नेछ । बोनस सेयरपश्चातु कम्पनीको चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रुपैयाँ पुग्नेछ । सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, खर्च अनुमोदन गर्ने र लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ २५ गते एक दिनका लागि बुकक्लोज तोकेको छ । त्यसैले माघ २४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायमा सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
७ वर्षमा तेस्रोपटक म्याद थप्दा पनि सम्पन्न भएन आँधीखोला पुल
काठमाडौं । स्याङ्जाको भीरकोट नगरपालिका–४ र ५ लाई जोड्ने आँधीखोलामा निर्माणाधीन पुल झण्डै ७ वर्ष हुनै लाग्दा निर्माण सम्पन्न हुनसकेको छैन । भीरकोट–४ को छाङछाङ्दी र ५ को छत्तिवनलाई जोड्नेगरी आँधीखोलामा निर्माणाधीन पुलको तेस्रोपटक थपिएको समयावधि सकिए पनि पुल सम्पन्न हुनसकेको छैन । विसं २०७५ असार २६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त पुल २०७८ वैशाख ३० गते निर्माण सक्नुपर्ने भए पनि हालसम्म निर्माण सम्पन्न नभएको सडक डिभिजन कार्यालय पोखराका इञ्जिनियर दीपक विष्टले बताए । उनका अनुसार सम्झौता भएको मितिले झण्डै तीन वर्षमा निर्माण सक्नुपर्ने उक्त पुल सात वर्ष पुग्न लाग्दा पनि निर्माण सकिएको छैन । तोकिएको समयमा पुल निर्माण नसकिएपछि तेस्रोपटक २०८१ मङ्सिरमा सक्नेगरी थपिएको समय पनि सकिएको छ । पटकपटक गरी तेस्रोपटक थपिएको समयावधि मङ्सिरमा सकियो, थप गरिएको समय सकियो तर पुल निर्माण सकिएन । निर्माण कम्पनीले भ्याटसहित १४ करोड २६ लाख ३७ हजार ४२० रुपैयाँ लागतमा निर्माण सक्नेगरी सम्झौता भएको थियो । १२५ मिटर लम्बाइको पुल तीन स्पानको हुने इञ्जिनियर विष्टले बताए । ४०÷४० मिटरको तीन स्पानमध्ये दुई किनाराका दुईवटा स्पान निर्माण सकिएको र बीचको एउटा स्पान र त्यहाँसम्म पुग्ने दुवैतर्फको पहुँचमार्ग निर्माणको काम बाँकी छ । पुलसम्म पुग्ने पहुँचमार्ग निर्माणका लागि पुलसँगै पर्खाल लगाउने काम अहिले भइरहेको छ । पुल दुवैतर्फ किनारामा फुटपाथसहित ११ मिटर चौडाइको हुने छ । निर्माण व्यवसायी चन्द्र थकालीले उक्त पुलको झण्डै ८० प्रतिशत काम सम्पन्न भएको दाबी गरे । उनले पुलको धेरै काम सकिएको र अब दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी कामदार परिचालन गरिएको बताए । ‘पुलको दुवैतर्फको स्पान निर्माण भइसकेकाले अहिले बीचको एउटा स्पान निर्माणका लागि फिलिङको काम भइरहेको छ,’ उनले भने, ‘काम सक्ने लक्ष्यसहित कामदार लगाएका छौँ, दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने तयारीसहित अगाडि बढेका छौँ ।’ पुल निर्माणसँगै खोलाको दायाँबायाँ निर्माण गर्नुपर्ने पर्खाल निर्माण नगर्दा पनि वर्षाको समयमा आँधीखोलाले किनाराका खेतीयोग्य जमिन कटान गरेर बगरमा परिणत गराएको छ । बर्खामा यस ठाउँमा खोलाले डुबानमा पार्ने गरेको छ । हिउँदमा बाँसको फड्के बनाएर वा खोला तरेर वारपार गर्ने स्थानीय बर्खायाममा घुमाउरो बाटो हुँदै झोलुङ्गे पुलबाट वारपार गर्नुपर्छ ।