विकासन्युज

नेपाल ग्रे लिष्टमा पर्नेमा प्रधानमन्त्री ओली पनि निश्चित, प्रचण्ड सरकारलाई दोष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ग्रे लिष्टमा पर्न सक्ने सम्भावना रहेको बताएका छन् । उनले शुक्रबार प्रतिनिधिसभा संसदको बैठकमा बोल्दै उनले यसअघिको सरकारको कारणले नेपाल ग्रे लिष्टमा पर्न सक्ने खतरा रहेको बताएका हुन् । ‘यसअघिको कमजोरी र गल्तीका कारण नेपाल ग्रे लिष्टमा पर्न सक्ने खतरा देखियो, त्यसले पनि त्यो सरकारले काम नगरेको देखियो, त्यसको भारी हामीले बोक्नु पर्ने भयो,’ उनले भने । यस्तै, प्रधानमन्त्री ओलीले आफूले सरकारको नेतृत्व लिँदा अर्थतन्त्रको अवस्था जर्जर रहेको सुनाउँदै अहिले सुधार हुँदै गएको दाबी गरे । ‘म सरकारमा आउनुअघि देशप्रति आम जनताको भरोसा टुटेको थियो, अर्थतन्त्र सकसपूर्ण अवस्थामा थियो, विकासका काम ठप्प थिए । तर, मैले नेतृत्व लिएपछि धेरै सुधार भएको छ, अर्थतन्त्रले एउटा लय समातेको छ, जनतामा आशा पलाएको छ,’ उनले भने । अहिले नेपाल ग्रे लिष्टमा पर्न सक्ने विषयले चर्चा पाइरहेको छ । वित्तीय कार्यदलअन्तर्गत रहेको एसिया प्यासिफिक ग्रुपद्वारा सार्वजनिक गरिएको पारस्परिक मूल्यांकन प्रतिवेदनले नेपाल ‘ग्रे लिस्ट’ मा पर्न सक्ने सम्भावना देखिएको भन्दै वित्तीय क्षेत्रका जानकार र सरकार पनि चिन्तामा देखिएको छ । नेपाल कानुनी सुधारमा प्रगति भए पनि त्यसको कार्यान्वयनको पक्षमा भने कमजोर रहेको भन्दै ग्रे लिष्टमा पर्ने सम्भावना देखिएको हो। नेपालले ‘टेक्निकल कम्प्लायन्स रेटिङ’ अन्तर्गत ४० मापदण्डमध्ये आवश्यक न्यूनतम २१ मापदण्ड पूरा गरेको छ । ‘इफेक्टिभ रेटिङ’ मा कमजोर देखिएको प्रतिवेदन बाहिरिएको छ । एफएटीएफका अनुसार ‘इफेक्टिभ रेटिङ’ अन्तर्गत ११ मापदण्डमध्ये कम्तीमा ३ वटामा ‘हाइली कम्प्लायन्स’ वा ‘सब्स्टान्सियल कम्प्लायन्स’ हुनु आवश्यक छ । नेपालले भने ४ मापदण्डमा ‘मध्यम’ र ७ मापदण्डमा ‘न्यून’ मूल्यांकन पाएको छ । यसले नेपाललाई ‘ग्रे लिस्ट’ बाट जोगिन नसक्ने स्थिति देखिएको छ । नेपाल यसअघि पनि ‘ग्रे लिस्ट’मा परिसकेको छ । तर, विभिन्न कुटनीतिक पहल र कानुनी सुधारबाट त्यसबाट बाहिर आउन सफल भएको थियो । ग्रे लिस्ट सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्सको नकारात्मक सूची हो । ‘ग्रे लिस्ट’ एफएटीएफले तयार गर्ने यस्तो सूची हो, जसमा सम्पत्ति शुद्धीकरण अर्थात मनी लाउन्डरिङ र आतंकवादी क्रियाकलापमा वित्तीय सहायता रोकथाम गर्न आवश्यक मापदण्ड पूरा गर्न नसक्ने मुलुकहरूलाई राखिन्छ । ग्रे लिष्टकाे असर ग्रे लिष्टमा परेका मुलुकहरूलाई अन्तर्राष्ट्रिय वित्तीय सहायता, वैदेशिक व्यापार, वैदेशिक लगानी र कूटनीतिक सम्बन्धमा ठूलो असर पर्छ । त्यसको सम्पूर्ण नकारात्मक प्रभाव नेपालको अर्थतन्त्रमा पर्नेछ । जसमा आयात महँगो हुनेछ भने निर्यात प्रक्रिया थप झन्झटयुक्त हुनेछ । नेपाल ग्रे लिष्टमा पर्दा विदेशी ऋणको ब्याजदर बढ्नेछ भने विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक लगायतका संस्थाले नेपाललाई आर्थिक सहायता तथा ऋण प्रवाहमा कडाइ गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि कमजोर हुन गई विदेशी लगानी घट्नेछ भने व्यापारिक सम्झौतामा थप कठिनाइ सिर्जना हुनेछ । यसको सम्पूर्ण प्रभाव देशको अर्थतन्त्रमा परेर कुल ग्राहस्थ उत्पादनमा नकारात्मक असर पर्नेछ ।

प्लास्टिक उद्योगमा आगलागी, चार करोडभन्दा बढी क्षति

बरहथवा । सर्लाहीको ईश्वरपुरमा प्लास्टिक उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान भएको आगलागीबाट ईश्वरपुर नगरपालिका–७, ब्रह्मस्थानमा रहेको हिमालयन पोली नेपाल नामको प्लास्टिक झोला उद्योग नष्ट भएको हो । विद्युत् ‘सर्ट’ भएर राति एक्कासि लागेको आगोले उद्योग रहेको नेत्रबहादुर कार्कीको घर पूर्ण रूपमा नष्ट भएको छभने छिमेकी नवलकिशोर साहको घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । चन्द्रनगर गाउँपालिका–४, पोखरिया टोल निवासी रामछविला साहले कार्कीको घर भाडामा लिएर उद्योग सञ्चालन गरेका थिए । आगलागीबाट उद्योगमा रहेको सम्पूर्ण उपकरण, तयारी सामग्री, कच्चापदार्थलगायत सामान नष्ट हुँदा सात करोड पचास लाख रुपैयाँ बढीको क्षति पुगेको उद्योग सञ्चालक साहले दाबी गरे । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, हरिवन र मलङ्गवा नगरपालिकाबाट पुगेको वारुणयन्त्रको सहयोगमा साढे २ घण्टापछि आगो नियन्त्रणमा आएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए । आगलागीबाट अनुमानित चार करोड रुपैयाँ बढीको क्षति भएको प्रहरको अनुमान रहे पनि क्षति र घटनास्थलको मुचुल्का संकलनको काम भइरहेकाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।

सासु कोष सुरु गर्दा नयाँ युग भन्दै ट्रोल गरियो, अहिले मेरो जयजयकार गर्छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा ( सासु) कोषले प्रभावकारी काम गर्न थालेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा संसदको बैठकमा बोल्दै उनले सुरुवातमा नयाँ युग भन्दै धेरैले सामाजिक सञ्जालमा ट्रोल गरेको भए पनि अहिले धेरैले आफ्नो जयजयकार गर्ने गरेको धारणा राखेका हुन् । ‘सामाजिक सञ्जाल एक्समा एउटा स्टाटस पढेको थिएँ,’ उनले भने, ‘सामाजिक सुरक्षा कोष भन्ने गरिबहरूको बाँच्ने आधार रहेछ, पित्तथैलीको ढुंगा हटाउन १० हजार ७७५ रुपैयाँ र ओखती र जाँचसहित बेडसम्मै आइपुग्या, अहिले फेरि यो वर्षमै १ लाख २५ हजार रुपैयाँ उपचार खर्च पाइनेरहेछ, जसले सुरुवात गर्‍यो त्यसको जय होस् ।’ प्रधानमन्त्री ओलीले अहिले सामाजिक सुरक्षा कोषमा योगदानकर्ता बढ्दै गएको बताएका छन् । यसले गर्ने काम र सुविधाको विस्तार गर्दै जाने उनको भनाइ छ । विभिन्न व्यक्तिलाई कोषमा आवद्धता बढाउँदै लैजाने उनले बताए । यस्तै, उनले बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाह हुन नसकेको बताउँदै सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले काम गरिरहेको बताए । वर्तमान सरकार जनताको काम गर्ने गरी लागिरहेको उनको धारणा छ । ‘हामीले सरकारको नेतृत्व लिँदा अर्थतन्त्रको अवस्था जर्जर थियो, देशप्रति आम जनताको भरोसा टुटेको थियो, अर्थतन्त्र सकसपूर्ण अवस्थामा थियो, विकासका काम ठप्प थिए । तर, मैले नेतृत्व लिएपछि धेरै सुधार भएको छ, अर्थतन्त्रले एउटा लय समातेको छ, जनतामा आशा पलाएको छ,’ प्रधानमन्त्री ओलीले भने । आफूले सरकारले नेतृत्व गरेपछि प्राकृतिक विपत्तिको कारण समस्या सिर्जना भएपनि धेरै काम गरेको बताए । जनतामा आशा र उत्साह सञ्चार गर्न धेरै हदसम्म सफल भएको र अझै गर्न धेरै बाँकी रहेको जानकारी दिए । उनले गत आर्थिकवर्षको सोही अवधिको तुलनमा वित्तीय सूचक पनि सुधार भएको दाबी गरे ।

आवासीय चिकित्सकले सुरु गरे सडक आन्दोलन, शुक्रबार १ घण्टा माइतीघरमा धर्ना

काठमाडौं । आवासीय चिकित्सकहरूले आन्दोलन सुरु गरेका छन् । चिकित्सकको पारिश्रमिकका विषयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले संयुक्त रूपमा गरेको निर्णयविरुद्ध आन्दोलन सुरु गरेका हुन् ।  स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिको अगुवाइमा  काठमाडौं उपत्यकामा रहेका चिकित्सकले शुक्रबार एक घण्टा माइतीघरमा धर्ना दिएका छन् । त्यसअघि देशभरका चिकित्सकहरू बिहान ९ बजेदेखि १० बजेसम्म पेन डाउन र  एप्रोनसहित प्रदर्शन गरेका थिए ।   सःशुल्कतर्फ निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष, ३० हजार  र तेस्रो वर्ष ३५ हजारका दरले निर्वाह भत्ता निजी मेडिकल कलेजले उपलब्ध गराउने भनिएको थियो । यो निर्णयमा चिकित्सकहरू आपत्ति जनाएका छन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक शेषराज घिमिरेले यो निर्णय फिर्ता लिन पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै सडकमा आउनुपरेको उनेको भनाइ छ । सान्दर्भिक सामग्री : सरकारले तोकेको निर्वाह भत्तामा आवासीय चिकित्सकको असहमति, २४ घण्टाभित्र निर्णय सच्याउन माग आवासीय चिकित्सकको निर्वाह भत्ताबारे शिक्षा र स्वास्थ्यमन्त्रीले दिए सुझाव निजी मेडिकलले तोकेको निर्वाह भत्तामा आवासीय चिकित्सक भन्छन्: हामीलाई जानकारी नै छैन  

‘जीवनका लागि न्यानो साथ’ अभियानमा सूर्यज्योति, विभिन्न प्रदेशमा सिरक तथा न्यानो ज्याकेट वितरण

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानमा सूर्यज्योतिको ‘जीवनको लागि न्यानो साथ’ अभियान सञ्चालन गरी कम्बल तथा न्यानो कपडा वितरण गरेको छ । ज्योतिले देशभर बढिरहेको चिसोको कहरबाट बच्न केही राहत होस् भनी असहाय बालबालिका, बृद्धबृद्धा तथा विपन्न वर्गलाई ध्यानमा राखी सहयोगको सुरुवात गरेको हो । उक्त कार्यक्रममा सूर्यज्योतिले जाडोबाट बच्नको लागि विभिन्न सावधानीका उपायहरू अपनाउन अनुरोध पनि गरेको छ । मधेस प्रदेशअन्तर्गत कलैयामा स्थित अमृता अनाथ आश्रम कलैयाका बालबालिकाहरूका लागि २२ वटा ज्याकेट र जनकपुरस्थित श्री नारायण बाबा दलित जनजाति स्कुलका विद्यार्थीहरूका लागि ४६ वटा गरि ६८ वटा न्यानो ज्याकेट वितरण गरेको छ । बागमती प्रदेशअन्तर्गत ललितपुर जिल्लामा अवस्थित पाटन सामुदायिक पुन:स्थापना संस्थाको सहकार्यमा अपाङ्गता समस्या भएका बालबालिका तथा युवाहरूका लागि ५० वटा न्यानो ज्याकेट वितरण गरेको छ । त्यस्तै, गण्डकी प्रदेशको बागलुङ जिल्लामा रहेको काठेखोला गाउँपालिका ५, बिहुदहपानी अवस्थित बालग्राम आधारभूत विद्यालयका विद्यार्थीहरूका लागि ८५ वटा न्यानो ज्याकेट वितरण गरेको छ । त्यस्तै, लुम्बिनी प्रदेश,कपिलवस्तु जिल्लाअन्तर्गत महाराजगञ्ज नगरपालिका वडा नं. १०, हदौना क्षेत्रका अति विपन्न ५ सय परिवारहरूलाई ५ सय वटा न्यानो सिरक वितरण गरिएको छ ।

ललितपुर महानगरको १३ र २५ वडा जोड्ने नख्खु खोलाको मोटरेबल पुल आजदेखि सञ्चालन

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं १३ कुसुन्ती र वडा नं २५ भैंसीपाटी जोड्ने मोटरेबल पुल आजदेखि सञ्चालनमा आएको छ । शुक्रबार महानगरका नगरप्रमुख चिरीबाबु महजर्नले उक्त पुलको उद्घाटन गरेसँगै पुल सञ्चालनमा आएको हो । यो पुल सञ्चालनमा आएसँगै वडा न. १३, १४ २५ तथा दक्षिण ललितपुर बुंगमती, खोकनातर्फ जाने जनताले बैकल्पिक सडकको रुपमा सुविधा लिन सक्ने भएका छन् । यस ठाउँको पुल निर्माण श्री तामाङ मरिन कन्सट्रक्सन प्रालिले पाएको थियो । उक्त कम्पनीले २ करोड ७० लाख रुपैयाँमा ठेक्का पाएको हो । सम्झौता २०७९ भदौ ३ गते भएको थियो भने काम सुरु २०७९ भदौ ५ गतेबाट भएको थियो । काम सुरु भएको २ वर्षभित्र सकाउने सम्झौता भएपनि सम्पन्न नभएपछि म्याद थप गरिएको महानगरले जनाएको छ । महानगरका अनुसार २०८१ मंसिर २० गते म्याद थप भई निर्माण सुरु भएर सम्पन्न भएको थियो ।

रास्वपाले गर्‍यो प्रतिनिधिसभा बैठक बहिस्कार, सभामुखले दिएनन् बोल्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा संसद बैठक बहिस्कार गरेको छ । रास्वपाले अवरोधकाबीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको कार्यसूची अघि बढाएपछि रास्वपाका सांसदले बैठक बहिस्कार गरेका हुन् । रास्वपाले हिउँदे अधिवेशन सुरु हुनासाथ आकस्मिक समय मागेर अवरोध गरेको थियो । उनीहरूले बैठकको सुरुमै आफूहरूले आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै अवरोध गरिरहेका थिए । तर, सभामुख घिमिरेले समय नदिएपछि उनीहरुले सभा नै बहिस्कार गरेर बैठकबाट बाहिरिएका हुन् ।

निलम्बन फुकुवा गरिदिन सभापति लामिछानेले सभामुख घिमिरेलाई दिए निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शुक्रबार सभामुख देवराज घिमिरेसँग भेट गर्दै आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि निवेदन दिएका छन् । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको उक्त भेटमा सभापति लामिछानेले सभामुख घिमिरेसमक्ष निलम्बन फुकुवाका लागि निवेदन बुझाएका हुन् । सभापति लामिछानेले आफू थुनामुक्त भएको व्यहोरा उल्लेख गर्दै निलम्बन फुकुवाको निवदेन बुझाएका हुन् । सभापति लामिछानेसँगै उपसभामुख इन्दिरा राना, रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति डा स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियारलगायतका सांसदहरुले सभामुख घिमिरेसँग भेट गरे । सङ्घीय संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । निलम्बीत सांसद लामिछानेले संसदको बैठकमा सहभागी भई विधायीकाको जिम्मेवारी बहन गर्न मार्ग प्रशस्त गर्न वातावरण मिलाइ दिन सभामुख घिमिरेसमक्ष अनुरोध गरे । प्रतिनिधिसभा सदस्य लामिछानेलाई गत पुस ८ गते प्रतिनिधिसभा सचिवालयले सांसद पदबाट निलम्बन गरेको थियो ।