सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्रीमा चन्द्रागिरि नगरपालिकाले लगायो रोक
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध गरेको छ । नगरपालिकाले शुक्रबार सूचना जारी गरी सार्वजानिक स्थलमा प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका, खैनी, गुट्खा, पान, पराग, यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने, सेवन गर्ने सूर्तिजन्य पदार्थको बिक्री बितरणमा निषेध गरेको हो । नगरपालिकाका शाखा अधिकृत दामोदर रिजालद्वारा जारी विज्ञप्तिमा सूर्ति सेवनको निमित्त बनाइएको, उत्पादन गरिएको चुरोट, बिंडि, सिगार, तमाखु, सुल्फा, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ति, खैनि, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मूखमा राख्ने रस लिने सूर्तिजन्य पदार्थको सेवन मानब स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘चन्द्रागिरि नगरपालिकामा रहेका शिक्षण संस्था, बालकल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटेल, रेष्टुरेण्ट, छात्राबास, ब्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालय लगायतका सार्वजनिक स्थलमा धुम्रपान, चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ति, खैनि गुट्खा, सूर्ति वा यस्तै प्रकारका सूर्तिजन्य पदार्थलाई निषेध गर्न सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ ले प्रष्ट ब्यवस्था गरेको छ । उपरोक्त कानूनी व्यवस्था हुँदा हुँदै हालसम्म चन्द्रागिरि नगरपालिका क्षेत्र भित्र मदिरा, सूर्तिजन्य पदार्थहरु बिक्री बितरण र उपयोग नियमन र नियन्त्रण प्रभाबकारी नभएकोले जनस्वास्थ्यमा प्रतिकुल प्रभाव पर्नुका साथै प्लाष्टिक वा बट्टामा प्याकेजिङ्ग गरिएका सूर्तिजन्य पदार्थको सेवनका कारण भूमि प्रदुषित हुने, ढल जाम हुने, फोहरमैला बढ्न गइ शहरको सुन्दरतामा समेत प्रतिकुल प्रभाव परेको छ ।’ विज्ञप्तिमा सूर्तिजन्य पदार्थको सेवनले राज्यको करोडौं रकम खर्च भईरहेको अवस्था समेतलाई दृष्टिगत गरी पहिलो चरणमा प्लाष्टिकको बट्टामा प्याकेजिङ्ग गरिएका जस्तै खैनि, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका सूर्तिजन्य पदार्थहरु र सार्वजनिक स्थानमा धुम्रपानलाई यो सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरि चन्द्रागिरि नगरपालिका क्षेत्र भित्र बिक्री वितरण पूर्ण रुपमा प्रतिबन्ध लगाइएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘कसैले यो सूचनालाई अबज्ञा गरी बिक्री बितरण गरेको पाइएमा नगर प्रहरी मार्फत जफत गरी बिक्रि बितरण गर्ने ब्यबसायीलाई कानून अनुसार अधिकतम सजाय गरिने ब्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
शालीनदीस्थित माधवनारायणका व्रतालु दोस्रो परदेश यात्राको तयारीमा
काठमाडौं । साँखुस्थित शालीनदीमा माधवनारायणको एक महिने कठोर व्रत गरिरहेका व्रतालुले आजदेखि फेरि दोस्रो परदेश यात्रा गर्दैछन् । माधवनारायणका व्रतालुले प्रत्येक वर्ष माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बसी त्रिवेणीघाटमा स्नान र माधवनारायणको पूजा आराधनासहित सांस्कृतिक शहर पनौतीको परिक्रमा गर्ने व्रत विधि रहेको छ । शनिबार बिहानको नित्यकर्म सकी व्रतालु साँखुबाट भक्तपुर, बनेपा हुँदै पनौती जाने तयारी गरेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले जानकारी दिए । आज बेलुका पनौती पुग्ने माधवनारायणका व्रतालुले आइतबार बिहान पनौतीको त्रिवेणीघाटमा स्नान गरेपछि त्यहाँ माधवनारायणलाई विशेष पूजा आराधना गर्छन् । स्नान र पूजा सकिएपछि माधवनारायण भगवान्लाई लिएर व्रतालुले आइतबार सांस्कृतिक शहर पनौती परिक्रमा गर्छन् । माघ शुक्ल चौथीका दिन आइतबार पनौतीको परिक्रमा सकी व्रतालुले दिउँसोको भोजन बनेपा र नालाको मध्यभागस्थित भोखुसीमा गर्छन् । आइतबार दिउँसो भोखुसीको भोजनपछि व्रतालु साँखु फर्कन्छन् । माधवनारायणका व्रतालुले साँखुमा श्रीपञ्चमी र लगला सप्तमी पर्व मनाउँछन् । माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन व्रतालुलाई खीर (तस्मी) खुवाउने प्रचलनसमेत रहेको छ । माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको तेस्रो परदेश यात्रा गरिन्छ । भोलिपल्ट चाँगुबाट साँखु फर्कने परदेश यात्राको नियम छ । चाँगुको यात्रा गरेका बेला भने व्रतालुले दिउँसोको भोजन साँखु फर्किएर नै गर्ने व्रत विधि छ । माधवनारायण व्रतालुले गर्ने यो यात्रालाई प्राचीनकालदेखि नै परदेश यात्राको सङ्ज्ञा दिने गरिएको साँखुको धार्मिक, सांस्कृतिक विषयमा अध्ययन, अनुसन्धान गरिरहेका स्थानीयवासी प्रकाशमान श्रेष्ठ सक्व बताउँछन् । यसअघि माघकृष्ण चतुर्दशीको दिउँसो शालीनदीबाट बज्रयोगिनी, पशुपति, दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा पनि माधवनारायणका व्रतालुले तीर्थयात्रा गरिसकेका छन् । पहिलो तीर्थयात्रा दुई रात र तीन दिनको हुने व्रत विधि छ । दोस्रो तीर्थयात्रा भने दुई दिन र एक रातको हुने गर्छ । तेस्रो यात्रा पनि दुई दिन र एक रातको हुने प्राचीनकालदेखिको परम्परा छ । परदेश यात्रामा चिउरा, सुन्तला, चाकु, घ्यू, चिनी, लप्सी, रातो मुला, अदुवा आदि व्रतालुले लानुपर्ने व्रत विधि छ । नजिकका आफन्तले निराहार बसी दुध उमालेर लगिदिएमा खान हुने भोजन विधि रहेको साँखुका स्थानीय जयराम श्रेष्ठले बताए । परदेश यात्रामा व्रतालुका साथ स्वयंसेवक पनि हुन्छन् । व्रतालुले खाली गोडा पैदल हिँडेर परदेश यात्रा गर्ने व्रत विधि रहेको छ । स्वयंसेवकले व्रतालुलाई सहयोग गर्छन् ।
२८ मेट्रिक टन उत्पादन घटेपनि बागलुङमा साढे २६ करोडको सुन्तला बिक्री
काठमाडौं । यस वर्ष बागलुङमा २६ करोड ४६ लाख ५४ हजार रुपैयाँ सुन्तला उत्पादन भएको छ । उत्पादनमा केही गिरावट आए पनि किसानले मूल्य भने गत वर्षको तुलनामा बढी पाएका छन् । उत्पादनको हिसाबले गत वर्षको भन्दा २८ मेट्रिक टनले कमी आए पनि मूल्य भने १ करोड ८६ लाख ५४ हजार रुपैयाँ बढी परेको हो । कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी सन्तोष अधिकारीका अनुसार अघिल्लो वर्ष जिल्लाभर ४ हजार १०० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष घटेर ४ हजार ७१.६ मेट्रिक टनमा झरेको छ । तर अघिल्लो वर्ष न्यूनतम मूल्य ६० रुपैयाँ रहेकोमा यस वर्ष बढेर ६५ रुपैयाँ पुग्दा उत्पादन घट्दा पनि किसानले उचित मूल्य पाएको उनको भनाइ छ । अघिल्लो वर्ष २४ करोड ६० लाख रुपैयाँको सुन्तला उत्पादन भएको थियो । पछिल्लो समय सुन्तला खेती विस्तार हुँदै गएको भन्दै यस वर्ष समयमा वर्षा नभएको र हिउँदे सिँचाइ पनि पर्याप्त नहुँदा उत्पादनमा कमी आएको सूचना अधिकारीले बताए । कृषि ज्ञान केन्द्रले सुन्तला उत्पादन किसानलाई प्राविधिक सहयोगसहित अनुदान दिने गरेको उनी बताउँछन् । ‘अघिल्लो वर्षको तुलनामा सुन्तला उत्पादनमा कमी आयो तर मूल्यका हिसाबले भने बढेको छ, किसानले तुलनात्मकरूपमा यस वर्ष घाटा व्यहोर्नु परेको छैन, थोरै भए पनि फाइदानै लिनुभएको छ, यस वर्ष ५ रुपैयाँले मूल्य बढेको हुँदा किसान समस्यामा पर्नु भएको छैन, अझै पनि किसानले सुन्तला बजार पठाइ राख्नुभएको छ,’ उनले भने । कृषि ज्ञान केन्द्रका अनुसार ६५५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । त्यसमध्ये यस वर्ष ३७७ हेक्टरमा लगाएका बिरुवाले उत्पादन दिएका छन् । जिल्लामा बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी र गलकोट नगरपालिकामा सुन्तला उत्पादन हुने गरेको छ । काठेखोला किसान लोकनाथ कँडेलले यस वर्ष १३ लाख ५० हजार रुपैयाँको सुन्तला उत्पादन गरेको बताए । गत वर्षको भन्दा उत्पादनमा कमी आए पनि आम्दानी भने बढी भएको बताए । पोहोर साल ११ लाख रुपैयाँको सुन्ताल बिक्री गरेको उनले जानकारी दिए । आफ्नो बगैँचामा ३०० बोट सुन्तला रहेको जनाउँदै यस वर्ष २१० बोटल फल दिएको उनको भनाइ छ ।
२७ लाख लगानीमा बनेको हाटबजार प्रयोग विहीन
काठमाडौं । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ स्थित भिमटाणीमा लुम्विनी प्रदेश सरकारले २७ लाख रूपियाँमा निर्माण गरेको हाटबजार प्रयोग विहीन भएको छ । हाटबजारको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको ४ वर्ष भयो सञ्चालनमा नआउँदा हाटबजार प्रयोग विहिन भएको सरावल–३ स्थानीय लेखनाथ रायले बताए । ृउनका अनुसार निर्माणाधिन हाटबजारमा बजार लगाउने ठेकेदारले जग्गाधनीलाई वार्षिक २५ हजार रुपैया भाडा दिने शर्तमा लुम्विनी प्रदेश सरकारले १० कठ्ठा जग्गामा हाटबजार निर्माण गरेको हो । निर्माणाधिन जग्गा लेखनाथ रायको नाउँमा दर्ता छ । सोही वडामा डेढ बिघा सार्वजनिक जग्गा रहेपनि पूर्वउपाध्यक्षले सरकारी बजेट सार्वजनिक जग्गामा नबनाएर आफनो व्यक्तिगत जग्गामा निर्माण गरेपछि निर्माणाधिन हाटबजार एकान्तमा रहेकोले व्यपारीले त्यहाँ बजार लगाउन मानेका छैनन् । आफूले निर्माणाधिन हाटबजार लगाउन भनेपनि व्यपारीले भने त्यहाँ बजार नलगाउने सरावल–३ का वडाध्यक्ष फिरङ्गी चौधरीले बताए । उनका अनुसार सरकारको रकम सार्वजनिक जग्गामा लगानी गर्नुपर्नेमा राननितिक पदमा रहेकोले आफू यो पदबाट गएपनि पछि आम्दनीको स्रोत हुने गरी आफनो व्यक्तिगत जग्गामा हाटबजार बनाए । पूर्वउपाध्यक्षको नम्बरी जग्गामा आफूले बजार लगाउने पहल गरेपनि ब्यपारी त्यहाँ बजार लगाउन मानेका छैनन् सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए ।
मूल्य बढेसँगै कति पुग्यो पेट्रोलियम पदार्थको भाउ ?
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमको शुक्रबार बसेको सञ्चालक समिति बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजेल÷मट्टितेलमा ४ रुपैयाँ मूल्य बढेको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिलिटर ४३ डलरका दरले बढाइएको छ । शुक्रबार इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि नेपालमा मूल्य बढाएको बताएको छ । यससँगै अब पेट्रोलको मूल्य पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ प्रतिलिटर भएको छ । त्यस्तै, डिजेल÷मट्टितेलको मूल्य पहिलो वर्गमा १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ भएको छ ।
कानुनको धज्जी उडाउँदै बीमा कम्पनी, स्थापना कालदेखि नै छैनन् ‘डीसीईओ’, नियामक मौन
काठमाडौं । कुनै पनि बीमा कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को पद ३ महिनाभन्दा बढी रिक्त राख्न पाउँदैनन् । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८० अनुसार कुनै पनि कम्पनीको डीसीईओ पद रिक्त भएको ३ महिनाभित्र पदपूर्ति गरिसक्नु पर्ने छ । ‘उपकार्यकारी प्रमुख पद रिक्त भएको तीन महिनाभित्र पदपूर्ति गरिसक्नु पर्नेछ,’ निर्देशिकाको दफा २८ को उपदफा ३ मा लेखिएको छ । यसरी कानुनमा नै उल्लेख भएको व्यवस्थालाई बीमा कम्पनीहरूले वेवास्ता गर्दै आएका छन् । नियमनकारी निकायले पनि एक्सन लिन नसक्दा कम्पनीहरूले कानुनको लक्ष्मणरेखालाई मिच्दै आएका छन् । कानुनमै यस्तो व्यवस्था भए पनि यहाँ केही कम्पनीमा एक वर्षसम्म पनि डीसीईओविहीन छन् अनि नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण मौन रहेको छ । हाल नेपालमा ३७ वटा बीमा कम्पनीहरू रहेका छन् । १४ जीवन, १४ निर्जीवन, २ पुनर्बीमा र ७ वटा लघु बीमा कम्पनीहरू रहेका छन् । जसमध्ये ८ वटा कम्पनीमा डीसीईओको पद रिक्त रहेको छ । केही कम्पनीमा महिनौंदेखि डीसीईओ पद रिक्त रहेको छ भने केही कम्पनीले स्थापनादेखि नै डीसीईओमा पदपूर्ति नै गरेका छैनन् । कुन-कुन कम्पनीमा छैनन् डीसीईओ ? सन् नेपाल लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, मेटलाइफ, नेशनल इन्स्योरेन्स, यूनाइटेड अजोड इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र लिबर्टीमा माइक्रो लाइफ इन्स्योरेन्समा डीसीईओ पद रिक्त रहेको छ । सन् नेपाल लाइफ ७औं वर्ष पार गरेर अहिले ८औं वर्षमा चल्दै छ । ८ वर्षमा प्रवेश गरेको कम्पनीले हालसम्म डीसीईओ पदमा कसैलाई नियुक्त नै गरेको छैन । अर्थात ८ वर्षसम्म कम्पनी डीसीईओ विहीन छ । यद्यपि कम्पनीले अबको १ महिनाभित्र डीसीईओ पाउने निश्चित भने छ । आईएमई लाईफको निवर्तमान सीईओ कवि फुँयाल सो कम्पनीमा डीसीईओ बन्दै छन् । स्रोतका अनुसार उनी अबको १ महिनाभित्रै सो कम्पनीको डीसीईओमा नियुक्त हुनेछन् । कुनै पनि कम्पनीको सीईओ भएपछि अर्काे कम्पनीमा आवद्ध हुनका लागि ६ महिना कुलिङ पिरियड लाग्नेछ । सोही कुलिङ पिरियड कुरेर बसेका छन् फुँयाल । उनी आईएमई लाइफबाट गत भदौ ७ गते बाहिरिएका थिए । फागुनको ७ गते उनको कुलिङ पिरियड सकिँदै छ । कुलिङ सकिएपछि उनी सनको डीसीईओ बन्ने बुझिएको छ । यूनाइटेड अजोड इन्स्योरेन्स विगत ५ महिनदेखि डीसीईओ विहीन छ । गत भदौ २८ गते तत्कालिन डीसीईओ नवीन सुवेदीले राजीनामा दिएर बाहिरिएसँगै कम्पनीमा डीसीईओ पद रिक्त रहेको छ । सो कम्पनीले पनि अबको केही दिनमा नै डीसीईओ पाउने निश्चित रहेको छ । सानिमा जीआईसीकी उपमहाप्रवन्धक रहेकी रेना रिजाल यूनाईटेड अजोडमा डीसीईओ बनेर जाँदै छिन् । उनी सानिमा जीआईसीबाट बिदाई पनि भएकी छिन् । हिमालयन एभरेष्ट इन्स्योरेन्स पनि विगत ५ महिनादेखि डीसीईओ विहीन रहेको छ । कम्पनीको तत्कालीन डीसीईओ अन्जु श्रेष्ठ गते भदौ ३० गते सीईओमा नियुक्त भएसँगै कम्पनीमा डीसीईओ पद रिक्त रहेको छ । विदेशी स्वामित्वको कम्पनीहरू मेटलाइफले डीसीईओ पदको संरचना नै बनाएको छैन । प्राधिकरणले केही महिनाअघि डीसीईओ नियुक्त गर्नु भन्दै पठाएको पत्रको जवाफमा कम्पनीले डीसीईओ सरहकै काम गर्ने पद कम्पनीमा रहेको उल्लेख गरेर जवाफ पठाएको थियो । यस्तै, विदेशी स्वामित्वको अर्काे कम्पनी नेशनल इन्स्योरेन्स कम्पनी पनि विगत लामो समयदेखि डीसीईओ पद रिक्त रहेको छ । लघु बीमा कम्पनी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र लिबर्टीमा माइक्रो लाइफले स्थापनका कालदेखि नै डीसीईओ पद सृजना गरेका छैनन् । यी दुवै कम्पनीले गत वर्षदेखि कारोबार सुरु गरेका हुन् । सूर्यज्योति लाइफ इन्स्योरेन्समा विगत २ महिनादेखि डीसीईओ पद रिक्त रहेको छ । कम्पनीको तत्कालीन डीसीईओ पवनकुमार खड्का आईएमई लाइफको सीईओ बनेपछि कम्पनीमा डीसीईओ पद रिक्त भएको छ । भलै कम्पनीले डीसीईओ नियुक्त गर्ने समय एक महिना बाँकी नै छ । निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्लले प्राधिकरणले जारी गरेको निर्देशिका सबै कम्पनीहरूले पालना गरेर डीसीईओ नियुक्त गर्नुपर्ने धारणा व्यक्त गरे । डीसीईओ पद भविष्यमा कुन मान्छेले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पोस्ट लिन सक्छ भनेर सृजना गरिएकाले यो सबै कम्पनीले डीसीईओ पदपूर्ति गर्नेुपर्ने उनको धारणा छ । यसले कम्पनीलाई मजबुद गराउने उनको भनाइ छ । उनले भने, ‘कतिपय कम्पनीले डीसीईओ पद सृजना नगरे पनि कर्मचारीको दोस्रो वरीयताको पद सृजना भने गर्नै पर्दछ ।’ प्राधिकरण भन्छ- ‘कारबाही गर्छौं प्राधिकरणका निर्देशक कमल रेग्मीले तोकिएको समयभित्र डीसीईओ पदपूर्ति नगर्ने कम्पनीलाई कारबाही गर्ने जनाएका छन् । कानुन तथा नियमन महाशाखाका प्रमुख समेत रहेका रेग्मीले विगतमा पनि सचेत गराएको उल्लख गर्दै ३ महिनाभन्दा धेरै अवधि डीसीईओ पद रिक्त रहेका कम्पनीलाई कारबाही गर्ने चेतावनी दिए । ‘हामीले केहि महिनाअघि पनि कम्पनीहरूलाई डीसीईओ नियुक्त गर्नु भनेर पत्र पठाएका थियौं,’ उनले भने, ‘कम्पनीहरूले अटेर गरेको देखियो । अब हामी कारबाही गछौं ।’ के कारबाही गर्नुहुन्छ भन्ने प्रश्नमा उनको जवाफ छ, ‘कानुनअनुसार कारबाही हुन्छ । हामी फेरि पत्र काट्छौं, स्पष्टीकरण लिन्छौं अनि कानुन बमोजिम कारबाही गछौं ।’
आइएजीइएस र एसएसएनको सहकार्यमा साउथ एसियन सम्मेलन काठमाडौंमा जारी
काठमाडौं । इन्डियन एशोसिएसन अफ ग्यास्ट्रोइन्टेस्टाइनल एण्ड इन्डोस्किोपिक सर्जन (आइएजीइएस) र सोसाइटी अफ सर्जनस् अफ नेपाल (एसएसएन) को सहकार्यमा साउथ एसियन सम्मेलन काठमाडौंमा जारी छ । यो सम्मेलन बिहीबारदेखि सुरु भएको हो । नेपाल मडिसिटी अस्पताल र हायात रिजेन्सी काठमाडौंमा भइरहेको उक्त सम्मेलनमा भारत तथा नेपालबाट २०० सय भन्दा बढी चिकित्सकहरुको सहभागिता रहेको छ । मिनिमल इन्भेसिभ सर्जरी, रोबोटिक सर्जरी, र इन्डोस्कोपी क्षेत्रको विश्वव्यापी नवीनतम प्रगति, प्रवृत्ति र चुनौतीहरुबारे ज्ञान आदनप्रदान गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको आइएजीइएसका अध्यक्ष डा. सुवास अग्रवालले बताए । विश्वभरका प्रख्यात विशेषज्ञहरू, नवप्रवर्तकहरू र सर्जनहरूको सहभागिता र ज्ञान आदानप्रदानले अत्याधुनिक अनुसन्धानमा सहकार्य गर्न र यस क्षेत्रमा विकासलाई बढावा दिन सहयोग पुग्ने डा. अग्रवालले बताए । हालसम्म नेपाल मेडिसिटीमा दुई वटै शल्यक्रिया युनिटबाट ८ हजारभन्दा बढी शल्यक्रिया दुरवीन प्रविधिबाट भएको जानकारी एसएसनका पूर्व अध्यक्ष तथा नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ सर्जन डा. सुनिल कुमार शर्माले बताए । यहाँ इआरसिपी, इन्डोस्कोपिक अल्ट्रासाउण्ड गरी क्यान्सर पत्ता लगाउने र यसलाई ट्युमर बोर्डमा छलफल गरी सम्पूर्ण क्यान्सरको उपचार गराइन्छ । त्यस्तै, शल्यक्रिया गर्नका लागि अनिवार्य फ्रोजन सेक्सन गरेर क्यान्सर उपचारमा कुनै सुविधाको कमी हुन नदिई शल्यक्रिया गरिन्छ । नेपाल मेडिसिटी अस्पतालमा विभिन्न र्वोकशप आयोजना गरिएको थियो जहाँ सहभागि चिकित्सकहरुलाई पेपर प्रेजेन्टेसन, विभिन्न सिकाई गतिविधिका साथै एफएएलएस हर्निया फेलोसिप, एफआईएजिईएस फेलोसिप, इएफआईएजिईएस फेलोसिप प्रदान गरिएको थियो । सम्मेलनमा विशेषत शल्यक्रियाको भविष्यमा अन्तरदृष्टि, रोबोटिक्स, अग्मेन्टेड रियालिटी, शल्यक्रियामा आर्टिफिसियल इन्टेलिजेन्स र उन्नत ल्याप्रोस्कोपिक प्रविधिहरू जस्ता परिवर्तनकारी आविष्कारहरूको खोजीबारे छलफल गरिएको डा. शर्माले बताए। सम्मेलनमा आइएजिइएसले डा. शर्मालाई अनररी फेलोसिप दिनुका साथसाथै यस सम्मेलनको दुई मुख्य ओरेसन मध्य एक विशेष मन्तव्य डा. शर्माले दिनेछन् । नेपाल मेडिसिटी अस्पतालले नेपाली जनताका लागि अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा नेपालमै उपलब्ध गराउन निरन्तर प्रयास गरिरहेको छ र भविष्यमा पनि यसै प्रकारले सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।
बिरामीको एउटै परीक्षण दोहोर्याउनु नपर्ने गरी एकीकृत विद्युतीय प्रणाली लागू गर्ने मन्त्री पौडेलको निर्णय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रूपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्ने गरी एकीकृत प्रणाली लागू गर्ने निर्णय गरेका छन् । हाल हरेक स्वास्थ्य संस्थापिच्छे बिरामीको एकै खालका परीक्षण दोहोरिने गरेको तथा एकीकृत तथ्यांक नहुँदा उपचारमा कठिनाइ देखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियन्त्रणमा रहने एकीकृत राष्ट्रिय प्रणालीमा सबै स्वास्थ्य संस्थाका अभिलेख प्राप्त गर्ने व्यवस्था मिलाउने निर्णय मन्त्री पौडेलले गरेका हुन् । सरकारी तथा निजी सबै स्वास्थ्य संस्थाहरुले अब विद्युतीय चिकित्सा अभिलेख प्रणाली २०८१ अन्तर्गत एक अर्कासँग बिरामीका तथ्यांक तथा विवरण साझा गर्न मिल्ने गरी विकसित प्रणालीमा अभिलेख राख्नुपर्नेछ । त्यसो भएमा बिरामीको खर्च, समय तथा परीक्षणमा हुने दोहोरोपनाको अन्त्य हुनुका साथै स्वास्थ्यसम्बन्धी नीति निर्माणमा एकीकृत तथ्यांक प्राप्त हुने अपेक्षा गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । ‘रोगको निदान तथा उपचार पद्धतिमा बिरामीलाई कम भार परोस् भन्ने हाम्रो चाहना हो,’ मन्त्री पौडेलले भने, ‘बिरामीको खर्च र परीक्षणको दोहोरोपना रोक्न र प्रभावकारी सेवा दिन नयाँ व्यवस्थाले सघाउ पुर्याउने अपेक्षा गरेका छौं ।’ उनले सदर गरेको विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१ ले एकीकृत अभिलेखन गर्दा सेवाप्रदायक तथा सेवाग्राही दुवै कागजी झण्डझटबाट जोगिनुका साथै अर्को पटक पुनः सेवा लिन आउँदा पहिलेकै रेकर्डका आधारमा उपचार हुने भएकाले सेवाग्राही र प्रदायक दुवैलाई सहजता हुन गई सेवा प्रवाह चुस्त र शुलभ हुने मन्त्रमलयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । हाल विद्युतीय प्रणाली अस्पतालहरुमा लागू भए पनि एक अर्काबीच तथ्यांक आदानप्रदान गर्नेखालका छैनन् । यसले गर्दा बिरामीले पटक-पटक एकै खालका जानकारी हरेक ठाउँमा बुझाउनुपर्ने बाध्यता छ । नयाँ व्यवस्थापछि यो समस्या हट्ने अपेक्षा गरिएको प्रवक्ता बुढाथोकीले बताए । अब स्वास्थ्य संस्थाहरूले प्रणालीको स्थापना गरी एक अर्कालाई कार्यक्षेत्र र कार्य विवरणका आधारमा बिरामीका विवरणमा पहुँच दिनुपर्नेछ । प्रणालीमा बिरामीको पहिचान नम्बरका आधारमा स्वस्थ्य समस्या निदान, चिकित्सकीय सुझाव, प्रयोगशाला तथा रेडियोलोजी जानकारी अनिवार्य प्रविष्ट हुनुपर्ने निर्देशिकामा छ । बिरामीको चिकित्ससकीय सेवावापतको भुक्तानी समेत अनलाइन हुने व्यवस्था गरिएको छ । प्रणालीमा नाम दर्तादेखि सेवाग्राही, आकस्मिक सेवा, फार्मेसी, प्रतिवेदन, ब्लक बैंक, बेड मोड्युल हुनुपर्ने निर्देशिकामा छ । मन्त्रालयले सेवाग्राही पोर्टल विकास गरेर उपचारमा संल्गन स्वस्थ्यकर्मीबाहेकलाई सूचनामा पहुँच नहुने तथा सरकारले कानून बमोजिम माग गरेमा सूचना उपलब्ध गराउन सक्ने गरी प्रणाली सञ्चालन गर्नेछ । नागरिकका स्वास्थ्य समस्याका जानकारीका आधारमा राज्यले लिने नीति र कार्यक्रममासमेत एकीकृत प्रणालीले मद्दत पुर्याउने अपेक्षा गरिएको छ । मन्त्रालयले यस प्रणाली तीनै तहमा र हरेक स्वास्थ्य संस्थामा विद्युतीय अभिलेखका लागि एउटा एकाई बेग्लै एकाइ परिकल्पना गरिएको छ । साथै संघीय तहमा मन्त्रालयले अतिरिक्त सचिवको नेतृत्वमा निर्देशक समिति गठन गरेर प्रणालीको अनुगमन तथा समस्या समाधानमा भूमिका खेल्ने निर्देशिकाले परिकल्पना गरेको छ । [pdf id=537432]